पूर्वीय देशहरूमा क्रिसमस
• लगभग दुई सय वर्षअघि कोरियाका एक प्रख्यात विद्वान् चीनको पेकिङ भ्रमणमा गएका थिए। तिनले एउटा ठूलो चर्चको सिलिङमा कोरिएको चित्र हेर्दै जाँदा मरियमले बालक येशूलाई बोकिरहेकी चित्र देखे। तिनले त्यो मार्मिक चित्रबारे यस्तो प्रतिक्रिया व्यक्त गरे:
“एउटी आइमाईको काखमा पाँच छ वर्षजतिको मरनच्याँसे बालक थियो। उक्त आइमाईलाई टाउको उठाउनै गाह्रो परेजस्तो देखिन्थ्यो, मानौं तिनी छोराको यस्तो पीडा हेर्न सक्दैनथिन्। अनि तिनीहरूको पछाडितिर भूत र स-साना परीहरू उडिरहेका थिए। माथि यसो हेरेको त मेरै टाउकोमा खस्ला कि जस्तो देखिन्थ्यो। म त झसंगै भएर तिनीहरूलाई समात्न खोजें।”
योहो, युरोपमा धार्मिक सुधार भएको धेरैपछि अर्थात् मध्ययुगको अन्धकार युगभन्दा धेरै समयपछिको कुरा। तर प्रायजसो पूर्वीय मुलुकका मानिसहरूलाई मसीहीधर्म पनि त्यो चित्र जत्तिकै नौलो थियो। अहिले त कहाँ त्यस्तो अवस्था छ र! वर्षेनी क्रिमसमको समयमा जताततै बालक येशूको दृश्य देखिन्छ। पूर्वीय देशमा पनि यस्ता दृश्यहरू सामान्य कुरा भइसकेका छन्। अनि कतिपय सडकहरू युरोपका सडकहरूजस्तै देखिन्छन्।
क्रिसमसको एक महिनाअघि अर्थात् नोभेम्बर २५, १९९८ को साँझ पेरिसको लोकप्रिय ठाउँ शाँजलिज ३०० वटा रूखहरूमा बेरिएका १,००,००० भन्दा बढी बत्तीहरूले झलमल्ल हुन्छ। अर्कोतिर कोरियाको सिओल शहरको एउटा ठूलो डिपार्टमेन्ट स्टोरले विशाल क्रिसमस रूख सिंगार्छ अनि राती राजधानी शहरै उज्यालो बनाइदिन्छ। त्यसपछि सडकहरू पनि क्रिसमसको श्रृंगारले रंगीचंगी हुन्छन्।
टिभी, रेडियो र अखबारहरूले दिनहुँ क्रिसमससम्बन्धी कार्यक्रमहरू प्रस्तुत गर्छन्। क्रिसमसको रमझममा सम्पूर्ण देशले नै निकै रमाइलो गरेर वर्षको अन्तलाई स्वागत गर्न मस्त हुन्छन्। सिओलमा त्यत्ति धेरै चर्च देखेर आगन्तुकहरू छक्क पर्छन् र त्यै पनि ती चर्चहरू हतारपतार सिंगारिन्छन्। अमेरिकाका मानिसहरू नोभेम्बरको अन्ततिर धन्यवाद दिवस मनाइरहेको बेला कोरिया तथा अन्य पूर्वीय देशहरू भने क्रिसमसको धुनमा हुन्छन्।
प्रायजसो पूर्वीय देशहरूलाई मसीहीधर्मको भाग मानिंदैन। उदाहरणका लागि, कोरियाको २६.३ प्रतिशत जनसंख्याले मात्र मसीही भएको दाबी गर्छन्। मसीही हुँ भन्नेहरू हङकङमा ७.९ प्रतिशत, ताइवानमा ७.४ प्रतिशत र जापानमा १.२ प्रतिशत मात्र छन्। स्पष्टतया, प्रायजसो पूर्वेलीहरूले मसीहीधर्म नमाने तापनि क्रिसमस मनाउन भने कुनै आपत्ति जनाइएको पाइँदैन। साँच्चै भन्ने हो भने, पश्चिमी मुलुकका मानिसहरूभन्दा क्रिसमस मनाउन यिनीहरू नै उत्साहित देखिन्छन्। उदाहरणका लागि, हङकङका प्रायजसो मानिसहरू बौद्ध वा ताओ धर्मावलम्बी भए तापनि त्यहाँ एकदमै तडकभडकका साथ क्रिसमस मनाइन्छ। चीनमा मसीही हुँ भन्नेहरू ०.१ प्रतिशत मात्र भए तापनि क्रिसमसको लोकप्रियता दिन दिनै बढिरहेको छ।
पूर्वीय देशहरूमा यस्तो व्यापक तवरमा क्रिसमस मनाइनुको कारण के हो? मसीही हुँ भन्नेहरूले त क्रिसमसलाई येशूको जन्मदिन भन्ठान्छन् तर येशूलाई मसीहको रूपमा नस्वीकार्नेहरूले यो उत्सव किन मनाउँछन् त? के साँचो मसीहीहरूले पनि क्रिसमसबारे तिनीहरूको जस्तै दृष्टिकोण राख्नुपर्ने हो? आफ्नै एउटा लामो इतिहास भएको पूर्वेली देश कोरियामा क्रिसमस कसरी प्रचलित हुन गयो भनी छलफल गर्दा यी प्रश्नहरूको जवाफ पाउँनेछौं।