प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 जनवरी पृ. १५-१८
  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा स्त्रीहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?
  • दाजुभाइहरूले महिलाहरूसित कसरी यहोवाले जस्तै व्यवहार गर्न सक्छन्‌?
  • एल्डरहरूले कसरी दिदीबहिनीको आदर गर्न सक्छन्‌?
  • दिदीबहिनीलाई परिवारकै सदस्य ठान्‍नुका फाइदाहरू
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “प्रभुमा परिश्रम गर्ने स्त्रीहरू”
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 जनवरी पृ. १५-१८
विभिन्‍न उमेर, राष्ट्र र पृष्ठभूमिका आनन्दित महिलाहरू।

के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?

हामीले वफादार स्त्रीहरूसँगै सेवा गर्ने सुअवसर पाएका छौँ। प्रत्येक वफादार अनि मेहनती बहिनीलाई हामी प्रेम र कदर गर्छौँ। त्यसैले दाजुभाइहरू हो, दिदीबहिनीसित दयालु, निष्पक्ष र आदरपूर्वक व्यवहार गर्ने कोसिस गर्नुहोस्‌। तर हामी त्रुटिपूर्ण भएकोले त्यसो गर्न सधैँ सजिलो नहुन सक्छ। अनि कोही-कोही दाजुभाइलाई त अझै गाह्रो हुन सक्छ।

महिलाहरू पुरुषहरूभन्दा तुच्छ हुन्छन्‌ भन्‍ने सोचाइ राख्ने संस्कृतिमा कोही-कोही हुर्केका हुन्छन्‌। जस्तै: बोलिभियाका क्षेत्रीय निरीक्षक हान्ज यसो भन्छन्‌: “कोही-कोही पुरुष पुरुषप्रधान समाजमा हुर्केका हुन्छन्‌। अनि महिलाहरूभन्दा पुरुषहरू श्रेष्ठ हुन्छन्‌ भन्‍ने मानसिकताले त्यस्ता पुरुषहरूको मनमा जरा गाडेको हुन्छ।” ताइवानका एल्डर सेङसेन यसो भन्छन्‌: “म बस्ने ठाउँमा थुप्रै पुरुषलाई महिलाहरूले कुनै पनि मामिलामा आफ्नो विचार व्यक्‍त गर्नै हुँदैन जस्तो लाग्छ। अनि कुनै पुरुषले आफ्ना साथीहरूमाझ कुनै महिलाको विचारबारे बताउँदा तिनलाई हाँसोमा उडाइन्छ।” अरू कतिपय पुरुषले भने अप्रत्यक्ष तरिकामा महिलाहरूप्रति पूर्वाग्रह देखाउँछन्‌। जस्तै: तिनीहरू महिलाहरूलाई होच्याउने उखान-टुक्काहरू भन्छन्‌।

तर खुसीको कुरा, जस्तोसुकै संस्कृतिमा हुर्के तापनि पुरुषहरूले आफ्नो सोचाइ परिवर्तन गर्न सक्छन्‌। तिनीहरूले महिलाहरू पुरुषहरूभन्दा तुच्छ हुन्छन्‌ भन्‍ने सोचाइलाई हटाउन सक्छन्‌। (एफि. ४:२२-२४) यसो गर्न तिनीहरूले यहोवाको उदाहरण अनुकरण गर्नुपर्छ। यस लेखमा हामी यहोवाले महिलाहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, दाजुभाइहरूले महिलाहरूसित कसरी यहोवाले जस्तै व्यवहार गर्न सक्छन्‌ र दिदीबहिनीलाई आदर देखाउने सन्दर्भमा एल्डरहरूले कसरी राम्रो उदाहरण बसाल्न सक्छन्‌ भनेर छलफल गर्नेछौँ।

यहोवा स्त्रीहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?

महिलाहरूसित व्यवहार गर्ने सन्दर्भमा यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँ आफ्नो परिवारलाई माया गर्ने दयालु बुबा हुनुहुन्छ। (युह. ३:१६) अनि वफादार दिदीबहिनीलाई उहाँ आफ्ना प्यारा छोरीहरू ठान्‍नुहुन्छ। यहोवाले महिलाहरूको कसरी सम्मान गर्नुभएको छ? आउनुहोस्‌, केही तरिका विचार गरौँ।

उहाँ तिनीहरूसित निष्पक्ष व्यवहार गर्नुहुन्छ। यहोवाले पुरुष र स्त्री दुवैलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। (उत्प. १:२७) उहाँले पुरुषहरूलाई स्त्रीहरूभन्दा बुद्धिमान्‌ वा प्रतिभाशाली बनाउनुभएन। उहाँ पुरुषहरूलाई महिलाहरूभन्दा ठूलो ठान्‍नुहुन्‍न। (२ इति. १९:७) उहाँले महिला र पुरुष दुवैलाई बाइबल सत्यहरू बुझ्न सक्ने र उहाँका मनमोहक गुणहरू झल्काउन सक्ने क्षमतासहित बनाउनुभयो। यहोवा उहाँमा विश्‍वास गर्ने पुरुष र महिला दुवैलाई उत्तिकै अनमोल ठान्‍नुहुन्छ; चाहे तिनीहरूको आशा पृथ्वीमा सधैँभरि जिउने होस्‌ वा स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्ने। (२ पत्रु. १:१, फुटनोट) स्पष्ट छ, यहोवा महिलाहरूप्रति पूर्वाग्रही सोचाइ राख्नुहुन्‍न।

उहाँ तिनीहरूको कुरा सुन्‍नुहुन्छ। यहोवा महिलाहरूको भावनाको कदर गर्नुहुन्छ र तिनीहरूले भोगिरहेका समस्याहरूमा चासो लिनुहुन्छ। जस्तै: उहाँले राहेल र हन्‍नाको प्रार्थना सुन्‍नुभयो र जवाफ पनि दिनुभयो। (उत्प. ३०:२२; १ समु. १:१०, ११, १९, २०) यहोवाले बाइबल लेखकहरूलाई स्त्रीहरूको कुरा सुन्‍ने पुरुषहरूका विवरणहरू लेख्न पनि प्रेरणा दिनुभयो। जस्तै: अब्राहामले यहोवाको निर्देशनअनुसारै आफ्नी पत्नी साराको कुरा सुने। (उत्प. २१:१२-१४) राजा दाउदले अबिगेलको कुरा सुने। भन्‍ने हो भने दाउदलाई यहोवाले नै अबिगेललाई पठाउनुभएको हो जस्तो लाग्यो। (१ समु. २५:३२-३५) आफ्नो बुबा यहोवाका गुणहरू हुबहु झल्काउनुहुने येसुले समेत आफ्नी आमा मरियमको कुरा सुन्‍नुभयो। (युह. २:३-१०) यी उदाहरणहरूबाट यहोवा स्त्रीहरूको कुरा सुनेर तिनीहरूप्रति आदर देखाउनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ।

उहाँ तिनीहरूलाई भरोसा गर्नुहुन्छ। जस्तै: यहोवाले आदम र हव्वालाई पृथ्वीको हेरचाह गर्ने जिम्मा सुम्पनुभयो। (उत्प. १:२८) यसको मतलब हव्वाले पृथ्वीको हेरचाह गर्ने काममा आदमलाई सघाउने थिइन्‌। त्यसरी उहाँले हव्वालाई तुच्छ नठानेको बरु आदमको सहयोगी ठानेको देखाउनुभयो। उहाँले राजा र न्यायकर्तालगायत आफ्ना मानिसहरूलाई सल्लाह दिन पनि भविष्यवक्‍ताहरू दबोरा र हुल्दालाई चलाउनुभयो। (न्याय. ४:४-९; २ राजा २२:१४-२०) आज पनि यहोवा राज्य गतिविधिलाई अघि बढाउन हाम्रा दिदीबहिनीलाई चलाउनुहुन्छ। यी वफादार दिदीबहिनीहरू प्रकाशक, अग्रगामी र मिसनरीको रूपमा सेवा गर्छन्‌। तिनीहरूले विभिन्‍न निर्माण परियोजनामा डिजाइन, निर्माण र स्याहारसम्भार गर्ने काममा सघाउँछन्‌। कोही-कोही बेथेलमा र कोही-कोही स-साना अनुवाद कार्यालयहरूमा सेवा गर्छन्‌। स्त्रीहरूको विशाल सेनालाई यहोवा आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्नुहुन्छ। (भज. ६८:११) स्पष्ट छ, यहोवा महिलाहरूलाई कमजोर वा असक्षम ठान्‍नुहुन्‍न।

दाजुभाइहरूले महिलाहरूसित कसरी यहोवाले जस्तै व्यवहार गर्न सक्छन्‌?

दाजुभाइहरू हो, के तपाईँले ख्रिष्टियन दिदीबहिनीसित यहोवाले जस्तै व्यवहार गरिरहनुभएको छ? यसको जवाफ पाउन तपाईँले आफ्नो सोचाइ र व्यवहार इमानदार भई जाँच्नुपर्छ। डाक्टरले मानिसको मुटुको अवस्था कस्तो छ भनेर जाँच्न विभिन्‍न उपकरण प्रयोग गर्छन्‌। त्यसैगरि स्त्रीहरूप्रति तपाईँको मनमा नकारात्मक विचारधाराले जरा गाडेको छ कि भनेर जाँच्न असल साथीहरू र बाइबलले मदत गर्न सक्छ। यस्तो मदत पाउन तपाईँले के गर्नुपर्छ?

असल साथीलाई सोध्नुहोस्‌। (हितो. १८:१७) तपाईँ आफ्नो भरोसायोग्य, दयालु र व्यावहारिक साथीलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: “मैले ख्रिष्टियन दिदीबहिनीसित कस्तो व्यवहार गरिरहेको छु? मैले दिदीबहिनीलाई आदर गरेको के तिनीहरूले महसुस गरिरहेका छन्‌? मैले आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने कुनै क्षेत्र छ कि?” साथीले कुनै क्षेत्र औँल्याइदिए भने स्पष्टीकरण दिन नखोज्नुहोस्‌ बरु आवश्‍यक छाँटकाँट गर्न तयार हुनुहोस्‌।

परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌। हामीले दिदीबहिनीसित राम्रो व्यवहार गरिरहेका छौँ कि छैनौँ भनेर थाह पाउने एउटा राम्रो तरिका आफ्नो मनोवृत्ति र व्यवहार बाइबलको सिद्धान्तअनुरूप छ कि छैन भनेर जाँच्नु हो। (हिब्रू ४:१२) हामी बाइबलमा स्त्रीहरूसित राम्रो व्यवहार गरेका र नगरेका पुरुषहरूको विवरण पढ्‌न सक्छौँ। हामी तिनीहरूको व्यवहारसित आफ्नो व्यवहार तुलना गरेर हेर्न सक्छौँ। साथै बाइबल पदहरू तुलना गरेर हेर्दा प्रसङ्‌ग विचार गर्नु महत्त्वपूर्ण छ। यसो गऱ्‍यौँ भने महिलाप्रतिको हाम्रो गलत सोचाइलाई कुनै एउटा पदले समर्थन गर्छ भन्‍ने गलत निष्कर्षमा पुग्नदेखि जोगिन सक्छौँ। जस्तै: १ पत्रुस ३:७ मा पत्नीलाई “कोमल पात्र सम्झेर आदर गर” भनिएको छ।a के यसको मतलब पत्नी तुच्छ छिन्‌ र पुरुषभन्दा कम बुद्धिमान्‌ वा असक्षम छिन्‌ भन्‍ने हो? त्यसो त पक्कै होइन! पत्रुसका शब्दहरूलाई गलाती ३:२६-२९ सित तुलना गरेर हेरौँ। ती पदहरूअनुसार यहोवाले पुरुषहरूका साथै स्त्रीहरूलाई पनि येसुसँगै शासक हुन रोज्नुभएको छ। महिलाहरूसित कस्तो व्यवहार गरिरहेका छौँ भनेर थाह पाउन परमेश्‍वरको वचन अध्ययन गऱ्‍यौँ र आफ्ना साथीहरूलाई सोध्यौँ भने हामीले दिदीबहिनीलाई उचित आदर देखाउन सिक्न सक्छौँ।

एल्डरहरूले कसरी दिदीबहिनीको आदर गर्न सक्छन्‌?

दिदीबहिनीसित आदरपूर्वक व्यवहार गर्ने सन्दर्भमा भाइहरूले मायालु एल्डरहरूको उदाहरण अनुकरण गर्न सक्छन्‌। एल्डरहरूले दिदीबहिनीलाई आदर देखाउने सन्दर्भमा कसरी राम्रो उदाहरण बसाल्न सक्छन्‌? केही तरिका विचार गरौँ।

तिनीहरू दिदीबहिनीको प्रशंसा गर्छन्‌। यस सन्दर्भमा प्रेषित पावलले एल्डरहरूको लागि राम्रो उदाहरण बसालेका छन्‌। तिनले रोमको मण्डलीलाई लेखेको पत्रमा केही दिदीबहिनीको प्रशंसा गरे। (रोमी १६:१२) मण्डलीलाई पावलको पत्र पढेर सुनाइँदा ती दिदीबहिनी कत्ति खुसी भए होलान्‌! त्यसैगरि एल्डरहरू दिदीबहिनीले देखाएका असल गुणहरू र यहोवाको सेवामा गरेको परिश्रमको खुलेर प्रशंसा गर्छन्‌। यस्तो प्रशंसा सुन्दा दिदीबहिनीहरू आफ्नो आदर गरिएको र आफूलाई अनमोल ठानिएको महसुस गर्छन्‌। दिदीबहिनीलाई यहोवाको सेवामा लागिरहन एल्डरहरूका प्रोत्साहनजनक शब्दहरूको खाँचो परिरहेको हुन सक्छ।—हितो. १५:२३.

एक एल्डर ह्विलचेयरमा भएकी एक वृद्धालाई मदत गरिरहेकी बहिनीको प्रशंसा गर्दै छन्‌।

प्रशंसा गर्नुहोस्‌

एल्डरहरूले दिदीबहिनीको मनैदेखि र तोकेरै प्रशंसा गर्नुपर्छ। किन? जेसिका भन्छिन्‌: “भाइहरूले ‘तपाईँले राम्रो गर्दै हुनुहुन्छ’ भनेको सुन्दा खुसी लाग्छ। तर उहाँहरूले कुनै कुराको तोकेरै प्रशंसा गर्दा झनै खुसी लाग्छ। जस्तै: छोराछोरीलाई सभाहरूमा ज्ञानी भएर बस्न सिकाएकोमा वा बाइबल विद्यार्थीलाई सभामा ल्याउन मेहनत गरेकोमा।” एल्डरहरूले तोकेरै दिदीबहिनीको प्रशंसा गर्दा तिनीहरूले मण्डलीमा आफ्नो पनि आवश्‍यकता भएको र आफ्नो मोल गरिएको महसुस गर्छन्‌।

तिनीहरू दिदीबहिनीको कुरा सुन्छन्‌। नम्र एल्डरहरू आफूलाई मात्र सबै कुरा थाह छ भन्‍ने सोचाइ राख्दैनन्‌। यस्ता एल्डरहरूले दिदीबहिनीको राय माग्छन्‌ र तिनीहरूको कुरा ध्यान दिएर सुन्छन्‌। यसो गर्दा दिदीबहिनीले प्रोत्साहन पाउँछन्‌ र एल्डरहरू आफैले पनि लाभ उठाउँछन्‌। कसरी? बेथेलमा सेवा गर्ने हारार्डो भन्‍ने एल्डर यसो भन्छन्‌: “दिदीबहिनीहरूको राय-सुझाव सुन्दा मैले आफ्नो काम अझ राम्ररी गर्न सकेको छु। अक्सर धेरैजसो भाइहरूले भन्दा बहिनीहरूले लामो समयदेखि कुनै काम गरिरहेका हुन सक्छन्‌।” मण्डलीमा थुप्रै दिदीबहिनी अग्रगामीको रूपमा सेवा गर्छन्‌। त्यसैले तिनीहरूलाई आफ्नो इलाकाका मानिसहरूबारे धेरै कुरा थाह हुन्छ। ब्रायन भन्‍ने एल्डर यसो भन्छन्‌: “हाम्रा दिदीबहिनीसित सङ्‌गठनलाई उपयोगी हुने थुप्रै असल गुण र सीप छन्‌। त्यसैले तिनीहरूको अनुभवबाट लाभ उठाउनुहोस्‌!”

एक एल्डर दुई जना बहिनीसित कुरा गर्दै छन्‌ र ट्रली साक्षीबारे तिनीहरूको सुझाव ध्यान दिएर सुन्दै छन्‌ नोट बुकमा टिप्दै छन्‌।

सुन्‍नुहोस्‌

बुद्धिमान्‌ एल्डरहरू दिदीबहिनीका सुझावहरूलाई पन्छाइहाल्दैनन्‌। किन? एड्‌वार्ड भन्‍ने एल्डर यसो भन्छन्‌: “कुनै बहिनीको विचार र अनुभवले भाइहरूलाई कुनै मामिला अझ राम्ररी बुझ्न र समानुभूतिशील हुन मदत गर्न सक्छ।” (हितो. १:५) कुनै बहिनीको सुझाव लागू गर्न नसकिने भए तापनि एल्डरले तिनलाई आफ्नो विचार व्यक्‍त गरेकोमा धन्यवाद दिन सक्छन्‌।

तिनीहरू दिदीबहिनीलाई तालिम दिन्छन्‌। बुद्धिमान्‌ एल्डरहरू दिदीबहिनीलाई तालिम दिने मौकाहरू खोज्छन्‌। जस्तै: क्षेत्र सेवाको सभा सञ्चालन गर्न बप्तिस्मा गरेका भाइहरू नभएको अवस्थामा उक्‍त सभा कसरी सञ्चालन गर्ने भनेर एल्डरहरूले दिदीबहिनीलाई सिकाउन सक्छन्‌। तिनीहरूले दिदीबहिनीलाई स्याहारसम्भार तथा निर्माण परियोजनाहरूमा मेसिनहरू र अन्य औजारहरू चलाउन तालिम दिन सक्छन्‌। बेथेलमा पनि निरीक्षकहरूले दिदीबहिनीलाई स्याहारसम्भार, किनमेल, लेखा, कम्प्युटरजस्ता विभागहरूमा सेवा गर्न तालिम दिएका छन्‌। यसरी तालिम दिँदा एल्डरहरूले दिदीबहिनीलाई सक्षम र भरोसायोग्य ठानेको देखाइरहेका हुन्छन्‌।

सभाभवन निर्माण परियोजनामा एक भाइ एउटी बहिनीलाई काठ चिर्ने मेसिन चलाउन तालिम दिँदै छन्‌।

तालिम दिनुहोस्‌

थुप्रै दिदीबहिनीले एल्डरहरूबाट पाएको तालिमको सदुपयोग गरेका छन्‌। जस्तै: केही दिदीबहिनीले निर्माण परियोजनाहरूमा सिकेको सीप प्राकृतिक प्रकोपमा क्षति भएका घरहरू पुनर्निर्माण गर्न प्रयोग गरेका छन्‌। अरूले भने सार्वजनिक साक्षीकार्यको लागि सिकेको कुरा अरू दिदीबहिनीलाई पनि सिकाएका छन्‌। एल्डरहरूबाट पाएका यस्ता तालिमहरूबारे दिदीबहिनीहरू कस्तो महसुस गर्छन्‌? जेनिफर यसो भन्छिन्‌: “एउटा सभाभवन निर्माण परियोजनामा सेवा गर्दा एक जना निरीक्षकले मलाई समय लगाएर सिकाउनुभयो। उहाँले मैले गरेको काम याद गर्नुभयो र मेरो प्रशंसा गर्नुभयो। उहाँ मेरो मोल गर्नुहुन्थ्यो र मलाई भरोसा गर्नुहुन्थ्यो। त्यसैले उहाँसित काम गर्न रमाइलो लाग्थ्यो।”

दिदीबहिनीलाई परिवारकै सदस्य ठान्‍नुका फाइदाहरू

यहोवाले जस्तै हामी वफादार दिदीबहिनीलाई माया गर्छौँ। हामी तिनीहरूलाई आफ्नै परिवारको सदस्य ठान्छौँ। (१ तिमो. ५:१, २) तिनीहरू सँगसँगै सेवा गर्न पाएकोमा हामी गर्व गर्छौं। अनि तिनीहरूले हाम्रो प्रेम र साथ पाएको महसुस गर्दा हामी धेरै खुसी हुन्छौँ। भनिसाले यसो भनिन्‌: “मैले भाइहरूबाट धेरै प्रोत्साहन पाएकी छु। यस्तो सङ्‌गठनको भाग हुन पाएकोमा म यहोवाप्रति धेरै कृतज्ञ छु।” ताइवानकी एक बहिनीले यसो भनिन्‌: “यहोवा र उहाँको सङ्‌गठनले स्त्रीहरू अनि तिनीहरूका भावनाहरूको धेरै कदर गर्नुहुन्छ। यसको लागि म धेरै आभारी छु। यसले मेरो विश्‍वासलाई बलियो बनाएको छ र यहोवाको सङ्‌गठनको भाग हुन पाएकोमा अझै कृतज्ञ हुन सकेकी छु।”

वफादार ख्रिष्टियन पुरुषहरूले दिदीबहिनीप्रति यहोवाको जस्तै दृष्टिकोण राखेको र तिनीहरूसित आदरपूर्वक व्यवहार गरेको देख्दा उहाँ कत्ति खुसी हुनुहुन्छ होला! (हितो. २७:११) स्कटल्याण्डका बेन्जामिन भन्‍ने एल्डर यसो भन्छन्‌: “संसारका प्रायजसो मानिसहरू स्त्रीहरूलाई तुच्छ ठान्छन्‌। तर सभाभवनमा आउने दिदीबहिनीले माया र आदर पाएको महसुस गरेको हामी चाहन्छौँ।” त्यसैले यहोवाको अनुकरण गर्दै हाम्रा प्यारा दिदीबहिनीसित प्रेम र आदरपूर्वक व्यवहार गर्न सक्दो कोसिस गरौँ!—रोमी १२:१०.

a “कोमल पात्र” भन्‍ने अभिव्यक्‍तिबारे थप कुरा बुझ्न जून १, २००६ अङ्‌कको प्रहरीधरहरा-मा “‘निर्बल पात्रको’ मोल” भन्‍ने लेख र मार्च १, २००५ अङ्‌कको प्रहरीधरहरा-मा “विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने