शनिबार, अगस्त १६
उहाँले तिमीलाई स्थिर बनाउनुहुनेछ।—१ पत्रु. ५:१०.
एल्डरहरू हो, के तपाईँ स्वेच्छाले र तत्परतासाथ परमेश्वरको बगालको हेरचाह गर्न अझ कटिबद्ध हुनुभयो? इमानदार भई यी प्रश्नहरू विचार गर्दा आफूले उन्नति गर्नुपर्ने कुनै क्षेत्र याद गर्नुहुन्छ होला। तर निराश नहुनुहोस्। किनकि “प्रभु [येसु] दयालु हुनुहुन्छ।” (१ पत्रु. २:३) उहाँले तपाईँलाई उन्नति गर्न मदत गर्नुहुनेछ। प्रेषित पत्रुसले हामीलाई यस्तो आश्वासन दिए: “परमेश्वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ।” पत्रुसले एकपटक आफू परमेश्वरको छोराको छेउमा उभिन समेत लायकको छैन भन्ने महसुस गरे। (लुका ५:८) तर यहोवा र येसुको मायालु साथ पाएकोले तिनी वफादार भई येसुको पछि लागिरहे। त्यसो गरेकोले तिनले “हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र महिमायुक्त प्रवेश” पाए। (२ पत्रु. १:११) कत्ति ठूलो इनाम! पत्रुसजस्तै तपाईँ पनि यहोवाको सेवामा लागिरहनुभयो र उहाँलाई आफ्नो तालिम पूरा गर्न दिनुभयो भने तपाईँले पनि अनन्त जीवन पाउन सक्नुहुन्छ। ‘तपाईँको विश्वासले गर्दा तपाईँले इनामस्वरूप उद्धार पाउनुहुनेछ।’—१ पत्रु. १:९. w२३.०९ पृ. ३१ अनु. १६-१७
आइतबार, अगस्त १७
उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।—प्रका. १४:७.
वासस्थानमा एउटा चोक थियो, जुन चारैतिर पाल टाँगेर बनाइएको थियो। त्यस खुला चोकमा पुजारीहरू आ-आफ्नो जिम्मेवारी पूरा गर्थे। चोकमा अग्निभेटी चढाउनको लागि तामाको एउटा ठूलो वेदी थियो। अनि भेट हुने पाल र वेदीको बीचमा तामाको एउटा ठूलो बाटा थियो, जहाँको पानीले पुजारीहरू पवित्र सेवा चढाउनुअघि आफ्नो हातखुट्टा धुन्थे। (प्रस्थ. ३०:१७-२०; ४०:६-८) अहिले पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूले आध्यात्मिक मन्दिरको भित्री चोकमा वफादार भई सेवा गर्छन्। त्यस चोकको पानी भएको ठूलो बाटाले तिनीहरूलाई र सबै ख्रिष्टियनलाई नैतिक तथा आध्यात्मिक रूपमा शुद्ध हुनुपर्ने महत्त्वपूर्ण कुरा सम्झाउँछ। त्यसोभए “ठूलो भीड”-ले कहाँ रहेर उपासना गर्छ? प्रेषित युहन्नाले तिनीहरूलाई ‘सिंहासनको अगाडि उभिएर दिनरात परमेश्वरलाई पवित्र सेवा चढाइरहेको’ देखे। (प्रका. ७:९, १३-१५) ठूलो भीडले यसै पृथ्वीमा रहेर आध्यात्मिक मन्दिरको बाहिरी चोकमा यहोवाको उपासना गर्छ। यहोवाको महान् आध्यात्मिक मन्दिरमा उहाँको उपासना गर्ने अनमोल सुअवसर पाएकोमा हामी साँच्चै कृतज्ञ छौँ! w२३.१० पृ. २८ अनु. १५-१६
सोमबार, अगस्त १८
परमेश्वरले तिनीसित प्रतिज्ञा गर्नुभएको हुनाले . . . तिनको विश्वासले गर्दा तिनी बलियो भए।—रोमी ४:२०.
यहोवा हामीलाई एल्डरहरूमार्फत पनि बल दिनुहुन्छ। (यसै. ३२:१, २) त्यसैले चिन्ताफिक्रीले सताउँदा आफ्ना भावनाहरू कुनै एल्डरलाई बताउनुहोस्। तिनले मदत दिँदा कृतज्ञ भई स्विकार्नुहोस्। एल्डरहरूमार्फत यहोवा तपाईँलाई बलियो पार्न सक्नुहुन्छ। चाहे हाम्रो आशा पृथ्वीमा सधैँभरि बाँच्ने होस् वा स्वर्गमा, त्यसले हामीलाई बल दिन सक्छ। (रोमी ४:३, १८, १९) यस आशाले हामीलाई परीक्षाहरू सहन, साक्षीकार्यमा लागिरहन र मण्डलीमा विभिन्न असाइनमेन्ट पूरा गर्न बल दिन्छ। (१ थिस्स. १:३) प्रेषित पावललाई पनि यही आशाले बल दिएको थियो। तिनी “थिचिएका,” “अन्योलमा परेका” र ‘पछारिएका’ थिए। तिनको “खेदो गरिएको” थियो अनि तिनको ज्यानसमेत खतरामा परेको थियो। (२ कोरि. ४:८-१०) पावलले आफ्नो आशामा ध्यान केन्द्रित गर्दा सहने बल पाए। (२ कोरि. ४:१६-१८) पावलले स्वर्गमा अमर जीवन पाउने आशामा ध्यान केन्द्रित गरे। त्यस आशामा मनन गरेकोले तिनले आफ्नो भित्री व्यक्तित्व “दिनदिनै नयाँ हुँदै गइरहेको” महसुस गरे। w२३.१० पृ. १५-१६ अनु. १४-१७