प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १२/१५ पृ. ४-८
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उपहार दिने चलन
  • क्रिसमसको सुरुआत
  • क्रिसमसबारे धर्मशास्त्रीय अन्तरदृष्टि
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अस्तित्वबाट हराउन नचाहने मिथ्या
    ब्यूँझनुहोस्‌!—२००३
  • पूर्वीय देशहरूमा क्रिसमस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १२/१५ पृ. ४-८

क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?

पूर्वीय देशहरूको एउटा पुरानो विश्‍वास क्रिसमसको सान्ता क्लजसित मिल्दोजुल्दो छ। त्यो हो, कोरियालीहरूले विश्‍वास गर्ने छोवाङशिन अनि यस्तै प्रकारको विश्‍वास केही चिनियाँ र जापानीहरूको पनि छ।

छोवाङशिन भनेको भान्साघरको रेखदेख गर्ने देवता अर्थात्‌ अग्नि देव हो र यो देवता पुरातन कोरियालीले गर्ने अग्नि उपासनासित सम्बन्धित छ। (पुरातन समयमा कोरियालीहरूले आगो ननिभाई कोइलाका टुक्राहरू ओसारपसार गर्थे।) वर्षभरि परिवारका सदस्यहरूको चालचलनमा निगरानी राखेपछि उक्‍त देवता भान्साघरको चुलो र चिम्नीबाट निस्केर स्वर्ग जान्छन्‌ भन्‍ने विश्‍वास गरिन्थ्यो।

भनिन्छ, डिसेम्बर चन्द्रमासको २३ तारिख छोवाङशिन स्वर्गको राजासामु हाजिर हुन्थे। तिनी वर्षको अन्तमा फेरि चिम्नी र चुलोबाट आएर हरेक व्यक्‍तिको चालचलनअनुसार इनाम र सजाय दिन्छन्‌ भन्‍ने आशा गरिन्थ्यो। तिनी पृथ्वीमा फर्कने दिनमा परिवारका सदस्यहरूले भान्साघर र घरभरि मैनबत्ती बाल्नुपर्थ्यो। भान्साघरको यो देवताको सान्ता क्लजसित मेल खाने अर्को पक्ष पनि थियो। उक्‍त देवता पनि रातो रंगकै हुन्थे! त्यहाँको चलनअनुसार बुहारीले एक जोडी परम्परागत मोजा बनाएर उत्तरी गोलार्धमा जाडो महिना सुरु हुने बेलामा आफ्नी सासूलाई दिने चलन थियो। यसो गर्नुको मतलब आफ्नी सासूको दीर्घायुको कामना गर्नु हो किनकि त्यस समयदेखि दिन लामो हुँदै जान्छ।

के तपाईं माथि उल्लिखित बुँदाहरू र क्रिसमसमा केही समानता पाउनुहुन्‍न र? यी कथा र प्रचलनहरूमा समानता पाइन्छ। जस्तै, चिम्नी, मैनबत्ती, उपहार दिने, मोजाहरू, रातो लुगा लगाउने बूढो मान्छे र मिति। तैपनि, यस्ता समानताहरूले मात्र कोरियामा क्रिसमस लोकप्रिय हुन थालेको होइन। कोरियामा क्रिसमस मनाउन थाल्नुभन्दा अघि नै त्यो छोवाङशिनको विश्‍वास लोप भइसकेको थियो। साँच्चै भन्‍ने हो भने, आज धेरैजसो कोरियालीहरूलाई पहिले पहिले त्यस्तो विश्‍वास पनि गरिन्थ्यो भनेर पत्तो समेत छैन।

तैपनि, जाडो महिना र वर्षको अन्तसम्बन्धी प्रचलनहरू विभिन्‍न तरिकामा कसरी संसारभरि फैलियो भनेर यसले देखाउँछ। सा.यु. चौथो शताब्दीमा रोमी साम्राज्यको तत्कालीन चर्चले सूर्य देवको जन्मदिनको गैरमसीही रोमी उत्सव अर्थात्‌ साटर्निलियाको नाउँ परिवर्तन गरेर त्यसलाई क्रिसमससित मिलायो। क्रिसमस उत्सवले गर्दा विभिन्‍न प्रकारका स्थानीय प्रचलनहरू बेग्लाबेग्लै नाउँले फेरि देखा पर्न थाले। त्यस्तो कसरी हुन गयो?

उपहार दिने चलन

अहिलेसम्म नहराएको एउटा चलन हो, उपहार दिने। धेरै अघिदेखि कोरियालीहरूले उपहारहरू साटासाट गरेर निकै आनन्द उठाएका छन्‌। कोरियामा क्रिसमस उत्सव प्रचलित हुनुको एउटा कारण यो पनि हो।

दोस्रो विश्‍वयुद्धपछि कोरियामा रहेका अमेरिकी सिपाहीहरूले मानिसहरूसित घनिष्ठता बढाउन तिनीहरूलाई भेटेर उपहार र उद्धार सामग्रीहरू दिने ठाउँ नै चर्च थियो। तिनीहरूले विशेष गरी क्रिसमसको दिनमा यसो गर्ने गर्थे। थुप्रै केटाकेटीहरू के के हुन्छ भनेर हेर्न मात्र भए पनि चर्चमा जान्थे अनि तिनीहरूले जीवनमा पहिलो चोटि उपहारस्वरूप चकलेटको पोको पनि त्यहीं पाउँथे। त्यसपछि तिनीहरूमध्ये थुप्रै केटाकेटीहरू फेरि अर्को क्रिसमसको प्रतिक्षामा रहने कारण बुझ्न सकिन्छ।

ती केटाकेटीका लागि सान्ता क्लज भनेको लामो रातो रंगको फुर्के टोपी लगाउने अमेरिकी सिपाही थिए। हितोपदेश १९:६ यसो भन्छ: “उदारसित दिनेको निम्ति संसारै आफ्नो मित्र हुन्छ।” हो, उपहार दिने चलन एकदमै प्रभावकारी साबित भयो। तर उक्‍त पदअनुसार, त्यस्ता उपहारहरूले चिरकालीन मित्रताको ग्यारेन्टी दिनसक्दैन भनी स्पष्ट हुन्छ। कोरियामा समेत थुप्रैलाई चर्च भन्‍नेबित्तिकै आफू केटाकेटी छँदा त्यहाँ गएर चकलेट खाएको सम्झन्छन्‌। तथापि, क्रिसमस मनाउन भने छोडिएन। कोरियाको द्रुत आर्थिक वृद्धिसँगसँगै व्यापार पनि फस्टायो र क्रिसमसमा उपहार दिनु उपभोक्‍ताहरूलाई बढी खर्च गराउने तरिका भयो। व्यापारजगत्‌ले मुनाफा कमाउन क्रिसमसको नाजायज फाइदा उठाए।

अहिले पूर्वीय देशहरूमा पनि क्रिसमस मनाइनुको कारण यसैबाट थाह हुन्छ। क्रिसमसको किनमेल विचार गरेर नयाँ नयाँ सामग्रीहरू उत्पादन गरिन्छ। विज्ञापनको चहलपहल गर्मी महिनाको बीचतिर सुरु हुन्छ। वर्षको अन्तमा अत्यधिक मात्रामा क्रिसमस उपहार, शुभकामना कार्ड र गीतका क्यासेटहरू बिक्री हुन्छन्‌। नहोस्‌ पनि किन, विज्ञापनले यति असर गर्छ कि क्रिसमस उत्सवमा घरमै बस्नुपऱ्‍यो अनि कुनै उपहार पाइएन भने प्रायजसो किशोरकिशोरीहरू एकदमै खिन्‍न हुन्छन्‌!

क्रिसमसको विशेष दिन आउन दुई चार दिन बाँकी हुँदा सिओलका पसल र बजार इलाकामा उपहार किनमेल गर्ने मानिसहरूको घुइँचो लाग्छ। अन्य पूर्वीय शहरहरूमा पनि यस्तै हुन्छ। ट्राफिक जाम हुन्छ। होटेल, व्यापारिक क्षेत्र, चमेना गृह र नाइटक्लबहरूमा ग्राहकहरू खचाखच हुन्छन्‌। मानिसहरूले मोजमज्जा गर्दै ठूलठूलो स्वरले गीत गाएको सुनिन्छ। क्रिसमस उत्सवमा सडकभरि जताततै फोहोरै फोहोर हुन्छ अनि मद्यले लट्ठ भएका पुरुष तथा महिलाहरू सडकमा लरखराइरहेका हुन्छन्‌।

क्रिसमसमा यस्तै हुन्छ। पूर्वीय देशहरूमा क्रिसमस भनेको मसीही हुँ भन्‍नेहरूले मात्र मनाउने चाड होइन। स्पष्टतः अन्य मुलुकहरूमा जस्तै कोरियामा पनि व्यापार क्षेत्रले मसीहीजगत्‌को यस चाडको समयमा अत्यधिक मुनाफा कमाउँछ। त्यसोभए, येशूले सिकाउनुभएका कुरासित पटक्कै मेल नखाने यो क्रिसमस मनाइनुमा के व्यापार क्षेत्रको मात्र दोष छ त? साँचो मसीहीहरूले क्रिसमसलाई अझ गहिरिएर केलाउनु आवश्‍यक छ।

क्रिसमसको सुरुआत

जंगली जनावरलाई चिडियाखानाको खोरमा हाले तापनि आखिर त्यो जनावर नै हो। त्यो जनावर खोरमा राखेको केही समय भइसक्यो भन्दैमा अनि त्यसका छाउराछाउरीसित खेलेको देख्दैमा, त्यो घरमा पाल्न लायकको भइसक्यो भन्ठान्‍नु महा गल्ती हुनेछ। चिडियाखानाका कर्मचारीहरूलाई जनावरले आक्रमण गरेका रिपोर्टहरू त तपाईंले सुन्‍नुभएकै होला।

कुनै कुनै तरिकामा क्रिसमस उत्सव पनि यस्तै हो भन्‍न सकिन्छ। क्रिसमस, सुरुमा मसीहीधर्ममा नभएको एउटा “जनावर” थियो। “रोमी साटर्निलियासित सम्बन्धित” उपशीर्षकमा मसीही विश्‍वकोश (कोरियाली भाषामा)a क्रिसमसबारे यसो भन्छ:

“गैरमसीही साटर्निलिया र ब्रुमालिया मनाउनु लोकप्रिय परम्परा नै भएकोले मसीहीहरूले त्यसलाई हटाउनै सक्दैनथे। सम्राट्‌ कन्स्टेन्टाइनले आइतबारलाई (फोबस र मिथ्रस साथै प्रभुको दिन) मान्यता दिएपछि . . . चौथो शताब्दीका मसीहीहरूले परमेश्‍वरको पुत्रको जन्मदिनलाई सूर्यको जन्मदिनसित मिलाउन उचित ठानेका हुनसक्छन्‌। गैरमसीही उत्सवमा हुने तडकभडक र मोजमस्ती असाध्यै लोकप्रिय भएकोले त्यसलाई पहिलाकै जस्तो धारणा र ढाँचामा मनाउन पाएकोमा मसीहीहरू दंग परे।”

तपाईंको विचारमा यसरी क्रिसमस मनाउन थाल्दा कुनै विरोध खप्नु परेन होला र? माथि उल्लिखित विश्‍वकोश यसो भन्छ: “मोजमस्ती गरेर ख्रीष्टको जन्मदिन मनाउनु उचित होइन भनेर पश्‍चिमी र पूर्वी भूभागका मसीही प्रचारकहरूले विरोध जनाए भने अर्कोतिर, मेसोपोटामियाका मसीहीहरूले पश्‍चिमी मुलुकका भाइहरूलाई मसीही भएर मूर्तिपूजा र सूर्यको उपासना गर्ने गैरमसीही उत्सवलाई मसीहीधर्मको रूपमा अपनाएकोमा दोष लगाए।” साँच्चै, यसको सुरुआत नै सत्यमा आधारित थिएन। सोही विश्‍वकोश यसो भन्छ: “यद्यपि, उक्‍त गैरमसीही उत्सवको लोकप्रियता बढ्‌दै गयो र अन्ततः यति धेरै मान्यता पायो कि सोह्रौं शताब्दीको प्रोटेस्टेन्ट क्रान्तिले समेत त्यसलाई हटाउन सकेन।”

हो, यसरी त्यतिबेलाको चर्चले साँचो मसीहीधर्मसित कुनै सरोकार नभएको सूर्य देवको उत्सव मनाउन थाल्यो। यो उत्सवको नाउँ परिवर्तन गरिए तापनि मनाउने तरिकाचाहिं गैरमसीही नै थियो। फलतः मसीही भनौंदाका चर्चहरूमा गैरमसीहीधर्म छ्यासमिस भयो अनि मानिसहरूको आध्यात्मिकता बिगारी दियो। समयको दौडान मसीहीजगत्‌मा छाँटकाँटहरू हुँदै गएपछि “आफ्ना शत्रुहरूलाई प्रेम गर” भन्‍ने मनोवृत्ति झल्काउनुको सट्टा हिंस्रक युद्धहरू मच्चिन थाल्यो र नैतिक पतन हुन थाल्यो भनेर इतिहासले प्रमाण दिन्छ।

गैरमसीही उत्सवको नक्कली नाउँ अर्थात्‌ क्रिसमस राखिए तापनि अनियन्त्रित मोजमस्ती गर्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने, उपहार दिने र सदाबाहर बोटहरूले घर सजाउने जस्ता गैरमसीही क्रियाकलापहरू झल्कियो। व्यापारिक क्षेत्रको प्रमुख लक्ष्य, धेरैभन्दा धेरै सरसामान बिक्री गर्ने भएकोले जसरी हुन्छ क्रिसमसबाट अत्यधिक फाइदा उठाउन खोज्छ। सञ्चार माध्यमले क्रिसमसको गुनगान गर्छ; जनसाधारण दंग पर्छन्‌। सिओल शहरको कट्टु तथा गन्जी मात्रै बनाउने एउटा पसलको झ्यालमा समेत कट्टु लगाएको क्रिसमस रूख टिभी समाचारमा देखाइयो। क्रिसमसको वातावरण त प्रस्टै देखिन्थ्यो तर “ख्रीष्टलाई स्वागत गर्न” खोजेको आभास भने पटक्कै झल्कँदैनथ्यो।

क्रिसमसबारे धर्मशास्त्रीय अन्तरदृष्टि

क्रिसमसको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबाट हामी के सिक्छौं? कमिज वा चोलोको टाँक तलमाथि लगाइएको छ भने त्यसलाई फेरि सुरुदेखि नै लगाएर मिलाउनुपर्छ। गर्नुपर्ने त्यस्तै होइन र? साँचो कुरा यस्तो हुँदा हुँदै अर्थात्‌ यो सूर्य उपासना गर्ने गैरमसीही प्रचलनमा आधारित भए तापनि मसीहीजगत्‌ले क्रिसमस अपनाइसक्यो नि भनेर तर्क गर्नेहरू पनि छन्‌। यसकारण, तिनीहरूले सोचेअनुसार सूर्य उपासनाको उत्सवले ख्रीष्टको जन्मदिनको रूपमा मान्यता पाएर झनै महत्त्वपूर्ण भएको छ।

पुरातन यहूदामा भएको ऐतिहासिक घटनाबाट हामी मूल्यवान्‌ पाठ सिक्नसक्छौं। सा.यु.पू. ६१२ मा यहूदीहरूले यरूशलेमको मन्दिरमा गैरमसीही सूर्य उपासना गर्न थाले। यहोवा परमेश्‍वरको शुद्ध उपासना गर्ने ठाउँमा सूर्यको उपासना गर्दैमा त्यस्तो गैरमसीही उपासना पवित्र हुनेथियो र? यरूशलेमको मन्दिरमा गरिने सूर्य उपासनाबारे बाइबल लेखक इजकिएलले यसरी लेखे: “वेदी र दलानको बीचमा परमप्रभुको मन्दिरको ढोकामा प्राय: पच्चीस जना मानिसहरू आफ्नो . . . मुख चाहिं पूर्वतिर फर्काएर पूर्वतिरै सूर्यलाई दण्डवत्‌ गरिरहेका रहेछन्‌। तब उहाँले भन्‍नुभयो, ‘हे मानिस, के तैंले यो देखिस्‌? आफ्नो देश उपद्रवले भरेर मलाई झन्‌ रीस उठाउनलाई तिनीहरूले यहाँ गरेका यी घिनलाग्दा काम यहूदाको घरानाको लागि के साह्रै खेलाँची कुरा हो र? हेर्‌, तिनीहरू मेरो साह्रै बेइज्जत गर्दछन्‌।’ ”—इजकिएल ८:१६, १७.

यो गैरमसीही उपासना पवित्र हुनु त परै जाओस्‌ त्यसले सम्पूर्ण मन्दिरलाई नै खतरामा पो पाऱ्‍यो। यहूदामा यस्ता प्रचलनहरू व्याप्त भए र त्यहाँ हिंसा फैलिनुका साथै नैतिक पतन हुन थाल्यो। मसीहीजगत्‌मा पनि यस्तै भएको छ किनकि क्रिसमसमा साटर्निलियाको सूर्य उपासनाबाट सुरु भएका प्रचलनहरूलाई महत्त्व दिइन्छ। उल्लेखनीय कुरा के छ भने, इजकिएलले उक्‍त दर्शन देखेको केही वर्षपश्‍चात्‌ यरूशलेममाथि परमेश्‍वरको न्याय आइपऱ्‍यो, तिनीहरू बेबिलोनीहरूको हातबाट सर्वनाश हुनु पऱ्‍यो।—२ इतिहास ३६:१५-२०.

यसअघिको लेखमा एक जना कोरियाली विद्वान्‌ले बालक येशूबारे गरेको वर्णन तपाईंलाई रमाइलो लागेको हुनसक्छ। तर तथ्य कुरा के हो भने, येशूबारे सही ज्ञान नभएको व्यक्‍तिले त्यस्तो प्रतिक्रिया व्यक्‍त गरेको भए तापनि त्यो सोच्नै पर्ने कुरा हो। यसले क्रिसमस मनाउनेहरूलाई गम्भीरतासाथ सोच्न बाध्य बनाउनसक्छ। किन? किनकि क्रिसमसले येशूको सही प्रतिनिधित्व गर्दैन। साँच्चै भन्‍ने हो भने, उहाँको वर्तमान भूमिकाबारे सही चित्रण गर्दैन। येशू, अब डुँडको बालक हुनुहुन्‍न।

अहिले येशू, परमेश्‍वरको स्वर्गीय राज्यको पराक्रमी राजा अर्थात्‌ मसीह हुनुहुन्छ भनेर बाइबलले बारम्बार जोड दिएको छ। (प्रकाश ११:१५) उहाँले दरिद्रता र दुःखकष्टको नामोनिसान मेटाउनु हुनेछ। तर कसै कसैले भने क्रिसमसको समयमा परोपकारी संस्थालाई अनुदान दिएर त्यसबारे केही हदसम्म सोच्छन्‌।

स्पष्टतया, क्रिसमसले मसीहीजगत्‌का मुलुकहरू वा पूर्वीय मुलुकहरूलगायत अरू कुनै पनि देशहरूलाई फाइदा पुऱ्‍याएको छैन। बरु, यसले त परमेश्‍वरको राज्य र वर्तमान दुष्ट रीतिरिवाजको अन्त हुने साँचो मसीही सन्देशबाट मानिसहरूको ध्यान अर्कैतिर तर्काएको छ। (मत्ती २४:१४) त्यो अन्त कसरी आउनेछ भनेर यहोवाका साक्षीहरूसित जाँचबुझ गर्नुहोस्‌ भनी हामी तपाईंलाई आग्रह गर्छौं। अनि परमेश्‍वरको राज्य र शासनारूढ राजा येशू ख्रीष्टको नेतृत्वमा पृथ्वीमा बर्सिने अनन्त आशिष्‌बारे तपाईंले सिक्न सक्नुहुनेछ।—प्रकाश २१:३, ४.

[फुटनोट]

a धार्मिक ज्ञानको नयाँ शाफ-हर्टसोक विश्‍वकोश-मा आधारित।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

मसीही भनौंदाका चर्चहरूमा क्रिसमसले गर्दा गैरमसीहीधर्म छ्यासमिस भयो

[पृष्ठ ५-मा भएको चित्र]

थुप्रै केटाकेटीहरू चर्चमा के के हुन्छ भनेर हेर्न मात्र पनि चर्च जान्थे अनि तिनीहरूले उपहारस्वरूप चकलेटको पोको पनि त्यहीं पाउँथे। त्यसपछि तिनीहरू फेरि अर्को क्रिसमसको प्रतिक्षामा हुन्थे

[पृष्ठ ७-मा भएको चित्र]

कोरियास्थित सिओल शहरमा क्रिसमस उत्सव

[पृष्ठ ८-मा भएको चित्र]

अहिले ख्रीष्ट बालक नभई परमेश्‍वरको राज्यको शक्‍तिशाली राजा हुनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने