के तपाईं कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
१. प्रेरित पावल र येशू कसरी सिकाउनुहुन्थ्यो?
१ प्रेरित पावल ‘धर्मशास्त्रबाट बहस गर्न’ अथक प्रयास गर्थे। (प्रेरि. १७:२, ३; १८:१९) यसो गर्दा तिनले बारम्बार धर्मशास्त्रबाट उद्धरण गर्ने र श्रोतालाई परमेश्वरको इच्छा बुझ्न दृष्टान्तहरू प्रयोग गर्ने येशूको अनुकरण गरिरहेका थिए। (मत्ती १२:१-१२) हामीलाई त्यसै गर्न मदत पुगोस् भनेर नै कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिका तयार पारिएका हुन्।
२. छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकालाई प्रभावकारी परिचयहरू तयार पार्न कसरी प्रयोग गर्न सक्छौं?
२ प्रभावकारी परिचयहरू तयार पार्न: कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ २-७ मा चासो जगाउने परिचयहरू छन्। विभिन्न परिचय प्रयोग गर्न सिक्नुभयो र प्रयोग गर्नुभयो भने विशेषगरि बारम्बार प्रचार गरिने इलाकामा पनि तपाईंको प्रचारकार्य एकनासको हुनेछैन। यसबाहेक तपाईं अझै प्रभावकारी भएर विभिन्न तरिकामा कुराकानी थाल्न सक्नुहुनेछ। टेलिफोन साक्षी दिंदा वा कडा सुरक्षा व्यवस्था भएका भवनहरूको इन्टरकममा कुरा गर्दा सीधै पुस्तिकाबाट परिचय पढ्न सकिन्छ।
३. छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ७-१३ मा पाइने कस्ता जानकारीले हामीलाई प्रचारकार्यमा मदत गर्न सक्छ?
३ वार्तालाप बाधकहरूलाई जवाफ दिन: इलाकामा वार्तालाप बाधकहरू पनि हुन सक्ने भएकोले उनीहरूलाई जवाफ दिने तरिका थाह पाउन प्रचार जानुअघि केही मिनेट पृष्ठ ७-१३ पुनरावलोकन गरे कसो होला? बौद्धमार्गी, हिन्दू, यहूदी वा मुसलमान घरधनी पो भेटिने हुन् कि? त्यसोभए पृष्ठ १३-१६ मा भएका जानकारी मदतकारी हुन सक्छ।
४. कुनै प्रश्न वा विवादास्पद विषय उठाइँदा त्यसको जवाफ दिन बाइबल विषयहरू पुस्तिका कसरी प्रयोग गर्न सक्छौं?
४ जवाफ दिंदा: कसैले कुनै प्रश्न सोध्दा वा विवादास्पद विषय उठाउँदा बाइबल विषयहरू पुस्तिकाले जवाफ दिन हामीलाई मदत गर्छ। उक्त विषयमा आफूसित भएको रोचक जानकारी देखाउन चाहन्छु भन्दै बाइबल विषयहरू पुस्तिका निकाल्नुहोस्। तपाईंले खोजेको जानकारीसित मिल्न सक्ने मुख्य शीर्षक भएको पाना पल्टाउनुहोस्। चाहिएको जानकारी भेट्टाएपछि आफ्नो अथवा घरघनीसित छ भने तिनकै बाइबलबाट पदहरू पढ्नुहोस्।
५. बाइबल विषयहरू पुस्तिका कसरी लाभदायी छ?
५ अन्य प्रयोगहरू: ‘तपाईंहरू किन चाडपर्व मनाउनुहुन्न’ जस्ता प्रश्न सोध्नेहरूलाई जवाफ दिन कसै-कसैले काम गर्ने ठाउँमा वा स्कूलमा बाइबल विषयहरू पुस्तिकाको एकप्रति राख्ने गरेका छन्। बिरामीलाई वा हालै शोक परेको कसैलाई भेट्न जाँदै हुनुहुन्छ? “मृत्यु” अथवा “पुनरुत्थान” शीर्षक अन्तर्गत दिइएका जानकारीबाट बाइबलआधारित सान्त्वना दिन मदत पाउन सक्नुहुन्छ। भाषण तयार पार्ने र क्षेत्र सेवाको लागि सभा सञ्चालन गर्नेहरूलाई चाहिने जानकारी पनि बाइबल विषयहरू पुस्तिकामा पाइन्छ।
६. प्रचार गर्दा हाम्रो लक्ष्य के हो?
६ प्रचार गर्दा, विवाद गरेर जित्नु हाम्रो लक्ष्य होइन। हाम्रो लक्ष्य जानकारी मात्र दिनु पनि होइन। हामी सिपालु भई बाइबलबाट तर्क पेस गर्न चाहन्छौं। कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने र चर्चाका लागि बाइबल विषयहरू पुस्तिकाको सदुपयोग गर्दा हामी आफ्नो शिक्षाको विषयमा होसियार छौं भनेर देखाउँछौं।—१ तिमो. ४:१६.