शनिबार, अगस्त २३
यहोवा परमेश्वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।—१ थिस्स. ५:२.
बाइबलमा “यहोवाको दिन”-ले उहाँले शत्रुहरूलाई नाश गर्ने र आफ्ना मानिसहरूको उद्धार गर्ने समयलाई बुझाउँछ। विगतमा यहोवाले सजाय दिन केही राष्ट्रलाई नाश गर्नुभयो। (यसै. १३:१, ६; इज. १३:५; सप. १:८) आज हाम्रो समयमा “यहोवाको दिन” महान् बेबिलोनमाथि आक्रमण हुँदा सुरु हुनेछ र आरमागेडोनको युद्धमा अन्त हुनेछ। त्यस “दिन”-मा नाश हुनदेखि बच्न हामी अहिल्यैदेखि तयार रहनुपर्छ। येसुले हामीलाई “महासङ्कष्ट”-को लागि “तयार रहो” भन्नुभयो। यस अभिव्यक्तिले निरन्तर गरिरहनुपर्ने कुरालाई सङ्केत गर्छ। (मत्ति २४:२१; लुका १२:४०) प्रेषित पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा यहोवाको न्यायको महान् दिनको लागि हरदम तयार रहन सल्लाह दिए। यो कुरा बुझाउन तिनले थुप्रै उदाहरण चलाए। यहोवाको दिन तुरुन्तै आइहाल्दैन भनेर पावललाई थाह थियो। (२ थिस्स. २:१-३) तैपनि तिनले त्यो दिन भोलि नै आउने जस्तैगरि तयार रहन भाइहरूलाई आग्रह गरे। हामीले पनि तिनको सल्लाह लागू गर्नुपर्छ। w२३.०६ पृ. ८ अनु. १-२
आइतबार, अगस्त २४
हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ।—१ कोरि. १५:५८.
सन् १९७८ मा जापानको टोकियोमा एउटा ६० तल्ले भवन निर्माण गरियो। टोकियोमा भूकम्प गइरहने भएकोले मानिसहरूलाई त्यो भवन ढल्छ जस्तो लागेको थियो। तर त्यस गगनचुम्बी भवनलाई भूकम्पले खासै असर गरेन। किन? इन्जिनियरहरूले त्यो भवन भूकम्पका धक्काहरूलाई थेग्न सक्नेगरि डिजाइन गरेका थिए। त्यो भवन मजबुत हुनुका साथै लचकदार पनि थियो। ख्रिष्टियनहरू पनि त्यो गगनचुम्बी भवनजस्तै हुन्। कुन अर्थमा? ख्रिष्टियनहरूले अटल हुनु र लचिलो हुनुबीच सन्तुलन कायम राख्नुपर्छ। यहोवाको नीतिनियम र स्तर पालन गर्ने सन्दर्भमा तिनीहरू बलियो र स्थिर हुनुपर्छ। तिनीहरू “आज्ञाकारी” हुन्छन् र कुनै सम्झौता गर्दैनन्। अर्कोतर्फ, कुनै अवस्थामा सम्भव छ भने तिनीहरू “व्यावहारिक” अर्थात् लचिलो हुनुपर्छ अथवा कहिलेकाहीँ लचिलो हुनै पर्ने पनि हुन सक्छ। (याकु. ३:१७) सन्तुलित हुन सिकेका ख्रिष्टियनले यस्तै हुनुपर्छ भनेर कडिकडाउ गर्दैनन् वा जे गरे पनि हुन्छ भन्ने हल्का सोचाइ राख्दैनन्। w२३.०७ पृ. १४ अनु. १-२
सोमबार, अगस्त २५
तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ तैपनि उहाँलाई प्रेम गर्छौ।—१ पत्रु. १:८.
येसुलाई सैतानले विभिन्न प्रलोभन देखायो; यहाँसम्म कि त्यसले येसुलाई सीधै यहोवाप्रति अनाज्ञाकारी हुन दबाब दियो। (मत्ति ४:१-११) सैतान येसुलाई जसरी भए पनि पाप गर्न लगाउन लागिपरेको थियो किनभने येसुले फिरौतीको बलिदान दिएको त्यो चाहँदैनथ्यो। पृथ्वीमा हुनुहुँदा येसुले अरू परीक्षाहरूको पनि सामना गर्नुभयो। उहाँले खेदो भोग्नुभयो र शत्रुहरू उहाँलाई मार्न चाहन्थे। (लुका ४:२८, २९; १३:३१) उहाँले विभिन्न कमीकमजोरी भएका अनुयायीहरूसित व्यवहार गर्नुपऱ्यो। (मर्कु. ९:३३, ३४) पुर्पक्षको बेला उहाँलाई सास्ती दिइयो र उहाँको गिल्ला गरियो। उहाँलाई असाध्यै पीडादायी र बेइज्जतीपूर्ण तरिकामा मृत्युदण्ड दिइयो। (हिब्रू १२:१-३) उहाँले जीवनको अन्तिम घडीमा यहोवाको सुरक्षाविना नै परीक्षा सहनुभयो। (मत्ति २७:४६) स्पष्ट छ, येसुले फिरौतीको मोल तिर्न धेरै कुरा सहनुभयो। उहाँले राजीखुसीले हाम्रो लागि गर्नुभएका त्यागहरूबारे सोच्दा के उहाँप्रतिको हाम्रो प्रेम अझै प्रगाढ हुँदैन र? w२४.०१ पृ. १०-११ अनु. ७-९