प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १/१ पृ. २३-२६
  • मेरो जीवनै परिवर्तन गरिदिने एउटा सानो टिपोट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो जीवनै परिवर्तन गरिदिने एउटा सानो टिपोट
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बहिरी भएर हुर्कंदा
  • आफ्नै संसारमा बाँच्दै
  • अनमोल मित्रता विकास गर्दै
  • एक जना विशेष साथीसित
  • “मैले देख्न त देखें तर बुझ्न सकिनँ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरको हेरचाहद्वारा मैले कसरी लाभ उठाएँ
    ब्यूँझनुहोस्‌!—१९९५
  • अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ
    प्रहरीधरहरा: के प्रार्थना गर्दा कुनै फाइदा हुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १/१ पृ. २३-२६

जीवनी

मेरो जीवनै परिवर्तन गरिदिने एउटा सानो टिपोट

इरेन होक्खस्टेनबाकको वृत्तान्तमा आधारित

सन्‌ १९७२ मंगलबार साँझको कुरा थियो। म त्यतिबेला १६ वर्षकी थिएँ र बुबाआमासँगै म नेदरल्याण्ड्‌सस्थित ब्राबान्ट प्रान्तको आइन्डहोभन भन्‍ने शहरको एउटा धार्मिक सभामा गएकी थिएँ। मलाई त्यहाँ असुरक्षाको अनुभूति भयो र कहिले सभा छोडेर हिंडुँजस्तो लाग्यो। त्यत्तिकैमा दुई जना युवतीहरूले मलाई एउटा यस्तो टिपोट लेखेर दिइन्‌: “प्यारी इरेन, हामी तपाईंलाई मदत गर्न चाहन्छौं।” त्यो सानो टिपोटले मेरो जीवनै परिवर्तन गरिदिनेछ भनेर मैले सपनामा पनि सोचेकी थिइनँ। तर बाँकी कथा भन्‍नुअघि म तपाईंहरूलाई मेरो पृष्ठभूमिबारे केही बताउन चाहन्छु।

मेरो जन्म इन्डोनेसियाको बेलिटुङ टापुमा भएको थियो। त्यस उष्ण कटिबन्धीय टापुमा हावा चलेको बेला सरसराउने खजूरका रूखहरूको आवाज, नजिकै बगिरहेको खोलाको कलकल आवाज, घर वरिपरि हाँस्दै खेलिरहेका बच्चाहरू अनि हाम्रै घरमा गुञ्जने मधुर संगीतको आवाजलाई मैले अझै बिर्सन सकेकी छैन। सन्‌ १९६० मा म चार वर्षकी छँदा हाम्रो परिवार इन्डोनेसियाबाट नेदरल्याण्ड्‌स बसाइँ सऱ्‍यो। हामीले लामो समुद्री यात्रा गऱ्‍यौं र आफूसँगै लिएर गएको ड्रम बोकेको सानो जोकर खेलौनाले निकाल्ने आवाज मेरो मस्तिष्कमा अझै गुञ्जिरहेको छ। सात वर्षको उमेरमा बिमारीले गर्दा मैले आफ्नो श्रवण शक्‍ति गुमाएँ र त्यसबेला देखि म कुनै पनि आवाज सुन्‍न सक्दिनँ। अब त ती आवाजहरू केवल सम्झना बनेर रहेका छन्‌।

बहिरी भएर हुर्कंदा

आमाबाबुको न्यानो स्नेहले गर्दा सुरुमा त मलाई आफू बहिरी छु जस्तो पनि लागेन। सानो छँदा मलाई दिइएको ठूलो श्रवण यन्त्रले खासै मदत नगरे तापनि त्यो मेरोलागि खेलौना बराबर थियो। छिमेकका बच्चाहरू सबै कुरा भुइँमा चकले लेखेर मसित कुराकानी गर्थे र आफ्नो आवाज आफै सुन्‍न नसक्ने भए तापनि म बोलेरै तिनीहरूलाई जवाफ दिने गर्थें।

हुर्कंदै जाँदा मलाई आफू अरूभन्दा अलि बेग्लै छु जस्तो लाग्न थाल्यो। मेरो बहिरोपनले गर्दा कसै-कसैले मलाई ठट्टामा उडाएको अनि कतिपयले चाहिं मलाई आफ्नो संगतिबाटै अलग्याएको कुरालाई पनि मैले बिस्तारै बुझ्न थालें। मैले एकाकीपन र एक्लो महसुस गर्न थालें। अनि बिस्तारै बहिरी हुनुको अर्थ पनि बुझ्न थालें र ठूलो हुँदै जाँदा सुन्‍नेहरूको संसारमा बस्न मलाई झन्‌-झनै डर लाग्न थाल्यो।

मलाई बहिराहरूको विशेष स्कूलमा पढाउनकै लागि बुबाआमा आफ्ना लालाबालासहित लिबर्ग प्रान्तको एउटा गाउँबाट आइन्डहोभन शहरमा बसाइँ सर्नुभयो। त्यहाँ पुगेपछि बुबा जागिर खोज्नतिर लाग्नुभयो र भाइ अनि दुई जना दिदीहरूचाहिं नयाँ स्कूल जान थाले। मेरो लागि परिवारले गरेको यी सबै काँटछाँटप्रति म सदैव कृतज्ञ रहिरहनेछु। स्कूलमा मलाई आवाजलाई समायोजन गर्न र शब्दहरूलाई स्पष्टसित उच्चारण गर्न सिकाइयो। अनि शिक्षकहरूले सांकेतिक भाषा नचलाउनुभए तापनि मेरा सहपाठीहरूले मलाई सांकेतिक भाषा सिकाए।

आफ्नै संसारमा बाँच्दै

हुर्कंदै जाँदा बुबाआमाले मसित कुराकानी गर्न निकै प्रयास गर्नुभयो तर उहाँहरूले भन्‍नुभएका धेरैजसो कुराहरू मैले बुझ्नै सकिनँ। जस्तै: उहाँहरू यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ भनेर मैले त्यतिखेर बुझिनँ। तर मलाई सम्झना छ, एक दिन हाम्रो परिवार धेरै मानिसहरू मेचमा बसिरहेको एउटा ठाउँमा गएका थिए। त्यहाँ सबैजना अगाडि हेरिरहेका थिए। तिनीहरू कहिले ताली बजाउँथे त कहिले सबैजना उभिन्थे तर तिनीहरूले त्यसो गर्नुको कारण मैले बुझिनँ। धेरैपछि, आफू यहोवाका साक्षीहरूको अधिवेशनमा गएको कुरा मलाई थाह भयो। बुबाआमाले मलाई आइन्डहोभन शहरको एउटा सानो सभाकक्षमा पनि लाने गर्नुहुन्थ्यो। त्यहाँचाहिं मलाई अप्ठ्यारो महसुस हुँदैनथ्यो किनकि त्यहाँ भएका सबै जना दयालु हुनुका साथै मेरो परिवार पनि खुसी देखिन्थे तर हामी त्यहाँ सधैं जानुको कारण भने मलाई थाह थिएन। त्यो सानो सभाकक्ष यहोवाका साक्षीहरूको राज्यभवन थियो भनेर मलाई अहिले थाह भयो।

दुःखको कुरा, ती सभाहरूमा भइरहेका कार्यक्रमहरू मलाई बुझाइदिने कोही पनि थिएनन्‌। त्यहाँ आएकाहरू मलाई मदत दिन त चाहन्थे तर म बहिरी भएकीले मसित कसरी व्यवहार गर्ने भनेर तिनीहरूलाई थाह नहुनुको कारण बल्ल अहिले पो मैले बुझें। यी सभाहरूमा मलाई बेवास्ता गरेजस्तो लाग्थ्यो र मेरो मनमा यस्तो विचार आउँथ्यो, ‘यहाँभन्दा त स्कूलै रमाइलो।’ एक दिन मेरो मनमा यस्तो कुरा खेलिरहेको बेला दुई जना युवतीहरूले मलाई एक टुक्रा कागजमा केही लेखेर दिए। मैले सुरुमा उल्लेख गरेको टिपोट यही नै थियो। यो सानो टिपोट एउटा अनमोल मित्रताको सुरुवात हुनेछ र यसले मलाई एक्लोपनको दुनियाँबाट मुक्‍त गराउनेछ भनेर मलाई थाह थिएन।

अनमोल मित्रता विकास गर्दै

मलाई टिपोट दिने कलेट र हेरमिनले भर्खरै २० वर्ष पार गरेका थिए। पछि मलाई थाह भयो कि तिनीहरू म गइरहेको यहोवाका साक्षीहरूको मण्डलीमा नियमित अग्रगामी अथवा पूर्ण-समय सेवकहरूको हैसियतमा सेवा गर्न आएका थिए। कलेट र हेरमिनलाई सांकेतिक भाषाको खासै ज्ञान नभए तापनि मैले उनीहरूको ओठको भाका बुझ्ने कोसिस गरें र यसरी हामी केही हदसम्म कुराकानी गर्न सक्षम भयौं।

कलेट र हेरमिनले मसित बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा बुबाआमा औधी खुसी हुनुभयो तर ती युवतीहरूले मेरोलागि अझ धेरै गरे। राज्यभवनका सभाहरूमा मेरो दोभाषे भइदिन उनीहरूले कडा मेहनत मात्र गरेनन्‌ तर मलाई मण्डलीमा अरूसित घुलमिल हुन पनि मदत गरे। उनीहरूले प्रचार कार्यमा प्रयोग गर्ने बाइबल प्रस्तुतिहरू मसितै बसेर अभ्यास गर्नुका साथै ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको लागि विद्यार्थी भाषणहरू तयारी गर्न पनि मलाई मदत गर्थे। कल्पना गर्नुहोस्‌, अब मैले सुन्‍न सक्ने मानिसहरूको ठूलो समूहसामू भाषण दिने साहस जुटाएकी थिएँ!

यसको अतिरिक्‍त, कलेट र हेरमिनले मैले उनीहरूमाथि भरोसा गर्न सक्ने वातावरण तयार पारिदिए। उनीहरू धीरजी हुनुका साथै मेरो कुरा सुनिदिन्थे। हामी तीनै जना मेरो गल्तीमा हाँस्ने गर्थ्यौं तर उनीहरूले मलाई कहिल्यै ठट्टामा उडाएनन्‌ न त मेरो उपस्थितिमा उनीहरूले कुनै अप्ठ्यारो महसुस गर्थे। उनीहरू मेरा भावनाहरू बुझ्ने कोसिस गर्थे र बहिरी भनेर उनीहरूले मलाई कहिल्यै छुट्याएर व्यवहार गरेनन्‌। यी दयालु युवतीहरूले मलाई एउटा सुन्दर उपहार दिए, त्यो थियो उनीहरूको प्रेम र मित्रता।

मुख्य कुरा त, कलेट र हेरमिनले मलाई हाम्रो भरोसायोग्य परमेश्‍वर, यहोवालाई एक जना मित्रको रूपमा चिन्‍नुपर्ने कुरा सिकाए। म राज्यभवनमा उपस्थित हुँदा यहोवाले देख्नुहुन्छ अनि म जस्ती एउटी बहिरीको पीडा र दुःख उहाँले बुझ्नुहुन्छ भनी उनीहरूले मलाई सिकाए। हामी तीन जनाको मित्रता कायम हुनुमा यहोवाप्रतिको हाम्रो साझा प्रेम नै प्रमुख कारण बनेकोमा म औधी कृतज्ञ छु! म यहोवाको मायालु रेखदेखबाट उत्प्रेरित भएँ अनि उहाँप्रतिको प्रेमले गर्दा मैले जुलाई १९७५ मा पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ।

एक जना विशेष साथीसित

त्यसपछिका वर्षहरूमा धेरै मसीही भाइबहिनीहरूसित मेरो परिचय हुन थाल्यो। एक जना भाइ मेरो विशेष साथी हुन पुग्यो र हामीले सन्‌ १९८० मा विवाह गऱ्‍यौं। विवाह भएको केही समयपछि मैले अग्रगामीको हैसियतमा सेवा गर्न थालें र सन्‌ १९९४ मा मेरो पति ह्‍यारी र मलाई डच सांकेतिक भाषाको क्षेत्रमा विशेष अग्रगामीको रूपमा खटाइयो। त्यसको एक वर्षपछि मैले एउटा चुनौतीपूर्ण जिम्मेवारीको सामना गरें: मेरो सुन्‍न सक्ने पतिले कार्यकारी परिभ्रमण निरीक्षकको हैसियतमा विभिन्‍न मण्डलीहरूको भ्रमण गर्दा म पनि उहाँसँगसँगै जानुपर्ने भयो।

मैले यस चुनौतीलाई यसरी सामना गरें। पहिलो पटक कुनै मण्डलीको भ्रमण गर्दा म आफै अघि सरेर सकेसम्म धेरै भाइबहिनीहरूलाई भेटेर आफ्नो परिचय दिन्छु। म उनीहरूलाई आफू बहिरी भएको कुरा बताउँछु र मलाई हेरेर बिस्तारै बोल्न आग्रह गर्छु। म मण्डलीका सभाहरूको दौडान तुरुन्तै टिप्पणीहरू दिने कोसिस पनि गर्छु। अनि त्यस हप्ताको सभा र क्षेत्र सेवाको लागि कसैलाई मेरोलागि दोभाषे भइदिन आग्रह पनि गर्छु।

यो तरिका प्रभावकारी भयो तर कहिलेकाहीं भाइबहिनीहरूले म बहिरी छु भनेर बिर्सन्थे, जसले गर्दा धेरै हाँसउठ्‌दा परिस्थितिहरू आइपर्थे। उदाहरणका लागि, कहिलेकाहीं म शहरमा हिंडिरहेको देख्दा मलाई अभिवादन गर्न तिनीहरूले आफ्नो गाडीको हर्न बजाएको कुरा बताउँछन्‌ तर निश्‍चय पनि उनीहरूले मबाट कुनै प्रतिक्रिया पाउँदैनथे। कहिलेकाहीं त म आफ्ना सीमितताहरू पनि बिर्सन्छु; जस्तै: मेरो पतिलाई कुनै गोप्य कुरा कानेखुसी गर्ने कोसिस गर्दाको समय। उहाँको मुख रातोपिरो भएको देखेपछि मात्र म आफ्नो “कानेखुसीको” आवाज चर्को भएको चाल पाउँछु।

बच्चाहरूले समेत मैले सोच्दै नसोचेको ढंगमा मदत गर्छन्‌। हामीले पहिलो पटक भ्रमण गरेको एउटा मण्डलीमा एक जना नौ वर्षीय केटोले राज्यभवनका केही व्यक्‍तिहरू मसित बोल्न अलि हिचकिचाएको देखे र त्यसपछि तिनले केही गर्ने निर्णय गरे। तिनी मेरो नजिक आए, मेरो हात समाएर मलाई राज्यभवनको बीचमा लगे अनि आफूले सकेजति ठूलो स्वरमा सबैलाई बोलाएर यसो भने: “आज म तपाईंहरूलाई इरेनसित परिचय गराउँदैछु। उहाँ बहिरी हुनुहुन्छ!” त्यसपछि उपस्थित सबै जना मकहाँ आएर आ-आफ्नो परिचय दिए।

मेरो श्रीमान्‌को क्षेत्रीय कार्यमा उहाँसँगसँगै जाँदा मेरा साथीहरू दिन प्रतिदिन बढ्‌दै गइरहेका छन्‌। आफूलाई अलग्याइएको अनि एक्लो महसुस गरेका ती वर्षहरू र मैले आज बिताइरहेको जीवनबीच आकाश जमिनको फरक छ! कलेट र हेरमिनले मेरो हातमा सानो टिपोट थमाइदिएको त्यो साँझदेखि मैले मित्रताको शक्‍ति अनुभव गरेकी छु र यस्ता मानिसहरू भेटेकी छु जो मेरोलागि विशेष भयो। मुख्य कुरा त, मैले सबैभन्दा मूल्यवान्‌ मित्र यहोवालाई चिन्‍न पाएकी छु। (रोमी ८:३८, ३९) मेरो जीवनै परिवर्तन गर्ने त्यो सानो टिपोट कत्तिको शक्‍तिशाली रहेछ त!

[पृष्ठ २४-मा भएको चित्र]

मेरो प्यारो खेलौनाले निकाल्ने त्यो आवाज मैले अझै बिर्सेकी छैन

[पृष्ठ २५-मा भएका चित्रहरू]

सेवकाईमा र मेरो पति ह्‍यारीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने