अध्ययन लेख २६
गीत १२३ ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!
आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्
“हामी सर्वशक्तिमान् परमेश्वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।”—अय्यु. ३७:२३.
सिक्न सकिने कुरा
पछि के हुन्छ भनेर सबै कुरा थाह नभए तापनि आफूलाई थाह भएको कुरामा ध्यान केन्द्रित गऱ्यौँ र यहोवामाथि भरोसा राख्यौँ भने गाह्रो अवस्था सहन सक्नेछौँ।
१. यहोवाले हामीलाई कस्तो क्षमता दिनुभएको छ र किन?
यहोवाले हामीलाई अचम्मलाग्दो तरिकाले बनाउनुभएको छ। हामी सोच्न सक्छौँ, नयाँ-नयाँ कुराहरू सिक्न सक्छौँ र आफूले सिकेका कुराहरू कसरी लागू गर्ने भनेर बुझ्न सक्छौँ। उहाँले हामीलाई किन यस्ता क्षमताहरू दिनुभयो? किनभने यहोवा हामीले ‘उहाँको ज्ञान पाएको’ र सोचविचार गर्ने क्षमता चलाएर उहाँको सेवा गरेको चाहनुहुन्छ।—हितो. २:१-५; रोमी १२:१.
२. (क) हामीले कुन कुरा स्विकार्नुपर्छ? (अय्युब ३७:२३, २४) (चित्र पनि हेर्नुहोस्।) (ख) हामीलाई सबै कुरा थाह छैन भनेर स्विकार्दा कस्तो फाइदा हुन्छ?
२ हुनत हामीसित नयाँ-नयाँ कुराहरू सिक्ने क्षमता छ तर हामी सबै कुरा बुझ्न सक्दैनौँ। (अय्युब ३७:२३, २४ पढ्नुहोस्।) अय्युबको उदाहरण विचार गरौँ। यहोवाले तिनलाई एकपछि अर्को गर्दै थुप्रै प्रश्नहरू सोध्नुभयो। त्यसबाट तिनलाई थाह नभएका कुराहरू धेरै छन् भनेर प्रस्ट भयो। यहोवासितको त्यो कुराकानीले गर्दा अय्युबले आफू नम्र हुनुपर्ने र आफ्नो सोचाइ सच्याउनुपर्ने महसुस गरे। (अय्यु. ४२:३-६) हामीले पनि आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुपर्छ। यसो गर्दा हामीले साँच्चै थाह पाउनुपर्ने कुराहरू यहोवाले आफ्नो समयमा प्रकट गर्नुहुनेछ भनेर भरोसा गरिरहेका हुन्छौँ। अनि हामीले सही निर्णय गर्न सक्नेछौँ।—हितो. २:६.
आफूलाई सबै कुरा थाह छैन भनेर स्विकार्दा अय्युबलाई जस्तै हामीलाई पनि फाइदा हुन्छ (अनुच्छेद २ हेर्नुहोस्)
३. यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ यस लेखमा हामीलाई थाह नभएका केही कुराहरूबारे र ती थाह नभएकोले हामीलाई के हुन सक्छ भनेर छलफल गर्नेछौँ। साथै कुनै-कुनै कुरा थाह नहुनु किन राम्रो हो भनेर बुझ्नेछौँ। यो छलफलले “सर्वज्ञानी परमेश्वर” यहोवाले हामीलाई थाह पाउनै पर्ने कुराहरू बताउनुहुनेछ भन्ने कुरामा विश्वस्त हुन मदत गर्नेछ।—अय्यु. ३७:१६.
अन्त कहिले आउँछ, हामीलाई थाह छैन
४. मत्ति २४:३६ अनुसार हामीलाई कुन कुरा थाह छैन?
४ मत्ति २४:३६ पढ्नुहोस्। यस युगको अन्त कहिले हुनेछ भनेर हामीलाई थाह छैन। पृथ्वीमा हुनुहुँदा येसुलाई पनि त्यो “दिन र समयको विषयमा” थाह थिएन।a कुनै-कुनै घटनाहरू कहिले हुनेछन् भनेर “तोक्ने अधिकार” यहोवासित मात्र छ। त्यसैले त्यो समयबारे हामीले जानिराख्नु आवश्यक छैन भनेर येसुले प्रेषितहरूलाई बताउनुभयो। (प्रेषि. १:६, ७) यहोवाले यस युगको अन्त हुने समय पनि तोकिसक्नुभएको छ। तर त्यो ठ्याक्कै कहिले हुनेछ भनेर हामी थाह पाउन सक्दैनौँ।
५. अन्त कहिले हुनेछ भनेर थाह नभएकोले हामीलाई के हुन सक्छ?
५ अन्त आउन अझै कति समय बाँकी छ भनेर हामीलाई थाह छैन। सायद हामीमध्ये कसै-कसैले यहोवाको दिनलाई पर्खिरहेको धेरै समय भइसक्यो होला। त्यसो हो भने हामीलाई धैर्य गर्न गाह्रो हुन सक्छ र हामी निराश हुन सक्छौँ। अथवा परिवारका सदस्यहरू वा अरूबाट गिल्ला सहन हामीलाई गाह्रो लाग्न सक्छ। (२ पत्रु. ३:३, ४) अन्त ठ्याक्कै कहिले हुनेछ भनेर थाह भएको भए हामीलाई धैर्य गर्न र गिल्ला सहन अझ सजिलो हुने थियो जस्तो लाग्न सक्छ।
६. अन्त कहिले आउनेछ भनेर थाह नभएकोले हामीलाई कस्तो फाइदा भएको छ?
६ वास्तवमा यहोवाले हामीलाई यस युगको अन्त हुने मिति नबताउनुभएकोले हाम्रै फाइदा भएको छ। हामीले यहोवालाई प्रेम गरेकोले र उहाँमाथि भरोसा राखेकोले उहाँको सेवा गर्छौँ भनेर देखाउने मौका पाएका छौँ। यहोवामाथिको हाम्रो विश्वास भनेको कुनै खास मिति पुगेपछि म्याद सकिने सामानजस्तो होइन। हामी सधैँभरि उहाँको सेवा गरिरहन चाहन्छौँ। त्यसैले “परमेश्वरको दिन” कहिले आउँछ भन्ने कुरामा मात्र ध्यान दिइरहनुको साटो त्यो दिन आएपछि हुने राम्रा कुराहरूबारे सोच्नु बेस हो। त्यसो गऱ्यौँ भने यहोवासित अझ नजिक हुनेछौँ, उहाँमाथि हाम्रो भरोसा अझ बलियो हुनेछ र उहाँलाई मन पर्ने कुराहरू गर्न प्रयास गरिरहनेछौँ।—२ पत्रु. ३:११, १२.
७. हामीलाई के थाह छ?
७ हामीलाई अन्तको दिन १९१४ मा सुरु भयो भनेर थाह छ। बाइबलमा गरिएका भविष्यवाणीहरूले अन्तको दिन १९१४ मा सुरु हुनेछ भनेर सङ्केत गर्नुका साथै अन्तको दिन सुरु भएपछि पृथ्वीको अवस्था कस्तो हुनेछ भनेर पनि बताउँछ। यी भविष्यवाणीहरू पूरा भएकोले “यहोवाको महान् दिन नजिकै छ” भन्ने कुरामा हामी विश्वस्त हुन सकेका छौँ। (सप. १:१४) हामीलाई अर्को कुरा पनि थाह छ। यहोवा हामीले सकेसम्म धेरै जनालाई ‘राज्यको सुसमाचार’ सुनाएको चाहनुहुन्छ। (मत्ति २४:१४) यो सुसमाचार लगभग २४० वटा देशमा १,००० भन्दा धेरै भाषामा सुनाइँदै छ। यस महत्त्वपूर्ण काममा जोसिलो भई भाग लिन हामीले यस युगको अन्त हुने “दिन र समय”-बारे थाह पाउनु आवश्यक छैन।
यहोवाले हाम्रो लागि कस्तो कदम चाल्नुहुन्छ, हामीलाई थाह छैन
८. “साँचो परमेश्वरका कामहरू” भन्ने अभिव्यक्तिले केलाई बुझाउँछ? (उपदेशक ११:५)
८ हामीलाई “साँचो परमेश्वरका कामहरू”-बारे सबै कुरा थाह छैन। (उपदेशक ११:५ पढ्नुहोस्।) “साँचो परमेश्वरका कामहरू” भन्ने अभिव्यक्तिले आफ्नो उद्देश्य पूरा गर्न उहाँले गर्नुहुने वा हुन दिनुहुने कामहरूलाई बुझाउँछ। उहाँले कुनै-कुनै कुरा किन हुन दिनुहुन्छ वा उहाँले हाम्रो निम्ति ठ्याक्कै कस्तो कदम चाल्नुहुनेछ भनेर हामी थाह पाउन सक्दैनौँ। (भज. ३७:५) पेटमा बच्चा कसरी हुर्कन्छ भनेर वैज्ञानिकहरूले आजसम्म सबै कुरा थाह पाउन सकेका छैनन्। त्यसरी नै हामीले पनि परमेश्वरका कामहरूबारे सबै कुरा थाह पाउन सक्दैनौँ।
९. यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ भन्ने कुरा थाह नभएकोले के हुन सक्छ?
९ यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ भन्ने कुरा थाह नभएकोले हामीलाई कुनै-कुनै निर्णय गर्न गाह्रो लाग्न सक्छ। यहोवाको सेवामा अझ धेरै गर्न हामी आफ्नो जीवन सरल बनाउन वा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सर्न चाहन्छौँ होला तर त्यसको लागि त्यागहरू गर्न हामी हिचकिचाउन सक्छौँ। अथवा आफ्नो आध्यात्मिक लक्ष्य हासिल गर्न नसक्दा, प्रचारकार्यमा मेहनत गरे तापनि राम्रो नतिजा नपाउँदा वा सङ्गठनको कुनै परियोजनामा बाधाअवरोध आइपर्दा यहोवाले मदत गर्नुभएको छैन जस्तो लाग्न सक्छ।
१०. यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर थाह नभएकोले हामीले कस्तो गुण विकास गर्न सकेका छौँ?
१० यहोवाले हामीलाई ठ्याक्कै कसरी मदत गर्नुहुन्छ भनेर थाह नभएकोले हामी नम्रताजस्तो गुण विकास गर्न सक्छौँ। यहोवाको विचार र तौरतरिका हाम्रोभन्दा उच्च छ भनेर हामी मानिलिन्छौँ। (यसै. ५५:८, ९) साथै उहाँमा पूरा भरोसा राख्छौँ र सबै कुरा उहाँमा सुम्पन्छौँ। प्रचारकार्यमा राम्रो नतिजा पाउँदा वा सङ्गठनको कुनै परियोजना सफल हुँदा हामी त्यसको श्रेय यहोवालाई नै दिन्छौँ। (भज. १२७:१; १ कोरि. ३:७) तर त्यस्तो भएन भने पनि सबै कुरा यहोवाको नियन्त्रणमा छ भनेर हामीले बिर्सनु हुँदैन। (यसै. २६:१२) हामीले आफ्नो तर्फबाट सक्दो गर्नुपर्छ अनि यहोवाले मदत दिनुहुनेछ भन्ने कुरामा पूर्ण भरोसा राख्नुपर्छ। हुनत यहोवाले विगतमा जस्तै हामीलाई डोऱ्याउन कुनै चमत्कार त नगर्नुहोला। तर उहाँले हामीलाई कुनै न कुनै तरिकामा पक्कै डोऱ्याउनुहुन्छ।—प्रेषि. १६:६-१०.
११. हामीलाई के थाह छ?
११ हामीलाई यहोवा सधैँ मायालु, न्यायी र बुद्धिमान् हुनुहुन्छ भनेर थाह छ। हामीले उहाँको लागि र हाम्रा भाइबहिनीको लागि जे-जति गर्छौँ, त्यसको उहाँ असाध्यै मोल गर्नुहुन्छ भनेर पनि थाह छ। साथै यहोवाले उहाँप्रति वफादार रहनेहरूलाई सधैँ इनाम दिनुहुनेछ भनेर पनि थाह छ।—हिब्रू ११:६.
भोलि के हुन्छ, हामीलाई थाह छैन
१२. याकुब ४:१३, १४ अनुसार हामीलाई के थाह छैन?
१२ याकुब ४:१३, १४ पढ्नुहोस्। भोलि के हुन्छ, हामीलाई थाह छैन। यो हामीले स्विकार्नै पर्ने तीतो यथार्थ हो। हाम्रो जीवनमा कुनै पनि बेला “चिताउँदै नचिताएको घटना” घट्न सक्छ। (उप. ९:११) त्यसैले हाम्रा योजनाहरू सफल होलान् कि नहोलान् अथवा ती योजनाहरू पूरा भएको हेर्न आफू जीवित रहूँला कि नरहूँला, त्यो हामीलाई थाह छैन।
१३. भविष्यमा के होला भनेर थाह नहुँदा हामीलाई के हुन सक्छ?
१३ भविष्यमा के होला भनेर थाह नहुनु कहिलेकाहीँ हाम्रो लागि चुनौती हुन सक्छ। किन? भविष्यबारे अचाक्ली चिन्ता गऱ्यौँ भने हाम्रो आनन्द गुम्न सक्छ। साथै हाम्रो जीवनमा अचानक कुनै अप्रिय घटना घट्न सक्छ। त्यसले गर्दा हामी शोकमा डुब्न र विचलित हुन सक्छौँ। अर्कोतर्फ हामीले आशा गरेको कुरा पूरा नहुँदा हाम्रो मन मर्छ र निरुत्साहित हुन सक्छौँ।—हितो. १३:१२.
१४. खुसी हुन हामीले के गर्नुपर्छ? (चित्रहरू पनि हेर्नुहोस्।)
१४ गाह्रो अवस्था भोग्नुपर्दा हामी आफ्नो स्वार्थ पूरा गर्न होइन बरु यहोवालाई प्रेम गरेकोले उहाँको सेवा गर्छौँ भनेर देखाउने मौका पाउँछौँ। यहोवाले हामीलाई कुनै पनि गाह्रो अवस्था भोग्न दिनुहुनेछैन भन्ने आशा गर्नु हुँदैन भनेर बाइबल विवरणहरूले देखाउँछ। साथै हाम्रो जीवन कस्तो हुनेछ भनेर उहाँले पहिल्यै तय गर्नुहुन्न भनेर पनि बाइबलबाट बुझ्न सक्छौँ। खुसी हुन हामीले भविष्यबारे सबै कुरा थाह पाउनु पर्दैन। बरु यहोवाको डोऱ्याइ खोज्नुपर्छ र उहाँको आज्ञा पालन गर्नुपर्छ। (यर्मि. १०:२३) निर्णयहरू गर्दा यहोवाको डोऱ्याइ खोज्यौँ भने वास्तवमा हामीले यसो भनिरहेका हुन्छौँ: “यहोवा परमेश्वरको इच्छा भए हामी बाँचौँला अनि यसो गरौँला र उसो गरौँला।”—याकु. ४:१५.
यहोवाको डोऱ्याइ खोज्यौँ र उहाँको आज्ञा पालन गऱ्यौँ भने हाम्रै सुरक्षा हुन्छ (अनुच्छेद १४-१५ हेर्नुहोस्)b
१५. भविष्यबारे हामीलाई के थाह छ?
१५ भोलि के हुन्छ, हामीलाई थाह छैन। तर यहोवाले हामीलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुराचाहिँ हामीलाई थाह छ, चाहे त्यो स्वर्गमा होस् वा पृथ्वीमा। यहोवा कहिल्यै झूट बोल्नुहुन्न र उहाँलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्नदेखि कसैले वा कुनै कुराले रोक्न सक्दैन भनेर हामीलाई थाह छ। (ति. १:२) यहोवाले यसो भन्नुभएको छ: “पछि के हुन्छ, म पहिल्यै बताउँछु अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।” (यसै. ४६:१०) उहाँले आफूबारे भन्नुभएको यो कुरा विगतमा सही साबित भयो र भविष्यमा पनि पक्कै हुनेछ। यहोवाको प्रेमबाट हामीलाई कुनै कुराले अलग पार्न सक्दैन भन्ने कुरामा पनि हामी विश्वस्त छौँ। (रोमी ८:३५-३९) हामीले जस्तोसुकै गाह्रो अवस्था भोग्नुपरे तापनि त्यो सहन उहाँले बुद्धि, सान्त्वना र शक्ति दिनुहुनेछ। उहाँले हामीलाई मदत गर्नुहुनेछ र आशिष् दिनुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौँ।—यर्मि. १७:७, ८.
यहोवा हामीलाई कत्तिको राम्ररी चिन्नुहुन्छ, हामी कल्पनै गर्न सक्दैनौँ
१६. हामी कुन कुरा कहिल्यै बुझ्न सक्दैनौँ? (भजन १३९:१-६)
१६ भजन १३९:१-६ पढ्नुहोस्। यहोवाले हामीलाई सृष्टि गर्नुभएकोले उहाँलाई हामीबारे सबै कुरा थाह छ। उहाँलाई हाम्रो बोली, व्यवहार, सोचाइ र भावनालाई के-कस्ता कुराहरूले प्रभाव पारेको छ भनेर पनि थाह छ। यहोवा हामीमा सधैँ चासो राख्नुहुन्छ। राजा दाउदले भनेझैँ यहोवा हामीलाई सधैँ नियाल्नुहुन्छ। हामी जहाँसुकै अनि जस्तोसुकै अवस्थामा भए पनि उहाँ हामीलाई मदत गर्नुहुन्छ। यहोवा ब्रह्माण्डका मालिक र सृष्टिकर्ता हुनुभए तापनि हामीमा यत्ति धेरै चासो राख्नुहुन्छ! त्यसैले हामी पनि दाउदले जस्तै यस्तो महसुस गर्छौँ: “मेरो विषयमा तपाईँसित भएको यस्तो ज्ञान मेरो लागि साह्रै आश्चर्यजनक छ। त्यो कुरा बुझ्नु मेरो लागि असम्भव छ।”—भज. १३९:६, फुटनोटहरू।
१७. यहोवा हामीलाई राम्ररी चिन्नुहुन्छ भनेर स्विकार्न किन गाह्रो लाग्न सक्छ?
१७ हाम्रो पारिवारिक पृष्ठभूमि, हामी हुर्केको समाज वा हाम्रो पहिलाको धार्मिक आस्थाले गर्दा यहोवा मायालु परमेश्वर हुनुहुन्छ र उहाँ हाम्रो ख्याल राख्नुहुन्छ भन्ने कुरा स्विकार्न गाह्रो लाग्न सक्छ। अथवा हामीले विगतमा गरेको पापले गर्दा यहोवा हामीसित नजिक हुन चाहनुहुन्न र हामीबाट टाढा हुनुहुन्छ जस्तो लाग्न सक्छ। दाउदले पनि त्यस्तै महसुस गरेका थिए। (भज. ३८:१८, २१) अथवा आफूलाई सामान्य लागेको झुकाव, जस्तै: समलिङ्गी झुकावलाई काबूमा राख्न सङ्घर्ष गरिरहेको व्यक्तिलाई यस्तो लाग्न सक्छ: ‘यदि परमेश्वर मलाई साँच्चै चिन्नुहुन्छ भने म जस्तो छु, त्यसरी नै किन स्विकार्नुहुन्न?’
१८. हामी आफैले भन्दा यहोवा हामीलाई राम्ररी चिन्नुहुन्छ भनेर स्विकार्नु किन राम्रो हो? (चित्रहरू पनि हेर्नुहोस्।)
१८ हामी आफैले भन्दा यहोवा हामीलाई राम्ररी चिन्नुहुन्छ र हामीले आफूमा देख्न नसकेका असल कुराहरू उहाँले देख्नुहुन्छ भनेर स्विकार्न हामीले प्रयास गर्नुपर्छ। हुनत यहोवा हाम्रा कमीकमजोरी देख्नुहुन्छ र हामीमा त्यस्ता कमीकमजोरी हुनुको कारण पनि बुझ्नुहुन्छ। तर हामी परिवर्तन हुन सक्छौँ भनेर उहाँलाई थाह छ र हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। (रोमी ७:१५) पछि हामी कस्तो मानिस बन्न सक्छौँ भन्ने कुरा पनि यहोवालाई राम्ररी थाह छ। यो कुरा बुझ्दा वफादार अनि आनन्दित भई उहाँको सेवा गरिरहने बल पाउँछौँ।
यहोवा हामीलाई भविष्यको सुन्दर आशामा विश्वस्त हुन मदत गर्नुहुन्छ, जसले गर्दा हामी समस्याहरू सहन बल पाउँछौँ (अनुच्छेद १८-१९ हेर्नुहोस्)c
१९. यहोवाबारे हामीलाई के थाह छ?
१९ यहोवा प्रेम हुनुहुन्छ भनेर हामीलाई थाह छ र यो कुरामा शङ्का गर्नै पर्दैन। (१ युह. ४:८) यहोवाले हामीलाई प्रेम गर्नुभएकोले र हाम्रो भलो चिताउनुभएकोले नै हाम्रो निम्ति स्तरहरू तोकिदिनुभएको हो भनेर हामीलाई थाह छ। उहाँ हामीले अनन्त जीवन पाएको चाहनुहुन्छ भनेर पनि हामीलाई थाह छ। त्यसैले उहाँले फिरौतीको बलिदानको प्रबन्ध मिलाउनुभएको छ। त्यो बलिदानले गर्दा नै हामी आफ्नो कमीकमजोरीको बाबजुद यहोवालाई खुसी बनाउन सक्छौँ। (रोमी ७:२४, २५) अनि “परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ” भन्ने कुरा पनि कहिल्यै नबिर्सौँ! (१ युह. ३:१९, २०) उहाँ हाम्रो सबै कुरा देख्नुहुन्छ र हामी उहाँलाई मन पर्ने तरिकामा सेवा गर्न सक्छौँ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ।
२०. आफूलाई थाह नभएका कुराहरूमा अचाक्ली चिन्ता नगर्न हामीलाई केले मदत गर्छ?
२० हामीले थाह पाउनुपर्ने कुनै पनि कुरा यहोवाले हामीबाट लुकाउनुभएको छैन। नम्र भई यो कुरा स्विकाऱ्यौँ भने आफ्नो नियन्त्रणमा नभएका कुराहरूबारे अचाक्ली चिन्ता गर्नेछैनौँ। बरु साँच्चै महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन सक्नेछौँ। यसो गर्दा हामीले “सर्वज्ञानी परमेश्वर” यहोवामाथि पूर्ण भरोसा राखेको देखाइरहेका हुनेछौँ। (अय्यु. ३६:४) हुनत अहिले हामीलाई सबै कुरा थाह छैन। तर भविष्यमा यहोवाबारे सधैँभरि नयाँ-नयाँ कुराहरू सिकिरहन पाउनेछौँ भनेर थाह छ। हामी त्यो समयको उत्सुकतासाथ प्रतीक्षा गरिरहेका छौँ किनभने त्यतिबेला हामीले स्वयम् यहोवाबाट सिक्न पाउनेछौँ।—उप. ३:११.
गीत १०४ पवित्र शक्ति—परमेश्वरको वरदान
a येसुले सैतानको दुष्ट संसारलाई नाश गर्न नेतृत्व लिनुहुनेछ। त्यसैले अहिले उहाँलाई आरमागेडोन सुरु हुने र उहाँले आफ्नो विजययात्रा पूरा गर्नुहुने मिति थाह छ भन्ने निष्कर्षमा पुग्नु मनासिब छ।—प्रका. ६:२; १९:११-१६.
b चित्रको व्याख्या: बुबाछोरा आपत्कालीन अवस्थाको लागि झटपट झोला तयार पार्दै छन्।
c चित्रको व्याख्या: जीवनमा समस्या भोगिरहेका एक भाइ नयाँ संसारमा आफूले अनुभव गर्न सक्ने आनन्दबारे कल्पना गर्दै छन्।