हामीले यहोवाको अख्तियारको आदर गर्नै पर्छ
कोरह, दातान र अबीरामजस्ता पुरातन नाउँहरू सुन्नासाथ तपाईंको मनमा कस्तो कुरा आउँछ? विद्रोह! केको विरुद्धमा? ईश्वरीय अख्तियारको विरुद्धमा। तिनीहरूको दुःखद कामका विवरणहरू गन्ती अध्याय १६ मा लिपिबद्ध गरिएको छ र यस विषयसित सम्बन्धित विवरण अगस्त १, २००२, प्रहरीधरहरा-को “वफादार भई ईश्वरीय अख्तियारको अधीनमा बस्नुहोस्” भन्ने लेखमा दिइएको छ। यो विषयवस्तु पढ्नु अनि रेस्पेक्ट जेहोभाज् अथोरिटी भन्ने भिडिओमा यसको सशक्त चित्रण हेर्नु तपाईंको लागि लाभदायी हुन सक्छ। कोरहका विश्वासी छोराहरू र ब्रह्माण्डकै सार्वभौमसित टक्कर लिन खोज्ने तिनीहरूका विद्रोही पिताबीचको भिन्नता तपाईंले थाह पाउनुहुनेछ। (गन्ती २६:९-११) साँचो घटनामा आधारित यस नाटकले हामी सबैलाई यहोवाप्रतिको आफ्नो वफादारिता अझ बढी विकास गर्न प्रेरित गर्नुपर्छ।
जसै तपाईं भिडिओ हेर्नुहुन्छ, छवटा महत्त्वपूर्ण क्षेत्रमा वफादारिताको परीक्षा हुँदा कोरह अनि तिनको पछि लागेका विद्रोहीहरू चुकेको प्रमाण पत्ता लगाउनुहोस्: (१) तिनीहरूले कसरी ईश्वरीय अख्तियारको अनादर गरे? (२) तिनीहरूले कसरी आफूलाई घमन्ड, महत्त्वाकाङ्क्षा र ईर्ष्याले असर गर्न दिए? (३) तिनीहरूले कसरी यहोवाद्वारा नियुक्त व्यक्तिहरूका असिद्धताहरूमा ध्यान केन्द्रित गरे? (४) तिनीहरूले कस्तो गनगन गर्ने बानी बसालेका थिए? (५) तिनीहरू किन आफूले पाएको सेवाका सुअवसरहरूसित असन्तुष्ट भएका थिए? (६) तिनीहरूले कसरी परमेश्वरप्रतिको वफादारितालाई भन्दा मित्र तथा परिवारलाई प्राथमिकता दिए?
यस बाइबल नाटकमा सिकेका पाठहरू आज ईश्वरीय अख्तियारप्रतिको हाम्रो व्यक्तिगत दृष्टिकोणमा कसरी लागू हुन्छ, विचार गर्नुहोस्: (१) मण्डलीका प्राचीनहरूले गरेका निर्णयहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र किन? (२) हामी कसरी आफूभित्र पलाउने कुनै पनि किसिमका अनुचित मनसायहरूको प्रतिरोध गर्न सक्छौं? (३) नेतृत्व लिन नियुक्त भएका व्यक्तिहरूको असिद्धताप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (४) हाम्रो हृदयमा गनगन गर्ने मनोभाव विकास हुन थाल्यो भने हामीले के गर्नुपर्छ? (५) हामीलाई दिइएको कुनै पनि किसिमका सुअवसरहरूबारे हामीले कस्तो महसुस गर्नुपर्छ? (६) परमेश्वरप्रतिको वफादारिताभन्दा कसले कहिल्यै प्राथमिकता पाउनु हुँदैन र हाम्रो लागि यो कुरा कहिले अग्निपरीक्षा हुन सक्छ?
यो जानकारी मण्डलीमा छलफल गरिसकेपछि यो भिडिओ फेरि हेर्नुभए कसो होला? हामीले यहोवाको अख्तियारलाई किन सधैं आदर गर्नै पर्छ भन्ने कुराहरू तपाईंको मनमा ठप्प बस्न सकोस्!—भज. १८:२५; ३७:२८.