आध्यात्मिक प्रगति गरिरहनुहोस्!
बप्तिस्मा लिएको दिनलाई हामीले सधैं कदर गर्नुपर्छ, सम्झनुपर्छ। किनकि परमेश्वरको सेवा गर्न आफैलाई समर्पण गरिसक्यौं भनेर हामीले त्यही दिन जनसमक्ष घोषणा गरेका थियौं।
धेरैजसोलाई यो अवस्थासम्म पुग्न अथक प्रयास गर्नुपर्छ, जस्तै नानीदेखि लागेका नराम्रा बानीहरू त्याग्नु, अस्वास्थ्यकर संगतिबाट अलग्गिनु, जरो गाडेर बसेका सोचाइपद्धति तथा आनीबानी परिवर्तन गर्नु आदि।
बप्तिस्मा मसीही जीवनको आनन्दित तथा अर्थपूर्ण क्षण भए तापनि त्यो त सुरुआत मात्र हो। प्रेरित पावलले यहूदियाका बप्तिस्माप्राप्त मसीहीहरूलाई भने: “ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोड़ेर हामी परिपक्वतातर्फ बढ़ौं।” (हिब्रू ६:१, नयाँ संशोधित संस्करण) हो, सबै मसीहीहरूले “विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त ग[र्नु], अर्थात् ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको मानिस” हुनु आवश्यक छ। (एफिसी ४:१३) परिपक्वतातर्फ प्रगति गरिरह्यौं भने मात्र हामी साँच्चै “विश्वासमा दृढ़” हुनसक्छौं।—कलस्सी २:७.
बितेका केही वर्षहरूमा मसीही मण्डलीमा लाखौं नयाँ समर्पित उपासकहरू थपिएका छन्। सायद तपाईं पनि तिनीहरूमध्ये पर्नुहुन्छ होला। प्रथम शताब्दीका भाइहरू जस्तै तपाईं पनि आध्यात्मिक तवरमा शिशु भइरहन चाहनुहुन्न होला। तपाईं हुर्कन अनि उन्नति गर्न चाहनुहुन्छ! तर कसरी? अनि तपाईंले यस्तो प्रगति गर्नसक्ने केही तरिकाहरू के हुन्?
व्यक्तिगत अध्ययन गरेर प्रगति गर्ने
फिलिप्पीका मसीहीहरूलाई पावलले भने: “म यही प्रार्थना गर्दछु, कि [सही] ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्।” (फिलिप्पी १:९) आध्यात्मिक प्रगतिका लागि “सही ज्ञान[मा]” बढ्दै जानु एकदम जरुरी छ। ‘यहोवा परमेश्वर र येशू ख्रीष्टको ज्ञान लिनु’ बप्तिस्मा लिने बित्तिकै रोकिने नभई निरन्तर चलिरहने प्रक्रिया हो।—यूहन्ना १७:३.
एउटी मसीही बहिनीले जसलाई हामी आलेकजान्ड्रा भन्नेछौं, बप्तिस्मा लिएको दस वर्षपछि यो कुरा बुझिन्। तिनले १६ वर्षको उमेरमा बप्तिस्मा लिएकी थिइन्। तिनी सच्चाइमा हुर्केकी अनि नियमित तवरले मसीही सभाहरूमा उपस्थित हुनुका साथै प्रचार कार्यमा भाग लिन्थिन्। तिनी लेख्छिन्: “बिगत केही महिनाहरूमा मैले आफूमा ज्यादै नराम्रा कमी कमजोरी पाएँ। सच्चाइप्रति मेरो भावना कस्तो छ र म अझै सच्चाइमा किन छु भनेर इमानदारीसाथ आफूलाई खोतल्ने निर्णय गरें।” अनि तिनले के फेला पारिन्? तिनी अझै लेख्छिन्: “आफू सच्चाइमा भएको कारणहरू थाह पाउँदा म असाध्यै विचलित भएँ। आफू हुर्कंदै गर्दा सभाहरू र क्षेत्र सेवकाईलाई जोड दिने गरेको मैले सम्झें। व्यक्तिगत अध्ययन तथा प्रार्थना त स्वतः गरिहालिन्छ नि भन्ठानें। तर आफ्नो अवस्था विश्लेषण गर्दा त्यसो गरिरहेकी पाइन्।”
प्रेरित पावल यस्तो आग्रह गर्छन्: “केवल जहाँसम्म हामी पुगिसकेका छौं, त्यहीबमोजिम हामी चलौं।” (फिलिप्पी ३:१६) त्यहीबमोजिम गर्दा अर्थात् तालिकाअनुसार चल्दा अघि बढिरहने प्रक्रिया स्थापित हुनसक्छ। बप्तिस्मा लिनुअघि तपाईंले पक्कै पनि एक जना दक्ष शिक्षकसित हप्तैपिछे तालिकाअनुसार बाइबल अध्ययन गर्ने गर्नुहुन्थ्यो। तपाईंको मूल्यांकन बढ्दै जाँदा तालिकाअनुसार तयारी गर्ने यो प्रक्रियामा हरेक हप्ताको पाठ राम्ररी तयार गर्नु, उल्लिखित शास्त्रपदहरू बाइबलमा खोज्नु अनि त्यस्तै अरू पनि समावेश गर्नुहुन्छ। अहिले बप्तिस्मा लिनुभएपछि के तपाईं ‘त्यहीबमोजिम चलिरहनुभएको छ’?
छैन भने, ‘जे उत्तम छ, खुट्याउनसक्न’ तपाईंले आफ्ना प्राथमिकताहरूलाई फेरि जाँच्नुपऱ्यो। (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) व्यस्त जीवनबाट बाइबल पढाइ तथा अध्ययन गर्ने समय निकाल्न आत्मसंयम चाहिन्छ। तर यसबाट हुने फाइदाहरूलाई विचार गर्ने हो भने यस्तो प्रयास गर्नु उचित देखिन्छ। आलेकजान्ड्राको अनुभवलाई फेरि गौर गर्नुहोस्। तिनी स्वीकार्छिन्, “बितेका २० वर्ष वा त्योभन्दा बढी समयदेखि म सच्चाइमा टिकिरहेको एक मात्र कारण त सभाहरूमा उपस्थित भएकोले र क्षेत्र सेवकाईमा भाग लिएकोले रहेछ।” तथापि, तिनी अझै भन्छिन्, “यी महत्त्वपूर्ण छन् तर समस्या सुरु हुन थालेपछि मलाई थामिराख्ने कुरा यिनीहरू मात्र होइनन् भनेर मैले अन्तमा बुझें। वास्तवमा मेरो व्यक्तिगत अध्ययन नभएकोले र मेरो प्रार्थना सतही र जतिखेर मन पऱ्यो त्यतिखेर मात्र गर्ने भएकोले नै यसरी सबै कुरा उदांगिनु परेको हो। मैले आफ्नो सोचाइमा परिवर्तन गर्नुपरेको र एउटा अर्थपूर्ण अध्ययन कार्यक्रम सुरु गर्नुपरेको देखें ताकि, यहोवालाई साँच्चै चिन्नसकूँ र उहाँलाई माया गर्न अनि उहाँको पुत्रले हामीलाई दिनुभएको कुराको मूल्यांकन गर्नसकूँ।”
तालिकाअनुसार व्यक्तिगत अध्ययन गर्ने लाभकारी तालिका स्थापित गर्न मदत चाहिन्छ भने तपाईंको मण्डलीका प्राचीनहरू तथा अन्य परिपक्व मसीहीहरू तपाईंलाई चाहिंदो सहयोग गर्न खुसी हुनेछन्। यसको अलावा प्रहरीधरहरा मे १, १९९५; अगस्त १५, १९९३ (अंग्रेजी) र मे १५, १९८६ (अंग्रेजी) का अंकहरूमा छापिएका लेखहरूमा थुप्रै मदतकारी सुझाउहरू पाइन्छन्।
परमेश्वरसित नजिक हुनुपर्ने आवश्यकता
तपाईंले अथक प्रयाससहित प्रगति गर्नुपर्ने अर्को क्षेत्र परमेश्वरसित तपाईंको व्यक्तिगत सम्बन्ध हो। कुनै कुनै अवस्थामा यस्तो व्यक्तिगत सम्बन्ध गाँस्नु अत्यन्त जरुरी हुनसक्छ। कलिलो उमेरमा बप्तिस्मा लिने अन्थोनीलाई ध्यान दिनुहोस्। तिनी भन्छन्, “हाम्रो परिवारमा बप्तिस्मा लिने पहिलो सन्तान नै म थिएँ। बप्तिस्मा लिएपछि मेरी आमाले मलाई न्यानो अंगालोमा लिनुभयो। उहाँ त्यत्ति धेरै खुशी हुनुभएको पहिले मैले कहिल्यै देखेको थिइनँ। निकै आनन्द थियो र मलाई आफू निकै बलियो छु जस्तो लाग्यो।” तथापि, यो घटनाको अर्को पक्ष पनि थियो। अन्थोनी अझै भन्छन्, “केही समयसम्म हाम्रो मण्डलीबाट बप्तिस्मा लिनेहरूमा जवानहरू त एक जना पनि थिएनन्। त्यसैले म निकै गर्व गर्थें। सभाहरूमा टिप्पणी र भाषणहरू दिंदा पनि म घमण्डले फुल्थें। यहोवाको प्रशंसा गर्नुभन्दा पनि मानिसहरूले तारिफ गरेको सुन्न म बढ्तै लालायित हुन थालें। उहाँसित मेरो सम्बन्ध घनिष्ठ थिएन।”
अन्थोनीजस्तै कतिपयले यहोवालाई खुसी पार्नुभन्दा पनि अरूलाई खुसी पार्न समर्पण गरेका हुनसक्छन्। यदि त्यसो हो भने पनि त्यस्ताहरूले परमेश्वरको सेवा गर्ने आफ्नो प्रतिज्ञाअनुरूप जीवन बिताएको उहाँ आशा गर्नुहुन्छ। (उपदेशक ५:४ तुलना गर्नुहोस्।) यद्यपि, परमेश्वरसित व्यक्तिगत तवरमा घनिष्ठ नभइकन यसो गर्न भने अक्सर गाह्रो हुन्छ। अन्थोनी सम्झन्छन्: “बप्तिस्मा लिंदा अनुभव गरेको उत्कट आनन्द क्षणिक साबित भयो। बप्तिस्मा लिएको वर्षदिन नबित्दै मैले गम्भीर गल्ती गरें र मण्डलीका प्राचीनहरूले मलाई सम्झाउनुपऱ्यो। बारम्बार नराम्रो आचरण देखाएकोले म मण्डलीबाट बहिष्कृत भएँ। यहोवालाई समर्पण गरेको छ वर्षपछि म हत्याको आरोपमा थुनिएँ।”
यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्ने
परिस्थिति जस्तोसुकै होस्, सबै मसीहीहरूले बाइबलको यो निम्तो स्वीकार्न सक्छन्: “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) सुरु सुरुमा अध्ययन गर्नुहुँदा निस्सन्देह, तपाईंले परमेश्वरसित केही हदसम्म घनिष्ठता बढाउनुभएको होला। परमेश्वर मसीहीजगत्मा उपासना गरिने अमूर्त ईश्वर हुनुहुन्न तर उहाँ मूर्त हुनुहुन्छ अनि उहाँको नाउँ छ र त्यो यहोवा हो भनेर तपाईंले सिक्नुभयो। उहाँका घतलाग्दा गुणहरू पनि छन् र उहाँ “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त” हुनुहुन्छ भनेर पनि तपाईंले सिक्नुभयो।—प्रस्थान ३४:६.
तथापि, परमेश्वरको सेवा गर्ने आफ्नो समर्पणअनुरूप जीवन बिताउन उहाँसित पहिलेभन्दा घनिष्ठ हुनैपर्छ! कसरी हुने? भजनरचयिताले यसरी प्रार्थना गरे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्।” (भजन २५:४) बाइबल र हाम्रा सोसाइटीका प्रकाशनहरूको व्यक्तिगत अध्ययन गर्नुभयो भने त्यसले यहोवासित अझ राम्ररी परिचित हुन मदत गर्नसक्छ। नियमित तवरमा हार्दिक प्रार्थना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। भजनरचयिता आग्रह गर्छन्, “उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ।” (भजन ६२:८) तपाईंले आफ्ना प्रार्थनाहरूको जवाफ पाउनुहुँदा परमेश्वरले तपाईंमा व्यक्तिगत चासो लिनुभएको आभास पाउनुहुनेछ। यसले तपाईंलाई परमेश्वरसित नजिकिन मदत गर्नेछ।
यद्यपि, परीक्षा तथा समस्याहरूले परमेश्वरसित घनिष्ठ हुने अर्को मौका प्रदान गर्छ। तपाईंले बिमारी, स्कूल र जागिर खाने ठाउँमा सामना गर्नुभएको दबाब वा आर्थिक कठिनाइ जस्ता विश्वासलाई चुनौती दिने तथा परीक्षामा पार्ने समस्याहरू सामना गर्नुपर्ला। सेवकाईमा भाग लिने, सभाहरूमा उपस्थित हुने वा छोराछोरीसित बाइबल अध्ययन गर्नेजस्ता सामान्य ईश्वरतान्त्रिक तालिका पूरा गर्न पनि तपाईंलाई धौ धौ पर्नसक्छ। यस्ता समस्याहरू एक्लैले नबोक्नुहोस्! परमेश्वरसित निर्देशन र डोऱ्याइको निम्ति अर्जबिन्ती गर्नुहोस्। (हितोपदेश ३:५, ६) उहाँको पवित्र आत्मा पाउन उहाँसमक्ष हात पसार्नुहोस्। (लूका ११:१३) परमेश्वरबाट मायालु मदत पाएको महसुस हुँदा तपाईं उहाँसित झन् घनिष्ठ हुनुहुनेछ। यो, भजनरचयिता दाऊदले भनेजस्तै हुनेछ, “पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो।”—भजन ३४:८.
अनि अन्थोनी? बितेका कुरा सम्झँदै भन्छन्, “त्यतिखेर यहोवाको इच्छा पूरा गर्ने सम्बन्धमा मैले थुप्रै आध्यात्मिक लक्ष्यहरू बनाएको थिएँ। यो सम्झँदा निकै दुःख लाग्थ्यो। तर यी दुःखकष्ट र निराशाको बावजूद मैले यहोवाको प्रेम सम्झें। यहोवालाई प्रार्थना गर्नसक्न मलाई केही समय त लाग्यो नै तर मैले प्रार्थना गरिछाडें र उहाँसित माफी माग्दै भएभरको व्यथा पोखें। मैले बाइबल पनि पढ्न थालें र आफूले थुप्रै कुराहरू बिर्सिसकेको अनि भनौं भने वास्तवमा यहोवाबारे त्यति थाह नपाएको पाउँदा म छक्क परें।” अन्थोनीले आफ्नो अपराधको सजाय पूरा काटीसकेका त छैनन् तैपनि स्थानीय साक्षीहरूको मदत पाइरहेका र आध्यात्मिक सुधार गरिरहेका छन्। कृतज्ञ हुँदै अन्थोनी भन्छन्: “यहोवा र उहाँको संगठनलाई मुरी मुरी धन्यवाद। मैले पुरानो व्यक्तित्वलाई त्याग्नसकें र प्रत्येक दिन नयाँ व्यक्तित्व धारण गर्ने प्रयास गरिरहेको छु। अहिले मेरोनिम्ति यहोवासितको सम्बन्ध नै सर्वमहत्त्वपूर्ण छ।”
सेवकाईमा आध्यात्मिक प्रगति
येशूले आफ्ना चेलाहरूलाई “राज्यको . . . सुसमाचार” प्रचार गर्ने आदेश दिनुभएको थियो। (मत्ती २४:१४) सुसमाचार प्रचार गर्न थालेको धेरै समय भई नसक्नुभएकोले क्षेत्र सेवकाईमा त्यति अनुभव हासिल गर्नु भइसकेको छैन होला। उसो भए, तपाईं कसरी ‘सेवाको काम पूरा गर्न सक्नुहुन्छ’ त?—२ तिमोथी ४:५.
एउटा तरिका सकारात्मक मनोवृत्ति विकास गरेर हो। प्रचारकार्यलाई “धन” एउटा विशेषाधिकार ठान्न सिक्नुहोस्। (२ कोरिन्थी ४:७) यो यहोवाप्रतिको हाम्रो प्रेम, वफादारी तथा निष्ठा प्रकट गर्ने सुअवसर हो। यसले हाम्रा छिमेकीहरूप्रतिको चासो प्रकट गर्ने मौका पनि दिन्छ। यस सम्बन्धमा निःस्वार्थ भई आफैलाई सुम्पिदिनु साँचो आनन्दको स्रोत हुनसक्छ।—प्रेरित २०:३५.
स्वंय येशूले प्रचार कार्यलाई सकारात्मक ढंगमा लिनुहुन्थ्यो। अरूसित बाइबलको सत्य बाँड्नु उहाँको निम्ति “भोजन” सरह थियो। (यूहन्ना ४:३४) अतः अरूलाई मदत गर्ने उहाँको उत्प्रेरणा यी शब्दहरूमा व्यक्त गर्न सकिन्छ: “म इच्छा गर्छु।” (मत्ती ८:३) मानिसहरूप्रति र विशेषगरि शैतानको संसारका “हैरान भई तितर-बितर भएका[हरूप्रति]” येशू अनुकम्पा देखाउनुहुन्थ्यो। (मत्ती ९:३५, ३६) आध्यात्मिक अन्धकारमा परेका तथा परमेश्वरको वचनको ज्ञानको उज्यालो चाहिएकाहरूलाई के तपाईं मदत गर्ने “इच्छा” गर्नुहुन्छ? गर्नुहुन्छ भने येशूको यो आज्ञा पालन गर्न तपाईं उत्प्रेरित हुनुहुनेछ: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) निस्सन्देह, तब तपाईं आफ्नो स्वास्थ्य तथा परिस्थितिले दिएसम्म यस कार्यमा पूर्ण सहभागी हुन प्रेरित हुनुहुनेछ।
उन्नति गर्ने अर्को तरिका नियमित तवरमा र यदि सम्भव छ भने हरेक हप्ता सेवकाईमा भाग लिनु हो। यसो गर्दा यदाकदा मात्र प्रचारमा जाँदा मनमा उब्जने आशंका र डर कम गराउन सकिन्छ। क्षेत्र सेवकाईमा नियमित तवरले भाग लिंदा तपाईंले अन्य तरिकाहरूमा पनि फाइदा उठाउन सक्नुहुनेछ। यसले सत्यप्रतिको तपाईंको मूल्यांकन बढाउनेछ, यहोवा र छिमेकीप्रतिको तपाईंको प्रेमलाई पोस्नेछ अनि राज्य आशामा ध्यानकेन्द्रित गर्न तपाईंलाई मदत गर्नेछ।
तपाईं अहिले प्रचारमा पूरापूर भाग लिन नसक्ने अवस्थामा हुनुहुन्छ भने नि? काँटछाँट गर्न पटक्कै मिल्दैन भने, तपाईं जति सक्नुहुन्छ, त्यो मनतनले गरुञ्जेल यहोवा खुसी हुनुहुनेछ भन्ने थाह पाएर ढुक्क हुनुहोस्। (मत्ती १३:२३) सायद तपाईंले प्रचार गर्ने कलालाई तिखार्नेजस्ता अन्य क्षेत्रहरूमा प्रगति गर्न सक्नुहुन्छ कि। मण्डलीमा ईश्वरतान्त्रिक सेवकाई पाठशाला तथा सेवा सभाले यस सम्बन्धमा पर्याप्त तालिम दिन्छन्। सेवकाईमा जति दक्ष हुन्छौं, हामी सेवकाईमा उत्तिनै रमाउनेछौं र फलहरू पनि देख्नेछौं।
त्यसकारण स्पष्ट छ, बप्तिस्मा लिएको दिन बित्ने बित्तिकै आध्यात्मिक प्रगति गर्न पटक्कै छोड्नु हुँदैन। प्रेरित पावलले स्वर्गमा अमर जीवन प्राप्त गर्ने आफ्नो आशाबारे लेखे: “ए भाइ हो, मैले पक्रिसकेको छु भनी म अझै सम्झन्नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, ख्रीष्ट येशूमा परमेश्वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु। यसैकारण हामी सिद्ध हुनेहरूचाहिं सबै यस्तै मनका होऔं, र तिमीहरू कोही केही कुरामा भिन्न विचारका छौ भने परमेश्वरले तिमीहरूलाई यो पनि प्रकट गरिदिनुहुनेछ।”—फिलिप्पी ३:१३-१५.
हो, चाहे स्वर्गमा अमर जीवन पाउने आशा होस् या पार्थिव प्रमोदवनमा अनन्त जीवन, सबै मसीहीहरू ‘लम्कनैपर्छ’ अर्थात् जीवनको निशाना प्राप्त गर्न अथक प्रयास गर्नैपर्छ! बप्तिस्मा लिनु उत्तम थालनी थियो तर यो सुरुआत मात्र हो। जोडतोडसित आध्यात्मिक प्रगति गरिरहनुहोस्। सभाहरू तथा व्यक्तिगत अध्ययनबाट “समझमा मानिस” हुनुहोस्। (१ कोरिन्थी १४:२०) “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ के रहेछ . . . बुझ्नालाई” सच्चाइमा “बलिया” हुनुहोस्। (एफिसी ३:१८) तपाईंले गर्नुहुने प्रगतिले तपाईंलाई अहिले खुसी तथा अन्थोनीन्दित पार्न मात्र मदत गर्ने होइन तर परमेश्वरको नयाँ संसारमा सुरक्षित स्थान प्राप्त गर्न पनि मदत गर्नेछ। अनि त्यहाँ उहाँको स्वर्गीय राज्यअन्तर्गत तपाईंले अनन्तकालसम्म प्रगति गर्न सक्नुहुन्छ।
[पृष्ठ २९-मा भएको चित्र]
व्यक्तिगत अध्ययनको निम्ति समय निकाल्न अनुशासित हुनुपर्छ
पृष्ठ ३१-मा भएको चित्र]
सकारात्मक मनोवृत्ति छ भने सेवकाईमा आनन्दित हुने मदत पाउनसक्छौं