प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • अध्याय ११

      “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”

      राज्य सन्देश नसुन्‍ने विरोधीहरूसित पावलको व्यवहार

      प्रेषित १३:१-५२ मा आधारित

      १, २. बर्णाबास र सावलले सुरु गर्न लागेको यात्रा किन विशेष थियो? प्रेषित १:८ का शब्दहरू तिनीहरूले कसरी पूरा गर्ने थिए?

      एन्टिओक मण्डलीको लागि यो दिन एकदमै रोमाञ्चकारी छ। त्यस मण्डलीमा भएका भविष्यवक्‍ता अनि शिक्षकहरूमध्ये बर्णाबास र सावल पवित्र शक्‍तिद्वारा टाढा-टाढासम्म सुसमाचार फैलाउन छानिएका छन्‌।a (प्रेषि. १३:१, २) हो, विगतमा पनि योग्य पुरुषहरू साक्षी दिन पठाइएका थिए। तर त्यतिबेला मिसनरीहरू ख्रिष्टियन धर्म स्थापना भइसकेका इलाकाहरूमा मात्र गएका थिए। (प्रेषि. ८:१४; ११:२२) यसपालि भने बर्णाबास, सावल र सहयोगीको रूपमा मर्कुस नाम गरेका युहन्‍नालाई पहिला कहिल्यै सुसमाचार नसुनाइएको इलाकामा पठाइयो।

      २ लगभग १४ वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभएको थियो: “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) मिसनरीको रूपमा सेवा गर्न बर्णाबास र सावल छानिएपछि येसुका भविष्यसूचक शब्दहरू अझै जोडतोडले पूरा हुने थियो!b

      “काम गर्न” अलग पारिएको (प्रेषित १३:१-१२)

      ३. प्रथम शताब्दीमा लामो यात्रा गर्न गाह्रो हुनुको कारण के थियो?

      ३ मोटरगाडी र हवाईजहाजजस्ता आविष्कारहरूले गर्दा आजभोलि एक-दुई घण्टामै सयौँ किलोमिटर यात्रा गर्न सकिन्छ। तर यस्ता सुविधाहरू प्रथम शताब्दीमा थिएनन्‌। त्यतिबेला यात्रा गर्ने मुख्य तरिका हिँड्‌नु नै थियो अनि प्रायजसो बाटो अप्ठ्यारो थियो। एक दिनमा ३० किलोमिटर मात्र हिँड्‌न सकिन्थ्यो र त्यो पनि थकाइलाग्दो हुन्थ्यो।c त्यसैले बर्णाबास र सावल यात्रा सुरु गर्न एकदमै उत्सुक भए तापनि यात्रा कत्ति गाह्रो हुन्छ र कस्तो त्याग गर्नुपर्छ भनेर तिनीहरूले पक्कै बुझेको हुनुपर्छ।—मत्ति १६:२४.

      पैदल यात्रा

      प्राचीन समयमा पैदल यात्राले धेरै समय खान्थ्यो। यो थकाइलाग्दो र सायद पानीजहाजमा यात्रा गर्नुभन्दा पनि महँगो हुन्थ्यो। तर धेरै ठाउँमा जाने एक मात्र विकल्प पैदल यात्रा नै थियो।

      पैदल यात्री दिनमा लगभग ३० किलोमिटर हिँड्‌न सक्थे। तिनले घाम, पानी, गर्मी र जाडो खप्नुका साथै डाँका लाग्ने खतराको पनि सामना गर्नुपर्थ्यो। प्रेषित पावलले “बारम्बार यात्राको खतरामा, नदीहरूको खतरामा, डाँकुहरूको खतरामा” परेको कुरा उल्लेख गरेका छन्‌।—२ कोरि. ११:२६.

      रोमी सम्राज्यमा बाटोघाटोको राम्रो सुविधा थियो। मुख्य राजमार्गहरूमा छोटोछोटो दूरीमै पाटीपौवाहरू पनि थिए। खानपान र सुत्ने व्यवस्था भएका धर्मशालाहरू पनि हुन्थे। त्यस समयका लेखकहरूले यस्ता पाटीपौवा र धर्मशालाहरू फोहोर हुन्थे, मान्छेहरूको धेरै भीडभाड हुन्थ्यो, कोठा पनि ओसिलो र उपियाँले भरिएको हुन्थ्यो भनेर बताएका छन्‌। खराब मानिसहरूको आउजाउ हुने भएकोले त्यस्ता ठाउँको बदनाम भएको थियो। पाटीपौवाका साहुहरूले नै यात्रीहरूलाई लुट्‌ने गर्थे अनि वेश्‍यावृत्ति पनि सञ्चालन गर्ने गर्थे।

      ख्रिष्टियनहरू सकेसम्म यस्ता ठाउँमा बस्ने गर्दैनथे। तर आफ्नो परिवार वा साथीभाइ नभएका ठाउँमा जानुपर्दा त्यस्ता ठाउँहरूमा बस्नुबाहेक अरू विकल्प हुँदैनथ्यो।

      ४. (क) बर्णाबास र सावल कसरी छानिए? यस नियुक्‍तिप्रति भाइहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) मण्डलीमा कसैले कुनै जिम्मेवारी पाउँदा हामी कसरी समर्थन गर्न सक्छौँ?

      ४ तर पवित्र शक्‍तिले तोकेरै बर्णाबास र सावललाई नै “काम गर्न” अलग पार भनेर निर्देशन दिनुको कारण के थियो? (प्रेषि. १३:२) बाइबल यसबारे केही बताउँदैन। तर यी पुरुषहरू छानिनुमा पवित्र शक्‍तिको डोऱ्‍याइ थियो भनेर चाहिँ हामीलाई थाह छ। एन्टिओकका भविष्यवक्‍ता अनि शिक्षकहरूले यस निर्णयको विरोध गरेको कुनै सङ्‌केत हामी पाउँदैनौँ। बरु तिनीहरूले यसको पूरापूर समर्थन गरे। भाइहरूले ईर्ष्या नगरी तिनीहरूको लागि उपवास बसेको, प्रार्थना गरेको अनि ‘तिनीहरूमाथि आफ्नो हात राखेर पठाएको’ देख्दा बर्णाबास र सावलले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! (प्रेषि. १३:३) हामीले पनि मण्डलीका कसैले कुनै जिम्मेवारी पाउँदा समर्थन गर्नुपर्छ। यसमा कसैले निरीक्षकको रूपमा नियुक्‍ति पाउँदा समर्थन गर्नु पनि समावेश छ। त्यस्ता सुअवसर पाउने भाइहरूको ईर्ष्या गर्नुको सट्टा हामीले “तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन्‌ धेरै आदर” गर्नुपर्छ।—१ थिस्स. ५:१३.

      ५. साइप्रस टापुमा कसरी प्रचार गर्नुपर्थ्यो, बताउनुहोस्‌।

      ५ एन्टिओक नजिकैको बन्दरगाह सिल्युसियासम्म हिँडिसकेपछि बर्णाबास र सावल जहाजबाट लगभग २०० किलोमिटर टाढा पर्ने साइप्रस टापुमा जान्छन्‌।d बर्णाबास साइप्रसको रैथाने भएकोले तिनी पक्कै पनि त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाउन उत्सुक थिए। यस टापुको पूर्वीय किनारामा पर्ने सलामिस सहरमा उत्रेपछि तुरुन्तै “तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचन प्रचार गर्न थाले।”e (प्रेषि. १३:५) बर्णाबास र सावलले बाटोमा पर्ने ठूलठूला सहरहरूमा साक्षी दिँदै साइप्रसको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गरे। त्यहाँ यी मिसनरीहरू लगभग १६० किलोमिटर हिँडे!

      यहुदीहरूको सभाघर

      “सभाघर” भनेर अनुवाद गरिएको मौलिक शब्दको अर्थ “एकत्रित हुनु” हो। यसले यहुदीहरूको भेलालाई जनाउँथ्यो। बिस्तारै यसले भेला हुने स्थानलाई वा भवनलाई बुझाउन थाल्यो।

      यहुदीहरू बेबिलोनको ७० वर्षे निर्वासनमा परेको बेला वा त्यहाँबाट फर्केलगत्तै सभाघरहरू स्थापना गरिएको विश्‍वास गरिन्छ। सभाघरलाई निर्देशन दिने, उपासना गर्ने, धर्मशास्त्र पढ्‌ने र मानिसहरूलाई धर्मशास्त्रका कुराहरू पालन गर्न प्रोत्साहन दिने स्थानको रूपमा प्रयोग गरिन्थ्यो। इस्वी संवत्‌ प्रथम शताब्दीमा प्यालेस्टाइनको सबै सहरमा आ-आफ्नो सभाघर थियो। ठूला सहरमा भने एउटाभन्दा धेरै सभाघर हुन्थ्यो। यरुसलेममा पनि धेरै सभाघर थिए।

      बेबिलोनको निर्वासनबाट फर्केपछि सबै यहुदीहरू प्यालेस्टाइन गएनन्‌। व्यापारको लागि धेरै जना विभिन्‍न देशमा छरिए। ईसापूर्व पाँचौँ शताब्दीतिर नै फारस साम्राज्यको १२७ वटा प्रान्तमा यहुदीहरूको समुदाय थियो। (एस्त. १:१; ३:८) समय बित्दै गएपछि यहुदी समुदाय भूमध्यसागरको वरिपरिका सहरमा पनि बसोबास गर्न थाले। यसरी छरिएका यहुदीहरूले आफू जहाँ-जहाँ बसे, त्यहाँ-त्यहाँ सभाघर बनाए।

      ती सभाघरहरूमा हरेक विश्रामदिनमा व्यवस्था पढिन्थ्यो र व्याख्या गरिन्थ्यो। व्यवस्था पढ्‌ने काम मञ्चबाट गरिन्थ्यो अनि श्रोताहरू बस्नको लागि मञ्चको तीनतिर मेच राखिएको हुन्थ्यो। भक्‍त यहुदी पुरुषहरूले व्यवस्था पढ्‌ने, सिकाउने र प्रोत्साहन दिने काममा भाग लिन सक्थे।

      ६, ७. (क) सर्गियस पौलस को थिए? बार-येसुले किन तिनलाई सुसमाचारमा विश्‍वास गर्नदेखि रोक्न खोजे? (ख) बार-येसुले विरोध गर्दा सावलले के गरे?

      ६ प्रथम शताब्दीमा साइप्रस झूटो धर्ममा चुर्लुम्म डुबेको थियो। यो कुरा बर्णाबास र सावल साइप्रसको पश्‍चिमी किनार पाफोसमा आइपुग्दा झनै प्रस्ट भयो। त्यहाँ तिनीहरूले “बार-येसु[लाई] . . . भेटे, जो तान्त्रिक अनि झूटा भविष्यवक्‍ता थिए। उनी प्रान्तीय राज्यपाल सर्गियस पौलसकहाँ काम गर्थे। सर्गियस पौलस बुद्धिमान्‌ मानिस थिए।” प्रथम शताब्दीमा सर्गियस पौलसजस्तो “बुद्धिमान्‌ मानिस”-लगायत थुप्रै गण्यमान्य रोमीहरू महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे। जेहोस्‌, सर्गियस पौलसको राज्य सन्देशप्रति चासो जाग्यो र “तिनी परमेश्‍वरको वचन सुन्‍न उत्सुक थिए।” तर यो कुरा बार-येसुलाई मन परेन। बार-येसु इलुमास भन्‍ने पदवीबाट पनि चिनिन्थे, जसको अर्थ हो, “तान्त्रिक।”—प्रेषि. १३:६-८.

      ७ बार-येसु राज्य सन्देशको विरोध गर्थे। “प्रान्तीय राज्यपाललाई प्रभुमाथि विश्‍वास गर्नदेखि रोक्न” सक्यो भने मात्र तिनले सर्गियस पौलसको सल्लाहकारको रूपमा आफ्नो उच्च ओहदा टिकाइरहन सक्थे। (प्रेषि. १३:८) तर सर्गियस पौलसको चासोलाई अन्तै मोडिदिने त्यस तान्त्रिकको प्रयास हेरेर सावल चुपचाप बस्नेवाला थिएनन्‌। त्यसोभए सावलले के गरे? विवरण यसो भन्छ: “सावल, जसलाई पावल पनि भनिन्छ, तिनले पवित्र शक्‍तिले भरिएर उनलाई [बार-येसुलाई] एकटक लगाएर हेरे र भने: ‘ए हरकिसिमको झूट अनि खराबीले भरिएको मानिस, तँ दियाबलको छोरो अनि हरेक न्यायोचित कामको शत्रु होस्‌। के तँ यहोवा परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन छोड्‌दैनस्‌? अब हेर्‌, तँमाथि यहोवा परमेश्‍वरको हात परेको छ। तँ अन्धो हुनेछस्‌ र केही समय तैँले घामको उज्यालो देख्नेछैनस्‌।’ नभन्दै उनको आँखामा बाक्लो कुहिरो लागेर उनलाई अन्धकारले छोप्यो र उनी आफ्नो हात समातेर डोऱ्‍याइदिने मानिस खोज्दै छामछाम-छुमछुम गर्न थाले।”f यो चमत्कारी घटनापछि के भयो? “यो देखेर प्रान्तीय राज्यपालले प्रभुमा विश्‍वास गरे किनकि यहोवा परमेश्‍वरको विषयमा सुनेर तिनी दङ्‌ग परेका थिए।”—प्रेषि. १३:९-१२.

      एक भाइ अदालतमा न्यायाधीशसामु बाइबलबाटै आफ्नो विश्‍वासबारे बताउँदै छन्‌।

      खेदो आउँदा हामी पावलजस्तै निडर भई सत्यको पक्षमा बोल्छौँ

      ८. आज हामी कसरी पावलजस्तै निडर हुन सक्छौँ?

      ८ पावल बार-येसुदेखि डराएनन्‌। त्यसैगरि विरोधीहरूले राज्य सन्देशप्रति चासो देखाउनेहरूको विश्‍वास कमजोर बनाउने कोसिस गर्दा हामी डराएर पछि हट्‌नु हुँदैन। निश्‍चय पनि हाम्रो बोली “नुनले स्वादिलो पारेको जस्तो दयालु” हुनुपर्छ। (कल. ४:६) तर हामी विरोधबाट जोगिनको लागि चासो देखाउने व्यक्‍तिको आध्यात्मिक हितलाई खतरामा पार्न चाहँदैनौँ। साथै हामी बार-येसुले जस्तै “यहोवा परमेश्‍वरको सही मार्गलाई बङ्‌ग्याउन” खोजिरहेको झूटो धर्मका कर्तुतहरू पर्दाफास गर्नदेखि पनि पछि हट्‌नु हुँदैन। (प्रेषि. १३:१०) पावलले जस्तै हामी पनि निडर भई सुसमाचार घोषणा गरौँ र सोझा मानिसहरूको मन छुने प्रयास गरौँ। पावलको अवस्थामा जस्तै परमेश्‍वरको समर्थन प्रस्ट नदेखिए तापनि उहाँले योग्य व्यक्‍तिहरूलाई आफूतिर खिच्न पवित्र शक्‍ति चलाउनुहुन्छ भनेर हामी निर्धक्क हुन सक्छौँ।—युह. ६:४४.

      “प्रोत्साहनका दुई-चार शब्द” (प्रेषित १३:१३-४३)

      ९. आज मण्डलीमा नेतृत्व लिनेहरूका लागि पावल र बर्णाबासले कसरी राम्रो उदाहरण बसाले?

      ९ तिनीहरूले पाफोस छोडेर लगभग २५० किलोमिटर टाढा एसिया माइनरको तटमा पर्ने पर्गा जान समुद्री यात्रा थाले। त्यतिबेला एउटा परिवर्तन भएजस्तो देखिन्छ। प्रेषित १३:१३ मा यस समूहलाई “पावल र तिनका साथीहरू” भनेर बताइएको छ। यी शब्दहरूबाट पावलले अब त्यस समूहको गतिविधिमा नेतृत्व लिन थाले भनेर बुझिन्छ। तर बर्णाबासले पावलको ईर्ष्या गर्न थाले भन्‍ने कुनै सङ्‌केत पाइँदैन। बरु ती दुई पुरुषले परमेश्‍वरको इच्छा पूरा गर्न मिलेर काम गरिरहे। पावल र बर्णाबासले आज मण्डलीमा नेतृत्व लिनेहरूका लागि राम्रो उदाहरण बसाले। सुअवसरहरूका लागि अरूलाई उछिन्‍ने प्रयास गर्नुको सट्टा ख्रिष्टियनहरू येसुका यी शब्दहरू सम्झन्छन्‌: “तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।” उहाँले अझै यसो भन्‍नुभयो: “जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—मत्ति २३:८, १२.

      १०. पर्गाबाट पिसिदियाको एन्टिओकसम्मको यात्राबारे बताउनुहोस्‌।

      १० पर्गा पुगेपछि पावल र बर्णाबाससित छुट्टिएर मर्कुस भनिने युहन्‍ना यरुसलेम फर्के। तिनी यसरी अचानक फर्किनुको कारण खुलाइएको छैन। तर पावल र बर्णाबासले भने यात्रा जारी राखे। तिनीहरू पर्गाबाट पिसिदियाको एन्टिओक गए। यो गलातिया प्रान्तको एउटा सहर हो। पिसिदिया समुद्री सतहभन्दा झन्डै १,१०० मिटर माथि भएकोले यो यात्रा सजिलो त पक्कै थिएन। साथै त्यो खतरनाक डाँडाकाँडाको बाटोमा डाँका लाग्ने गर्थ्यो। त्यसमाथि पावल बिरामी परेजस्तो देखिन्छ।g

      ११, १२. पिसिदियाको एन्टिओकको सभाघरमा बोल्दा पावलले श्रोताहरूको मन छुन कस्तो प्रयास गरे?

      ११ पिसिदियाको एन्टिओकमा पावल र बर्णाबास विश्रामदिनमा सभाघरमा गए। विवरण यसो भन्छ: “तब मोसाको व्यवस्था र भविष्यवक्‍ताहरूको पुस्तक जनसमक्ष पढ्‌ने काम सिद्धिएपछि सभाघरका पदाधिकारीहरूले पावल र बर्णाबासलाई यस्तो आग्रह गरे: ‘भाइहरू हो, यदि तपाईँहरूसित मानिसहरूका निम्ति प्रोत्साहनका दुई-चार शब्द छन्‌ भने कृपया सुनाउनुहोस्‌।’” (प्रेषि. १३:१५) तब पावल बोल्न खडा भए।

      १२ पावलले यसरी कुरा सुरु गरे: “हे इस्राएलीहरू अनि परमेश्‍वरको भय मान्‍ने अरू मानिसहरू हो।” (प्रेषि. १३:१६) पावलका श्रोताहरू यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरू थिए। पावलले परमेश्‍वरको उद्देश्‍यमा येसुको भूमिका नस्विकार्ने आफ्ना श्रोताहरूको मन छुन कस्तो प्रयास गरे? सुरुमा तिनले मोटामोटी रूपमा यहुदी राष्ट्रको इतिहास बताए। त्यसपछि इस्राएलीहरू “मिश्र देशमा प्रवासी भएर बसेको बेला उहाँले तिनीहरूलाई” कसरी “उच्च पार्नुभयो” र त्यहाँबाट निकालेर ल्याएपछि कसरी “लगभग ४० वर्षसम्म उहाँले निर्जनभूमिमा तिनीहरूलाई सहनुभयो” भन्‍ने कुरा बताए। इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशलाई कसरी आफ्नो बनाउन सके र यहोवाले कसरी “त्यहाँको जमिन पैतृक सम्पत्तिको रूपमा दिनुभयो” भनेर पनि बताए। (प्रेषि. १३:१७-१९) त्यो विश्रामदिन भएकोले भर्खरै मात्र पढेर सुनाइएको बाइबल विवरण पावलले उल्लेख गरिरहेका हुन सक्छन्‌ भनेर कसै-कसैले बताएका छन्‌। त्यसो हो भने पावल “सबै किसिमका मानिसका लागि सबै कुरा” हुन जान्दथे भन्‍ने सन्दर्भमा यो अर्को एउटा राम्रो उदाहरण हो।—१ कोरि. ९:२२.

      १३. हामी कसरी आफ्ना श्रोताहरूको मन छुन सक्छौँ?

      १३ हामीले पनि आफूले साक्षी दिने मानिसहरूको मन छुन प्रयास गर्नुपर्छ। उदाहरणको लागि, तिनले कुन धर्म मान्छन्‌ भनी थाह पाउँदा तिनको चासो जाग्ने विषय छान्‍न मदत पुग्छ। साथै चासो दिने व्यक्‍तिलाई थाह भएको बाइबलको कुनै विवरण सुनाउन सक्छौँ। अथवा तिनीसित बाइबल छ भने तिनकै बाइबलबाट पढेर सुनाउनु पनि प्रभावकारी हुन सक्छ। आफ्ना श्रोताहरूलाई यहोवाबारे सिक्न कसरी उत्प्रेरित गर्न सकिन्छ, विचार गर्नुहोस्‌।

      १४. (क) पावलले येसुको सुसमाचार कसरी सुरु गरे? तिनले आफ्ना श्रोताहरूलाई कस्तो चेतावनी पनि दिए? (ख) पावलको भाषण सुनेर भीडले कस्तो प्रतिक्रिया देखायो?

      १४ त्यसपछि पावलले इस्राएली राजाहरू येसुको पुर्खा हुन्‌ अनि बप्तिस्मा गराउने युहन्‍नाले “उद्धारक अर्थात्‌ येसु”-को लागि बाटो तयार पारे भन्‍नेबारे बताए। तिनले येसुलाई कसरी मृत्युदण्ड दिइयो र ब्युँताइयो भनेर पनि बताए। (प्रेषि. १३:२०-३७) पावलले यसो भने: “हे भाइहरू हो, तपाईँहरूलाई यो कुरा थाह होस्‌, यही येसुद्वारा पापको क्षमा पाउन सकिन्छ भनेर हामी तपाईँहरूलाई प्रचार गर्दै छौँ। अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै . . . निर्दोष साबित हुनेछन्‌।” यो कुरा भनिसकेपछि प्रेषित पावलले आफ्ना श्रोताहरूलाई यस्तो चेतावनी दिए: “होसियार हुनुहोस्‌ नत्र त भविष्यवक्‍ताहरूको पुस्तकमा लेखिएको यो वचन तपाईँहरूमाथि आइपर्नेछ: ‘हे खिसी गर्नेहरू हो, मेरो काम हेर अनि अचम्म मान र नाश भइजाओ किनकि तिमीहरूको पालामा म यस्तो काम गर्दै छु, जुन कामको विषयमा कसैले सविस्तार बतायो भने पनि तिमीहरूले कदापि पत्याउनेछैनौ।’” पावलको भाषण सुनेर श्रोताहरूले एकदमै सकारात्मक प्रतिक्रिया देखाए। बाइबल यसो भन्छ: “मानिसहरूले अर्को विश्रामदिनमा ती कुराहरू फेरि सुनाइदिन बिन्ती गरे।” सभा सिद्धिएपछि “धेरै यहुदीका साथै धर्म परिवर्तन गरेर यहुदी भएकाहरू, जसले परमेश्‍वरको उपासना गर्थे, उनीहरू पनि पावल र बर्णाबासको पछि लागे।”—प्रेषि. १३:३८-४३.

      “हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ” (प्रेषित १३:४४-५२)

      १५. विश्रामदिनमा पावलले भाषण दिएपछि के भयो?

      १५ अर्को विश्रामदिनमा “लगभग पूरै सहर” पावलको भाषण सुन्‍न आयो। यो देखेर केही यहुदीहरू खुसी भएनन्‌ अनि “पावलले भनेका कुराहरूको खण्डन गरेर तिनीहरूले तिनको कुराको निन्दा गर्न थाले।” पावल र बर्णाबासले साहसी भई तिनीहरूलाई यसो भने: “परमेश्‍वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्‍यक थियो। तर तपाईँहरू त्यसलाई इन्कार गर्दै हुनुहुन्छ र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्दै हुनुहुन्छ। त्यसैले हेर्नुहोस्‌, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौँ। किनकि यहोवा परमेश्‍वरले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘मानिसहरूको उद्धार गर्ने मेरो माध्यमबारे पृथ्वीको कुनाकुनासम्म गएर घोषणा गर्न मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति नियुक्‍त गरेको छु।’”—प्रेषि. १३:४४-४७; यसै. ४९:६.

      पिसिदियाको एन्टिओकमा बस्ने विरोधीहरूले पावल र बर्णाबासलाई सहरबाहिर धपाए।

      “उनीहरूले पावल र बर्णाबासको खेदो गरे . . . अनि चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे।”​—प्रेषित १३:५०-५२

      १६. मिसनरीहरूका कडा शब्द सुनेपछि यहुदीहरूले कस्तो प्रतिक्रिया देखाए? पावल र बर्णाबासले खेदो आउँदा के गरे?

      १६ यो कुरा सुनेर अन्यजातिका मानिसहरू रमाए र “ज-जससित अनन्त जीवन पाउन लायकको उचित मनसाय थियो, तिनीहरू सबैले प्रभुमा विश्‍वास गरे।” (प्रेषि. १३:४८) यहोवाको वचन देशभरि तुरुन्तै फैलियो। तर यहुदीहरूको प्रतिक्रिया भने निकै फरक थियो। यसकारण परमेश्‍वरको वचन सर्वप्रथम तिनीहरूलाई सुनाइएको भए तापनि तिनीहरूले मसीहलाई तिरस्कार गरे र परमेश्‍वरबाट इन्साफ पाउन आफैलाई योग्य ठहराए भनेर ती मिसनरीहरूले यहुदीहरूलाई बताए। यहुदीहरूले त्यस सहरका गण्यमान्य स्त्रीहरू अनि मुख्य-मुख्य पुरुषहरूलाई भड्‌काए। “उनीहरूले पावल र बर्णाबासको खेदो गरे अनि तिनीहरूलाई सहरबाहिर धपाए।” त्यसपछि पावल र बर्णाबासले के गरे? “तिनीहरूले आफ्नो पैतालाको धुलो टकटक्याए अनि आइकोनियम गए।” के यो घटनापछि पिसिदियाको एन्टिओकमा ख्रिष्टियन धर्मको अन्त भयो? कदापि भएन! त्यहाँ भएका बाँकी “चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे।”—प्रेषि. १३:५०-५२.

      १७-१९. पावल र बर्णाबासले बसालेको असल उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौँ? यसो गर्दा कसरी हाम्रो आनन्द बढ्‌छ?

      १७ यी विश्‍वासी जनहरूले खेदो आउँदा देखाएको प्रतिक्रियाबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। यस संसारका प्रतिष्ठित व्यक्‍तिहरूले हामीलाई राज्य सन्देश सुनाउन रोक्न खोजे तापनि साक्षी दिन हामी बन्द गर्नेछैनौँ। साथै एन्टिओकका मानिसहरूले आफूले सुनाएको सन्देश इन्कार गर्दा पावल र बर्णाबासले के गरे, याद गर्नुहोस्‌। तिनीहरूले “आफ्नो पैतालाको धुलो टकटक्याए।” एन्टिओकका मानिसहरूसित रिसाएकोले होइन बरु त्यहाँका मानिसहरूले भोग्ने नतिजाको लागि आफूहरू जिम्मेवार नभएको कुरा देखाउन तिनीहरूले त्यसो गरेका थिए। मानिसहरूले देखाउने प्रतिक्रिया आफ्नो वशमा छैन भनेर यी मिसनरीहरूले बुझे। तर साक्षीकार्यलाई निरन्तरता दिने कि नदिने भन्‍ने कुराचाहिँ तिनीहरूको वशमा थियो। त्यसपछि तिनीहरूले आइकोनियममा गएर साक्षी दिन थाले!

      १८ एन्टिओकमा भएका चेलाहरूलाई चाहिँ के भयो? त्यस इलाकाका मानिसहरू सुसमाचारका विरोधी थिए। तर मानिसहरूले सुसमाचार स्विकार्छन्‌ कि स्विकार्दैनन्‌ भन्‍ने कुरामा तिनीहरूको आनन्द निर्भर थिएन। येसुले भन्‍नुभयो: “आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लुका ११:२८) पिसिदियाको एन्टिओकमा भएका चेलाहरूले येसुको यो वचन पालन गर्ने सङ्‌कल्प गरे।

      १९ पावल र बर्णाबासले जस्तै सुसमाचार सुनाउनु हाम्रो पनि जिम्मेवारी हो भनेर कहिल्यै नबिर्सौँ। हाम्रो सन्देश स्विकार्ने कि नस्विकार्ने, त्यो निर्णय पूर्णतया मानिसहरूकै हो। तिनीहरूले हाम्रो सन्देश नसुन्दा हामी प्रथम शताब्दीका चेलाहरूको अनुकरण गर्न सक्छौँ। चाहे जस्तोसुकै विरोधको सामना गर्न नै किन नपरोस्‌, परमेश्‍वरको वचनको मोल गर्दै पवित्र शक्‍तिको डोऱ्‍याइमा हिँड्यौँ भने हामी पनि आनन्दित हुन सक्छौँ।—गला. ५:१८, २२.

      बर्णाबास—“सान्त्वनाको छोरा”

      सुरु-सुरुतिर यरुसलेममा स्थापना भएको मण्डलीमा अगुवाइ लिने एक जना व्यक्‍ति साइप्रसको रैथाने लेवी युसुफ थिए। प्रेषितहरूले तिनको व्यक्‍तित्वसित सुहाउने गरी तिनलाई बर्णाबास भन्‍ने उपनाम दिएका थिए। त्यसको अर्थ हो, “सान्त्वनाको छोरा।” (प्रेषि. ४:३६) भाइबहिनीलाई खाँचो परेको थाह पाउनेबित्तिकै बर्णाबास मदत गर्न तयार भइहाल्थे।

      बर्णाबास सिक्काले भरिएको दुई वटा थैलो अनुदान दिन्छन्‌।

      इस्वी संवत्‌ ३३ पेन्तिकोसमा ३ हजार नयाँ चेलाले बप्तिस्मा गरे। तिनीहरूमध्ये धेरै जना चाडको लागि मात्र यरुसलेम आएका थिए। त्यसैले तिनीहरूले त्यहाँ लामो समय बस्ने चाँजोपाँजो मिलाएका थिएनन्‌। त्यति धेरै मानिसहरूको हेरविचार गर्न मण्डलीलाई पैसाको खाँचो परेको थियो। बर्णाबासले आफ्नो एक टुक्रा जमिन बेचे र त्यो पैसा उदार भई प्रेषितहरूलाई अनुदान दिए।—प्रेषि. ४:३२-३७.

      परिपक्व ख्रिष्टियन निरीक्षकको हैसियतमा बर्णाबास अरूलाई मदत गर्न उत्सुक थिए। भर्खरै ख्रिष्टियन बनेका टार्ससका सावल खेदो गर्ने व्यक्‍ति भनेर चिनिएका थिए। त्यसैले अरू चेलाहरू तिनीसित डराएका थिए। त्यतिबेला बर्णाबासले नै सावललाई मदत गरे। (प्रेषि. ९:२६, २७) यहुदी ख्रिष्टियन र अन्यजातिका ख्रिष्टियनबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्‍ने विषयमा पावलले बर्णाबास र पत्रुसलाई कडा सल्लाह दिँदा बर्णाबासले नम्रतासाथ स्विकारे। (गला. २:९, ११-१४) यी केही उदाहरणहरूबाट बर्णाबासले “सान्त्वनाको छोरा” अर्थ लाग्ने आफ्नो नामअनुसार नै जीवन बिताए भनेर प्रस्ट हुन्छ।

      a पृष्ठ ८६ मा भएको “बर्णाबास—‘सान्त्वनाको छोरा’” शीर्षकको पेटी हेर्नुहोस्‌।

      b यतिबेलासम्म सिरियाको एन्टिओकजस्तो टाढाको इलाकामा पनि मण्डलीहरू स्थापना भइसकेका थिए। सिरियाको एन्टिओक यरुसलेमबाट लगभग ५५० किलोमिटर उत्तरमा पर्छ।

      c पृष्ठ ८७ मा भएको “पैदल यात्रा” शीर्षकको पेटी हेर्नुहोस्‌।

      d हावाको वेग सामान्य हुँदा प्रथम शताब्दीमा जहाजबाट एक दिनमा लगभग १५० किलोमिटर पार गर्न सकिन्थ्यो। तर मौसम बिग्रेको बेला धेरै समय लाग्थ्यो।

      e पृष्ठ ८९ मा भएको “यहुदीहरूको सभाघर” शीर्षकको पेटी हेर्नुहोस्‌।

      f यसपछि सावल पावलको नामले चिनिन थाले। कसै-कसैको भनाइअनुसार तिनले सर्गियस पौलसको सम्मानमा यो रोमी नाम चलाउन थालेका हुन्‌। तर साइप्रस छोडेर गइसकेपछि पनि तिनले पावल नाम नै प्रयोग गरिरहे। तिनले त्यो नाम सर्गियस पौलसको सम्मानको लागि नभई तिनी “अन्यजातिहरूको प्रेषित” भएकोले प्रयोग गर्ने निर्णय गरेका हुन सक्छन्‌। साथै तिनको हिब्रू नाम सावल ग्रीकमा उच्चारण गर्दा नराम्रो अर्थ लाग्ने ग्रीक शब्दजस्तै सुनिने भएकोले पनि तिनले पावल नाम चलाउन थालेका हुन सक्छन्‌।—रोमी ११:१३.

      g त्यसको केही वर्षपछि पावलले गलातीहरूलाई पत्र लेखे। त्यस पत्रमा पावलले यसो भने: “म बिरामी परेकोले तिमीहरूलाई पहिलो पटक सुसमाचार सुनाउने मौका पाएको थिएँ।”—गला. ४:१३.

  • ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • अध्याय १२

      ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’

      पावल र बर्णाबासले नम्रता, लगनशीलता अनि साहस देखाए

      प्रेषित १४:१-२८ मा आधारित

      १, २. पावल र बर्णाबास लिस्त्रामा हुँदा कस्ता घटनाहरू घट्‌छन्‌?

      लिस्त्रामा खैलाबैला मच्चिन्छ। दुई जना नौला मानिसले एक जना जन्मैदेखि लङ्‌गडो मानिसलाई निको पारेपछि ऊ खुसीले बुर्लुक-बुर्लुक उफ्रिरहेको छ। मानिसहरू अक्क न बक्क पर्छन्‌। मानिसहरूले देवता ठानेका ती मानिसहरूका लागि ज्युसका पुजारीहरू फूलमाला लिएर आउँछन्‌। पुजारीहरूले ती मानिसहरूका लागि बलिदान चढाउन तयार पारेका साँढेहरूको फुङ्‌कार सुनिन्छ। पावल र बर्णाबास तिनीहरूलाई ठूलठूलो स्वरले सम्झाउन खोज्दै छन्‌। आफ्नो लुगा च्यातेर तिनीहरू भीडमा हाम फाल्छन्‌ र आफूहरूलाई उपासना नगरियोस्‌ भनेर मनाउन बल्लतल्ल सफल हुन्छन्‌।

      २ त्यति नै खेर पिसिदियाको एन्टिओक र आइकोनियमबाट यहुदी विरोधीहरू आइपुग्छन्‌। तिनीहरू पावल र बर्णाबासको गर्नुसम्म निन्दा गर्छन्‌ र मानिसहरूलाई उचाल्न सफल हुन्छन्‌। एकछिन अघिसम्म उपासना गर्न तम्सिएका ती मानिसहरूले नै पावललाई घेर्छन्‌। तिनीहरू पावल अचेत नहोउन्जेल तिनलाई ढुङ्‌गाले हान्छन्‌। आफ्नो रिस पोखिसकेपछि तिनीहरू पावललाई घिसार्दै सहरबाहिर लैजान्छन्‌ र तिनी मरे होलान्‌ भन्ठानेर छोडिदिन्छन्‌।

      ३. हामी यस अध्यायमा कस्ता प्रश्‍नहरू चर्चा गर्नेछौँ?

      ३ यस डरलाग्दो घटनापछि के हुन्छ? बर्णाबास, पावल र भड्‌किहाल्ने लिस्त्राका ती मानिसहरूको घटनाबाट आज सुसमाचार सुनाउनेहरूले के सिक्न सक्छन्‌? बर्णाबास र पावल ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोल्दै’ साक्षीकार्यमा लगनशील भई लागेका छन्‌। ख्रिष्टियन एल्डरहरूले तिनीहरूको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌?—प्रेषि. १४:३.

      “ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो” (प्रेषित १४:१-७)

      ४, ५. पावल र बर्णाबास किन आइकोनियम गए र त्यहाँ के भयो?

      ४ रोमी सहर पिसिदियाको एन्टिओकमा विरोधी यहुदीहरूले मानिसहरूलाई भड्‌काएपछि त्यहाँबाट पावल र बर्णाबासलाई धपाइएको धेरै दिन भएको थिएन। तर निरुत्साहित हुनुको सट्टा त्यस सहरका बासिन्दाहरू अबुझ भएकोले यी दुई पुरुषले “पैतालाको धुलो टकटक्याए।” (प्रेषि. १३:५०-५२; मत्ति १०:१४) परमेश्‍वरबाट आउने इन्साफको नतिजा सहरका मानिसहरूले नै भोग्नुपर्छ भन्‍ने कुरा मनमा राख्दै पावल र बर्णाबास शान्तपूर्वक त्यहाँबाट गए। (प्रेषि. १८:५, ६; २०:२६) यी दुई मिसनरी खुसीसाथ साक्षीकार्यमै लागिरहे। करिब १५० किलोमिटर हिँडेर तिनीहरू दक्षिण-पूर्वमा पर्ने टाउरस र सुलतान पर्वतमालाबीचको एउटा उर्वर पठारमा पुगे।

      ५ सुरुमा पावल र बर्णाबास आइकोनियममा रोकिए। आइकोनियममा अझै ग्रीक संस्कृतिको प्रभाव देखिन्थ्यो। यो रोमी प्रान्त गलातियाको मुख्य सहरहरूमध्ये एउटा थियो।a यस सहरमा प्रभावशाली यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी बनेका थुप्रै मानिस बस्थे। आफ्नो बानीअनुसारै पावल र बर्णाबास यहुदीहरूका सभाघरमा गए र साक्षी दिन थाले। (प्रेषि. १३:५, १४) तिनीहरूले “यत्ति राम्ररी बोले कि यहुदी र ग्रीकहरूको ठूलो जमातले प्रभुमा विश्‍वास गर्न थाल्यो।”—प्रेषि. १४:१.

      आइकोनियम—फ्रिजियालीहरूको सहर

      आइकोनियम पानीको सुविधा भएको उर्वर पठारमा पर्थ्यो। यो सहर मुख्य व्यापारिक मार्गमा पर्थ्यो। यसले सिरियालाई रोम, ग्रीस र रोमी प्रान्त एसियासित जोड्‌थ्यो।

      आइकोनियमका मानिसहरूले फ्रिजियाली प्रजनन देवी सिबिलको उपासना गर्थे अनि त्यसमा ग्रीक शासनकालको बेला चलेका ग्रीक उपासनाका केही चलनहरू पनि समावेश थियो। ईसापूर्व ६५ मा यो सहर रोमको अधीनमा पऱ्‍यो र इस्वी संवत्‌ प्रथम शताब्दीमा यो सहर व्यापार र कृषिको मुख्य केन्द्र हुनुका साथै भौतिक रूपमा सम्पन्‍न पनि थियो। आइकोनियममा प्रभावशाली यहुदीहरू बस्ने भए तापनि उक्‍त सहरमा अझै ग्रीक संस्कृतिको प्रभाव देखिन्थ्यो। त्यसैले त प्रेषितको विवरणमा त्यहाँका मानिसहरूलाई यहुदीहरू र “ग्रीकहरू” भनी सम्बोधन गरिएको छ।—प्रेषि. १४:१.

      आइकोनियम गलातियाको प्रान्त लाइकाओनिया र फ्रिजियाबीचको सीमामा पर्थ्यो। सिसेरो र स्ट्राबोजस्ता प्रथम शताब्दीका लेखकहरूले आइकोनियमलाई लाइकाओनियाको सहर भने। भौगोलिक रूपमा पनि यो सहर त्यही प्रान्तमा पर्थ्यो। तर प्रेषितको विवरणमा भने “लाइकाओनियाली भाषा” बोलिने लाइकाओनिया र आइकोनियमलाई दुई फरक सहरको रूपमा उल्लेख गरिएको छ। (प्रेषि. १४:१-६, ११) यसैकारण आलोचकहरूले प्रेषितको विवरण सही होइन भनेर तर्क गरेका छन्‌। तर सन्‌ १९१० मा पुरातत्त्वविद्‌हरूले त्यस सहरमा भेट्टाएका शिलालेखहरूअनुसार पावल र बर्णाबासले त्यहाँ यात्रा गरेको दुई शताब्दीपछिसम्म पनि आइकोनियममा फ्रिजियाली भाषा नै बोल्ने गरिन्थ्यो। त्यसैले प्रेषितको पुस्तकका लेखकले लाइकाओनिया र आइकोनियमबीच फरक छुट्ट्याउनु सही थियो।

      ६. पावल र बर्णाबास प्रभावकारी शिक्षक हुन सक्नुको कारण के थियो? हामी कसरी तिनीहरूको देखासिकी गर्न सक्छौँ?

      ६ पावल र बर्णाबासले भनेका कुराहरू एकदमै प्रभावकारी हुनुको कारण के थियो? पावलसित बाइबलको गहिरो ज्ञान थियो। येसु नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न तिनले इतिहास, भविष्यवाणी र मोसाको व्यवस्थाका कुराहरू एकदमै राम्रोसित चलाए। (प्रेषि. १३:१५-३१; २६:२२, २३) बर्णाबासको कुरा गर्ने शैलीमा तिनी मानिसहरूको कत्ति ख्याल गर्थे भन्‍ने कुरा झल्किन्थ्यो। (प्रेषि. ४:३६, ३७; ९:२७; ११:२३, २४) यी दुवै पुरुष आफ्नै समझमा भर परेनन्‌ तर “यहोवा परमेश्‍वरबाट अख्तियार पाएको हुनाले” बोले। साक्षीकार्यमा यी दुई मिसनरीको देखासिकी गर्न परमेश्‍वरको वचन बाइबलसित पूरै परिचित हुनुहोस्‌। आफ्नो श्रोताको मन छुन सक्ने शास्त्रपदहरू छान्‍नुहोस्‌। आफूले साक्षी दिने मानिसहरूलाई कसरी सान्त्वना दिन सकिन्छ, त्यसबारे विचार गर्नुहोस्‌। आफ्नै बुद्धिमा होइन, सधैँ परमेश्‍वरको वचनमा आधारित भएर सिकाउनुहोस्‌।

      ७. (क) सुसमाचारप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌? (ख) सुसमाचारको पक्ष लिएकोले तपाईँको परिवारमा बेमेल भएको छ भने तपाईँले कुन कुरा बिर्सनु हुँदैन?

      ७ तर पावल र बर्णाबासको कुरा आइकोनियमका कोही-कोहीलाई चित्त बुझेको थिएन। यसबारे लुकाले यस्तो लेखे: “विश्‍वास नगर्ने यहुदीहरूले अन्यजातिका मानिसहरूलाई भड्‌काएर भाइहरूविरुद्ध रुष्ट बनाए।” पावल र बर्णाबासले त्यहीँ बसेर सुसमाचार सुनाउनुपर्ने आवश्‍यकता देखेकोले तिनीहरू “साहसी भई निकै समय बोले।” परिणामस्वरूप “सहरका मानिसहरूमा फूट उत्पन्‍न भयो अनि कसैले यहुदीहरूको पक्ष लिए भने कसैले प्रेषितहरूको।” (प्रेषि. १४:२-४) आज पनि मानिसहरूले सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाउँछन्‌। सुसमाचार कसैको लागि एकता गराउने शक्‍ति हुन्छ भने कसैको लागि चाहिँ फूट गराउने कारण। (मत्ति १०:३४-३६) सुसमाचारको पक्ष लिएकोले के तपाईँको परिवारमा बेमेल भएको छ? छ भने नबिर्सनुहोस्‌, बेतुकको हल्ला वा कसैले निन्दा गरेको कारण यस्तो विरोध आएको हुन सक्छ। तपाईँको असल आचरणले त्यस्ता हल्लाहरू झूटा हुन्‌ भनेर प्रमाणित गर्न सक्छ र अन्ततः तपाईँलाई विरोध गर्ने व्यक्‍तिको मनोवृत्ति परिवर्तन हुन सक्छ।—१ पत्रु. २:१२; ३:१, २.

      ८. पावल र बर्णाबास किन आइकोनियमबाट अन्तै गए? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

      ८ यसको केही समयपछि आइकोनियमका विरोधीहरूले पावल र बर्णाबासलाई ढुङ्‌गाले हान्‍ने योजना बनाए। त्यसको सुइँको पाउनेबित्तिकै यी दुई मिसनरी साक्षी दिन अर्कै इलाका गए। (प्रेषि. १४:५-७) आज पनि राज्य प्रचारकहरू यस्तै बुद्धिमानी तरिका अपनाउँछन्‌। मौखिक दुर्व्यवहार हुँदा हामी निडर भई बोल्छौँ। (फिलि. १:७; १ पत्रु. ३:१३-१५) तर जब हिंसा हुने सङ्‌केत पाउँछौँ, तब हामी आफ्नो वा भाइबहिनीको जीवनलाई खतरामा पार्ने कुनै मूर्ख काम गर्दैनौँ।—हितो. २२:३.

      “जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌” (प्रेषित १४:८-१९)

      ९, १०. लिस्त्रा कहाँ पर्थ्यो? लिस्त्राका मानिसहरूबारे हामीलाई के थाह छ?

      ९ पावल र बर्णाबास आइकोनियमबाट लगभग ३० किलोमिटर दक्षिण-पश्‍चिमतिर रहेको रोमी उपनिवेश लिस्त्रामा जान्छन्‌। पिसिदियाको एन्टिओकसँग लिस्त्राको राम्रो सम्बन्ध थियो। तर लिस्त्रामा एन्टिओकमा जस्तो प्रभावशाली यहुदीहरूको समुदाय भने थिएन। त्यहाँका मानिसहरू ग्रीक भाषा बोल्थे तर तिनीहरूको मातृभाषाचाहिँ लाइकाओनियाली थियो। सायद सभाघर नभएकोले पावल र बर्णाबासले त्यहाँको एउटा सार्वजनिक स्थलमा गएर साक्षी दिन थाले। यरुसलेममा पत्रुसले एक जना अपाङ्‌गलाई निको पारेका थिए। त्यस्तो चमत्कार देखेर एउटा ठूलो भीडले प्रभुमा विश्‍वास गरेको थियो। (प्रेषि. ३:१-१०) लिस्त्रामा पावलले जन्मैदेखि लङ्‌गडो मानिसलाई निको पारे। (प्रेषि. १४:८-१०) तर तिनको चमत्कारले भने एकदमै फरक नतिजा ल्यायो।

      १० यस अध्यायको सुरुमै बताइएझैँ जब त्यो लङ्‌गडो मानिस बुर्लुक्क उफ्रेर हिँड्‌न सक्ने भयो, तब झूटा देवीदेवताको उपासना गर्ने लिस्त्राका मानिसहरू गलत निष्कर्षमा पुगे। तिनीहरूले बर्णाबासलाई देवताहरूका प्रमुख ज्युस भनेर पुकारे अनि पावललाई ज्युसको छोरा र देवताहरूको प्रवक्‍ता हर्मेस भने। (पृष्ठ ९७ मा भएको “लिस्त्रा र त्यहाँ ज्युस अनि हर्मेसको उपासना” शीर्षकको पेटी हेर्नुहोस्‌।) तर आफूले झूटा देवताहरूको अख्तियार पाएर बोलेको होइन बरु एक मात्र साँचो परमेश्‍वर यहोवाको अख्तियार पाएर बोलेको हो भनेर बर्णाबास र पावलले मनाउन खोजे।—प्रेषि. १४:११-१४.

      लिस्त्रा र त्यहाँ ज्युस अनि हर्मेसको उपासना

      लिस्त्रा मुख्य राजमार्गबाट टाढा एउटा उपत्यकामा पर्थ्यो। सिजर अगस्तसले यस सहरलाई जुलिया फेलिक्स जेमिना लुस्त्रा भन्‍ने नाम दिँदै रोमको उपनिवेश बनाए। स्थानीय पहाडी इलाकामा बसोबास गर्ने मानिसहरूबाट गलातिया प्रान्तको सुरक्षा गर्नु त्यहाँ भएको सैन्य दलको जिम्मेवारी थियो। त्यसैले यस सहरको प्रशासन रोमी परम्पराअनुसार चलाइन्थ्यो र यसका अधिकारीहरूको ओहदा पनि रोमी नामबाटै राखिन्थ्यो। तैपनि लिस्त्राले धेरै हदसम्म आफ्नै पहिचान कायम राखेको थियो। यस सहरमा रोमको भन्दा लाइकाओनियाको प्रभाव धेरै देखिन्थ्यो। वास्तवमा प्रेषितको पुस्तकमा चर्चा गरिएका लिस्त्राका मानिसहरू लाइकाओनियाली भाषा बोल्थे।

      पुरातत्त्वविद्‌हरूले पुरातन लिस्त्राको इलाकामा हर्मेस देवताको मूर्ति र “ज्युसका पुजारी” भनेर लेखिएको लेखोट भेट्टाएका छन्‌। तिनीहरूले ज्युस र हर्मेसको लागि बलि चढाइने वेदी पनि भेट्टाएका छन्‌।

      रोमी कवि ओभिडले (ईसापूर्व ४३ देखि इस्वी संवत्‌ १७) लेखेका एउटा प्रख्यात कथाले प्रेषितको किताबको थप पृष्ठभूमिबारे बताउँछ। ओभिडले लेखेअनुसार ग्रीक देवताहरू ज्युस र हर्मेस, जसलाई रोमी भाषामा जुपिटर र मर्करी भनिन्छ, तिनीहरू मानिसको भेषमा फ्रिजियाको पहाडी इलाकामा आएका थिए। तिनीहरूले हजारौँ मानिसको घरमा बास खोजे तर कसैले पनि तिनीहरूलाई बास दिएनन्‌। वृद्ध दम्पती फिलेमोन र बसिसले मात्र आफ्नो झुपडीमा तिनीहरूलाई बास दिए। त्यसको परिणामस्वरूप ज्युस र हर्मेसले त्यस झुपडीलाई सङ्‌गमर्मर र सुनले बनेको मन्दिरमा परिणत गरिदिए, ती वृद्ध दम्पतीलाई त्यस मन्दिरको पुजारी बनाए र बास नदिने सबैलाई नाश गरे। ग्रीक-रोमी समयमा प्रेषितको पुस्तक–अनुसार (अङ्‌ग्रेजी) “पावल र बर्णाबासले लङ्‌गडो मानिसलाई निको पारेको देखेपछि त्यो दन्त्यकथा सम्झेर लिस्त्राका मानिसहरू तिनीहरूको लागि बलि चढाउन तयार हुनु नौलो कुरा थिएन।”

      पावल र बर्णाबास लिस्त्रामा भीडले दिएको महिमाको प्रतिरोध गर्छन्‌। मानिसहरू गीत गाउँदै, बलि तयार पार्दै र ती दुई पुरुषलाई दण्डवत्‌ गर्दै छन्‌।

      “यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी . . . बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌।”​—प्रेषित १४:१५

      ११-१३. (क) लिस्त्राका मानिसहरूलाई पावल र बर्णाबासले के भने? (ख) पावल र बर्णाबासले भनेको कुराबाट हामीले सिक्न सक्ने एउटा पाठ के हो?

      ११ यस्तो नाटकीय अवस्था सृजना भए तापनि पावल र बर्णाबासले अझै आफ्ना श्रोताहरूको मनसम्म पुग्न हर प्रयास गरे। मानिसहरूलाई साक्षी दिने प्रभावकारी तरिका लुकाले यस घटनामा लेखे। पावल र बर्णाबासले आफ्ना श्रोताहरूसँग कसरी मन छुने तरिकाले कुरा गरे, ध्यान दिनुहोस्‌: “हे मानिसहरू हो, तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ। अनि यी निरर्थक कुराहरूबाट फर्केर आकाश, पृथ्वी र समुद्र अनि तिनमा भएका सबै थोक बनाउनुहुने जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌ भनेर तपाईँहरूलाई सुसमाचार सुनाउन आएका हौँ। विगतमा उहाँले सबै जातिका मानिसहरूलाई आ-आफ्नै मार्गमा चल्न दिनुभयो। तैपनि भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”—प्रेषि. १४:१५-१७.

      १२ मानिसहरूलाई सोच्न लगाउने यी शब्दहरूबाट हामी के सिक्न सक्छौँ? पहिलो, पावल र बर्णाबासले आफ्ना श्रोताहरूभन्दा आफूलाई ठूलो ठानेनन्‌। तिनीहरूले कुनै ढोँग गरेनन्‌ बरु आफू जस्तो हो, मानिसहरूसामु त्यस्तै प्रस्तुत भए। आफ्ना श्रोताहरूमा भएका जस्तै कमीकमजोरी आफूमा पनि छ भनेर तिनीहरूले नम्रतासाथ स्विकारे। हो, पावल र बर्णाबासले परमेश्‍वरको पवित्र शक्‍ति पाएका थिए र झूटा शिक्षाको चङ्‌गुलबाट मुक्‍त भएका थिए। तिनीहरूले आशिष्‌स्वरूप ख्रिष्टसँगै शासन गर्ने आशा पनि पाएका थिए। लिस्त्राका मानिसहरूले पनि ख्रिष्टको आज्ञा पालन गरे भने यस्तै आशिष्‌ पाउन सक्छन्‌ भनेर तिनीहरूलाई थाह थियो।

      १३ सुसमाचार सुनाउँदा हामी मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्छौँ? के तिनीहरू पनि हामीजस्तै हुन्‌ भन्‍ने सोच्छौँ? परमेश्‍वरको वचनबाट सत्य कुरा सिक्न अरूलाई मदत गर्दा आफ्नै महिमा नखोजेर के हामी पनि पावल र बर्णाबासको अनुकरण गछौँ? यस सम्बन्धमा १९ औँ शताब्दीको अन्ततिर र २० औँ शताब्दीको सुरुतिर साक्षीकार्यमा नेतृत्व लिएका प्रभावकारी शिक्षक चार्ल्स टेज रसलले राम्रो उदाहरण बसाल्नुभयो। उहाँले यस्तो लेख्नुभयो: “हामी आफ्नो लागि वा आफूले तयार पारेका लेखहरूको लागि कसैबाट श्रद्धा र महिमा चाहँदैनौँ। हामीलाई कसैले श्रद्धेय वा गुरु भनेको पनि चाहँदैनौँ।” पावल र बर्णाबासले जस्तै भाइ रसलले पनि नम्र मनोवृत्ति देखाउनुभयो। त्यसैगरि हामी पनि आफ्नै महिमाको लागि होइन तर मानिसहरूलाई “जीवित परमेश्‍वरकहाँ” फर्कन मदत गर्ने उद्देश्‍यले साक्षी दिन्छौँ।

      १४-१६. पावल र बर्णाबासले लिस्त्राका मानिसहरूलाई भनेका कुराबाट हामीले सिक्न सक्ने दोस्रो र तेस्रो पाठ के हो?

      १४ पावल र बर्णाबासले दिएको भाषणबाट हामीले सिक्न सक्ने दोस्रो पाठ विचार गर्नुहोस्‌। तिनीहरू परिस्थितिअनुसार छाँटकाँट गर्थे। आइकोनियमका यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई बाइबलबारे र परमेश्‍वरसँग इस्राएलीहरूको सम्बन्धबारे राम्ररी थाह थियो। तर लिस्त्राका मानिसहरूलाई भने त्यसबारे अलिअलि मात्र थाह थियो वा पटक्कै थाह थिएन। पावल र बर्णाबासका श्रोताहरू खेतीकिसानी गर्थे। लिस्त्राको हावापानी राम्रो थियो र भूमि पनि उर्वर थियो। ती मानिसहरूले थुप्रै कुरामा, जस्तै: ऋतुअनुसार प्रशस्त बाली लागेको बेला सृष्टिकर्ताका गुणहरू छर्लङ्‌गै देख्न सक्थे। आफ्ना श्रोताहरूको मन छुन यी मिसनरीहरूले तिनीहरू पनि सहमत हुने यही विषयबाट कुरा सुरु गरे।—रोमी १:१९, २०.

      १५ के हामी पनि परिस्थितिअनुसार छाँटकाँट गर्छौँ? हुनत किसानले एकै प्रकारको बिउ फरक-फरक जमिनमा छर्न सक्छ तर माटो राम्ररी तयार पार्न किसानले जमिनअनुसार फरक तरिका अपनाउनुपर्छ। कुनै-कुनै जमिन असल हुने भएकोले तुरुन्तै बिउ उम्रन सक्छ। तर कुनै-कुनै जमिनको माटोलाई तयार पार्न भने धेरै काम गर्नुपर्ने हुन सक्छ। त्यसैगरि हामीले रोप्ने बिउ पनि सधैँ एकै प्रकारको हुन्छ। त्यो हो, परमेश्‍वरको वचनमा पाइने सन्देश। तर पावल र बर्णाबासले जस्तै हामी मानिसहरूको परिस्थिति र धार्मिक पृष्ठभूमि बुझ्ने प्रयास गर्छौँ। त्यसपछि राज्य सन्देश सुनाउने तरिकामा त्यहीअनुसार छाँटकाँट गर्न सक्छौँ।—लुका ८:११, १५.

      १६ पावल, बर्णाबास र लिस्त्राका मानिसहरूको विवरणबाट हामीले सिक्न सक्ने तेस्रो पाठ हो: हामीले जत्ति नै प्रयास गरे तापनि कहिलेकाहीँ हामीले छरेको बिउ खोसेर लगिन्छ वा चट्टाने जमिनमा पर्छ। (मत्ति १३:१८-२१) त्यस्तो भयो भने निराश नहुनुहोस्‌। पावलले पछि रोमका ख्रिष्टियनहरूलाई भनेझैँ “हामी सबैले [र हामीले सुसमाचार सुनाएका प्रत्येक व्यक्‍तिले] परमेश्‍वरलाई आ-आफ्नो लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.

      “तिनीहरूले यी एल्डरहरूलाई यहोवा परमेश्‍वरको जिम्मा लगाए” (प्रेषित १४:२०-२८)

      १७. डर्बीबाट पावल र बर्णाबास कता गए र किन?

      १७ विरोधीहरूले पावल मरे भन्ठानेर लिस्त्राबाट घिसार्दै निकालेपछि चेलाहरूले तिनलाई लगे अनि तिनको लागि बासको प्रबन्ध मिलाइदिए। भोलिपल्ट पावल र बर्णाबासले डर्बीसम्मको १०० किलोमिटर लामो यात्रा सुरु गरे। अघिल्लो दिन मात्र मरणासन्‍न अवस्थामा पुगेका पावललाई कठिन बाटोको यो यात्रा कत्ति कष्टकर भयो होला! तैपनि पावल र बर्णाबासले लत्तो छाडेनन्‌। डर्बी पुगेपछि तिनीहरूले “थुप्रै चेला” बनाए। त्यसपछि तिनीहरूले सिरियाको एन्टिओक फर्कन छोटो बाटो रोज्नुको सट्टा “फर्केर लिस्त्रा, आइकोनियम र [पिसिदियाको] एन्टिओक गए।” किन? ‘चेलाहरूलाई ढाडस दिन र विश्‍वासमा रहिरहन प्रोत्साहन दिन।’ (प्रेषि. १४:२०-२२) कस्तो राम्रो उदाहरण! तिनीहरूले आफ्नो सुविधा खोज्नुभन्दा मण्डलीको हितलाई प्राथमिकता दिए। आज परिभ्रमण निरीक्षक र मिसनरीहरूले तिनीहरूको उदाहरण अनुकरण गरेका छन्‌।

      १८. एल्डरहरू नियुक्‍त गर्न के-के गरिन्छ?

      १८ आफ्नो बोली र कामद्वारा चेलाहरूलाई ढाडस दिनुका साथै पावल र बर्णाबासले “प्रत्येक मण्डलीमा एल्डरहरू नियुक्‍त गरे।” तिनीहरू मिसनरी यात्राको लागि “पवित्र शक्‍तिद्वारा पठाइएका” भए तापनि यहोवाको डोऱ्‍याइको लागि प्रार्थना गरे र उपवास बसे अनि “यी एल्डरहरूलाई यहोवा परमेश्‍वरको जिम्मा लगाए।” (प्रेषि. १३:१-४; १४:२३) आज पनि यही नमुना पछ्याइन्छ। नियुक्‍तिका लागि सिफारिस पठाउनुअघि एल्डरहरूको स्थानीय निकायले प्रार्थना गर्छ र उक्‍त भाइले धर्मशास्त्रमा तोकिएका आवश्‍यकताहरू पूरा गरेका छन्‌ कि छैनन्‌ भनेर केलाउँछ। (१ तिमो. ३:१-१०, १२, १३; ति. १:५-९; याकु. ३:१७, १८; १ पत्रु. ५:२, ३) तिनी ख्रिष्टियन भएको कति समय भयो त्यसलाई मुख्य आधार बनाएर निर्णय गरिने त होइन। तर उक्‍त भाइको बोली र बानीबेहोरा कस्तो छ र तिनले कस्तो नाम कमाएका छन्‌, त्यसबाट तिनको जीवनमा पवित्र शक्‍तिले कुन हदसम्म काम गरेको छ भन्‍ने कुरा प्रस्ट हुन्छ। तिनले निरीक्षकहरूका लागि बाइबलमा तोकिएका आवश्‍यकताहरू पूरा गरेका छन्‌ कि छैनन्‌, त्यसैको आधारमा तिनी गोठालोको रूपमा सेवा गर्न योग्य छन्‌ कि छैनन्‌ भनेर पक्का गरिन्छ। (गला. ५:२२, २३) यसरी नियुक्‍त गर्ने जिम्मेवारी क्षेत्रीय निरीक्षकको हुन्छ।—१ तिमोथि ५:२२ तुलना गर्नुहोस्‌।

      १९. आफूले दिनुपर्ने लेखाबारे एल्डरहरूलाई के थाह छ? तिनीहरू कसरी पावल र बर्णाबासको अनुकरण गर्छन्‌?

      १९ एल्डरहरूले भाइबहिनीसित जस्तो व्यवहार गर्छन्‌, त्यसको लागि यहोवालाई लेखा दिनुपर्छ भनेर तिनीहरूलाई थाह छ। (हिब्रू १३:१७) पावल र बर्णाबासले जस्तै एल्डरहरूले पनि साक्षीकार्यमा अगुवाइ लिन्छन्‌। आफ्नो बोलीद्वारा तिनीहरू भाइबहिनीलाई ढाडस दिन्छन्‌। तिनीहरू आफ्नो सुविधा खोज्नुभन्दा मण्डलीको हितलाई प्राथमिकता दिन तयार हुन्छन्‌।—फिलि. २:३, ४.

      २०. हाम्रा भाइहरूको सेवाको कामबारे पढेर हामी कसरी लाभ उठाउन सक्छौँ?

      २० अन्ततः पावल र बर्णाबास आफ्नो मिसनरी यात्राको केन्द्र सिरियाको एन्टिओक फर्केपछि “परमेश्‍वरले कसरी तिनीहरूमार्फत थुप्रै काम गर्नुभयो अनि अन्यजातिहरूले पनि प्रभुमा विश्‍वास गरून्‌ भनेर उहाँले कसरी ढोका खोलिदिनुभयो” भनी सुनाउन थाले। (प्रेषि. १४:२७) हाम्रा ख्रिष्टियन भाइहरूको सेवाको कामबारे पढेपछि र तिनीहरूको प्रयासमा यहोवाले कसरी आशिष्‌ दिनुभयो भन्‍ने कुरा देखेपछि हामीले पनि ‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोलिरहन’ प्रोत्साहन पाउनेछौँ।

      a पृष्ठ ९६ मा भएको “आइकोनियम—फ्रिजियालीहरूको सहर” शीर्षकको पेटी हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने