प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 अगस्त पृ. २६-३१
  • एल्डरहरूले मण्डलीबाट हटाइएकाहरूलाई कसरी मदत गर्न सक्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एल्डरहरूले मण्डलीबाट हटाइएकाहरूलाई कसरी मदत गर्न सक्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ”
  • मण्डलीबाट हटाइएकाहरूलाई एल्डरहरू कसरी मदत गर्छन्‌?
  • मण्डलीले के गर्न सक्छ?
  • यहोवाले जस्तै दया र कृपा देखाउनुहोस्‌
  • एल्डरहरूले गम्भीर पाप गर्ने व्यक्‍तिलाई कसरी प्रेम र कृपा देखाउन सक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मण्डलीले पाप गर्ने व्यक्‍तिप्रति कसरी यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • यहोवाका साक्षीहरू तिनीहरूको धर्मबाट हटाइएकाहरूसित कस्तो व्यवहार गर्छन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 अगस्त पृ. २६-३१

अध्ययन लेख ३५

गीत १२३ ईश्‍वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!

एल्डरहरूले मण्डलीबाट हटाइएकाहरूलाई कसरी मदत गर्न सक्छन्‌?

“एक जना पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ, त्यति रमाहट पश्‍चात्तापको कुनै खाँचो नभएको ९९ जना धर्मी मानिसका लागि हुँदैन।”​—लुका १५:७.

सिक्न सकिने कुरा

कसै-कसैलाई किन मण्डलीबाट हटाउनुपर्ने हुन्छ? एल्डरहरूले तिनीहरूलाई पश्‍चात्ताप गर्न र यहोवासित फेरि नजिक हुन कसरी मदत गर्न सक्छन्‌?

१-२. (क) पाप गरेर पश्‍चात्ताप नगर्नेहरूलाई यहोवा के गर्नुहुन्छ? (ख) उहाँ पाप गरेको व्यक्‍तिले के गरेको चाहनुहुन्छ?

यहोवा गलत आचरणलाई सहेर बस्नुहुन्‍न। उहाँ पापलाई घृणा गर्नुहुन्छ। (भज. ५:४-६) यहोवाका धार्मिक स्तरहरू बाइबलमा लेखिएका छन्‌ र हामीले ती पालन गरेको उहाँ चाहनुहुन्छ। यहोवालाई हामी त्रुटिपूर्ण छौँ र हामीबाट गल्ती हुन्छ भन्‍ने कुरा थाह छ। (भज. १३०:३, ४) तर उहाँ “भक्‍तिहीन मानिसहरू”-लाई सहनुहुन्‍न, “जो परमेश्‍वरको असीम अनुग्रहलाई निर्लज्ज आचरणमा चल्ने बहाना बनाउँछन्‌।” (यहु. ४) त्यसैले आरमागेडोनको युद्धमा ती “भक्‍तिहीन मानिसहरूको . . . विनाश” हुनेछ भनेर बाइबल बताउँछ।​—२ पत्रु. ३:७; प्रका. १६:१६.

२ यहोवा कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। यसअघिका लेखहरूमा छलफल गरिएझैँ उहाँ “सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) एल्डरहरू यहोवाको अनुकरण गर्दै पाप गर्ने व्यक्‍तिलाई पश्‍चात्ताप गर्न र फेरि यहोवासित नजिक हुन धीरजी भई मदत गर्छन्‌। तर गलत काम गर्ने सबैले नै पश्‍चात्ताप गर्छन्‌ भन्‍ने छैन। (यसै. ६:९) एल्डरहरूले पश्‍चात्ताप गर्न बारम्बार मदत दिँदा पनि कसै-कसैले आफ्नो गलत मार्ग त्याग्दैनन्‌। त्यस्तो अवस्थामा एल्डरहरूले के गर्नुपर्छ?

“त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ”

३. (क) बाइबलमा बताइएअनुसार पश्‍चात्ताप नगर्नेहरूलाई के गर्नुपर्छ? (ख) पाप गर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइँदा तिनले कुन अर्थमा आफूले जे छरे, त्यसैको कटनी गरिरहेका हुन्छन्‌?

३ पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गरेनन्‌ भने एल्डरहरूले पहिलो कोरिन्थी ५:१३ मा दिइएको निर्देशन पालन गर्नुपर्छ। त्यहाँ यस्तो लेखिएको छ: “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।” त्यसैले पाप गर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइँदा वास्तवमा तिनले जे छरे, त्यसैको कटनी गरिरहेका हुन्छन्‌। (गला. ६:७) हामी किन त्यसो भन्‍न सक्छौँ? किनभने एल्डरहरूले तिनलाई पश्‍चात्ताप गर्न बारम्बार मदत दिँदा पनि तिनले पश्‍चात्ताप गर्न चाहेनन्‌। (२ राजा १७:१२-१५) तिनले आफ्नो व्यवहारबाट यहोवाका स्तरहरू पालन गर्न नचाहेको कुरा देखाए।​—व्यव. ३०:१९, २०.

४. पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइएको घोषणा किन गरिन्छ?

४ पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइँदा तिनी अबदेखि यहोवाका साक्षी होइनन्‌ भनेर मण्डलीमा घोषणा गरिन्छ।a त्यो घोषणा गर्नुको उद्देश्‍य पाप गर्ने व्यक्‍तिलाई लज्जित तुल्याउनु त होइन। बरु मण्डलीका भाइबहिनीले “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू” र ‘खाँदै नखानू’ भन्‍ने बाइबलको आज्ञा पालन गर्न सकून्‌ भनेर त्यस्तो घोषणा गरिन्छ। (१ कोरि. ५:९-११) यो निर्देशन यहोवा परमेश्‍वरले मण्डलीकै भलाइको लागि दिनुभएको हो। प्रेषित पावलले यस्तो लेखे: “अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ।” (१ कोरि. ५:६) पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीबाट हटाइएन भने अरू भाइबहिनीमा नराम्रो प्रभाव पर्न सक्छ। तिनीहरूले यहोवाका धार्मिक स्तरहरू पालन नगरे पनि हुन्छ भनेर सोच्न सक्छन्‌।​—हितो. १३:२०; १ कोरि. १५:३३.

५. मण्डलीबाट हटाइएको व्यक्‍तिप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ र किन?

५ त्यसोभए मण्डलीबाट हटाइएको व्यक्‍तिप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? हुनत हामी तिनीसित सङ्‌गत गर्दैनौँ। तर तिनले कहिल्यै पश्‍चात्ताप गर्नेछैनन्‌ भन्‍ने सोचाइ पनि राख्दैनौँ। बरु यहोवाले जस्तै हामी तिनलाई एउटा हराएको भेडाको रूपमा हेर्छौँ, जो पछि बगालमा फर्कन सक्छन्‌। यो कुरा नबिर्सनुहोस्‌, ती व्यक्‍तिले यहोवालाई आफ्नो जीवन समर्पण गरेका थिए। तर दुःखको कुरा, अहिले तिनले समर्पणअनुसार जीवन बिताउन छोडेका छन्‌ र यसले गर्दा तिनले सधैँभरि बाँच्ने आशासमेत गुमाउन सक्छन्‌। (इज. १८:३१) तैपनि यहोवाले कृपा देखाउन्जेल तिनी फर्कोस्‌ भन्‍ने हामी आशा गर्छौँ। एल्डरहरू पनि यस्तै आशा गर्छन्‌। त्यसोभए एल्डरहरूले कसरी मण्डलीबाट हटाइएको व्यक्‍तिलाई मदत गर्छन्‌?

मण्डलीबाट हटाइएकाहरूलाई एल्डरहरू कसरी मदत गर्छन्‌?

६. मण्डलीबाट हटाइएको व्यक्‍तिलाई मदत गर्न एल्डरहरू के-के गर्छन्‌?

६ कुनै व्यक्‍तिलाई मण्डलीबाट हटाएपछि के एल्डरहरूले तिनी आफै यहोवाकहाँ फर्केर आओस्‌ भनेर त्यत्तिकै छोडिदिन्छन्‌? त्यसो त पक्कै गर्दैनन्‌। एल्डरहरूको समितिले तिनलाई मण्डलीबाट हटाइने जानकारी दिँदा तिनले मण्डलीमा फर्कन के-कस्तो कदम चाल्नुपर्छ भनेर पनि बताउँछ। प्रायजसो अवस्थामा एल्डरहरू तिनलाई केही महिनापछि फेरि भेट्‌न चाहेको कुरा पनि जानकारी गराउँछन्‌। तिनी भेट्‌न राजी छन्‌ भने त्यतिबेला भेट्‌दा एल्डरहरूले तिनको मन परिवर्तन भइसकेको छ कि छैन भनेर बुझ्ने प्रयास गर्छन्‌। साथै तिनलाई पश्‍चात्ताप गर्न र फेरि फर्कन पनि आग्रह गर्छन्‌। तर तिनले आफ्नो मन परिवर्तन गरिसकेका छैनन्‌ भने पनि एल्डरहरू तिनलाई फेरि भेट्‌न प्रयास गर्छन्‌।

७. मण्डलीबाट हटाइएको व्यक्‍तिसित व्यवहार गर्दा एल्डरहरू कसरी यहोवाले जस्तै दया देखाउने प्रयास गर्छन्‌? (यर्मिया ३:१२)

७ मण्डलीबाट हटाइएको व्यक्‍तिसित व्यवहार गर्दा एल्डरहरू यहोवाले जस्तै दया देखाउने प्रयास गर्छन्‌। उदाहरणको लागि, पुरातन समयमा इस्राएलीहरू यहोवाबाट तर्केर गएका थिए। त्यतिबेला यहोवाले तिनीहरू पश्‍चात्ताप गरेर आएपछि मदत गरूँला भनेर पर्खेर बस्नुभएन। बरु मदत गर्न आफै अग्रसर हुनुभयो। यस पत्रिकाको दोस्रो अध्ययन लेखमा बताइएझैँ यहोवाले होसेलाई व्यभिचार गर्न नछोडेकी आफ्नी पत्नीसित मिलाप गर्न भन्‍नुभयो। यसरी उहाँले आफू कत्ति दयालु छु भनेर देखाउनुभयो। (होसे ३:१; मला. ३:७) एल्डरहरू पनि यहोवाजस्तै दयालु हुने प्रयास गर्छन्‌। तिनीहरू गलत काम गर्ने व्यक्‍ति फर्केर आएको चाहन्छन्‌ र तिनलाई फर्कन सजिलो होस्‌ भनेर आवश्‍यक मदत दिन्छन्‌।​—यर्मिया ३:१२ पढ्‌नुहोस्‌।

८. हराएको छोराको उदाहरणले यहोवाको दया अनि कृपाबारे अझ राम्ररी बुझ्न कसरी मदत गर्छ? (लुका १५:७)

८ यस पत्रिकाको दोस्रो अध्ययन लेखमा हराएको छोराको उदाहरणबारे छलफल गरिएको थियो। आफ्नो छोरा आउँदै गरेको टाढैबाट देखेपछि बुबाले “दौडँदै गएर उसलाई अङ्‌गालो हाल्यो र चुम्बन गऱ्‍यो।” (लुका १५:२०) ती बुबाले छोराले पहिला आफूकहाँ आएर माफी मागोस्‌ अनि माफी दिऊँला भनेर पर्खेर बसेन। बरु छोरालाई भेट्‌न दौडेर गयो किनकि ऊ छोरालाई माया गर्थ्यो। एल्डरहरू पनि मण्डलीबाट तर्केर गएकाहरूप्रति त्यस्तै मनोवृत्ति देखाउने प्रयास गर्छन्‌। तिनीहरू ती हराएका भेडाहरू यहोवाकहाँ फर्केर आएको चाहन्छन्‌। (लुका १५:२२-२४, ३२) पाप गरेका व्यक्‍ति पश्‍चात्ताप गरेर फर्केर आउँदा स्वर्गमा मात्र होइन, पृथ्वीमा पनि रमाहट हुन्छ।​—लुका १५:७ पढ्‌नुहोस्‌।

९. यहोवा पाप गरेका व्यक्‍तिहरूले के गरेको चाहनुहुन्छ?

९ यहाँसम्म हामीले यहोवा गलत काम गरेर पश्‍चात्ताप नगर्नेहरूलाई मण्डलीमा रहिरहन दिनुहुन्‍न भनेर बुझ्यौँ। तर उहाँ तिनीहरू फर्केको चाहनुहुन्छ र आवश्‍यक मदत पनि दिनुहुन्छ। यहोवा पश्‍चात्ताप गरेर फर्केकाहरूप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर होसे १४:४ मा यसो भनिएको छ: “म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्‍वासघाती हुनेछैनन्‌। म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।” यसबाट एल्डरहरूले कस्तो प्रोत्साहन पाउँछन्‌? एल्डरहरूले गलत काम गरेका व्यक्‍तिले पश्‍चात्ताप गर्न चाहेको कुनै सङ्‌केत देख्नेबित्तिकै कदम चालिहाल्न प्रोत्साहन पाउँछन्‌। साथै ती गलत काम गर्ने व्यक्‍तिले पनि तुरुन्तै यहोवाकहाँ फर्कनुपर्छ भनेर प्रोत्साहन पाउँछन्‌।

१०-११. धेरै वर्षअघि नै मण्डलीबाट हटाइएका व्यक्‍तिहरूलाई एल्डरहरूले कसरी मदत गर्छन्‌?

१० धेरै वर्षअघि मण्डलीबाट हटाइएको व्यक्‍तिबारे चाहिँ के भन्‍न सकिन्छ? तिनले जुन गलत काम गरेकाले तिनलाई मण्डलीबाट हटाइएको थियो, त्यो तिनले छोडिसकेका हुन सक्छन्‌। कतिपय अवस्थामा त आफूलाई किन हटाइएको थियो भनेर पनि तिनले बिर्सिसकेका हुन सक्छन्‌। जेहोस्‌, एल्डरहरू तिनीहरूलाई खोजेर भेट्‌ने प्रयास गर्छन्‌। यसरी भेट्‌दा एल्डरहरू तिनीसितै प्रार्थना गर्छन्‌ र तिनलाई मण्डलीमा फर्कन न्यानो आग्रह गर्छन्‌। तिनी मण्डलीबाट टाढिएको धेरै समय भएकोले पक्कै पनि आध्यात्मिक तवरमा कमजोर हुन्छन्‌। त्यसैले यदि तिनी मण्डलीमा फर्कन चाहन्छन्‌ तर पुनर्बहाली भइसकेका छैनन्‌ भने पनि तिनलाई बाइबल अध्ययन गराउन एल्डरहरूले कसैलाई खटाउन सक्छन्‌। यस्तो अध्ययनको प्रबन्ध सधैँ एल्डरहरूले नै मिलाउनुपर्छ।

११ एल्डरहरू यहोवाजस्तै दयालु हुन चाहन्छन्‌। त्यसैले तिनीहरू यहोवाबाट तर्केकाहरूलाई खोज्न र तिनीहरूलाई उहाँकहाँ फर्कन मदत दिन सक्दो प्रयास गर्छन्‌। पाप गरेको व्यक्‍तिले पश्‍चात्ताप गर्छन्‌ र आफ्नो गलत मार्ग त्याग्छन्‌ भने तिनलाई पुनर्बहाली गर्न ढिलासुस्ती गर्नु आवश्‍यक छैन।​—२ कोरि. २:६-८.

१२. (क) कस्ता अवस्थाहरूमा एल्डरहरूले सावधानी अपनाउनुपर्छ? (ख) कुनै-कुनै किसिमको पाप गरेका व्यक्‍तिहरूले कहिल्यै यहोवाको कृपा पाउन सक्दैनन्‌ भन्‍ने सोचाइ हामीले किन राख्नु हुँदैन? (फुटनोट पनि हेर्नुहोस्‌।)

१२ कुनै-कुनै अवस्थामा भने एल्डरहरूले पुनर्बहाली गर्नुअघि सावधानी अपनाउनुपर्छ। जस्तै: बाल दुर्व्यवहार गरेकोले, धर्मत्यागी भएकोले वा नियोजित योजना बनाएर वैवाहिक सम्बन्ध अन्त्य गरेकोले। यस्ता कारणहरूले गर्दा कसैलाई मण्डलीबाट हटाइएको थियो भने एल्डरहरूले तिनले साँचो पश्‍चात्ताप गरेका हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्नुपर्छ। एल्डरहरूले बगालको सुरक्षा गर्नै पर्छ। (मला. २:१४; २ तिमो. ३:६) त्यसको साथै यहोवा साँचो पश्‍चात्ताप गरेर गलत मार्ग त्यागेकाहरूलाई फेरि स्विकार्नुहुन्छ भन्‍ने कुरा पनि मनमा राख्नुपर्छ। त्यसैले यहाँ उल्लेख गरिएजस्ता गम्भीर पाप गर्ने व्यक्‍तिलाई पुनर्बहाली गर्दा एल्डरहरूले सावधानी अपनाउनुपर्छ। तर त्यस्ता व्यक्‍तिहरूले कहिल्यै यहोवाबाट कृपा पाउन सक्दैनन्‌ भन्‍ने सोचाइ राख्नु हुँदैन।b​—१ पत्रु. २:१०.

मण्डलीले के गर्न सक्छ?

१३. सुधार गरिएको व्यक्‍तिसित अनि मण्डलीबाट हटाइएको व्यक्‍तिसित हामी कस्तो व्यवहार गर्छौँ?

१३ अघिल्लो लेखमा छलफल गरिएझैँ यदि कसैलाई सुधार गरिएको घोषणा गरिन्छ भने हामी त्यस्तो व्यक्‍तिसित सङ्‌गत गर्न सक्छौँ। किनभने तिनले पश्‍चात्ताप गरेर आफ्नो गलत मार्ग त्यागिसकेका छन्‌। (१ तिमो. ५:२०) तिनी अझै पनि मण्डलीकै भाग हुन्‌ र तिनलाई भाइबहिनीको प्रोत्साहन चाहिन्छ। (हिब्रू १०:२४, २५) तर मण्डलीबाट हटाइएको व्यक्‍तिबारे भने कुरा फरक छ। हामी त्यस्तो मानिससित ‘सङ्‌गत गर्न छोड्‌छौँ’ र ‘खाँदा पनि खाँदैनौँ।’​—१ कोरि. ५:११.

१४. मण्डलीबाट हटाइएको व्यक्‍तिसित व्यवहार गर्ने सन्दर्भमा प्रत्येक ख्रिष्टियनले कसरी बाइबल प्रशिक्षित अन्तस्करण चलाउन सक्छन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

१४ त्यसोभए के हामीले मण्डलीबाट हटाइएकाहरूलाई पूरै बेवास्ता गर्नुपर्छ भन्‍ने हो? त्यसो त होइन। हामी तिनीसित सरसङ्‌गत गर्दैनौँ। तर मण्डलीबाट हटाइएको व्यक्‍तिलाई सभामा बोलाउने कि नबोलाउने भनेर प्रत्येक ख्रिष्टियनले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्न सक्छन्‌। उक्‍त व्यक्‍ति हाम्रो पहिलाको घनिष्ठ साथी वा आफन्त पनि हुन सक्छन्‌। तिनी सभामा आए भने हामी के गर्न सक्छौँ? पहिला-पहिला हामी त्यस्तो व्यक्‍तिलाई अभिवादन गर्दैनथ्यौँ। तर यस सन्दर्भमा पनि प्रत्येक ख्रिष्टियनले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्न सक्छन्‌। ती व्यक्‍तिलाई अभिवादन गर्न वा मण्डलीमा स्वागत गर्न कसै-कसैलाई ठीकै लाग्न सक्छ। तर हामी तिनीसित लामो कुराकानी वा सरसङ्‌गत भने गर्दैनौँ।

चित्रहरूको सँगालो: १. एक बहिनी मण्डलीबाट हटाइएकी बहिनीलाई फोन गरेर सभामा निम्तो दिँदै छिन्‌। २. ती बहिनी र उनका श्रीमान्‌ मण्डलीबाट हटाइएकी बहिनीलाई सभामा न्यानो अभिवादन गर्दै छन्‌।

मण्डलीबाट हटाइएको व्यक्‍तिलाई सभामा निम्तो दिने कि नदिने वा त्यस्तो व्यक्‍ति सभामा आउँदा अभिवादन गर्ने किन नगर्ने, त्यो प्रत्येक ख्रिष्टियनले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्न सक्छन्‌ (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५. दोस्रो युहन्‍ना ९-११ मा कस्तो पाप गर्ने व्यक्‍तिहरूबारे बताइएको हो? (“के युहन्‍ना र पावलले एउटै किसिमको पापबारे कुरा गरिरहेका थिए?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१५ तर कसै-कसैलाई यस्तो लाग्न सक्छ: ‘बाइबलमा त जसले मण्डलीबाट हटाइएको व्यक्‍तिलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्कर्महरूमा सहभागी हुन्छ भनिएको छ नि!’ (२ युहन्‍ना ९-११ पढ्‌नुहोस्‌।) यी पदहरूको प्रसङ्‌ग विचार गर्दा यो निर्देशन धर्मत्यागीहरू र गलत कामलाई सक्रिय भई बढावा दिनेहरूको सन्दर्भमा दिइएको हो भनेर स्पष्ट हुन्छ। (प्रका. २:२०) त्यसैले यदि कुनै व्यक्‍तिले धर्मत्यागी शिक्षा वा गलत कामलाई सक्रिय भई बढावा दिइरहन्छन्‌ भने एल्डरहरूले त्यस्तो व्यक्‍तिलाई भेट्‌ने प्रबन्ध मिलाउने छैनन्‌। तैपनि कुनै दिन तिनको होस खुल्नेछ भन्‍ने कुराको हामी आशा गर्छौँ। तर त्यतिन्जेल हामी न त तिनलाई अभिवादन गर्छौँ न त सभामा आउन निम्तो नै दिन्छौँ।

के युहन्‍ना र पावलले एउटै किसिमको पापबारे कुरा गरिरहेका थिए?

प्रेषित युहन्‍नाले दोस्रो पत्रमा यस्तो लेखे: “यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ वा त्यसलाई अभिवादन पनि नगर। किनकि जसले त्यसलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्कर्महरूमा सहभागी भएको हुन्छ।”​—२ युह. १०, ११.

प्रेषित पावलले १ कोरिन्थी ५:११ मा मण्डलीबाट हटाइएकाहरूसित “सङ्‌गत गर्न छोड्‌नू” भने। त्यसोभए के युहन्‍ना र पावलले एउटै किसिमको पापबारे कुरा गरिरहेका थिए? थिएनन्‌।

प्रेषित पावलले अवैध यौनसम्बन्ध राखेका व्यक्‍तिबारे लेखे। त्यसको लगभग ४३ वर्षपछि प्रेषित युहन्‍नाले भने धर्मत्यागीहरू अनि सक्रिय भई झूटा शिक्षाहरू र गलत कामलाई बढावा दिइरहेका व्यक्‍तिहरूबारे लेखे। उदाहरणको लागि, कसै-कसैले येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गरिरहेका थिए र अरूलाई पनि त्यस्तो कुरा सिकाइरहेका थिए।​—१ युह. २:२२; ४:२, ३.

युहन्‍नाले आफ्ना पत्रहरू लेख्दासम्म धर्मत्याग निकै फैलिसकेको थियो। हुनत तिनी त्यसलाई पूरै रोक्न सक्दैन थिए तर अरू प्रेषितहरूले जस्तै तिनले सकेसम्म त्यसलाई “रोक्ने काम गरिरहे।”​—२ थिस्स. २:७.

युहन्‍नाले छल गर्नेहरू र झूटा शिक्षकहरूको बहकाउमा नपर्न भाइबहिनीलाई चेतावनी दिए। तिनले त्यस्ता व्यक्‍तिहरूलाई घरमा पस्न नदिनू र अभिवादनसमेत नगर्नू भनेर निर्देशन दिए। किनभने यसो गर्दा तिनीहरूले आफ्नो टेढोमेढो अनि भ्रष्ट शिक्षा सुनाउने मौका पाउने थिए। आज हामीले पनि धर्मत्यागीहरूको ब्लग र सोसल मिडियामा गएर कमेन्ट गर्दा तिनीहरूलाई त्यस्तै मौका दिइरहेका हुन्छौँ। जसले धर्मत्यागीलाई अभिवादन गर्छ, “ऊ त्यसका दुष्कर्महरूमा सहभागी भएको हुन्छ।”

तर पावलले भने १ कोरिन्थी अध्याय ५ मा अवैध यौनसम्बन्ध राखेकोले मण्डलीबाट हटाइएको मानिसबारे कुरा गरिरहेका थिए। तिनी धर्मत्यागी थिएनन्‌ जस्तो देखिन्छ र तिनले अरूलाई परमेश्‍वरका स्तरहरू उल्लङ्‌घन गर्न सिकाइरहेका पनि थिएनन्‌। (प्रकाश २:२० तुलना गर्नुहोस्‌।) त्यसैले पावलले तिनीसित सङ्‌गत नगर्नू र खाँदा पनि नखानू भनेर निर्देशन दिए। तर तिनलाई अभिवादनसमेत नगर्नू चाहिँ भनेनन्‌।

यहोवाले जस्तै दया र कृपा देखाउनुहोस्‌

१६-१७. (क) यहोवा पाप गर्ने व्यक्‍तिले के गरेको चाहनुहुन्छ? (इजकिएल १८:३२) (ख) एल्डरहरू कसरी यहोवासँगै मिलेर काम गर्छन्‌?

१६ यस पत्रिकामा भएका पाँच वटा अध्ययन लेखहरूबाट हामीले के सिक्यौँ? यहोवा कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। (इजकिएल १८:३२ पढ्‌नुहोस्‌।) उहाँ पाप गर्ने व्यक्‍तिहरूले उहाँसित मिलाप गरेको चाहनुहुन्छ। (२ कोरि. ५:२०) त्यसैले विगतमा अनि अहिले पनि यहोवाले आफूबाट तर्केर गएकाहरूलाई पश्‍चात्ताप गर्न र उहाँकहाँ फर्कन बारम्बार आग्रह गर्दै आउनुभएको छ। गम्भीर गलत काम गरेकाहरूलाई पश्‍चात्ताप गर्न मदत दिन एल्डरहरूले यहोवासँगै मिलेर काम गर्ने ठूलो सुअवसर पाएका छन्‌।​—रोमी २:४; १ कोरि. ३:९.

१७ पाप गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्दा स्वर्गमा असाध्यै रमाहट हुन्छ। आफ्नो हराएको भेडा मण्डलीमा फर्कँदा यहोवा सधैँ रमाउनुहुन्छ। यहोवाको दया, कृपा र असीम अनुग्रहबारे मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम प्रगाढ हुँदै जान्छ।​—लुका १:७८.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • कसै-कसैलाई किन मण्डलीबाट हटाउनुपर्ने हुन्छ?

  • एल्डरहरूले कसरी यहोवाले जस्तै दया देखाउन सक्छन्‌?

  • मण्डलीबाट हटाइएको व्यक्‍तिसित व्यवहार गर्ने सन्दर्भमा प्रत्येकले कस्तो निर्णय गर्न सक्छन्‌?

गीत १११ हामी आनन्दित हुनुको कारण

a अबदेखि हामी त्यस्ता व्यक्‍तिहरूलाई बहिष्कार गरिएको व्यक्‍ति भन्‍नेछैनौँ बरु पहिलो कोरिन्थी ५:१३ मा बताइएअनुसार त्यस्तो व्यक्‍तिलाई मण्डलीबाट हटाइएको व्यक्‍ति भन्‍नेछौँ।

b कुनै व्यक्‍तिले कस्तो पाप गरे, त्यसको आधारमा तिनी क्षमा पाउन लायकका छन्‌ कि छैनन्‌ भन्‍ने कुरा निर्धारण हुँदैन। तर यदि कुनै व्यक्‍तिले आफ्नो हृदय कठोर बनाइरहन्छ र परमेश्‍वरलाई मन नपर्ने काम गरिरहन्छ भने त्यस्तो व्यक्‍तिले कहिल्यै क्षमा पाउनेछैन भनेर बाइबल बताउँछ। कुनै व्यक्‍तिले गरेको पाप कहिल्यै क्षमा पाउन नसकिने किसिमको हो कि होइन भनेर यहोवा र येसुले मात्रै न्याय गर्न सक्नुहुन्छ।​—मर्कु. ३:२९; हिब्रू १०:२६, २७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने