एपोक्यालिप्स—डराउनुपर्ने कि आशा गर्नुपर्ने?
“एपोक्यालिप्स, अब बाइबलीय विवरण मात्र नभई साँच्चै हुनसक्ने एउटा सम्भाव्यता भएको छ।”—संयुक्त राष्ट्रका भूतपूर्व महासचिव हाभियर पेरेज द क्वायर।
संसारको यस्तो ठूलो व्यक्तिले यसरी “एपोक्यालिप्स” शब्द प्रयोग गरेकोबाट अधिकांश मानिसहरूले यस शब्दको अर्थ कसरी बुझेका छन् भनेर थाह हुन्छ र त्यही बुझेको आधारमा तिनीहरूले चलचित्र, पुस्तकका शीर्षक, पत्रिकाका लेख र अखबारका रिपोर्टहरूमा यो शब्द प्रयोग गर्छन्। एपोक्यालिप्स भन्नेबित्तिकै मानिसहरूले मनमा ब्रह्माण्डीय प्रलयबारे सोच्छन्। तर वास्तवमा “एपोक्यालिप्स” शब्दको अर्थ के हो? अनि अझ महत्त्वपूर्ण कुरा, एपोक्यालिप्स वा प्रकाश नामाकरण गरिएको बाइबल पुस्तकमा कस्तो सन्देश छ?
“एपोक्यालिप्स” शब्द युनानी भाषाबाट लिइएको हो र यसको अर्थ “पर्दा हटाउनु” अथवा “उघारनु” हो। बाइबलीय प्रकाशमा के उघारियो वा प्रकट गरियो? के यो विनाशकै सन्देश अर्थात् कोही पनि बच्न नसक्ने प्रलयको पूर्वसूचना मात्र हो? एपोक्यालिप्सबारे कस्तो विचार राख्नुहुन्छ भन्ने प्रश्नको जवाफमा फ्रान्सेली संस्थानका सदस्य, इतिहासकार झाँ डेलोमोले यसो भने: “यो सान्त्वना र आशाको पुस्तक हो। यसमा वर्णन गरिएका विनाशकारी घटनाहरूमा ध्यान केन्द्रित गरेर मानिसहरूले यसको विषयलाई नाटकीय ढंगमा प्रस्तुत गरेका छन्।”
प्रारम्भिक चर्च र एपोक्यालिप्स
प्रारम्भिक “मसीहीहरूले” एपोक्यालिप्स अनि ख्रीष्टले यस पृथ्वीमा हजार वर्ष शासन (सहस्र वर्ष) गर्नुहुनेछ भनेर यसमा उल्लिखित आशालाई कुन दृष्टिकोणले हेरे? माथि उल्लिखित इतिहासकारले यसो भने: “मलाई लाग्छ, सुरु सुरुका शताब्दीहरूका मसीहीहरू सहस्र वर्षमा विश्वास गर्थे। . . . सहस्र वर्षमा विश्वास गर्ने प्रथम शताब्दीका मसीहीहरूमध्ये विशेष गरी पापीयास, एसिया माइनरस्थित हिरापोलिसको पादरी, . . . प्यालेस्टाइनमा जन्मेर लगभग १६५ तिर रोममा शहीद हुने सन्त जस्टिन, २०२ मा मृत्यु हुने लीयोनका पादरी सन्त आइरेनियस, २२२ मा मृत्यु हुने टर्टुलियन अनि . . . महान् लेखक लाकटानसियस थिए।”
प्राप्त प्रमाणअनुसार सा.यु. १६१ वा १६५ मा पर्गामममा शहीद हुने पापीयासबारे क्याथोलिक विश्वकोश यसो भन्छ: “सन्त यूहन्नाका चेला हिरापोलिसका पादरी पापीयास सहस्र वर्षका समर्थक थिए जस्तो देखिन्छ। तिनी आफूले प्रेरितहरूका समकालीनहरूबाट शिक्षा पाएको दाबी गर्थे। आइरेनियसअनुसार, चेला यूहन्नालाई देख्ने अनि तिनका कुरा सुन्ने अरू ‘प्रेस्वाइटेरीले’ सहस्र वर्षमाथिको विश्वास प्रभुको शिक्षाको एक भाग हो भनेर पापीयासबाटै सिकेका थिए। युसिबियसअनुसार . . . मृतकहरूको पुनरुत्थान भएपछि ख्रीष्टको हजार वर्षीय दृश्य पार्थिव राज्य सुरु हुनेछ भनेर पापीयासले आफ्नो पुस्तकमा पुष्टि गरे।”
एपोक्यालिप्स वा प्रकाशको पुस्तकले प्रारम्भिक विश्वासीहरूमाथि कस्तो प्रभाव पाऱ्यो? यसले तिनीहरूमा डर उत्पन्न गरायो कि आशा जगायो? चाखलाग्दो कुरा के छ भने, इतिहासकारहरूले प्रारम्भिक मसीहीहरूलाई किल्येस्ट भन्थे र यो हील्ये एट (हजार वर्ष) भन्ने युनानी शब्दबाट लिइएको हो। हो, तिनीहरूमध्ये धेरैजसोले पार्थिव प्रमोदवन ल्याउने ख्रीष्टको हजार वर्षीय शासनमा विश्वास गर्थे। सहस्र वर्षे आशाबारे बाइबलमा सुस्पष्टसित उल्लेख गरिएको एपोक्यालिप्स वा प्रकाशमा मात्र हो। (२०:१-७) एपोक्यालिप्समा विश्वास गर्नेहरूलाई त्यसले भयभीत तुल्याउनुको सट्टा एउटा अद्भुत आशा प्रदान गऱ्यो। चर्चको इतिहासबारे अक्सफर्डका प्राध्यापक सेसिल काडु आफ्नो पुस्तक प्रारम्भिक चर्च र संसार-मा यस्तो लेख्छन्: “किल्येस्ट विचारधाराहरू पछि गएर अस्वीकार गरिए तापनि निकै लामो समयसम्म चर्चमा व्यापक रूपमा रह्यो किनकि त्यो विचारधारा अति सम्मानित स्रष्टाहरूले सिकाएका थिए।”
किन एपोक्यालिप्सको आशा स्वीकारिएन
अधिकांश प्रारम्भिक मसीहीहरूले पार्थिव प्रमोदवनमा ख्रीष्टको हजार वर्षे शासन आउनेछ भनी आशा गर्थे भन्ने कुरा अकाट्य ऐतिहासिक तथ्य हो। त्यसो भए, “किल्येस्ट विचारधाराहरू” किन “पछि गएर अस्वीकार गरिए” त? किनकि शास्त्रविद् रबर्ट माउन्सले यसो भने, “दुःखको कुरा, थुप्रै किल्येस्टहरूले हजार वर्षमा भौतिक कुराहरू थुपार्न र कामोत्तेजक कुराहरू गर्न पाइन्छ भन्ने भ्रष्ट विचार राख्न थाले।” तर सहस्र वर्षे आशालाई अस्वीकार नगरी त्यस्तो दृष्टिकोणलाई सच्याउन सकिन्थ्यो।
विरोधीहरूले सहस्र वर्षको विश्वासलाई दबाउन प्रयोग गरेका माध्यमहरू पनि छक्कलाग्दो छ। धर्मसम्बन्धी क्याथोलिक विश्वकोश-अनुसार “सहस्र वर्षमा विश्वास गर्नेहरूलाई हात पार्न” रोमी चर्चका सदस्य गायसले (दोस्रो शताब्दीको अन्त, तेस्रो शताब्दीको सुरुतिर) “एपोक्यालिप्स [प्रकाश] र सन्त यूहन्नारचित सुसमाचार सही होइनन् भनेर स्पष्टसित बताए।” सोही विश्वको अझ यसो पनि भन्छ, “सन्त यूहन्नाको एपोक्यालिप्समा विश्वास गरेर सहस्र वर्षमा विश्वास नगरून् भन्नाखातिर” तेस्रो शताब्दीका अलेक्सजान्ड्राका पादरी डियनुसियसले सहस्र वर्षको विरुद्धमा एउटा सोधपत्र लेखेर एपोक्यालिप्स सही होइन भनेर बताए।” सहस्र वर्षले पृथ्वीमा ल्याउने आशिष्हरूको आशाप्रतिको यस्तो घोर विरोधले त्यतिखेरका धर्मविज्ञानीहरूलाई पनि असर गऱ्यो भनेर स्पष्ट हुन्छ।
आफ्नो पुस्तक सहस्र वर्षको खोज-मा प्राध्यापक नरमन कोन यसरी लेख्छन्: “तेस्रो शताब्दीमा आएर पहिलो चोटि सहस्र वर्षको खण्डन गर्ने प्रयास गरियो। त्यतिखेर प्राचीन चर्चका सम्भवतः सबैभन्दा प्रभावशाली धर्मविज्ञानी ओरिजेनले परमेश्वरको राज्य कुनै ठाउँ वा निश्चित समयमा आउने नभई विश्वासीहरूको मनमा आउने कुरा हो भनी सिकाउन थाले।” बाइबलमा भर पर्नुको सट्टा युनानी दर्शनमा भर परेर ओरिजेनले मसीही राज्य अन्तर्गत पृथ्वीमा सम्भव हुने अद्भुत आशालाई “विश्वासीहरूको मनमा आउने कुरा” भनी बुझ्नै नसकिने कुरासित छ्यासमिस गरे। क्याथोलिक लेखक लेओन ग्राइ लेख्छन्: “युनानी दर्शनको तीव्र प्रभावले गर्दा . . . बिस्तारै बिस्तारै किल्येस्ट विचारधाराहरू पतन हुँदै गए।”
“चर्चले आशाको सन्देश गुमाएको छ”
निस्सन्देह, अगस्टिन चर्चका फादर थिए। तिनको समयमा मसीहीधर्ममा अलि अलि मात्र युनानी दर्शन मुछिएको थियो भने तिनले पूरै मुछिदिए। सुरुमा त तिनी सहस्र वर्षको कट्टर समर्थक थिए तर भविष्यमा ख्रीष्टले यस पृथ्वीमा सहस्र वर्ष शासन गर्नुहुने विचारलाई पछि स्वीकारेनन्। तिनले प्रकाश अध्याय २० लाई एउटा मिथ्यावादी कथाजस्तो बनाए।
क्याथोलिक विश्वकोश भन्छ: “सहस्र वर्ष हुने नै छैन भन्ने कुरामा अगस्टिन अडिग रहे। . . . तिनको भनाइअनुसार, उक्त अध्यायमा उल्लिखित पहिलो पुनरुत्थानले बप्तिस्माद्वारा हुने आत्मिक पुनर्जन्म बुझाउँछ भने इतिहासको छ हजार वर्षपछि हजार वर्षमा आउने विश्राम भनेको नै अनन्त जीवन हो।” द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका भन्छ: “अगस्टिनले सहस्र वर्ष लाक्षणिक हो भनेर बताए र त्यो चर्चको आधिकारिक सिद्धान्त हुन गयो . . . लुथरन, क्याल्भिनिस्ट र एंगलिकनका प्रोटेस्टेन्ट सुधारवादीहरूले . . . अगस्टिनका विचारधाराहरू अंगाले।” फलतः मसीहीजगत्का चर्चका सदस्यहरू सहस्र वर्षे आशाबाट बञ्चित भए।
यसबाहेक, स्वीस धर्मविज्ञानी फ्रेडरिक डे रूजमोनअनुसार “हजार वर्षे शासनमाथिको आफ्नो सुरुको विश्वास अस्वीकार गरेर [अगस्टिनले] चर्चमा अपूरणीय क्षति गरे। तिनले आफ्नो नाउँको आडमा यस्तो गल्तीलाई मान्यता दिए जसले पृथ्वीसम्बन्धी आशाबाट [चर्चलाई] बञ्चित गरायो।” सहस्र वर्षमाथिको विश्वास अस्वीकार गर्दा “आफूले बुझेको धर्म” अनि “पुरानो धर्म र पहिला साँचेका आशाहरूको” बदलामा “आफूले नबुझेको नयाँ धर्म” अंगाल्न जनसाधारण बाध्य भए भनी जर्मन धर्मविज्ञानी अडोल्फ हारनक मानिलिन्छन्। मानिसहरू आफूले बुझ्ने विश्वास र आशा चाहन्छन् भन्ने सुस्पष्ट प्रमाण आज थुप्रै मुलुकहरूको रित्तो चर्चहरू हुन्।
आफ्नो पुस्तक प्रकाशको पुस्तकको विशेषताहरू-मा बाइबलविद् जर्ज बिज्ली-मुरेले यसो लेखे: “एकातिर अगस्टिनको तीव्र प्रभाव थियो भने अर्कोतिर थुप्रै गुटहरूले सहस्र वर्षमा विश्वास गरिरहेका थिए। अतः क्याथोलिक र प्रोटेस्टेन्ट दुवै मिलेर सहस्र वर्षको विश्वास अस्वीकार गरे। मानिसका लागि यस संसारमा के आशा छ त भन्ने प्रश्नको जवाफमा तिनीहरूले सबैलाई यसो भन्छन्: केही छैन। ख्रीष्टको आगमन हुँदा यो संसार नष्ट भएर अनन्त स्वर्ग र नरक हुनेछ। त्यतिखेर पुराना कुराहरू हुनेछैनन् . . . चर्चले आशाको सन्देश गुमाएको छ।”
अझै पनि एपोक्यालिप्सको अद्भुत आशा छ!
सहस्र वर्षसम्बन्धी अद्भुत प्रतिज्ञा पूरा हुनेछ भनेर यहोवाका साक्षीहरू विश्वस्त छन्। “सन् २०००: एपोक्यालिप्सको डर” विषयक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता लिंदा फ्रान्सेली इतिहासकार झाँ डेलोमोले यसो भने: “यहोवाका साक्षीहरू सहस्र वर्षको तालिकाअनुसारै हिंडिरहेका छन् किनकि तिनीहरूले अब चाँडै . . . प्रलय हुनेछ र हामी १,००० वर्षे सुखद् समयमा प्रवेश गर्नेछौं भनेर बताउँछन्।”
प्रेरित यूहन्नाले एपोक्यालिप्स वा प्रकाशको पुस्तकमा वर्णन गरेको दर्शनमा देखेको पनि यही हो। तिनले यस्तो लेखे: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, . . . औ सिंहासनबाट यसो भन्ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।’ ”—प्रकाश २१:१, ३, ४.
धेरैभन्दा धेरै मानिसहरूले यो आशा अंगाल्न सकून् भनेर यहोवाका साक्षीहरू विश्वव्यापी बाइबल शैक्षिक कार्यमा व्यस्त छन्। तपाईंलाई यसबारे थप कुरा बताउन तिनीहरू खुसी हुनेछन्।
[पृष्ठ ६-मा भएको चित्र]
पापीयासले प्रेरितहरूका समकालीनहरूबाट सहस्र वर्षसम्बन्धी शिक्षा पाएको दाबी गरे
[पृष्ठ ७-मा भएको चित्र]
टर्टुलियन ख्रीष्टको सहस्र वर्षे शासनमा विश्वास गर्थे
[स्रोत]
© Cliché Bibliothèque Nationale de France, Paris
[पृष्ठ ७-मा भएको चित्र]
“हजार वर्षे शासनमाथिको आफ्नो सुरुको विश्वास अस्वीकार गरेर [अगस्टिनले] चर्चमा अपूरणीय क्षति गरे”
[पृष्ठ ८-मा भएको चित्र]
प्रकाशमा प्रतिज्ञा गरिएको पार्थिव प्रमोदवनलाई उत्कट आशासहित पर्खनुपर्छ