शुक्रबार, अगस्त २२
‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’—एफि. ४:१३, फुटनोट।
ख्रिष्टियन पुरुषले राम्ररी कुराकानी गर्न सिक्नुपर्छ। यस्तो सीप भएको भाइले अरूको कुरा ध्यान दिएर सुन्छन् र तिनीहरूको सोचाइ अनि भावना बुझ्छन्। (हितो. २०:५) साथै अरूको बोल्ने शैली, अनुहारको भाव र शरीरको हाउभाउ हेरेर तिनीहरूले महसुस गरिरहेको कुरा बुझ्ने कोसिस गर्न सक्छन्। तपाईँले मानिसहरूसित समय बिताउनुभएन भने यस्तो सीप विकास गर्न सक्नुहुन्न। यदि तपाईँ जतिखेर पनि इमेल र मेसेजमार्फत मात्र कुराकानी गर्नुहुन्छ भने तपाईँलाई मानिसहरूसित भेटेरै कुराकानी गर्न झन्झनै गाह्रो हुन सक्छ। त्यसैले अरूसित भेटेरै कुराकानी गर्ने मौकाहरू खोज्नुहोस्। (२ युह. १२) परिपक्व ख्रिष्टियन पुरुषले आफ्नो र आफ्नो घरपरिवारको भौतिक आवश्यकता पूरा गर्नुपर्छ। (१ तिमो. ५:८) तपाईँले काम पाउन सजिलो हुन सक्ने सीप सिक्नु राम्रो हो। (प्रेषि. १८:२, ३; २०:३४; एफि. ४:२८) मेहनती र काम नसिद्धिउन्जेल त्यसमा लागिरहने व्यक्तिको रूपमा नाम कमाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिराख्न सजिलो हुन सक्छ। w२३.१२ पृ. २७ अनु. १२-१३
शनिबार, अगस्त २३
यहोवा परमेश्वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।—१ थिस्स. ५:२.
बाइबलमा “यहोवाको दिन”-ले उहाँले शत्रुहरूलाई नाश गर्ने र आफ्ना मानिसहरूको उद्धार गर्ने समयलाई बुझाउँछ। विगतमा यहोवाले सजाय दिन केही राष्ट्रलाई नाश गर्नुभयो। (यसै. १३:१, ६; इज. १३:५; सप. १:८) आज हाम्रो समयमा “यहोवाको दिन” महान् बेबिलोनमाथि आक्रमण हुँदा सुरु हुनेछ र आरमागेडोनको युद्धमा अन्त हुनेछ। त्यस “दिन”-मा नाश हुनदेखि बच्न हामी अहिल्यैदेखि तयार रहनुपर्छ। येसुले हामीलाई “महासङ्कष्ट”-को लागि “तयार रहो” भन्नुभयो। यस अभिव्यक्तिले निरन्तर गरिरहनुपर्ने कुरालाई सङ्केत गर्छ। (मत्ति २४:२१; लुका १२:४०) प्रेषित पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा यहोवाको न्यायको महान् दिनको लागि हरदम तयार रहन सल्लाह दिए। यो कुरा बुझाउन तिनले थुप्रै उदाहरण चलाए। यहोवाको दिन तुरुन्तै आइहाल्दैन भनेर पावललाई थाह थियो। (२ थिस्स. २:१-३) तैपनि तिनले त्यो दिन भोलि नै आउने जस्तैगरि तयार रहन भाइहरूलाई आग्रह गरे। हामीले पनि तिनको सल्लाह लागू गर्नुपर्छ। w२३.०६ पृ. ८ अनु. १-२
आइतबार, अगस्त २४
हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ।—१ कोरि. १५:५८.
सन् १९७८ मा जापानको टोकियोमा एउटा ६० तल्ले भवन निर्माण गरियो। टोकियोमा भूकम्प गइरहने भएकोले मानिसहरूलाई त्यो भवन ढल्छ जस्तो लागेको थियो। तर त्यस गगनचुम्बी भवनलाई भूकम्पले खासै असर गरेन। किन? इन्जिनियरहरूले त्यो भवन भूकम्पका धक्काहरूलाई थेग्न सक्नेगरि डिजाइन गरेका थिए। त्यो भवन मजबुत हुनुका साथै लचकदार पनि थियो। ख्रिष्टियनहरू पनि त्यो गगनचुम्बी भवनजस्तै हुन्। कुन अर्थमा? ख्रिष्टियनहरूले अटल हुनु र लचिलो हुनुबीच सन्तुलन कायम राख्नुपर्छ। यहोवाको नीतिनियम र स्तर पालन गर्ने सन्दर्भमा तिनीहरू बलियो र स्थिर हुनुपर्छ। तिनीहरू “आज्ञाकारी” हुन्छन् र कुनै सम्झौता गर्दैनन्। अर्कोतर्फ, कुनै अवस्थामा सम्भव छ भने तिनीहरू “व्यावहारिक” अर्थात् लचिलो हुनुपर्छ अथवा कहिलेकाहीँ लचिलो हुनै पर्ने पनि हुन सक्छ। (याकु. ३:१७) सन्तुलित हुन सिकेका ख्रिष्टियनले यस्तै हुनुपर्छ भनेर कडिकडाउ गर्दैनन् वा जे गरे पनि हुन्छ भन्ने हल्का सोचाइ राख्दैनन्। w२३.०७ पृ. १४ अनु. १-२