-
के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्?प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्?
संसारभरि कति जना ख्रिष्टियन छन्? एटलस अफ ग्लोबल क्रिष्टियनिटी नामको किताबअनुसार सन् २०१० मा विश्वभरि झन्डै २ अरब ३० करोड ख्रिष्टियन थिए। त्यही किताबमा बताइएअनुसार यी ख्रिष्टियनहरूबीच पनि ४१ हजारभन्दा धेरै सम्प्रदाय छन् अनि तिनीहरूको आ-आफ्नै शिक्षा र नीतिनियम छ। ख्रिष्टियन धर्मका यत्ति धेरै सम्प्रदाय देखेर थुप्रै मानिस अलमल्लमा पर्नु अनौठो कुरा होइन। तिनीहरूको मनमा यस्तो प्रश्न उठ्न सक्छ: ‘के ख्रिष्टियन हुँ भनेर दाबी गर्ने सबै साँच्चै ख्रिष्टियन हुन्?’
यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। कुनै व्यक्ति एउटा देशबाट अर्को देश जाँदा अक्सर तिनले आफ्नो परिचय खुलाउनुपर्ने हुन्छ। तिनले आफू को हुँ भनेर प्रमाणित गर्न आफ्नो परिचय पत्र पनि देखाउनुपर्छ, जस्तै: पासपोर्ट। त्यसैगरि कसैले ख्रिष्टमा विश्वास गरेको दाबी गर्दैमा ऊ साँचो ख्रिष्टियन भइहाल्दैन। उसले आफू ख्रिष्टियन भएको थप प्रमाण दिनुपर्छ। उसले कस्तो प्रमाण दिनुपर्छ?
“ख्रिष्टियन” शब्द येसुको मृत्यु भएको लगभग १० वर्षपछि प्रयोग गर्न थालियो। यसको इतिहासबारे एक जना बाइबल लेखक लुकाले लेखे: “एन्टिओकमा पहिलो पटक चेलाहरूलाई ईश्वरीय निर्देशनद्वारा ‘ख्रिष्टियन’ भन्न थालियो।” (प्रेषित ११:२६) हो, येसु ख्रिष्टका चेलाहरूलाई नै ख्रिष्टियन भन्न थालियो। येसु ख्रिष्टको चेला बन्न चाहनेले के गर्नुपर्छ? द न्यु इन्टरनेशनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी भन्छ: “येसुको चेला बनेर उहाँलाई पछ्याउनु भनेको विनाशर्त आफ्नो पूरै जीवन अर्पण गर्नु हो ... जीवनभर आत्मत्यागी भएर जिउनु हो।” त्यसैले साँचो ख्रिष्टियन उही हो जसले साँचो ख्रिष्टियन धर्मको संस्थापक येसुको शिक्षा र निर्देशन विनाशर्त पूर्ण रूपले पालन गर्छ।
के आज ख्रिष्टियन हुँ भनेर दाबी गर्ने यत्ति धेरै मानिसहरूमाझ यस्ता मानिसहरू भेट्टाउन सम्भव छ? आफ्ना साँचो चेलाहरूको चिनारीबारे येसु आफैले के बताउनुभयो? बाइबलले कस्तो जवाफ दिन्छ भनेर जाँच्न हामी तपाईँलाई आग्रह गर्छौँ। यसपछिका लेखहरूमा येसुले भन्नुभएका पाँच वटा कुरा विचार गर्नेछौँ, जसबाट हामी साँचो ख्रिष्टियनहरू को हुन् भनेर बुझ्न सक्छौँ। प्रथम शताब्दीका येसुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए, विचार गर्नेछौँ। साथै आज ख्रिष्टियन भएको दाबी गर्नेहरूमध्ये साँचो ख्रिष्टियनको चिनारी कसले दिइरहेका छन्, त्यो पनि विचार गर्नेछौँ।
-
-
‘तिमीहरू मेरो वचनमा रहो’प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
‘तिमीहरू मेरो वचनमा रहो’
“तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्ना ८:३१, ३२.
यसको अर्थ के हो? येसुको “वचन” भनेको उहाँको शिक्षा हो, जुन उच्च स्रोतबाट आएको हो। येसुले भन्नुभयो: “मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।” (युहन्ना १२:४९) स्वर्गमा बस्नुहुने आफ्नो बुबा यहोवा परमेश्वरलाई प्रार्थना गर्नुहुँदा उहाँले भन्नुभयो: “तपाईँको वचन सत्य हो।” अरूलाई सिकाउँदा येसु अक्सर परमेश्वरको वचनबाट उद्धरण गर्नुहुन्थ्यो। (युहन्ना १७:१७; मत्ति ४:४, ७, १०) त्यसैले साँचो ख्रिष्टियनहरू ‘उहाँको वचनमा रहन्छन्।’ मतलब, तिनीहरू परमेश्वरको वचन बाइबल “सत्य” हो भनेर स्विकार्छन् र यसलाई मात्र आफ्नो विश्वासको एक मात्र आधार मान्छन् अनि यसैअनुसार जीवन बिताउँछन्।
सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? बाइबलका थुप्रै किताब लेख्ने प्रेषित पावलले येसुले जस्तै परमेश्वरको वचनको कदर गरे। तिनले लेखे: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो ... उपयोगी छ।” (२ तिमोथि ३:१६) सङ्गी ख्रिष्टियनहरूलाई सिकाउन नियुक्त भएका पुरुषहरू “विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने” हुनुपर्थ्यो। (तितस १:७, ९) सुरु-सुरुका ख्रिष्टियनहरूलाई यस्तो चेतावनी दिइएको थियो: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा कैदी नबनाओस्। यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्, ख्रिष्टको शिक्षामा होइन।”—कलस्सी २:८.
आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्? क्याथोलिक चर्चका शिक्षाहरू (अङ्ग्रेजी) भन्ने किताबअनुसार “क्याथोलिक चर्चमा सिकाइने सबै कुरा पवित्र धर्मशास्त्रबाट मात्र लिइएका होइनन्। त्यसैले पवित्र रीतिथिति र पवित्र धर्मशास्त्र दुवैलाई स्विकार्नुपर्छ र मनैदेखि मान्नुपर्छ।” म्याकलिन्स पत्रिकाको एउटा लेखमा क्यानाडाको टोरोन्टोको एउटा चर्चकी अगुवाको यो कुरा छापिएको थियो: “हामी २ हजार वर्षअघिको क्रान्तिकारी विचारधाराअनुसार चल्नुपर्छ र? हामीसितै उत्कृष्ट विचारधाराहरू छन्। तर हाम्रा विचारधाराहरूलाई येसु र धर्मशास्त्रको शिक्षाअनुसार ढाल्न खोज्दा ती ओझेलमा पर्छन्।”
यहोवाका साक्षीहरूबारे द न्यु क्याथोलिक इन्साइक्लोपीडिया भन्छ: “तिनीहरू बाइबललाई आफ्नो विश्वासको एक मात्र आधार मान्छन् र यसैअनुसार जीवन बिताउँछन्।” हालै क्यानाडामा एक जना यहोवाको साक्षीले आफ्नो परिचय दिइरहेको बेला एक जना मानिसले तिनको कुरा बीचैमा काटे र तिनको बाइबललाई देखाउँदै भने: “तपाईँ को हो भनेर मैले थाह पाइसकेँ।”
-
-
“यस संसारका होइनन्”प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
“यस संसारका होइनन्”
“संसारले तिनीहरूलाई घृणा गरेको छ किनकि . . . तिनीहरू पनि यस संसारका होइनन्।”—युहन्ना १७:१४.
यसको अर्थ के हो? येसु संसारको भाग हुनुहुन्न थियो। त्यसैले उहाँ त्यतिबेलाको सामाजिक र राजनैतिक विवादहरूमा तटस्थ रहनुभयो। उहाँले भन्नुभयो: “यदि मेरो राज्य यस संसारको हुँदो हो त म यहुदीहरूको हातमा नपरूँ भनेर मेरा सेवकहरूले लडाइँ गर्ने थिए। तर वास्तवमा मेरो राज्य यस संसारको होइन।” (युहन्ना १८:३६) साथै उहाँले चेलाहरूलाई परमेश्वरको वचनसित मेल नखाने मनोभाव, बोली र आचरण विकास नगर्नू भन्नुभयो।—मत्ति २०:२५-२७.
सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? धर्मसम्बन्धी लेखक जोनाथन डायमन्डले बताएअनुसार “सुरु-सुरुका ख्रिष्टियनहरूले [युद्धमा] भाग लिन इन्कार गरे, चाहे त्यसको लागि तिनीहरूले बदनामी, जेल सजाय वा मृत्यु नै भोग्नु किन नपरोस्।” तिनीहरू तटस्थ रहने आफ्नो अडानमा सम्झौता गर्नभन्दा त दुःख भोग्न नै राजी भए। तिनीहरूको नैतिक स्तरले गर्दा पनि तिनीहरू अरूभन्दा फरक देखिन्थे। ख्रिष्टियनहरूलाई यसो भनिएको थियो: “तिमीहरूले तिनीहरूसित यस्तो दुराचारको मार्गमा हिँड्न छोडिदिएको हुनाले तिनीहरू चकित भएका छन्, त्यसैले तिमीहरूको विषयमा दुर्वचन बोल्छन्।” (१ पत्रुस ४:४) इतिहासकार विल डुरान्टले लेखे: “ख्रिष्टियनहरूको भक्ति र असल आचरणले गर्दा त्यतिबेलाका विलासी जीवन बिताउने गैर-ख्रिष्टियनहरूलाई निकै अप्ठ्यारो परेको थियो।”
आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्? ख्रिष्टियनहरूको तटस्थताबारे न्यु क्याथोलिक इन्साइक्लोपीडिया-ले बताएअनुसार “हतियार उठाउन इन्कार गर्नु सरासर गलत हो।” रिफोर्मेरटे प्रेसे पत्रिकाको एउटा लेखमा अफ्रिकन राइट्स नामको मानवअधिकार सङ्गठनको रिपोर्ट समावेश गरिएको थियो। त्यस रिपोर्टअनुसार सन् १९९४ मा रूवाण्डामा भएको नरसंहारमा “यहोवाका साक्षीहरूबाहेक” सबै चर्चले भाग लिएका थिए।
हाइस्कुलमा पढाउने एक जना शिक्षकले नाजीहरूले गरेको नरसंहारबारे यसरी दुःख व्यक्त गरे: “त्यतिबेला फैलाइएको झूट, क्रूरता र अत्याचारविरुद्ध आम मानिसहरूको कुनै पनि समूह वा सङ्गठनले आवाज उठाएन।” अमेरिकास्थित नाजी नरसंहारसम्बन्धी एउटा सङ्ग्रहालयबाट सही जानकारी पाएपछि तिनले भने: “बल्ल मैले आफ्नो प्रश्नको जवाफ पाएँ।” त्यतिबेला यहोवाका साक्षीहरूले क्रूर सतावट भोग्नुपरे तापनि आफ्नो विश्वासमा अडिग रहे भनेर तिनले थाह पाए।
तिनीहरूको नैतिक मूल्यमान्यता कस्तो छ? अमेरिकाको क्याथोलिक धर्मसम्बन्धी एउटा पत्रिका भन्छ: “आज क्याथोलिक धर्म मान्ने थुप्रै युवा विवाह नगरी सँगै बस्ने वा विवाहपूर्व यौनसम्बन्ध राख्ने विषयमा चर्चको शिक्षा स्विकार्दैनन्।” त्यही पत्रिकामा एक जना पादरीले भनेको यो कुरा लेखिएको थियो: “मलाई लाग्छ, धेरै मानिस, भनौँ भने ५० प्रतिशतभन्दा पनि बढी, चर्चमा विवाह गर्न आउँदा सँगै बस्न थालिसकेका हुन्छन्।” द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार यहोवाका साक्षीहरू “उच्च मूल्यमान्यताअनुसार चल्न दृढ छन्।”
-
-
“तिमीहरू आपसमा प्रेम गर”प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
“तिमीहरू आपसमा प्रेम गर”
“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्।”—युहन्ना १३:३४, ३५.
यसको अर्थ के हो? येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई जसरी प्रेम गर्नुभएको थियो, त्यसरी नै आपसमा प्रेम गर्नू भनेर तिनीहरूलाई आज्ञा दिनुभयो। येसुले तिनीहरूलाई कसरी प्रेम गर्नुभयो? उहाँको समयमा जातीय र लैङ्गिक भेदभाव सामान्य भए तापनि उहाँले सबैलाई प्रेम गर्नुभयो। (युहन्ना ४:७-१०) प्रेमले गर्दा नै येसु अरूलाई मदत गर्न आफ्नो समय, शक्ति र सुखसुविधा त्याग्न तयार हुनुभयो। (मर्कुस ६:३०-३४) त्यति मात्र होइन, उहाँले प्रेम देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले भन्नुभयो: “म असल गोठालो हुँ। असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।”—युहन्ना १०:११.
सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? प्रथम शताब्दीका ख्रिष्टियनहरूले एकअर्कालाई “भाइ” वा “बहिनी” भनेर बोलाउँथे। (फिलेमोन १, २) ख्रिष्टियन मण्डलीमा सबै जातिका मानिसलाई स्वागत गरिन्थ्यो ‘किनकि सबैका प्रभु एकै जना हुनुभएकोले यहुदी वा ग्रीकबीच कुनै भिन्नता छैन’ भनेर तिनीहरू विश्वास गर्थे। (रोमी १०:११, १२) इस्वी संवत् ३३ पेन्तिकोसपछि यरुसलेममा भएका चेलाहरू “आफ्नो सरसामान र जायजेथा बेच्थे अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।” किन? किनभने तिनीहरू भर्खरै बप्तिस्मा गरेकाहरूलाई यरुसलेममा बस्न अनि ‘प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्न’ मदत गर्न चाहन्थे। (प्रेषित २:४१-४५) यस्तो कदम चाल्न तिनीहरूलाई केले उत्प्रेरित गऱ्यो? प्रेषितहरूको मृत्यु भएको २०० वर्ष नबित्दै टर्टुलियनले ख्रिष्टियनहरूबारे अरूले बताएको यो कुरा लेखे: “तिनीहरू आपसमा कत्ति धेरै प्रेम गर्छन्। तिनीहरू एकअर्काको लागि ज्यान दिन समेत तयार छन्।”
आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्? सन् १८३७ मा प्रकाशित रोमी साम्राज्यको अवनति र पतनको इतिहास (अङ्ग्रेजी) नामको किताबमा बताइएअनुसार शताब्दियौँको दौडान ख्रिष्टियन हुँ भन्ने दाबी गर्नेहरूले “एकअर्कालाई दिएको जत्ति दुःख [अविश्वासीहरूले] समेत तिनीहरूलाई दिएका थिएनन्।” अमेरिकामा हालै गरिएको अध्ययनले देखाएअनुसार धर्ममा आस्था राखेको दाबी गर्ने धेरै मानिसले जातीय पूर्वाग्रह राख्छन्। तिनीहरूमध्ये अधिकांश त आफू ख्रिष्टियन हुँ भन्नेहरू पर्छन्। चर्च जगत्लाई हेर्ने हो भने तिनीहरू अरू देशमा बस्ने आफ्नै सम्प्रदायका मानिसहरूसित कुनै सरोकार राख्दैनन्। त्यसैले तिनीहरू आफ्नै सम्प्रदायका मानिसहरूलाई मदत गर्न सक्दैनन् वा इच्छुक हुँदैनन्।
सन् २००४ मा फ्लोरिडामा दुई महिनाभित्र एकपछि अर्को गर्दै चार वटा आँधीबेहरी आए। त्यसपछि फ्लोरिडाको आपत्कालीन कार्य समितिका अध्यक्षले राहत सामग्री राम्ररी वितरण भइरहेको छ कि छैन भनी जाँचे। तिनले यहोवाका साक्षीहरूजत्तिको व्यवस्थित अरू कुनै सङ्गठन नभएको बताए अनि यहोवाका साक्षीहरूलाई चाहिएको जुनसुकै राहत सामग्री दिन तयार भएको पनि बताए। सन् १९९७ मा यहोवाका साक्षीहरूको एउटा राहत टोलीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोका खाँचोमा परेका ख्रिष्टियन भाइबहिनी र अरू मानिसको लागि औषधी खानेकुरा र लत्ताकपडा पुऱ्यायो। युरोपमा बस्ने यहोवाका साक्षीहरूले कङ्गोमा पठाउन १० लाख अमेरिकी डलरबराबरको राहत सामग्री अनुदान दिएका थिए।
-
-
“मैले तपाईँको नाम प्रकट गरेको छु”प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
“मैले तपाईँको नाम प्रकट गरेको छु”
“तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु। . . . मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।”—युहन्ना १७:६, २६.
यसको अर्थ के हो? येसुले सेवाको काममा परमेश्वरको नाम प्रयोग गर्नुभएर त्यो नाम अरूसामु प्रकट गर्नुभयो। येसु अक्सर धर्मशास्त्रबाटै पढेर सुनाउनुहुन्थ्यो र यसो गर्दा उहाँले परमेश्वरको नाम पक्कै उच्चारण गर्नुभएको हुनुपर्छ। (लुका ४:१६-२१) उहाँले चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे बुबा, तपाईँको नाम पवित्र पारियोस्।”—लुका ११:२.
सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? प्रेषित पत्रुसले यरुसलेममा भएका एल्डरहरूलाई परमेश्वरले “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू” छान्नुभएको छ भनी बताए। (प्रेषित १५:१४) “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ” भनेर प्रेषितहरू र चेलाहरूले प्रचार गरे। (प्रेषित २:२१; रोमी १०:१३) तिनीहरूले आफूले लेखेका किताब तथा पत्रहरूमा पनि परमेश्वरको नाम प्रयोग गरे। विरोधीहरूले ख्रिष्टियनहरूका किताबहरू जलाएको कुराबारे इस्वी संवत् ३०० तिर लेख्न सिद्धिएको यहुदी नियमहरूको सँगालो द टोसेफ्टा भन्छ: “प्रचारकहरूका र मिनिम-का [सम्भवतः यहुदी ख्रिष्टियनहरू] किताबहरूलाई आगोबाट जोगाउनुपर्दैन। . . . ती किताबहरू र तिनमा भएको परमेश्वरको नाम सँगसँगै जल्न दिनुपर्छ।”
आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्? अमेरिकाको नेसनल काउन्सिल अफ चर्चेज-ले प्रकाशित गरेको रिभाइज्ड स्टाण्डर्ड भर्सन बाइबलको प्राक्कथनमा यस्तो लेखिएको छ: “परमेश्वरलाई अरू देवताभन्दा फरक छुट्ट्याउन आवश्यक भएको जस्तैगरि उहाँलाई चिनाउन व्यक्तिवाचक नाम प्रयोग गर्ने चलन ख्रिष्टियन युग सुरु हुनुअघि यहुदी धर्मले नै छोडिसकेको थियो। त्यसैले सम्पूर्ण ख्रिष्टियन चर्चले यो नाम प्रयोग गर्नु सरासर अनुचित हो।” यसकारण चर्चहरूले परमेश्वरको नामको सट्टा “प्रभु” भन्ने पदवी प्रयोग गर्न थाले। हालै भ्याटिकनले आफ्ना विशपहरूलाई यस्तो निर्देशन दियो: “कुनै पनि भजन र प्रार्थनामा परमेश्वरको नामलाई सङ्केत गर्ने टेट्राग्रामटन YHWHa प्रयोग वा उच्चारण नगरियोस्।”
आज परमेश्वरको नाम प्रयोग गर्ने र अरूसामु प्रकट गर्नेहरू को हुन्? किर्गिजस्तानमा बस्ने सर्गेले किशोरावस्थामा एउटा फिल्म हेरेका थिए, जसमा परमेश्वरको नाम यहोवा हो भनिएको थियो। त्यसपछि झन्डै १० वर्षसम्म तिनले परमेश्वरको नाम फेरि सुनेनन्। पछि सर्गे अमेरिकामा बसाइँ सरे। त्यहाँ छँदा यहोवाका दुई जना साक्षी तिनीकहाँ आए र बाइबलबाट परमेश्वरको नाम देखाए। यहोवा नाम प्रयोग गर्ने मानिसहरूको समूह छ भनेर थाह पाउँदा सर्गेलाई असाध्यै खुसी लाग्यो। रोचक कुरा के हो भने वेब्स्टर्स थर्ड न्यु इन्टरनेसनल डिक्सनरी-ले “यहोवा परमेश्वर” भन्ने अभिव्यक्तिको यस्तो परिभाषा दिएको छ: “यहोवाका साक्षीहरूले स्विकार्ने र उपासना गर्ने एक मात्र परमेश्वर।”
[फुटनोट]
a नेपालीमा परमेश्वरको नाम “यहोवा” भन्ने गरिन्छ।
-
-
‘राज्यको यो सुसमाचार प्रचार गरिनेछ’प्रहरीधरहरा: साँचो ख्रिष्टियनको चिनारी के हो?
-
-
‘राज्यको यो सुसमाचार प्रचार गरिनेछ’
“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.
यसको अर्थ के हो? सुसमाचारको पुस्तकका लेखक लुकाले बताएअनुसार येसु “परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।” (लुका ८:१) येसु आफैले पनि यसो भन्नुभयो: “मैले . . . परमेश्वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लुका ४:४३) येसुले आफ्ना चेलाहरूलाई गाउँ-गाउँ र सहर-सहरमा सुसमाचार प्रचार गर्न पठाउनुभयो अनि पछि उनीहरूलाई यसो भन्नुभयो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषित १:८; लुका १०:१.
सुरु-सुरुका चेलाहरूले आफू साँचो ख्रिष्टियन भएको कसरी देखाए? येसुले भन्नुभएअनुसारै गर्न चेलाहरूले तुरुन्तै कदम चाले। “उनीहरूले हरेक दिन मन्दिरमा र घरघरमा गएर सिकाउन र येसु ख्रिष्टको विषयमा सुसमाचार घोषणा गर्न बन्द गरेनन्।” (प्रेषित ५:४२) प्रचारको काम केही गण्यमान्य व्यक्तिले मात्र होइन, पूरै मण्डलीले गर्नुपर्थ्यो। इतिहासकार नेयान्डरले लेखे: “सुरु-सुरुका ख्रिष्टियनहरूको विरोधी सेल्सियसले जुत्ता सिलाउनेहरू, ऊनको काम गर्नेहरू, छालाको काम गर्नेहरू, भनौँ भने असाध्यै अशिक्षित र तुच्छ मानिसहरूले मात्र सुसमाचार प्रचार गर्दै हिँड्छन् भन्दै खिसी गरे।” जिन बर्नार्डिले आफ्नो किताब चर्चका सुरु-सुरुका शताब्दीहरू-मा लेखे: “[ख्रिष्टियनहरूले] सबै ठाउँमा गएर सबैलाई प्रचार गर्नुपर्थ्यो। तिनीहरूले राजमार्गहरूमा होस्, सहर-सहरमा होस्, चोक-चोकमा होस् वा घरघरमा, स्वागत गरिए पनि नगरिए पनि . . . पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्म प्रचार गर्नुपर्थ्यो।”
आज साँचो ख्रिष्टियनहरूको चिनारी कसले दिइरहेका छन्? एङ्ग्लिकन चर्चका पादरी डेभिड वाट्सन लेख्छन्: “प्रचार गर्ने र सिकाउने कामलाई चर्चले गम्भिरतापूर्वक नलिएकोले अहिलेका मानिसहरू परमेश्वरको सेवा गर्न कुनै इच्छा राख्दैनन्।” होसे लुइस पेरेज ग्वाडालुपेले आफ्नो किताब क्याथोलिकहरू किन छोड्दै छन्?-मा एभेन्जेलिकल, एड्भेन्टिस्ट् र अरू समूहको गतिविधिबारे यस्तो लेखे: “उनीहरू घर-घर गएर प्रचार गर्दैनन्।” यहोवाका साक्षीहरूबारे चाहिँ तिनले लेखे: “तिनीहरू घर-घर गएर व्यवस्थित ढङ्गमा प्रचार गर्छन्।”
काटो सर्वोच्च अदालतको २००१-२००२ रिपोर्ट-मा जोनाथन टुर्लीले भनेको यो कुरा समावेश गरिएको थियो: “यहोवाका साक्षीहरू भन्नेबित्तिकै धेरैजसोले बेला न कुबेला घरमा आएर प्रचार गर्ने मानिसहरू भन्ने बुझ्छन्। यहोवाका साक्षीहरूको लागि घर-घर गएर प्रचार गर्नु भनेको अरूलाई आफ्नो विश्वासबारे बताउनु मात्र होइन बरु आफ्नै विश्वास पनि बलियो बनाउनु हो।”
[पृष्ठ ९ मा भएको पेटी]
आज साँचो ख्रिष्टियनहरू को हुन्?
यी शृङ्खलाबद्ध लेखहरूमा हामीले साँचो ख्रिष्टियनहरूलाई चिनाउने विभिन्न पक्षबारे छलफल गऱ्यौँ। यी कुराहरू विचार गर्दा तपाईँलाई आज साँचो ख्रिष्टियनहरू को हुन् जस्तो लाग्यो? हुनत आज हजारौँ समूह र सम्प्रदायले आफू ख्रिष्टियन भएको दाबी गरिरहेका छन्। तर येसुले आफ्ना चेलाहरूलाई भन्नुभएको यो कुरा याद गर्नुहोस्: “मलाई ‘प्रभु, प्रभु’ भन्नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन् तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्।” (मत्ति ७:२१) स्वर्गमा बस्नुहुने बुबाको इच्छाअनुसार चल्नेहरूलाई चिन्नुभयो र तिनीहरूसित सङ्गत गर्न थाल्नुभयो भने तपाईँले पनि परमेश्वरको राज्यले ल्याउने आशिष्हरूबाट लाभ उठाउन सक्नुहुनेछ। किनकि तिनीहरू नै साँचो ख्रिष्टियन हुन्। परमेश्वरको राज्य र यसले ल्याउने आशिष्हरूबारे थप जानकारीको लागि तपाईँलाई यो पत्रिका दिने यहोवाका साक्षीहरूलाई सोध्नुहोस्।—लुका ४:४३.
-