गरिब झन्झनै गरिब हुन्छ
“कुनै पनि समाजमा अधिकांश व्यक्तिहरू गरिब र दयनीय अवस्थामा छन् भने त्यो समाज साँच्चै फस्टाउन र खुसी हुन सक्दैन।”
अर्थशास्त्री आडम स्मिथले यो कुरा १८ औं शताब्दीमा भनेका थिए। तिनको भनाइमा सत्यता छ भनी आज झन् धेरै मानिसहरू विश्वस्त छन्। हुने र नहुनेहरूबीचको भिन्नता एकदमै प्रस्ट भएको छ। फिलिपिन्समा कुल जनसंख्याको एक तिहाइले प्रतिदिन एक अमेरिकी डलरभन्दा (रु. ७७.८६) कम कमाउँछन् जुन पैसा अक्सर धनी राष्ट्रका मानिसहरूले मिनेटभरमै कमाउँछन्। संयुक्त राष्ट्रसंघको ह्युमन डिभेलपमेन्ट रिपोर्ट २००२-अनुसार “संसारका सबैभन्दा धनी ५% ले सबैभन्दा गरिब ५% ले भन्दा ११४ गुणा बढी पैसा कमाउँछ।”
केही मानिसहरूको अवस्था केही हदसम्म सुविधादायी भए तापनि लाखौं मानिसहरू सुकुमबासीको जीवन बिताइरहेका छन्, तिनीहरू जहाँ मिल्छ त्यहीं आफ्नो छाप्रो बसाउँछन्। अरू कतिपयले त्यति पनि गर्न सक्दैनन्; तिनीहरू सडकमा गुजारा चलाउँछन् र सायद तिनीहरूले जमिनमा एक पत्र कार्डबोर्ड वा प्लास्टिक मात्र बिछ्याएका हुन्छन्। तिनीहरूमध्ये थुप्रैले जसोतसो आफ्नो जीविका चलाउँछन्—फोहोरको डुंगुर खोतल्दै, गह्रौं भारी बोक्दै वा पुनः प्रयोग गर्न सकिने सामानहरू गाडामा जम्मा गर्दै।
धनी र गरिबबीचको असमानता विकासोन्मुख राष्ट्रहरूमा मात्र पाइने होइन तर विश्वबैंकले भनेझैं, “ ‘गरिबहरूको इलाका’ सबै देशमा हुन्छ।” बंगलादेशदेखि संयुक्त राज्य अमेरिकासम्म कोही-कोही मानिसहरू अत्यन्तै सम्पन्न भए तापनि एक छाक टार्न र टाउको बिसाउने ठाउँको लागि मात्र निकै संघर्ष गर्नुपर्ने मानिसहरू पनि छन्। सन् २००१ को सं.रा.अ.-को तथ्यांक विभागको रिपोर्टलाई उद्धरण गर्दै द न्यु योर्क टाइम्स-ले संयुक्त राज्य अमेरिकामा धनी र गरिबबीचको भिन्नता बढ्दै गइरहेको संकेत गऱ्यो। यसो भनिएको थियो: “संसारको कुल जनसंख्याको सवृंद्ध पाँच भागको एक भागले गत वर्षको कुल आय आर्जनको पचास प्रतिशत प्राप्त गऱ्यो। . . . सबैभन्दा गरिब पाँच भागको एक भागले ३.५ प्रतिशत प्राप्त गऱ्यो।” अन्य थुप्रै देशमा अवस्था यस्तै वा योभन्दा अझ खत्तम छ। विश्वबैंकको रिपार्टले देखाएअनुसार विश्व-जनसंख्याको झन्डै ५७ प्रतिशतले प्रतिदिन दुई अमेरिकी डलरभन्दा कम रकममा गुजारा चलाउँछन्।
अवस्था अझै जटिल बनाउन, सन् २००२ मा शंकास्पद ढंगमा धनी भएका कार्यकारीहरूबारे बताइएका रिपोर्टहरूको कारण लाखौंले अशान्ति महसुस गरे। तिनीहरूको काम सरासर गैरकानुनी जस्तो नदेखिए तापनि यी कम्पनीका अधिकारीहरूले “अत्यन्तै, असाधारण ढंगमा अकूत सम्पत्ति आर्जन गरेको” थुप्रैले महसुस गरेको फोरच्युन पत्रिकामा उल्लेख गरिएको थियो। संसारभरि नै भइरहेका यस्ता घटनाहरूलाई विचार गर्दा, कसैले चाहिं लाखौं अमेरिकी डलरमा हिसाब गर्न सकिने अकूत सम्पत्ति आर्जन गर्न सक्नु भने अरू थुप्रै चाहिं गरिबीको दलदलमा बाँचिरहेको कुरा कसरी न्यायोचित हुन सक्छ भनी कोही-कोहीले विचार गर्छन्।
गरिबी सधैं रहिरहनेछ?
यसको मतलब गरिबहरूको दयनीय अवस्था हटाउन कसैले केही प्रयास गरिरहेको छैन भन्ने होइन। असल मनसाय भएका सरकारी अधिकारी तथा सहयोग गर्न स्थापना भएका संगठनहरूले पक्कै पनि परिवर्तनको लागि प्रस्तावनाहरू अघि सारेका छन्। यद्यपि, तथ्यहरू निराशाजनक छन्। उन्नति गर्न थुप्रै राम्रा प्रयासहरूको बावजुद “थुप्रै देशहरू आजभन्दा १०, २० र कुनै-कुनै त ३० वर्षअघिको अवस्थाभन्दा अझ गरिब भएका छन्” भनी ह्युमन डिभेलपमेन्ट रिपोर्ट २००२-ले बताउँछ।
के यसको अर्थ गरिबहरूको लागि कुनै आशा छैन? हामी तपाईंहरूलाई यसपछिको लेखमा अहिले मदत गर्ने केही व्यावहारिक बुद्धिका साथसाथै तपाईंले विचारै नगर्नुभएका समाधानबारे यसपछिको लेख पढ्न आमन्त्रित गर्छौं।