प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 २/१ पृ. २४-२८
  • वर्तमान समयको उपासनामा संगीतको भूमिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वर्तमान समयको उपासनामा संगीतको भूमिका
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उपासनामा संगीतको ऐतिहासिक भूमिका
  • प्रथम शताब्दीका मसीहीहरू गाउँथे
  • झूटो उपासनाको प्रभाव
  • उपासनामा संगीतलाई यथास्थानमा राख्ने
  • ‘यहोवाको निम्ति हृदयबाटै गाउनु’
  • यहोवाको निम्ति गाउनुहोस्‌
  • हर्षोल्लासका साथ गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाको प्रशंसा गाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको स्तुति गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने संगीत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 २/१ पृ. २४-२८

वर्तमान समयको उपासनामा संगीतको भूमिका

गाउनु परमेश्‍वरबाटको उपहार हो। हामीले गीत गाउँदा हामीसितै हाम्रो सृष्टिकर्ता पनि खुशी हुनुहुन्छ। यसैद्वारा हामी दुःख र आनन्द दुवै भावनाहरू व्यक्‍त गर्नसक्छौं। त्योभन्दा पनि, गाएर हामी गीतको सृजनहार यहोवाप्रति प्रेम, श्रद्धा र प्रशंसा व्यक्‍त गर्नसक्छौं।

संगीतबारे बाइबलमा लिपिबद्ध केही तीन सय उद्धरणहरूमध्ये धेरैजसो यहोवाको उपासनासित सम्बन्धित छन्‌। गीत गाउनुको सम्बन्ध आनन्दसित पनि छ अर्थात्‌ गाउने व्यक्‍तिले मात्र होइन यहोवाले पनि आनन्द लिनुहुन्छ। भजनरचयिताले लेखे: “तिनीहरूले उहाँको स्तुति गाऊन्‌। किनकि परमप्रभु आफ्ना प्रजासँग खुशी हुनुहुन्छ।”—भजन १४९:३, ४.

तर वर्तमान समयको उपासनामा गाउनु कत्तिको महत्त्वपूर्ण छ त? आज यहोवाका जनहरूले गीत गाएर कसरी उहाँलाई खुशी तुल्याउनसक्छन्‌? साँचो उपासनामा संगीतको भूमिका कस्तो हुनुपर्छ? उपासनासित सम्बन्धित संगीतको इतिहास पल्टाउँदा यी प्रश्‍नहरूको जवाफ पाउन सकिन्छ।

उपासनामा संगीतको ऐतिहासिक भूमिका

संगीतसम्बन्धी बाइबलको प्रथम उद्धरण यहोवाको उपासनासितै सम्बन्धित थियो भनेर बताइएको छैन। उत्पत्ति ४:२१ मा यूबाललाई प्रथम वाद्ययन्त्र आविष्कार गरेको वा सम्भवतः कुनै प्रकारको संगीत पेशा सुरु गरेको श्रेय दिइएको छ। तथापि, मानव सृष्टि हुनुअघिदेखि नै संगीत यहोवाको उपासनाको एउटा भाग थियो। थुप्रै बाइबल अनुवादहरूमा स्वर्गदूतहरूले गाएको विवरण पाइन्छ। स्वर्गदूतहरू हर्ष र “रमाहटले कराए” भनेर अय्यूब ३८:७ ले बताउँछ। यसर्थ, यहोवाको उपासनामा गाउने प्रचलन मानिसजाति सृष्टि हुनुभन्दा धेरैअघिदेखि थियो भनेर विश्‍वास गर्ने धर्मशास्त्रीय कारण छ।

पुरातन हिब्रू संगीतमा एक पटकमा एकभन्दा धेरै नोटहरू बजाउँदैनथे भनेर केही इतिहासकारहरूले तर्क गरेका छन्‌। तथापि, बाइबलमा उल्लिखित विशिष्ट वाद्ययन्त्र, वीणामा एकै समयमा एकभन्दा धेरै नोटहरू बजाउन सकिन्थ्यो। वाद्ययन्त्रमा सामूहिक आवाज निकाल्दा एक पटकमा थुप्रै नोटहरू बजाउन सकिन्थ्यो भनेर वीणावादकले याद गरेको हुनुपर्छ। पक्कै पनि तिनीहरूको संगीत निम्नस्तरको नभई अति उच्चस्तरीय थियो। हिब्रू धर्मशास्त्रको कविता र गद्य जाँच गर्दा इस्राएली संगीत उच्चस्तरको थियो भन्‍ने निष्कर्षमा पुग्नसक्छौं। निस्सन्देह, इस्राएलीहरूले संगीत रचनाहरू गर्दा पाएको प्रेरणाको स्रोत तिनीहरूका छिमेकी राष्ट्रहरूले पाएको स्रोतभन्दा कता हो कता उत्तम थियो।

पुरातन मन्दिरमा उपासना गर्दा बाजा गाजा बजाउनु र गाउनु दुईटैको प्रबन्ध गरिएको हुन्थ्यो। (२ इतिहास २९:२७, २८) त्यहाँ ‘निर्देशक,’ “निपुण,” “सिकारु,” र “गवैयाहरूको अगुवा” हुन्थे। (१ इतिहास १५:२१; २५:७, ८; नहेम्याह १२:४६) संगीतमा तिनीहरूको उच्चस्तरीय दक्षताबारे टिप्पणी गर्दै इतिहासकार कर्ट साक्सले लेखे: “यरूशलेम मन्दिरका गायन टोली र संगीत टोलीहरूले त्यहाँ संगीतको उच्चस्तरीय शिक्षा, दक्षता र ज्ञान थियो भनेर पुष्टि दिन्छ। . . . पुरातन संगीत कस्तो सुनिन्थ्यो भनेर हामीलाई थाह नभए तापनि यसको शक्‍ति, भव्यता र कौशलताबारे हामीसित प्रशस्त प्रमाण छ।” ( पुरातन संसारमा संगीतको उत्थान: पूर्व र पश्‍चिम, १९४३, पृष्ठ ४८, १०१-२ [अंग्रेजी]) बाइबलको श्रेष्ठगीत पुस्तक हिब्रू रचनाहरूको सृजनशीलता र गुणस्तरको एउटा नमुना हो। यसमा गीतिनाटकको ग्रन्थ वा पुस्तकमा जस्तै गीतिकथा पाइन्छ। यस गीतलाई हिब्रू पदमा “गीतहरूको गीत” भनिन्छ र त्यसको अर्थ हो, उत्कृष्ट गीत।

पुरातन हिब्रूहरूका लागि उपासनाको एउटा मुख्य भाग गाउनु थियो। तिनीहरूले यहोवाको प्रशंसा गर्दा गाएर सकारात्मक भाव व्यक्‍त गर्नसक्थे।

प्रथम शताब्दीका मसीहीहरू गाउँथे

प्रारम्भिक मसीहीहरूका लागि पनि संगीत उपासनाको नियमित भाग हुन गयो। तिनीहरूले प्रेरित भजनहरूबाहेक उपासनाको लागि मौलिक संगीत र शब्दहरू रचे जस्तो देखिन्छ र त्यही नै आधुनिक मसीही गीतहरू रचना गर्ने आधार बन्‍न पुग्यो। (एफिसी ५:१९) वाल्डो सेल्डन प्रेटको पुस्तक संगीतको इतिहास-ले (अंग्रेजी) यसरी बताउँछ: “समूहमा तथा एक्लै उपासना गर्दा गाउनु प्रारम्भिक मसीहीहरूको चलन नै थियो। यहूदी बनेकाहरूले यसलाई सभाघरमा परम्पराको रूपमा मानिरहे। . . . हिब्रू भजनहरूबाहेक . . .  स्पष्टतया, नयाँ विश्‍वासले प्रथमतः गीतिकाव्यको रूपमा नयाँ स्तुतिहरू निरन्तर निकाल्न जमर्को गऱ्‍यो।”a

येशूले प्रभुको साँझको भोजको सुरुआत गर्नुहुँदा गाउनुको मूल्यलाई प्रकाश पार्नुहुँदै उहाँ र उहाँका प्रेरितहरूले सम्भवतः हलेलको भजन गाउनुभयो। (मत्ती २६:२६-३०) यी गीतहरू भजनको पुस्तकमा लिपिबद्ध यहोवाको प्रशंसा र निस्तार उत्सव मनाउँदा गाइने गीतहरू हुन्‌।—भजन ११३-११८.

झूटो उपासनाको प्रभाव

खुबै प्रचलित अन्धकार युगसम्ममा त धार्मिक संगीतको नाउँमा शोक भजन मात्र गाउन थालियो। लगभग सा.यु. २०० मा अलेक्जेन्ड्रियाको क्लिमेन्टले भने: “हामीलाई वीणा वा ढोल वा बाँसुरी वा तुरही होइन शान्तिमय शब्दहरू चाहिएका छन्‌।” चर्चमा संगीतमाथि प्रतिबन्ध लगाइयो र बाजा नबजाई गाउनु मात्र अनुमति दिइयो। यस तरिका भजन वा धार्मिक गीत भनेर चिनिन थाल्यो। हाम्रो सांगीतिक सम्पदा (अंग्रेजी) पुस्तक बताउँछ, “कन्स्टान्टिनोपोलको उत्थान भएको चालीस वर्षभन्दा पछि लाओडिसियाको परिषद्‌ले (सा.यु. ३६७) चर्चको पूजा विधिमा वाद्ययन्त्रहरू र मण्डलीहरू दुवैको सहभागितामाथि प्रतिबन्ध लगायो। परम्परागत संगीत वाद्ययन्त्रबिना गाउनुमा मात्र सीमित भएको छ।” (तेर्सो अक्षर हाम्रो) यी प्रतिबन्धहरू प्रारम्भिक मसीही धर्ममा आधारित थिएनन्‌।

अन्धकार युगको दौडान साधारण मानिसहरूले बाइबल चिनेका र पाएका थिएनन्‌। बाइबल राख्न र पढ्‌न आँट गर्ने मसीहीहरू सताइए र तिनीहरूको हत्यासमेत गरिए। त्यसैले इतिहासको अन्धकार युगको दौडान गाएर परमेश्‍वरको प्रशंसा गर्ने प्रचलन प्रायः पूर्णतया लोप हुनु अचम्म होइन। जे भए पनि साधारण मानिसले धर्मशास्त्र पढ्‌ने अधिकार नपाएका भए, सम्पूर्ण बाइबलको दश भागमा एक भाग गीत हो भनेर तिनीहरूले कसरी थाह पाउनेथिए? परमेश्‍वरले आफ्ना उपासकहरूलाई “परमप्रभुको निम्ति एउटा नयाँ भजन गाउन, र भक्‍त जनहरूको सभामा उहाँको प्रशंसा गर्न” आज्ञा दिनुभयो भनेर कसले तिनीहरूलाई जानकारी दिनेथिए?—भजन १४९:१.

उपासनामा संगीतलाई यथास्थानमा राख्ने

यहोवाको संगठनले उपासनामा संगीतलाई यथास्थानमा राख्न भरमग्दूर कोसिस गरेको छ। उदाहरणका लागि, फेब्रुअरी १, १८९६, जाइन्स वाच टावर-मा गीतहरू मात्रै थिए। यसको शीर्षक थियो, “जाइनका आनन्ददायी प्रारम्भिक गीतहरू।”

सन्‌ १९३८ मा मण्डली सभाहरूमा गाउनु पूर्णतया अनावश्‍यक ठानियो। तथापि, प्रेरितहरूको उदाहरण र निर्देशन अनुसरण गर्ने बुद्धि चाँडै पलायो। सन्‌ १९४४ को जिल्ला अधिवेशनमा एफ. डब्ल्यु. फ्रान्जले “राज्य सेवाको गीत” विषयक भाषण दिए। यहोवाको प्रशंसाका ती गीतहरू मानिसको सृष्टि हुनुभन्दा धेरैअघि परमेश्‍वरका स्वर्गीय प्राणीहरूले गाइसकेका थिए भनेर तिनले बताए र यसो भने: “परमेश्‍वरका पार्थिव सेवकहरूले गीत गाउनु उचित छ र यसले उहाँलाई खुशी तुल्याउँछ।” उपासनामा गाउनु महत्त्वपूर्ण छ भनेर तिनले तर्क गरेपछि साप्ताहिक सेवा सभाहरूमा प्रयोग गर्न राज्य सेवा गीत पुस्तक (अंग्रेजी) विमोचनको घोषणा गरे।b अरू सभाहरूमा पनि प्रारम्भिक र समापन गीतहरू समावेश गरिनेछन्‌ भनेर डिसेम्बर १९४४ को इन्फर्मेन्ट-ले (अहिले हाम्रो राज्य सेवकाई भनिन्छ) घोषणा गऱ्‍यो। गीत गाउनु, यहोवाको उपासनाको पुनः एउटा भाग बन्‍न पुग्यो।

‘यहोवाको निम्ति हृदयबाटै गाउनु’

भावविभोर भएर गाउनुको मूल्यलाई पूर्वी युरोप र अफ्रिकाका हाम्रा भाइहरूले स्पष्टसित देखाएका छन्‌। तिनीहरूले वर्षौंसम्म दुर्दशा र सतावटको अनुभव गरेका छन्‌। लोथार वेग्नरले सात वर्ष नजरबन्दमा बिताए। तिनले कसरी धीरज धरे? तिनी भन्छन्‌: “निकै हप्तासम्म परमेश्‍वरको राज्य गीतहरू सम्झन ध्यानमग्न भएँ। मलाई ठीकसित पद याद नहुँदा एक दुइटा पंक्‍तिहरू रच्ने गर्थें। . . . हाम्रा राज्य गीतहरूमा प्रोत्साहनदायी र उत्थानदायी विचारहरू कत्ति प्रशस्त!”—यहोवाका साक्षीहरूको वार्षिक पुस्तक, १९७४ पृष्ठ २२६-८, (अंग्रेजी)।

हेरोल्ड किङ्‌गले विश्‍वासी अडान लिंदा तिनी पाँच वर्ष नजरबन्दी भए। त्यस दौडानमा तिनले यहोवाको प्रशंसाका गीतहरू रचना गरेर अनि गाएर आश्‍वासन पाए। तिनका थुप्रै रचनाहरू आज यहोवाका साक्षीहरूले उपासना गर्दा गाउँछन्‌। गीत गाउँदा आनन्दित हुन्छौं र त्यसले बल प्रदान गर्छ। तर परमेश्‍वरको प्रशंसा गाउनुको मूल्यबारे हामी विश्‍वस्त हुन सतावट भोग्नैपर्छ भन्‍ने होइन।

यहोवाका सबै जनहरूले गीत गाएर आनन्द उठाउनसक्छन्‌। हामी मनका कुराहरू व्यक्‍त गर्न हिचकिचाउछौं होला। यद्यपि, गीत गाएर हामी यहोवालाई आफ्ना भावनाहरू खुलस्तगरि पोखाउनसक्छौं। गीतद्वारा हामी कसरी आनन्द प्राप्त गर्नसक्छौं, त्यो प्रेरित पावलले देखाए। तिनले मसीहीहरूलाई “गीत र आत्मिक गानमा बोल्दै प्रभुको निम्ति आफ्नो हृदयले गाउँदै र बजाउँदै” रहन सल्लाह दिए। (एफिसी ५:१९) हाम्रो हृदय आध्यात्मिक कुराहरूले टन्‍न भरिंदा गीतमा हामी हृदय छुने अभिव्यक्‍ति पाउँछौं। तसर्थ, सही झुकाउ राख्नु नै राम्ररी गीत गाउनसक्ने कुञ्जी हो।

यहोवासित राम्रो सम्बन्ध राख्नाले आनन्ददायी मनोभाव उत्पन्‍न हुन्छ। यसले हामीलाई यहोवाको प्रशंसा गर्न, बोल्न र गाउन उत्प्रेरित गर्छ। (भजन १४६:२, ५) हामीलाई आनन्दित तुल्याउने कुराहरूबारे हामी तनमनले गाउँछौं। हामीलाई गीत वा यसका भावहरू मन परेमा अवश्‍य पनि साँचो भावना लिएर गाउँछौं।

कुनै व्यक्‍तिले भावविभोर भएर गाउँदा ठूलो स्वरले गाउनुपर्छ भन्‍ने होइन। राम्ररी गाउनुको लागि ठूलो स्वरले गाउनैपर्छ भन्‍ने छैन। अनि सानो स्वरले गाउँदा राम्ररी गाउन नसकिने पनि होइन। कसैको स्वर नै गुञ्जिने खालको हुनाले सानो स्वरले गाए तापनि ठूलो सुनिन्छ। समूहमा राम्ररी गाउनुको एउटा चुनौती अरूको स्वरसित मिल्दोगरि गाउन सिक्नु हो। गीत गाउँदा तपाईंको स्वर अरू सबैको स्वरसित मिलेको होस्‌ या नहोस्‌, छेवैका व्यक्‍तिहरूको स्वरसित मिल्दोगरि गाउनुभएमा गीत सुरिलो र मिलेको सुनिन्छ। मसीही विनय र राम्ररी सुन्‍नाले भावविभोर भएर अरूको आवाजलाई नदबाई ठीकसित गाउन सकिन्छ। तथापि, कौशलतासाथ गाउने वा अति मीठो गाउनेहरू ठूलो स्वरले गाउन कहिल्यै निराश हुनु हुँदैन। मीठो स्वरमा गाउने व्यक्‍तिले मण्डलीमा परमेश्‍वरको प्रशंसा गाउँदा खास सहयोग पुऱ्‍याउनसक्छ।

सभाहरूमा गीत गाउँदा एकपटकमा एकभन्दा थुप्रै नोटहरू बजाइने भागहरू ठीकसित गाउन मदत मिल्छ। नोटहरू नबजाई गाउनसक्नेहरू वा गीतिपुस्तकमा भएका सामूहिक नोटहरू पढ्‌न र गाउनसक्नेहरूलाई अरूको स्वरमा स्वर मिलाएर गाउन अनि संगीतमा माधुर्य थप्न प्रोत्साहन दिइन्छ।c

कोही कोहीले यसो भन्लान्‌, ‘म लय टिप्नै सक्दिनँ’ वा ‘स्वर धोत्रो छ; लय तान्‍नै सक्दिनँ।’ यसर्थ, तिनीहरू राज्यभवनमा गाउन समेत धकाउँछन्‌। कुरा के हो भने, यहोवाको प्रशंसा गाउने कुनै पनि व्यक्‍तिको स्वर उहाँको दृष्टिमा “धोत्रो” हुँदैन। कुनै व्यक्‍तिको बोल्ने आवाज अभ्यास गर्दा र ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा दिइएका मदतकारी सल्लाहहरू पालन गर्दा जसरी सुधार्न सकिन्छ, त्यसरी नै कुनै व्यक्‍तिले गाउने आवाजलाई सुधार्नसक्छन्‌। कोही कोहीले काम गर्दा गुनगुनाएर नै आफ्नो स्वरलाई सुमधुर बनाएका छन्‌। गुनगुनाउनाले स्वरमा मीठास ल्याउन मदत दिन्छ। हामी एक्लै हुँदा वा काम गर्दै गर्दा कसैलाई बाधा पुग्दैन भने परमेश्‍वरको राज्य गीतहरू गाउनु स्वरको लागि उत्कृष्ट व्यायाम हो अनि त्यसले आनन्दित पार्छ र मन हल्का बनाउँछ।

जमघटहरूमा केही राज्य गीतहरू गाउन हामी प्रोत्साहन पनि दिनसक्छौं। गिटार वा पियानो वा सोसाइटीका पियानो रेकर्डहरूसँगसँगै गीत गाउँदा हाम्रो जमघटमा आध्यात्मिक वातावरण फैलिन्छ। यसो गर्दा गीतहरू सिक्न र मण्डली सभाहरूमा राम्ररी गाउन पनि सहयोग पुग्छ।

सभाहरूमा गाउनको लागि प्रोत्साहन दिन सोसाइटीले रेकर्ड तयार गरेको छ। ती रेकर्डहरू बजाउँदा ध्वनि प्रविधि सम्हाल्ने व्यक्‍ति उचित आवाज मिलाउन चनाखो हुनुपर्छ। संगीत मधुरो भयो भने ठूलो स्वरले गाउन मण्डलीमा उपस्थित भएकाहरू धकाउनसक्छन्‌। ध्वनि प्रविधि नियन्त्रण गर्ने भाइले मण्डलीका अरूसँगसँगै गाउँदा संगीतले गाउनमा मदत गरिरहेको छ, छैन थाह पाउनसक्नेछन्‌।

यहोवाको निम्ति गाउनुहोस्‌

हामीले गाउँदा हाम्रो सृष्टिकर्तालाई आफ्ना भावनाहरू व्यक्‍त गर्ने अवसर पाउँछौं। (भजन १४९: १, ३) यो हाम्रो भावना मात्र होइन तर आनन्दको अभिव्यक्‍ति पनि हो जुन नियन्त्रित, युक्‍तिसंगत र आनन्ददायी छ। हामीले मण्डलीमा भावविभोर भएर गाउँदा यहोवाको उपासनामा अझ सहभागी हुन हामीलाई उत्प्रेरित गर्ने प्रबन्धमा तनमनले लाग्न मदत पाउनसक्छौं। गीत गाउँदा भावनात्मक प्रभाव परे तापनि शब्दहरूले हामीलाई निर्देशन पनि दिनसक्छ। तसर्थ, अरूको स्वरमा स्वर मिलाएर गाउँदा र सामूहिक स्वरद्वारा आफूलाई व्यक्‍त गरेर एकजूट भएका मानिसहरूसितै सिक्न सकौं भनी हामी नम्रता र विनम्रतासाथ आफ्नो हृदयलाई तयार पारिरहेका छौं।—भजन १०:१७ तुलना गर्नुहोस्‌।

गाउनु, सधैं यहोवाको उपासनाको भाग हुनेछ। तसर्थ, भजनरचयिताका यी भावनाहरू सधैंभरि बाँड्‌ने प्रत्याशा हामीसित छ: “म बाँचुञ्जेल परमप्रभुको प्रशंसा गर्नेछु। मेरो जीवन रहुञ्जेलसम्मै मेरा परमेश्‍वरको स्तुति म गाउँदैरहनेछु।”—भजन १४६:२.

[फुटनोटहरू]

a गीतिकाव्य एउटा संगीत हो, यसमा स्वतन्त्रसम्बन्धी विचार भएको विभिन्‍न भागहरू छन्‌। गीतिकाव्यहरूमा अक्सर वीरगाथा वा वीर-विदुषीहरूको गुनगान गरिएको हुन्छ।

b प्रथम शताब्दीमा मसीही उपासनाको नियमित भाग गाउनु थियो भनेर १ कोरिन्थी १४:१५ ले संकेत गर्छ जस्तो देखिन्छ।

c हाम्रो हालको गीतिपुस्तक यहोवाको प्रशंसा गाउनुहोस्‌-मा (अंग्रेजी) एक पटकमा एकभन्दा धेरै नोटहरू बजाइने भागहरू गाउनेहरूका फाइदाको लागि एकपटकमा चार वाद्यवादकले बजाउने चार विभिन्‍न नोटहरू दिइएको छ। तथापि, धेरैजसो गीतहरू पियानोसँगसँगै गाउन तयार गरिएको छ र लयहरूको अन्तरराष्ट्रिय रचनालाई संरक्षण गर्ने ढंगमा संगीत रचना गरिएको छ। चार वाद्यवादकले एकपटकमा बजाउने चार विभिन्‍न नोटहरूबिनै रचिएका एकै समयमा बजाइने थुप्रै नोटहरूले सभाहरूमा गाउँदा आनन्द दिनसक्ला।

[पृष्ठ २७-मा भएको पेटी]

अझ राम्ररी गाउन केही सुझाउहरू

१. गीत गाउँदा गीतिपुस्तकलाई सोझो राखेर पक्रनुहोस्‌। यसो गर्दा सजिलोसित सास फेर्न सकिन्छ।

२. प्रत्येक वाक्यांश सुरु गर्दा गहिरो सास लिनुहोस्‌।

३. पहिलाभन्दा केही बढी मुख खोल्दा स्वाभाविकतः आवाज ठूलो निस्कन्छ र गुञ्जन्छ।

४. सबैभन्दा मुख्य कुरा, गाइरहेको गीतको भावलाई ध्यान दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने