-
त्यो कुख्यात वेश्याको इन्साफप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
अध्याय ३३
त्यो कुख्यात वेश्याको इन्साफ
दर्शन ११—प्रकाश १७:१-१८.
विषय: महान बेबिलोन चहकिलो रातो रंगको जानवरमाथि सवार छ जसले अन्ततः उसैमाथि आक्रमण गरेर उसलाई खत्तम पार्नेछ
पूर्ति समयावधि: १९१९-देखि महा-सङ्कष्टसम्म
१. सात स्वर्गदूतहरूमध्ये एक जनाले यूहन्नालाई के प्रकट गर्छन्?
यहोवाको धार्मिक क्रोधका सात कचौराहरू सम्पूर्णतः पोखिनै पर्छ! आरमागेडोनको अन्तिम युद्धतर्फ लैजाने घटनाहरू बित्दै जाँदा महान बेबिलोनमाथि आइ पर्ने विपत्तिहरूलाई चित्रित गर्न छैटौं स्वर्गदूतले आफ्नो कचौरा प्राचीन बेबिलोन भएको स्थलमा खन्याइ दिए। (प्रकाश १६:१, १२, १६) सम्भवतः यिनै स्वर्गदूतले यहोवाको न्यायकार्यान्वयन किन र कसरी हुन्छ, सो प्रकट गर्नेछन्। यूहन्नाले अब जे देख्छन् र सुन्छन्, तीबाट उनी छक्क परेर स्तब्ध हुन्छन्: “ती सात कचौरा लिने सात दूतहरूमध्ये एउटाले यसो भनेर मसँग कुरा गरे, ‘यता आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्ने त्यस महा-वेश्यामाथि भएको इन्साफ देखाउनेछु। जससँग पृथ्वीका राजाहरूले व्यभिचार गरे, र पृथ्वीमा रहनेहरू त्यसको व्यभिचारको मद्यले मात्तिएका थिए।’ ”—प्रकाश १७:१, २.
२. त्यो “महा वेश्या” (क) प्राचीन रोम होइन (ख) ठूलो व्यापार होइन तर (ग) एउटा धार्मिक समूह हो भनेर कुन कुराले प्रमाणित गर्छ?
२ “त्यस महा-वेश्या!” यति अपमानजनक उपाधि किन? ऊ को हो? कसैकसैले यस प्रतीकात्मक वेश्यालाई प्राचीन रोम भनी ठानेका छन्। तर रोम एउटा राजनैतिक शक्ति थियो। साथै, यस वेश्याले पृथ्वीका राजाहरूसित व्यभिचार गर्छे। स्वभाविकतः ती राजाहरूमा रोमका राजाहरू पनि सम्मिलित छन्। साथै, यस वेश्याको विनाशपछि “पृथ्वीका राजाहरूले” ऊ खतम भएकोमा विलाप गर्नेछन्। अतः ऊ कुनै राजनैतिक शक्ति हुनै सक्तैन। (प्रकाश १८:९, १०) यसबाहेक उसको लागि संसारका व्यापारीहरू पनि विलौना गर्दछन्। यसैकारण उसले व्यापारिक संसारलाई पनि चित्रित गरेको हुन सक्तैन। (प्रकाश १८:१५, १६) तथापि, उसको ‘जादूगरीले सारा जाति ठगिएका’ थिए भन्ने कुरा हामी पढ्छौं। (प्रकाश १८:२३) अतः स्पष्टतः त्यो महा वेश्या एउटा विश्वव्यापी धार्मिक समूह हुनुपर्छ।
३. (क) त्यो महा वेश्या किन रोमन क्याथोलिक चर्च अथवा सम्पूर्ण मसीहीजगत मात्र हुन सक्तैन? (ख) मसीहीजगतका सम्प्रदायहरू लगायत धेरै जसो पूर्वीय धर्महरूमा कुन बेबिलोनी धर्मसिद्धान्तहरू पाइन्छन्? (ग) मसीहीजगतका धेरै धर्मशिक्षाहरू, रीतिथितिहरू र चलनहरूको सुरुआतबारे रोमन क्याथोलिक कार्डिनल जॅन हेन्री न्युम्यानले के स्वीकारे? (फुटनोट हेर्नुहोस्।)
३ कुन धार्मिक समूह? कसैकसैले भने झैं के ऊ रोमन क्याथोलिक चर्च हो? अथवा के ऊ पूरै मसीहीजगत हो? होइन। जातिजातिलाई ठग्न सक्नका लागि ऊ उक्त समूहहरूभन्दा अझ धेरै नै विशाल हुनुपर्छ। वास्तवमा ऊ झूटो धर्मको विश्व साम्राज्य हो। तर उसको सुरुआत बेबिलोनका धार्मिक रहस्यमय शिक्षाहरूबीच भएको थियो। नभन्दै बेबिलोनी शिक्षा र रीतिथितिहरू आज विश्वभरिका धर्महरूमा छ्यासछ्यासती देख्न सकिन्छ। उदाहरणका लागि, मसीहीजगतका सम्प्रदायहरू लगायत प्रायः सबै नै पूर्वीय धर्महरूमा मानवप्राणको अमरत्व, सन्ताप भोग्ने नरक र देवताहरूको त्रि-एकतामा विश्वास गरिन्छ। बेबिलोनको प्राचीन शहरमा करीब ४,००० वर्षअघि जन्मेको झूटो धर्म आज त्यो आधुनिक राक्षस हुन गएको छ जसलाई स्वभाविकतः महान बेबिलोन भनिन्छ।a तथापि, उसलाई “महा वेश्या” भन्ने घृणास्पद उपाधि किन दिइएको?
४. (क) प्राचीन इस्राएलले कुन कुन ढङ्गमा आत्मिक व्यभिचार गऱ्यो? (ख) महान बेबिलोनले कुन विशेष ढङ्गमा व्यभिचार गरेको छ?
४ नबुकदनेसरको पालोमा बेबिलोन (अथवा बाबेल जसको अर्थ हो “गोलमाल”) आफ्नो शक्तिको शिखरमा पुगेको थियो। त्यो धर्म र राजनीति दुवै मिलेको एउटा राष्ट्र थियो। त्यहाँ हजारभन्दा थुप्रै मन्दिर र देवस्थलहरू थिए। त्यसका पूजारीहरू अति नै शक्तिशाली थिए। तर बेबिलोन एउटा विश्व-शक्तिको रूपमा नरहेको धेरै समय भइसक्यो। तापनि महान बेबिलोनको धर्म चाहिं आज यथावत छ। ऊ प्राचीन बेबिलोनले झैं अझ पनि राजनैतिक गतिविधिमा हात हाल्ने र त्यसलाई आफ्नो वशमा ल्याउने प्रयास गरिरहन्छ। तर के परमेश्वरलाई धर्म यसरी राजनीतिमा मुछिएको मन पर्छ र? इस्राएली जाति झूटो धर्मसित मुछिंदा तथा यहोवामाथि भरोसा राख्नुको सट्टा उसले अन्यजातिहरूसित सन्धि गर्दा उसमाथि वेश्यावृत्तिको आरोप लगाइएको थियो। (यर्मिया ३:६, ८, ९; इजकिएल १६:२८-३०) यस्तैप्रकार महान बेबिलोनले पनि व्यभिचार गर्छ। उसले पृथ्वीका शासनारूढ राजाहरूमाथि अख्तियार चलाउन तथा प्रभुत्व जमाउन आफूलाई जे ठीक लाग्छ सोही गर्दै आएको छ।—१ तिमोथी ४:१.
५. (क) धार्मिक पादरीहरू आज कुन लोकप्रियताको आनन्द उठाउँछन्? (ख) सांसारिक ख्यातिको अभिलाषा येशू ख्रीष्टका शब्दहरूको किन ठीक विपरीत छ?
५ उच्च सरकारी ओहदा पाउनका लागि आज धर्मगुरुहरूले अक्सर अभियानहरू चलाउने गर्छन्। कुनै कुनै देशहरूमा त तिनीहरूले शासन चलाउनमा समेत भाग लिन्छन्। मन्त्रीमण्डलको सदस्य बन्छन्। सन् १९८८-मा दुइटा सुप्रसिद्ध प्रोटेस्टेन्ट पादरीहरूले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि चुनाव लडे। महान बेबिलोनका अगुवाहरू लोकप्रसिद्ध हुन साह्रै रुचाउँछन्; गण्यमान्य राजनैतिक नेताहरूसित तिनीहरूले मेलजोल राखेका फोटोहरू पनि अक्सर अखबारहरूमा छापिन्छ। तर यसको ठीक विपरीत येशूले चाहिं राजनैतिक गतिविधिहरूमा भाग लिन पटक्कै चाहनु भएन। उहाँले आफ्ना अनुयायीहरूबारे पनि यसो भन्नु भयो: “जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।”—यूहन्ना ६:१५; १७:१६; मत्ती ४:८-१०; साथै, याकूब ४:४-पनि हेर्नुहोस्.
आधुनिक ‘वेश्यावृत्ति’
६, ७. (क) जर्मनीमा हिट्लरको नाजी पार्टी कसरी सत्तामा आयो? (ख) संसारमा आधिपत्य जमाउने हिट्लरको अभियानलाई भेटिकन र नाजी जर्मनीबीच गरिएको सन्धिले कसरी मदद दियो?
६ राजनीतिमा भाग लिएर त्यस महा वेश्याले मानिसजातिलाई यति कष्ट दिएको छ कि बयान गरेर साध्य छैन। उदाहरणका लागि, जर्मनीमा हिट्लरलाई सत्तामा ल्याउने केही तथ्यहरू विचार गर्नु होस्। ती यति घीनलाग्दा छन् कि आफ्नो वश चलेमा तिनलाई केहीले इतिहासका पुस्तकहरूबाट मेटाइनै दिने थिए। जर्मन संसदमा नाजी पार्टीको में १९२४-मा ३२ जना सदस्य थिए। तर ती घट्दै गएर में १९२८-सम्म त १२ जना सदस्य मात्र रह्यो। तथापि, १९३०-मा सारा संसार महामन्दीको चपेटमा पऱ्यो; यसको फायदा नाजीहरूले उठाइ हाले। जुलाई १९३२-को जर्मन चुनावमा ६०८ सीटहरूमध्ये २३० सीट तिनीहरूले जित्न सके। यसको थोरै समयपश्चात् पोपद्वारा नियुक्त नाइट, भूतपूर्व चान्सलर फ्रान्ज फॅन पापेन नाजीहरूलाई मदत दिन अघि बढे। इतिहासकारहरूअनुसार, फॅन पापेन एउटा नयाँ पवित्र रोमन साम्राज्यको परिकल्पना गर्थे। उनी छोटो अवधिसम्म चान्सलर रहँदा पूरै असफल भएका थिए। त्यसकारण उनी अब नाजीहरूद्वारा शक्ति हासिल गर्ने आशामा थिए। जनवरी १९३३-सम्म उनले ठूल-ठूलो उद्योगपतिहरूलाई हिटलरको सहयोग गर्न राजी तुल्याए। उनकै अनेक चालद्वारा जनवरी ३०, १९३३-मा हिटलर जर्मनीको चान्सलर हुन पुगे। फॅन पापेन आफै चाहिं उप-चान्सलर नियुक्त भए। उनलाई हिटलरले जर्मनीका क्याथोलिकहरूको समर्थन जित्ने काममा प्रयोग गरे। सत्तामा आएको दुई महिना पछि नै हिटलरले संसद भङ्ग गरे। विरोधी दलका हजारौं नेताहरूलाई यातना शिविरहरूमा पठाइ दिए। त्यसपछि सुरु भयो यहूदीहरूलाई दबाउने खुलेआम अभियान।
७ नाजीवादको बढ्दो शक्तिमा भेटिकनको चासो जुलाई २०, १९३३-मा प्रदर्शित भयो। कार्डिनल पचेलीले (जो पछि पोप पायस १२-औं भए) रोममा भेटिकन र नाजी जर्मनीबीच एउटा सन्धि गरे। सो सन्धिमा फॅन पापेन हिटलरको प्रतिनिधि थिए। उनलाई पचेलीले ग्रेन्ड क्रस अफ द अर्डर अफ पायस भन्ने पोपको ठूलो तक्माले आभूषित गरे।b यसबारे टिबर किव्सले आफ्नो सेटन इन टप ह्याट भन्ने पुस्तकमा यसो भन्छन्: “त्यो सन्धि हिटलरका लागि एउटा ठूलो विजय थियो। बाहिरी संसारबाट तिनले पाएको यो प्रथम समर्थन थियो। र त्यो पनि सबैभन्दा उच्च स्रोतबाट।” सन्धिअनुसार भेटिकनले जर्मनीको क्याथोलिक सेन्टर पार्टीलाई समर्थन गर्न छाडनु परेको थियो। यसबाट जर्मनीमा हिटलरको दलको “एकाधिपत्य” हुने थियो।c सन्धिको १४ औं दफामा यसो पनि भनिएको थियो: “आर्कबिशप, बिशप र त्यस्ता अन्य ओहदामा कसैलाई खटाउनअघि जर्मन राष्ट्रमण्डलबाट नियुक्त राज्यपालको स्वीकृति लिनु पर्छ। उनले पनि सामान्य राजनैतिक छानबिन गरेर कुनै आपत्तिजनक कारण नदेखिएमा आफ्नो अनुमति दिनेछन्।” संसारमाथि आधिपत्य जमाउने हिटलरको अभियानमा भेटिकनको समर्थन १९३३-को अन्तसम्म (यस साललाई पोप पायस ११-औं ले “पवित्र वर्ष” घोषित गरे) एउटा प्रमुख कारण हुन गएको थियो।
८, ९. (क) नाजी अत्याचारहरूप्रति भेटिकनका साथै क्याथोलिक चर्चले कस्तो प्रतिक्रिया व्यक्त गरे? (ख) दोस्रो विश्वयुद्धको सुरुआतमा जर्मनीका क्याथोलिक बिशपहरूले के वक्तव्य दिए? (ग) धर्म र राजनीतिबीचको सम्बन्धको परिणाम के भएको छ?
८ हुन त एकाध पादरी र ननहरूले हिटलरको क्रूरताको विरोध गरे र यसका लागि दुःख समेत भोगे। तर आमतवरमा भेटिकन, क्याथोलिक गिर्जा र तिनीहरूका पादरीहरूले यो नाजी अत्याचारलाई आफ्नो सक्रिय समर्थन अथवा मौन स्वीकृति दिए। तिनीहरूको विचारमा विश्वको बढ्दो साम्यवादलाई नाजीवादले नै रोक्न सक्थ्यो। अतः भेटिकनमा गजक्क बसेका पोप पायस बाह्रौंले यहूदीहरू, यहोवाका साक्षीहरू र अरूहरूसित गरिएको क्रूरतालाई सरासर चलिरहन दिए। तर पोप पौल दोस्रोले चाहिं मे १९८७-मा आफ्नो जर्मन भ्रमणको दौडान नाजीवादको विरोध गर्ने एक जना इमान्दार पादरीको बडो प्रशंसा गरे। कति हास्यास्पद! किनकि हिटलरको त्यो त्रासपूर्ण शासनकालभरि जर्मनीका बाँकी हजारौं हजार पादरीहरू सबै कहाँ थिए? यसको जवाफ जर्मनीका क्याथोलिक बिशपहरूले सेप्टेम्बर १९३९-मा दोस्रो विश्वयुद्ध सुरु हुनासाथै जम्मै चर्चहरूलाई पठाएको एउटा औपचारिक पत्रमा पाउन सकिन्छ। सो पत्रको केही भाग यसप्रकार छ: “यस निर्णायक घडीमा हाम्रो नेताप्रति आफ्नो कर्त्तव्य आज्ञाकारितापूर्वक पूरा गर्न हामी सबै क्याथोलिक सिपाहीहरूसित आग्रह गर्दछौं। उनीहरू आफ्नो सारा व्यक्तित्वलाई नै अर्पण गर्न तयार होउन्। ईश्वरले यस युद्धलाई महान सफलता प्रदान गरून् भनी उत्साहपूर्वक प्रार्थना गर्न हामी सबै विश्वासी जनहरूसित अनुरोध गर्छौं।”
९ यसप्रकारको क्याथोलिक कूटनीति, धर्मले बितेको ४,००० वर्षदेखि गर्दै आएको वेश्वावृत्तिको एउटा उदाहरण थियो। यसरी नै उसले आफ्नै शक्ति र फायदाका लागि राजनीतिलाई फुस्लाउँदै आएको छ। धर्म र राजनीतिको यस्तो सम्बन्धले युद्ध, सतावट र मानव सङ्कष्टलाई विस्तृत रूपमा बढावा दिएको छ। तर अब भने त्यो महा वेश्याको यहोवाले चाँडै नै नाश गर्नु हुनेछ। मानिसजातिका लागि यो कति आनन्दको खबर हुनेछ। त्यो न्याय चाँडै नै कार्यान्वयन होस्!
धेरै पानीहरूमा बसेको
१०. महान बेबिलोन आफ्नो सुरक्षाका लागि भर गर्ने “धेरै पानीहरू” के हुन् र तिनीहरूलाई आज के भइरहेछ?
१० प्राचीन बेबिलोन धेरै पानीहरूमा अर्थात् यूफ्रेटिस र अनेकौं कुलोहरूमाथि बसालिएको थियो। यी पानीहरूले उसलाई सुरक्षित राख्थ्यो। यी पानीहरू उसको धन कमाउने एउटा व्यापारिक स्रोत थियो। तर अचानक एकै रातमा ती पानीहरू जम्मै सुकी हाले। (यर्मिया ५०:३८; ५१:९, १२, १३) यस्तैप्रकार, महान बेबिलोन पनि आफूलाई सुरक्षित र धनसम्पन्न राख्न “धेरै पानीहरू”माथि भर गर्छ। यी प्रतीकात्मक पानीहरू भनेको “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू” हुन्। अर्थात् ती करोडौं मानिसहरू हुन् जसमाथि उसले प्रभुत्व जमाएको छ र जसबाट उसले भौतिक मदत लिएको छ। तर यी पानीहरू पनि अब सुक्तैछन्। तिनीहरूले मदत दिन छाडदैछन्।—प्रकाश १७:१५; तुलना गर्नुहोस् भजन १८:४; यशैया ८:७.
११. (क) प्राचीन बेबिलोनले कसरी ‘पृथ्वीमा रहनेहरूलाई बेहोश’ पारेको छ? (ख) महान बेबिलोनले कसरी ‘सारा पृथ्वीलाई’ ‘बेहोश’ पारेको छ?
११ यसबाहेक, प्राचीन बेबिलोनको तुलना “परमप्रभुको हातमा सारा पृथ्वीलाई मताउने सुनको कचौरा” सित गरिएको थियो। (यर्मिया ५१:७) प्राचीन बेबिलोनले छेउछाउका जातिहरूलाई यहोवाको क्रोधका अभिव्यक्तिहरू जबरजस्ती पिउन लगाउँथ्यो। उसले तिनीहरूमाथि सैनिक विजय हासिल गरेर तिनीहरूलाई मात्तिएका मानिसहरू जतिकै कमजोर तुल्याई दिन्थ्यो। ऊ यस मामिलामा यहोवाले प्रयोग गर्नु हुने एउटा माध्यम थियो। यस्तैप्रकार महान बेबिलोनले पनि अनेक विजय हासिल गरेको छ। यहाँसम्म कि उसले आफूलाई एउटा विश्व-साम्राज्य बनाएको छ। तर ऊ परमेश्वरले प्रयोग गर्नु हुने माध्यम चाहिं अवश्य होइन। बरु उसले त “पृथ्वीका राजाहरू”सित व्यभिचार गर्दै तिनीहरूकै सेवा गरेको छ। उसले आफ्ना झूटा शिक्षाहरू र क्रूर रीतिथितिहरूको प्रयोगद्वारा “पृथ्वीका बासिन्दाहरूलाई” मात्तिएका मानिसहरू झैं कमजोर र दाससरह तुल्याइदिएको छ। यसले गर्दा तिनीहरू सजिलैसित आफ्ना पार्थिव शासकहरूको वशमा परेका छन्।
१२. (क) दोस्रो विश्वयुद्धको दौडान महान बेबिलोनको एउटा भाग जापानमा भएको ठूलो रक्तपातका लागि कसरी जिम्मेवार भयो? (ख) जापानमा महान बेबिलोनलाई समर्थन गर्ने “पानीहरू” कसरी सुक्यो र यसको परिणाम के भएको छ?
१२ यसको एउटा ज्वलन्त उदाहरण शिन्टो धर्ममान्ने जापानमा देख्न सकिन्छ। त्यहाँका सम्राट अर्थात् सर्वोच्च शिन्टो देवताका लागि आफ्नो प्राण अर्पण गर्न जापानी सिपाहीले आफ्नो सर्वमहान सौभाग्य सम्झन्थ्यो। दोस्रो विश्व-युद्धको दौडान करीब १५,००,००० जापानी सिपाहीहरू लडाइँमा मरे; मानिसको सामु हार मान्नु तिनीहरूको विचारमा अपमानजनक थियो। तर आखिर जापान पराजित भयो। आफूलाई देवता ठान्ने दाबी परित्याग गर्न सम्राट हिरोहिटो बाध्य भए। महान बेबिलोनको शिन्टो धर्म मान्ने भागलाई टेवा दिने “पानी” निकै नै कम भयो। तर अफसोस, त्यस बेलासम्म शिन्टो धर्मको अनुमतिद्वारा प्रशान्त युद्धको रङ्गमञ्चमा बाल्टिनको बाल्टिन रगत बगी सकेको थियो! तर यसरी शिन्टो धर्मको प्रभाव कमजोर भएपछि हालसालै २,००,००० भन्दा बढी जापानीहरूले सार्वभौम सर्वसत्ताधारी प्रभु यहोवाका समर्पित र बप्तिस्मा प्राप्त सेवकहरू हुने मौका पाए। यिनीहरूमध्ये धेरै जना पहिले शिन्टो धर्मावलम्बीहरू थिए।
वेश्या जानवरमाथि सवार हुन्छे
१३. स्वर्गदूतले आत्मामा यूहन्नालाई उजाडस्थानमा लैजाँदा उनले त्यहाँ के छक्कपर्दो दृश्य देख्छन्?
१३ त्यो महा वेश्या र उसको भविष्यबारे अग्रिमवाणी अझ के भन्छ? यूहन्नाको विवरणअनुसार अब एउटा अझ सनसनीपूर्ण दृश्य सामने आउँछ: “अनि तिनले [स्वर्गदूतले] मलाई आत्मामा बोकेर एउटा वनभित्र लगे। औ मैले सातवटा शिर र दशवटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर भएको चहकिलो रातो रङ्गको जानवरमाथि बसेकी एउटी स्त्रीलाई देखें।”—प्रकाश १७:३.
१४. यूहन्नालाई उजाडस्थानमा लैजानु किन उपयुक्त छ?
१४ यूहन्ना उजाडस्थानमा किन लगिन्छन्? केही समयअघि प्राचीन बेबिलोनको विरुद्धमा गरिएको उद्घोषणालाई “समुद्र-किनारको उजाड-भूमिको विषयमा” गरिएको उद्घोषणा भनेर वर्णन गरिएको थियो। (यशैया २१:१, ९) यो उद्घोषणा एउटा चेताउनी थियो। वरिपरि आफूलाई सुरक्षित राख्ने पानी हुँदाहुँदै पनि अन्ततः प्राचीन बेबिलोन बन्जर उजाडस्थान बन्ने थियो। यसैअनुरूप, महान बेबिलोन पनि अन्तमा नीर्जिव र उजाड हुनेछ। अतः उसको भविष्य हेर्न यूहन्नालाई दर्शनद्वारा उजाडस्थानमा लैजानु उपयुक्त छ। (प्रकाश १८:१९, २२, २३) तथापि, त्यहाँका कुराहरू देखेर यूहन्ना छक्क पर्छन्। महा वेश्या एक्लो छैन! ऊ एउटा डरलाग्दो जङ्गली जनावरमाथि सवार छे!
१५. प्रकाश १३:१ र प्रकाश १७:३-को जङ्गली जनावरबीचका भिन्नताहरू के हुन्?
१५ यस जङ्गली जनावरको सात शिर र दश सीङ छ। के यो कतै त्यही जनावर त होइन जसलाई यूहन्नाले केही समयअघि देखेका थिए? किनकि त्यस जानवरको पनि सात शिर र दश सीङ छ। (प्रकाश १३:१) तर होइन, यी दुई बीच भिन्नताहरू पनि छन्। यो जङ्गली जनावर चहकिलो रातो रङ्गको छ। अघिल्लो जानवरले राजमुकुट पहिरेको थियो। तर यस जानवरको शिरमा राजमुकुट छैन। पहिलेको जानवरका सात शिरहरूमा मात्र ईश्वर-निन्दाका नाउँहरू थिए। यो जानवर भने “ईश्वर-निन्दाका नाउँहरूले भरिपूर” छ। तापनि यो नयाँ जानवर र पहिलेको जानवरबीच केही न केही सम्बन्ध हुनै पर्छ; यी दुई बीचका समानताहरू यति स्पष्ट छन् कि ती संयोग मात्र हुन सक्तैनन्।
१६. चहकिलो रातो रङ्गको जानवर वास्तवमा हो के र त्यसको उद्देश्यबारे के भनिएको छ?
१६ अतः यो नयाँ चहकिलो रातो रङ्गको जानवर के हो? यो ठीक पनि प्रथम जानवरको मूर्ति हुनुपर्छ जसलाई बनाउने आदेश थुमाको जस्तै दुई सीङ भएको एङ्गलो अमेरिकी जानवरले दिएको थियो। मूर्ति बनी सकेपछि दुई सीङ भएको जानवरलाई त्यस मूर्तिमा सास हाल्ने अनुमति प्रदान गरियो। (प्रकाश १३:१४, १५) यूहन्नाले अब सजीव र सास फेरिरहेको मूर्ति देख्छन्। यस मूर्तिले राष्ट्र संघलाई चित्रित गर्छ। यसलाई त्यो दुई सीङ भएको जनावरले १९२०-मा जीवन प्रदान गरेको थियो। यो संघ “सबै मानिसहरूलाई न्याय प्रदान गर्ने र युद्धको खतरालाई सधैंका लागि मेटाइ दिने मञ्च हुनेछ” भनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति श्री विल्सनले कल्पना गरेका थिए। दोस्रो विश्व-युद्धपश्चात् यसलाई फेरि संयुक्त राष्ट्र संघको रूपमा “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम” राख्ने उद्देश्यले पुनः जीवित पारिएको थियो।
१७. (क) चहकिलो रातो रङ्गको जनावर ईश्वरनिन्दाका नाउँहरूले किन भरपूर छ? (ख) रातो रङ्गको जानवरमाथि को सवार छ? (ग) राष्ट्र संघ र त्यसको उत्तराधिकारीसित कसरी बेबिलोनी धर्महरूले सुरुदेखि नै सम्बन्ध जोडेका छन्?
१७ यो लाक्षणिक जङ्गली जनावर किन ईश्वर-निन्दाका नाउँहरूले भरपूर छ? किनभने मानिसहरूले यो अन्तर्जातीय मूर्तिलाई परमेश्वरको राज्यलाई दिनु पर्ने सम्मान दिएका छन्। जुन कुरा परमेश्वरको राज्यद्वारा मात्र हुन सक्छ, सो कुरा तिनीहरू यस मूर्तिद्वारा हुनेछ भन्छन्। (दानियल २:४४; मत्ती १२:१८, २१) तर यूहन्नाको दर्शनको सबैभन्दा अचम्मको कुरा के छ भने यो चहकिलो रातो रङ्गको जानवरमाथि महान बेबिलोन स्वयं सवार छ। भविष्यवाणीलाई सत्य साबित गर्दै बेबिलोनी धर्म, विशेषगरी मसीहीजगतले राष्ट्र संघ तथा त्यसको उत्तराधिकारीसित सम्बन्ध जोडेको छ। नेशनल काउन्सिल अफ द चर्चेज अफ क्राइस्ट इन अमेरिका भन्ने सङ्गठनले डिसेम्बर १८, १९१८-मै एउटा प्रस्तावना पारित गरेको थियो। सो प्रस्तावनाको केही भाग यसप्रकार थियो: “यो संघ कुनै साधारण राजनैतिक प्रयोग होइन। यो त परमेश्वरको राज्यको राजनैतिक अभिव्यक्ति हो। . . . यसप्रति चर्चले शुभेच्छा प्रकट गर्छ। यो शुभेच्छा बिना राष्ट्र संघ टिक्नै सक्तैन। . . . राष्ट्र संघ येशूको सुसुमाचारमै आधारित छ। येशूको सुसमाचारजस्तै यस संघको उद्देश्य पनि ‘पृथ्वीमा शान्ति र मानिसहरूको कल्याण हो।’ ”
१८. मसीहीजगतका पादरीहरूले राष्ट्र संघका लागि कसरी आफ्नो समर्थन जनाए?
१८ जनवरी २, १९१९-मा सान फ्रान्सिस्को क्रोनिकल-को मुखपृष्ठमा यो शीर्षक छापिएको थियो: “विल्सनको राष्ट्र संघलाई स्वीकृति दिनु होस् भनी पोप अनुरोध गर्छन्।” मुख्य सम्प्रदायहरूका १४,४५० पादरीहरूले हस्ताक्षर गरेको दरखास्त अक्टोबर १६, १९१९-को दिन संयुक्त राज्यको संसदमा प्रस्तुत गरियो। उक्त दरखास्तद्वारा “राष्ट्र संघलाई समाविष्ट गर्दै पेरिसको शान्ति सन्धिलाई अनुमोदन दिने” अनुरोध संसदसित गरियो। तथापि संयुक्त राज्य अमेरिकाको संसदले सो सन्धिलाई अनुमोदन दिन सकेन। तापनि मसीहीजगतका पादरीहरूले चाहिं राष्ट्र संघको पक्षमा अभियान चलाइ नै राखे। अन्ततः संघको उद्घाटन कसरी गरियो? नोभेम्बर १५, १९२०-का दिन स्वीजरलैण्डबाट पठाइएको समाचार-पत्रमा यसो भनिएको थियो: “आज बिहान ११ बजे, जेनेवाका सबै चर्चहरूमा घण्टी बजाएर राष्ट्र संघको प्रथम बैठकको घोषणा गरियो।”
१९. चहकिलो रातो रङ्गको जानवर देखापर्दा यूहन्नावर्गले के कदम चाले?
१९ मसीही राज्यको आगमनलाई उत्सुकतासाथ स्वीकार गर्ने पृथ्वीको एक मात्र समूह यूहन्नावर्ग थियो। के यस वर्गले पनि मसीहीजगतसित मिलेर त्यो चहकिलो रातो जनावरको अभिनन्दन गऱ्यो? पटक्कै गरेन। बरु आइतवार, सेप्टेम्बर ७, १९१९-को दिन, सिडर प्वाँइन्ट ओहायोमा आयोजित यहोवाका जनहरूको सम्मेलनमा “शोकाकुल मानवजातिका लागि आशा” भन्ने भाषण प्रस्तुत गरियो। त्यसको भोलिपल्ट, सेन्डस्की स्टार जर्नल-ले उक्त भाषणबारे रिपोर्ट दिएको थियो। यस रिपोर्टअनुसार जे. एफ. रदरफर्डले करीब ७,०००-मानिसहरूलाई सम्बोधन गर्दै भनेका थिए कि “प्रभुको क्रोध यस संघमाथि निश्चय नै पोखिनेछ . . . किनभने परमेश्वरका प्रतिनिधि हुने दाबी गर्ने दुवै क्याथोलिक र प्रोटेस्टेन्ट पादरीहरूले उहाँको योजनालाई त्यागेर राष्ट्र संघलाई अनुमोदन दिएका छन्। तिनीहरूले यस संघलाई नै पृथ्वीमा ख्रीष्टको राज्यको राजनैतिक अभिव्यक्तिको रूपमा स्वीकारेका छन्।”
२०. पादरीहरूले राष्ट्र संघलाई “परमेश्वरको राज्यको राजनैतिक अभिव्यक्ति”को रूपमा स्वागत गर्नु किन ईश्वर-निन्दा गर्नु सरह थियो?
२० नभन्दै राष्ट्र संघ नराम्रोगरी विफल भयो। ती पादरीहरूले बुझ्नु थियो कि यस्ता मानवनिर्मित संगठनहरू परमेश्वरको राज्यको पार्थिव भाग हुनै सक्तैन। यस्तो दाबी गर्नु कस्तो ईश्वर निन्दा थियो! यस्तो दाबीले स्वयं परमेश्वरलाई त्यो संघ जस्तो ठूलो भद्रगोलको सहभागी बनाउन खोज्यो। जबकि परमेश्वरको सबै “काम सिद्ध छ।” शान्ति स्थापित गर्ने तथा स्वर्गमा झैं पृथ्वीमा पनि आफ्नो इच्छा पूरा गर्ने ईश्वरीय माध्यम यी झगडालु र प्रायः नास्तिक राजनीतिज्ञहरूको मिश्रण हुन सक्तैन। ईश्वरीय माध्यम त यहोवाको स्वर्गीय राज्य हो जसलाई ख्रीष्टको हातमा सुम्पिएको छ।—व्यवस्था ३२:४; मत्ती ६:१०.
२१. महा वेश्याले संघको उत्तराधिकारी संयुक्त राष्ट्र संघलाई पनि समर्थन र प्रशंसा गर्छ भनेर कसरी प्रदर्शित हुन्छ?
२१ तर पछि संघको ठाउँमा आउने संयुक्त राष्ट्र संघ नि? यसमाथि पनि सुरुदेखि नै महा वेश्या सवार छे। संघ र वेश्या स्पष्टतः सम्बन्धित छन्। त्यसको भविष्यलाई पनि महा वेश्याले नै डोऱ्याउने प्रयास गर्दै छे। उदाहरणका लागि, १९६५-को जून महिनामा त्यसको २०-औं वार्षिकोत्सवका लागि रोमन क्याथोलिक चर्च र इस्टर्न अर्थोडक्स चर्चका साथै प्रोटेस्टेन्ट, यहूदी, हिन्दू, बौद्ध र इस्लाम धर्म मान्ने करीब २ करोड मानिसहरूका प्रतिनिधिहरू सानफ्रेन्सिस्कोमा भेला भएर संयुक्त राष्ट्र संघका लागि समर्थन र प्रशंसा व्यक्त गरे। अक्टोबर १९६५-मा पोप पौल छैटौंले पनि संयुक्त राष्ट्र संघको भ्रमण गर्दा त्यसलाई “सबै अन्तर्राष्ट्रिय मानव सङ्गठनहरू भन्दा महान”-घोषित गरे। उनले यसो पनि भने: “पृथ्वीका मानिसहरूले संयुक्त राष्ट्रलाई नै एकता र शान्तिको एक मात्र आशा मानेका छन्।” यस्तैप्रकार अक्टोबर १९७९-मा पोप जॅन पौल दोस्रोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्दै यो विचार व्यक्त गरे: “संयुक्त राष्ट्र सधैं नै शान्ति र न्यायको सर्वश्रेष्ठ मञ्च रहिरहनेछ भनी म आशा गर्दछु।” यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने पोपले आफ्नो भाषणमा येशू ख्रीष्ट अथवा परमेश्वरको राज्यलाई खासै महत्त्व दिएनन्। द न्यु योर्क टाइम्स-को रिपोर्टअनुसार सेप्टेम्बर १९८७-मा संयुक्त राज्य अमेरिकाको आफ्नो भ्रमणको दौडान “जॅन पौलले धेरै बेरसम्म ‘नयाँ विश्वव्यापी एकता’ कायम गर्नमा संयुक्त राष्ट्र संघको भूमिकाबारे चर्चा गरे।”
एउटा नाउँ, एउटा रहस्य
२२. (क) महा वेश्याले कस्तो जानवरमाथि सवार हुन रुचाएकी छे? (ख) प्रतीकात्मक वेश्या महान बेबिलोनको वर्णन यूहन्नाले कसरी गर्छन्?
२२ त्यो महा वेश्या सवार भएको जनावर कति खतरनाक छ, सो प्रेरित यूहन्नाले अब चाँडै थाह पाउनेछन्। तर पहिले उनको ध्यान स्वयं महान बेबिलोन तर्फ खिंचिन्छ। ऊ गरगहनाले झकमक्क छे। तर कस्तो घृणास्पद! “त्यो स्त्रीले बैजनी र चहकिलो रातो लुगा पहिरेकी, औ सुन, रत्न र मोतीहरूले सिङारिएकी, औ घृणित कुरा, अर्थात् त्यसको व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी थिई। औ त्यसको निधारमा एउटा यस्तो नाउँ लेखिएको थियो, ‘रहस्य, पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान बेबिलोन!’ अनि मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूका रगत पिएर मात्तिएकी देखें।’ ”—प्रकाश १७:४-६क.
२३. महान बेबिलोनको पूरा नाउँ र त्यसको महत्त्व के हो?
२३ प्राचीन रोमको चलनअनुसार, यो वेश्याको नाउँ उसको निधारमा लेखिएको छ।d त्यो नाउँ निकै लामो छ: “महान बेबिलोन, पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा।” त्यो नाउँ एउटा “रहस्य” हो। त्यसको गुप्त अर्थ छ। तर परमेश्वरको समयमा त्यो रहस्य खुल्नेछ। वास्तवमा यहोवाका सेवकहरूलाई त्यो वर्णनात्मक नाउँको पूरा महत्त्व बुझ्ने सहायता दिन स्वर्गदूतले यूहन्नालाई यथेष्ट जानकारी दिन्छन्। महान बेबिलोन सम्पूर्ण झूटो धर्म हो भनी हामीले बुझेका छौं। ऊ “वेश्याहरूकी आमा” हो। किनभने मसीही धर्मका विभिन्न सम्प्रदायहरू लगायत संसारका जम्मै झूटा धर्महरू उसकी छोरीहरू जस्तै हुन्। तिनीहरू जम्मैले उसैको आत्मिक वेश्यावृत्ति अनुसरण गर्छन्। ऊ “घृणित कुराहरूकी” आमा पनि हो। किनकि मूर्तिपूजा, प्रेतवाद, जोखाना हेर्ने चलन, ज्योतिष विद्या, हस्तरेखा शास्त्र, मानव बलिदान, मन्दिरमा गरिने वेश्यावृत्ति, झूटा देवताहरूको सम्मानमा मतवालापन र यस्ता अन्य घृणित रीतिथितिहरूलाई उसैले जन्म दिएको छ।
२४. महान बेबिलोनले “बैजनी र चहकिलो रातो रङ्ग”-को लुगा र “सुन, रत्न र मोती” पहिरनु किन उचित छ?
२४ महान बेबिलोनले “बैजनी र चहकिलो रातो” रङ्गको कपडा पहिरेको छ। यी दुवै शाही रङ्ग हुन्। ऊ “सुन, रत्न र मोतीहरूले” पनि सिङ्गारिएको छ। कति उपयुक्त! यस संसारका धर्महरूले थुपारेका भव्य भवनहरू, मूर्तिहरू, नक्साहरू, अन्यप्रकारका धार्मिक सरसामान र हिसाब गरी नसक्ने जग्गाजमीन र पैसाबारे एकछिन गौर गर्नुहोस्! चाहे ती भेटिकनको होस्, वा संयुक्त राज्य अमेरिकामा केन्द्रित धर्मप्रचारकहरूको टिभी साम्राज्यको होस् अथवा पूर्वीय देशहरूका सुन्दर सुन्दर गोम्बा र मन्दिरहरूकै किन नहोस्। हो, अचाक्ली धेरै नै धन-सम्पत्ति महान बेबिलोनले थुपारेको छ तथा कहिले काहिं गुमाएको पनि छ।
२५. (क) “व्यभिचारका अशुद्ध कुराहरूले भरिएको कचौरा” कुन कुराको प्रतीक हो? (ख) प्रतीकात्मक वेश्या कुन अर्थमा मात्तिएकी छे?
२५ अब हेर्नुहोस्, त्यस वेश्याको हातमा के छ। त्यो देखेर यूहन्ना निश्चय पनि दङ्ग परे होलान्। उसले आफ्नो “व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी” छे! यसै कचौरामा उसको “व्यभिचारको मद्य” छ जसबाट उसले सारा जातिहरूलाई पिउन लगाएकी छे। (प्रकाश १४:८; १७:४) त्यो कचौरा बाहिरबाट हेर्दा त शानदार छ। तर भित्रपट्टि चाहिं त्यो अशुद्ध र घृणित कुराहरूले भरिएको छ। (मत्ती २३:२५, २६ तुलना गर्नुहोस्।) त्यसमा ती जम्मै फोहोर रीतिथितिहरू र झूटहरू छन् जसको प्रयोग गर्दै यस महा वेश्याले जातिजातिहरूलाई भडकाएर आफ्नो वशमा पारेकी छे। योभन्दा अझ घीनलाग्दो कुरा चाहिं त्यो वेश्या स्वयं परमेश्वरका सेवकहरूको रगतले मात्तिएकी छे! केही समयपछि हामी पढ्नेछौं कि उसैमा “अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको” छ। (प्रकाश १८:२४) कति ठूलो रक्त दोष!
२६. महान बेबिलोन रक्तदोषी छ भन्ने प्रमाण के हो?
२६ बितेका शताब्दीहरूभरि झूटो धर्मको विश्व-साम्राज्यले रगतको सागर बगाएको छ। उदाहरणका लागि, मध्यकालीन जापानमा, क्योटोका मन्दिरहरू युद्धका गढहरूमा परिणत भए। योद्धा भिक्षुहरूले “बुद्धको पवित्र नाउँ जप्दै” आपसमा युद्ध गरे। सडकहरूमा रगतको खोला बग्यो। बीसौं शताब्दीमा पनि मसीहीजगतका पादरीहरू युद्ध गर्न आ-आफ्नो देशका सेनाहरूसित अघि बढे। तिनीहरूले एकअर्काको हत्या गरे। कमसेकम १० करोड मानिसहरूले आफ्नो ज्यान गुमाए। अक्टोबर १९८७-मा संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति निक्सनले यसो भनेका थिए: “इतिहासभरि सबैभन्दा बढी रक्तपात यो २०-औं शताब्दीमै भएको छ। यस शताब्दीका युद्धहरूमा जति जना मानिसहरू मारिए त्यति त यो शताब्दी सुरु हुनुभन्दा पहिले भएका जम्मै युद्धहरूमा पनि मारिएनन्।” यसमा संसारका धर्महरूले जुन भूमिका निभाएका छन्, त्यसका लागि परमेश्वरले तिनीहरूलाई दोषी ठान्नु हुन्छ; “निर्दोष रगत बगाउने हात”-लाई यहोवा घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६, १७) योभन्दाअघि यूहन्नाले वेदीबाट यसो भन्ने एउटा पुकार सुनेका थिए: “हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्न?” (प्रकाश ६:१०) यस प्रश्नको उत्तर दिने बेला आएपछि पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा महान बेबिलोन विशेष ढङ्गमा विथोलित हुनेछ।
-
-
एउटा डरलाग्दो रहस्यको समाधानप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
अध्याय ३४
एउटा डरलाग्दो रहस्यको समाधान
१. (क) त्यो महा वेश्या र उसको डरलाग्दो सवारी देखेर यूहन्नाले कस्तो प्रतिक्रिया व्यक्त गर्छन् र किन? (ख) भविष्यवाणीरूपी दर्शनलाई पूरा गर्ने घटनाहरू आज घट्दै जाँदा यूहन्नावर्गले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?
ती महा वेश्या र ऊ सवार भएकी डरलाग्दो जनावर देख्दा यूहन्नाले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्? उनी स्वयं भन्छन्: “त्यसलाई देखेर म ज्यादै अचम्म लागेर छक्क परें।” (प्रकाश १७:६ख) यो कुनै मानिसले कल्पनै गर्न नसक्ने दृश्य थियो! टाढा—अनकन्टार उजाड स्थानमा—एउटी छाडा वेश्या चहकिलो रातो रङ्गको जनावरमाथि बसेकी छे! (प्रकाश १७:३) यो भविष्यवाणीरूपी दर्शन पूरा भएको देखेर आज यूहन्नावर्ग ज्यादै चकित हुन्छ। यसलाई देख्न सकेमा संसारका मानिसहरू पनि ‘असम्भव!’ भन्दै कराउने थिए। संसारका शासकहरूको विचारमा पनि यो ‘सोच्नै नसक्ने कुरा!’ हुने थियो। तर यही दर्शन हाम्रो समयमा एउटा आश्चर्यमय वास्तविकतामा परिणत हुन्छ। यस दर्शनको पूर्तिमा परमेश्वरका जनहरूले विशेष भाग पनि लिइसकेका छन्। तिनीहरू विश्वस्त छन् कि यो भविष्यवाणी अब त्यसको विस्मयकर चरमोत्कर्षतर्फ अघि बढ्नेछ।
२. (क) यूहन्ना छक्क परेको देखेर स्वर्गदूतले उनलाई के भन्छन्? (ख) यूहन्नावर्गलाई कुन कुन कुरा कसरी प्रकट गरिएको छ?
२ यूहन्ना छक्क परेको स्वर्गदूतले पनि देख्छन्। “अनि” यूहन्ना भन्छन् “ती दूतले मलाई भनें, ‘तिमीले किन अचम्म मान्यौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दस सीङ भएको जनावरको रहस्य म तिमीलाई भन्नेछु।” (प्रकाश १७:७) आहा! स्वर्गदूतले अब रहस्य खोलिदिनेछन्! उनले तीन छक्क परेका यूहन्नालाई दर्शनका विभिन्न पक्षहरू र हुनै लागेका प्रभावकारी घटनाहरू बुझाउने छन्। यस्तै गरी आज पनि स्वर्गदूतीय निरीक्षण अन्तर्गत काम गर्ने सजग यूहन्नावर्गलाई यो भविष्यवाणीको समझ प्रदान गरिएको छ। आखिर “सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र?” हो, अर्थ खोल्ने काम परमेश्वरकै हातमा हुन्छ भनी विश्वासी यूसुफ झैं हामी पनि विश्वस्त छौं। (उत्पत्ति ४०:८; दानियल २:२९, ३०-सित तुलना गर्नुहोस्।) परमेश्वरका जनहरूमाथि नै विशेष ध्यान केन्द्रित गर्दै यहोवाले यस दर्शनको अर्थ र यसले तिनीहरूको जीवनमा के कस्तो प्रभाव पार्नेछ, सो बुझाउनु हुन्छ। (भजन २५:१४) ठीक समयमै उहाँले तिनीहरूलाई त्यस स्त्री र जङ्गली जनावरको रहस्य खोलिदिनु भएको छ।—भजन ३२:८.
३, ४. (क) एन. एच. नोरद्वारा १९४२-मा कुन जनभाषण दिइयो र यसबाट चहकिलो रातो रङ्गको जनावरलाई कसरी ठम्याउन सकियो? (ख) स्वर्गदूतले यूहन्नालाई भनेका कुन शब्दहरूको छलफल एन. एच. नोरले गरे?
३ दोस्रो विश्व-युद्ध जोडतोडसित चलेको बेलामा यहोवाका साक्षीहरूले संयुक्त राज्य अमेरिकामा न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलन १९४२-को सेप्टेम्बर १८ देखि २०-सम्म आयोजित गरे। मुख्य शहर क्लिवलैण्ड, ओहायोमा दिइएका भाषणहरू ५०-वटा अन्य सम्मेलन-शहरहरूमा पनि टलिफोनद्वारा सुनाउने व्यवस्था मिलाइएको थियो। यसले गर्दा जम्माजम्मी १,२९,६९९-व्यक्तिहरूले सुन्न सके। युद्धग्रस्त स्थितिले जहाँ सम्भव हुन्थ्यो, त्यहाँ सम्मेलनहरू आयोजित गर्दै सो कार्यक्रम संसारभरि दोहोराइयो। दोस्रो विश्वयुद्ध नै अन्ततः परमेश्वरको आरमागेडोनको युद्धमा परिणत हुनेछ भनी त्यतिखेर यहोवाका थुप्रै जनहरूले ठानेका थिए; त्यसैकारण त “पीस—क्यान इट लास्ट [शान्ति—के यो रहन सक्छ?] भन्ने आमभाषणको शीर्षकले धेरै जनामा जिज्ञासा जगायो। तर राष्ट्रहरूले शान्तिको ठीक विपरीत अनुभव गरिरहेको बेलामा वाच टावर सोसाइटीका नयाँ सभापति, एन. एच. नोर-ले शान्तिबारे भाषण दिने साहस किन गरे?a किनभने यूहन्नावर्गले भविष्यवाणीको वचनलाई “बढी उत्कट ध्यान” दिइरहेका थिए।—हिब्रू २:१; २ पत्रुस १:१९.
४ अतः “शान्ति—के यो रहन सक्छ?” भन्ने भाषणले भविष्यवाणीबारे अझ के ज्योति दिन सक्यो? प्रकाश १७:३-मा उल्लिखित चहकिलो रातो रङ्गको जनावर नै राष्ट्र संघ हो भनेर स्पष्टसित औंल्याउँदै एन. एच. नोरले त्यसको उपद्रवी जीवनकालको छलफल गरे। यो छलफल स्वर्गदूतले यूहन्नालाई भनेका यी शब्दहरूमा आधारित थियो: “तिमीले देखेको त्यो जनावर हुनलाई ता थियो, तर छैन, र सत्यानाशमा जानालाई अगाध खाँदबाट त्यो आउनलागेको छ।”—प्रकाश १७:८क.
५. (क) कुन अर्थमा “त्यो जनावर हुनलाई त थियो तर छैन”? (ख) “राष्ट्र संघ अगाध खाँद मै रहने छ र?” भन्ने प्रश्नको जवाफ एन. एच. नोरले कसरी दिए?
५ “तिमीले देखेको त्यो जङ्गली जनावर हुनलाई ता थियो।” हो, जनवरी १०, १९२०-देखि राष्ट्र संघको रूपमा त्यो थियो। त्यसमा ६३ राष्ट्रहरूले समय समयमा भाग लिने गर्थे। तर त्यसबाट पालैपालो गरी जापान, जर्मनी र इटाली पछि हटे र पहिलेको सोभियत संघलाई चाहिं स रा स बाट हटाइयो। सेप्टेम्बर १९३९-मा जर्मनीको नाजीवाद तानाशाहले दोस्रो विश्व-युद्ध सुरु गऱ्यो।b विश्वमा शान्ति कायम राख्न असमर्थ भएर त्यो संघ मानौं निष्क्रियताको अगाध खाँदमा खस्यो। सन् १९४२-सम्म त त्यो अतीतको कुरा भइसकेको थियो। यहोवाले पनि नता त्यो भन्दापछि न त्यो भन्दाअघि, तर ठीक त्यही सङ्कटकालीन घडीमै आफ्ना मानिसहरूलाई त्यस दर्शनको पूरा अर्थ खोलिदिनु भयो! न्यु वर्ल्ड थियोक्रेटिक सम्मेलनमा एन. एच. नोरले उक्त भाविष्यवाणीकै शब्द प्रयोग गर्दै भने कि “त्यो जनावर . . . छैन।” यसपछि उनले सोधे, “के यो संघ अब अगाध खाँदमै रहनेछ?” प्रकाश १७:८ उद्धृत गर्दै उनले स्वयं जवाफ दिए: “सांसारिक राष्ट्रहरूको यो संघ फेरि उठ्नेछ।” र त्यस्तै भयो पनि। यहोवाको भविष्यवाणीरूपी वचन सत्य प्रमाणित भयो!
अगाध खाँदबाट बाहिर निस्केको
६. (क) चहकिलो रातो रङ्गको जनावर अगाध खाँदबाट कहिले बाहिर निस्क्यो र कुन नयाँ नाउँ लिएर? (ख) संयुक्त राष्ट्र संघ वास्तवमा पुनःजागृत गराइएको चहकिलो रातो रङ्गको जनावर किन हो?
६ त्यो चहकिलो रातो रङ्गको जनावर अगाध-खाँदबाट साँच्चै नै बाहिर निस्क्यो। जून २६, १९४५-मा बडो धुमधामसाथ सानफ्रेनसिस्को, अमेरिकामा ५०-राष्ट्रहरूले संयुक्त राष्ट्र संघीय बडापत्रलाई आफ्नो स्वीकृति दिए। यस संघले “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा” कायम राख्नु थियो। राष्ट्र संघ र संयुक्त राष्ट्र संघबीच थुप्रै समानताहरू थिए। द वर्ल्ड बूक इनसायक्लोपिडिया भन्छ: “प्रथम विश्व-युद्ध पश्चात् सङ्गठित राष्ट्र संघ र संयुक्त राष्ट्र संघका केही पक्षहरू एकसमान छन्। . . . राष्ट्र संघ स्थापित गर्नमा सहयोग पुऱ्याउने थुप्रै राष्ट्रहरूले संयुक्त राष्ट्र संघको स्थापनामा पनि हात दिए। राष्ट्र संघझैं संयुक्त राष्ट्र संघ पनि राष्ट्रहरू बीच शान्ति कायम गर्न स्थापित गरिएको थियो। संयुक्त राष्ट्र संघका मुख्य अङ्गहरू प्रायः राष्ट्र संघका जस्तै छन्।” अतः, त्यही चहकिलो रातो रङ्गको जनावरको पुनःजागृत रूप स रा स हो। यसका झन्डै १९० सदस्य राष्ट्रहरू छन् जबकि राष्ट्र संघमा मात्र ६३ सदस्य राष्ट्रहरू थिए; राष्ट्र संघभन्दा संयुक्त राष्ट्र संघका जिम्मेवारीहरू पनि धेरै नै विस्तृत छन्।
७. (क) पृथ्वीका बासिन्दाहरूले पुनःजागृत रातो रङ्गको जनावरको प्रशंसा कसरी गरेका छन्? (ख) संयुक्त राष्ट्र संघले कुन लक्ष्य प्राप्त गर्न सकेको छैन र यससम्बन्धमा त्यहाँको महा सचिवले के भने?
७ सुरुसुरुमा त संयुक्त राष्ट्र संघमाथि धेरै नै आशा राखिएको थियो। यो पनि स्वर्गदूतकै यी शब्दहरूको पूर्तिअनुरूप थियो: “औ पृथ्वीमा रहने जसको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन, तिनीहरूले त्यो जनावर कसरी हुनालाई ता थियो, तर छैन,र पछि आउनेछ, सो देख्ता अचम्म मान्नेछन्।” (प्रकाश १७:८ख) न्यु योर्कको इस्ट रिवर स्थित शानदार मुख्य कार्यालयबाट सञ्चालित यो नयाँ र बृहत् मूर्तिको जयजयकार पृथ्वीका बासिन्दाहरूले गरेका छन्। तर शान्ति र सुरक्षा चाहिं संयुक्त राष्ट्र संघको हात पर्न सकेको छैन। बीसौं शताब्दीको प्रायजसो समय विश्व शान्तिलाई MAD [निश्चित पारस्परिक विनाश]-को खतराले मात्र थामेर राख्यो। हात हतियारको होडबाजी आकासिन लागेको छ। संयुक्त राष्ट्र संघको करीब ४० वर्षको प्रयासपछि तत्कालीन सेक्रेटेरी जेनरल, जाविएर पेरेज ड कुलियारले १९८५-मा यसो भन्दै विलाप गरे: “हामी अझ पनि कट्टरपन्थीहरूको युगमा बाँचेका छौं र कसो गर्नु पर्ने हो, हामीलाई थाह छैन।”
८, ९. (क) संयुक्त राष्ट्र संघले विश्व समस्याहरूको समाधान किन गर्न सक्तैन र परमेश्वरको हुकुमबमोजिम त्यसलाई चाँडै नै के हुनेछ? (ख) संयुक्त राष्ट्र संघका संस्थापकहरू र प्रशंसकहरूको नाउँ परमेश्वरको “जीवनको पुस्तकमा” किन लेखिने छैन? (ग) यहोवाको राज्यले सफलतापूर्वक के सम्पन्न गर्ने छ?
८ जवाफ संयुक्त राष्ट्र संघसित छैन। र किन छैन? किनभने सारा मानिसजातिको जीवन दाता स रा स को जीवनदाता हुनुहुन्न। संयुक्त राष्ट्र संघको जीवनकाल छोटो हुनेछ। त्यो “सत्यानाशमा जानेछ” भनी परमेश्वरबाट हुकुम भैसकेको छ। संयुक्त राष्ट्र संघका संस्थापक र प्रशंसकहरूको नाउँ परमेश्वरको जीवनको पुस्तकमा लेखिएको छैन। जुन कुरा यहोवा परमेश्वरले उहाँको ख्रीष्टको राज्यद्वारा स्थापित गर्ने घोषणा गर्नु भएको छ, त्यो कुरा पापी, मरणशील र परमेश्वरको नाउँको गिल्ला समेत गर्ने मानिसहरूले संयुक्त राष्ट्र संघद्वारा कदापि गर्न सक्ने छैनन्!—दानियल ७:२७; प्रकाश ११:१५.
९ संयुक्त राष्ट्र संघ वास्तवमा शान्तिको राजकुमार येशू ख्रीष्ट अधीनस्थ परमेश्वरको कहिले अन्त नहुने मसीही राज्यको एउटा ईश्वरनिन्दक नकल मात्र हो। (यशैया ९:६, ७) संयुक्त राष्ट्र संघले एउटा अल्पकालीन र टालटुले शान्ति स्थापित गरे तापनि युद्ध फेरि भडकिनेछ। पापी मानिसको प्रवृत्ति नै यस्तो छ। “तिनीहरूको नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएको छैन।” ख्रीष्टद्वारा यहोवाको राज्यले पृथ्वीमा अनन्त शान्ति स्थापित गर्ने मात्र होइन। परमेश्वरको सम्झनामा रहेका धर्मी र अधर्मीहरू येशूको छुडौतीको बलिदानद्वारा बिउँताइने पनि छन्। (यूहन्ना ५:२८, २९; प्रेरित २४:१५) यसरी बिउँतनेहरू मध्ये तिनीहरू पनि समाविष्ट हुनेछन् जसले शैतान र त्यसको सन्तानको आक्रमणको सामु आफ्नो आज्ञाकारिताको प्रमाण दिएका छन् र अझ अरू पनि जसले आफ्नो आज्ञाकारिता देखाउन बाँकी नै छ। तर महान बेबिलोनका कट्टर समर्थकहरू अथवा त्यो जङ्गली जनावरलाई पूजा गर्न नछाड्नेहरूको नाउँ परमेश्वरको जीवनको पुस्तकमा कदापि हुनेछैन।—प्रस्थान ३२:३३; भजन ८६:८-१०; यूहन्ना १७:३; प्रकाश १६:२; १७:५.
शान्ति र सुरक्षा—एउटा निरर्थक आशा
१०, ११. (क) संयुक्त राष्ट्र संघले १९८६-मा के घोषणा गऱ्यो र यसको प्रतिक्रिया कस्तो थियो? (ख) शान्तिका लागि प्रार्थना गर्न इटालीको आसीसीमा कति वटा “धर्म सम्प्रदायहरू” भेला भए र परमेश्वरले के यस्ता प्रार्थनाहरू सुन्नु हुन्छ? व्याख्या गर्नुहोस्।
१० मानिसजातिको निभ्दो आशालाई जागा राख्ने प्रयास गर्दै, संयुक्त राष्ट्र संघले १९८६-लाई “अन्तर्राष्ट्रिय शान्ति वर्ष” घोषित गऱ्यो। ध्येय थियो: “मानवजातिको शान्ति र भविष्यको संरक्षण।” युद्धग्रस्त राष्ट्रहरूलाई कम्तिमा एक वर्षका लागि युद्धविराम गर्ने आह्वान दिइयो। तर यसको प्रतिक्रिया के भयो? अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानबाट प्राप्त एउटा रिपोर्टअनुसार, १९८६-मा मात्र ५० लाखभन्दा बढी मानिसहरू युद्धमा मारिए! एकाध विशेष सिक्काहरू र स्मरणीय टिकटहरू प्रकाशित गर्नुबाहेक धेरै जसो राष्ट्रहरूले त्यस सालमा शान्तिको आदर्श पछ्याउने कुनै खास कदम चालेनन्। तथापि सधैं नै संयुक्त राष्ट्र संघसित राम्रो सम्बन्ध कायम राख्न चाहने संसारका धर्महरूले चाहिं विभिन्न ढङ्गमा त्यस सालको महत्त्वबारे प्रचार गर्न थाले। संयुक्त राष्ट्र संघले गरेको आह्वानको प्रशंसा गर्दै जनवरी १, १९८६-मा पोप जॅन पौलले सो नयाँ वर्षलाई शान्तिको नाउँमा अर्पित गरी दिए। यसपछि अक्टोबर २७-को दिन उनले विश्वभरिका धर्मका अगुवाहरूलाई आसीसी, इटालीमा शान्तिका लागि प्रार्थना गर्न निम्ताए।
११ के परमेश्वरले शान्तिका निम्ति गरिएका यस्ता प्रार्थनाहरू सुन्नु हुन्छ? सोच्नुहोस्, यी धार्मिक अगुवाहरूले कुन चाहिं परमेश्वरलाई प्रार्थना गरिरहेका थिए? तिनीहरूलाई सोध्नु भएमा प्रत्येकबाट बेग्लाबेग्लै जवाफ पाउनु हुने थियो। तर यी विभिन्न ढङ्गमा गरिएका प्रार्थनाहरू सुनी दिने के वास्तवमा लाखौं देवताहरू छन् र? त्यहाँ उपस्थित धेरैले मसीहीजगतको त्रीएकc भगवानको उपासना गर्थे। बौद्ध, हिन्दू र अन्य धर्मावलम्बीहरूले चाहिं अनगन्ती देवताहरूको नाउँमा प्रार्थना जपे। जम्माजम्मी १२ वटा बेग्लाबेग्लै “धर्म सम्प्रदायहरू” त्यहाँ भेला भए। तिनीहरूलाई केन्टरबेरीको एङ्गलीकन आर्कबिशप, बौद्धधर्मको दलाइ लामा, रूसी कट्टरपन्थी सम्प्रदायको एकजना अगुवा, टोकियोको शिन्टो मन्दिर संघको सभापति, अफ्रिकी आत्मवादीहरू र प्वाँखहरूको शिरपोस लगाएका दुई जना रेड इन्डियनहरू जस्ता प्रतिष्ठित व्यक्तिहरूले प्रतिनिधित्व गरे। त्यो साँच्चै नै एउटा रङ्गीन जमघट थियो। टिभीका लागि खूबै दृश्यात्मक। एउटा धार्मिक समूहले त एकछिन पनि नरोकिकन १२ घण्टासम्मै प्रार्थना गरी रह्यो। (लूका २०:४५-४७-सित तुलना गर्नुहोस्।) तर के तीमध्येको कुनै एउटै प्रार्थना पनि त्यहाँ भेला हुनेहरूमाथि मडारिएका बाक्ला मेघहरूसम्म पुग्न सक्यो र? सकेन र त्यसका कारणहरू यसप्रकार छन्:
१२. शान्ति स्थापनाका लागि विश्व धर्मगुरुहरूले गरेका प्रार्थनाहरूलाई परमेश्वरले किन सुन्नु भएन?
१२ “परमप्रभुको नाउँमा हिंड्नेहरू”-को ठीक विपरीत त्यहाँ उपस्थित एक जनाले पनि जीवित परमेश्वर यहोवालाई प्रार्थना गरेको थिएन, जसको नाउँ बाइबलको मूल पाठमा करीब ७,००० पटक देखा पर्दछ। (मीका ४:५; यशैया ४२:८, १२)d सामूहिक तवरमा तिनीहरूले परमेश्वरलाई येशूको नाउँद्वारा पुकारेनन्। त्यहाँ उपस्थित धेरै जसोले त येशू ख्रीष्टमाथि विश्वास समेत गर्दैन थिए। (यूहन्ना १४:१३; १५:१६) तिनीहरूमध्ये कसैले पनि परमेश्वरको इच्छा गरेका थिएनन्। किनकि मानिसजातिको एक मात्र आशा संयुक्त राष्ट्र संघ नभएर परमेश्वरको राज्य हो भनी विश्वभरि घोषणा गर्नु आज परमेश्वरको इच्छा गर्नु हो। (मत्ती ७:२१-२३; २४:१४; मर्कूस १३:१०) तर यसो गर्नुको सट्टा ती धर्मसङ्गठनहरू २० औं शताब्दीका दुइटा विश्व-युद्धहरू लगायत इतिहासका सबैभन्दा रक्तरञ्जित लडाइँहरूमा ग्रस्त भएका छन्। यस्ताहरूलाई परमेश्वर भन्नुहुन्छ: “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्।”—यशैया १:१५; ५९:१-३.
१३. (क) शान्तिको आह्वान गर्दा विश्वका धर्मगुरुहरूले संयुक्त राष्ट्र संघसित हात मिलाउनु किन अर्थपूर्ण हो? (ख) शान्तिका लागि गरिएका यी पुकारहरू ईश्वरद्वारा अग्रघोषित् कुन चरमोत्कर्षमा टुङ्गिने छन्?
१३ यसबाहेक, विश्वका धर्मगुरुहरूले संयुक्त राष्ट्र संघसित मिलेर ठीक यति बेला शान्तिको आह्वान दिनु अति नै अर्थपूर्ण छ। संयुक्त राष्ट्र संघलाई प्रभावित पारेर तिनीहरू त्यसको फायदा उठाउन चाहन्छन्। खासगरी यो आधुनिक युगमा जब तिनीहरूका धेरै मानिसहरूले धर्मलाई त्यागी रहेछन्। यी धर्मगुरुहरूले पनि प्राचीन इस्राएलका अविश्वासी अगुवाहरूले झैं “शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति!’ ” भन्दै हिंड्छन्। (यर्मिया ६:१४) शान्तिका लागि तिनीहरूको पुकार त्यो चरमोत्कर्षसम्मै निःसन्देह बढ्दै जानेछ जसबारे प्रेरित पावलले यसप्रकार अग्रिमवाणी गरेका छन्: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेको हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।”—१ थिस्सलोनिकी ५:२, ३.
१४. “शान्ति र सुरक्षित” भन्ने पुकारले के रूप धारण गर्न सक्छ र त्यसबाट भ्रममा नपर्नका लागि के गर्नु पर्छ?
१४ हालका वर्षहरूमा राजनीतिज्ञहरूले विभिन्न मानव योजनाहरूको वर्णन गर्न ‘शान्ति र सुरक्षा’ भन्ने अभिव्यक्ति चलाएका छन्। विश्वका नेताहरूद्वारा गरिएको त्यस्तो प्रयासले १ थिस्सलोनिकी ५:३ को भविष्यवाणी पूर्तिको सुरुवात्लाई देखाउँछ? अथवा पावलले संसारकै ध्यान खिच्ने त्यस्तो एउटा नाटकीय घटनालाई मात्र औंल्याउँदै थिए? बाइबल भविष्यवाणीहरू पूरा भइसकेपछि वा पूरा हुने क्रममा मात्रै अक्सर पूरै बुझिने भएकोले त्यसको लागि हामीले पर्खेरै हेर्नुपर्नेछ। त्यतिन्जेल, राष्ट्रहरूले शान्ति र सुरक्षा हासिल गरेको जस्तो देखिए तापनि वास्तवमा केही पनि बद्लेको हुनेछैन भनी मसीहीहरूलाई थाह छ। स्वार्थ, घृणा, अपराध, पारिवारिक जीवनको ह्रास, अनैतिकता, रोग, शोक र मृत्यु यथावत रहनेछन्। त्यसैकारण तपाईं विश्व घटनाहरूबारे सचेत रहनु भयो र परमेश्वरका भविष्यवाणीरूपी चेताउनीहरूलाई ध्यान दिनुभयो भने ‘शान्ति र सुरक्षा’ भनी जत्ति नै कराए तापनि तपाईं भ्रममा पर्नुहुने छैन।—मर्कूस १३:३२-३७; लूका २१:३४-३६.
[फुटनोटहरू]
a जनवरी ८, १९४२-मा जे. एफ. रदरफर्डको मृत्युपछि एन. एच. नोर वाच टावर सोसाइटीका सभापति भए।
b नोभेम्बर २०, १९४०-मा जर्मनी, इटाली, जापान र हङ्गेरीले एउटा “नयाँ राष्ट्र संघ” आयोजित गर्ने दरखास्त प्रस्तुत गरे। यसको चार दिनपश्चात् भेटिकनबाट धार्मिक शान्ति र नयाँ व्यवस्थाका लागि मास (क्याथोलिक धार्मिक विधि) र प्रार्थना प्रसारित गरियो। तर यो “नयाँ संघ” एउटा वास्तविकतामा कहिले परिणत हुन सकेन।
c त्रीएक शिक्षाको सुरुआत प्राचीन बेबिलोनमा भएको थियो। त्यहाँ सूर्य देव शामाश, जून देव सिन र तारा देव इश्तारलाई त्रिमूर्तिको रूपमा पुज्ने गरिन्थ्यो। त्यसरी नै मिस्रमा पनि ओसिरीस, आइसिस् र होरस्को उपासना गरिन्थ्यो। अश्शूरीहरूको मुख्य भगवान अश्शूरको पनि तीनवटा शिर देखाइएको छ। सोही नमुनाको नकल गर्दै क्याथोलिक चर्चहरूमा पनि तीनवटा शिर हुने परमेश्वरका मूर्तिहरू पाइन्छन्।
d वेब्स्टर्स थर्ड न्यु इन्टरनेश्नल डिक्शनरी, १९९३-अनुसार यहोवा परमेश्वर “सर्वोच्च भगवान र यहोवाका साक्षीहरूले स्वीकारेको एक मात्र ईश्वर हुनुहुन्छ।”
[पृष्ठ २५०-मा भएको पेटी]
“शान्ति”को विरोधाभास
संयुक्त राष्ट्र संघले १९८६-लाई अन्तर्राष्ट्रिय शान्ति वर्ष घोषित गरे तापनि आत्मविनाशक हातहतियारको होडबाजी झन बढ्यो। वर्ल्ड मिलिटेरी एण्ड सोसियल एक्सपेन्डीचर्स १९८६-बाट यी सोचनीय तथ्यहरू प्राप्त भएका छन्:
१९८६-मा विश्वव्यापी सैनिक खर्च ९० हजार करोड डलर थियो।
रोकथाम गर्न सकिने संक्रामक रोगहरूबाट प्रत्येक साल मर्ने ३५ लाख मानिसहरूलाई ती रोगहरूबाट प्रतिरक्षा प्रदान गर्न एक घण्टाको विश्वव्यापी सैनिक खर्च मात्र पनि पर्याप्त हुने थियो।
विश्वभरि प्रत्येक पाँच जना व्यक्तिमध्ये एकले अधम गरीबीमा जीवन बिताइरहेको थियो। विश्वले हात-हतियारका लागि गर्ने दुई दिनको खर्च यी जम्मै भोका मानिसहरूलाई सालभरि खुवाउन यथेष्ट हुने थियो।
विश्वभरि थुपारिएका आणविक हतियारहरूको विष्फोटन शक्ति चर्नोबिलको विष्फोटनभन्दा १६,००,००,०००-गुना शाक्तिशाली थियो।
हिरोशिमामाथि १९४५-मा खसालिएको बमभन्दा ५०० गुना बढी विष्फोटन शक्ति भएको एउटै आणविक बम खसाल्न सकिन्थ्यो।
आणविक शस्रागारहरूमा दश लाखभन्दा धेरै हिरोशिमा काण्ड गर्ने शक्ति लुकेको थियो। ३ करोड ८० लाखभन्दा बढी मानिसहरू मार्ने दोस्रो विश्व-युद्धमा प्रयोग गरिएको विष्फोटक शक्तिभन्दा यो २,७०० गुना शक्तिशाली थियो।
युद्धहरू थुप्रै मात्र होइन तर धेरै नै घातक हुन थालेको थियो। १८-औं शताब्दीमा युद्धमा मारिएकाहरूको संख्या जम्माजम्मी ४४ लाख र १९-औं शताब्दीमा ८३ लाख थियो। तर २०-औं शताब्दीको सुरुको ८६ वर्षभित्र नै ९ करोड र ८८ लाख मरी सकेका छन्। १८-औं शताब्दीदेखि यता युद्धमा मर्नेहरूको संख्या विश्व जनसंख्याभन्दा ६ गुना बढेको छ। १९-औं शताब्दीमा भन्दा २०-औं शताब्दीमा प्रति युद्ध १० गुना बढी मानिसहरू मारिएका थिए।
[पृष्ठ २४७-मा भएको चित्र]
चहकिलो रातो रङ्गको जनावरबारे गरिएको भविष्यवाणीअनुसार, दोस्रो विश्व युद्धको दौडान चहकिलो रातो रङ्गको जनावर अगाध खाँदमा गयो तर त्यसलाई फेरि संयुक्त राष्ट्र संघको रूपमा पुनःजागृत गरियो।
[पृष्ठ २४९-मा भएको चित्र]
संयुक्त राष्ट्र संघको “शान्ति वर्ष”को समर्थन गर्दै विश्वका धार्मिक प्रतिनिधिहरूले आसीसी, इटालीमा थरीथरीका प्रार्थनाहरू चढाए। तर तीमध्ये एउटै प्रार्थना पनि जीवित परमेश्वर यहोवालाई चढाइएन।
-
-
महान बेबिलोनको दण्ड कार्यान्वयनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
अध्याय ३५
महान बेबिलोनको दण्ड कार्यान्वयन
१. स्वर्गदूतले चहकिलो रातो रङ्गको जनावरको वर्णन कसरी गर्छन् र प्रकाशको पुस्तकका प्रतीकहरूलाई बुझ्न कुन प्रकारको बुद्धि चाहिन्छ?
प्रकाश १७:३-को जङ्गली जनावरको अझ वर्णन गर्दै स्वर्गदूत यूहन्नालाई यसो भन्छन्: “ज्ञान भएको अर्थ यसैमा छ। ती सात शिर पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्तछ। औ तिनीहरू ती सात राजाहरू हुन्—पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ, र अर्को अझै आएको छैन। औ त्यो आएपछि त्यसले अलि बेर अवश्य रहनैपर्छ।” (प्रकाश १७:९, १०) माथिबाट आउने बुद्धिको यहाँ स्वर्गदूत चर्चा गर्दैछन्। यस बुद्धिद्वारा मात्र प्रकाशको पुस्तकका चिह्नहरू बुझ्न सकिन्छ। (याकूब ३:१७) यसै बुद्धिले यूहन्नावर्ग र उनका सङ्गीहरूलाई हाम्रो समयसालको गम्भीरताबारे प्रबुद्ध बनाउँछ। चाँडै नै कार्यान्वयन हुने यहोवाको न्यायप्रति त्यसले भक्त हृदयहरूमा मूल्याङ्कन बढाउँछ र यहोवाप्रति एउटा स्वस्थकर भय विकसित गराउँछ। हितोपदेश ९:१०-ले भनेझैं: “परमप्रभुको डर मान्नु बुद्धिको प्रथम खुड्किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्ति हो।” तर हामीलाई त्यस जङ्गली जनावरबारे ईश्वरीय बुद्धिले के प्रकट गर्छ?
२. रातो रङ्गको जनावरका सात शिरहरूको अर्थ के हो र कसरी “पाँचवटाको पतन भइसक्यो, र एउटा चाहिं छँदै छ?”
२ त्यो भयानक जनावरका सात शिरहरूको अर्थ सात “पर्वतहरू” अथवा सात “राजा” हुन्। शास्त्रमा यी दुवै अभिव्यक्तिहरू सरकारी शक्तिहरूलाई बोध गर्दा प्रयोग गरिन्छ। (यर्मिया ५१:२४, २५; दानियल २:३४, ३५, ४४, ४५) बाइबलअनुसार छ वटा विशेष विश्व-शक्तिहरूले परमेश्वरका जनहरूको गतिविधिमाथि प्रभाव पारे। ती विश्व-शक्तिहरू हुन्: मिस्र, अश्शूर, बेबिलोन, मादी-फारसी, युनान र रोम। यूहन्नाले प्रकाशको पुस्तक पाउञ्जेलसम्म यीमध्येका पाँच विश्व-शक्तिहरू आएर पनि गइसकेका थिए। रोम चाहिं पूरै शासनारुढ थियो। त्यसैकारण “पाँचवटाको पतन भइसक्यो, एउटाचाहिं छँदै छ” भनिन्छ। तर यी पछि आउने अझ “अर्को” बारे के नि?
३. (क) रोमी साम्राज्य कसरी विभाजित हुन गयो? (ख) पश्चिमी क्षेत्रमा के कस्ता घटनाहरू घटे? (ग) पवित्र रोमी साम्राज्यलाई कुन दृष्टिले हेर्नु पर्छ?
३ यूहन्नाको समयदेखि सयौं वर्षपश्चात् पनि रोमी साम्राज्य कायम रह्यो। त्यसको शक्ति बढ्दै गयो। सा.यु. ३३०-मा सम्राट कन्स्टनटाइनले आफ्नो राजधानी रोमदेखि बाइज्यान्टियममा सारे र त्यसलाई कन्सटेन्टीनोपल भन्ने नयाँ नाउँ दिए। सा.यु. ३९५-मा रोमी साम्राज्य पूर्व र पश्चिम, दुई भागमा विभाजित भयो। सा.यु. ४१०-मा स्वयं रोमलाई नै भिसिगोथहरूको (एउटा जर्मन जाति जसले एरियन “मसीही धर्म” अपनाएका थिए) राजा आलारिकले पराजित गरे। जर्मन [मसीही] जातिहरूले स्पेन तथा उत्तर अफ्रिकातिर पर्ने रोमका निकै इलाकाहरूलाई पनि आफ्नो कब्जामा पारे। युरोपमा शताब्दियौंसम्म उथलपुथल, अशान्ति र अनेक सुधारहरूको बतास चलिरहेको थियो। पश्चिमपट्टि प्रसिद्ध सम्राटहरू खडा भए। तीमध्ये एक जना चार्लमेन थिए जसले ९-औं शताब्दीमा पोप लिओ तृत्तीयसित सन्धि गरे। अर्का सम्राट फ्रेड्रिक द्वितीय थिए जसले १३ औं शताब्दीसम्म शासन गरे। यिनीहरूको राज्य पनि पवित्र रोमी साम्राज्य भनिन्थ्यो। तापनि पहिलेका वैभवशाली रोमी साम्राज्यको तुलनामा यी राज्यहरू धेरै नै साना थिए। यो वास्तवमा एउटा नयाँ साम्राज्य नभएर त्यो प्राचीन विश्व-शक्तिकै एकप्रकारको पुनःस्थापना अथवा अवशेष थियो।
४. पूर्वीय साम्राज्यले के के सफलता प्राप्त गऱ्यो तर उत्तर अफ्रिका, स्पेन र सिरियामा प्राचीन रोम अधीनस्थ धेरै जसो पहिलेका क्षेत्रहरूलाई के भयो?
४ कन्स्टेन्टीनोपलमा केन्द्रित रोमको पूर्वीय साम्राज्य र पश्चिमी साम्राज्यबीच एक प्रकारको नाजुक सम्बन्ध कायम रह्यो। छैटौं शताब्दीमा पूर्वीय सम्राट जस्टीनियन प्रथमले उत्तर अफ्रिकाको धेरै जसो भागलाई फेरि आफ्नो कब्जामा लिए। उनले स्पेन र ईटालीको मामिलामा दखल दिए। सातौं शताब्दीमा जस्टीनियन द्वितीयले स्लाविक जातिहरूको कब्जामा परेका मेसिडोनी इलाकाहरूलाई फेरि आफ्नै साम्राज्यमा गाभ्न सके। तथापि, आठौं शताब्दीसम्म उत्तर अफ्रिका, स्पेन र सिरियामा पर्ने प्राचीन रोमको आधिपत्यमा रहेका थुप्रै प्रदेशहरू नयाँ इस्लामी साम्राज्यको अधीनमा आइ सकेका थिए। तिनीहरू कन्स्टेन्टिनोपल र रोम, दुवैको वशमा रहेनन्।
५. सा.यु. ४१०-मा रोमको शहर पराजित भए तापनि रोमी साम्राज्यको राजनैतिक अस्तित्व विश्व-मञ्चबाट नामेट हुनका लागि किन अझ धेरै शताब्दी बित्न पऱ्यो?
५ कन्स्टेन्टिनोपलको शहर चाँहि अझ अलिक बेरसम्म टिक्न सक्यो। फारसी, अरबी, बलगेरी र रूसीहरूले बारम्बार हमला गरे तापनि त्यो तुरुन्तै ढलपल भएन। तर अन्ततः मुसलमानहरूको सट्टा पश्चिमका क्रुसेडर्सहरूको सामु १२०३-मा चाहिं त्यो पराजित भयो। सन् १४५३-मा त्यो मुसलमान ओटोमन शासक महम्मद द्वितीयको वशमा आयो र केही समयपछि नै ओटोमन अथवा तुर्की साम्राज्यको राजधानी हुन गयो। यसप्रकार सा.यु. ४१०-मा रोमको पतन भए तापनि कैयौं शताब्दीपछि मात्र रोमी साम्राज्य विश्व-मञ्चबाट नामेट हुन सक्यो। तर यसपछि पनि उसको प्रभाव रोममा पोपको शासन र पूर्वीय कट्टर पन्थी चर्चहरूमा आधारित धार्मिक साम्राज्यहरूमा झल्किरह्यो।
६. कुनकुन नयाँ साम्राज्यहरू उठ्न थाले र कुन चाहिंले सबैभन्दा बढी सफलता हासिल गऱ्यो?
६ तथापि, १५-औं शताब्दीतिर चाहिं कुनै कुनै देशहरूले पूर्णतः नयाँ साम्राज्यहरूको निर्माण गरिरहेका थिए। यीमध्येका केही नयाँ साम्राज्यवादी शक्तिहरू रोम कै प्राचीन उपनिवेशहरूमा आधारित थिए। तर तिनीहरू रोमी साम्राज्यको हाँगा चाहिं पटक्कै थिएनन्। पोर्तुगाल, स्पेन, फ्रान्स र हलैण्डले टाढा टाढाका क्षेत्रहरूमाथि आधिपत्य जमाउन थाले। तर यीमध्ये सबैभन्दा सफल चाहिं ब्रिटेन भयो। ब्रिटेन अधीनस्थ विशाल साम्राज्यमा ‘सूर्य कहिल्यै डुबेन।’ बेग्लाबेग्लै समयमा यो साम्राज्य उत्तर अमेरिका, अफ्रिका, भारत, दक्षिणपूर्व एसिया र प्रशान्त महासागरका धेरै जसो भागहरूसम्मै फैलिन सक्यो।
७. एकप्रकारको द्वैध विश्वशक्तिको आरम्भ कसरी भयो र यूहन्नाको भनाइअनुसार सातौं ‘शिर’ अथवा विश्व-शक्ति कहिलेसम्म रहने थियो?
७ उन्नाइसौं शताब्दीसम्म उत्तर अमेरिकाका केही उपनिवेशहरू ब्रिटेनबाट अलग्गिएर स्वतन्त्र संयुक्त राज्य अमेरिका बनिसकेको थियो। यो नयाँ राष्ट्र र उसको पुरानो मातृभूमिबीच केही मात्रामा राजनैतिक अमेल रही नै रह्यो। तापनि प्रथम विश्व-युद्धले दुवै राष्ट्रहरूलाई आफ्नो साझे फायदा हेर्न बाध्य तुल्यायो। यसले गर्दा दुवैबीच एउटा विशेष सम्बन्ध बलियोगरी स्थापित भयो। यसप्रकार एकप्रकारको द्वैध विश्व-शक्तिको आरम्भ भयो जसमा हाल विश्वको सबैभन्दा धनसम्पन्न देश, संयुक्त राज्य अमेरिका र विश्वको सबैभन्दा विशाल साम्राज्यको केन्द्र, ब्रिटेन सामेल थिए। यही नै हो त्यो सातौं ‘शिर’ अथवा विश्वशक्ति जो यहोवाका साक्षीहरू प्रथमतः स्थापित भएका क्षेत्रहरूमा र अन्तको समयसम्मै कायम रहनेछ। छैटौं शिरको लामो शासनकालको तुलनामा यो सातौं शिर “अलि बेर” अर्थात् सबै राष्ट्रहरूलाई परमेश्वरको राज्यले नष्ट नगरुञ्जेलसम्म रहनेछ।
किन आठौं राजा कहलिएको?
८, ९. स्वर्गदूतले रातो रङ्गको जनावरलाई के भनेर सम्बोधन गर्छन् र त्यो कुन अर्थमा सातौंबाट आउँछ?
८ स्वर्गदूतले यूहन्नालाई अझ यसप्रकारको व्याख्या दिन्छन्: “औ त्यो जनावर जो हुनालाई त थियो, तर छैन, त्यो आफै पनि सातमध्येबाट निस्केको एउटा आठौं हो, औ त्यो सत्यानाशमा जानेछ।” (प्रकाश १७:११) प्रतीकात्मक रातो रङ्गको जनावर ती सात शिर “मध्येबाट निस्कन्छ”; अर्थात् यो रातो रङ्गको जनावरको मूल स्रोत नै “समुद्रबाट निस्कने जनावर”-का शिरहरू हुन्। यो रातो रङ्गको जनावर समुद्रबाट निस्कने जनावरको प्रतिरूप पनि हो। कुन अर्थमा? १९१९-मा एङ्गलो अमेरिकी शक्ति शासनारूढ शिर थियो। बाँकी छ-वटा शिरहरूको पतन भइसकेको थियो। प्रमुख विश्व-शक्तिको भूमिका अब यही द्वैध शिरले निभाउन थाल्यो। पङ्क्तिबद्ध विश्व-शक्तिहरूको वर्तमान प्रतिनिधि, यो सातौं शिरले नै राष्ट्र संघ स्थापित गर्नमा प्रमुख भूमिका खेल्यो। ऊ आज पनि संयुक्त राष्ट्र संघको मुख्य समर्थक र आर्थिक सहयोगको स्रोत छ। अतः त्यो रातो रङ्गको जनावर अर्थात् आठौं राजा प्रतीकात्मक तवरमा सात शिरहरू “मध्येबाट निस्केको” हो। यसरी विचार गर्दा यो आठौं शिर ती सातमध्येबाट निस्केको र केही समयअघि प्रकट गरिएअनुसार थुमाको जस्तै दुई सीङ भएको जनावरले (प्रथम जनावरको सातौं शिर अर्थात् एङ्गलो अमेरिकी विश्व-शक्ति) मूर्ति बनाउने र त्यसलाई श्वास दिने प्रस्ताव राखेको कुरा जम्मै राम्ररी मिल्दछ।—प्रकाश १३:१, ११, १४, १५.
९ यसका साथै, राष्ट्र संघका प्रथम सदस्य राष्ट्रहरूमध्ये ग्रेट ब्रिटेनबाहेक ती सरकारहरू पनि सम्मिलित थिए जसले पहिलेका शिरहरूको राजगद्दीबाट राज्य गर्थे। उदाहरणका लागि, युनान, इरान (पर्सिया) र ईटाली (रोम)। अन्ततः प्रथम छ वटा विश्व-शक्तिहरूको आधिपत्यमा रहेका इलाकाहरूमाथि शासन गर्ने सरकारहरू पनि उक्त जनावरको मूर्तिलाई सहयोग पुऱ्याउने सदस्यहरू हुन गए। यस अर्थमा पनि त्यो रातो रङ्गको जनावर सात वटा विश्व-शक्तिहरूबाट उत्पन्न भएको हो भन्न सकिन्छ।
१०. (क) रातो रङ्गको जनावर “आफै पनि एउटा आठौं राजा हो” भन्नु किन मिल्छ? (ख) पहिलेको सोभियत संघका एक जना नेताले संयुक्त राष्ट्र संघका लागि आफ्नो समर्थन कसरी व्यक्त गरे?
१० यहाँ ध्यान दिनु पर्ने अर्को कुरा के छ भने त्यो रातो रङ्गको जनावर “आफै पनि एउटा आठौं” राजा हो। तसर्थ, आज संयुक्त राष्ट्र संघलाई एउटा विश्व-सरकारको रूप दिएको छ। उसले समय समयमा विश्व-सरकारले झैं काम पनि गरेको छ। उसले कोरिया, सिनै प्रायद्वीप, केही अफ्रिकी देशहरू र लेबनोनजस्ता ठाउँहरूमा अन्तर्राष्ट्रिय झगडाहरूको समाधान गर्न सेनाहरू पनि पठाउने गरेको छ। तर ऊ राजाको मूर्ति मात्र हो। कुनै एउटा धार्मिक मूर्ति जस्तै। त्यसले त्यति मात्र शक्ति वा प्रभुत्व जमाउन सक्छ जति त्यसलाई बनाउने र उपासना गर्नेहरूले दिएको हुन्छ। कहिलेकाहीं यो प्रतीकात्मक जनावर कमजोर पनि देखिन्छ; तापनि तानाशाही प्रवृत्ति हुने सदस्य राष्ट्रहरूले राष्ट्र संघलाई चारैतिरबाट त्यागेर अगाध खाँदभित्र लरखऱ्याउँदै खसाइ दिएको जस्तै आजसम्म संयुक्त राष्ट्र संघलाई चाहिं भएको छैन। (प्रकाश १७:८) अन्य क्षेत्रहरूमा पूर्णतः बेग्ला-बेग्लै दृष्टिकोण भए तापनि १९८७-मा पहिलेको सोभियत संघका एक जना प्रमुख नेताले रोमका पोपहरूसित मिलेर संयुक्त राष्ट्र संघप्रति समर्थन व्यक्त गरे। उनले संयुक्त राष्ट्र संघमा आधारित “अन्तर्राष्ट्रिय सुरक्षाको व्यापक व्यवस्था” स्थापित गर्ने आह्वान पनि गरे। यूहन्नालाई अब चाँडै थाह लाग्ने छ कि संयुक्त राष्ट्र संघले निकै नै अख्तियारसाथ कदम चाल्नेछ। त्यसपछि त्यो “सत्यानाशमा” जानेछ।
एक घण्टाका लागि दश राजाहरू
११. प्रतीकात्मक रातो रङ्गको जनावरमाथि भएका दशवटा सीङहरूबारे यहोवाको स्वर्गदूतले के भन्छन्?
११ प्रकाशको पुस्तकको अघिल्लो अध्यायमा छैटौं र सातौं स्वर्गदूतहरूले परमेश्वरको क्रोधका कचौराहरू खन्याएका थिए। पृथ्वीका राजाहरू अब आरमागेडोनमा परमेश्वरको युद्धका लागि एकत्रित गराइँदैछन् र ‘परमेश्वरको दृष्टिमा महान बेबिलोनको सम्झना’ गरिनेछ भनेर हामीलाई सूचित गराइएको थियो। (प्रकाश १६:१, १४, १९) अब यिनीहरूमाथि परमेश्वरको न्याय कार्यान्वयनको विस्तृत विवरण हामीलाई थाह हुनेछ। सुन्नुहोस्, यहोवाको स्वर्गदूतले यूहन्नालाई के भन्छन्: “औ तिमीले देखेका ती दशवटा सीङचाहिं दश राजाहरू हुन्, जसले अहिलेसम्म राज्य पाएका छैनन्। तर ती जनावर सँगसँगै तिनीहरूले एक घण्टाको निम्ति राजाजस्तै अख्तियार पाउँछन्। तिनीहरू एउटै मनका छन्। तिनीहरू आफ्ना शक्ति र अख्तियार त्यस जनावरलाई दिन्छन्। यिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ। बोलावट भएका, चुनिएका र विश्वासीहरू जो उहाँका साथमा आउँछन्, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्।’ ”—प्रकाश १७:१२-१४.
१२. (क) ती दश सीङहरूले केलाई चित्रित गर्छन्? (ख) ती प्रतीकात्मक दश सीङहरूले कुन अर्थमा “अहिलेसम्म राज्य पाएका” थिएनन्? (ग) तर ती प्रतीकात्मक दश सीङहरूले अहिले भने कसरी “राज्य पाएका” छन् र कति बेरसम्मका लागि?
१२ ती दश वटा सीङहरूले वर्तमान विश्व-मञ्चमा प्रभुत्व जमाउने र जङ्गली जनावरको मूर्तिलाई समर्थन गर्ने जम्मै राजनैतिक शक्तिहरूलाई प्रतिनिधित्व गर्छन्। आजका अधिकांश देशहरू यूहन्नाको दिनमा थिएनन्। र मिस्र र पर्सिया (इरान) जस्ता जति राष्ट्रहरू थिए, तिनीहरूको राजनैतिक बनौट आज पूर्णतः बेग्लै भइसकेको छ। यसकारण, प्रथम शताब्दीमा ती ‘दश सीङहरूले राज्य पाएका थिएनन्।’ तर अहिले प्रभुको दिनमा चाहिं तिनीहरूले “राज्य” अथवा राजनैतिक अख्तियार पाएका छन्। विशेषगरी दोस्रो विश्व-युद्धपश्चात् महान उपनिवेशी सम्राज्यहरूको ह्रासपछि थुप्रै नयाँ राष्ट्रहरूले जन्म लिएका छन्। यिनीहरू र धेरै समयदेखि स्थापित अन्य शक्तिहरूले त्यो जनावरसित मिलेर “एक घण्टा”का लागि शासन चलाउनै पर्छ। त्यसपछि यहोवाले आरमागेडोनमा जम्मै सांसारिक राजनैतिक शक्तिको अन्त गरी दिनु हुनेछ।
१३. ती दश सीङहरू “एकै मन”-का हुन्छन् भन्नुको तात्पर्य के हो र यसले गर्दा थुमाप्रति तिनीहरूले निश्चय नै कस्तो मनोवृत्ति दर्साउँछन्?
१३ आज यी दश सीङहरूलाई प्रेरणा दिने सबैभन्दा जबरदस्त शक्ति राष्ट्रियता हो। तिनीहरू सबै “एकै मनका” हुन्। तिनीहरू सबै परमेश्वरको राज्यलाई स्वीकार्नुको सट्टा आफ्नै राष्ट्रिय सार्वभौमिकतालाई कायम राख्न चाहन्छन्। यसैका लागि त तिनीहरूले राष्ट्र संघ र संयुक्त राष्ट्र संघलाई समर्थन गरेका थिए। तिनीहरू आफ्नै अस्तित्वलाई सुरक्षित राख्नका लागि विश्व शान्ति चाहन्छन्। यसैकारण तिनीहरूले निश्चय नै थुमा अर्थात् “प्रभुहरूको प्रभु र राजाहरूको महाराजा”-को विरोध गर्नेछन्। किनकि यहोवाले यी जम्मै राज्यहरूको ठाउँमा येशू ख्रीष्टको अधीनस्थ आफ्नै राज्य स्थापित गर्ने उद्देश्य रच्नु भएको छ।—दानियल ७:१३, १४; मत्ती २४:३०; २५:३१-३३, ४६.
१४. संसारका शासकहरूले थुमासित लडाइँ गर्न कसरी सम्भव हुन्छ र यस युद्धको परिणाम के हुनेछ?
१४ यथार्थमा संसारका यी शासकहरूले स्वयं येशूको खिलाफ केही गर्न सक्ने छैनन्। किनकि उहाँ स्वर्गमा तिनीहरूको पहुँचभन्दा धेरै नै टाढा हुनुहुन्छ। तर येशूका भाइहरू अथवा स्त्रीको सन्तानका बाँकी सदस्यहरू भने पृथ्वीमै छन् र यिनीहरूमाथि आक्रमण गर्न सकिन्छ। (प्रकाश १२:१७) यिनीहरूप्रति धेरै जसो सीङहरूले कठोर शत्रुता व्यक्त गरिसकेका छन्। यसरी तिनीहरूले थुमाको विरुद्धमा युद्ध लड्न थालिसकेका छन्। (मत्ती २५:४०, ४५) तर चाँडै नै परमेश्वरले “यी सबै राज्यहरूलाई चक्नाचूर” पार्ने समय आउनेछ। (दानियल २:४४) त्यतिखेर पृथ्वीका राजाहरूले भएभरको शक्ति लगाएर थुमाको विरुद्धमा युद्ध गर्नेछन् भनी हामी चाँडै देख्नेछौं। (प्रकाश १९:११-२१) तर हामी यो पनि बुझ्ने छौं कि यी राष्ट्रहरू सफल हुनेछैनन्। तिनीहरू र संयुक्त राष्ट्र संघको चहकिलो रातो रङ्गको जनावरको “एकै मन” भए तापनि तिनीहरूले महान “प्रभुहरूको महाप्रभु र राजाहरूको महाराजा”लाई पराजित गर्न सक्ने छैनन्। नता पृथ्वीमै भएका उहाँका “बोलावट भएका, चुनिएका र विश्वासी” अभिषिक्त अनुयायीहरूलाई नै जित्न सक्ने छन्। किनकि यी अभिषिक्त जनहरू पनि शैतानको झूटा आरोपहरूको सामु आफ्नो निष्ठा कायम राखेर विजयी भइ सकेका हुनेछन्।—रोमी ८:३७-३९; प्रकाश १२:१०, ११.
वेश्यालाई सर्वनाश पार्न
१५. स्वर्गदूतले वेश्या र ऊप्रति ती दश सीङ र जनावरको मनोवृत्ति र क्रियाकलापबारे के भन्छन्?
१५ तर ती दश वटा सीङहरूको शत्रुताको तारो परमेश्वरका जनहरू मात्र होइनन्। स्वर्गदूतले अब यूहन्नाको ध्यान फेरि त्यस वेश्यातर्फ आकृष्ट गर्छन्: “औ तिनले मलाई भने, ‘तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बस्तछ, तिनीहरू ता मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू हुन्। औ तिमीले देखेका ती दश सीङ र त्यस जनावरले त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।”—प्रकाश १७:१५, १६.
१६. महान बेबिलोनमाथि राजनैतिक सरकारहरूले आक्रमण गर्दा उसले आफ्नो बचाउका लागि आफ्ना पानीहरूमाथि किन भर गर्न पाउने छैन?
१६ जसरी पुरातन प्राचीन बेबिलोन आफ्नो सुरक्षादायी पानीहरूमाथि भर पर्थ्यो, त्यसरी नै आज महान बेबिलोन पनि “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू”-का आफ्ना सदस्यहरूको विशाल सङख्यामाथि भर गर्छ। यिनीहरूमाथि हाम्रो ध्यान आकृष्ट गरी सकेपछि मात्र स्वर्गदूतले एउटा भयानक घटनाको चर्चा गर्छन्: त्यो हो महान बेबिलोनमाथि पृथ्वीका राजनैतिक सरकारहरूले गर्ने हिंसात्मक आक्रमण। त्यतिखेर ती सबै “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू”-ले के गर्नेछन्? यूफ्रेटिस नदीको पानी सुक्नेछ भनेर परमेश्वरका जनहरूले महान बेबिलोनलाई चेताउनी दिन थालिसकेका छन्। (प्रकाश १६:१२) अन्ततः ती पानीहरू ठ्याम्मै सुक्नेछन्। तिनीहरूले त्यो घृणास्पद वेश्यालाई सबैभन्दा ठूलो खाँचोको घडीमा केही खास समर्थन दिन सक्ने छैनन्।—यशैया ४४:२७; यर्मिया ५०:३८; ५१:३६, ३७.
१७. (क) महान बेबिलोनको धनसम्पत्तिले उसलाई किन बचाउन सक्ने छैन? (ख) महान बेबिलानेको विनाश कसरी कुनै हालतमा पनि गरिमायुक्त हुनेछैन? (ग) दश सीङ अथवा बेग्लाबेग्लै राष्ट्रहरू बाहेक अरू को पनि महान बेबिलोनलाई सखाप पार्ने अभियानमा जाइ लाग्नेछ?
१७ हो, महान बेबिलोनको विशाल भौतिक धनले उसलाई पटक्कै बचाउन सक्ने छैन। बरु त्यो धन उसको अझ चाँडो विनाशको कारण बन्न सक्ने छ। त्यो जङ्गली जनावर र दश सीङहरूले ऊ माथि आफ्नो रीस खन्याउँदा उसले पहिरहेको शाही पोशाक र गरगहना जम्मै फुकाइनेछन्। उसको भएभरको सम्पत्ति तिनीहरूले लुटनेछन्। तिनीहरूले उसलाई “नाङ्गै” पार्नेछन्। उसको भित्री चरित्र सबैको सामु उदाङ्ग पारिनेछ। कस्तो सर्वनाश! उसको अन्त कुनै रीतिले पनि गरिमायुक्त हुनेछैन। तिनीहरूले उसलाई नष्ट पार्नेछन्। उसको “मासु खानेछन्।” उसलाई निर्जीव र हाडैहाड तुल्याएर छाडनेछन्। अन्तमा ऊ “आगोमा भस्म” पारिनेछ। कुनै महामारीवाहकझैं ऊ जलाइनेछ। ऊ श्रद्धापूर्वक गाडिने पनि छैन! यो महा वेश्याको नाश दश सीङहरूले प्रतिनिधित्व गर्ने राष्ट्रहरूद्वारा मात्र हुने होइन। ऊ माथि स्वयं जङ्गली “जनावर” अथवा संयुक्त राष्ट्र संघ नै जाइ लाग्नेछ। संयुक्त राष्ट्र संघले नै झूटो धर्मलाई नष्ट पार्ने अनुमति दिनेछ। उसका १९० भन्दा धेरै सदस्य राष्ट्रहरू मध्येका धेरै जसोले धर्मप्रति, विशेषगरी मसीहीजगतका धर्महरूप्रति आफ्नो मतद्वारा शत्रुता व्यक्त गरी सकेका छन्।
१८. (क) बेबिलोनी धर्मको विरोध गर्ने सम्भावना राष्ट्रहरूमा आज पनि कसरी देख्न सकिएको छ? (ख) महा वेश्यामाथि गरिने यो ठूलो आक्रमण पछाडि मुख्य कारण के हुनेछ?
१८ तर यी राष्ट्रहरूले आफ्नो पुरानो प्रेमिकासित यस्तो दुर्व्यवहार किन गर्नेछन्? बेबिलोनी धर्म विरुद्ध यसरी जाइलाग्ने सम्भावना हामीले हालसालैको इतिहासमा देखि सकेका छौं। सरकारी विरोधले गर्दा पहिलेको सोभियत संघ र चीन जस्ता मुलुकहरूमा धर्मको प्रभाव धेरै नै घटेको छ। प्रोटेस्टेन्ट धर्म मान्ने युरोपका क्षेत्रहरूमा व्यापक उदासीनता र अविश्वासको कारण चर्चहरू रित्तो भएका छन्। धर्म प्रायः मरी नै सकेको छ। विशाल क्याथोलिक साम्राज्यमा पनि विरोध र अमेलको फाटो देखा परेको छ र त्यसको समाधान त्यसका नेताहरूले गर्न सकेको छैन। महान बेबिलोनमाथि आइ पर्ने यो ठूलो र अन्तिम आक्रमण यस महा वेश्यामाथि परमेश्वरको अकाट्य न्यायको एउटा अभिव्यक्ति हो भनी हामीले कहिले बिर्सनु हुँदैन।
परमेश्वरको विचारको कार्यान्वयन
१९. (क) यस महा वेश्यामाथि यहोवाको न्याय कार्यान्वयनलाई सा.यु.पू. ६०७-मा उहाँले धर्मत्यागी यरूशलेममाथि गर्नु भएको विनाशसित कसरी तुलना गर्न सकिन्छ? (ख) सा.यु.पू. ६०७-पछि यरूशलेमको उजाड र सुनसान स्थितिले हाम्रो दिनका लागि के चित्रित गरेको थियो?
१९ यहोवाले यो न्याय कार्यान्वयन कसरी गर्नु हुनेछ? यसको उदाहरण हामी त्यस बेलाको घटनाबाट लिन सक्छौं जब प्राचीन समयमा यहोवाले आफ्नै धर्मत्यागी जातिको विरुद्धमा कदम चाल्नु भएको थियो। उहाँले त्यस जातिबारे यसो भन्नु भयो: “यरूशलेमका अगमवक्ताहरूमा मैले साह्रै घिनलाग्दो कुरा देखें। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चाल चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैं भएका छन्।” (यर्मिया २३:१४) आत्मिक व्यभिचार गर्ने त्यो शहरको ‘वस्त्र उतारेर त्यसका राम्रा राम्रा गहनाहरू लैजान र त्यसलाई नाङ्गै पार्न’ यहोवाले सा.यु.पू. ६०७-मा नबुकदनेसरलाई प्रयोग गर्नु भएको थियो। (इजकिएल २३:४, २६, २९) त्यतिखेरको यरूशलेम आज मसीहीजगतको एउटा नमुना थियो। यरूशलेमलाई दिनु भएको जस्तै सजाय यहोवाले मसीहीजगत र झूटो धर्मको शेष भागलाई पनि दिनु हुनेछ भन्ने कुरा यूहन्नाले पहिले देखेका दर्शनहरूबाट प्रष्ट हुन्छ। निर्धन र लाजमर्दोगरी उदाङ्ग तुल्याइ सकेपछि मसीहीजगत कस्तो देखिनेछ, त्यसको एक झलक सा.यु.पू. ६०७ पछि यरूशलेमको उजाड र सुनसान अवस्थामा देख्न सकिन्छ। यस्तै गति अन्ततः महान बेबिलोनको शेष भागको पनि हुनेछ।
२०. (क) यहोवाले आफ्नो न्याय कार्यान्वयन गर्नु हुँदा फेरि मानव शासकहरू नै प्रयोग गर्नु हुनेछ भनेर यूहन्नाले कसरी प्रदर्शित गर्छन्? (ख) परमेश्वरको त्यो “वचन” के हो? (ग) राष्ट्रहरूले तिनीहरूको आफ्नो “मन”-को विचारलाई कसरी पूरा गर्नेछन् र त्यो खासमा कसको विचार हुनेछ?
२० आफ्नो न्याय कार्यान्वयन गर्न यहोवाले फेरि मानव शासकहरूलाई नै प्रयोग गर्नुहुन्छ। “किनकि परमेश्वरका वचन पूरा नहोउञ्जेल त्यसको इच्छाबमोजिम गर्न र एकै मनका हुन र त्यस जनावरलाई तिनीहरूका राज्य दिनलाई परमेश्वरले तिनीहरूलाई त्यस्तो मन दिनुभएको हो।” (प्रकाश १७:१७) परमेश्वरको त्यो “वचन” के हो? महान बेबिलोनलाई पूर्णतः नाश गर्नका लागि उसका विनाशकर्ताहरूलाई एकत्रित गराउने वचन हो त्यो। तथापि, ती राष्ट्रहरूले चाहिं आफ्नै “मन”को विचार पूरा गर्न महान बेबिलोनमाथि आक्रमण गर्नेछन्। त्यो महा वेश्यामाथि जाइ लाग्नु तिनीहरूकै राष्ट्रिय हितका लागि हो भनी तिनीहरू ठान्ने छन्। तिनीहरू सोच्नेछन् आफ्नो प्रदेशभित्र सङ्गठित धर्मलाई ठाउँ दिनु राष्ट्रिय सार्वभौमिकताका लागि खतरा हो। तर घटनाक्रमलाई खास मोड त पछाडिबाट यहोवाले नै दिनु हुनेछ; ती शासकहरूले परमेश्वरको त्यो पुरानो र व्यभिचारी दुश्मनलाई एकै चोटमा खतम पार्दा तिनीहरूले यहोवाकै वचन पूरा गरिरहेका हुनेछन्!—यर्मिया ७:८-११, ३४-तुलना गर्नुहोस्।
२१. महान बेबिलोनलाई नष्ट गर्दा रातो रङ्गको जनावर प्रयोग हुने भएकोले संयुक्त राष्ट्र संघलाई राष्ट्रहरूले मिलेर स्पष्टतः के गर्नेछन्?
२१ हो, महान बेबिलोनलाई नष्ट पार्दा राष्ट्रहरूले त्यही रातो रङ्गको जनावर अर्थात् संयुक्त राष्ट्र संघलाई नै प्रयोग गर्नेछन्। तिनीहरूले यो आफ्नै मनले गर्ने छैनन्। यहोवाले नै तिनीहरूलाई “एकै मनका हुन र त्यस जनावरलाई तिनीहरूका राज्य दिने . . . मन दिनु हुनेछ।” ठीक समय आइपुग्दा राष्ट्रहरूले संयुक्त राष्ट्र संघलाई बलियो पार्ने आवश्यकता देख्नेछन्। तिनीहरूले त्यसलाई दाँत दिएजस्तै हुनेछ अर्थात् आफ्नो भएभरको अख्तियार र शक्ति तिनीहरूले संयुक्त राष्ट्रलाई दिनेछन्। यसले गर्दा “परमेश्वरका वचन पूरा नहोउञ्जेल” झूटो धर्मसित अन्तसम्मै सफलतापूर्वक युद्ध गर्न संयुक्त राष्ट्र संघ सक्षम हुनेछ। यसप्रकार त्यो प्राचीन वेश्याको अन्त हुनेछ!
२२. (क) प्रकाश १७:१८-मा स्वर्गदूतले आफ्नो गवाही समाप्त गर्ने विधिबाट के बोध हुन्छ? (ख) यो रहस्य उघारिन्दा यहोवाका साक्षीहरूले आफ्नो प्रतिक्रिया कसरी व्यक्त गर्छन्?
२२ झूटो धर्मको साम्राज्यमाथि यहोवाले निश्चय नै आफ्नो न्याय कार्यान्वयन गर्नु हुनेछ भनेर मानौं पुष्टि दिंदै स्वर्गदूतले आफ्नो गवाही यसो भन्दै टुङ्गयाउँछन्: “तिमीले देखेका त्यो स्त्रीचाहिं त्यो महान शहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज्य गर्छ।” (प्रकाश १७:१८) बेलसजरको समयको बेबिलोनझैं, महान बेबिलोन पनि ‘तराजुमा जोखिंदा हलुङ्गो ठहरिएको छ।’ (दानियल ५:२७, द न्यु इङ्गलिश बाइबल) उसको विनाश चाँडो र आखिरी हुनेछ। त्यस महा वेश्या र चहकिलो रातो रङ्गको जनावरको रहस्य खुलेको देख्दा यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्? तिनीहरू जोशिलो भएर यहोवाको न्यायको दिन घोषणा गर्छन्। तर साँचो हृदयसाथ सत्य खोज्नेहरूलाई चाहिं “अनुग्रहसहितको” जवाफ दिन्छन्। (कलस्सी ४:५, ६; प्रकाश १७:३, ७) महा वेश्या नष्ट हुँदा बाँच्न चाहनेहरूले चाँडै, हो तुरुन्तै कदम चाल्नु पर्छ! र यही कुरा हामी आउँदो अध्यायमा बुझ्नेछौं।
[पृष्ठ २५२-मा भएको चित्र]
सात विश्व-शक्तिहरूको क्रम
मिस्र
अश्शूर
बेबिलोन
मादी -फारसी
युनान
रोम
एङ्गलो -अमेरिका
[पृष्ठ २५४-मा भएको चित्र]
“त्यो आफै पनि . . . एउटा आठौं राजा हो।”
[पृष्ठ २५५-मा भएको चित्र]
थुमाको उपेक्षा गर्दै तिनीहरूले “आफ्ना शक्ति र अख्तियार त्यस जनावरलाई दिन्छन्।”
[पृष्ठ २५७-मा भएको चित्र]
प्राचीन यरूशलेम जस्तै महान बेबिलोनको मुख्य भाग मसीहीजगत पनि सम्पूर्णतः ध्वस्त हुनेछ।
-
-
महान शहरको विध्वंसप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
अध्याय ३६
महान शहरको विध्वंस
-