अतीतका ईश्वरभीरु परिवारहरू हाम्रो समयका लागि नमुना
परिवार—संयुक्त राष्ट्र संघले यसैमाथि विश्वको ध्यानाकर्षण गर्न खोज्यो। तर कसरी? सन् १९९४ लाई “अन्तरराष्ट्रिय परिवार वर्ष” घोषणा गरेर। संसारका नेता, समाजशास्त्री र पारिवारिक सल्लाहकारहरूले अवैध जन्म तथा पारपाचुकेको दरमा वृद्धिजस्ता कुराहरूबारे टिप्पणी गर्न ढिलासुस्ती गरेका छैनन्। तर ती समस्याहरूको कामचलाउ, व्यवहारिक समाधानहरू दिन भने त्यति छरितो हुन सकेका छैनन्।
ती पारिवारिक समस्याहरूको समाधान बाइबलमा पो पाइएला कि? बाइबलले आजका परिवारहरूलाई मदत दिनसक्छ भनी सुझाव दिनु केहीलाई मूर्खतापूर्ण लाग्नसक्छ। आखिरमा, यो मध्य पूर्वीय परिवेश र संस्कृतिमा शताब्दीयौंअघि लेखिएको थियो। संसारका प्रायजसो भागहरूमा जीवनशैली बाइबलकालीन जीवनशैलीभन्दा निकै भिन्न भएको छ। तापनि, बाइबल यहोवा परमेश्वरद्वारा प्रेरित वचन हो र उहाँले पृथ्वीमा हरेक परिवारको नाउँ राख्नुभएको छ। (एफिसी ३:१४, १५; २ तिमोथी ३:१६) बाइबलले पारिवारिक समस्याहरूबारे के भन्छ?
पारिवारिक जीवन सुखमय र सन्तोषप्रद बनाउन के चाहिन्छ भनेर यहोवालाई राम्ररी थाह छ। तसर्थ, उहाँको वचन, बाइबलले पारिवारिक जीवनबारे सल्लाहको रूपमा निकै जानकारीहरू प्रदान गर्छ। ईश्वरीय सिद्धान्तहरूलाई पालन गर्ने थुप्रै परिवारहरूको उदाहरण पनि बाइबलमा पाइन्छ। फलस्वरूप, तिनीहरूले साँचो घनिष्ठता र सन्तुष्टिको आनन्द उठाए। आउनुहोस्, बाइबलकालीन पारिवारिक जीवनलाई गहिरिएर हेरौं र त्यसबाट कस्तो पाठ सिक्न सकिन्छ, ध्यान देऔं।
शिरत्व—कठिनाइ?
उदाहरणको लागि, पारिवारिक शिरत्वलाई लिनुहोस्। अब्राहाम, इसहाक र याकूबजस्ता कुलपिताहरूको समयमा तिनीहरू निर्विवाद “कुलपति” थिए। (प्रेरित ७:८, ९; हिब्रू ७:४) राल्फ गाउरद्वारा लिखित द न्यु म्यानर्स एण्ड कस्टम्स् अफ बाइबल टाइम्स्-मा यसो भनिएको छ: “परिवार भनेको . . . पिताले शासन गर्ने ‘सानो राज्य’ थियो। तिनले आफ्नी पत्नी, छोराछोरी, नातिनातिनी र सेवकहरूलगायत आफ्नो घरानाका सम्पूर्ण व्यक्तिहरूमाथि शासन गर्थे।” निस्सन्देह, कुलपिताहरूले प्रायजसो आफ्ना छोराका परिवारहरूमाथि अधिकार जमाउँथे।—उत्पत्ति ४२:३७ तुलना गर्नुहोस्।
के यसले पुरुषहरूलाई आफ्नी पत्नी तथा छोराछोरीहरूको दमन गर्ने छुट दियो? पटक्कै दिएन। हो, परमेश्वरले प्रथम स्त्री, हव्वालाई यसो भन्नुभयो: “तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) ती शब्दहरूले विवाहिताहरूको अवस्था साधारणतया कस्तो हुनेछ भनी संकेत गऱ्यो। तर परमेश्वरका साँचो उपासकहरूबीच परिस्थिति कस्तो हुनेछ भनेर वर्णन गरेन। ईश्वरभीरु पतिहरूले यहोवाको मौलिक उद्देश्यलाई मनमा राख्नुपर्थ्यो। यहोवाले स्त्रीलाई पुरुषको “सुहाउँदो . . . सहयोगी” बनाउनुभयो, तिनको दास होइन। (उत्पत्ति २:२०) प्रारम्भिक समयका ईश्वरभीरु पुरुषहरूले परमेश्वरप्रति आफ्नो अधीनता र तिनीहरू उहाँप्रति जवाफदेही छन् भनी बुझेकोले आफ्नो अख्तियारको दुरुपयोग गरेनन्। आफ्ना पत्नी तथा छोराछोरीहरूलाई केवल दासजस्तो व्यवहार गर्नुको साटो ईश्वरभीरु कुलपिताहरूले साँचो प्रेम र स्नेह देखाए।
छोराछोरीहरूले साधारणतया प्राप्त गर्ने स्नेहको एउटा झलक उत्पत्ति ५०:२३ मा प्रदान गरिएको छ। त्यहाँ यूसुफका पनातिहरूबारे यसो भनिएको छ: “बालबच्चा पनि यूसुफकै काखमा जन्मे।” यसको साधारणतया अर्थ, यूसुफले ती बालबच्चाहरूलाई आफ्ना सन्तानको रूपमा स्वीकारेको हुनसक्छ। तर यसको साथसाथै तिनले स्नेहका साथ ती बच्चाहरूलाई काखमा खेलाएको पनि हुनसक्छ। आज पिताहरूले आफ्ना छोराछोरीहरूलाई त्यस्तै प्रकारको स्नेह देखाउनु बेस हुनेछ।
परिवारका शिरहरूको हैसियतमा ईश्वरभीरु कुलपिताहरूले आफ्नो परिवारको आध्यात्मिक आवश्यकताहरूको पनि हेरचाह गर्थे। विश्वव्यापी जलप्रलयपश्चात् जहाजबाट निस्केपछि “नूहले परमप्रभुका निम्ति एउटा वेदी बनाएर . . . होमबलि चढ़ाए।” (उत्पत्ति ८:२०; अय्यूब १:५ तुलना गर्नुहोस्।) विश्वासी कुलपिता अब्राहामले परिवारका सदस्यहरूलाई व्यक्तिगत निर्देशन दिएर असल उदाहरण बसाले। तिनले “आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा” दिए। (उत्पत्ति १८:१९) यसप्रकार मायालु शिरत्वले परिवारको भावनात्मक तथा आध्यात्मिक हितमा योगदान पुऱ्यायो।
आज मसीही पुरुषहरूले यही नमुना पछ्याउँछन्। तिनीहरूले उपासनाको सन्दर्भमा आफ्नो परिवारलाई परमेश्वरको आवश्यकताअनुरूप गर्न र आफूले असल उदाहरण बसालेर शिरत्वको अभ्यास गर्छन्। (मत्ती २८:१९, २०; हिब्रू १०:२४, २५) कुलपिताहरूले जस्तै मसीही पति तथा पिताहरूले आफ्नो परिवारका सदस्यहरूलाई व्यक्तिगत निर्देशन दिन पनि समय निकाल्छन्।
निर्णायक कदम चाल्ने
कुलपिता याकूबले आफ्नो ससुरोको ठूलो ऋण चुक्ता गरिसकेपछि यसप्रकार सोधे: “अब मेरो आफ्नै घर-बारको निम्ति चाहिं मैले कहिले बन्दोबस्त गर्ने?” (उत्पत्ति ३०:३०) सबै पिताहरूले जस्तै याकूबले आफ्नो परिवारका भौतिक आवश्यकताहरू जुटाउने चुनौती सामना गरे र तिनले त्यसको निम्ति कडा परिश्रम गरे। उत्पत्ति ३०:४३ यसो भन्छ: “यसरी याकूब अत्यन्तै धनी भए, र तिनका ठूला ठूला बगाल, नोकर-चाकर, ऊँट र गधाहरू पनि भए।”
तथापि, केही वर्षपश्चात् याकूब कनान देशमा बसाइँ सरिसकेपछि तिनकी छोरी, दीनाले मूर्तिपूजक कनानीहरूसित संगत गर्ने खतरनाक बानी बसालेको तिनलाई होशै भएन।a (उत्पत्ति ३४:१) तिनले आफ्नो घरमा मूर्तिपूजासित सम्बन्धित धार्मिक चीजबीजहरू देख्दा कदम चालिहाल्न सकेनन्। तर जे होस्, कनानीहरूले दीनालाई बलात्कार गरेको दुःखदायी घटनापछि याकूबले निर्णायक कदम चाले। तिनले यस्तो निर्देशन दिए, “तिमीहरूसँग भएका अन्यजातिहरूका देवताहरू मिल्काइदेओ, र आफूलाई शुद्ध गरेर लुगाहरू फेर।”—उत्पत्ति ३५:२-४.
आफ्नो परिवारको आध्यात्मिकताको सन्दर्भमा मसीही पिताहरू टाठो हुनुपर्छ। परिवारको आध्यात्मिक हितलाई खतरा पुऱ्याउने अनैतिक साहित्य वा अस्वस्थकर संगीतजस्ता कुराहरू घरमा छन् भने तिनीहरूले निर्णायक कदम चाल्नैपर्छ।
चाखलाग्दो कुरा, सारा, रिबेका र राहेलजस्ता विश्वासी स्त्रीहरूले पनि परिवारमा निकै उल्लेखनीय प्रभाव पारे। आ-आफ्ना पतिहरूको अधीनमा भए तापनि तिनीहरू उचित र उपयुक्त कदम उठाउनदेखि पछि हटेनन्। उदाहरणको लागि, मोशा र तिनको परिवार मिश्रतर्फ गइरहेको विवरण प्रस्थान ४:२४-२६ ले बताउँछ। “परमप्रभुले [“यहोवाको स्वर्गदूतले,” सेप्टुआजिन्ट] मोशालाई भेट्नुभयो, र [मोशाको छोरालाई] मार्ने इच्छा गर्नुभयो।” स्पष्ट छ, मोशाले आफ्नो छोराको खतना नगरेकोले तिनको मृत्यु हुनसक्ने खतरा थियो। सिप्पोराले आफ्नो छोराको खतना गर्न तुरुन्तै कदम चालिहालिन्। फलतः स्वर्गदूतले तिनलाई मारेनन्। त्यस्तैगरि परिस्थिति उपयुक्त हुँदा आज पनि मसीही पत्नीहरू अग्रसर हुनसक्छन्।
मोशाको व्यवस्थाअन्तर्गत पिताको जस्तो निर्देशन
इस्राएल सा.यु.पू. १५१३ मा एउटा राष्ट्र हुँदा कुलपिताको युग अन्त भयो। (प्रस्थान २४:३-८) पिताहरूले परिवारको शिरको हैसियतमा नै सेवा गरिरहे। तथापि, परिवारको व्यवस्था भने राष्ट्रिय व्यवस्थाको अधीनमा भयो। त्यो व्यवस्था परमेश्वरले मोशालाई दिनुभएको थियो र नियुक्त न्यायकर्ताहरूले त्यसलाई लागू गर्थे। (प्रस्थान १८:१३-२६) उपासनामा लेवी पौरोहित्यलाई बलिदानहरूले प्रतिस्थापन गऱ्यो। तापनि, पिताले अझै पनि महत्त्वपूर्ण भूमिका खेल्थे। मोशाले यसप्रकार आग्रह गरे: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:६, ७.
व्यवस्थाले निस्तार चाडजस्ता अवसरहरूमा औपचारिक तथा अनौपचारिक निर्देशनहरू प्रदान गर्ने मौका दिन्थ्यो। निस्तार चाडको दिन अर्थात् नीसान १४ नजीकै आइपुग्दा यहूदी परिवारहरू यरूशलेमको विधिवत् यात्राको निम्ति तयारी गर्न थाल्थे। (व्यवस्था १६:१६; लूका २:४१ तुलना गर्नुहोस्।) यस्ता तयारीहरू गर्दा कुन चाहिं बच्चालाई रमाइलो लाग्दैन थियो होला र? यात्रा मात्रै पनि रमणीय हुनेथियो। त्यतिबेलासम्म वर्षात् अन्त भइसकेको हुन्थ्यो। अनि हिउँदको जाडोलाई वसन्त ऋतुको घामले न्यानो बनाइसकेको हुन्थ्यो। हर्मोन पहाडका हिउँ पग्लँदा यर्दन नदी निकै उर्लन्थ्यो।
यात्रा गर्दै जाँदा पिताहरूले आफ्नो मुलुकको भौगोलिक जानकारी मात्र होइन तर बाटोमा पर्ने ठाउँहरूका इतिहास पनि छोराछोरीलाई सिकाउनसक्थे। यी स्थानहरूमा एबाल डाँडा र गीरिज्जिम डाँडाहरू हुनसक्थे। त्यहाँ व्यवस्थाका सराप तथा आशिष्हरू पढेर सुनाइएको थियो। अनि याकूबले दैवीय भऱ्याङ्को दर्शन देखेको ठाउँ अर्थात् बेतेल पनि बाटोमै पर्न सक्थ्यो। त्यसो गर्दा कस्ता रोमाञ्चकारी छलफलहरू हुने थिए! यात्राको दौडान अन्य मुलुकका यात्रीहरू पनि भेटिनेथिए र त्यसबाट सबैले उत्थानदायी संगतिको आनन्द उठाउन सक्थे।
अन्ततः परिवार “परम सुन्दर” यरूशलेममा प्रवेश गर्थे। (भजन ५०:२) शास्त्रज्ञ आल्फ्रेड एडरशीम यसो भन्छन्: “यी थुप्रै तीर्थयात्रीहरूले शहरबाहिर पाल टाँगेको हुनुपर्छ। शहरभित्रै बस्नेहरूले त्यहाँ निश्शुल्क बास पाउँथे।” हो, हिब्रू जवानहरूले भ्रातृ प्रेम र आतिथ्यसम्बन्धी प्रत्यक्ष पाठ सिके। आज यहोवाका साक्षीहरूको वार्षिक सम्मेलनहरूले पनि त्यस्तै उद्देश्य पूरा गर्छ।
अन्ततः नीसान १४ को दिन पनि आइपुग्नेथियो। निस्तार चाडको लागि तयार पारिएको जनावर बलिदान चढाइन्थ्यो र निकै घण्टासम्म पोलिन्थ्यो। मध्यरात हुनै लाग्दा परिवारले भेडा, अखमीरे रोटी र तीते सागहरू खान्थे। तिनीहरूको परम्पराअनुसार छोराले यो प्रश्न गर्थ्यो: “यस सेवाको अर्थ के हो?” त्यसपछि पिताले औपचारिक निर्देशन दिंदै यसो भन्थे: “यो परमप्रभुको निस्तार चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूको घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिं छोड़ेर उहाँले निस्तार चाड़ गर्नुभएको थियो।”—प्रस्थान १२:२६, २७; १३:८.
इस्राएलका राजा सुलेमानले यसो भने: ‘हाँस्ने एउटा समय छ, नाच्ने एउटा समय छ।’ (उपदेशक ३:४) इस्राएली छोराछोरीहरूलाई मनोरञ्जन गर्न दिइन्थ्यो। स्पष्टतया येशू ख्रीष्टले बजारका चोकहरूमा केटाकेटीहरू खेलेको हेर्नुभएको हुनुपर्छ। (जकरिया ८:५; मत्ती ११:१६) साथै हुनेखाने आमाबाबुहरूले पारिवारिक जमघटहरूमा नाचगान र भोज-भतेरको आयोजना गर्नु कुनै नौलो कुरा थिएन। (लूका १५:२५) त्यस्तैगरि आज मसीही आमाबाबुहरू आफ्ना छोराछोरीहरूका लागि स्वस्थकर मनोरञ्जन र संगति प्रदान गर्न अग्रसर हुन्छन्।
यहूदी समाजमा आमा तथा छोराछोरीहरू
मोशाको व्यवस्थाअन्तर्गत आमाहरूले कस्तो भूमिका निर्वाह गर्थे? हितोपदेश १:८ ले यस्तो आज्ञा दिन्छ: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्।” पतिको अख्तियारको संरचनाभित्र यहूदी पत्नीले आफ्नो पारिवारिक जीवनमा ईश्वरप्रदत्त आवश्यकताहरू पूरा गर्थिन्। तिनी बूढी हुँदासमेत छोराछोरीहरूले आदर गर्नुपर्थ्यो।—हितोपदेश २३:२२.
आमाले आफ्ना छोराछोरीहरूको प्रशिक्षणमा पनि ठूलो भूमिका निभाउँथिन्। तिनी एक्लैले शिशुको स्याहार सम्भार गर्ने भएकीले निस्सन्देह आमा र बच्चाबीच घनिष्ठ सम्बन्ध कायम हुन्थ्यो। (यशैया ४९:१५) पिताले छोराहरूलाई कुनै सीप सिकाउञ्जेल आमाले छोरीहरूलाई घरायसी कार्यहरू सिकाउँथिन्। आमाहरूले छोराहरूको जीवनमा पनि गहिरो प्रभाव पार्थे। उदाहरणको लागि, राजा लमूएलले “तिनलाई तिनको आमाले सिकाएकी” नीतिवचनबाट लाभ उठाए।—हितोपदेश ३१:१.
एक दक्ष यहूदी पत्नीले “आफ्नो परिवारको कामको हेर-विचार” गर्ने मौका पनि पाउँथिन्। हितोपदेश ३१:१०-३१ अनुसार तिनले घरायसी सामानहरू किन्ने, जमीन किनबेच गर्ने र सानो व्यापारसमेत चलाउन सक्थिन्। मूल्यांकन गर्ने पतिको लागि तिनको मूल्य “मूगा-मोतीभन्दा पनि ज्यादा” हुन्थ्यो!
आजको लागि नमुना
बाइबलकालीन पारिवारिक प्रबन्धले सम्पूर्ण सदस्यहरूको भावनात्मक तथा आध्यात्मिक वृद्धिमा योगदान पुऱ्याउँथ्यो। पिताले आफ्नो परिवारको लाभको लागि मायालु अख्तियार चलाउनु पर्थ्यो। तिनीहरू उपासनामा अग्रसर हुनुपर्थ्यो। आमाबाबु दुवैले आफ्ना छोराछोरीहरूलाई सिकाएर, प्रशिक्षण दिएर, तिनीहरूसँगै उपासना गरेर अनि मनोरञ्जनको प्रबन्ध गरेर चासो देखाउँथे। ईश्वरभीरु आमाहरू मूल्यवान् सहायक साबित हुन्थे। तिनीहरू आफ्नो पतिको अधीनमा बसेर परिवारको खातिर अग्रसर हुन्थे। आज्ञाकारी छोराछोरीहरूले आमाबाबु र यहोवा परमेश्वरलाई आनन्द दिन्थे। निस्सन्देह, बाइबलकालीन ईश्वरभीरु परिवारहरू आज हाम्रोलागि अत्युत्तम नमुना हुन्।
[फुटनोट]
a यसअघि याकूबले आफ्नो परिवारलाई कनानी प्रभावदेखि जोगाउन लिएको दृढ कदमलाई बिर्सनु हुँदैन। तिनले एउटा वेदी बनाए। निस्सन्देह, त्यो छिमेकी कनानीहरूको भन्दा बेग्लै शैलीमा बनाइएको थियो। (उत्पत्ति ३३:२०; प्रस्थान २०:२४, २५) यसबाहेक, तिनले शकेम शहरबाहिर आफ्नो पाल टाँगे र पानीको छुट्टै प्रबन्ध मिलाए। (उत्पत्ति ३३:१८; यूहन्ना ४:६, १२) यसप्रकार कनानीहरूसित संगत नगर्नू भन्ने याकूबको इच्छा दीनालाई राम्ररी थाह थियो।
[पृष्ठ २३-मा भएको चित्र]
तपाईंको परिवार पनि यहोवाको उपासना गर्ने बाइबलकालीन परिवारहरूजस्तै आनन्दित हुनसक्छन्