हामी विनाशसम्म पुग्ने गरी पछि हट्नेहरूमध्येका कहिल्यै नहोऔं!
“हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं।”—हिब्रू १०:३९.
१. कस्तो परिस्थितिले गर्दा पत्रुस डराए?
आफ्ना अतिप्रिय मालिक येशूले तिनीहरू तितरबितर हुनेछन् र उहाँलाई त्याग्नेछन् भन्नुहुँदा प्रेरितहरू पक्कै पनि अकमक्क भए होलान्। उहाँलाई तिनीहरूको औधी खाँचो परेको बेला यस्तो कुरा कसरी हुन सक्ला? तसर्थ, पत्रुसले जिद्दी गरे: “सबै जना तपाईंप्रति रुष्ट भए तापनि म चाहिं ता रुष्ट हुनेछैनँ।” वास्तवमा, पत्रुस साहसी, हो, निडर पुरुष थिए। तर येशूको विश्वासघात भइसकेपछि र उहाँ समातिनु भइसकेपछि पत्रुसलगायत जम्मै प्रेरितहरू तितरबितर भए। पछि, प्रधान पूजाहारी कैयाफाको घरमा येशूको पुर्पक्ष हुँदा पत्रुस व्याकुल हुँदै चोकमा हल्लिरहेका थिए। चिसो रात छिप्पिंदै जाँदा पत्रुसलाई येशू र उहाँसित संगत गर्नेजति सबै मारिनेछन् भन्ने डरले छोप्दै लगेको हुनसक्छ। वरपर उभिएकाहरूले पत्रुसलाई येशूका घनिष्ठ व्यक्तिहरूमध्येका भनी चिन्दा तिनी त्राहित्राहि भए। तिनले तीन-तीनपटक येशूसित कुनै सम्बन्ध छैन भनी जिद्दी गरे। हो, पत्रुसले उहाँलाई चिन्नसमेत चाहेनन्।—मर्कूस १४:२७ -३१, ६६-७२.
२. (क) येशू पक्राउ पर्नुभएको रात पत्रुसले चालेको डरपोक कदमले तिनलाई “पछि हट्नेहरूमध्येका” किन बनाएन? (ख) हाम्रो संकल्प कस्तो हुनुपर्ने हो?
२ पत्रुसले आफ्नो जीवनभर सबैभन्दा हीन महसुस गरेको समय यही नै हुन गयो। हो, त्यसो गरेकोमा तिनी जीवनभर पछुताइरहे। तर त्यस रात पत्रुसले जे गरे, के त्यसले तिनलाई डरछेरुवा बनायो त? पछि प्रेरित पावलले “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं” भनी लेख्दा के पत्रुस “पछि हट्नेहरूमध्येका” भए? (हिब्रू १०:३९) पावलले लेखेको कुरा पत्रुसलाई लागू हुँदैन भनी हामीमध्ये थुप्रैले स्वीकार्छौं होला। किन? किनकि पत्रुसको डर क्षणिक थियो, साहस र विश्वासले भरिएको जीवनमा एउटा सानो भूल थियो। त्यसै गरी, हामीमध्ये थुप्रैले विगतमा भएका त्यस्ता लाजमर्दो घटनाहरू बिर्सेका छैनौं होला जुन बेला डरले हामीलाई एक्कासी आफ्नो पञ्जामा कसेको थियो अनि सत्यको पक्षमा चाहेजति निडर भएर खडा हुन सकेका थिएनौं। (रोमी ७:२१-२३ तुलना गर्नुहोस्।) यस्तो क्षणिक सानो भूलले हामीलाई विनाशसम्म पुग्ने गरी पछि हट्नेहरूमध्येका बनाउँदैन भनी हामी विश्वस्त हुनसक्छौं। तैपनि, त्यस्ताहरूमध्येका नहुने संकल्प भने हामीले गर्नैपर्छ। किन? अनि हामी त्यस्ताहरूमध्येका नहुन के गर्नसक्छौं?
विनाशसम्म पुग्ने गरी पछि हट्नुको अर्थ
३. एलिया अगमवक्ता र योना अगमवक्ता कसरी डरको सिकार भए?
३ पावलले “पछि हट्नेहरूमध्येका” भनी लेख्दा डरको पञ्जामा परेर क्षणिक सानो भूल गर्नेहरूलाई संकेत गरिरहेका थिएनन्। पावललाई अवश्य पत्रुसको अनुभव अनि त्यस्तै अन्य अनुभवहरू थाह थियो। निडर तथा फरासिला अगमवक्ता एलिया, दुष्ट रानी ईजेबेलले मार्ने धम्की दिंदा डराए र ज्यान जोगाउन कुलेलम ठोके। (१ राजा १९:१-४) अगमवक्ता योना पनि एकपटक असाध्यै डराएका थिए। यहोवाले तिनलाई कुख्यात दुष्ट शहर निनवेमा जान अह्राउनुभएको थियो। योना तुरुन्तै तर्शीशतर्फ जाने जहाजमा चढे। त्यो ठाउँ जानुपर्ने शहरको ठीक विपरीत ३,५०० किलोमिटर टाढा पर्थ्यो। (योना १:१-३) यद्यपि, न यी विश्वासी अगमवक्ताहरू नत प्रेरित पत्रुसलाई पछि हट्नेहरूमध्येका भन्न सकिन्थ्यो। किन र?
४, ५. (क) पावलले हिब्रू १०:३९ मा उल्लेख गरेको “विनाश” शब्दको अर्थ खुट्याउन प्रसंगले कसरी मदत गर्छ? (ख) “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं” भनेर पावलले के भन्न खोजिरहेका थिए?
४ पावलले प्रयोग गरेका सम्पूर्ण वाक्यांशलाई विचार गर्नुहोस्: “तर हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं।” तिनले “विनाशसम्म” भन्नुको अर्थ के हो? तिनले प्रयोग गरेका युनानी शब्दको अर्थ कहिलेकाहीं अनन्त विनाश हुन्छ। अनि यो अर्थ प्रसंगलाई केलाएर हेर्दा ठ्याक्कै मिल्छ। पावलले भर्खरै “हामीले त्यसको ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौं भनेता पापहरूका निम्ति दण्डको भयानक प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने अग्निको प्रचण्डताबाहेक फेरि कुनै बलिदान बाँकी रहँदैन” भनेर चेताउनी दिएका थिए।—हिब्रू १०:२६, २७.
५ त्यसकारण, पावलले आफ्ना सँगी विश्वासीहरूलाई “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं” भन्दा तिनले आफू र आफ्ना विश्वासी मसीही पाठकहरू यहोवाबाट कहिल्यै नअलग्गिने र उहाँको सेवा गर्न कहिल्यै नछोड्ने संकल्प गर्नेहरूमध्ये हुन् भन्न खोजिरहेका थिए। त्यस्तो संकल्प नगरेको खण्डमा तिनीहरू अनन्त विनाशमा पर्ने थिए। त्यस्तो विनाशमा पर्नेहरूमा यहूदा इस्करयोती अनि जानाजानी यहोवाको आत्मा विरुद्ध काम गरी सत्यसित दुस्मनी मोल्ने अरू व्यक्तिहरू पर्छन्। (यूहन्ना १७:१२; २ थिस्सलोनिकी २:३) यस्ता व्यक्तिहरू लाक्षणिक अग्नि कुण्डमा सधैंभरिका लागि नाश हुने ‘डराउनेहरूमध्ये’ हुनेछन्। (प्रकाश २१:८) हो, हामी कदापि यस्ताहरूमध्ये पर्न चाहँदैनौं!
६. हामी कुन मार्गमा हिंडेको शैतान चाहन्छ?
६ शैतान अर्थात् दियाबल हामी विनाशसम्म पुग्ने गरी पछि हटेको चाहन्छ। यस्तो विनाशकारी मार्गमा अलि अलि गर्दै बिस्तारै ठेल्न सकिन्छ भनेर “धूर्त चालहरूका” मालिक शैतानलाई थाह छ। (एफिसी ६:११, NW, पादटिप्पणी) प्रत्यक्ष सतावटद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न सकेन भने त्यसले चालै नपाउने तरिकाहरूमा साँचो मसीहीहरूको विश्वासलाई भित्रभित्रै कमजोर पार्ने प्रयत्न गर्छ। ऊ यहोवाका साहसी तथा जोसिला साक्षीहरू चुप लागेको हेर्न चाहन्छ। पावलले पत्र लेखेका हिब्रू मसीहीहरूमाथि त्यसले के कस्ता दाउपेचहरू प्रयोग गऱ्यो, आउनुहोस्, हामी हेरौं।
मसीहीहरू पछि हट्ने गरी कसरी सताइए
७. (क) यरूशलेममा भएको मण्डलीको इतिहास बताउनुहोस्। (ख) पावलका कुनै कुनै पाठकहरूको आध्यात्मिक अवस्था कस्तो थियो?
७ पावलले हिब्रूहरूलाई सा.यु. ६१ तिर पत्र लेखेका थिए भनेर प्राप्त प्रमाणहरूले देखाउँछन्। यरूशलेमस्थित मण्डलीको इतिहासमा निकै उथलपुथल मच्चिएको थियो। येशूको मृत्युपछि क्रूर सतावटको बाढीले गर्दा शहरका थुप्रै मसीहीहरू तितरबितर भए। तथापि, त्यसपछि केही समय शान्ति छायो र मसीहीहरूको संख्या गुणात्मक ढंगले बढ्न थाल्यो। (प्रेरित ८:४; ९:३१) वर्षौंको दौडान थुप्रै सतावटहरू आए अनि गए। पावलले हिब्रूहरूलाई यो पत्र लेखुञ्जेलसम्ममा तुलनात्मक हिसाबमा मण्डलीले फेरि शान्तिको आनन्द उठाइरहेको थियो जस्तो देखिन्छ। तैपनि, दबाबहरू त थिए नै। येशूले यरूशलेमको विनाशबारे भविष्यवाणी गर्नुभएको झन्डै तीन दशकभन्दा बढी भइसकेको थियो। कसै कसैलाई अन्त आउन बिना कारण ढिलो भएजस्तो वा आफ्नो जीवनकालमा आउँदै नआउनेजस्तो लाग्यो होला। अन्य कतिपय र त्यसमा पनि विशेष गरी भर्खरै सच्चाइमा आएकाहरूले कठोर सतावट सामना गर्नुपरेको थिएन। तसर्थ सतावट आइपर्दा धीरज किन चाहिन्छ तिनीहरूलाई त्यति थाह थिएन। (हिब्रू १२:४) निस्सन्देह, शैतानले यस्ता अवस्थाहरूको फाइदा उठाउन खोज्यो। त्यसले कस्ता “धूर्त चालहरू” प्रयोग गऱ्यो?
८. अनुभवहीन मसीहीहरूलाई प्रायजसो यहूदीहरू कुन दृष्टिले हेर्थे?
८ यरूशलेम तथा यहूदियाका यहूदीहरू मसीही मण्डलीलाई हिजोको फुल आजको चल्लो ठान्थे। पावलको पत्रलाई राम्ररी नियाल्दा ती घमण्डी यहूदी धार्मिक नेताहरू र तिनका अनुयायीहरूले मसीहीहरूलाई कसरी घोचपेच गर्थे भनी अनुमान गर्नसक्छौं। सायद तिनीहरूले यसो भने होलान्: ‘धेरै शताब्दीअघिदेखि यरूशलेममा हाम्रो ठूलो मन्दिर छ! हाम्रा श्रेष्ठ पूजाहारी र तिनका उपपूजाहारीहरू छन्। दिनदिनै बलिहरू चढाइन्छन्। सीनै पर्वतमा ठूलठूला चमत्कारहरूद्वारा स्वर्गदूत मार्फत मोशालाई दिइएको व्यवस्था छ। यहूदी मतबाट विधर्मी भएका यी टुप्पाबाट पलाएका मसीही गुटसित त्यस्तो के छ?’ के यस्तो तिरस्कारले कुनै हानि पुऱ्यायो? केही हिब्रू मसीहीहरू यस्ता आक्रमणहरूले गर्दा बेचैन भएका प्रस्टै देखिन्छ। तसर्थ, पावलले समयमै तिनीहरूलाई पत्र लेखेर मदत गरे।
किन तिनीहरू विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्नु पर्नेछैन
९. (क) हिब्रूहरूलाई लेखिएको पत्रमा कुन कुरा व्याप्त छ? (ख) मसीहीहरूले कुन अर्थमा यरूशलेमको भन्दा उत्तम मन्दिरमा सेवा गरे?
९ यहूदियाका भाइबहिनीहरूलाई विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्नु नपर्ने कुन दुइटा कारण पावलले दिए, आउनुहोस् जाँचौं। पहिलो थियो, मसीही उपासना व्यवस्थाको सर्वश्रेष्ठता, जुन हिब्रूहरूलाई लेखिएको पत्रमा व्याप्त छ। आफ्नो पत्रभरि पावलले यसैलाई आफ्नो मूल विषय बनाएका छन्। यरूशलेमस्थित मन्दिर महान् वास्तविकता अर्थात् यहोवाको आध्यात्मिक मन्दिरको प्रतिबिम्ब मात्र थियो। अनि यो मन्दिर “हातले बनाएको” मन्दिर “होइन।” (हिब्रू ९:११) शुद्ध उपासनाको यस आध्यात्मिक प्रबन्धअन्तर्गत यी मसीहीहरूले सेवा गर्ने विशेषाधिकार पाएका थिए। तिनीहरू उत्तम करार अर्थात् निकै अघिदेखि प्रतिज्ञा गरिएको नयाँ करारको अधीनमा थिए। तिनीहरूको मध्यस्थकर्ता येशू ख्रीष्ट मोशाभन्दा उच्च हुनुहुन्थ्यो।—यर्मिया ३१:३१-३४.
१०, ११. (क) येशूको वंशावलीले उहाँलाई आध्यात्मिक मन्दिरको प्रधान पूजाहारीको रूपमा सेवा गर्नदेखि किन अयोग्य तुल्याउँदैन? (ख) यरूशलेमको मन्दिरमा सेवा गरिरहेका प्रधान पूजाहारीभन्दा येशू कुन कुन तरिकामा उच्च हुनुहुन्छ?
१० मसीहीहरूका प्रधान पूजाहारी, येशू ख्रीष्ट यहूदीहरूको प्रधान पूजाहारीहरू भन्दा अति उत्तम हुनुहुन्थ्यो। अहँ, उहाँ हारूनको सन्तान हुनुहुन्थेन। उहाँ त “मल्कीसेदेकको रीतिबमोजिम” प्रधान पूजाहारी हुनुहुन्थ्यो। (भजन ११०:४) हुन त, मल्कीसेदेकको पुर्खासम्बन्धी कुनै रेकर्ड छैन। तर तिनी पुरातन शालेमका राजा हुनुका साथै प्रधान पूजाहारी थिए। तिनी येशूको भविष्यसूचक नमुना भए। येशूको पूजाहारीगिरी असिद्ध मानव पुर्खामा नभई त्योभन्दा पनि अति उच्च अर्थात् यहोवा परमेश्वरकै शपथमा आधारित थियो। मल्कीसेदेकले जस्तै येशूले प्रधान पूजाहारीको रूपमा मात्र होइन, राजाको रूपमा समेत सेवा गर्नुहुन्छ र उहाँ अजर अमर राजा हुनुहुन्छ!—हिब्रू ७:११-२१.
११ यसबाहेक, यरूशलेम मन्दिरका प्रधान पूजाहारीले जस्तो येशूले वर्षेनी बलिदानहरू चढाउनुपर्दैनथ्यो। उहाँले आफ्नो सिद्ध शरीर एकै चोटि सधैंको लागि बलिदान चढाउनुभयो। (हिब्रू ७:२७) मन्दिरमा चढाइएका ती सब बलिदानहरू येशूले चढाउनुभएको बलिदानको छायाँ मात्र थियो। उहाँले चढाउनुभएको सिद्ध बलिदानले विश्वास गर्नेजति सबैलाई पापको साँचो क्षमा प्रदान गऱ्यो। यरूशलेमका मसीहीहरूले चिनेका येशू नै मसीहीहरूको प्रधान पूजाहारी हुनुहुन्छ भनी पावलले टिप्पणी गर्नु पनि साह्रै मनोहर कुरा हो। उहाँ नम्र, दयालु अनि ‘हाम्रा निर्बलतामा हामीसँग दुःखी हुनसक्ने’ हुनुहुन्थ्यो। (हिब्रू ४:१५; १३:८) अभिषिक्त मसीहीहरूले ख्रीष्टको उप-पूजाहारीको रूपमा सेवा गर्ने प्रत्याशा पाएका थिए! अतः यी मसीहीहरूले भ्रष्ट यहूदीधर्मको “निर्बल र कङ्गाली” कुराहरूतर्फ फेरि फर्केर जाने विचार मात्र पनि कसरी गर्नसक्थे र?—गलाती ४:९.
१२, १३. (क) कहिल्यै पछि नहट्ने सम्बन्धमा पावलले कुन दोस्रो तर्क पेश गरे? (ख) विगतमा आफूले देखाएको धीरजले हिब्रू मसीहीहरूलाई विनाशसम्म पुग्ने गरी पछि नहट्न किन प्रोत्साहन दिने थियो?
१२ मानौं यत्तिले नपुगेजस्तो पावलले हिब्रूहरूलाई विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्नु नपर्ने दोस्रो कारण दिए। त्यो थियो, तिनीहरूको आफ्नै धीरज। तिनले लेखे: “अगाड़िका दिनहरूलाई सम्झ, जसमा तिमीहरूले ज्योति पाएपछि ठूला ठूला शासनको लड़न्त सह्यौ।” निन्दा र कष्टहरूले गर्दा तिनीहरू “अरूको तमाशा बनिए” भनेर पावलले तिनीहरूलाई सम्झाए। कोही जेलमा परे; अन्य कतिपयले चाहिं ती जेलमा परेकाहरूलाई सहानुभूति देखाए, मदत गरे। हो, तिनीहरूले उदाहरणीय विश्वास अनि लगनशीलता प्रकट गरे। (हिब्रू १०:३२-३४) तर पावलले तिनीहरूलाई किन यस्तो कष्टप्रद अनुभव “सम्झ” भने? के यो निरुत्साहजनक कुरा हुने थिएन र?
१३ “अगाड़िका दिनहरूलाई स[म्झँदा]” ती हिब्रूहरूलाई यहोवाले तिनीहरूलाई सतावट आइपर्दा सम्हाल्नुभएको सम्झना आउनेथियो। परमेश्वरको मदत पाएर तिनीहरूले शैतानका थुप्रै हमलाहरूको प्रतिकार गरिसकेका थिए। पावलले लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” (हिब्रू ६:१०) हो, यहोवाले तिनीहरूका सबै विश्वासी कार्यहरू आफ्नो असीमित स्मरणमा राख्नुहुँदै ती सबै सम्झनुभयो। एवम् रीतिले स्वर्गमा धन थुपार भनी येशूले दिनुभएको सल्लाह हामीलाई सम्झाइन्छ। यो सम्पत्ति कुनै पनि चोरले चोर्नसक्दैन; नत कीराले न खियाले नै खानसक्छ। (मत्ती ६:१९-२१) वास्तवमा, कुनै मसीही विनाशसम्म पुग्ने गरी पछि हटेमा मात्र यी सम्पत्ति नाश हुन्छन्। त्यसो गरेमा मात्र उसले स्वर्गमा थुपारेको सम्पूर्ण सम्पत्ति डुब्नेछ। यस्तो मार्गमा लाग्दै नलाग्न पावलले हिब्रू मसीहीहरूलाई कत्ति सशक्त कारण दिए! त्यत्तिका वर्षदेखि गरेको सेवा किन खेर फाल्ने? बरु, धैर्य गरिरहनु नै कता हो कता बेस हुनेथियो, अति उत्तम हुनेथियो।
हामी किन विनाशसम्मै पुग्ने गरी पछि हट्नु हुँदैन
१४. प्रथम शताब्दीका मसीहीहरूले भोगेका जस्तै कस्ता चुनौतीहरू हामीले पनि सामना गरेका छौं?
१४ आज साँचो मसीहीहरू पनि पछि नहट्नुपर्ने त्यत्तिकै सशक्त कारणहरू छन्। सर्वप्रथम, यहोवाले आशिष्स्वरूप दिनुभएको शुद्ध उपासनालाई सम्झौं। प्रथम शताब्दीका मसीहीहरूलाई गिल्ला गरेजस्तै आज पनि मानिसहरू आफ्नो लोकप्रिय धर्मको भव्य भवनहरू तथा परम्परा अनि रीतिथितिको घमण्ड गर्दै हाम्रो खिसी गर्छन्, गिल्ला गर्छन्। तथापि, यहोवाले हाम्रो उपासना स्वीकार्नुभएर हामीलाई विश्वस्त गराउनुहुन्छ। वास्तवमा, प्रथम शताब्दीका मसीहीहरूले अनुभव नगरेका आशिष्हरू आज हामीले अनुभव गरिरहेका छौं। तपाईंलाई अचम्म लाग्ला, ‘त्यो कसरी हुनसक्छ र?’ के तिनीहरू आध्यात्मिक मन्दिर स्थापित भएको बेलाका होइनन् र? सा.यु. २९ मा ख्रीष्ट उक्त मन्दिरका प्रधान पूजाहारी हुनुभयो। कतिपयले त परमेश्वरका चमत्कार गर्नुहुने पुत्रलाई देखे। उहाँको मृत्यु भएपछि पनि थुप्रै चमत्कारहरू भए। तथापि, भविष्यवाणी गरिएझैं समयमा यस्ता वरदानहरू रद्द भए।—१ कोरिन्थी १३:८.
१५. आज साँचो मसीहीहरू कुन भविष्यवाणी पूरा भएको समयमा बाँचिरहेका छन् र हाम्रोनिम्ति यसले के अर्थ राख्छ?
१५ तथापि, हामी इजकिएल ४०-४८ अध्यायहरूमा मन्दिरबारे गरिएको विस्तृत भविष्यवाणीको उल्लेखनीय ढंगमा पूर्ति भइरहेको समयमा बाँचिरहेका छौं।a शुद्ध उपासनाको निम्ति परमेश्वरले गर्नुभएको पुनर्स्थापना हामीले देखेका छौं। उक्त आध्यात्मिक मन्दिर हरप्रकारका धार्मिक अशुद्धि तथा मूर्तिपूजाबाट शुद्ध पारिएका छन्। (इजकिएल ४३:९; मलाकी ३:१-५) यो शुद्धताले गर्दा हामीले पाएका लाभहरू सोच्नुहोस्।
१६. प्रथम शताब्दीका मसीहीहरूले कस्तो निरुत्साहजनक अवस्थाको सामना गर्नुपऱ्यो?
१६ प्रथम शताब्दीतिर संगठित मसीही मण्डलीको भविष्य अन्धकार देखिएको थियो। त्यो समय, भर्खर रोपेको गहुँबारीमा लहलह सामा उम्रेर सामाबाट गहुँ छुट्ट्याउनै नसक्ने बेलाको जस्तै हुनेछ भनी येशूले पहिल्यै भन्नु भइसकेको थियो। (मत्ती १३:२४-३०) अनि त्यस्तै भयो पनि। प्रथम शताब्दीको अन्ततिर त्यस किसिमको भ्रष्टता विरुद्ध अन्तसम्म लडिरहने प्रेरित यूहन्नाको बुढेसकालसम्ममा धर्मत्याग फैलन थालिसकेको थियो। (२ थिस्सलोनिकी २:६; १ यूहन्ना २:१८) प्रेरितहरूको मृत्यु भएको केही समय नबित्दै एउटा भिन्नै प्रकारको पादरी समूह खडा भयो र त्यसले बगाललाई थिचोमिचो गर्न थाल्यो, एकदम पृथक देखिने वस्त्र धारण गर्न थाल्यो। धर्मत्याग घाउ कुहिएझैं फैलिन थाल्यो। विश्वासी मसीहीहरू कत्ति निरुत्साही भए होलान्! शुद्ध उपासनाको लागि भर्खरै स्थापित प्रबन्धको ठाउँ भ्रष्टताले ओगट्न थालेको तिनीहरूले देखे। अनि यो पनि ख्रीष्टले मण्डली स्थापित गर्नुभएको एक शतक बित्न नपाउँदै भएको थियो।
१७. प्रथम शताब्दीको प्रतिरूपक मण्डलीलाई आधुनिक समयको मसीही मण्डलीले कुन अर्थमा उछिन्यो?
१७ अब त्यसलाई वर्तमान समयसित तुलना गरेर हेर्नुहोस्। प्रेरितहरूको मृत्यु होउञ्जेलसम्मको तुलनामा आज शुद्ध उपासना टिकिरहेको धेरै वर्ष भइसक्यो! सन् १८७९ मा यो पत्रिकाको प्रथम संस्करण प्रकाशित भएदेखि यता शुद्ध उपासनालाई झन् झन् शुद्ध बनाउनुभएर यहोवाले हामीलाई आशिष् दिनुभएको छ। यहोवा र ख्रीष्ट येशू आध्यात्मिक मन्दिर सफा गर्ने उद्देश्यले १९१८ मा त्यहाँ प्रवेश गर्नुभयो। (मलाकी ३:१-५) सन् १९१९ देखि यहोवा परमेश्वरको उपासना गर्ने प्रबन्ध क्रमिक रूपमा चम्काइँदैछ। बाइबल भविष्यवाणी तथा सिद्धान्तसम्बन्धी हाम्रो समझ झन् झन् स्पष्ट हुँदैछ। (हितोपदेश ४:१८) यसको श्रेय कसलाई जान्छ? असिद्ध मानिसहरूलाई त होइन। केवल यहोवालाई। किनकि मण्डलीका शिर हुनुभएको आफ्नो पुत्रसँग मिलेर उहाँले यस्तो भ्रष्ट समयमा आफ्ना जनहरूलाई भ्रष्टाचारबाट जोगाउन सक्नुहुन्छ। तसर्थ, आज हामीलाई शुद्ध उपासनामा भाग लिने अनुमति दिनुभएकोमा यहोवालाई धन्यवाद दिन कहिल्यै नचुकौं। अनि विनाशसम्म पुग्ने गरी कहिल्यै पछि नहट्ने दृढ अठोट गरौं।
१८. विनाशसम्मै पुग्ने गरी कहिल्यै पछि नहट्ने के कारण हामीसित छ?
१८ ती हिब्रू मसीहीहरूसित भएजस्तै हामीसित पनि पछि हट्न लगाउने डरछेरुवापन हटाउने दोस्रो कारण छ र त्यो हो, हाम्रो धीरज। चाहे हामीले हालैका वर्षमा वा दशकौंदेखि विश्वासी भई यहोवाको सेवा गरेका किन नहोऔं, हामीले मसीही कार्यहरूको रेकर्ड कायम गरेका छौं। हामीमध्ये थुप्रैले सतावट भोगेका छन्, जेलमा, प्रतिबन्धमा परेका छन्, क्रूरतासाथ सताइएका छन्, सरसम्पत्ति गुमाएका छन्। अरू कतिले परिवारबाट सतावट भोग्नुपरेको छ, उपेक्षित हुनुपरेको छ, गिल्लाको पात्र अनि भावशून्यता महसुस गर्नुपरेको छ। हामी सबैले धैर्य धारण गरेका छौं र जीवनमा आइपरेका चुनौती तथा परीक्षाहरूको बावजूद विश्वासी भई यहोवाको सेवा गरिरहेका छौं। यसो गरेर हामीले यहोवाले नबिर्सनुहुने परिश्रमको रेकर्ड बनाएका छौं, अर्थात् स्वर्गमा सरसम्पत्ति थुपारेका छौं। त्यसोभए, यो पक्कै पनि त्यागिसकेको पुरानो रीतिमा फर्कने गरी पछि हट्ने समय हुनसक्दैन! हाम्रो यत्रो मेहनतलाई व्यर्थमा किन खेर फाल्ने? यो अहिले अन्त आउन “एकै छिन” मात्र बाँकी भएको बेला झनै सही साबित भएको छ।—हिब्रू १०:३७.
१९. हाम्रो अर्को लेखमा के छलफल गरिनेछ?
१९ आउनुहोस्, “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका” नहुन कटिबद्ध होऔं! बरु, हामी “विश्वास गर्नेहरूमध्येका” होऔं। (हिब्रू १०:३९) हामी यस्तो प्रकारको व्यक्ति हौं कि होइनौं कसरी पक्का गर्नसक्छौं र सँगी मसीहीहरूलाई पनि त्यसै गर्न हामी कसरी मदत गर्नसक्छौं? हाम्रो अर्को लेखले यस विषयमा छलफल गर्नेछ।
[फुटनोट]
a प्रहरीधरहरा, मार्च १, १९९९, पृष्ठ ८-२३ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ विनाशसम्म पुग्ने गरी पछि हट्नुको अर्थ के हो?
◻ पावलले पत्र लेखेका हिब्रू मसीहीहरू कस्तो बोझले दबिएका थिए?
◻ पावलले हिब्रूहरूलाई विनाशसम्म पुग्ने गरी पछि नहट्ने कस्ता कारणहरू दिए?
◻ विनाशसम्म पुग्ने गरी पछि नहट्न कटिबद्ध हुने हामीसित के के कारण छन्?
[पृष्ठ १५-मा भएका चित्रहरू]
डरले गर्दा भएको सानो भूलले पत्रुसलाई ‘विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येको’ बनाएन