अध्ययन लेख २५
गीत ९६ परमेश्वरको किताब—एउटा अमूल्य धन
याकुबले मृत्युअघि गरेको भविष्यवाणीबाट सिक्न सकिने पाठहरू—भाग २
“इस्राएलले आफ्नो हरेक छोरालाई सुहाउँदो आशिष् दिए।”—उत्प. ४९:२८.
सिक्न सकिने कुरा
याकुबले मृत्युअघि आफ्ना आठ जना छोराबारे गरेको भविष्यवाणीबाट सिक्न सकिने पाठहरू।
१. यस लेखमा हामी के छलफल गर्नेछौँ?
याकुबका छोराहरू तिनको वरिपरि जम्मा भएर तिनको कुरा ध्यान दिएर सुनिरहेका थिए। अघिल्लो लेखमा याकुबले रुबेन, सिमियोन, लेवि र यहुदालाई के भने भनेर हामीले थाह पायौँ। याकुबको कुरा सुनेर तिनका सबै छोराहरू छक्क परे होलान्। बाँकी आठ जनालाई पनि बुबाले के भन्ने होलान् भनेर सुन्न तिनीहरू उत्सुक थिए। अब हामी याकुबले जबुलुन, इस्साकार, दान, गाद, असेर, नप्तालि, युसुफ र बिन्यामिनलाई भनेका शब्दहरूबाट के सिक्न सक्छौँ भनेर छलफल गर्नेछौँ।a
जबुलुन
२. याकुबले जबुलुनलाई के भने र त्यो कसरी पूरा भयो? (उत्पत्ति ४९:१३) (पेटी पनि हेर्नुहोस्।)
२ उत्पत्ति ४९:१३ पढ्नुहोस्। याकुबले जबुलुनका सन्तान समुद्रबाट नजिकै पर्ने इलाकामा बसोबास गर्नेछन् भने। त्यो इलाका प्रतिज्ञा गरिएको देशको उत्तरतिर पर्थ्यो। याकुबले यो कुरा बताएको २०० वर्षभन्दा पछि जबुलुनको सन्तानले पैतृक सम्पत्तिको रूपमा जग्गाजमिन पाए। तिनीहरूले पाएको इलाका गालिल समुद्र र भूमध्यसागरको बीचमा पर्थ्यो। यो इलाकाबाट दुई वटा समुद्र नजिकै पर्ने भएकोले तिनीहरूले विभिन्न ठाउँबाट आएका मानिसहरूसित सरसामान किनबेच गर्न सक्थे। त्यसैकारण मोसाले यस्तो भविष्यवाणी गरेका हुन सक्छन्: “हे जबुलुन! आफ्नो व्यापारमा रमाऊ।”—व्यव. ३३:१८.
३. हामी कसरी सन्तुष्ट रहन सक्छौँ?
३ हामी के सिक्न सक्छौँ? हामी जहाँ बस्ने भए पनि वा हाम्रो अवस्था जस्तोसुकै भए पनि हामी रमाउन सक्छौँ। तर त्यसको लागि हामी आफूसित भएको कुरामा सन्तुष्ट हुनुपर्छ। (भज. १६:६; २४:५) आफूसित भएको कुरामा भन्दा नभएको कुरामा बढी ध्यान दिन्छौँ भने हामी खुसी हुन सक्दैनौँ। त्यसैले आफूसित भएको कुरामा रमाउन र सकारात्मक रहन प्रयास गर्नुहोस्।—गला. ६:४.
इस्साकार
४. याकुबले इस्साकारलाई के भने र त्यो कसरी पूरा भयो? (उत्पत्ति ४९:१४, १५) (पेटी पनि हेर्नुहोस्।)
४ उत्पत्ति ४९:१४, १५ पढ्नुहोस्। इस्साकार मेहनती भएकोमा याकुबले उनको प्रशंसा गरे। तिनले इस्साकारलाई गह्रौँ भारी बोक्न सक्ने जनावर गधासित तुलना गरे। याकुबले इस्साकारले राम्रो इलाका पाउनेछन् भनेर पनि बताए। हुन पनि इस्साकारको सन्तानले यर्दन नदीनजिकै पर्ने उर्वर जमिन पाए। (यहो. १९:२२) तिनीहरू आफ्नो जमिनमा खेतीपाती गर्न निकै मेहनत गर्थे र तिनीहरू अरूको हितको लागि पनि त्यति नै मेहनत गर्थे। (१ राजा ४:७, १७) उदाहरणको लागि, न्यायकर्ता बाराक र भविष्यवक्ता दबोराले सिसरासित युद्ध लड्न इस्राएलीहरूलाई गुहारे। त्यतिबेला तिनीहरूलाई मदत गरेका कुलहरूमध्ये इस्साकारको कुल पनि थियो। इस्साकारको कुल अरू बेला पनि युद्ध लड्न तयार भएका थिए।—न्याय. ५:१५.
५. हामी किन मेहनती हुनुपर्छ?
५ हामी के सिक्न सक्छौँ? यहोवाले इस्साकारको कुलले गरेको मेहनतको कदर गर्नुभयो। त्यसरी नै हामीले उहाँको सेवामा गरेको मेहनतको पनि उहाँ कदर गर्नुहुन्छ। (उप. २:२४) जस्तै, मण्डलीको लागि कडा मेहनत गर्ने भाइहरूबारे विचार गर्नुहोस्। (१ तिमो. ३:१) हुनत तिनीहरूले साँच्चैको लडाइँ लड्नु पर्दैन। तर परमेश्वरका जनहरूलाई आध्यात्मिक खतराबाट जोगाउन भने तिनीहरू भरमग्दुर प्रयास गर्छन्। (१ कोरि. ५:१, ५; यहु. १७-२३) तिनीहरू मण्डलीका भाइबहिनीहरूलाई प्रोत्साहन मिल्ने भाषणहरू तयारी गर्न पनि कडा परिश्रम गर्छन्।—१ तिमो. ५:१७.
दान
६. दानको कुलले कस्तो काम पाएको थियो? (उत्पत्ति ४९:१७, १८) (पेटी पनि हेर्नुहोस्।)
६ उत्पत्ति ४९:१७, १८ पढ्नुहोस्। याकुबले दानलाई यस्तो सर्पसित तुलना गरे, जसले आफूभन्दा निकै ठूलो जीवलाई समेत आक्रमण गर्न सक्छ। दानको कुल साहसी थियो र इस्राएल राष्ट्रका शत्रुहरूलाई आक्रमण गर्न सधैँ तयार रहन्थ्यो। प्रतिज्ञा गरिएको देशतर्फ यात्रा गर्दा दानको कुल आफूअगाडिका सबै दलको रक्षा गर्न “सबैभन्दा पछाडि” हिँड्थ्यो। (गन्ती १०:२५) हुनत अरू कुलले तिनीहरूले गरिरहेको सबै काम देख्न सक्दैनथे। तैपनि तिनीहरूको काम एकदमै महत्त्वपूर्ण थियो।
७. यहोवाको सेवामा जुनसुकै काम गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?
७ हामी के सिक्न सक्छौँ? के तपाईँलाई आफूले गरेको कुनै-कुनै काम अरूले याद नगरेको जस्तो लागेको छ? सायद तपाईँले सभाभवनको सरसफाइ र मर्मतसम्भारमा सघाउनुभएको थियो होला, सम्मेलन वा अधिवेशनमा स्वयंसेवा गर्नुभएको थियो होला वा यस्तै अरू काम गर्नुभएको थियो होला। त्यसो हो भने तपाईँ साँच्चै प्रशंसाको योग्य हुनुहुन्छ। यहोवा तपाईँले गर्नुभएको सबै काम देख्नुहुन्छ र त्यसको मोल गर्नुहुन्छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस्। तपाईँ अरूको प्रशंसा पाउन नभई यहोवालाई मनैदेखि प्रेम गरेकोले उहाँको सेवा गर्नुहुन्छ भने त्यस्तो सेवाको उहाँ झनै मोल गर्नुहुन्छ।—मत्ति ६:१-४.
गाद
८. गादको कुललाई किन शत्रुहरूले आक्रमण गर्न सक्ने खतरा थियो? (उत्पत्ति ४९:१९) (पेटी पनि हेर्नुहोस्।)
८ उत्पत्ति ४९:१९ पढ्नुहोस्। गादलाई लुटेराहरूको दलले आक्रमण गर्नेछ भनेर याकुबले भविष्यवाणी गरे। त्यसको २०० वर्षभन्दा पछि गादको कुलले यर्दन नदीको पूर्वपट्टिको इलाका पाए। त्यो इलाकानजिकै शत्रु राष्ट्रहरू पनि भएकोले जुनसुकै बेला आक्रमण हुन सक्ने खतरा थियो। तैपनि गादको कुल त्यही इलाकामा बस्न चाहन्थ्यो किनकि त्यो इलाका वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो थियो। (गन्ती ३२:१, ५) गादको कुलका मानिसहरू साहसी थिए। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, तिनीहरू यहोवामा पूर्ण भरोसा राख्थे। शत्रु राष्ट्रहरूले आक्रमण गरे भने पनि उहाँले जोगाउनुहुनेछ र आफ्नो जमिन शत्रुहरूको हातमा पर्न दिनुहुनेछैन भन्ने कुरामा तिनीहरू ढुक्क थिए। यहाँसम्म कि, तिनीहरूले वर्षौँसम्म आफ्नो सैन्य दल अरू कुलहरूलाई मदत गर्न पठाए किनकि यर्दनको पश्चिमतिरको इलाका कब्जा गर्न अझ पनि बाँकी थियो। (गन्ती ३२:१६-१९) पुरुषहरू युद्धमा गएको बेला यहोवाले तिनीहरूका पत्नीहरू र छोराछोरीहरूलाई सुरक्षित राख्नुहुनेछ भन्ने कुरामा पनि तिनीहरूले भरोसा गरे। तिनीहरूले यस्तो साहस र आत्मत्यागी मनोभाव देखाएकोमा यहोवाले तिनीहरूलाई आशिष् दिनुभयो।—यहो. २२:१-४.
९. यहोवामा भरोसा राखेको कुरा हाम्रा निर्णयहरूमा कसरी देखिन्छ?
९ हामी के सिक्न सक्छौँ? हामीले यहोवामा भरोसा राख्यौँ भने गाह्रो अवस्थामा पनि उहाँको सेवा गरिरहन सक्नेछौँ। (भज. ३७:३) आज हाम्रा थुप्रै भाइबहिनीले त्यस्तै भरोसा देखाएका छन्। तिनीहरू निर्माणकार्यमा भाग लिन, आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न वा अन्य असाइनमेन्टहरू पूरा गर्न थुप्रै त्यागहरू गर्छन्। किनकि यहोवाले तिनीहरूको ख्याल राख्नुहुनेछ भन्ने कुरामा तिनीहरू विश्वस्त छन्।—भज. २३:१.
असेर
१०. असेरको कुलले के गरेन? (उत्पत्ति ४९:२०) (पेटी पनि हेर्नुहोस्।)
१० उत्पत्ति ४९:२० पढ्नुहोस्। असेरको कुल सम्पन्न हुनेछ भनेर याकुबले भविष्यवाणी गरे। हुन पनि त्यस्तै भयो। असेरको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन एकदमै उर्वर थियो। (व्यव. ३३:२४) यो इलाका भूमध्यसागरको किनारामा पर्थ्यो अनि व्यापारिक केन्द्र सिदोनको बन्दरगाह पनि त्यही इलाकामा पर्थ्यो। तर असेरको कुलले त्यस इलाकामा बसोबास गरिरहेका कनानीहरूलाई खेदेन। (न्याय. १:३१, ३२) भौतिक सम्पन्नता र कनानीहरूको नराम्रो प्रभावले गर्दा यहोवाको उपासनामा असेरको कुलको जोस सेलाएको हुन सक्छ। एकचोटि न्यायकर्ता बाराकले कनानी सेनासित लडाइँ गर्न इस्राएलीहरूलाई गुहार्दा असेरको कुल तिनीहरूलाई मदत गर्न तयार भएन। यसले गर्दा यहोवाले “मगिद्दोको मुहाननजिकै” इस्राएलीहरूलाई अचम्मलाग्दो तरिकामा विजयी तुल्याउनुभएको तिनीहरूले देख्न पाएनन्। (न्याय. ५:१९-२१) युद्ध जितेपछि बाराक र दबोराले परमेश्वरको प्रेरणा पाएर विजय गीत गाए। त्यो गीतको एउटा वाक्य यस्तो पनि थियो: “असेर समुद्री किनारामा हात बाँधेर बसिरह्यो।” (न्याय. ५:१७) यो सुन्दा असेरको कुलले कत्ति लज्जित महसुस गऱ्यो होला!
११. हामीले भौतिक कुराहरूप्रति किन सन्तुलित दृष्टिकोण राख्नुपर्छ?
११ हामी के सिक्न सक्छौँ? हामी यहोवालाई सर्वोत्तम सेवा चढाउन चाहन्छौँ। त्यसैले हामीले भौतिक सुखसुविधा र धनसम्पत्तिप्रति संसारको दृष्टिकोणलाई तिरस्कार गर्नुपर्छ। (हितो. १८:११) हामीले पैसाप्रति सन्तुलित दृष्टिकोण राख्न प्रयास गरिरहनुपर्छ। (उप. ७:१२; हिब्रू १३:५) हामीले अनावश्यक कुराहरू जोरजाम गर्ने दौडधूपमा लागेर यहोवाको सेवालाई बेवास्ता गर्नु हुँदैन। बरु आफ्नो समय र शक्ति यहोवाको सेवामा खर्चिनुपर्छ किनकि उहाँले हामीलाई नयाँ संसारमा साँच्चै आरामदायी र सुरक्षित जीवन दिनुहुनेछ भनेर हामीले बुझेका छौँ।—भज. ४:८.
नप्तालि
१२. नप्तालिबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो? (उत्पत्ति ४९:२१) (पेटी पनि हेर्नुहोस्।)
१२ उत्पत्ति ४९:२१ पढ्नुहोस्। नप्तालिले “मीठामीठा कुरा गर्नेछन्” भनेर याकुबले भविष्यवाणी गरे। यसले येसुको सिकाउने तरिकालाई सङ्केत गरेको हुन सक्छ। येसु प्रभावकारी शिक्षक हुनुहुन्थ्यो। मानिसहरूलाई सिकाउन उहाँले कफर्नहुम सहरमा धेरै समय बिताउनुभयो, जुन सहर नप्तालिको कुलको इलाकामा पर्थ्यो। त्यसैले बाइबलमा कफर्नहुमलाई ‘उहाँको सहर’ पनि भनिएको छ। (मत्ति ४:१३; ९:१; युह. ७:४६) यसैयाले पनि जबुलुन र नप्तालिको कुलका मानिसहरूले “चहकिलो ज्योति” देख्नेछन् भनेर येसुबारे भविष्यवाणी गरे। (यसै. ९:१, २) हुन पनि येसु “साँचो ज्योति” साबित हुनुभयो। उहाँले आफ्नो शिक्षाद्वारा ‘हर किसिमका मानिसलाई ज्योति दिनुभयो।’—युह. १:९.
१३. आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन हामी के गर्न सक्छौँ?
१३ हामी के सिक्न सक्छौँ? हामी के भन्छौँ र कसरी भन्छौँ, यहोवा त्यो याद गर्नुहुन्छ। येसुले जस्तै हामी पनि कसरी “मीठामीठा कुरा” गरेर यहोवालाई खुसी बनाउन सक्छौँ? हामीले सधैँ सत्य बोल्नुपर्छ। (भज. १५:१, २) साथै हाम्रो बोली अरूको उत्थान गर्ने खालको हुनुपर्छ। जस्तै: कसैले राम्रो काम गर्दा हामीले तिनको प्रशंसा गर्नुपर्छ। अनि अरूको गल्ती वा कमीकमजोरी मात्र देखाइदिने गर्नु हुँदैन। (एफि. ४:२९) हामी मानिसहरूसित कुराकानी थाल्न अझ सिपालु हुने लक्ष्य पनि राख्न सक्छौँ। यसो गर्दा साक्षी दिने मौका खुल्छ।
युसुफ
१४. युसुफबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो? (उत्पत्ति ४९:२२, २६) (पेटी पनि हेर्नुहोस्।)
१४ उत्पत्ति ४९:२२, २६ पढ्नुहोस्। युसुफ याकुबकी प्यारी पत्नी राहेलबाट जन्मेको पहिलो सन्तान थिए। याकुबले तिनलाई “लटरम्म फल फल्ने रूखको हाँगा” भने। त्यो रूख याकुब थिए र त्यसको हाँगाचाहिँ युसुफ थिए। याकुबले युसुफमा गर्व गरेको हुनुपर्छ किनभने यहोवाले एउटा विशेष कामको लागि तिनलाई “आफ्ना दाजुभाइबाट अलग” पार्नुभएको थियो। रुबेनचाहिँ याकुबको जेठी पत्नी लेआबाट जन्मेको पहिलो सन्तान थिए। त्यसैले याकुबको धनसम्पत्तिको दुई भाग पाउने अधिकार रुबेनको थियो तर तिनले त्यो अधिकार गुमाए। त्यो अधिकार युसुफले पाउनेछन् भनेर याकुबले भविष्यवाणी गरे। (उत्प. ४८:५, ६; १ इति. ५:१, २) भविष्यवाणी गरिएअनुसारै युसुफका दुई छोराहरू एप्रैम र मनस्से दुई वटा छुट्टाछुट्टै कुलको रूपमा चिनिए र दुवै कुलले आ-आफ्नो जग्गाजमिन पाए।—उत्प. ४९:२५; यहो. १४:४.
१५. अन्याय भोग्नुपर्दा युसुफले के गरे?
१५ याकुबले युसुफबारे यसो पनि भने: “धनुर्धारीहरूले . . . तिनलाई काँडले हानिरहे र तिनीसित दुस्मनी राखेर मनमा ईख पालिरहे।” (उत्प. ४९:२३) यी धनुर्धारीहरू भनेको युसुफका दाइहरू हुन्, जो तिनीप्रति एकदमै डाही भएका थिए। उनीहरूले तिनलाई दुर्व्यवहार गरेका थिए अनि उनीहरूकै कारण युसुफले धेरै दुःख पनि झेल्नुपरेको थियो। तर युसुफले आफ्ना दाइहरूलाई घृणा गरेनन् र आफूले दुःख भोग्नुपरेकोमा यहोवालाई दोष पनि दिएनन्। याकुबले भनेझैँ युसुफको “धनु डगमगाएन। तिनका हात कमजोर भएनन्, तिनले फुर्तीसाथ आफ्ना हात चलाइरहे।” (उत्प. ४९:२४) परीक्षाहरू भोग्नुपर्दा युसुफले यहोवामाथि भरोसा राखिरहे। तिनले आफ्ना दाइहरूलाई क्षमा दिनुका साथै तिनीहरूप्रति दयालु व्यवहार गरे। (उत्प. ४७:११, १२) यस्ता परीक्षाहरूले गर्दा युसुफ खारिए र तिनी अझ राम्रो मानिस बन्न सके। (भज. १०५:१७-१९) त्यसैले यहोवाले तिनलाई अझ ठूलठूला कामहरू गर्न प्रयोग गर्नुभयो।
१६. परीक्षाहरू आइपर्दा हामी कसरी युसुफको अनुकरण गर्न सक्छौँ?
१६ हामी के सिक्न सक्छौँ? परीक्षाहरू भोग्नुपर्दा हामी यहोवाबाट र हाम्रा भाइबहिनीहरूबाट कहिल्यै टाढिनु हुँदैन। यहोवाले हामीमाथि परीक्षाहरू आइपर्न दिनुभएर हामीलाई अझ राम्रो मानिस बन्न तालिम दिँदै हुनुहुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। (हिब्रू १२:७, फुटनोट) यस्तो तालिमले हामीलाई दया र क्षमाजस्ता गुणहरू विकास गर्न र त्यसलाई अझ निखार्दै लैजान मदत गर्छ। (हिब्रू १२:११) हामी सहनशील भयौँ भने यहोवाले युसुफलाई जस्तै हामीलाई पनि आशिष् दिनुहुनेछ।
बिन्यामिन
१७. बिन्यामिनबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो? (उत्पत्ति ४९:२७) (पेटी पनि हेर्नुहोस्।)
१७ उत्पत्ति ४९:२७ पढ्नुहोस्। ब्वाँसोले आफ्नो सिकारलाई बाँकी नराखे जस्तै बिन्यामिनीहरूले पनि वीर योद्धाले झैँ आफ्ना शत्रुहरूलाई निमिट्यान्न पार्नेछन् भनेर याकुबले भविष्यवाणी गरे। (न्याय. २०:१५, १६; १ इति. १२:२) “बिहान” अर्थात् इस्राएलमा राजाहरूको शासनको सुरुमा साउल राजा भएका थिए र तिनी बिन्यामिनको कुलका थिए। तिनी वीर योद्धा थिए र तिनले पलिस्तियालीहरूका हातबाट इस्राएलीहरूलाई बचाए। (१ समु. ९:१५-१७, २१) “साँझ” अर्थात् इस्राएलमा राजाहरूको शासनको अन्त भइसकेपछि रानी एस्तर र प्रधानमन्त्री मोर्दकैले फारसी साम्राज्यबाट इस्राएलीहरूको नामोनिसान मेटिनदेखि जोगाए। एस्तर र मोर्दकै पनि बिन्यामिनको कुलकै थिए।—एस्त. २:५-७; ८:३; १०:३.
१८. हामी कसरी बिन्यामिनको कुलले जस्तै वफादारी देखाउन सक्छौँ?
१८ हामी के सिक्न सक्छौँ? भविष्यवाणी गरिएअनुसार आफ्नै कुलका व्यक्ति राजा भएको देख्न पाउँदा बिन्यामिनीहरूलाई पक्कै पनि गर्व लागेको हुनुपर्छ। तर पछि यहोवाले शासन गर्ने अधिकार यहुदाको कुलका दाउदलाई दिनुभयो। तिनीहरूलाई सुरुमा त्यो छाँटकाँट स्विकार्न गाह्रो भए तापनि पछि स्विकारे। (२ समु. ३:१७-१९) धेरै वर्षपछि १० कुलले यहुदाको कुलको विद्रोह गऱ्यो। तर बिन्यामिनको कुल भने यहुदाको कुल र यहोवाले नियुक्त गर्नुभएको राजाप्रति वफादार रहिरह्यो। (१ राजा ११:३१, ३२; १२:१९, २१) हामीमाझ नेतृत्व लिन यहोवाले नियुक्त गर्नुभएका भाइहरूप्रति हामी पनि वफादार रहिरहौँ।—१ थिस्स. ५:१२.
१९. याकुबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणीबाट हामी कसरी लाभ उठाउन सक्छौँ?
१९ याकुबले आफ्नो मृत्युअघि गरेको भविष्यवाणीबाट हामी लाभ उठाउन सक्छौँ। तिनले गरेको भविष्यवाणी कसरी पूरा भयो भनेर केलाउँदा यहोवाका भविष्यवाणीहरू सधैँ पूरा हुन्छन् भन्ने कुरामाथि हाम्रो विश्वास अझ बलियो हुन्छ। साथै याकुबका छोराहरूले आशिष् पाएको कुरामा मनन गर्दा हामीले पनि यहोवालाई खुसी बनाउन के गर्नुपर्छ भनेर अझ राम्ररी बुझ्न सक्छौँ।
गीत १२८ अन्तसम्म सहौँ!
a याकुबले रुबेन, सिमियोन, लेवि र यहुदालाई तिनीहरू जन्मेको क्रमअनुसारै आशिष् दिए। तर तिनले बाँकी आठ जना छोरालाई आशिष् दिँदा भने त्यो क्रम पछ्याएनन्।