पूर्वाग्रहको के तपाईं शिकार हुनुहुन्छ?
जनजातीय हिंसा, जातिवाद, भेदभाव, जातीय पृथक्करण तथा जनसंहार हुनुको एउटै कारण के हो? यी सबै विश्वव्यापी मानव प्रवृत्तिका परिणामहरू हुन्, र त्यो प्रवृत्ति हो—पूर्वाग्रह!
पूर्वाग्रह के हो? एउटा विश्वकोशले “निष्पक्ष न्याय गर्न समय वा चासो नलिई गरिएको विचार” भनेर यसलाई परिभाषित गर्छ। असिद्ध मानव भएकोले हामीमा केही हदसम्म पूर्वाग्रहको झुकाउ नभएको होइन। सम्पूर्ण तथ्य नजुटाई आफूले गरेको न्यायबारे सोच्नुभए कसो होला। यस्तो पूर्वाग्रहपूर्ण झुकाउ र यहोवा परमेश्वरको न्याय गर्ने तरिकाहरूबीच कति ठूलो भिन्नता छ, त्यो बाइबलले बताउँछ। बाइबल यसो भन्छ: “परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।”—१ शमूएल १६:७.
पूर्वाग्रहले चोट पुऱ्याउनसक्छ
निस्सन्देह, कुनै न कुनै समय प्रत्येकलाई कसै न कसैले गलत सोचेका छन्। (तुलना गर्नुहोस् उपदेशक ७:२१, २२) साधारणतया, हामी सबै पूर्वाग्रहको शिकार भएका छौं। तथापि, पूर्वाग्रहपूर्ण विचारलाई तुरुन्तै त्यागेमा सम्भवतः यसले कम चोट पुऱ्याउनेछ वा चोटै पुऱ्याउनेछैन। त्यस्ता विचारहरू मनभित्र पलाउन दिएमा यसको परिणाम हानिकारक हुनसक्छ। यसले हामीलाई धोखा दिएर झूटो कुरामा विश्वास गराउनसक्छ। उदाहरणका लागि, पूर्वाग्रहको प्रभावमा पर्ने व्यक्तिले अर्को व्यक्तिलाई धर्म, जनजाति वा राष्ट्रिय समूहको आधारमा लोभी, अल्छे, मूर्ख वा घमण्डी हुनसक्छ भनेर साँच्चै विश्वास गर्छ।
प्रायजसो यस्तो गलत सोचाइले अरूप्रति पक्षपात, दुर्व्यवहार वा हिंसात्मक व्यवहार गर्नसमेत उक्साउँछ। लाखौं मानिसले काटमार, जनसंहार, जातीय हत्या तथा अन्य प्रकारको तीव्र पूर्वाग्रहमा ज्यान गुमाएका छन्।
संसारभरिका सरकारहरूले कानुनी तवरमा स्वतन्त्रता, सुरक्षा र समान अधिकारको ग्यारेन्टी दिंदै पूर्वाग्रह रोक्ने प्रयास गरेका छन्। तपाईंले आफ्नो देशको संविधान वा मुख्य नियमहरू पढ्नुभयो भने, निस्सन्देह जुनसुकै जाति, लिंग वा धर्मका नागरिकहरूको अधिकारको सुरक्षाबारे लेखिएको दफा वा संशोधन भेटाउनुहुनेछ। यद्यपि, विश्वभरि पूर्वाग्रह र भेदभाव व्याप्त छँदैछ।
के तपाईं पूर्वाग्रहको शिकार हुनुहुन्छ? के तपाईं केवल आफ्नो जाति, उमेर, लिंग, राष्ट्रियता वा धार्मिक विश्वासको कारण लोभी, अल्छे, मूर्ख वा घमण्डीको रूपमा कलंकित हुनुभएको छ? के तपाईंलाई पूर्वाग्रहको कारण उचित शिक्षा, रोजगार, घरबार तथा सामाजिक सेवाहरूको सुविधाबाट वञ्चित गराइंदैछ? त्यसो हो भने तपाईं कसरी त्यसको सामना गर्न सक्नुहुन्छ?
[पृष्ठ ३-मा भएको चित्र]
पूर्वाग्रहलाई मनभित्र पलाउन दिएमा यसले जातीय घृणालाई उक्साउँछ
[स्रोत]
Nina Berman/Sipa Press