प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अगस्त पृ. ३-६
  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं आध्यात्मिक भोजको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • मसीही इज्जतको ख्याल राख्दै ख्रीष्टको पछि लागौं
    हाम्रो राज्य सेवकाई—२००७
  • यहोवाको बाटो हेर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
  • जिल्ला अधिवेशन—आनन्दसाथ उपासना गर्ने समय
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अगस्त पृ. ३-६

आध्यात्मिक भोज खाने र आनन्दित हुने अवसर

१. यहोवा आफ्ना दासहरूको आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्नुहुन्छ?

१ यहोवा आफ्ना दासहरूको आध्यात्मिक आवश्‍यकता मायालु तरिकामा पूरा गर्नुहुन्छ। प्रायजसो मानिसहरू आध्यात्मिक तवरमा भोका छन्‌ तर हामी भने तृप्त छौं। (यशै. ६५:१३) यहोवाले हामीलाई आध्यात्मिक पोषण दिने एउटा माध्यम वार्षिक जिल्ला अधिवेशन हो। “परमेश्‍वरको आत्माको डोऱ्‍याइअनुसार हिंड्‌नुहोस्‌” शीर्षकको आउँदै गरेको जिल्ला अधिवेशनको सम्पूर्ण कार्यक्रममा उपस्थित हुन के तपाईं तयार गर्दै हुनुहुन्छ? यस अधिवेशनको लागि स्वादिष्ट अनि पौष्टिक आध्यात्मिक भोज तयार पारिएको छ।

२. अधिवेशनको लागि पहिल्यै योजना मिलाउन हामीले के गर्नैपर्छ?

२ पहिल्यै योजना मिलाउनुहोस्‌: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” (हितो. २१:५) त्यसकारण, अधिवेशनमा तीनै दिन उपस्थित हुने योजना पक्का गर्न हाकिमसित छुट्टी माग्नुपर्छ भने ढिला नगर्नुहोस्‌। कहाँ बास बस्ने हो, प्रबन्ध गरिसक्नुभयो? आफ्ना भाइबहिनीसित अधिवेशन स्थलमै बसेर खाजा खान सकियोस्‌ भनेर तपाईंले खाजा लाने योजना पनि गर्नुभएको होला। अधिवेशन स्थलमा छिट्टै पुग्न सक्नेगरि कामकुरा मिलाउनुहोस्‌। यसो गर्दा बस्ने ठाउँ मिलाउन, सुरुको भजन र सुरुको प्रार्थनामा सहभागी हुन सकिन्छ।

३. हामीले कस्तो लुगाफाटा लगाउने योजना बनाउनुपर्छ?

३ हाम्रो पहिरन भद्र छ कि छैन, त्यो पनि पक्का गर्न चाहन्छौं। (१ति २:९, १०) वरपरका मानिसहरूलाई साक्षी दिने एउटा राम्रो अवसर जिल्ला अधिवेशन हो। अधिवेशन हुने सहरमा भद्र लुगाफाटा लगाउँदा र अधिवेशनको बिल्ला झुन्ड्याउँदा हामी अरूभन्दा भिन्‍नै देखिन्छौं र देख्नेहरूलाई पनि राम्रो छाप पर्छ।

४. के गऱ्‍यौं भने हामी र हाम्रो परिवारले कार्यक्रमबाट पूरापूर फाइदा उठाउन सक्नेछौं?

४ ध्यान दिएर सुन्‍नुहोस्‌: हामी यस आध्यात्मिक भोजमा पस्किने भोजनको एक सिता पनि खेर फाल्न चाहँदैनौं! (हितो. २२:१७, १८) पदहरू पढिएको बेला आफूले पनि बाइबल पल्टाएर सँगसँगै पढ्‌दा र छोटो टिपोट लिंदा, कार्यक्रममा ध्यान दिन र अलमल्याउने कुरालाई बेवास्ता गर्न सजिलो हुन्छ। अनि साँझपख आपसमा छलफल गर्दा अधिवेशनमा लिएको टिपोटको मुख्य-मुख्य बुँदा प्रयोग गर्न सक्छौं। हालैका वर्षहरूमा केही किशोर-किशोरीहरू अधिवेशनमा सँगै बस्ने र कार्यक्रम चलिरहेको बेला गफ गर्ने अथवा मोबाइल फोनमा एस एम एस गर्ने गरेको देखिएको छ। किशोरावस्थाका छोराछोरी पनि छन्‌ भने आमाबाबुले तिनीहरूलाई अरू किशोर-किशोरीसँग अर्कै ठाउँमा बस्न दिनुको साटो आफूसँगै राखेर कार्यक्रम सुन्दा सबैलाई फाइदा हुन सक्छ।

५. अधिवेशनमा हामी कसरी अझ धेरै आनन्दित हुन सक्छौं?

५ संगत गरेर आनन्द उठाउनुहोस्‌: स्वादिष्ट भोजन बाँड्‌चुँड गरेर खाँदा झनै आनन्द लाग्छ। (हितो. १५:१७) त्यसैगरि, अधिवेशनमा भाइबहिनीसित संगत गर्दा हाम्रो आनन्द अझै बढ्‌छ। त्यसैले कार्यक्रम अघि वा पछि चिनजान अनि कुराकानी गर्न अघि सर्नुभयो भने कत्ति रमाइलो होला! (भज. १३३:१) धुन बज्नुअघि कार्यक्रमका चेयरम्यानले हामीलाई आ-आफ्नो सिटमा बस्न आग्रह गर्दा कुराकानी चट्ट बन्द गरेर सिटमा बसिहाल्नुपर्छ।

६. अधिवेशन हुने सहरमा अरूलाई कसरी साक्षी दिन सक्छौं, त्यसबारे आफ्नो अनुभव बताउनुहोस्‌।

६ साक्षी दिने मौका नगुमाउनुहोस्‌: अधिवेशनको बेला अक्सर साक्षी दिने अत्यन्तै राम्रो मौका पाइन्छ। कार्यक्रम सिद्धिएपछि रेष्टुरेन्ट गएका थुप्रै भाइबहिनीलाई तिनीहरूले लगाएको बिल्लाबारे वेटर र अरूले सोध्ने गरेका छन्‌। परिणामस्वरूप, कुराकानी थाल्न र बाइबल सत्यबारे राम्रो साक्षी दिन सकिएको छ। सोधखोज गर्ने कतिपयलाई अधिवेशनमा निम्तो दिइएको छ र उनीहरू आएका पनि छन्‌।

७. आउँदै गरेको जिल्ला अधिवेशनमा हामी किन उपस्थित हुनुपर्छ?

७ अधिवेशन कार्यक्रम तयार पार्न, अधिवेशन भवन मिलाउन, अधिवेशनका विभिन्‍न विभागको प्रबन्ध मिलाउन र भाषणहरू तयार पार्न हजारौं घण्टा लागेको छ। यस आध्यात्मिक भोज तयार पार्न गरिएको मिहेनतले यहोवा आफ्ना जनहरूप्रति साँच्चै मायालु चासो लिनुहुन्छ भनेर संकेत गर्छ। त्यसैले हामी सबै अधिवेशनमा उपस्थित हुन सकौं र आध्यात्मिक भोज टन्‍न खान सकौं! यसो गऱ्‍यौं भने हामी यस संसारका मानिसहरूको ठीक विपरीत, “हृदयमा आनन्द भएकाले” ‘गाउनेछौं।’—यशै. ६५:१४.

[पृष्ठ ६-मा भएको पेटी]

जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू

◼ समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८:०० बजेदेखि नै खुला हुनेछ। हरेक दिन बिहान अनि दिउँसो कार्यक्रम सुरु हुनुअघि केही मिनेट धुन बज्नेछ। त्यतिखेर हामी सबै जना आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा शान्तपूर्वक कार्यक्रम सुरु हुन सक्छ। बिहीबार र शुक्रबार साँझ ४:५५ मा सभा विसर्जन हुनेछ भने शनिबारचाहिं साँझ ४:०० मा विसर्जन हुनेछ।

◼ पार्किङ: अधिवेशन स्थलमा पार्किङ सुविधा मिलाइनेछ। पार्किङ गर्न अधिवेशनको बिल्ला लगाएको हुनुपर्छ।

◼ सिट रोक्ने: एउटै छतमुनि बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरूको लागि मात्र सिट रोक्न सकिन्छ।

◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्‍न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा कृपया घरबाटै खानेकुरा लिएर आउनुहोस्‌। तपाईंले सिटको मुन्तिर राख्न मिल्ने टिफिन बट्टा ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा, काँचका भाँडाकुँडा र मद्य नल्याउनुहोस्‌।

◼ अनुदान: राज्यभवन वा अधिवेशनमा विश्‍वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी जिल्ला अधिवेशनको प्रबन्धप्रति आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “यहोवाका साक्षीहरू समाज”-को नाउँमा भुक्‍तान गरिनुपर्छ।

◼ दुर्घटना तथा आपत्‌कालीन अवस्था: अधिवेशनस्थलमा आपत्‌कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्‌। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्‌। त्यसपछि प्राथमिक उपचारमा दक्ष व्यक्‍तिले अवस्था कत्तिको गम्भीर छ र मदत गर्नुपर्छ कि पर्दैन, पक्का गर्नेछन्‌। आवश्‍यक परेमा तिनले अस्पतालको इमर्जेन्सी सेवालाई फोन गर्नेछन्‌।

◼ साना नानीहरू राख्ने पाङ्‌ग्रा भएको सिट: साना नानीहरू राख्ने पाङ्‌ग्रा भएको सिट अधिवेशन स्थलमा ल्याउन पाइँदैन। तर साना नानीहरूको सुरक्षाको लागि तयार पारिएका विशेष सिटलाई आमाबाबुसँगैको सिटमा राख्न मिल्छ भने त्यस्तो सिटचाहिं ल्याउन सक्नुहुन्छ।

◼ अत्तर लगाउनेबारे: कुनै-कुनै ठाउँमा अधिवेशन खुल्ला ठाउँमा नभई एयर कन्डिसन हलहरूमा हुन्छन्‌। त्यसैले, यस्ता हलहरूमा कडा बास्ना भएका अत्तर प्रयोग नगर्नु दयालु व्यवहार हुनेछ किनभने अत्तर प्रयोग गर्दा यसले श्‍वासप्रश्‍वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्छ।—१ कोरि. १०:२४.

◼ फलो-अप फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्‍तिलाई थप जानकारी दिन प्लीज फलो अप (S-43) फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक/दुइटा फलो-अप फाराम ल्याउनुपर्छ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।—फेब्रुअरी २००५ अंकको हाम्रो राज्य सेवकाई, पृ. ६ हेर्नुहोस्‌।

◼ रेष्टुराँ: रेष्टुराँमा पनि असल बानीबेहोरा देखाएर यहोवाको नाउँको सम्मान गर्नुहोस्‌।

◼ होटेल: (१) चाहिनेभन्दा बढी कोठा बुक नगर्नुहोस्‌ र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्‌। (२) बुकिङ रद्द गर्नुपरेमा होटेललाई तुरुन्त खबर गरिहाल्नुहोस्‌। (३) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्‌। (४) कोठा सफा गर्ने हाउसकिपरको लागि हरेक दिन टिप्स छोडिराख्नुहोस्‌। (५) होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा हरेक समय आत्माको फल प्रदर्शन गर्नुहोस्‌। (६) आवास विभागले जानकारी दिएको कोठाको मूल्य एक दिन/एक रातको हो र यसमा कर समावेश गरिएको हुँदैन। तपाईंले नमगाउनुभएको वा प्रयोग नगर्नुभएको सुविधाको मूल्य पनि बिलमा उल्लेख गरिएको छ वा तपाईंलाई बढ्‌ता मूल्य तिर्न लगाइएको छ भने नतिर्नुहोस्‌ र जतिसक्दो चाँडो अधिवेशनको आवास विभागलाई खबर गर्नुहोस्‌। (७) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने