बिहीबार, अगस्त २१
सहनशीलताबाट परमेश्वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ अनि परमेश्वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्न गराउँछ।—रोमी ५:४.
सहनशील हुँदा तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ। तर यसको मतलब तपाईँले परीक्षा वा समस्या भोग्दा यहोवा खुसी हुनुहुन्छ भन्ने त पटक्कै होइन। बरु तपाईँले वफादार भई सहनुभएकोमा उहाँ खुसी हुनुहुन्छ र तपाईँलाई अनुमोदन दिनुहुन्छ। योभन्दा ठूलो आशिष् अरू के नै होला र? (भज. ५:१२) नबिर्सनुहोस्, अब्राहामले परीक्षाहरू सहे र परमेश्वरको अनुमोदन पाए। यहोवाले तिनलाई आफ्नो मित्र ठान्नुभयो र धर्मी ठहराउनुभयो। (उत्प. १५:६; रोमी ४:१३, २२) हाम्रो सन्दर्भमा पनि त्यसै भन्न सक्छौँ। परमेश्वरको सेवामा के-कति गरेका छौँ वा कस्ता सुअवसरहरू पाएका छौँ भन्ने आधारमा उहाँले हामीलाई अनुमोदन दिनुहुने होइन। बरु वफादार भई सह्यौँ भने उहाँ हामीलाई अनुमोदन दिनुहुन्छ। हाम्रो उमेर, परिस्थिति वा क्षमता जस्तोसुकै भए पनि हामी सहनशील हुन सक्छौँ। के तपाईँ अहिले वफादार भई कुनै परीक्षा सहँदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँले परमेश्वरको अनुमोदन पाउनुभएको छ। यस कुरामा ढुक्क हुनुभयो भने तपाईँको आशा अझ बलियो हुनेछ। w२३.१२ पृ. ११ अनु. १३-१४
शुक्रबार, अगस्त २२
‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’—एफि. ४:१३, फुटनोट।
ख्रिष्टियन पुरुषले राम्ररी कुराकानी गर्न सिक्नुपर्छ। यस्तो सीप भएको भाइले अरूको कुरा ध्यान दिएर सुन्छन् र तिनीहरूको सोचाइ अनि भावना बुझ्छन्। (हितो. २०:५) साथै अरूको बोल्ने शैली, अनुहारको भाव र शरीरको हाउभाउ हेरेर तिनीहरूले महसुस गरिरहेको कुरा बुझ्ने कोसिस गर्न सक्छन्। तपाईँले मानिसहरूसित समय बिताउनुभएन भने यस्तो सीप विकास गर्न सक्नुहुन्न। यदि तपाईँ जतिखेर पनि इमेल र मेसेजमार्फत मात्र कुराकानी गर्नुहुन्छ भने तपाईँलाई मानिसहरूसित भेटेरै कुराकानी गर्न झन्झनै गाह्रो हुन सक्छ। त्यसैले अरूसित भेटेरै कुराकानी गर्ने मौकाहरू खोज्नुहोस्। (२ युह. १२) परिपक्व ख्रिष्टियन पुरुषले आफ्नो र आफ्नो घरपरिवारको भौतिक आवश्यकता पूरा गर्नुपर्छ। (१ तिमो. ५:८) तपाईँले काम पाउन सजिलो हुन सक्ने सीप सिक्नु राम्रो हो। (प्रेषि. १८:२, ३; २०:३४; एफि. ४:२८) मेहनती र काम नसिद्धिउन्जेल त्यसमा लागिरहने व्यक्तिको रूपमा नाम कमाउनुहोस्। त्यसो गर्नुभयो भने तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिराख्न सजिलो हुन सक्छ। w२३.१२ पृ. २७ अनु. १२-१३
शनिबार, अगस्त २३
यहोवा परमेश्वरको दिन राती चोर आएजस्तै गरी आउँदै छ।—१ थिस्स. ५:२.
बाइबलमा “यहोवाको दिन”-ले उहाँले शत्रुहरूलाई नाश गर्ने र आफ्ना मानिसहरूको उद्धार गर्ने समयलाई बुझाउँछ। विगतमा यहोवाले सजाय दिन केही राष्ट्रलाई नाश गर्नुभयो। (यसै. १३:१, ६; इज. १३:५; सप. १:८) आज हाम्रो समयमा “यहोवाको दिन” महान् बेबिलोनमाथि आक्रमण हुँदा सुरु हुनेछ र आरमागेडोनको युद्धमा अन्त हुनेछ। त्यस “दिन”-मा नाश हुनदेखि बच्न हामी अहिल्यैदेखि तयार रहनुपर्छ। येसुले हामीलाई “महासङ्कष्ट”-को लागि “तयार रहो” भन्नुभयो। यस अभिव्यक्तिले निरन्तर गरिरहनुपर्ने कुरालाई सङ्केत गर्छ। (मत्ति २४:२१; लुका १२:४०) प्रेषित पावलले थिस्सलोनिकीहरूलाई लेखेको पहिलो पत्रमा यहोवाको न्यायको महान् दिनको लागि हरदम तयार रहन सल्लाह दिए। यो कुरा बुझाउन तिनले थुप्रै उदाहरण चलाए। यहोवाको दिन तुरुन्तै आइहाल्दैन भनेर पावललाई थाह थियो। (२ थिस्स. २:१-३) तैपनि तिनले त्यो दिन भोलि नै आउने जस्तैगरि तयार रहन भाइहरूलाई आग्रह गरे। हामीले पनि तिनको सल्लाह लागू गर्नुपर्छ। w२३.०६ पृ. ८ अनु. १-२