सौतेनी परिवारहरू सफल हुनसक्छन्
के सौतेनी परिवारहरू सफल हुनसक्छन्? अवश्य हुनसक्छन्, अझ विशेषगरि परिवारका सबैले यो सल्लाह मनमा राख्यो भने, “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) सौतेनी परिवारका सबै सदस्यले बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्दा सफल हुने सम्भावना प्रायः सुनिश्चित हुन्छ।
महत्त्वपूर्ण गुण
साँच्चै भन्ने हो भने बाइबलले मानवहरूबीचको सम्बन्धबारे थोरै मात्र व्यवस्थाहरू औंल्याएको छ। बाइबलले हामीलाई प्रायः बुद्धिमानीपूर्वक हिंड्न असल गुण तथा मनोवृत्तिहरू खेती गर्न प्रोत्साहन दिन्छ। त्यस्ता असल मनोवृत्ति तथा गुणहरू नै सुखी पारिवारिक जीवनको आधार हो।
सबैलाई थाह भएकै कुरा भए तापनि सुखी पारिवारिक जीवनको निम्ति आवश्यक महत्त्वपूर्ण गुण प्रेम हो भनी फेरि एक चोटि भन्नुमा अत्युक्ति नहोला। प्रेरित पावलले भने: “प्रेम निष्कपटको होस्। . . . भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ।” (रोमी १२:९, १०) “प्रेम” शब्दको प्रायः गलत अर्थ लगाइन्छ तर यहाँ पावलले संकेत गरिरहेका गुणको विशेष अर्थ छ। यो ईश्वरीय प्रेम हो र यो “कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:८) यो निस्वार्थ हुनुका साथै सेवा गर्न तत्पर हुन्छ भनी बाइबल व्याख्या गर्छ। अरूको भलाइको निम्ति यो सक्रिय हुन्छ। यो धीरजी र दयालु हुन्छ र कहिल्यै डाह, सेखी गर्दैन वा घमण्डले फुल्दैन। यसले आफ्नै भलाइ खोज्दैन। यो माफी दिन, भरोसा गर्न, पत्यार गर्न, सबै कुरा सहन सधैं तत्पर हुन्छ।—१ कोरिन्थी १३:४-७.
चित्त नबुझेका कुराहरू सुल्झाउन र एकदमै भिन्न व्यक्तित्व तथा पृष्ठभूमिमा हुर्केका मानिसहरूबीच पनि समन्वय गर्न साँचो प्रेमले मदत गर्छ। यसले सम्बन्ध बिच्छेद वा आफ्नो आमा या बुबाको मृत्युको कारण हुने चोटहरू सहन पनि मदत गर्छ। एक सौतेनी बुबा आफ्नो वास्तविक समस्याबारे यसो भन्छन्: “मलाई आफ्नै भावनाहरूबारे मात्र बढी चिन्ता भएको कारण मेरो सौतेनी बच्चाहरू वा मेरी श्रीमतीको समेत भावनाहरू बुझ्ने मतलबै हुँदैनथ्यो। म आफ्नो विषयमा अलि कम संवेदशील हुन सिक्नुपरेको थियो। सबैभन्दा त मैले नम्र हुन सिक्नुपरेको थियो।” प्रेमले तिनलाई आवश्यक परिवर्तनहरू गर्न मदत गऱ्यो।
साक्खै बुबा या आमा
बच्चाहरू साक्खै बुबा या आमाबाट टाढा भए तापनि बच्चाहरूको उनीसितको सम्बन्धलाई बुझ्न प्रेमले मदत गर्छ। एक सौतेनी बुबा आफ्नो कुरा यसरी बताउँछन्: “मेरा सौतेनी बच्चाहरूले सबैभन्दा बढी मलाई माया गरोस् भन्ने चाहन्थें। तिनीहरू आफ्नो बुबालाई भेट्न जाँदा मलाई तिनका नराम्रो नराम्रो कुरा मात्र गर्न मन लाग्थ्यो। तिनीसँग केटाकेटीले रमाइलो गरी दिन बिताएर आउँदा मलाई असह्य हुन्थ्यो। अनि तिनीहरूको दिन खराब हुँदा म दंग पर्थें। तर साँच्चै भन्ने हो भने मलाई तिनीहरू गुमाउनुपर्ला भन्ने पीर थियो। मेरा सौतेनी बच्चाहरूको जीवनमा तिनीहरूको आफ्नो बुबाको धेरै महत्त्वपूर्ण भूमिका छ भनी मानि लिन मलाई धेरै गाह्रो भयो।”
साँचो प्रेमले यस सौतेनी बुबालाई बच्चाहरूबाट “तुरुन्तै” प्रेमको आशा गर्नु व्यवहारिक होइन भनी बुझ्न मदत गऱ्यो। बच्चाहरूले तिनलाई तुरुन्तै नस्वीकार्दा वास्तै नगरेको महसुस गर्न हुँदैनथ्यो। आफ्ना सौतेनी बच्चाहरूको जीवनमा साक्खै बुबाको ठाउँ कहिल्यै लिन नसक्ने कुरा तिनले बुझे। बच्चाहरूले आफ्नो बुबालाई जन्मेदेखि नै चिनेका हुन्छन् भने सौतेनी बुबालाई त तिनीहरूले भर्खरै मात्र चिनेका हुन्छन्। यसैकारण, तिनले बच्चाहरूको प्रेम पाउन मेहनत गर्नुपर्छ। अनुसन्धानकर्ता एलिजाबेथ आइनस्टाइन थुप्रैको अनुभवबारे प्रकाश पार्दै यसो भन्छिन्: “सौतेनी आमा या बुबाले साक्खै आमा या बुबाको ठाउँ कहिल्यै लिन सक्दैनन्। अहँ, कहिल्यै। मृत्यु भइसकेका वा बच्चाहरूलाई छोडेर गएका आमा या बुबा भए तापनि बच्चाको हृदयमा तिनको निम्ति विशेष स्थान हुन्छ।”
अनुशासन—एक संवेदनशील विषय
केटाकेटीलाई मायालु अनुशासनको आवश्यक छ भनी बाइबलले बताउँछ र यसमा सौतेनी बच्चाहरू पनि समावेश छन्। (हितोपदेश ८:३३) अब आएर थुप्रै पेशेवरहरूले यस विषयमा बाइबलको सल्लाह ठीक हो भनी स्वीकारेका छन्। प्राध्यापक सेरेज आल्भेज डे आराउजुज यसो भन्छिन्: “स्वभावैले कसैलाई सीमा तोकेको मन पर्दैन तर ती आवश्यक छन्। ‘हुँदैन’ भन्ने शब्द तिनीहरूकै भलाइको निम्ति हो।”
तथापि, सौतेनी परिवारहरूमा अनुशासनको कुरामा ठूलठूला खटपट पर्नसक्छन्। सौतेनी बच्चाहरूका कतिपय दृष्टिकोण तथा विचार अहिले आफू अलग हुनुपरेको आमा या बुबाको जस्तै हुन्छ। त्यसैले, तिनीहरूका कतिपय बानी वा चलन सौतेनी आमा या बुबालाई मन नपर्ला। अनि बच्चाहरूले पनि सौतेनी बुबा या आमालाई कुनै खास कामकुरा किन मन नपरेको बुझ्न सक्दैनन्। कसरी यस्तो परिस्थितिको सफलतापूर्वक सामना गर्ने? पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “प्रेम, धीरज, नम्रताको पछि लाग।” (१ तिमोथी ६:११) एकअर्कालाई बुझ्ने प्रयास गरिराख्दा मसीही प्रेमले सौतेनी आमा या बुबा र बच्चाहरू दुवैलाई धैर्य तथा शान्त रहन मदत गर्छ। सौतेनी बुबा अधैर्य, ‘क्रोधित, रीसाउने र हो-हल्ला’ गर्ने छ भने बल्लतल्ल अलि राम्रो भएको सम्बन्ध पनि भताभुंग हुन्छ।—एफिसी ४:३१.
यस्तो परिस्थितिमा मदत गर्ने कुराबारे अगमवक्ता मीकाले अन्तरदृष्टि दिएका छन्। तिनले भने: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड़नू।” (मीका ६:८) अनुशासन दिंदा न्यायी हुनु महत्त्वपूर्ण छ। अनि दया नि? आफ्नो सौतेनी बच्चाहरूलाई अक्सर आइतबार बिहान मण्डलीको सभाको निम्ति उठाउन गाह्रो भएको एक मसीही प्राचीन बताउँछन्। उनीहरूलाई गाली गर्नुको साटो उनले दयालु व्यवहार गरे। बिहान चाँडै उठेर चमेना तयार पार्थें र उनीहरू सबैलाई तातो तातो दूध लगिदिन्थें। फलस्वरूप, उनीहरूले उठ्न त्यति झिंझो मानेनन्।
प्राध्यापक आना ल्युएज भिएरा डे माटोसले निम्न चाखलाग्दो टिप्पणी गरिन्: “महत्त्वपूर्ण कुरा परिवार कस्तो प्रकारको छ भन्ने नभई कस्तो प्रकारको सम्बन्ध छ भन्ने हो। मेरा अध्ययनहरूमा मैले अलि समस्या भएका जवानहरू प्रायः आमाबाबुको हेरचाह र नियमको कमी तथा दोहोरो कुराकानी नभएका परिवारका छन्।” तिनले यस्तो पनि भनिन्: “बच्चाहरू हुर्काउँदा हुँदैन भन्नु अति महत्त्वपूर्ण छ।” यसबाहेक, डाक्टर द्वय एमेलि र जोन भिसर भन्छन्: “साधारणतया, अनुशासन पाउने व्यक्तिले अनुशासन दिइरहने व्यक्तिको प्रतिक्रिया तथा सम्बन्धको महत्त्व राख्छ भने मात्र अनुशासनले काम गर्छ।”
यस टिप्पणीबाट सौतेनी परिवारमा कसले अनुशासन दिने त भन्ने प्रश्न आउँछ। हुँदैन भन्ने कसले? यस विषयमा छलफल गरेपछि सौतेनी बुबा या आमाको बच्चासित राम्रो सम्बन्ध कायम नहुञ्जेल सुरुसुरुमा साक्खै आमा या बुबाले मात्र अनुशासन दिने निर्णय गरेका छन्। सौतेनी बुबा या आमाबाट अनुशासन पाउनुअघि बच्चालाई तिनको मायामाथि कुनै शंका नहोस्।
तर बुबा सौतेनी छन् भने नि? के बाइबलले बुबा परिवारको शिर हो भनेर बताउँदैन र? हो, बताउँछ। (एफिसी ५:२२, २३; ६:१, २) तथापि, केही समयको लागि सौतेनी बुबाले विशेषगरि सजाय दिने कुरा आमाकै हातमा छोडि दिनसक्छन्। तिनले ‘आफ्ना [नयाँ] पिताको आज्ञा पालन गर्न’ आधार तयार पारुञ्जेल तिनले बच्चालाई ‘आमाको अर्ती सुन्न’ अनुमति दिनसक्छन्। (हितोपदेश १:८; ६:२०; ३१:१) अन्ततः यो शिरत्वको सिद्धान्त विरुद्ध हुँदैन भनी प्रमाणले देखाएको छ। यसबाहेक, एक सौतेनी बुबाले यसो भने: “अनुशासनमा सल्लाह दिनु, सच्याउनु र सजाय दिनु पनि समावेश छ भनी मैले सम्झें। यो न्यायी, मायालु तथा दयालु ढंगमा दिनुका साथसाथै आमाबाबुले पनि असल नमुना बसालेका छन् भने साधारणतया उक्त अनुशासन सफल हुन्छ।”
आमाबाबुबीच खुलस्त कुराकानी हुनु महत्त्वपूर्ण छ
हितोपदेश १५:२२ भन्छ: “परामर्श विनाको योजना विफल हुन्छ।” आमाबाबुबीच आन्तरिक गोप्य कुराहरूबारे शान्त र खुलस्त ढंगमा कुराकानी हुनु अत्यन्तै महत्त्वपूर्ण छ। ओ एस्टाडो डे एस. पाउल अखबारका स्तम्भ लेखिका भन्छिन्: “बच्चाहरू सधैं आमाबाबुले तोकेको घेराभन्दा बाहिर जान चाहन्छन्।” सौतेनी परिवारहरूमा यो तथ्य अझै सत्य हुनसक्छ। अतः आमाबाबु दुवै विभिन्न विषयहरूमा सहमतिमा आउनुपर्छ ताकि बच्चाहरूले तिनीहरूमा एकता छ भनी थाह पाउनेछन्। तर सौतेनी बुबा या आमाको तौरतरिका साक्खै आमा या बुबालाई अलि ठीक नभएजस्तो लाग्यो भने नि? त्यस परिस्थितिमा दुई जना मात्र बसेर कुरा सुल्झाउने गर्नुपर्छ।
पुनर्विवाह गरेकी एउटी आमा भन्छिन्: “सौतेनी बुबाले बच्चाहरूलाई अनुशासन दिइरहेको हेर्नु, अझ विशेषगरि तिनी अलि पक्षपाती जस्तो देखियो भने एक आमाको निम्ति एकदमै असह्य हुनसक्छ। आमाको हृदय छिया छिया हुन्छ र उनी आफ्नो बच्चाहरूलाई तिनीबाट बचाउन चाहन्छिन्। यस्तो बेला आफ्नो पतिको अधीनमा बसेर तिनको समर्थन गर्न गाह्रो हुन्छ।
“एक पटक मेरो १२ र १४ वर्षका दुई छोराहरूले कुन्नि के हो गर्न सौतेनी बुबासित अनुमति मागे। उहाँले तुरुन्तै हुँदैन भन्नुभयो र कोठाबाट सरासर निस्कनुभयो। मेरा छोराहरूले किन हुँदैन भनी सोध्नसम्म पाएनन्। छोराहरूले आँखाभरि आँसु पारेका थिए र म चाहिं अक्क न वक्क भएँ। ठूलो छोराले मलाई हेरेर, ‘उहाँको ताल देख्नुभयो, आमा?’ भन्यो। मैले जवाफमा, ‘अँ, देखें तर के गर्नु छोरा उहाँ हाम्रो परिवारको शिर हुनुहुन्छ र बाइबलले हामीलाई शिरको आदर गर्नु भन्छ,’ भनें। तिनीहरू ज्ञानी बच्चाहरू भएकोले केही भनेनन् र अलि शान्त भए। तर मैले त्यही साझँ श्रीमान्सँग कुरा गरें र उहाँले पनि आफूले तानाशाही व्यवहार गरेको महसुस गर्नुभयो। उहाँ सीधै छोराहरूको कोठामा जानुभयो र क्षमा माग्नुभयो।
“हामीले यस घटनाबाट निकै कुरा सिक्यौं। मेरा श्रीमान्ले निर्णय गर्नुअघि अरूको कुरा सुन्न सिक्नुभयो। मैलेचाहिं चित्त दुखे तापनि शिरत्वको सिद्धान्तलाई आदर गर्न सिकें। अनि छोराहरूले अधीनमा रहनुपर्ने महत्त्व बुझे। (कलस्सी ३:१८, १९) अनि मेरा श्रीमान्ले भित्री हृदयबाट क्षमा माग्नुभएकोले हामी नम्रताको महत्त्वपूर्ण पाठ सिक्यौं। (हितोपदेश २९:२३) आज मेरा दुवै छोराहरू प्राचीन भएका छन्।”
गल्तीहरू हुन्छन्। बच्चाहरूले चित्त दुख्ने कुरा भन्छन् वा गर्छन्। त्यतिबेला छिनभरको तनाउले गर्दा सौतेनी बुबा या आमाले नमिल्ने व्यवहार गर्नसक्छन्। तथापि, “कृपया, मलाई माफ गर्नुस्” भन्नेजस्ता सरल शब्दहरूले चोट निको पार्न निकै मदत गर्छ।
पारिवारिक एकतालाई बलियो बनाउने
सौतेनी परिवारमा न्यानो सम्बन्ध कायम हुन समय लाग्छ। तपाईं सौतेनी आमा या बुबा हुनुहुन्छ भने समानुभूति देखाउनु आवश्यक छ। समझदार हुनुहोस् र बच्चाहरूसित समय बिताउनुहोस्। स-साना नानीहरूसित खेल्नुहोस्। ठूलाहरूसित खुलस्त कुरा गर्नुहोस्। बच्चाहरूसित सँगै समय बिताउने अवसरहरू मिलाउनुहोस् जस्तै, बच्चाहरूलाई घरको काम उदाहरणका लागि खाना पकाउन वा स-साना मर्मत कार्यहरू गर्न बोलाउनुहोस्। तरकारीहरू किन्न जानुहुँदा सँगै लैजाउनुहोस् र मदत माग्नुहोस्। यसबाहेक, स-साना स्नेही इशाराले पनि तपाईंको प्रेम प्रदर्शित गर्न सक्नुहुन्छ। (निस्सन्देह, सौतेनी बुबाहरूले सौतेनी छोरीहरूसित व्यवहार गर्दा उचित सीमाको कदर गर्नुपर्छ र तिनीहरूलाई असजिलोमा पार्नु हुँदैन। अनि सौतेनी आमाहरूले पनि केटाहरूको सीमालाई नाघ्नु हुँदैन।)
सौतेनी परिवारहरू सफल हुनसक्छन्। अनि थुप्रै सफल पनि भएका छन्। सबैले र अझ विशेषगरि आमाबाबुले सही मनोवृत्ति खेती गर्दा तथा व्यवहारिक आशाहरू राख्दा प्रायः सफल भएका छन्। प्रेरित यूहन्नाले यस्तो लेखे: “हे प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाटको हो।” (१ यूहन्ना ४:७) हो, निष्कपट प्रेम नै सुखी सौतेनी परिवारको रहस्य हो।
[पृष्ठ ७-मा भएका चित्रहरू]
सुखी सौतेनी परिवारहरू
परमेश्वरको वचन सँगै अध्ययन गर्नुहोस् . . .
सँगै समय बिताउनुहोस् . . .
सँगै बसेर कुराकानी गर्नुहोस् . . .
सँगै मिलेर काम गर्नुहोस् . . .