अध्ययन लेख २४
गीत ९८ धर्मशास्त्र—ईश्वर प्रेरित
याकुबले मृत्युअघि गरेको भविष्यवाणीबाट सिक्न सकिने पाठहरू—भाग १
“तिमीहरू सबै मेरो सामु जम्मा होओ। पछि तिमीहरूको जीवनमा के-के हुनेछ, म बताउँछु।”—उत्प. ४९:१.
सिक्न सकिने कुरा
याकुबले आफ्नो मृत्यु हुनुअघि रुबेन, सिमियोन, लेवि र यहुदाबारे गरेको भविष्यवाणीबाट सिक्न सकिने पाठहरू।
१-२. मृत्यु हुनुअघि याकुबले के गरे र किन? (चित्र हेर्नुहोस्।)
यहोवाको वफादार सेवक याकुब आफ्नो सम्पूर्ण परिवारसहित कनानबाट मिश्र गएको लगभग १७ वर्ष भइसकेको थियो। (उत्प. ४७:२८) त्यतिबेला आफ्नो प्यारो छोरा युसुफलाई भेट्न पाउँदा र आफ्नो सम्पूर्ण परिवार एक भएको देख्दा तिनी असाध्यै खुसी थिए। तर अब चाँडै तिनको मृत्यु हुन लागेको थियो। त्यसैले तिनले आफ्ना सबै छोराहरूलाई भेला गराए। किनभने तिनी उनीहरूलाई केही महत्त्वपूर्ण कुरा बताउन चाहन्थे।—उत्प. ४९:२८.
२ पुरातन समयमा साधारणतया परिवारको शिरले आफ्नो मृत्यु हुनुअघि परिवारका सबै सदस्यहरूलाई भेला गराएर केही कुराहरू बताउने गर्थे। (यसै. ३८:१) त्यतिबेला तिनले आफ्नो मृत्युपछि परिवारमा कसले नेतृत्व लिनेछ भनेर पनि बताउँथे।
याकुब मृत्युअघि आफ्ना १२ जना छोराबारे भविष्यवाणी गर्दै छन् (अनुच्छेद १-२ हेर्नुहोस्)
३. याकुबले आफ्नो मृत्यु हुनुअघि भनेका कुराहरू किन महत्त्वपूर्ण थिए? (उत्पत्ति ४९:१, २)
३ उत्पत्ति ४९:१, २ पढ्नुहोस्। तर याकुबले आफ्ना छोराहरूलाई भेला गर्नुको उद्देश्य त्यति मात्र थिएन। याकुब एक भविष्यवक्ता थिए। तिनले यहोवाको प्रेरणा पाएर आफ्ना छोराहरूलाई भविष्यमा हुने महत्त्वपूर्ण घटनाहरूबारे बताए। ती घटनाहरूले तिनीहरू र तिनीहरूका सन्तानहरूलाई प्रत्यक्ष असर गर्ने थियो।
४. यस लेखमा हामी के छलफल गर्नेछौँ? (“याकुबको परिवार” भन्ने पेटी पनि हेर्नुहोस्।)
४ यस लेखमा याकुबले आफ्ना चार जना छोरा रुबेन, सिमियोन, लेवि र यहुदालाई भनेका कुराहरू छलफल गर्नेछौँ। यसपछिको लेखमा भने तिनले बाँकी आठ जना छोराहरूलाई भनेका कुराहरूबारे छलफल गर्नेछौँ। साथै याकुबले आफ्ना छोराहरूबारे मात्रै होइन बरु तिनीहरूका सन्तानबारे पनि कस्तो भविष्यवाणी गरे भनेर केलाउनेछौँ। तिनीहरू मिलेर नै पछि इस्राएल राष्ट्र बन्ने थियो। इस्राएलको इतिहास केलाउँदा याकुबको भविष्यवाणी कसरी पूरा भयो भनेर थाह पाउनेछौँ। साथै तिनले मृत्युअघि भनेका कुराहरूबाट यहोवालाई खुसी बनाउन हामी के गर्न सक्छौँ भनेर पनि सिक्नेछौँ।
रुबेन
५. रुबेनले के आशा गरेका हुन सक्छन्?
५ याकुबले यसो भन्दै आफ्नो कुरा सुरु गरे: “रुबेन, तिमी मेरो पहिलो सन्तान . . . हौ।” (उत्प. ४९:३) पहिलो सन्तान भएकोले रुबेनले आफ्ना भाइहरूले भन्दा दुई गुणा अंश पाउने आशा गरेका हुन सक्छन्। तिनले बुबाको मृत्युपछि आफू परिवारको शिर हुनेछु र त्यो अधिकार सधैँ आफ्नो कुलभित्र रहनेछ भनेर पनि सोचेका हुन सक्छन्।
६. रुबेनले किन ज्येष्ठ-अधिकार गुमाए? (उत्पत्ति ४९:३, ४)
६ तर रुबेनले आफ्नो ज्येष्ठ-अधिकार गुमाए। (१ इति. ५:१) किन? किनभने केही वर्षअघि तिनले आफ्नो बुबाकी उपपत्नी बिल्हासित अवैध यौनसम्बन्ध राखेका थिए। उनी याकुबकी प्यारी पत्नी राहेलकी दासी थिइन्। (उत्प. ३५:१९, २२) रुबेनले किन बिल्हासित अवैध यौनसम्बन्ध राखे? रुबेन याकुबकी अर्की पत्नी लेआका छोरा थिए। त्यसैले आफ्नो बुबा याकुबले बिल्हालाई घृणा गरोस् र आफ्नी आमालाई अझ धेरै माया गर्न थालोस् भनेर रुबेनले त्यसो गरेका हुन सक्छन्। अथवा तिनी बिल्हाप्रति आकर्षित भएका हुन सक्छन् र आफ्नो यौनइच्छालाई काबूमा राख्न नसकेका हुन सक्छन्। तर कारण जेसुकै भए पनि तिनले यस्तो नीच काम गरेर यहोवा र आफ्नो बुबालाई असाध्यै दुःखी बनाए।—उत्पत्ति ४९:३, ४ पढ्नुहोस्।
७. याकुबले रुबेनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (“याकुबले मृत्युअघि गरेको भविष्यवाणी” भन्ने पेटी पनि हेर्नुहोस्।)
७ याकुबले रुबेनलाई यसो भने: “तिमी आफ्ना भाइहरूभन्दा महान् हुन पाउनेछैनौ।” तिनको यो कुरा साँच्चै पूरा भयो। रुबेनका सन्तानहरूमध्ये कोही पनि राजा, पुजारी वा भविष्यवक्ता भएको रेकर्ड हामी बाइबलमा पाउँदैनौँ। तर याकुबले रुबेनलाई कुनै अधिकार दिएनन् भन्ने त होइन। पछि रुबेनका सन्तानहरू इस्राएलको एउटा कुलको रूपमा चिनिए। (यहो. १२:६) रुबेनले विभिन्न अवस्थामा असल गुणहरू देखाएका थिए। तिनले फेरि अवैध यौनसम्बन्ध राखेको विवरण पनि बाइबलमा पाइँदैन।—उत्प. ३७:२०-२२; ४२:३७.
८. रुबेनको विवरणबाट हामी के सिक्न सक्छौँ?
८ हामी के सिक्न सक्छौँ? हामीले आत्मसंयम विकास गर्नुपर्छ र अवैध यौनसम्बन्धदेखि अलग्गै बस्ने सङ्कल्प गर्नुपर्छ। यदि पाप गर्ने प्रलोभन आयो भने हामीले एकछिन रोकिएर हाम्रो गलत कदमले यहोवालाई, परिवारलाई अनि अरूलाई कत्ति चोट पुऱ्याउन सक्छ भन्ने कुरा सोच्नुपर्छ। साथै हामीले ‘जे छर्छौँ, त्यसैको कटनी पनि गर्नेछौँ’ भन्ने कुरा पनि बिर्सनु हुँदैन। (गला. ६:७) रुबेनको विवरणबाट यहोवा कृपालु हुनुहुन्छ भनेर पनि बुझ्न सक्छौँ। हुनत हामीले आफ्नो गल्तीको नतिजा भोग्नै पर्ने हुन्छ। तर पश्चात्ताप गऱ्यौँ र जे सही छ, त्यही गर्ने प्रयास गऱ्यौँ भने यहोवाले हामीलाई क्षमा दिनुहुनेछ र उहाँबाट आशिष् पनि पाउनेछौँ।
सिमियोन र लेवि
९. याकुब किन सिमियोन र लेविदेखि खुसी थिएनन्? (उत्पत्ति ४९:५-७)
९ उत्पत्ति ४९:५-७ पढ्नुहोस्। रुबेनपछि याकुबले सिमियोन र लेविसित कुरा गरे। याकुबका शब्दहरूबाट तिनी उनीहरूदेखि पटक्कै खुसी थिएनन् भन्ने देखिन्छ। किन? वर्षौँअघिको कुरा हो, सकेम नाम गरेका कनानी पुरुषले याकुबकी छोरी दिनाको इज्जत लुटेका थिए। यो देख्दा तिनका दाइहरूलाई रिस उठ्नु स्वाभाविकै थियो। तर सिमियोन र लेविले भने आफ्नो रिसलाई काबूमा राखेनन्। उनीहरूले सकेम र तिनका मानिसहरूले खतना गरेमा मिलाप गर्ने वाचा गरे। तिनीहरू पनि त्यसो गर्न राजी भए। तर यो सिमियोन र लेविको धूर्त चाल थियो। खतना गरेकोले सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला सिमियोन र लेवि “तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्का गरेनन्।” तिनीहरूले “सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्।”—उत्प. ३४:२५-२९.
१०. याकुबले सिमियोन र लेविबारे गरेको भविष्यवाणी कसरी पूरा भयो? (“याकुबले मृत्युअघि गरेको भविष्यवाणी” भन्ने पेटी पनि हेर्नुहोस्।)
१० आफ्ना यी दुई छोराहरूले हिंसा मच्चाएको देखेर याकुबलाई असाध्यै नमीठो लाग्यो। त्यसैले तिनले उनीहरू इस्राएलमा तितरबितर हुनेछन् भनेर भविष्यवाणी गरे। यो भविष्यवाणी २०० वर्षभन्दा पछि मात्रै पूरा भयो, जब इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरे। सिमियोनको कुलले पैतृक सम्पत्तिको रूपमा यहुदाको कुलको इलाकामा विभिन्न ठाउँमा छरिएर रहेका सहरहरू पाए। (यहो. १९:१) लेविको कुलले भने इस्राएलको विभिन्न ठाउँमा छरिएर रहेको ४८ वटा सहर पाए।—यहो. २१:४१.
११. सिमियोन र लेविको कुलले कस्ता असल कामहरू गरे?
११ सिमियोन र लेविले गरेको गल्ती तिनीहरूका सन्तानले दोहोऱ्याएनन्। लेविको कुलले शुद्ध उपासनालाई पूरापूर साथ दियो। मोसा सिनै डाँडामा यहोवाको व्यवस्था लिन गएको बेला थुप्रै इस्राएलीहरूले बाछोको मूर्तिको उपासना गरे। तर लेविको कुलले मोसाको पक्ष लियो र मूर्तिपूजा गर्नेहरूलाई नाश गर्न तिनलाई मदत गऱ्यो। (प्रस्थ. ३२:२६-२९) यहोवाले लेविको कुललाई एउटा विशेष कामको लागि अलग्गै छुट्ट्याउनुभयो। तिनीहरूले इस्राएलमा पुजारीको रूपमा सेवा गर्ने सुअवसर पाए। (प्रस्थ. ४०:१२-१५; गन्ती ३:११, १२) सिमियोनको कुल पनि यहोवाको उद्देश्यअनुसारै चल्यो। प्रतिज्ञा गरिएको देश कब्जा गर्ने बेला सिमियोनको कुलले यहुदाको कुललाई लडाइँमा साथ दियो।—न्याय. १:३, १७.
१२. सिमियोन र लेविको विवरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?
१२ हामी के सिक्न सक्छौँ? तपाईँले वा तपाईँले माया गर्ने व्यक्तिले दुर्व्यवहार भोग्नुपर्दा रिस उठ्नु स्वाभाविकै हो। तर रिसको झोकमा गलत कदम नचाल्नुहोस्। (भज. ४:४) किनभने हाम्रो बोली र व्यवहारमा रिस झल्किएको यहोवालाई मन पर्दैन। (याकु. १:२०) हामीले कहिलेकाहीँ मण्डलीभित्रैका वा बाहिरका मानिसहरूबाट अन्याय भोग्नुपर्ने हुन सक्छ। त्यतिबेला हामीले बाइबलका सिद्धान्तहरू लागू गर्नुपर्छ। त्यसो गर्दा हामी अरूलाई हानि पुग्ने बोली बोल्न वा कामहरू गर्नदेखि जोगिन सक्छौँ। (रोमी १२:१७, १९; १ पत्रु. ३:९) सिमियोन र लेविको विवरणबाट हामी अर्को कुरा पनि सिक्न सक्छौँ। यदि तपाईँको आमाबुबाले नै यहोवालाई मन नपर्ने काम गरिरहेका छन् भने तपाईँले पनि उहाँहरूले जस्तै गर्नुपर्छ भन्ने नसोच्नुहोस्। आफूले कहिल्यै पनि यहोवालाई खुसी पार्न र उहाँको आशिष् पाउन सक्दिनँ भन्ने सोचाइ नराख्नुहोस्। उहाँले तपाईँलाई जे सही हो, त्यो गर्न मदत गर्नुहुनेछ र तपाईँले त्यस्तो प्रयास गर्नुभएकोमा इनाम पनि दिनुहुनेछ।
यहुदा
१३. बुबाले आफूसित कुरा गर्ने पालो आउँदा यहुदालाई किन चिन्ता लागेको हुन सक्छ?
१३ सिमियोन र लेविपछि याकुबले यहुदासित कुरा गरे। बुबाले दाइहरूलाई भनेको कुरा सुनेपछि यहुदालाई कता-कता चिन्ता लागेको हुनुपर्छ। किनभने तिनले पनि केही गम्भीर गल्ती गरेका थिए। सिमियोन र लेविले सकेमका पुरुषहरूलाई मारेपछि यहुदा पनि त्यो सहरलाई लुट्न गएका थिए। (उत्प. ३४:२७) साथै तिनले युसुफलाई दासको रूपमा बेच्न र त्यो कुरा बुबाबाट लुकाउन आफ्ना दाजुभाइहरूलाई साथ दिएका थिए। (उत्प. ३७:३१-३३) पछि तिनले आफ्नी बुहारी तामारलाई वेश्या भन्ठानेर उनीसित अवैध यौनसम्बन्ध राखेका थिए।—उत्प. ३८:१५-१८.
१४. यहुदाले के-कस्ता असल काम गरेका थिए? (उत्पत्ति ४९:८, ९)
१४ तर याकुबले परमेश्वरको प्रेरणा पाएर यहुदालाई आशिष् दिए र तिनको प्रशंसा गरे। (उत्पत्ति ४९:८, ९ पढ्नुहोस्।) यहुदा आफ्नो कान्छो भाइ बिन्यामिनलाई असाध्यै माया गर्थे। त्यसैले तिनी मिश्रमा बिन्यामिनको सट्टा आफै दास भएर बस्न पनि राजी भएका थिए। बिन्यामिनलाई मिश्रमै छोडेमा आफ्नो बुबा शोकमा पर्नेछन् भनेर पनि यहुदाले चिन्ता व्यक्त गरेका थिए। यसरी तिनले वृद्ध भइसकेका आफ्नो बुबाको ख्याल राखेको देखाए।—उत्प. ४४:१८, ३०-३४.
१५. यहुदाले के-कस्ता आशिष् पाए?
१५ यहुदाले आफ्ना दाजुभाइहरूमाझ नेतृत्व लिनेछन् भनेर याकुबले भविष्यवाणी गरे। तर त्यो भविष्यवाणी लगभग २०० वर्षपछि मात्रै पूरा हुन थाल्यो। इस्राएलीहरू मिश्रबाट निस्केर निर्जनभूमि हुँदै प्रतिज्ञा गरिएको देशतर्फ जाँदै गर्दा सबैभन्दा पहिला यहुदाको कुलले यात्रा थालेको थियो। (गन्ती १०:१४) दशकौँपछि प्रतिज्ञा गरिएको देश कब्जा गर्ने क्रममा कनानीहरूसित लड्न सबैभन्दा पहिला यहुदाको कुल नै गएको थियो। (न्याय. १:१, २) पछि यहुदाको कुलबाट थुप्रै राजाहरू आए, जसमध्ये पहिलो दाउद थिए। तर यहुदाले पाएको आशिष् यति मात्रै त थिएन।
१६. उत्पत्ति ४९:१० मा पाइने भविष्यवाणी कसरी पूरा भयो? (“याकुबले मृत्युअघि गरेको भविष्यवाणी” भन्ने पेटी पनि हेर्नुहोस्।)
१६ सारा मानिसजातिमाथि सधैँभरि शासन गर्ने राजा पनि यहुदाको कुलबाटै आउनेछन् भनेर याकुबले भविष्यवाणी गरे। (उत्पत्ति ४९:१० र फुटनोट पढ्नुहोस्।) ती राजा येसु ख्रिष्ट हुनुहुन्छ, जसलाई याकुबले “सीलो” भने। येसुबारे एक स्वर्गदूतले यसो भने: “यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।” (लुका १:३२, ३३) येसुलाई “यहुदाको कुलको सिंह” पनि भनिएको छ।—प्रका. ५:५.
१७. हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ?
१७ हामी के सिक्न सक्छौँ? यहुदाले केही गम्भीर गल्ती गरेको भए तापनि यहोवाले तिनलाई आशिष् दिनुभयो। यहुदाका दाजुभाइहरूलाई ‘यहोवाले किन तिनलाई आशिष् दिनुभयो’ जस्तो लाग्यो कि? हुनत तिनीहरूलाई कस्तो लागेको थियो भनेर हामीलाई थाह छैन तर यहोवाले यहुदामा केही असल कुरा देख्नुभएकोले नै आशिष् दिनुभएको थियो। हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ? कुनै भाइबहिनीले विशेष सुअवसर पाउँदा सायद हामीलाई पनि ‘तिनले त्यो सुअवसर किन पाए होलान्’ जस्तो लाग्न सक्छ, अझ खासगरि हामीलाई तिनको कमीकमजोरी थाह छ भने। तर यहोवाले तिनमा केही असल कुराहरू देख्नुभएकोले नै तिनलाई त्यो सुअवसर दिनुभएको हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन। हो, यहोवा आफ्ना उपासकहरूमा असल कुरा हेर्नुहुन्छ। हामीले पनि त्यसै गर्ने प्रयास गर्नुपर्छ।
१८. हामी किन धीरजी हुनुपर्छ?
१८ यहुदाको विवरणबाट हामी धीरजी हुनुपर्छ भन्ने पाठ पनि सिक्न सक्छौँ। यहोवाले गर्नुभएका प्रतिज्ञाहरू हामीले चाहेकै समयमा वा चाहेकै तरिकामा पूरा नहुन सक्छ। तर उहाँ सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। हुनत यहुदाको सन्तानले तुरुन्तै परमेश्वरका जनहरूमाझ नेतृत्व लिन पाएनन्। तर तिनीहरूले यहोवाले नेतृत्व लिन नियुक्त गर्नुभएका पुरुषहरूलाई साथ दिए। जस्तै, लेविको कुलको मोसा, एप्रैमको कुलको यहोसु अनि बिन्यामिनको कुलको राजा साउल। हामीले पनि यहोवाले हामीमाझ नेतृत्व लिन नियुक्त गर्नुभएका भाइहरूलाई साथ दिनुपर्छ।—हिब्रू ६:१२.
१९. याकुबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणीबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?
१९ याकुबले मृत्युअघि आफ्ना चार जना छोराहरूबारे गरेको भविष्यवाणीबाट हामीले के सिक्यौँ? “यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ” भनेर सिक्यौँ। (१ समु. १६:७) यहोवा निकै धीरजी र क्षमाशील हुनुहुन्छ। उहाँ गलत कामलाई सहनुहुन्न तर त्यसो भन्दैमा उहाँ हामीबाट गल्ती नै नभएको आशा गर्नुहुन्छ भन्ने पनि होइन। विगतमा गम्भीर गल्तीहरू गरेको व्यक्तिले समेत यहोवाबाट आशिष् पाउन सक्छन्। तर त्यसको लागि तिनले मनैदेखि पश्चात्ताप गर्नुपर्छ र यहोवाको नजरमा जे सही छ, त्यो गर्नुपर्छ। अर्को लेखमा याकुबले बाँकी आठ जना छोराहरूलाई के भने भनेर थाह पाउनेछौँ।
गीत १२४ सधैँ वफादार रहौँ!