-
बाइबल—“परमेश्वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?ब्यूँझनुहोस्!—२०१७ | सङ्ख्या ३
-
-
आवरण लेख | के बाइबल साँच्चै ईश्वरको वचन हो?
बाइबल—“परमेश्वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?
बाइबल परमेश्वरले दिनुभएको किताब हो भनेर के तपाईं विश्वास गर्नुहुन्छ? अथवा यो मानिसहरूको विचारधाराले भरिएको किताब मात्र हो जस्तो लाग्छ कि?
ख्रीष्टियन हुँ भनेर दाबी गर्ने मानिसहरूसमेत यस विषयमा विवाद गर्दै छन्। उदाहरणको लागि, सन् २०१४ मा अमेरिकामा एउटा आम सर्वेक्षण गरियो। त्यस सर्वेक्षणअनुसार ख्रीष्टियन हुँ भनेर दाबी गर्नेमध्ये धेरैजसो मानिस “बाइबल कुनै न कुनै तरिकामा परमेश्वरसित सम्बन्धित छ” भन्ने कुरामा सहमत थिए। अर्कोतर्फ, सर्वेक्षणमा पाँच जनामा लगभग एक जनाले चाहिं बाइबललाई “लोक कथा, दन्त्य कथा र इतिहासको किताब अनि मानिसको विचारले भरिएको किताबको” रूपमा लिए। यसरी कुरा बाझिएकोले “प्रेरणाद्वारा लेखिएको” भन्नुको वास्तविक अर्थ बुझ्नु अपरिहार्य भएको छ।—२ तिमोथी ३:१६.
“प्रेरणाद्वारा लेखिएको” भन्नुको अर्थ के हो?
बाइबल ६६ वटा स-साना किताबहरूको सङ्गालो हो। यो लगभग १६ सय वर्षको अवधिमा ४० जना जति मानिसहरूले लेखेको किताब हो। तर प्रश्न उठ्छ, बाइबल मानिसहरूले लेखेको किताब हो भने यसलाई “परमेश्वरको प्रेरणाद्वारा लेखिएको” किताब भन्न कसरी मिल्छ? सरल भाषामा भन्नुपर्दा, “परमेश्वरको प्रेरणाद्वारा लेखिएको” भन्नुको अर्थ यसमा भएका जानकारीहरूको स्रोत परमेश्वर हुनुहुन्छ भन्ने हो। यसबारे बाइबल यसो भन्छ: “पवित्र शक्ति पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।” (२ पत्रुस १:२१) अर्को शब्दमा भन्नुपर्दा, बाइबल लेखकहरूलाई सन्देश दिन परमेश्वरले आफ्नो सक्रिय शक्ति अर्थात् पवित्र शक्ति प्रयोग गर्नुभयो। यसलाई एक जना व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाएको कुरासित तुलना गर्न सकिन्छ। त्यो पत्रको स्रोत लेख्ने व्यक्ति होइन, लेख्न लगाउने व्यक्ति हुन्छ।
केही बाइबल लेखकले परमेश्वरको सन्देश स्वर्गदूतबाट मौखिक रूपमा सुने। कतिले भने परमेश्वरबाट दर्शन देखे। अरूले चाहिं निदाइरहेको बेला सपनाको रूपमा परमेश्वरको सन्देश पाए। परमेश्वरले कहिलेकाहीं मानिसहरूलाई तिनीहरूको आफ्नै शैलीमा सन्देश लेख्न छुट दिनुभयो भने कहिलेकाहीं चाहिं उहाँले भन्नुभएको एउटा-एउटा शब्द जस्ताको तस्तै लेख्न लगाउनुभयो। कुरा जेसुकै भए पनि ती लेखकहरूले आफ्नो विचार होइन, परमेश्वरको विचार लेखे।
बाइबल लेखहरूलाई प्रेरणा दिनुहुने परमेश्वर नै हुनुहुन्थ्यो भनेर हामी कसरी पक्का हुन सक्छौं? बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भन्ने कुरामा हामीलाई विश्वस्त पार्ने तीन वटा प्रमाण विचार गरौं।
-
-
बाइबल—हर पक्षबाट सहीब्यूँझनुहोस्!—२०१७ | सङ्ख्या ३
-
-
आवरण लेख | के बाइबल साँच्चै ईश्वरको वचन हो?
बाइबल—हर पक्षबाट सही
वैज्ञानिक रूपमा सही
हुन त बाइबल विज्ञानको किताब होइन तर भौतिक ब्रह्माण्डबारे यसमा लेखिएका कुराहरू सही छन्। वायु विज्ञान र आनुवंशिक विज्ञानसम्बन्धी केही उदाहरण विचार गरौं।
वायु विज्ञान—पानी कसरी पर्छ?
वायु विज्ञान
बाइबल भन्छ: “[परमेश्वरले] समुद्रबाट पानीको थोपा खिंच्नुहुन्छ र आफूले बनाउनुभएको मेघबाट झरी वर्षाउनुहुन्छ। वृष्टिको मेघले मुसलधारे पानी वर्षाउँछ।”—अय्यूब ३६:२७, २८.
यस बाइबल पदमा जलचक्रको मुख्य तीन चरणबारे चर्चा गरिएको छ। सौर्य तापको स्रोत परमेश्वरले (१) वाष्पीकरण प्रक्रियाद्वारा “पानीको थोपा खिंच्नुहुन्छ।” त्यसपछि माथि जम्मा भएको पानीको बाफ (२) द्रवीकरण प्रक्रियाको कारण बादलमा परिणत हुन्छ र पानीको रूपमा वा अन्य रूपमा (३) वृष्टि हुन्छ। वायुविद्हरूले अहिलेसम्म पनि पानी कसरी पर्छ भन्नेबारे सबै कुरा विस्तृत रूपमा बुझ्न सकेका छैनन्। रोचक कुरा, बाइबलमा यस्तो प्रश्न सोधिएको छ: “आकाशमा गलैंचाझैं फैलिएको उडिरहने बादलको रहस्यलाई कुन मानिसले जान्दछ र?” (अय्यूब ३६:२९) तर सृष्टिकर्तालाई जलचक्रबारे सबै कुरा थाह छ। त्यसैले उहाँले बाइबल लेखकहरूलाई यसबारे सही तरिकामा लेख्न लगाउनुभयो। मानिसहरूलाई जलचक्रबारे आधारभूत कुरासमेत थाह नभएको समयमा उहाँले यो कुरा लेख्न लगाउनुभएको थियो।
आनुवंशिक विज्ञान—मानव भ्रूणको विकास
आनुवंशिक विज्ञान
बाइबलका लेखक राजा दाऊदले परमेश्वरलाई यसो भने: “म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए र मेरा सबै अङ्ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन १३९:१६) पहिल्यै लेखिएको “पुस्तकमा” भएको निर्देशनबमोजिमै भ्रूणको विकास हुन्छ भनी दाऊदले कवितात्मक शैलीमा लेखे। अचम्मको कुरा, यो विवरण आजभन्दा झन्डै ३ हजार वर्षअघि लेखिएको थियो!
तर अस्ट्रियाका वनस्पति विज्ञ ग्रेगोर मेन्डलले उन्नाइसौं शताब्दीको बीचतिर मात्र आनुवंशिक विज्ञानको आधारभूत सिद्धान्त पत्ता लगाए। अनि अनुसन्धानकर्ताहरूले अप्रिल २००३ मा एउटा जीवित मानव शरीर बन्न चाहिने सबै आनुवंशिक जानकारी क्रमबद्ध रूपमा राख्न सके। वैज्ञानिकहरूले यो आनुवंशिक रासायनिक कोडलाई अक्षरहरू र शब्दहरू व्यवस्थित तरिकामा मिलेर बनेको शब्दकोशसँग तुलना गरेका छन्। यी शब्दहरूद्वारा आनुवंशिक निर्देशन तयार हुन्छ। अनि यी नै निर्देशनको आधारमा भ्रूणका विभिन्न भाग जस्तै: मस्तिष्क, मुटु, फोक्सो र हातखुट्टाको विकास ठीक क्रमअनुसार ठीक समयमा हुन्छ। त्यसैले वैज्ञानिकहरूले आनुवंशिक जानकारीलाई “जीवनको पुस्तक” भन्नु एकदमै उपयुक्त छ। बाइबल लेखक दाऊदले यो कुरा कसरी सही तरिकामा लेख्न सके? तिनले नम्र हुँदै यसो भने: “[यहोवाको] आत्मा मद्वारा बोल्नुभएको छ र उहाँको वचन मेरो मुखमा छ।”a—२ शमूएल २३:२.
भविष्यको सही पूर्वानुमान लगाउन सक्छ
कुनै पनि राज्य वा सहर कहिले र कसरी शक्तिमा आउँछ वा विनाश हुन्छ अनि त्यसले कुन हदसम्म प्रभाव जमाउन सक्छ भनेर पहिल्यै थाह पाउनु लगभग असम्भवै छ। तर बाइबलमा शक्तिशाली शासक र सहरहरू विनाश हुनेबारे विस्तृत रूपमा भविष्यवाणी गरिएको थियो। दुइटा उदाहरण विचार गरौं।
बेबिलोनको विनाश र यसको उजाड अवस्था
प्राचीन बेबिलोन पश्चिम एसियामा सयौं वर्षसम्म आफ्नो पकड जमाइरहेको बलियो साम्राज्यको केन्द्र थियो। कुनै समय यो विश्वकै सबैभन्दा ठूलो सहर थियो। तर बेबिलोन विनाश हुनुभन्दा लगभग २०० वर्षअघि परमेश्वरले बाइबल लेखक यशैयालाई त्यो सहरको विनाशबारे भविष्यवाणी गर्न लगाउनुभयो। कोरेस नाम गरेका व्यक्तिले बेबिलोन विनाश गर्नेछन् र त्यहाँ कहिल्यै कोही मानिस बसोबास गर्ने छैन भनेर यशैयाले भविष्यवाणी गरे। (यशैया १३:१७-२०; ४४:२७, २८; ४५:१, २) के साँच्चै त्यस्तै भयो?
इतिहास
ईसापूर्व ५३९, अक्टोबरमा महान् कोरेसले बेबिलोनलाई एकै रातमा कब्जा गरे। पछि गएर बेबिलोन वरपरको उर्वर भूमिलाई सिंचाइ गर्न प्रयोग गरिएको नहर कसैले पनि रेखदेख नगरेकोले सुक्यो। इस्वी संवत् २०० सम्ममा त त्यो सहर उजाड भइसकेको थियो। आजसम्म पनि बेबिलोन खण्डहर अवस्थामै छ। बाइबलले भविष्यवाणी गरेअनुसारै बेबिलोन “बिलकुलै सर्वनाश” भएको छ।—यर्मिया ५०:१३.
बाइबल लेखक यशैयाले यस्तो सही जानकारी कहाँबाट पाए? “बाबेलको विषयको ईश्वरवाणी, जो आमोसको छोरो यशैयाले दर्शनमा पाए” भनी बाइबल बताउँछ।—यशैया १३:१.
निनवे—“मरुभूमिजस्तो सुक्खा”
अश्शूरी साम्राज्यको राजधानी सहर, निनवेको वास्तुकला अत्यन्तै सुन्दर मानिन्थ्यो। यस सहरमा ठूला-ठूला सडक, सार्वजनिक बगैंचा, मन्दिर र भव्य दरबारहरू थिए। तर भविष्यवक्ता सपन्याहले यो विशाल सहर “उजाड र मरुभूमिजस्तो सुक्खा” हुनेछ भनेर भविष्यवाणी गरे।—सपन्याह २:१३-१५, NRV.
ईसापूर्व सातौं शताब्दीमा बेबिलोन र मादीका फौज मिलेर निनवेलाई पूर्ण रूपमा ध्वस्त पारे। एउटा स्रोतअनुसार पराजित भएको त्यो सहर “२ हजार ५ सय वर्षसम्म सम्झनामै रहेन।” केही समय त मानिसहरूले निनवे सहरको अस्तित्वबारे पनि शङ्का गरेका थिए। उन्नाइसौं शताब्दीको बीचतिर मात्र पुरातत्त्वविद्हरूले निनवेको भग्नावशेष उत्खनन गर्न थाले। उचित संरक्षणको अभाव र लुटपाटको कारण आज यो सहर जीर्ण अवस्थामा छ। त्यसैले एउटा संस्थालेb यस्तो चेतावनी दिएको छ: “निनवेको भग्नावशेष सदाको लागि लोप हुने खतरा छ।”
सपन्याहले यस्तो अग्रिम जानकारी कहाँबाट पाए? ‘आफूकहाँ यहोवाको वचन आयो’ भनी सपन्याहले बताए।—सपन्याह १:१.
बाइबलमा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाइन्छ
हाम्रो मनमा उब्जने महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलमा पाइन्छ। केही उदाहरण विचार गरौं।
संसारमा किन यति धेरै दुःखकष्ट छ?
दुःखकष्टको विषयमा बाइबलको विभिन्न ठाउँमा चर्चा गरिएको छ। बाइबलमा यस्तो लेखिएको छ:
१. “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.
असक्षम र भ्रष्ट मानव शासनले तीन थुप्रो दुःखकष्ट निम्त्याएको छ।
२. “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.
एक्कासी निम्तिने समस्या जस्तै: गम्भीर रोगबिमार, दुर्घटना वा प्राकृतिक प्रकोपले जोसुकैलाई, जहिले पनि र जहाँ पनि असर गर्न सक्छ।
३. “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२.
पहिलो मानव पुरुष र स्त्रीलाई सृष्टि गरिंदा त्रुटिपूर्ण अवस्था र मृत्यु भन्ने कुरा नै थिएन। जब तिनीहरूले जानाजानी सृष्टिकर्ताको आज्ञा उल्लङ्घन गरे, तब “पाप संसारमा प्रवेश भयो।”
बाइबलमा मानिसहरूले दुःखकष्ट भोग्नुको कारण मात्र नभई परमेश्वरले दुःखकष्ट हटाउने विषयमा गर्नुभएको प्रतिज्ञाबारे पनि बताइएको छ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
मरेपछि हामीलाई के हुन्छ?
बाइबलले बताएअनुसार मृत्यु भनेको पूर्ण रूपमा अचेत र निष्क्रिय अवस्था हो। बाइबलको उपदेशक ९:५ मा यसो भनिएको छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्।” मरेपछि हाम्रा “योजनाहरू पनि नष्ट हुन्छन्।” (भजन १४६:४, NRV) मृत्युपछि हाम्रो मस्तिष्कलगायत कुनै पनि इन्द्रियले काम गर्न सक्दैन। त्यसैले मृत्युपछि हामी केही गर्न, सोच्न वा महसुस गर्न सक्दैनौं।
तर बाइबलले मृतकहरूको अवस्थाबारे मात्र बताएको छैन। मृतकहरू मृत्युको चिर निद्राबाट ब्यूँझने अर्थात् पुनर्जीवित हुने उज्ज्वल आशा पनि दिएको छ।—होशे १३:१४; यूहन्ना ११:११-१४.
जीवनको उद्देश्य के हो?
बाइबलअनुसार यहोवा परमेश्वरले पुरुष र स्त्री सृष्टि गर्नुभयो। (उत्पत्ति १:२७) त्यसैले पहिलो पुरुष आदमलाई “परमेश्वरका छोरा” भनी बताइएको छ। (लूका ३:३८) स्वर्गमा बस्नुहुने बुबासित मित्रता गाँसिरहोस् र पृथ्वीमा सधैंभरि आनन्दित जीवन बिताइरहोस् भन्ने उद्देश्यसहित तिनलाई सृष्टि गरिएको थियो। अनि सबै मानिसलाई आध्यात्मिक आवश्यकतासहित अर्थात् परमेश्वरबारे सिक्ने इच्छासहित सृष्टि गरिएको थियो। त्यसैले बाइबल भन्छ: “आनन्दित हुन् ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्।”—मत्ती ५:३.
साथै बाइबल भन्छ : “धन्य त तिनीहरू हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्!” (लूका ११:२८) बाइबलले हामीलाई परमेश्वरबारे सिक्न मात्र होइन तर अहिल्यै आनन्दित जीवन बिताउन मदत गर्छ अनि भविष्यमा सधैंभरि बाँच्ने आशा दिन्छ।
बाइबलको ग्रन्थकार र तपाईं
प्रमाण केलाएर हेरेपछि संसारका लाखौं मानिस बाइबल एउटा पुरानो किताब मात्र होइन रहेछ भन्ने निष्कर्षमा पुगेका छन्। तिनीहरू बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको किताब हो र यसैद्वारा उहाँले तपाईं लगायत सम्पूर्ण मानिससित कुराकानी गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छन्। परमेश्वरले उहाँलाई चिन्न र उहाँको साथी हुन तपाईंलाई निम्तो दिनुभएको छ। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८.
बाइबलमा लेखिएका कुराहरूबारे गहिरो अध्ययन गर्नुभयो भने तपाईंले ठूलो लाभ उठाउन सक्नुहुन्छ। कस्तो लाभ? जसरी कुनै किताब पढ्दा तपाईंले त्यसको ग्रन्थकारबारे केही कुरा बुझ्न सक्नुहुन्छ, त्यसरी नै बाइबल पढ्दा तपाईंले यसको ग्रन्थकार परमेश्वरको सोचाइ र भावना बुझ्न सक्नुहुन्छ। यसले तपाईंको लागि कस्तो अर्थ राख्छ, सोच्नुहोस्। हो, तपाईंले सृष्टिकर्ताको विचार र भावना थाह पाउन सक्नुहुन्छ। यसको साथै बाइबलमा यी कुराहरूबारे पनि बताइएको छ:
परमेश्वरको नाम, उहाँको स्वभाव र उहाँका अद्भुत गुणहरू।
मानिसजातिको लागि परमेश्वरको उद्देश्य।
परमेश्वरसित नजिक हुने तरिका।
के तपाईं अझ धेरै कुरा सिक्न चाहनुहुन्छ? यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्। तिनीहरूले तपाईंलाई बाइबलबारे निश्शुल्क सिकाउँछन्। यसले तपाईंलाई बाइबलको ग्रन्थकार यहोवा परमेश्वरसित अझ नजिक हुन मदत गर्छ।
यस लेखमा बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको किताब हो भन्ने कुराको केही प्रमाण प्रस्तुत गरिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय २ हेर्नुहोस्। यो किताब jw.org/ne मा गएर डाउनलोड गर्न सक्नुहुन्छ
तपाईंले jw.org/ne मा उपलब्ध बाइबलको वास्तविक लेखक को हो? भन्ने भिडियो पनि हेर्न सक्नुहुन्छ
प्रकाशनहरू > भिडियोहरू अन्तर्गत हेर्नुहोस्
a बाइबलमा परमेश्वरको नाम यहोवा हो भनेर बताइएको छ।—प्रकाश १५:३.
b Global Heritage Fund
-