संकटग्रस्त मुलुकमा साँचो आनन्द पाउने
“साम्प्रदायिक हिंसा, खोरबाट फुत्केको नरभक्षीजस्तै भएको छ” भनी सन् १९६९ को एउटा रिपोर्टले उल्लेख गऱ्यो। यो कुरा, उत्तरी आयरल्याण्डमा हाल भइरहेको अशान्ति चर्किएको समयको हो।
राजनैतिक तथा धार्मिक विवादले विभाजित “दुवै पक्षका जोधाहा मानिसहरू” अर्थात् प्रोटेस्टेन्ट अनि क्याथोलिक हत्याराहरूबीच आयरल्याण्डमाथि अधिकार जमाउने विषयमा संघर्ष चर्कंदै जाँदा साम्प्रदायिक हिंसा र हत्या दिनहुँजसो हुनथाल्यो। त्यसबेला देखि “लगभग ३० वर्षको दौडान हिंसाले गर्दा ३,६०० भन्दा धेरै मानिसहरू मारिए अनि हजारौं अपांग भएका छन्” भनी दी आइरिस टाइम्स रिपोर्ट गर्छ।
हो, यो कुनै नयाँ संघर्ष होइन। आयरल्याण्डमा यस्तो अवस्था भएको शताब्दीयौं भइसक्यो। हालका वर्षहरूमा आएर विशेष गरी उत्तरी आयरल्याण्ड घातक हूलदंगाको चपेटामा परेको छ। तर यसले उब्जाएको कटु भावना र बेमेलले गर्दा आयरल्याण्डभरिकै मानिसहरूको जीवन अस्तव्यस्त बनाएको छ।
यस्ता घटनाहरूको माझमा पनि सय वर्षभन्दा धेरै अघिदेखि यहोवाका साक्षीहरूले यस संकटग्रस्त क्षेत्रमा समस्याहरूको वास्तविक समाधान औंल्याइरहेका छन्। त्यो समाधान हो, येशू ख्रीष्टको अधीनमा रहेको परमेश्वरको राज्य। (मत्ती ६:९, १०) सन् १९६९ मा गोलमाल सुरु हुँदा आयरल्याण्डभरि जम्मा ८७६ जना मात्र यहोवाका साक्षीहरू थिए। तर अहिले १०० वटाभन्दा बढी मण्डलीहरूमा ४,५०० भन्दा धेरै साक्षीहरू छन्। राजनैतिक तथा अर्धसैनिक क्रियाकलापहरू त्यागेकाहरूमध्ये केही व्यक्तिहरूको अनुभव तल दिइएको छ।
“म ठूलो भएपछि आइ आर ए-मा भर्ती हुन्छु!”
माइकलa गणतन्त्र आयरल्याण्डको क्याथोलिक परिवारमा हुर्के। स्कूलमा तिनलाई आयरल्याण्डको इतिहास र बेलाइतसित यसको शताब्दीयौं पुरानो दुस्मनीबारे सिकाइएको थियो। बच्चैदेखि तिनले अंग्रेजहरूलाई “आइरिस जनतालाई दमन गर्नेहरू” भनी घृणा गर्न थाले। तिनी दस वर्षको छँदा मामाघरकी बज्यैलाई यसो भने, “म ठूलो भएपछि आइ आर ए-मा भर्ती हुन्छु!” (आयरल्याण्ड गणतन्त्र सेना) तिनी भन्छन्, “त्यसो भनेपछि मैले एक चड्कन खाएको अहिलेसम्म बिर्सेको छैन।” तिनको मामाघरका हजुरबुबा प्रथम विश्वयुद्धमा बेलाइती सेनामा थिए भनी तिनले पछि थाह पाए। एकपल्ट तिनको हजुरबुबालाई गोली ठोक्न लाग्दा उहाँको अगाडि उभिएर आइ आर ए-का सदस्यहरूसित तिनकी हजुरआमाले ज्यानको भिख माग्नुपरेको थियो।
ठूलो भइसकेपछि पनि माइकल उत्तरी आयरल्याण्डका आफ्ना संगी क्याथोलिकहरूका लागि केही गर्न चाहन्थे। “उत्तरी आयरल्याण्डका क्याथोलिकहरूलाई मदत गर्ने त आइ आर ए मात्र हो जस्तो मलाई त्यतिबेला लाग्थ्यो।” यस्तो जोसले तिनी पनि आइ आर ए-का सदस्य भए र तिनले हतियारहरू चलाउने प्रशिक्षण पनि पाए। तिनका तीन जना साथीहरू उत्तरी आयरल्याण्डमा प्रोटेस्टेन्ट अर्धसैनिकहरूबाट मारिए।
माइकल अन्ततः अर्धसैनिक संघर्षबाट निराश अनि विचलित भए किनभने विभिन्न अर्धसैनिक समूहहरूबीच कटु दुस्मनी हुन्थ्यो। आइ आर ए गतिविधिमा संलग्न हुँदा तिनी थुनामा परे र यतिबेला तिनले चिरकालीन शान्ति र न्यायको बाटो भेट्टाउन मदत गर्नुहोस् भनी परमेश्वरलाई प्रार्थना गरे। त्यसको केही समयपछि यहोवाका साक्षीहरू तिनको घरमा आए। तथापि, पुराना पूर्वाग्रहहरूका कारण अवरोधहरू आइपरे। ती साक्षीहरू अंग्रेजहरू थिए। तिनको हृदयमा घृणाले जरा गाडिसकेको हुनाले ती साक्षीहरूको कुरामा ध्यान दिन गाह्रो भयो। तिनी भन्छन्, “तिनीहरू मलाई भेट्न आउँदा कहिलेकाहीं त राम्ररी स्वागत नै गर्दिनथें, तैपनि तिनीहरू धीरजी भई मसित कुरा गर्न आइरहे। मैले संघर्ष गरेर हटाउन खोजिरहेको सबै राजनैतिक तथा सामाजिक अन्यायहरू परमेश्वरको राज्यले अन्त गर्नेछ भनेर मैले थाह पाएँ।”—भजन ३७:१०, ११; ७२:१२-१४.
एक साँझको कुरा हो, आइ आर ए-का महारथीले माइकलसित भेटेर यस्तो प्रस्ताव राख्दा एउटा निर्णायक घडी आइपऱ्यो, “तिमीले एउटा काम गर्नुछ।” तिनी अझै भन्छन्, “मैले त्यही घडी छनौट गर्नुपर्ने महसुस गरें र लामो सास तानेर भनें, ‘म एक जना यहोवाका साक्षी भइसकें’ तर त्यसबेला मैले बप्तिस्मा लिइसकेको थिइनँ। मलाई यति थाह थियो कि म यहोवाको सेवक हुन चाहन्छु।” उक्त महारथीले भने, “तिमीलाई त भित्तामा ठड्याएर गोली ठोक्नुपर्ने हो।” यस्तो धम्कीको बावजूद माइकलले आइ आर ए छाडे। तिनले आफ्नो मन अनि हृदय परमेश्वरको वचनअनुसार ढालेर यसो गर्ने साहस बटुले। “त्यसको केही समयपश्चात्, मेरी पत्नी र मेरा कोही कोही छोराछोरीहरूले पनि आफ्नो जीवन यहोवालाई समर्पण गरे। हामीले अहिले साँचो आनन्द पाएका छौं। अनि हामीलाई सच्चाइ सिक्न र संकटग्रस्त क्षेत्रमा शान्तिपूर्ण समाचार फैलाउने कार्यमा भाग लिने अवसर दिनुभएकोमा यहोवा परमेश्वरप्रति हामी सदैव आभारी रहनेछौं।”—भजन ३४:१४; ११९:१६५.
तटस्थ रहनु साँचो सुरक्षा हो
प्याट्रिक भन्छन्, “म उत्तरी आयरल्याण्डको डेरी प्रान्त भन्ने ठाउँको ग्रामीण क्षेत्रमा हुर्कें। यहाँको तनावबारे मलाई सानैदेखि थाह थियो। स्पष्टतः यस्तो वातावरणले मेरो व्यवहार अनि विचारधारामा निकै प्रभाव पाऱ्यो।” तिनको विचारधारालाई घोर राष्ट्रवादी भावना तथा अंग्रेजहरूप्रतिको वैमनस्यताले अचाक्ली प्रभाव पारेको थियो। तिनले राजनैतिक संघर्षको दुवैपक्षका धार्मिक मानिसहरूले आधारभूत मसीही सिद्धान्तहरूका साथसाथै मानव आचारसंहिता पनि उल्लंघन गरेका देखे। परिणामस्वरूप, तिनले धर्म मान्न छाडे र अन्ततः नास्तिक अनि कट्टर मार्क्सवादी भए।—मत्ती १५:७ -९; २३:२७, २८ तुलना गर्नुहोस्।
प्याट्रिक भन्छन्, “मैले उत्तर गणतान्त्रिक कैदीहरूले गरेको भोकहडताल राम्ररी सम्झेको छु। तिनीहरूले मेरो मनमा गहिरो छाप पारे। आफूले जतासुकै आयरल्याण्डको झन्डा राखेको र अंग्रेजहरू विरुद्ध विज्ञापनहरू भित्तामा कोर्दै हिंडेको मलाई झलझलती याद आउँछ। भोकहडतालमा मरेका एक जना व्यक्तिको अन्त्येष्टि समारोहको लागि प्रबन्ध गर्दा म १५ वर्षको मात्र थिएँ। आपत्विपत् अनि गोलमालको भुमरीमा परेका अरू मानिसहरूजस्तै तिनले पनि आफ्नो नजरमा सामाजिक न्याय तथा समानता जस्तो लागेको कुराको पछि लाग्दै दंगाफसाद र विरोध जुलुसहरूमा भाग लिए। तिनले थुप्रै कट्टर राष्ट्रवादीहरूसित घनिष्ठ सम्बन्ध गाँसे। तिनीहरूमध्ये थुप्रैलाई बेलाइती अधिकारीहरूले झ्यालखानामा थुने।
प्याट्रिक भन्छन्, “त्यसपछि आर्थिक कारणले गर्दा म लामो समयसम्म बेलाइतमा बस्न पुगें। त्यहीं छँदा बेलाइती प्रहरीले बम पड्काउने कार्यमा संलग्न मेरो एक जना साथीलाई गिरफ्तार गरे।” प्याट्रिकले त्यतिबेलासम्म राष्ट्रवादी विचारधाराप्रति गहिरो श्रद्धा राख्थे तर बिस्तारै तिनको मनोवृत्तिमा परिवर्तन आउनथाल्यो। तिनले सबै अंग्रेजहरू विरुद्ध जुन पूर्वाग्रह राख्थे त्यो गलत रहेछ भनी महसुस गर्न थाले। तिनी भन्छन्, “मलाई पिरोलिरहेको समस्याहरूको समाधान अर्धसैनिक क्रियाकलापद्वारा कहिल्यै पनि हुनसक्दैन अनि अन्याय पनि हटाउन सक्दैन भनेर बुझ्न थालें। अर्धसैनिक संगठनहरू चलाउनेहरूबीच नै भ्रष्टाचारी अनि थुप्रै कमीकमजोरीहरू थिए।”—उपदेशक ४:१; यर्मिया १०:२३.
पछि प्याट्रिक उत्तरी आयरल्याण्ड फर्के। “यहाँ पुगेपछि एक जना साथीले यहोवाका साक्षीहरूसित मेरो परिचय गराइदिए।” साक्षीहरूसित बाइबल अध्ययन गरेपछि मात्र तिनले मानिसहरूबीचको भिडन्त अनि वैमनस्यताको वास्तविक समाधान देखे। बाइबलका सिद्धान्तहरूले तिनको मन अनि हृदयमा प्रभाव पार्न थालेपछि तिनले एकदमै चाँडचाँडो आध्यात्मिक उन्नति गर्नथाले। (एफिसी ४:२०-२४) “अब म सरकारको सत्ता पल्टाउने काम गर्नुको सट्टा बाइबलमा पाइने शान्तिको समाचार प्रचार गर्छु। यहाँसम्म कि आफ्नो पक्षका कट्टर समर्थकहरूलाई समेत म अहिले प्रचार गर्न जान्छु। पहिलेजस्तो भएको भए म त्यहाँ जाने आँट समेत गर्ने थिइनँ। बेलफास्टमा आफ्नो पक्षका कट्टर समर्थकहरू र राष्ट्रवादीहरूबीच गुटबन्दी हत्याहरू चर्किरहेको बेला मानिसहरू सशस्त्र गाडी चलाउँथे भने यहोवाका साक्षीहरू कुनै डर नलिई साधारण गाडी चलाउँथे।” प्रथम शताब्दीका मसीहीहरू जस्तै तटस्थ रहनु नै वास्तविक सुरक्षा रहेछ भनी उत्तरी आयरल्याण्डका अरू साक्षीहरूले जस्तै तिनले पनि बुझेका छन्। (यूहन्ना १७:१६; १८:३६) निष्कर्षमा तिनी यसो भन्छन्: “यहोवाले येशू ख्रीष्ट मार्फत् मानवजातिलाई साँचो न्याय अनि अत्याचारबाट स्वतन्त्रता दिनुहुनेछ भनी थाह पाउनु साँच्चै आनन्ददायी कुरा हो।”—यशैया ३२:१, १६-१८.
“बन्दुकहरू नै मेरो सुरक्षा थिए”
“म अर्कै राजनैतिक र धार्मिक सोचाइ राख्ने परिवारमा हुर्कें,” विलियम बताउँछन्। “म एक जना प्रोटेस्टेन्ट भएको नाताले क्याथोलिकहरूलाई औधी घृणा गर्थें। यहाँसम्म कि सकेसम्म क्याथोलिकहरूको पसलमा समेत पस्दिनँथें र मात्र एक चोटि गणतन्त्र आयरल्याण्ड गएँ। म थुप्रै प्रोटेस्टेन्ट समूह तथा संस्थानहरूमा संलग्न भएँ। जस्तै, प्रोटेस्टेन्ट धर्म तथा जीवनशैलीको सुरक्षा गर्न समर्पित अरेन्ज अर्डर नामक संस्था।” तिनी २२ वर्ष पुगेपछि बेलाइती सेनाको सानो स्थानीय समूह, अल्स्टर सुरक्षा सेनामा भर्ती भए। यसका अधिकांश सदस्यहरू प्रोटेस्टेन्ट थिए। तिनी आफ्नो सम्पदाको लागि अरूको हत्या गर्न पनि पछि पर्दैनथे। “मसित दुई चारवटा बन्दुकहरू थिए र आवश्यक परेको खण्डमा चलाउन हिचकिचाउन्नथें। एउटाचाहिं राती सुत्दा तकियामुनि नै राख्थें।”
तर मेरो जीवनमा एउटा नयाँ मोड आयो। “एउटा पुरानो घर मर्मत गर्ने कामको सिलसिलामा एक जना यहोवाको साक्षीसित काम गर्दा तिनीहरू अरूभन्दा बेग्लै भएको महसुस गरें। यस सँगी कारिन्दाले मलाई निकै प्रभाव पाऱ्यो। हामीले सो घर सँगसँगै निर्माण गर्दा यहाँ व्याप्त गन्जागोल, धर्म अनि परमेश्वरबारे मेरो मनका थुप्रै प्रश्नहरू सोध्ने मौका पाएँ। तिनको सरल, सु-स्पष्ट जवाफले मलाई यहोवाका साक्षीहरू कस्ता मानिसहरू हुन् भनी बुझ्न मदत गऱ्यो। तिनीहरू साँच्चै एकताबद्ध, हिंसा नरुचाउने अनि राजनीतिमा तटस्थ रहेर परमेश्वर अनि छिमेकीहरूलाई प्रेम गर्ने मानिसहरू रहेछन् भनेर थाह पाएँ।”—यूहन्ना १३:३४, ३५.
बाइबल अध्ययन थालेको चार महिनापछि विलियमले आफू संलग्न भएका सबै धार्मिक तथा राजनैतिक संगठनहरूमा राजीनामा दिए। “यो निकै महत्त्वपूर्ण कदम थियो” भन्ने कुरा सम्झँदै तिनी बताउँछन्, “किनभने आफूलाई मनपर्ने थुप्रै रीतिथितिहरू त्याग्नुपऱ्यो।” तथापि, तिनीमाथि सबैभन्दा ठूलो परीक्षा त आउन बाँकी नै थियो। “उत्तरी आयरल्याण्डको परिस्थितिहरूले गर्दा बन्दुकहरू नै मेरो सुरक्षा हुन् भन्ने सोचाइ राख्थें। आइ आर ए-का अर्धसैनिकहरूको म ‘जायज तारो’ बन्न पुगें। त्यसैले यस्ता हतियारहरू त्याग्न धेरै गाह्रो पऱ्यो।” बिस्तारै बाइबलको यशैया २:२-४ जस्ता पदहरूमा उल्लिखित सल्लाहहरू पढेर तिनको विचारमा परिवर्तन आउन थाल्यो। अन्ततः प्रथम शताब्दीका मसीहीहरूका लागि जस्तै यहोवा नै तिनको साँचो रक्षक हुनुहुन्छ भनेर तिनले मानिलिए। त्यसपछि तिनले आफ्ना बन्दुकहरू त्यागिदिए।
विलियम बताउँछन्, “मेरो खुसीको एउटा कारण हो, पहिला असह्य शत्रु ठानेकाहरूसित समेत मैले गहिरो मित्रता गाँस्न सकेको छु। पहिला पहिला आफू ‘जानै नहुने क्षेत्रहरूमा’ अहिले बाइबलले प्रदान गर्ने आशाको समाचार पुऱ्याउन सक्नु मेरोलागि अर्को आनन्दको कुरा हो। मेरो परिवार अनि मेरोलागि सच्चाइले जे जति लाभ पुऱ्यायो, त्यसको लागि म यहोवा तथा उहाँको संगठनप्रति सधैंभरि कृतज्ञ रहनेछु।”
“मैले बुझ्नै सकिनँ”
रबर्ट अनि टेरीसाको एकदमै बेग्लाबेग्लै पृष्ठभूमि छ। रबर्ट भन्छन्, “मेरो परिवारका सदस्यहरू एकदमै कट्टर प्रोटेस्टेन्टहरू हुन्। मेरा केही नातेदारहरूले अर्धसैनिक क्रियाकलापहरूमा भाग लिएका थिए। म पनि १९ वर्षकै उमेरमा ब्रिटिस आर्मीको उल्स्टर डिफेन्स रेजिमेन्टको सदस्य बनें। त्यसबेला धेरैजसो समय टेरीसाको इलाका वरपर नै गस्ती गर्न खटाइन्थें। एक रात मलाई गस्ती गर्न होइन तर अर्कै काममा खटाइयो। त्यस रात मैले सधैं चढ्ने गरेको ल्याण्ड-रोभरमा बम पड्क्यो। दुई जना सिपाही मारिए अनि दुई जना घाइते भए।”
त्यसपछि रबर्टले जीवनको उद्देश्यबारे सोच्न थाले। “म परमेश्वरलाई सधैं विश्वास गर्थें तर उत्तरी आयरल्याण्डमा यतिविघ्न गन्जागोल हुनुको कारण मैले बुझ्नै सकिनँ। यतिबेला भने मैले साँच्चै परमेश्वरलाई प्रार्थना गरें। प्रार्थनामा परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न र यदि हुनुहुन्छ भने मैले कसरी बाँच्नुपर्ने हो सही मार्ग देखाउनुहोस् भनी बिन्ती गरें। मैले परमेश्वरलाई प्रार्थनामा एउटा साँचो धर्म त हुनैपर्ने हो पनि भनेको थिएँ!” त्यसको केही दिनपछि एक जना यहोवाका साक्षी रबर्टकहाँ पुगे र केही साहित्यहरू दिएर गए। त्यस रात गस्तीबाट अबेला घर फर्केर बिहान पाँच बजेसम्म ती साहित्यहरू पढे। “सच्चाइ यही हो भनेर मैले बुझिहालें,” भन्दै तिनी बताउँछन्, “अनि सबै कुरा बाइबलमै आधारित भएको देखें।” (२ तिमोथी ३:१६) तिनले बाइबल अध्ययन गर्न थाले र धेरै समय नबित्दै आफ्नो जीवन परमेश्वरलाई समर्पण गरे।
“साक्षीहरूले हामीलाई जहिले पनि बाइबलमै हेर्न लगाउँथे”
अर्कोतिर, टेरीसा क्याथोलिक परिवारमा हुर्केकी थिइन् र तिनमा राष्ट्रवादी भावनाले जरा गाडेको थियो। तिनी भन्छिन्: “सानी केटी छँदै म सीन फेनको सदस्य भएँ।b यसले गर्दा म पनि अर्धसैनिक क्रियाकलापलाई सघाउने कार्यमा मुछिएँ। यस सैनिक संघर्षको लागि चन्दा संकलन गर्न सहयोग गरें। आफ्नो इलाकामा भइरहेका गतिविधिहरूको जानकारी आइ आर ए-लाई दिन्थें। म दंगाफसादमा भाग लिनुका साथै प्रहरी अनि सैनिक गस्तीहरूमाथि ढुंगामुढा समेत गर्थें।”
टेरीसाको परिवारका कोही कोही सदस्यहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन थालेपछि तिनमा पनि उत्सुकता जाग्यो। परमेश्वरको वचनको शक्तिले तिनलाई निकै प्रभाव पाऱ्यो। तिनी भन्छिन्, “साक्षीहरूले हामीलाई जहिले पनि हाम्रा प्रश्नहरूको जवाफ बाइबलमै हेर्न लगाए। दानियल २:४४ साँच्चै घतलाग्दो प्रतिज्ञा थियो। मैले जुन अन्याय हटाउन संघर्ष गरिरहेकी थिएँ, त्यो हटाउने एकमात्र वास्तविक मार्ग त परमेश्वरको राज्य रहेछ भनेर बुझें।” तिनलाई अर्धसैनिकहरूले गरेको अत्याचारप्रति घृणा लाग्न थाल्यो। टेरीसाले बुझ्नै नसकेकी एउटा कुरा के थियो भने, अरूलाई करुणा देखाउने र शिष्ट मानिसहरू पनि आतंककारी क्रियाकलापका कारण सिपाहीहरू वा अरूहरू मारिंदा अथवा अंगभंग हुँदा अनि परिवारका सदस्यहरू पीडा तथा वेदनाले भरिंदा किन दंग पर्छन्। तिनले पनि बाइबल सच्चाइप्रति सकारात्मक प्रतिक्रिया देखाइन् र परमेश्वरको सिद्धान्तहरू अनुरूप आफ्नो सोचाइ छाँटकाँट गरिन्। तिनले आफ्नो जीवन यहोवालाई समर्पण गरिन् र चाँडै बप्तिस्मा लिइन्।—हितोपदेश २:१-५, १०-१४.
उत्तरी आयरल्याण्डको एउटा मण्डलीको सभामा भेला हुँदा टेरीसा र रबर्टको भेटघाट भयो। तिनी बताउँछिन्: “मैले रबर्टलाई पहिलोपल्ट भेट्दा बेलाइती राजनैतिक तथा सैन्य दलका मानिस, भनौं भने पहिला शत्रु ठानेको व्यक्तिसित त्यति निर्धक्कसँग र शान्तपूर्वक कुरा गरिरहेकी थिएँ भनी पत्याउनै सकिनँ। परमेश्वरको वचनले मेरो हृदयमा जरा गाडेको घृणा र द्वेष हटाउन साँच्चै मदत गऱ्यो।” तिनी र रबर्ट आफ्ना भिन्नै रीतिथिति तथा संस्कृतिका कारण उब्जेको घृणा र द्वेषहरूले गर्दा एकअर्काभन्दा भिन्नै हुनुको सट्टा थुप्रै कुरामा समानता पाए। तिनीहरूमध्ये सबैभन्दा प्रभावशाली कुरा यहोवाप्रतिको प्रेम थियो। तिनीहरूले विवाह गरे। अहिले तिनीहरू साँचो शान्ति ल्याउने परमेश्वरको समाचार यस संकटग्रस्त क्षेत्रका सबै पृष्ठभूमि तथा धार्मिक विश्वासका मानिसहरूलाई सुनाउन काँधमा काँध मिलाएर जुटिरहेका छन्।
आयरल्याण्डमा बस्ने अरू थुप्रैको पनि यस्तै किसिमका अनुभवहरू छन्। परमेश्वरको प्रेरित वचन सुनेर अनि यसका शिक्षाहरू पालन गरेर तिनीहरू मानिसहरूका ‘तत्त्वज्ञान र फोस्रो छलबाट’ अलग भएका छन्। (कलस्सी २:८) अब तिनीहरू बाइबलमा अभिलेख गरिएका परमेश्वरका प्रतिज्ञाहरूमा पूर्ण भरोसा राख्छन्। तिनीहरू गुटबन्दी र अन्य प्रकारका हिंसाबाट मुक्त संसारमा बाँच्ने भविष्यको आशाबारे सुन्न चाहनेहरूलाई सुनाउन पाएकोमा आनन्दित छन्।—यशैया ११:६-९.
[फुटनोटहरू]
a नाउँहरू परिवर्तन गरिएका छन्।
b आइ आर ए-को अस्थायी प्रबन्धसित सम्बद्ध राजनैतिक संस्था।
[पृष्ठ १०-मा भएका चित्रहरू]
उत्तरी आयरल्याण्डभरि भित्तिचित्रहरूमा अर्धसैनिक संघर्षको निकै प्रशंसा गरिएको पाइन्छ