बाइबलले सिकाउँछ किताबका विशेषताहरू
विद्यार्थीले बाइबलको कुरा सिक्दै जाँदा र सिकेको कुरा लागू गर्दै जाँदा तिनी आध्यात्मिक रूपमा बढ्छन् र फल फलाउँछन्। (भज. १:१-३) बाइबलले सिकाउँछ किताबका विशेषताहरू चलाएर हामी विद्यार्थीलाई उन्नति गर्न मदत गर्न सक्छौं। ती विशेषताहरू हुन्:
सुरुमा सोधिएका प्रश्नहरू: हरेक अध्यायको सुरुमा केही प्रश्नहरू छन्, जसको जवाफ त्यही अध्यायमा पाइन्छ। छलफल गर्न लागेको विषयवस्तुप्रति विद्यार्थीको चासो जगाउन ती प्रश्नहरू सोध्न सक्नुहुन्छ। अथवा तिनको विचार बुझ्न ती प्रश्नहरूको छोटो जवाफ दिन लगाउन सक्नुहुन्छ। तिनको जवाफ गलत भयो भने पनि तुरुन्तै सुधारिहाल्नु पर्दैन। तिनले दिएको जवाफबाट छलफलको दौडान कुन कुरामा जोड दिनुपर्ने हो, ठम्याउन सक्नुहुनेछ।—हितो. १६:२३; १८:१३.
परिशिष्ट: विद्यार्थीले छलफल गरिएको कुरा बुझेका छन् र त्यसलाई स्वीकारेका छन् भने परिशिष्टमा दिइएका थप जानकारी तिनको आफ्नै समयमा पढ्न प्रोत्साहन दिन सक्नुहुन्छ। अर्को पटकको अध्ययनमा तिनले बुझे कि बुझेनन्, पक्का गर्नुहोस्। तर तिनलाई मदत पुग्छ भने अध्ययनको बेला पूरै परिशिष्ट अथवा त्यसको केही अंश छलफल गर्नु बेस हुन्छ। परिशिष्टको अनुच्छेद पढेपछि तपाईंले पहिल्यै तयारी गरेको प्रश्न सोध्न सक्नुहुन्छ।
पुनरावलोकन पेटी: अध्यायको सुरुमा सोधिएका प्रश्नहरूको जवाफ त्यही अध्यायको अन्तमा भएको पेटीमा पाइन्छ। विद्यार्थीले मुख्य बुँदा बुझेका छन् कि छैनन् र त्यसबारे व्याख्या गर्न सक्छन् कि सक्दैनन् भनेर थाह पाउन तपाईं यो पेटी प्रयोग गर्न सक्नुहुन्छ। हरेक बुँदाका साथै त्यससित सम्बन्धित बाइबल पद पढ्न लगाउनुहोस्। त्यसपछि बाइबल पद चलाएर उक्त बुँदा सही हो भनेर तर्क गर्न लगाउनुहोस्।—प्रेषि. १७:२, ३.