प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ७/१५ पृ. १५-१९
  • के तपाईं यहोवाको सुस्पष्ट चेतावनी सुन्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं यहोवाको सुस्पष्ट चेतावनी सुन्‍नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘झूटा शिक्षकहरूको’ पछि नलाग्नुहोस्‌
  • ‘झूटा कथाहरूको’ पछि नलाग्नुहोस्‌
  • “सैतानको पछि” नलाग्नुहोस्‌
  • छलछामदेखि सावधान रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • झूटो उपासनादेखि अलग हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ७/१५ पृ. १५-१९

के तपाईं यहोवाको सुस्पष्ट चेतावनी सुन्‍नुहुन्छ?

“बाटो यही हो, यसैमा तिमीहरू हिंड।”—यशै. ३०:२१.

१, २. सैतान के गर्न घुँडा धसेर लागिपरेको छ र बाइबलले हामीलाई कसरी मदत गर्छ?

गलत दिशा देखाउने सङ्‌केतले तपाईंलाई अन्तै पुऱ्‍याउन सक्छ। अनि यो खतरनाक पनि हुन सक्छ। कल्पना गर्नुहोस्‌: एक जना दुष्ट व्यक्‍तिले जानाजानी बाटोमा गलत दिशा देखाउने सङ्‌केत राखेको छ भनेर तपाईंको साथीले भन्छ। त्यो दुष्ट व्यक्‍ति तपाईंलाई हानि पुऱ्‍याउन चाहन्छ। के यति बेला तपाईं आफ्नो साथीको कुरा सुन्‍नुहुन्‍न र?

२ सैतान त्यो दुष्ट व्यक्‍तिजस्तै छ। त्यो हामीलाई झुक्याउन घुँडा धसेर लागिपरेको छ। (प्रका. १२:९) अघिल्लो लेखमा छलफल गरिएका तीन वटा खतराको स्रोत पनि यही सैतान हो। हामीलाई अनन्त जीवनको बाटोबाट तर्काउन त्यसले ती खतरनाक पासोहरूको प्रयोग गर्छ। (मत्ती ७:१३, १४) तर खुसीको कुरा, हाम्रो दयालु परमेश्‍वर यहोवाले सैतानका ती गलत ‘सङ्‌केतहरूको’ पछि नलाग्न चेतावनी दिनुभएको छ। सैतानले हामीलाई झुक्याउन प्रयोग गर्ने थप तीन वटा खतरनाक पासोबारे र बाइबलले ती पासोहरूबाट अलग रहन मदत गर्ने तरिकाहरूबारे अब हामी छलफल गरौं। बाइबल पढ्‌दा यहोवा परमेश्‍वर हाम्रो पछाडि उभिएर यसो भनिरहेको हामी कल्पना गर्न सक्छौं: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशै. ३०:२१) यहोवाका सुस्पष्ट चेतावनीहरूबारे अध्ययन गरिसकेपछि हामी उहाँले भन्‍नुभएको कुरा गर्न अझै कटिबद्ध हुनेछौं।

‘झूटा शिक्षकहरूको’ पछि नलाग्नुहोस्‌

३, ४. (क) कुन अर्थमा झूटा शिक्षकहरू सुख्खा कुवाजस्तै हुन्‌? (ख) झूटा शिक्षकहरू कहाँबाट आउँछन्‌ र तिनीहरू के गर्न चाहन्छन्‌?

३ एकछिन कल्पना गर्नुहोस्‌, तपाईं सुख्खा ठाउँ भएर आफ्नो गन्तव्यतिर जाँदै हुनुहुन्छ। तपाईंलाई निक्कै प्यास लाग्छ। केही पर तपाईं एउटा कुवा देख्नुहुन्छ र फुरुङ्‌ङ हुँदै त्यतैतिर लाग्नुहुन्छ। तर कुवामा पुग्दा त त्यहाँ पानी नै हुँदैन! त्यतिबेला कस्तो नमजा लाग्छ नि, होइन र? झूटा शिक्षकहरू त्यो सुख्खा कुवाजस्तै हुन्‌। सत्यको लागि तिर्खाएर तिनीहरूकहाँ जाने सबैले निराशाबाहेक अरू केही पाउँदैनन्‌। यहोवा परमेश्‍वरले प्रेषित पावल र प्रेषित पत्रुसमार्फत झूटा शिक्षकहरूबारे चेतावनी दिनुभएको छ। ( प्रेषित २०:२९, ३०; २ पत्रुस २:१-३ पढ्‌नुहोस्‌) ती झूटा शिक्षकहरू को हुन्‌? प्रेषित पावल र प्रेषित पत्रुसले परमेश्‍वरको प्रेरणा पाएर लेखेका वचनहरूले हामीलाई झूटा शिक्षकहरू कहाँबाट आउँछन्‌ र तिनीहरूले के-के गर्छन्‌ भनेर बताउँछ।

४ एफिसी मण्डलीका एल्डरहरूलाई पावलले यसो भने: “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईंहरूकै बीचबाट उठ्‌नेछन्‌।” सँगी ख्रीष्टियनहरूलाई सम्बोधन गर्दै पत्रुसले यस्तो लेखे: “तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्‌।” त्यसो भए झूटा शिक्षकहरू कहाँबाट आउँछन्‌? हो, तिनीहरू मण्डलीभित्रैबाट आउँछन्‌। त्यस्ता मानिसहरूलाई धर्मत्यागीa भनिन्छ। तिनीहरू के चाहन्छन्‌? तिनीहरू आफूले मात्र यहोवाको सङ्‌गठन छोडेर चित्त बुझाउँदैनन्‌, बरु चेलाहरूलाई पनि आफूतिर तान्‍ने प्रयास गर्छन्‌। पावलले यहाँ उल्लेख गरेका चेलाहरू येशू ख्रीष्टका चेलाहरू हुन्‌। यसको मतलब ती झूटा शिक्षकहरूले मण्डलीबाहिर गएर चेलाहरू बनाउँदैनन्‌ तर ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लगाउन खोज्छन्‌। झूटा शिक्षकहरू भेडा खाने ब्वाँसाहरूजस्तै छन्‌ भनेर येशूले भन्‍नुभयो। तिनीहरू मण्डलीका सदस्यहरूको विश्‍वास कमजोर बनाउन र उनीहरूलाई सत्य त्याग्न लगाउन खोज्छन्‌।—मत्ती ७:१५; २ तिमो. २:१८.

५. झूटा शिक्षकहरूले मानिसहरूलाई कसरी झुक्याउँछन्‌?

५ झूटा शिक्षकहरूले मानिसहरूलाई कसरी झुक्याउँछन्‌? तिनीहरू साह्रै चलाख तरिका अपनाउँछन्‌। अपराधीले गोप्य रूपमा अवैध सामान भित्र्याएजस्तै गरी यी धर्मत्यागीहरूले पनि “कसैले चाल नपाउने गरी” आफ्नो विचार मण्डलीमा घुसाउँछन्‌। तिनीहरू “झूटा कुराहरू” गर्छन्‌। भन्‍नुको मतलब, जसरी जालसाजी गर्ने मान्छेले नक्कली कागजात बनाउँदा ठ्याक्कै सक्कलीजस्तो देखिने बनाउँछ, त्यसरी नै तिनीहरू पनि नभएको कुरालाई हो जस्तै गरी बताउँछन्‌। तिनीहरू धेरैभन्दा धेरै मानिसलाई आफ्ना “झूटा कुराहरू”-मा विश्‍वास दिलाउन खोज्छन्‌। पत्रुसले बताएअनुसार तिनीहरू धर्मशास्त्रका कुराहरूलाई “बङ्‌ग्याउँछन्‌।” अरूले विश्‍वास गरून्‌ भनेर तिनीहरू बाइबल पदलाई गलत तरिकामा व्याख्या गर्छन्‌। (२ पत्रु. २:१, ३, १३; ३:१६) धर्मत्यागीहरू हाम्रो चासो राख्दैनन्‌। तिनीहरूको पछि लाग्यौं भने हामी अनन्त जीवनको बाटोमा होइन अन्तै गइरहेका हुन्छौं।

६. झूटा शिक्षकहरूसित गर्ने व्यवहारबारे बाइबल हामीलाई कस्तो सुस्पष्ट सल्लाह दिन्छ?

६ हामी झूटा शिक्षकहरूबाट कसरी सुरक्षित रहन सक्छौं? तिनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर बाइबलले हामीलाई सुस्पष्ट सल्लाह दिन्छ। ( रोमी १६:१७; २ यूहन्‍ना ९-११ पढ्‌नुहोस्‌) परमेश्‍वरको वचन बाइबल हामीलाई यसो भन्छ: “यिनीहरूबाट टाढै बस।” अरू बाइबलमा यसलाई “तिनीहरूबाट हट,” “तिनीहरूबाट अलग्गै बस” भनी अनुवाद गरिएको छ। यो बाइबल पदले भन्‍न खोजेको कुरा स्पष्ट छ। मानौं: तपाईंलाई डाक्टरले प्राणघातक सरुवा रोग लागेको मानिसको सम्पर्कमा नआउनू भन्छ। डाक्टरले भन्‍न खोजेको कुरा तपाईंले तुरुन्तै बुझिहाल्नुहुन्छ। अनि ती डाक्टरले भनेअनुसारै गर्नुहुन्छ नि, होइन र? एक अर्थमा भन्‍ने हो भने, धर्मत्यागीहरूलाई “मानसिक रोग लागेको” छ। अरूले पनि आफूले जस्तै सोचून्‌ भनेर तिनीहरू नानाथरीका कुराहरू सिकाउँछन्‌। (१ तिमो. ६:३, ४) तर महान्‌ डाक्टर यहोवाले तिनीहरूको सम्पर्कमा नआउनू भनेर हामीलाई चेतावनी दिनुभएको छ। उहाँले भन्‍न खोजेको कुरा हामीले बुझेका छौं अनि जस्तोसुकै परिस्थिति आइपरे तापनि हामी उहाँको चेतावनी सुन्‍न कटिबद्ध छौं।

७, ८. (क) झूटा शिक्षकहरूबाट टाढा बस्न हामीले के गर्नुपर्छ? (ख) झूटा शिक्षकहरूबाट टाढा बस्न तपाईं किन कटिबद्ध हुनुहुन्छ?

७ झूटा शिक्षकहरूबाट टाढा बस्न हामीले के गर्नुपर्छ? हामी तिनीहरूसित कुराकानी गर्दैनौं र तिनीहरूलाई आफ्नो घरमा निम्तो पनि दिंदैनौं। तिनीहरूले लेखेको किताब पढ्‌दैनौं, तिनीहरूले तयार पारेको टिभी कार्यक्रमहरू हेर्दैनौं, तिनीहरूले इन्टरनेटमा राखेका सामग्रीहरू पढ्‌दैनौं अनि त्यसबारे आफ्नो टिप्पणी पनि लेख्दैनौं। हामी किन यसो गर्न कटिबद्ध छौं? किनभने हामी “सत्य परमेश्‍वर” यहोवालाई प्रेम गर्छौं। त्यसैले परमेश्‍वरको वचन बाइबलविपरीतका कुराहरू सुन्‍न हामी आफ्नो कान ठाडो पार्नेछैनौं। (भज. ३१:५; यूह. १७:१७) हामी यहोवाको सङ्‌गठनलाई पनि प्रेम गर्छौं। यही सङ्‌गठनमार्फत उहाँले हामीलाई अनमोल सत्य सिकाउनुहुन्छ। हो, उहाँले हामीलाई यही सङ्‌गठनमार्फत आफ्नो नाम र त्यसको अर्थ, पृथ्वीको लागि आफ्नो उद्देश्‍य, मरिसकेका व्यक्‍तिहरूको अवस्था अनि पुनर्जीवनको आशाबारे सत्य कुरा सिकाउनुभयो। यी अनि अन्य सत्य कुराहरू सिक्दा तपाईं कत्ति दङ्‌ग पर्नुभएको थियो, के तपाईंलाई याद छ? त्यसैले जुन सङ्‌गठनले तपाईंलाई यत्ति अनमोल सत्य सिकायो, त्यसलाई ती झूटा शिक्षकहरूको बहकाउमा लागेर नत्याग्नुहोस्‌।—यूह. ६:६६-६९.

८ झूटा शिक्षकहरूले चाहे जेसुकै भनून्‌, हामी तिनीहरूको पछि लाग्नेछैनौं। सुख्खा कुवारूपी ती मानिसहरूकहाँ जान के खाँचो! तिनीहरूको कुरा सुन्‍नेहरूले त निराशाबाहेक अरू केही पाउनेछैनन्‌। हामी यहोवा र उहाँको सङ्‌गठनप्रति वफादार रहन कटिबद्ध छौं। किनकि उहाँको सङ्‌गठनले हामीलाई कहिल्यै निराश बनाएको छैन। अनि त्यसले सधैं नै हामीलाई परमेश्‍वरको वचनको शुद्ध पानीरूपी सत्य सिकाइरहेको छ।—यशै. ५५:१-३; मत्ती २४:४५-४७.

‘झूटा कथाहरूको’ पछि नलाग्नुहोस्‌

९, १०. पावलले तिमोथीलाई झूटा कथाहरूबारे कस्तो चेतावनी दिए? कस्ता झूटा कथाहरूबारे पावलले बताउन खोजिरहेका थिए? (पादटिप्पणी पनि हेर्नुहोस्‌)

९ कसैले गलत दिशा देखाउन राखिदिएको सङ्‌केतले हामीलाई झुक्याउन सक्छ। सङ्‌केतले गलत दिशा देखाएको ठम्याउन कहिलेकाहीं त सजिलो हुन्छ तर सधैं भने सजिलो हुँदैन। सैतानबाट आउने झूट पनि त्यस्तै हो। होसियार भएनौं भने हामी त्यसका केही झूटबाट सजिलै बहकिन सक्छौं। ती झूटहरूबारे प्रेषित पावल हामीलाई चेतावनी दिन्छन्‌। तिनले ती झूटहरूलाई “झूटा कथाहरू” भनेका छन्‌। ( १ तिमोथी १:३, ४ पढ्‌नुहोस्‌) के-कस्ता झूटा कथाहरूबाट हामी टाढा बस्नुपर्छ र कसरी? अनन्त जीवनको बाटोमा हिंडिरहन हामीलाई यी प्रश्‍नहरूको जवाफ चाहिन्छ।

१० पावलले ख्रीष्टियन एल्डर तिमोथीलाई लेखेको पहिलो पत्रमा झूटा कथाहरूबारे चेतावनी दिएका छन्‌। तिमोथीले मण्डली सफा राख्ने र भाइबहिनीहरूलाई यहोवाप्रति वफादार रहिरहन मदत गर्ने जिम्मेवारी पाएका थिए। (१ तिमो. १:१८, १९) तिनले झूटा कथाहरूका लागि प्रयोग गरेको हिब्रू शब्दले काल्पनिक कथा, मिथ्या वा झूटा कुराहरूलाई बुझाउँछ। एउटा बाइबल शब्दकोशअनुसारb मिथ्यामा आधारित यस्ता धार्मिक कथाहरूको वास्तविकतासित केही सम्बन्ध हुँदैन। सायद त्यतिबेला पावलले, अरूलाई उत्सुक बनाउन मानिसहरूले बनाएका पुराना-पुराना कथाहरूसित सम्बन्धित झूटा धार्मिक कुराहरूबारे बताउन खोजिरहेका थिए।c यस्ता कथाहरूले “खोजतलास गर्नका लागि प्रश्‍नहरू मात्र खडा” गर्ने भएकोले यी कथाहरू खतरनाक छन्‌ भनी पावलले बताए। मतलब, यस्ता कथामा ध्यान दिनेहरूको मनमा झूटा कुराहरूबारे प्रश्‍न उठ्‌न थाल्छ र त्यस्ता फाल्तु कुराहरूको जवाफ पाउन तिनीहरूले बिनसित्ति आफ्नो समय खेर फाल्छन्‌। मानिसले रचेका यस्ता कथाहरू तथा धार्मिक झूटहरूको प्रयोग गरेर सैतानले मानिसहरूको दिमागबाट सबैभन्दा महत्त्वपूर्ण कुरा मेटाइदिन्छ। पावलको कुरा स्पष्ट छ: झूटा कथाहरूतिर कान नलगाओ!

११. मानिसहरूलाई बहकाउन सैतानले झूटो धर्मको प्रयोग कसरी गर्छ? हामीले कुन चेतावनी सुन्‍नुपर्छ?

११ होसियार भएनौं भने हामीलाई कस्ता झूटा कथाहरूले बहकाउन सक्छ? ‘सत्य सुन्‍न नपरोस्‌ भनेर कान थुन्‍न’ लगाउने जुनसुकै धार्मिक शिक्षा पनि झूटा कथाहरू हुन्‌। (२ तिमो. ४:३, ४) सैतान धेरै चलाख छ। त्यसले झूटो धर्मको प्रयोग गरेर मानिसहरूलाई बहकाउँछ। त्यसैले त बाइबलले त्यसलाई “ज्योतिर्मय स्वर्गदूत” भनेको छ। (२ कोरि. ११:१४) उदाहरणको लागि, चर्चका मानिसहरूले ख्रीष्टको पछि लागेको दाबी त गर्छन्‌ तर त्रिएक, नरकको आगो जस्ता झूटा शिक्षाहरू सिकाउँछन्‌। मानिस मरेपछि पनि ऊभित्रको कुनै भाग जीवितै रहन्छ भनी तिनीहरू सिकाउँछन्‌। थुप्रैले क्रिसमस अनि इस्टर पर्वले परमेश्‍वरलाई खुसी पार्छ भन्‍ने सोच्छन्‌ तर यस्ता पर्वहरूको कुनै-कुनै प्रचलन झूटो धर्मबाट सुरुवात भएको हो। ‘अशुद्ध थोक नछुनू’ र त्यसबाट अलग रहनू भनी परमेश्‍वरले दिनुभएको चेतावनी सुन्यौं भने झूटा कथाहरूले हामीलाई बहकाउन सक्दैन।—२ कोरि. ६:१४-१७.

१२, १३. (क) सैतानले कस्ता झूटहरू फैलाएको छ? तर वास्तविकता के हो? (ख) सैतानका झूटा कथाहरूको बहकाउमा पर्न चाहँदैनौं भने हामीले के गर्नुपर्छ?

१२ होसियार भएनौं भने अरू पनि झूट प्रयोग गरेर सैतानले हामीलाई बहकाउन सक्छ। अब हामी तीन वटा झूटबारे विचार गरौं। पहिलो झूट: तपाईं जे मन लाग्यो त्यही गर्न सक्नुहुन्छ; सही-गलत के हो, त्यो तपाईं आफै छुट्ट्याउन सक्नुहुन्छ। टिभी, चलचित्र, पत्रपत्रिका अनि इन्टरनेटमा हामी यस्तै-यस्तै कुरा गरेको पाउँछौं। हरबखत यी नै कुराहरू कानमा गुञ्जिने भएकोले हामी सजिलै त्यस्तै विचार अपनाउन र संसारको अनैतिक सोचको पछि लाग्न सक्छौं। तर वास्तविक कुरा के हो भने हामीलाई सही-गलत छुट्ट्याउन परमेश्‍वरको मदत चाहिन्छ। (यर्मि. १०:२३) दोस्रो झूट: परमेश्‍वरले पृथ्वीमा कहिल्यै कुनै परिवर्तन ल्याउनुहुनेछैन। यस्तो धारणाको कारण मानिसहरू खालि आजको बारे सोच्छन्‌। तिनीहरू भविष्यको चिन्ता गर्दैनन्‌ अनि परमेश्‍वरलाई कसरी खुसी पार्ने भनेर पनि तिनीहरूलाई वास्ता छैन। हामी पनि तिनीहरूको लहलहैमा लाग्ने र परमेश्‍वरको सेवामा “निष्क्रिय वा निष्फल हुन” सक्ने खतरा छ। (२ पत्रु. १:८) तर साँचो कुरा के हो भने परमेश्‍वरले चाँडै नै यो पृथ्वीमा परिवर्तन ल्याउनुहुनेछ। यो कुरामा विश्‍वास गर्छौं भने हामीले आफ्नो जीवनशैलीद्वारा देखाउनु आवश्‍यक छ। (मत्ती २४:४४) तेस्रो झूट: परमेश्‍वरले तपाईंको वास्ता गर्नुहुन्‍न। हामी परमेश्‍वरको प्रेमको लायक छैनौं भनेर सैतान हामीलाई महसुस गराउन खोज्छ। सैतानको यस्तो झूटमा विश्‍वास गऱ्‍यौं भने हामीलाई यहोवाको सेवा गर्न मन नलाग्न सक्छ। साँचो कुरा के हो भने यहोवा आफ्ना प्रत्येक सेवकलाई माया गर्नुहुन्छ र उनीहरू उहाँको नजरमा बहुमूल्य छन्‌।—मत्ती १०:२९-३१.

१३ सैतानको प्रभावमा परेका मानिसहरूको जस्तै सोचाइ नराख्न हामी सधैं होसियार हुनुपर्छ। कहिलेकाहीं तिनीहरूको भनाइ वा सोचाइ हामीलाई एकदमै सही लाग्न सक्छ। तर याद राख्नुहोस्‌, सैतान हामीलाई झुक्याउन चाहन्छ अनि ऊ जत्तिको छट्टू अरू कोही छैन। सैतानका झूटा कथाहरूको बहकाउमा लाग्न चाहँदैनौं भने हामीले बाइबलको चेतावनी ध्यान दिनै पर्छ।—२ पत्रु. १:१६.

“सैतानको पछि” नलाग्नुहोस्‌

१४. पावलले केही तरुणी विधवाहरूलाई कस्तो चेतावनी दिए र हामी सबैले यो कुरा किन मनमा राख्नुपर्छ?

१४ मानौं तपाईंले बाटोमा “सैतानको पछि लाग्ने हो भने यो बाटो जानुहोस्‌” भन्‍ने बोर्ड देख्नुभयो। तपाईं के गर्नुहुन्छ? त्यो बाटो भएर जानुहुन्छ र? तर दुःखको कुरा साँचो ख्रीष्टियनहरू समेत “सैतानको पछि” लाग्न सक्छन्‌। यस्तो कसरी हुन सक्छ भन्‍ने विषयमा पावलले हामीलाई चेतावनी दिएका छन्‌। ( १ तिमोथी ५:११-१५ पढ्‌नुहोस्‌) हुनत पावलले मण्डलीका “तरुणी विधवाहरू”-लाई सम्झाइरहेका थिए तर त्यो कुरा सिद्धान्तको रूपमा हामी सबैलाई लागू हुन्छ। प्रथम शताब्दीका ती ख्रीष्टियन स्त्रीहरूले सैतानको पछि लागिरहेका छौं भन्‍ने सोचेकै थिएनन्‌ तर तिनीहरूको व्यवहारले भने त्यस्तै देखाइरहेको थियो। थाहै नपाई सैतानको पछि लाग्नदेखि हामी कसरी होसियार हुन सक्छौं। कुरा ओसार्नेबारे पावलले दिएको चेतावनी अब हामी विचार गरौं।

१५. सैतान के चाहन्छ? सैतानले आफूलाई मन परेको काम गराउन के-कस्तो कुरा चलाउँछ?

१५ हामीले आफ्नो विश्‍वासबारे अरूलाई बताएको सैतान चाहँदैन। त्यसैले हामीलाई प्रचार गर्नदेखि अलमल्याउन त्यसले विभिन्‍न उपाय रच्छ। (प्रका. १२:१७) हामीले फाल्तु कुरामा समय खेर फालोस्‌ वा हामीबीच फूट होस्‌ भन्‍ने सैतान चाहन्छ। सैतानले त्यसलाई मनपर्ने काम गराउन के-कस्तो कुरा चलाउँछ, त्यसबारे पावलले बताएका छन्‌। पावलका समयका विधवाहरू ‘काम नगरी खाली हात बस्ने र घर-घर चाहर्दै हिंड्‌ने’ खालका थिए भनी पावलले बताए। ती विधवाहरू आफ्नो साथीको घर-घर चाहर्दै हिंड्‌थे र बकबास कुराहरू गर्थे। तिनीहरूले जस्तै नगर्न हामी पनि होसियार हुनुपर्छ। उदाहरणको लागि, हामी अनावश्‍यक वा झूटा कुराहरू भएको सामग्रीहरू पढ्‌ने अनि त्यस्तै खालका इमेल तथा एस एम एस अरूलाई पठाउने, त्यसबारे साथीभाइसित टेलिफोनमा वा भेटेरै गफ चुट्‌ने गर्छौं होला। यसो गरेर हामीले आफ्नो अनि अरूको अमूल्य समय बर्बाद गरिरहेका हुनेछौं। पावलले तिनका समयका विधवाहरूले ‘कुरा ओसार्थे’ भनेर पनि बताए। कुरा ओसार्ने मान्छेले अरूको बारेमा नराम्रो कुरा पनि गर्छ। कुरा ओसार्नु खतरनाक हुन्छ किनकि यो अरूको निन्दा गर्ने वा अरूको विषयमा झूटो कुरा गर्ने हदसम्म पुग्न सक्छ। यस्तो झूटो कुराले अक्सर झगडा उत्पन्‍न गराउँछ। (हितो. २६:२०) अरूको बदनाम गर्ने व्यक्‍तिहरूले चालै नपाई सैतान अर्थात्‌ दियाबलको अनुकरण गरिरहेका हुन्छन्‌।d साथै, ती विधवाहरू “अरूको कुरामा हात हाल्ने” गर्थे भनेर पनि पावलले बताए। तिनीहरू अरूको निजी मामिलामा टिकाटिप्पणी गर्थे। वास्तवमा यसो गर्ने अधिकार कसैसित पनि छैन। यस्ता खराब आनीबानीले हामीलाई परमेश्‍वरले दिनुभएको सबैभन्दा महत्त्वपूर्ण काम अर्थात्‌ राज्यको प्रचार गर्ने कामदेखि अलमल्याउन सक्छ। हामीले प्रचार गर्न छोड्यौं भने सैतानको पछि लाग्न थालिरहेका हुन्छौं। अनि हामी सैतानको पक्षमा छौं भने स्वतः यहोवाको विपक्षमा हुन्छौं। कसको पक्ष लिने हो हामीले रोज्नै पर्छ, तटस्थ रहन सकिंदैन।—मत्ती १२:३०.

१६. सैतानको पछि लाग्न चाहँदैनौं भने हामीले के गर्नुपर्छ?

१६ बाइबलले भनेको कुरामा ध्यान दियौं भने हामी सैतानको पछि लाग्नेछैनौं। पावलले दिएका केही बुद्धिमानी सल्लाहहरू अब हामी विचार गरौं। “प्रभुको काममा सधैं व्यस्त भइरहो” भनेर तिनी बताउँछन्‌। (१ कोरि. १५:५८) यहोवाको काममा व्यस्त भयौं भने हामीसित फाल्तु कुराको लागि समय हुनेछैन, जुन कुराहरू खतरनाक पनि हुन सक्छन्‌। (मत्ती ६:३३) पावलले “अरूको उत्थान गर्ने असल वचन” बोल्न पनि सल्लाह दिए। (एफि. ४:२९) कुरा नओसार्नुहोस्‌ र त्यसो गर्ने व्यक्‍तिहरूसित सङ्‌गत पनि नगर्नुहोस्‌।e सँगी ख्रीष्टियनहरूलाई आदर र भरोसा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले सधैं तिनीहरूबारे असल कुरा गर्नुहुनेछ। हाम्रो लक्ष्य के हुनुपर्छ, त्यसबारे पनि पावलले बताए। तिनले भने: “अरूको कुरामा हात नहाल्ने . . . लक्ष्य राख।” (१ थिस्स. ४:११) अरूको ख्याल राख्नुहुन्छ भनेर देखाउनुहोस्‌ तर आदरणीय तरिकामा। कतिपय कुराहरू तिनीहरू हामीलाई बताउन चाहँदैनन्‌ होला वा तिनीहरू आफ्नो कुरा अरूले थाह नपाऊन्‌ भन्‍ने चाहन्छन्‌ होला। तिनीहरू आफैले गर्नुपर्ने निर्णय हामीले गरिदिनु हुँदैन भनेर पनि याद गर्नुपर्छ।—गला. ६:५.

१७. (क) पछि लाग्न नहुने कुराबारे यहोवाले हामीलाई किन चेतावनी दिनुहुन्छ? (ख) हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

१७ पछि लाग्न नहुने कुराबारे यहोवाले सुस्पष्ट चेतावनी दिनुभएकोमा हामी कत्ति खुसी छौं! यो लेख र अघिल्लो लेखमा हामीले जे-जति चेतावनीबारे छलफल गऱ्‍यौं ती सबै उहाँले प्रेमको कारण दिनुभएको हो भनेर हामीले बिर्सनु हुँदैन। सैतानले हामीलाई ठगेको र हामीले दुःख पाएको उहाँ चाहनुहुन्‍न। यहोवाले हामीलाई देखाउनुहुने बाटो अप्ठ्यारो त छ, तर अनन्त जीवनमा पुऱ्‍याउने एक मात्र बाटो यही नै हो! (मत्ती ७:१४) यहोवाको यो आवाज सुन्‍ने हाम्रो सङ्‌कल्प कहिल्यै कमजोर नहोस्‌: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।”—यशै. ३०:२१.

[फुटनोट]

a साँचो उपासनाबाट पर हट्‌नु, तल खस्कनु, त्यसलाई छोडेर अर्को धर्ममा लाग्नु, साँचो उपासनाको विरोध गर्नु वा त्यसलाई त्याग्नु धर्मत्याग हो।

b The International Standard Bible Encyclopaedia

c झूटा कथाहरूले भरिएको तोबिट अथवा तोबियास नाम गरेको किताब बाइबलको एउटा भाग हो भनी कोही-कोही ठान्छन्‌। पावलको समयताका पनि मानिसहरूलाई यी कथाहरूबारे थाह थियो। यी कथाहरू ईसापूर्व तेस्रो शताब्दीमा लेखिएका हुन्‌। यो किताब झूटो विश्‍वास अनि जादुगरीका कथाहरूले भरिभराउ छ। यो किताबले हुनै नसक्ने कुराहरूलाई पनि सत्यजस्तै गरी बताउँछ।—धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी), खण्ड १, पृष्ठ १२२ हेर्नुहोस्‌।

d “दियाबल” भनी अनुवाद गरिएको ग्रीक शब्द दियाबोलोस -ले “हानि पुऱ्‍याउने मनसायले अरूको विषयमा झूटा कुरा बोल्ने व्यक्‍तिलाई” बुझाउँछ। यो सैतानलाई दिइएको अर्को नाम हो किनकि सबैभन्दा सुरुमा झूट बोल्ने त्यही हो।—यूह. ८:४४; प्रका. १२:९, १०.

e “हावामा छरिएको प्वाँख” शीर्षकको पेटी हेर्नुहोस्‌।

तपाईंको के जवाफ छ?

यी बाइबल पदहरूमा दिइएका चेतावनीहरू तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

• २ पत्रुस २:१-३

• १ तिमोथी १:३, ४

• १ तिमोथी ५:११-१५

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

हावामा छरिएको प्वाँख

अरूको कुरा काट्‌दा परिणाम कस्तो हुन सक्छ भन्‍ने विषयमा एउटा पुरानो यहूदी कथा यस्तो छ:

एउटा गाउँमा एक जना बुद्धिमान्‌ मानिस बस्थ्यो। त्यही गाउँमा बस्ने अर्को एक जनाले उसको बारेमा नराम्रो कुरा फैलायो। तर केही समयपछि झूटो कुरा फैलाउने त्यो मान्छेले आफ्नो गल्ती महसुस गऱ्‍यो र बुद्धिमान्‌ मानिससित क्षमा माग्यो। उसले भन्यो: “मैले भुल गरें। मलाई माफ गर्नुहोस्‌, बरु तपाईं जे भन्‍नुहुन्छ म त्यही गर्न तयार छु।” बुद्धिमान्‌ मानिसले उसलाई यस्तो जवाफ दियो: “त्यसो भए प्वाँखले बनेको एउटा सिरानी लेऊ अनि त्यसलाई च्यात। त्यसपछि प्वाँख हावामा छर्देऊ।” यो सुनेर त्यो मान्छे छक्क पऱ्‍यो, तैपनि उसले त्यसै गऱ्‍यो र बुद्धिमान्‌ मानिसकहाँ फर्केर गयो।

त्यसपछि उसले सोध्यो: “अब मैले माफी पाएँ?”

बुद्धिमान्‌ मानिसले भन्यो: “पहिले तिमीले छरेको प्वाँख एउटा पनि नछुटाई बटुलेर ल्याऊ।”

“कसरी बटुल्ने? हावाले कता-कता पुऱ्‍याइसक्यो होला!” उसले जवाफ दियो।

बुद्धिमान्‌ मानिसले भन्यो: “हो! जसरी प्वाँखहरू यत्रतत्र छरिए त्यसरी नै तिमीले बोलेको झूट पनि धेरै जनाको कानमा पुगिसकेको छ। त्यसैले त्यसको असर मेटाउन सकिंदैन।”

यो कथाको सार छर्लङ्‌गै छ। बन्दुकको गोली र मुखको बोली एउटै हो। त्यसले पुऱ्‍याएको क्षतिलाई सुल्ट्‌याउन सकिंदैन। त्यसैले अरूको बारेमा नराम्रो कुरा गर्नुअघि हाम्रो बोली हावामा छरिएको प्वाँखजस्तै हो भनेर सम्झनु बेस हुन्छ।

[पृष्ठ १६-मा भएको चित्र]

कसै-कसैले धर्मत्यागीहरूलाई कसरी आफ्नो घरमा निम्तो दिन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने