प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ७/१५ पृ. २७-३१
  • “प्रत्येक चतुर मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रत्येक चतुर मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तीव्र बुद्धिले निगाह पाउँछ
  • “विश्‍वासी दूतले मिलाप ल्याउँछ”
  • “शिक्षा मनमा राख्नेको मान हुन्छ”
  • ‘बुद्धिमानीहरूसँगको सङ्‌गत’
  • ‘पैतृक-सम्पत्ति छोड’
  • ‘बाल्यवस्थादेखिनै अनुशासनमा राख’
  • “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बुद्धि प्राप्त गर्नुहोस्‌ र अनुशासन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ‘सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “बुद्धिमान मानिसको अर्ती” जीवनको मूल हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ७/१५ पृ. २७-३१

“प्रत्येक चतुर मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ”

परमेश्‍वरको वचन बाइबलमा पाइने डोऱ्‍याइ “सुनभन्दा औ ज्यादै निखुर सुनभन्दा पनि मनपर्ने [हुन्छ]।” (भजन १९:७-१०) किन? किनभने “बुद्धिमान . . . [यहोवाको] अर्ती मृत्युको पासोबाट उम्कनेलाई जीवनको मूल हो।” (हितोपदेश १३:१४) धर्मशास्त्रको सल्लाह व्यवहारमा उतार्दा हाम्रो जीवनको गुणस्तरमा उन्‍नति हुने मात्र होइन तर जीवनलाई खतरामा पार्ने पासोहरूदेखि उम्कन पनि मदत गर्छ। धर्मशास्त्रको ज्ञान खोज्नु र आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नु कत्ति महत्त्वपूर्ण छ!

हितोपदेश १३:१५-२५ मा लिपिबद्ध गरिएअनुसार पुरातन इस्राएलका राजा सुलेमानको सल्लाहले हामीलाई ज्ञानअनुसार चल्न मदत गर्छ जसद्वारा हामी उत्तम र लामो जीवनको आनन्द उठाउन सक्छौं।a सटीक हितोपदेशहरू चलाउँदै परमेश्‍वरको वचनले हामीलाई कसरी अरूले मन पराउने मानिस बन्‍न, सेवकाईमा विश्‍वासी रहन, अनुशासनप्रति सही मनोवृत्ति राख्न र बुद्धिमानीपूर्वक सँगीहरू छान्‍न मदत गर्छ भनी तिनी देखाउँछन्‌। आफ्ना सन्तानहरूका लागि पैतृक-सम्पत्ति छोड्‌नु र तिनीहरूलाई प्रेमपूर्वक अनुशासन दिनुको बुद्धिबारे पनि तिनी छलफल गर्छन्‌।

तीव्र बुद्धिले निगाह पाउँछ

सुलेमान भन्छन्‌, “तीव्र बुद्धिले निगाह प्राप्त गर्छ, तर विश्‍वासघातले नाश ल्याउँछ।” (हितोपदेश १३:१५) मौलिक भाषामा “तीव्र बुद्धि” वा असल अन्तरदृष्टि भन्‍ने अभिव्यक्‍तिले “असल समझ, सही निर्णय गर्न सक्ने र बुद्धिमानी विचारहरू राख्न सक्ने क्षमतालाई बुझाउँछ” भनी एउटा सन्दर्भ-पुस्तक उल्लेख गर्छ। यस्ता गुणहरू भएको मानिसलाई अरूको निगाह प्राप्त गर्न पटक्कै गाह्रो हुँदैन।

फिलेमोनबाट भागेका तिनका कमारा ओनसिमसलाई फर्काउँदा प्रेरित पावलले सँगी मसीही फिलेमोनसँग विवेकपूर्ण ढङ्‌गमा गरेको व्यवहारलाई विचार गर्नुहोस्‌। यसरी भागेका ओनसिमस पछि मसीही भइसकेका थिए। प्रेरित पावललाई जसरी स्वागत गर्नेछन्‌, त्यसरी नै दयालु ढङ्‌गमा ओनसिमसको स्वागत गर्न पावलले फिलेमोनलाई आग्रह गरे। ओनसिमसले फिलेमोनलाई कुनै ऋण तिर्नुपर्ने भए पावलले नै तिरिदिने प्रस्ताव समेत राखे। हो, पावलले आफ्नो अख्तियार चलाएर फिलेमोनलाई उचित व्यवहार गर्ने आज्ञा दिन सक्थे। तर उनले परिस्थितिलाई समझदार र मायालु ढङ्‌गमा सँभाल्ने निर्णय गरे। यसो गर्दा फिलेमोनको सहयोग पाउनुका साथै तिनलाई जे गर्न अह्राइएको थियो, त्योभन्दा बढी गर्न उत्प्रेरित हुनेछन्‌ भन्‍ने कुरामा पावल विश्‍वस्त थिए। के हामीले पनि आफ्ना सँगी विश्‍वासीहरूसित यस्तै व्यवहार गर्नुपर्दैन र?—फिलेमोन ८-२१.

अर्कोतर्फ विश्‍वासघातको मार्ग रूखो वा “कठिन” हुन्छ। (न्यु इन्टरनेसनल भर्सन) कुन अर्थमा? एक जना शास्त्रविद्‌अनुसार यहाँ चलाइएको शब्दको अर्थ “बलियो वा दृढ हो र यसले दुष्ट व्यक्‍तिको निर्मम चाललाई सङ्‌केत गर्छ। . . . कोही मानिस दुष्ट मार्गमै चल्न कटिबद्ध छ र अरूको बुद्धिमानी सल्लाहप्रति कानमा बुजो हाल्छ र भावशून्य छ भने त्यो विनाशतर्फ लम्किरहेको हुन्छ।”

सुलेमान अझ भन्छन्‌: “प्रत्येक चतुर मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ।” (हितोपदेश १३:१६, NW) यहाँ उल्लेख गरिएको चतुर मानिस धूर्त होइन। यहाँ उल्लिखित चतुऱ्‍याइँ, ज्ञान र बुद्धिमान्‌ व्यक्‍तिसित सम्बन्धित छ जसले काम गर्नुअघि सोच्छ। कुनै अनुचित आलोचना वा अपमान सहनुपर्दा समेत चतुर मानिस चुप लाग्छ। आफू बढ्‌तै क्रुद्ध नहुन उसले आत्माको फल देखाउन परमेश्‍वरसँग प्रार्थनामा मदत माग्छ। (गलाती ५:२२, २३) बुद्धिमान्‌ व्यक्‍ति अर्को मान्छे वा परिस्थितिको वशमा पर्दैन। बरु, संयममा रहन्छ र अपमानित हुँदा अक्सर रिसले पड्‌किने मानिसजस्तो हुनदेखि जोगिन्छ।

चतुर व्यक्‍तिले निर्णय गर्दा पनि ज्ञानद्वारा काम गर्छ। बुद्धिमानी कार्य अनुमानको भरमा, भावनामा बहेर वा अरूको लहैलहैमा लागेर गर्ने काम होइन भनेर पनि उसलाई थाह हुन्छ। त्यसकारण, उसले आफू सामु भएको परिस्थितिलाई समय लिएर केलाउँछ। उसले सबै तथ्यहरू जम्मा गर्छ र के-कस्ता विकल्पहरू छन्‌ भनेर राम्ररी हेर्छ। त्यसपछि उसले धर्मशास्त्र जाँच्छ र कुन बाइबल नियम वा सिद्धान्त लागू हुन्छ भनी निर्णय गर्छ। त्यस्तो व्यक्‍तिको मार्ग सुगम तुल्याइनेछ।—हितोपदेश ३:५, ६.

“विश्‍वासी दूतले मिलाप ल्याउँछ”

यहोवाका साक्षीहरूको हैसियतमा हामीलाई ईश्‍वर-प्रदत्त सन्देश उद्‌घोषणा गर्ने जिम्मेवारी सुम्पिएको छ। अर्को हितोपदेशका शब्दहरूले हामीलाई यसमा विश्‍वासी भई लागिरहन मदत गर्छन्‌ जहाँ यसो भनिएको छ: “समाचार ल्याउने दुष्ट दूतले फूट ल्याउँछ, तर विश्‍वासी दूतले मिलाप ल्याउँछ।”—हितोपदेश १३:१७.

यहाँ समाचार ल्याउने दूतको गुणमा जोड दिइएको छ। समाचार ल्याउने दूतले दुष्ट्याइँपूर्वक समाचारलाई बङ्‌ग्याउँछ वा हेरफेर गर्छ भने के हुन्छ? के त्यसले प्रतिकूल न्याय पाउँदैन र? अगमवक्‍ता एलीशाका चाकर गेहजीलाई विचार गर्नुहोस्‌ जसले लोभको कारण अश्‍शूरी सेनापति नामानकहाँ गलत समाचार पुऱ्‍यायो। नामानलाई निको भएको कोर रोग गेहजीलाई लाग्यो। (२ राजा ५:२०-२७) समाचार ल्याउने दूत अविश्‍वासी भएर समाचार पटक्कै सुनाउँदैन भने नि? बाइबल यसो भन्छ, “यदि तैंले त्यसलाई आफ्नो चाल त्यागोस्‌ भनेर चेताउनी दिएनस्‌ भने दोष चाहिं त्यसकै हो, र आफ्नो दुष्ट्याइँको कारण त्यो मर्नेछ, तर म [यहोवा] तँलाई त्यसको मृत्युको जवाफदेही तुल्याउनेछु।”—इजकिएल ३३:८.

अर्कोतर्फ, विश्‍वासी दूतले आफ्नो लागि र तिनको कुरा सुन्‍ने अरूको लागि पनि मिलाप ल्याउँछ। पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) राज्यको सुसमाचारको विश्‍वासी उद्‌घोषणाले ल्याउने मिलापलाई विचार गर्नुहोस्‌। यसले हृदयको अवस्था राम्रो भएका मानिसहरूलाई जागृत गर्छ र स्वतन्त्र तुल्याउने सत्यतर्फ तिनीहरूलाई डोऱ्‍याउँछ। (यूहन्‍ना ८:३२) मानिसहरूले सन्देश नसुने तापनि वफादार दूतले ‘आफूलाई चाहिं बचाउनेछ।’ (इजकिएल ३३:९) हामीलाई दिइएको प्रचार गर्ने आज्ञालाई कहिल्यै बेवास्ता नगरौं। (१ कोरिन्थी ९:१६) अनि ‘वचन प्रचार गर्दा’ अरूलाई अपमानजनक होला भनेर वा मानिसहरूलाई आकर्षक बनाउनको लागि बाइबल सन्देश फितलो बनाउन वा त्यसमा थपथाप गर्नदेखि सधैं होसियार होऔं।—२ तिमोथी ४:२.

“शिक्षा मनमा राख्नेको मान हुन्छ”

कसैबाट उपयोगी सल्लाह पाउँदा के बुद्धिमान्‌ मानिस रिसाउँछ? हितोपदेश १३:१८ मा यसो भनिएको छ: “अर्ती नमान्‍नेले दरिद्रता र अपमान ल्याउँछ, तर शिक्षा मनमा राख्नेको मान हुन्छ।” आफूले नसोचेको बेलामा समेत ताडना पाउँदा त्यसलाई स्वीकार्नु बुद्धिमानी हुनेछ। जायज सल्लाहहरू आफूलाई खाँचो नभएजस्तो लाग्दा पनि सबैभन्दा मदतकारी साबित हुन सक्छ। त्यस्ता सल्लाहहरू सुन्दा हामीलाई वेदना र विपत्तिबाट जोगाउन सक्छ। त्यसलाई बेवास्ता गर्दा अनादर हुन्छ।

ठीक बेलामा प्रशंसा पाउँदा हाम्रो मन चङ्‌गा हुन्छ र यो निश्‍चय पनि प्रोत्साहनजनक हुन्छ। तर हामीले ताडना पाउने आशा गर्नुका साथै स्वीकार्नु पनि पर्छ। उदाहरणका लागि, प्रेरित पावलले तिमोथीलाई लेखेका दुइटा पत्रलाई लिनुहोस्‌। तिनको विश्‍वासीपनको प्रशंसा गरिए तापनि ती पत्रहरू तिमोथीको लागि सल्लाहले भरिएका छन्‌। पावलले जवान तिमोथीलाई विश्‍वास पक्रिराख्ने र असल अन्तस्करण कायम राख्ने, मण्डलीका अरूसित व्यवहार गर्ने, ईश्‍वरीय भय खेती गर्ने, आत्मसन्तुष्ट हुने, अरूलाई सिकाउने, धर्मत्यागको प्रतिरोध गर्ने र आफ्नो सेवकाई पूरा गर्ने सन्दर्भमा उदारचित्तका साथ सल्लाह दिन्छन्‌। मण्डलीका जवान सदस्यहरूले आफूभन्दा पाको व्यक्‍तिहरूको सल्लाह खोज्नु र स्वीकार्नु बुद्धिमानी हुन्छ।

‘बुद्धिमानीहरूसँगको सङ्‌गत’

“इच्छा पूर्त्ति भएकोले चैन ल्याउँछ, मूर्खले आफ्नो चाल सुधार्ने मन गर्दैन” भनी बुद्धिमान्‌ राजा बताउँछन्‌। (हितोपदेश १३:१९) यस हितोपदेशको अर्थबारे एउटा सन्दर्भ-पुस्तक यस्तो टिप्पणी गर्छ: “कुनै एउटा लक्ष्य वा इच्छा पूरा हुँदा सिङ्‌गो मान्छेले पूरै सन्तुष्टि महसुस गर्छ . . . आफ्नो लक्ष्य हासिल गर्नु भनेको एकदमै आनन्ददायी अनुभव हुने भएकोले खराबीबाट टाढा रहनु भनेको मूर्खको लागि घृणित कुरा हुन सक्छ। तिनीहरूको लक्ष्य दुष्ट तरिकामा मात्र हासिल गर्न सकिन्छ र तिनीहरूले खराबीलाई त्याग्ने हो भने तिनीहरू आफ्नो इच्छा पूरा गर्नबाट वञ्चित हुनेछन्‌।” हामीले उचित इच्छाहरू विकास गर्नु कत्ति महत्त्वपूर्ण छ!

हाम्रो सोचाइ, हामीलाई मन पर्ने र मन नपर्ने कुराहरूको सन्दर्भमा हाम्रा सँगीहरूले अत्यन्तै सशक्‍त प्रभाव पार्न सक्छन्‌! सुलेमानले एउटा अपरिवर्तनशील सत्य उल्लेख गर्छन्‌: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) हो, हाम्रो संगति चाहे त्यो मनोरञ्जन, इन्टरनेट र हामीले पढ्‌ने कुराहरू नै किन नहोस्‌, यसले हामी कस्ता छौं र कस्ता हुनेछौं, त्यसमा असर गर्छ। हाम्रो संगति बुद्धिमानीपूर्वक छान्‍नु कत्ति महत्त्वपूर्ण छ!

‘पैतृक-सम्पत्ति छोड’

“पापीहरूलाई दुर्भाग्यले पछ्याउँछ, तर सौभाग्यले धर्मीहरूलाई प्रतिफल दिन्छ” भनी इस्राएलका राजा घोषणा गर्छन्‌। (हितोपदेश १३:२१) धार्मिकताको पछि लाग्दा प्रतिफल पाइन्छ किनभने यहोवाले धर्मीहरूको ख्याल राख्नुहुन्छ। (भजन ३७:२५) तथापि, “समय र अवसरले” हामी सबैलाई अधीनमा पार्न सक्छ भनेर हामीले स्वीकार्नै पर्छ। (उपदेशक ९:११) अप्रत्याशित घटनाहरूको तयारीको लागि के हामी केही गर्न सक्छौं?

“असल मानिसले आफ्ना सन्तानहरूका निम्ति पैतृक-सम्पत्ति छोड़िराख्छ,” भनी सुलेमान उल्लेख गर्छन्‌। (हितोपदेश १३:२२क) आफ्ना छोराछोरीलाई यहोवाको ज्ञान लिन र उहाँसँग असल सम्बन्ध विकास गर्न मदत गर्नुजस्तो अमूल्य पैतृक-सम्पत्ति आमाबाबुले अरू के दिन सक्छन्‌ र! तर आमा वा बुबाको आकस्मिक मृत्यु भएको खण्डमा, सम्भव भए परिवारको भौतिक सुरक्षाको लागि प्रबन्धहरू गर्नु पनि के बुद्धिमानी हुने छैन र? थुप्रै ठाउँहरूमा परिवारका शिरहरूले बिमाको व्यवस्था, कानुनी रूपमा इच्छा पत्र र केही बचत रकम छुट्याउन सक्छन्‌।

दुष्टको पैतृक-सम्पत्तिबारे के भन्‍न सकिन्छ? “पापीले थुपारेको धन धर्मीहरूको हातमा पर्छ” भनी सुलेमान अझै बताउँछन्‌। (हितोपदेश १३:२२) अहिले हुने कुनै फाइदाको अलावा “धार्मिकताले बास” गर्ने “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” प्रतिज्ञा यहोवाले पूरा गर्नुहुँदा यो साँचो साबित हुनेछ। (२ पत्रुस ३:१३) त्यतिबेलासम्म दुष्टहरूको नाश भइसकेको हुनेछ र “नम्रहरूले देश अधिकार गर्नेछन्‌।”—भजन ३७:११.

आफूसित थोरै मात्र सरसम्पत्ति हुँदा पनि बुद्धिमान्‌ व्यक्‍ति ज्ञानअनुसार चल्छ। “गरीब मानिसको खेतबारीले प्रशस्तै अन्‍न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ” भनी हितोपदेश १३:२३ मा (नयाँ संशोधित संस्करण) बताइएको छ। थोरै भए तापनि मेहनत र परमेश्‍वरको आशिष्‌बाट थुप्रै प्राप्त गर्न सकिन्छ। तथापि, न्याय नभई अन्याय भएमा सबै सम्पत्ति सखाप हुन सक्छ।

‘बाल्यवस्थादेखिनै अनुशासनमा राख’

असिद्ध मानिसहरूलाई अनुशासन चाहिन्छ र त्यो बाल्यकालदेखि नै आवश्‍यक हुन्छ। “छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिने अनुशासनमा राख्छ” भनी इस्राएलका राजा बताउँछन्‌।—हितोपदेश १३:२४.

छडी अख्तियारको प्रतीक हो। हितोपदेश १३:२४ मा यसले आमाबाबुको अख्तियारलाई सङ्‌केत गर्छ। यहाँ, अनुशासनको छडी चलाउनु भन्‍नाले बच्चालाई सधैं थप्पड दिनु भन्‍ने अर्थ लाग्दैन। बरु, यसले जुनै तरिकामा भए पनि सुधार गर्ने तरिकालाई बुझाउँछ। कुनै बच्चालाई तिनको अनुचित व्यवहार सुधार्न मायालु हप्काइ मात्र पर्याप्त हुन सक्छ। अर्को बच्चालाई भने कडा ताडना दिनुपर्ने हुन सक्छ। “मूर्ख मानिसले सय मुक्का खाएकोभन्दा समझ-शक्‍ति हुने मानिसलाई अर्तीको असर हुन्छ” भनी हितोपदेश १७:१० बताउँछ।

आमाबाबुले दिने अनुशासन छोराछोरीको फाइदाको लागि सधैं प्रेम र बुद्धिले निर्देशित हुनुपर्छ। मायालु आमाबाबुले आफ्नो बच्चाको गल्तीलाई बेवास्ता गर्दैनन्‌। त्यसको विपरीत तिनमा कुनै खराब बानी छ कि भनेर ध्यान दिन्छन्‌ जसको फलस्वरूप त्यसले गहिरो जरा गाड्‌नुअघि नै हटाउन सकिन्छ। निस्सन्देह, मायालु आमाबाबुले पावलको यो सल्लाह पालन गर्छन्‌: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.

यदि आमाबाबुले बच्चालाई जे मन पर्छ त्यही गर्न दिन्छन्‌ र सच्याउँदैनन्‌ भने नि? के बच्चालाई जे मन पर्छ त्यही गर्न दिने आमाबाबु पछि गएर धन्यवादको पात्र हुनेछन्‌? अवश्‍य हुनेछैनन्‌! (हितोपदेश २९:२१) बाइबल यस्तो उल्लेख गर्छ: “छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) आमाबाबुले आफ्नो अख्तियार चलाउनबाट पछि हट्‌दा यसले भावशून्यता वा प्रेमको कमी देखाउँछ। तथापि, मायालु र दृढतासाथ अख्तियार चलाउँदा मायालु चासो झल्किन्छ।

साँचो ज्ञानमा चल्ने बुद्धिमानी र धर्मी व्यक्‍तिले आशिष्‌ पाउनेछ। सुलेमान हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “धर्मी मानिसले पेटभरि खान्छ, तर दुष्ट मानिसले भोक-भोकै हिंड़नुपर्छ।” (हितोपदेश १३:२५) हाम्रो पारिवारिक सम्बन्ध, अरूसितको सम्बन्ध, हाम्रो सेवकाई वा हामीलाई अनुशासन दिइँदा अथवा भन्‍ने हो भने, हाम्रो जीवनको जुनसुकै क्षेत्रमा पनि हामीलाई के असल हुन्छ भनी यहोवालाई थाह छ। अनि उहाँको वचनमा पाइने सल्लाह बुद्धिमानीपूर्वक लागू गर्दा हामीले निश्‍चय पनि उत्तम जीवनको मार्गको आनन्द उठाउनेछौं।

[फुटनोट]

a हितोपदेश १३:१-१४ को छलफलका लागि सेप्टेम्बर १५, २००३ अंकको प्रहरीधरहरा-को पृष्ठ २१-५ हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्र]

अन्यायपूर्ण आलोचना गरिंदा चतुर व्यक्‍तिले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्छ

[पृष्ठ २९-मा भएको चित्र]

विश्‍वासी राज्य उद्‌घोषकले धेरै भलाई गर्छन्‌

[पृष्ठ ३०-मा भएको चित्र]

प्रशंसा प्रोत्साहनदायी भए तापनि हामीले सुधार पनि स्वीकार्नुपर्छ

[पृष्ठ ३१-मा भएको चित्र]

मायालु आमाबाबुले आफ्नो बच्चाको गल्तीलाई बेवास्ता गर्दैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने