राज्य उद्घोषकहरूका रिपोर्ट
परमेश्वरको वचनको शुद्ध पार्ने शक्ति
सुधारगृहबाट फर्किसकेपछि पनि धेरैजसो दुर्व्यसनीहरू फेरि त्यही कुलतमा फस्छन् भनेर प्रतिवेदनले देखाएको छ। तर त्यस्ता सुधारगृहहरूले गर्न नसकेको काम परमेश्वरको वचनले गर्नसक्छ। (हिब्रू ४:१२) परमेश्वरको वचन तथा आत्माले गर्दा धेरैले लागू पदार्थको कुलत त्याग्ने र यो सल्लाह पालन गर्ने मदत पाएका छन्: “ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१.
यसको एउटा उदाहरण म्यानमारमा पाइएको छ। धेरै वर्षदेखि लागू पदार्थको कुलतबाट मुक्त हुन खोजिरहेका एक पुरुष यसो भन्छन्: “किशोरावस्थामा छँदाखेरि म लागू पदार्थको कुलतमा फसेको थिएँ। यो कुलतबाट उम्कन मैले धेरै प्रयास गरें तर सकिनँ। लागू पदार्थ सेवन गर्न मैले चोर्न पनि थालें। फलतः १९८८ मा म एक वर्षको लागि जेलमा परें।
“जेलबाट छुटेपछि म फेरि पुराना साथीहरूसित हिंड्न थालें। यसको केही समयमै म फेरि लागू पदार्थ सेवन गर्न थालें। मेरो यो आत्मविनाशी चालाले गर्दा परिवारले मसित सरोकार राख्न छाडे। यसबाहेक, मेरो विद्रोही स्वभावले गर्दा टोलका मानिसहरू मदेखि डराउन थाले र मदेखि परपरै हुन थाले।
“तर एक दिन जे नहुनु थियो, त्यही भइहाल्यो। मैले लागू पदार्थको मात्रा अलि बढ्ता लिएछु। म फेरि जेलमा तीन वर्षको लागि थुनिएँ। जेल जीवन निकै गाह्रो थियो तैपनि मैले आफ्नो ज्यान जोगाउनसकें।
“जेलबाट छुटेर घर फर्केपछि मैले परिवारसित आफूले गरेका सबै गल्तीहरूको क्षमा मागें। उहाँहरूले मलाई माफ गरिदिनुभयो तर म फेरि त्यही पुराना साथीहरूसित संगत गर्न थालें र पहिलेजस्तै जीवन बिताउन थालें।
“केही नलागेर मेरी हजुरआमाले स्थानीय पास्टरसित मैले एउटा खास बाइबल कक्षामा पढ्न पाओस् भनी सरसल्लाह गर्नुभयो। पास्टरले पनि मान्यो। तथापि, मैले साँच्चै बाइबल अध्ययन गर्न चाहेको हो भने, त्यो कक्षामा जानअघि एक पटक यहोवाका साक्षीहरूसित अध्ययन गर्नू भनेर मेरी फुफूले भन्नुभयो। वास्तवमा फुफू पनि यहोवाकी साक्षी हुनुहुन्थ्यो।
“म राज्यभवन गएँ र त्यहाँ एक जना व्यक्तिसित मेरो परिचय गराइयो। तिनी मसित अध्ययन गर्न राजी भए। त्यहाँ आएका धेरैले मलाई स्वागत गरे र मलाई अप्ठ्यारो महसुस हुनै दिएनन्।
“बाइबल अध्ययन गर्न र मसीही सभाहरूमा जान थालेपछि परमेश्वरको नजीक हुने चाहनाले लागू पदार्थ सेवन गर्ने तलतल मेटायो। वर्षदिन जत्तिपछि म यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्न योग्य भइसकेको थिएँ र मैले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ।
“हालै घर-घर प्रचारमा जाँदा मैले लागू पदार्थ सेवन गर्दा खेरिको मेरो पुरानो साथी भेटें। ममा यतिका परिवर्तनहरू कसरी भए, उसले बुझ्नै सकेन। यसरी मैले उसलाई साक्षी दिने मौका पाएँ र उसलाई परमेश्वरको राज्यले दिने आशाबारे बताउन सकें।
“आखिर मैले जीवनको साँचो उद्देश्य र अर्थ भेट्टाएँ। परमेश्वरको सहयोग र उहाँको वचनमा आधारित सल्लाहले गर्दा आज अरूलाई पनि लागू पदार्थको कुलतबाट अलग रहन मदत गर्न सकेको छु।”