सौतेनी परिवारहरूका खास समस्याहरू
सौतेनी परिवारहरू सुखी हुनसक्छन्! कसरी?
विश्वका थुप्रै भागमा अचेल सौतेनी परिवार सामान्य कुरा भइसक्यो। तैपनि, सौतेनी परिवारका आफ्नै प्रकारका समस्याहरू हुन्छन्। निस्सन्देह, सबैभन्दा चुनौतीपूर्ण चाहिं बच्चाहरू हुर्काउनु नै हो। तथापि, अबका दुई लेखहरूले सौतेनी परिवारमा पनि सफलतापूर्वक बच्चाहरू कसरी हुर्काउन सकिन्छ भनी छलफल गर्नेछ।
पहिले पहिलेदेखि नै सौतेनी बुबा या आमाबारे नराम्रो कुरा मात्र गरिंदै आएको छ। हामी सबैले पक्कै पनि सानो छँदा सिन्ड्रेलाको जस्तो सास्ती दिने सौतेनी आमाको कथाहरू सुनेका होऔंला। युरोपका बच्चाहरूले स्नो ह्वाइट एण्ड दि सेभेन ड्वर्फ-को कथा सुनेका छन्। यस कथामा स्नो ह्वाइटकी आमा दुष्ट बोक्सी हुन्छिन्!
के यस्ता कथाहरूले सौतेनी परिवारको सही चित्रण गर्छ? के सौतेनी आमा या बुबा खराबै मात्र हुन्छन् त? अवश्य हुँदैनन्। अधिकांशले आफूले विवाह गर्न लागेको पुरुष वा स्त्रीको बच्चा भइसकेको छ भने, ती बच्चाहरूको भलाइ नै चाहन्छन्। तर सौतेनी परिवारहरूको आफ्नै प्रकारको कठीन समस्याहरू हुन्छन्।
बच्चा हुर्काउँदाका समस्याहरू
पहिलो विवाह टुक्रनुको मुख्य कारण अक्सर विवाहित दम्पती दुवैको अपरिपक्वता हो। दोस्रो विवाहमा बच्चाहरूसित व्यवहार गर्दा विवाहमा तनाउ खडा हुनसक्छ। केही रेकर्डहरूले देखाएअनुसार १० वटा सौतेनी परिवारमा ४ वटा विवाह गरेको पाँच वर्षभित्रै टुक्रन्छन्।
सौतेनी आमा या बुबाको उपस्थितिले सौतेनी छोराछोरीको मनमा हुने भावनात्मक उथलपुथल र कसको कुरा सुन्ने भन्ने दोधार, ईर्ष्या तथा क्रोधजस्ता भावनाहरू भर्खरै विवाह गरेकाहरूले नबुझ्न पनि सक्छन्। आफ्नो साक्खै आमा या बुबाले अब आफूलाई भन्दा सौतेनी आमा या बुबालाई बढी माया गर्छन् जस्तो लाग्नसक्छ। यसबाहेक, आफ्नो जीवनसाथीबाट त्यागिएको आमा या बुबालाई बच्चाले चाहिं पहिल्यैकै पति वा पत्नीलाई किन पछ्याइरहेको होला भनी बुझ्न गाह्रो पर्छ। एक जना केटाले आफ्नो साक्खै बुबासितको राम्रो सम्बन्धलाई यसरी बुझाउन खोजे: “आमा, मलाई थाह छ, बुबाले तपाईंसित राम्रो व्यवहार गर्नुभएन तर मसित त नराम्रो व्यवहार गर्नुहुन्न नि!” यस्ता अभिव्यक्तिहरू साँचो भए तापनि बच्चाको साक्खै बुबाप्रति आमासित ईर्ष्याका भावनाहरू हुनसक्छन्।
एक सौतेनी बुबाले यसरी स्वीकारे: “साँच्चै भन्ने हो भने, म आफ्ना सौतेनी छोराछोरीहरू हुर्काउँदा हुने समस्याहरू सामना गर्न तयारै थिइनँ। मैले तिनीहरूको आमालाई बिहे गरेपछि म स्वतः तिनीहरूको बुबा भइहाल्छु नि जस्तो लाग्थ्यो। मेरो निम्ति कुरा अत्यन्तै सरल थियो! बच्चाको आफ्नो साक्खै बुबाप्रति कत्तिको माया हुन्छ भनी नबुझेको कारण मैले थुप्रै गल्तीहरू गरें।”
अनुशासनको मामिलामा विशेषगरि तनाउ उत्पन्न हुनसक्छ। केटाकेटीलाई मायालु अनुशासन चाहिन्छ। तर आफ्नै आमाबाबुले अनुशासन दिंदा त अक्सर तिनीहरू टेर्दैनन् भने सौतेनी आमा या बुबाको अनुशासन पालन गर्न सजिलो होला त! साधारणतया, अनुशासन दिंदा सौतेनी बच्चाले यस्तै केही भन्ने गर्छन्, “तपाईं मेरो साँच्चैको बुबा हो र!” यस्ता शब्दहरूले बच्चाको भलो चाहने सौतेनी बुबा या आमालाई साह्रै चोट पुऱ्याउँछ!
के सौतेनी परिवारमा बच्चाहरूलाई सफलतापूर्वक हुर्काउन सकिन्छ? के सौतेनी आमा या बुबाले सौतेनी परिवार सफल बनाउन सकारात्मक भूमिका निर्वाह गर्नसक्छन्? तिनीहरू सबैले परमेश्वरको प्रेरित वचन बाइबलको सल्लाह पछ्याएको खण्डमा यी दुवै प्रश्नको जवाफ सकारात्मक हुनसक्छ।
[पृष्ठ ३-मा भएको चित्र]
“तपाईं मेरो साँच्चैको बुबा हो र!”