तपाईं “तमाशा” बन्नुभएको छ!
१ प्रेरित पावलले यस्तो लेखे: “हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका छौं।” (१ कोरि. ४:९) यसको अर्थ के हो र यसले आज हाम्रो सेवकाईलाई कसरी असर गर्नुपर्ने हो?
२ “तमाशा” भन्ने अभिव्यक्तिले कोरिन्थवासीहरूलाई रोमीहरूद्वारा गरिने रक्तपातपूर्ण प्रतिस्पर्धाको समापन दिनको सम्झना दिलाएको हुनसक्छ। त्यस प्रतिस्पर्धामा सजाय पाउने व्यक्तिहरूलाई निर्ममतासाथ मार्नुअघि हजारौं रक्तपिपासु दर्शकहरू सामु तमाशा बनाएर खडा गरिन्थ्यो। त्यसै गरी, मानिस अनि स्वर्गदूतहरूसहितको एक बृहत् दर्शकहरूले राज्य साक्षी सुनाएकै भरमा सताइएका प्रथम शताब्दीका मसीहीहरूको पीडालाई हेरिरहेका थिए। (हिब्रू १०:३२, ३३) तिनीहरूले कायम गरेको निष्ठाको मार्गले त्यतिबेला धेरै मानिसहरू प्रभावित भएजस्तै आधुनिक समयमा हाम्रो धैर्य देखेर मानिसहरू प्रभावित भइरहेका छन्। आज हामी कसका सामु तमाशा भएका छौं?
३ संसार अनि मानिसहरूसामु: कहिलेकाहीं सञ्चार माध्यमहरूले यहोवाका जनका कामहरूबारे रिपोर्टहरू प्रकाशित गर्छन्। हाम्रो कार्यबारे गरिएका तथ्य र निष्पक्ष रिपोर्टहरूको लागि हामी आभार व्यक्त गर्छौं। तथापि, समयसमयमा हाम्रो बदनाम गर्न चाहनेहरूले तथ्यहीन रिपोर्टहरू पनि फैलाउनेछन् भनी हामी आशा गर्छौं। यद्यपि, “बदनाम र सुनाम[को]” बाबजूद हामीले सधैं आफूलाई परमेश्वरको सेवक हौं भनेर देखाउनैपर्छ। (२ कोरि. ६:४, ८) यसप्रकार, इमानदार हृदय हुनेहरूको नजरमा हामी येशूका साँचो चेलाहरू हौं भन्ने कुरा प्रस्ट हुन्छ।
४ स्वर्गदूतहरूसामु: आत्मिक प्राणीहरूले पनि हामीलाई नियालिरहेका छन्। दियाबल र त्यसका प्रेतहरूले “ठूलो क्रोधसँग” हामीलाई ध्यान दिएर नियालिरहेका छन् अनि हामीलाई ‘येशूको साक्षी दिन[बाट]’ रोक्न खोजिरहेका छन्। (प्रका. १२:९, १२, १७) परमेश्वरका विश्वासी स्वर्गदूतहरूले पनि ध्यान दिएर नियालिरहेका छन् र एक जना पापीले पश्चात्ताप गर्दा मात्र पनि उनीहरू आनन्दित हुन्छन्। (लूका १५:१०) स्वर्गदूतहरूले हाम्रो सेवकाईलाई अत्यन्त जरुरी सम्झन्छन् भन्ने कुराको ज्ञानले हामीलाई बलियो बनाउनु पर्ने हो। आज सारा पृथ्वीभरि यो लाभकारी कार्य भइरहेको छ!—प्रका. १४:६, ७.
५ कुनै विरोधको सामना गर्नु पर्दा वा सेवकाई त्यति फलदायी नभएको महसुस गर्नु हुँदा, तपाईं सारा जगत्को आकर्षणको केन्द्र हुनुहुन्छ भन्ने कुरालाई सम्झनुहोस्। तपाईंले विश्वासी भई धैर्य धारण गर्नु भएमा यसले तपाईंको निष्ठाको प्रमाण दिन्छ। अन्ततः तपाईंले लड्नुभएको ‘उत्तम लडन्तले . . . अनन्त जीवन पक्री राख्न’ तपाईंलाई योग्यको बनाउनेछ।—१ तिमो. ६:१२.