प्रभावकारी परिचय कसरी तयार गर्ने?
१. परिचय प्रभावकारी हुनु किन महत्त्वपूर्ण छ?
१ खाना खानुअघि हल्काफुल्का केही खाँदा हाम्रो भोक जाग्छ र खाना खाऊँ-खाऊँ लाग्छ। त्यसैगरि प्रभावकारी परिचयले बाइबलबाट राम्रो छलफल गर्न बाटो खोल्छ। प्रभावकारी परिचय छोटो या लामो हुन सक्छ अनि यसको विषयवस्तु पनि फरक-फरक हुन सक्छ। जे होस् प्रभावकारी परिचयको लागि पनि मीठो खानाको लागि जस्तै पहिल्यै सोचविचार गरेर तयारी गर्नुपर्छ। (हितो. १५:२८) कुन कुराले परिचयलाई प्रभावकारी बनाउँछ?
२. चाखलाग्दो परिचय कसरी तयार गर्न सकिन्छ?
२ चासो जगाउने विषय छान्नुहोस्: हाम्रो परिचय चासो जगाउने हुनै पर्छ। अन्यथा घरधनीले कुराकानी टुङ्याइदिन सक्छ। त्यसैले तयारी गर्दा स्थानीय मानिसहरूलाई कस्तो विषयमा चासो लाग्छ, विचार गर्नुहोस्। इलाकाका मानिसहरू असल सरकार, सुखी परिवार अथवा युद्धबारे चिन्तित छन् कि? साधारणतया मानिसहरूलाई आफ्नो विचार पोख्न मन लाग्छ। त्यसैले सोच्न लगाउने प्रश्न तयार गर्नुहोस्। के तपाईं प्रचारकार्यमा हाम्रो राज्य सेवा-बाट कुराकानी थाल्ने उदाहरणमध्ये कुनै एउटा चलाउन सक्नुहुन्छ? साँझको पारिवारिक उपासनामा ती उदाहरण अभ्यास गरे कसो होला?
३. आफ्नो इलाकाका मानिसहरूको संस्कृति र पृष्ठभूमि विचार गर्दै हामी कसरी प्रस्तुतिमा छाँटकाँट गर्न सक्छौं?
३ संस्कृति र पृष्ठभूमि विचार गर्नुहोस्: कतिपय ठाउँमा हामी आउनुको कारण तुरुन्तै बताएको आशा गरिन्छ। तर अरू ठाउँमा भने घरधनीलाई भेटेपछि सन्चो बिसन्चो नसोध्नु अनि आफूबारे केही नबताउनु अशिष्ट मानिन्छ। कुनै-कुनै इलाकामा मानिसहरूको धार्मिक पृष्ठभूमिले गर्दा हामीले सुरुमै बाइबलबारे बताउन सक्छौं। (प्रेषि. २:१४-१७) तर ख्रीष्टियनबाहेक अन्य धर्म मान्ने मानिसहरूकहाँ अथवा कुनै धर्ममा आस्था नराख्ने मानिसहरूकहाँ पहिलो भेटमै बाइबलबारे उल्लेख गर्नुभन्दा पुनःभेटमा मात्र बताउनु बेस हुन्छ।—प्रेषि. १७:२२-३१.
४. परिचय सुरु गर्दा हामीले कुन कुरामा ध्यान दिनुपर्छ?
४ परिचयका शब्दहरू: परिचयमा के भन्ने, राम्ररी तयार गर्नुहोस्। छोटो र सरल वाक्यहरू प्रयोग गर्नु प्रभावकारी हुन्छ। परिचय कसरी भन्ने भनेर पनि तयारी गर्नुपर्छ। उत्साहित हुनुहोस्। न्यानो र मित्रैलो तरिकामा मुसुक्क हाँस्दा घरधनीप्रतिको साँचो चासो झल्किन्छ। यी सुझाव लागू गर्दा हामीले सुनुँ-सुनुँ लाग्ने परिचय तयार गर्न मदत पाउँछौं। अनि हामीले इलाकाका मानिसहरूमा “यहोवाको टेबुलबाट” खाने इच्छा जगाइरहेका हुनेछौं।—१ कोरि. १०:२१.