प्रिय राज्य प्रकाशकहरू:
“परमेश्वरले चाहिं बढ़ाउनुभयो।” (१ कोरि. ३:६) भारतमा ईश्वरतान्त्रिक वृद्धि भएको हेर्न पाउनु कत्ति रोमाञ्चकारी कुरा भएको छ! सन् २००३ सेवा वर्षको दौडान, बाइबल अध्ययनहरूको सन्दर्भमा हामीले एउटा नयाँ शिखर कायम गरेका छौं, जसमध्ये १७,००० भन्दा बढी बाइबल अध्ययनहरू सञ्चालन गरिंदैछन्। यो निकै सराहनीय कुरा हो। स्मरणार्थ उपस्थितिमा पनि ५६,८५६ को नयाँ शिखर पुग्यो। यो गत वर्षको उपस्थितिभन्दा २,२२६ वृद्धि हो र यो भारतमा जम्मा प्रकाशकहरूको संख्याभन्दा झन्डै ३३ हजार बढी हो। यसले भविष्यमा हुने वृद्धिको अत्यन्त राम्रो सम्भावनालाई संकेत गर्छ।
पच्चीसवटा भन्दा बढी देशहरूमा वितरण हुने भारतीय भाषाका पत्रिकाहरू हाम्रो शाखाले मात्र छापिरहेको छ। यसले गर्दा पत्रिका उत्पादनमा ६५% वृद्धि भएको छ। छापाखानामा काम गर्नेहरूको संख्या घटाइए तापनि यो अतिरिक्त कार्य पूरा गरिंदैछ। यो ठूलो मागलाई पूरा गर्न एउटा थप चार रंगको संयोजन भएको रंगिन प्रेस जडान गरियो। यी प्रेसहरूले एक मिनेटमा ६० वटा पत्रिका उत्पादन गर्छन्। विश्वव्यापी रूपमा वितरण गर्नको लागि पत्रिका तथा अन्य साहित्यहरूको गुणस्तर सुधार्न उच्च कोटिको कागज प्रयोग गरिंदैछ।
सन् २००४ सेवा वर्षको सुरुवातसँगसँगै, हामी डिसेम्बर ७ २००३ मा बंगलौरमा अवस्थित नयाँ शाखा भवनहरूको समर्पणको प्रतीक्षा गरिरहेका हुनेछौं। त्यहाँ उपस्थित सबैका लागि यो उत्सव आध्यात्मिक तवरमा उत्कृष्ट साबित होस् र हर्षोल्लासका साथ यहोवाको प्रशंसा गर्न सकियोस् भनेर हामी प्रार्थना गर्छौं। हो, यहोवाले नयाँ शाखा भवनहरूलाई निरन्तर प्रयोग गरिरहनुहुनेछ भन्ने कुरामा हामी पक्का छौं किनभने उहाँले ‘यसलाई बढाइरहनुहुन्छ।’
तपाईंका भाइहरू,
भारत शाखा कार्यालय