-
के ईश्वर तपाईंको वास्ता गर्नुहुन्छ?प्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?
के ईश्वर तपाईंको वास्ता गर्नुहुन्छ?
“म त गरिब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्।”a—इस्राएल राष्ट्रका दाऊद, येशू जन्मनुभन्दा झन्डै १,१०० वर्षअघि।
“जाति-जाति त बाल्टीको एक थोपो पानीजस्तै छन्।”—यशैया ४०:१५, NRV
दाऊद आफूलाई ईश्वरले वास्ता गरून् भन्ने चाहन्थे। के तिनको चाहना उचित थियो? के ईश्वर तपाईंको वास्ता गर्नुहुन्छ? सर्वशक्तिमान् ईश्वरले मानिसको वास्ता गर्नुहुन्छ भनेर विश्वास गर्न थुप्रैलाई गाह्रो लाग्छ। किन?
एउटा कारण, ईश्वर मानिसहरूभन्दा कता हो कता उच्च हुनुहुन्छ। उहाँको नजरमा मानिसहरू “बाल्टीको एक थोपो पानीजस्तै छन्। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्तै छन्।” (यशैया ४०:१५) ईश्वरमा विश्वास नगर्ने एक जना लेखकले यस्तो समेत लेखे: “ईश्वरले म अनि मेरो कार्यमा व्यक्तिगत चासो राख्नुहुन्छ, उहाँले मलाई जुनसुकै अवस्थामा तुरुन्तै मदत गर्नुहुन्छ भनी कसैले भन्छ भने त्यो उसको घमन्ड हो।”
अर्कोतर्फ, कोही-कोही भने आफ्ना गल्तीहरूको कारण आफूलाई ईश्वरको निगाह पाउन अयोग्य सम्झन्छन्। उदाहरणको लागि, जिम नाम गरेका एक अधबैंसे व्यक्ति यसो भन्छन्: “शान्त रहन र आफैलाई वशमा राख्न सकूँ भनेर मैले धेरै प्रार्थना गरें। तर जति गरे नि मेरो रिसाउने बानी जाँदै गएन। त्यसैले म त साह्रै नराम्रो मान्छे रहेछु, ईश्वरले पनि मलाई केही मदत गर्न सक्नुहुन्न जस्तो लाग्यो।”
के ईश्वर मानिसजातिबाट असाध्यै टाढा हुनुहुन्छ? उहाँ हाम्रो वास्तै गर्नुहुन्न? त्रुटिपूर्ण मानिसहरूलाई उहाँ कुन दृष्टिले हेर्नुहुन्छ? ईश्वरले नै आफ्नो विषयमा बताउनु नभएसम्म कुनै मानिसले यी प्रश्नहरूको सही जवाफ दिन सक्दैन। तर ईश्वरले मानिसजातिलाई दिनुभएको किताब बाइबलले हामीलाई यो कुरामा विश्वस्त बनाएको छ: उहाँ मानिसहरूमा चासो नराख्ने टाढाको व्यक्ति हुनुहुन्न। “भनौं भने, उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न” भनी बाइबल बताउँछ। (प्रेषित १७:२७) यसपछिका चार वटा लेखहरूमा आफूले मानिसहरूमा राख्ने चासोबारे ईश्वरले के भन्नुभएको छ र हामीजस्तै मानिसहरूलाई उहाँले कसरी चासो देखाउनुभएको छ भनेर विचार गर्नेछौं।
-
-
ईश्वर तपाईंमाथि नजर राख्नुहुन्छप्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?
ईश्वर तपाईंमाथि नजर राख्नुहुन्छ
‘ईश्वरको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिंडेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ।’—अय्यूब ३४:२१.
हुर्किसकेका छोराछोरीको भन्दा स-साना छोराछोरीको झन् धेरै ख्याल राख्नुपर्ने हुन्छ
कोही-कोही किन शङ्का गर्छन्? हालै गरिएको अध्ययनअनुसार आकाशगङ्गा भनिने हाम्रो तारापुञ्जमा कम्तीमा एक खरब ग्रहहरू छन्। ब्रह्माण्डको विशालतालाई विचार गर्दा थुप्रै मानिसहरू यस्तो प्रश्न सोध्छन्: ‘यस्तो विशाल ब्रह्माण्ड सृष्टि गर्ने सर्वशक्तिमान् ईश्वरले बालुवाको कणजत्रो पृथ्वीमा रहेका तुच्छ मानिसहरूमाथि नजर राख्नुहोला र?’
ईश्वरको वचन के भन्छ? ईश्वरले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ। तर उहाँले यति मात्र गर्नुभएको छैन। ईश्वर यहोवाa यस कुरामा हामीलाई ढुक्क बनाउनुहुन्छ: “तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भजन ३२:८.
उदाहरणको लागि हागार नाम गरेकी स्त्रीलाई लिनुहोस्। तिनी येशू जन्मनुभन्दा झन्डै १९०० वर्षअघि मिश्र देशमा बस्थिन्। हागारले आफ्नी मालिक्नी साराईको अनादर गरेकी हुनाले साराईले तिनीसित कठोर व्यवहार गर्न थालिन्। त्यसैले हागार जङ्गलतिर भागेर गइन्। हागारले गल्ती गरिन् भन्दैमा के ईश्वरले तिनको वास्ता गर्न छोडिदिनुभयो? बाइबल यसो भन्छ: ‘ईश्वरका दूतले हागारलाई भेट्टाए।’ ती दूतले तिनलाई यसो भन्दै ढुक्क बनाए: ‘यहोवाले तेरो दुःख हेर्नुभएको छ।’ त्यसपछि हागारले यहोवालाई यसो भनिन्: ‘मलाई देख्नुहुने ईश्वर तपाईं हुनुहुन्छ।’—उत्पत्ति १६:४-१३, NRV
‘हागारलाई देख्नुहुने ईश्वरले’ तपाईंमाथि पनि नजर राख्नुहुन्छ। एक मायालु आमाको उदाहरण विचार गर्नुहोस्। तिनी विशेषगरि आफ्ना स-साना छोराछोरीमाथि नजर राख्छिन् किनभने हुर्किसकेका छोराछोरीको भन्दा स-साना छोराछोरीको धेरै ख्याल राख्नुपर्ने हुन्छ। त्यसैगरि हामी पनि कमजोर अवस्थामा हुँदा ईश्वरले हाम्रो झन् धेरै ख्याल राख्नुहुन्छ। ईश्वर यहोवा यसो भन्नुहुन्छ: “म उच्च र पवित्र ठाउँमा बस्तछु, औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन, म नम्र र चूर्ण मन भएकोसँग पनि बस्तछु।”—यशैया ५७:१५.
तर तपाईंको मनमा यस्तो प्रश्न आउन सक्छ: ‘ईश्वरले ममाथि कसरी नजर राख्नुहुन्छ? उहाँ मेरो बाहिरी रूप मात्र हेर्नुहुन्छ कि? अथवा मेरो भित्री मन पनि हेर्नुहुन्छ र म वास्तवमा कस्तो व्यक्ति हुँ भनेर बुझ्नुहुन्छ?’
a बाइबलमा बताइएअनुसार ईश्वरको नाम यहोवा हो।
-
-
ईश्वर तपाईंलाई बुझ्नुहुन्छप्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?
ईश्वर तपाईंलाई बुझ्नुहुन्छ
“हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्नुभएको छ।”—भजन १३९:१.
“मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए।”—भजन १३९:१६
कोही-कोही किन शङ्का गर्छन्? हामी ईश्वरको नजरमा पापी र अशुद्ध छौं अनि उहाँको कृपा पाउन योग्य छैनौं भनी थुप्रै मानिस सोच्ने गर्छन्। अमेरिकामा बस्ने केन्द्र नाम गरेकी एक स्त्रीलाई लिनुहोस्। तिनी डिप्रेसनको सिकार भइन् किनभने ईश्वरले चाहनुभए अनुसार आफूले गर्न नसकेको जस्तो तिनलाई लाग्थ्यो। तिनले आफूलाई असाध्यै दोषी महसुस गरिन्। परिणाम? तिनी भन्छिन्, “मैले प्रार्थना गर्नै छोडिदिएँ।”
ईश्वरको वचन के भन्छ? यहोवा हाम्रा त्रुटिहरू मात्र हेर्नुहुन्न। बरु उहाँ हाम्रो मन हेर्नुहुन्छ र हामी वास्तवमा कस्ता व्यक्ति हौं, बुझ्नुहुन्छ। बाइबल यसो भन्छ: “उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।” साथै उहाँ हामीसित ‘हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न’ बरु हामीले पश्चात्ताप गर्दा दयालु भई हामीलाई क्षमा दिनुहुन्छ।—भजन १०३:१०, १४.
यस पत्रिकाको पहिलो लेखमा उल्लेख गरिएका इस्राएलका राजा दाऊदको उदाहरण विचार गरौं। तिनले ईश्वरलाई प्रार्थनामा यसो भने: ‘मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, मेरा सबै अङ्ग जो दिनदिन बनिंदै आएका थिए, तपाईंका पुस्तकमा ती लेखिएका थिए। हे ईश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदय बुझ्नुहोस्।’ (भजन १३९:१६, २३) दाऊदले आफ्नो जीवनमा केही गम्भीर पाप समेत गरेका थिए। तैपनि पश्चात्ताप गरेमा यहोवाले तिनको हृदयको अवस्था बुझ्नुहुनेछ भन्ने कुरामा दाऊद विश्वस्त थिए।
अरू कुनै व्यक्तिले भन्दा यहोवाले हामीलाई सबैभन्दा राम्ररी बुझ्नुहुन्छ। बाइबल यसो भन्छ: “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) हामीबाट भएका गल्तीहरूका पछाडि कस्ता कारणहरू लुकेका छन्, ईश्वरले बुझ्नुहुन्छ। वंशानुगत गुण, हामी हुर्किएको वातावरण, हाम्रो अहिलेको परिस्थिति र हाम्रो व्यक्तित्वजस्ता कुराहरूले हामीले गर्ने व्यवहारमा असर गर्छ भनी ईश्वर राम्ररी बुझ्नुहुन्छ। गल्ती गरे तापनि असल व्यक्ति बन्न हामीले गरेको प्रयासलाई उहाँले याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ।
ईश्वर हामीलाई राम्ररी बुझ्नुहुन्छ। अनि उहाँ आफूले बुझेको कुरा हामीलाई सान्त्वना दिन पनि प्रयोग गर्नुहुन्छ। कसरी?
-
-
ईश्वर तपाईंलाई सान्त्वना दिनुहुन्छप्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?
ईश्वर तपाईंलाई सान्त्वना दिनुहुन्छ
‘निराश भएकाहरूलाई सान्त्वना दिनुहुने ईश्वरले हामीलाई सान्त्वना दिनुभयो।’—२ कोरिन्थी ७:६.
‘ईश्वरको छोराले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’—गलाती २:२०
कोही-कोही किन शङ्का गर्छन्? आफूलाई सान्त्वनाको निकै खाँचो पर्दा पनि केही व्यक्तिहरू ईश्वरलाई मदत माग्दैनन्। तिनीहरूको विचारमा आफ्ना समस्याहरूसित लड्न ईश्वरलाई मदत माग्नु भनेको स्वार्थी हुनु हो। राकेल नाम गरेकी एक महिला यसो भन्छिन्: “संसारमा गम्भीर समस्या सामना गरिरहेका थुप्रै मानिस छन्। तिनीहरूको समस्याको दाँजोमा मलाई आफ्नो समस्या साह्रै सानो लाग्छ, त्यसैले ईश्वरलाई मदत माग्न पनि अप्ठेरो लाग्छ।”
ईश्वरको वचन के भन्छ? मानिसहरूलाई मदत गर्न र सान्त्वना दिन ईश्वरले एउटा महत्त्वपूर्ण कदम चालिसक्नुभयो। सबै मानिस जन्मजात पापी छन्। मतलब, कोही पनि मानिस ईश्वरको स्तरअनुरूप शतप्रतिशत चल्न सक्दैन। तर ईश्वरले ‘हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको प्रायश्चितको बलिदानको रूपमा उहाँले आफ्नो छोरा येशू ख्रीष्टलाई पठाउनुभयो।’ (१ यूहन्ना ४:१०) ईश्वरले येशूको बलिदानको प्रबन्ध गर्नुभएको हुँदा हामीले पापको क्षमा, सफा अन्तस्करण र शान्त नयाँ संसारमा अनन्त जीवनको आशा पाउन सकेका छौं।a यो बलिदान एकैचोटि सम्पूर्ण मानिसजातिको निम्ति चढाइएको थियो। तर यो बलिदानले ईश्वर तपाईंमा व्यक्तिगत चासो लिनुहुन्छ भन्ने कुराको प्रमाण पनि दिन्छ।
प्रेषित पावलको उदाहरण विचार गरौं। येशू ख्रीष्टको बलिदानले तिनको मनमा गहिरो छाप पारेको हुँदा तिनले यसो लेखे: ‘म ईश्वरको छोरामाथि विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो।’ (गलाती २:२०) वास्तवमा पावल ख्रीष्टियन बन्नु अघि नै येशू ख्रीष्टको मृत्यु भइसकेको थियो। तैपनि येशूको बलिदान ईश्वरले तिनलाई दिनुभएको व्यक्तिगत उपहार हो भनी पावलले सम्झे।
येशू ख्रीष्टको बलिदान ईश्वरले तपाईंलाई पनि दिनुभएको व्यक्तिगत उपहार हो। यो उपहारले ईश्वर तपाईंलाई अमूल्य ठान्नुहुन्छ भनी देखाउँछ। यसले तपाईंलाई “चिरस्थायी सान्त्वना र उज्जवल आशा” दिन्छ र “हरेक असल काम अनि वचनका लागि दृढ” बनाउँछ।—२ थिस्सलोनिकी २:१६, १७.
तर येशू ख्रीष्टले आफ्नो जीवन बलिदानको रूपमा झन्डै २,००० वर्षअघि चढाउनुभएको थियो। त्यसोभए ईश्वर आज पनि तपाईंसित नजिकिन खोज्दै हुनुहुन्छ भन्ने कुराको केही प्रमाण छ त?
a येशूको बलिदानबारे अझ धेरै बुझ्नको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ हेर्नुहोस्।
-
-
ईश्वर तपाईंसित नजिकिन चाहनुहुन्छप्रहरीधरहरा—२०१४ | अगस्त १
-
-
आवरण लेख | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?
ईश्वर तपाईंसित नजिकिन चाहनुहुन्छ
“मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।”—यूहन्ना ६:४४.
कोही-कोही किन शङ्का गर्छन्? ईश्वरमा विश्वास गर्ने मानिसहरू धेरै छन् तैपनि तिनीहरू उहाँबाट टाढा भएको महसुस गर्छन्। हरेक हप्ता चर्च धाउने आयरल्याण्डकी एक महिला क्रिस्टिना यसो भन्छिन्: “ईश्वर त सबै कुरा सृष्टि गर्ने व्यक्ति मात्र हो जस्तो मलाई लाग्थ्यो। मैले उहाँलाई राम्ररी चिनेकै थिइनँ। उहाँसित कहिल्यै नजिक महसुस गरिनँ।”
ईश्वरको वचन के भन्छ? हामीले एक्लो वा बेसहारा महसुस गर्दा यहोवा हामीलाई मदत गर्न छोड्नुहुन्न। ईश्वरले हाम्रो हेरचाह गर्नुहुन्छ भन्ने कुरालाई येशूले एउटा उदाहरण चलाएर यसरी बताउनुभयो: “यदि कुनै मानिसको सय वटा भेडा छन् र तीमध्ये एउटाले बाटो बिरायो भने उनान्सयलाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडो खोज्न जाँदैन र?” यसबाट हामी के पाठ सिक्छौं? “त्यसैगरि, स्वर्गमा बस्नुहुने मेरो बुबा यी सानाहरूमध्ये कसैले पनि बाटो बिराएको चाहनुहुन्न।”—मत्ती १८:१२-१४.
“यी सानाहरूमध्ये” सबै जना ईश्वरको नजरमा अमूल्य छन्। त्यसोभए ईश्वरले ‘बाटो बिराउने एउटालाई’ कसरी खोज्नुहुन्छ? यस पृष्ठमा चित्रको माथि उल्लेख गरिएको शास्त्रपदमा बताइएजस्तै ईश्वर यहोवा मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ।
आज मानिसहरूको घर-घरमा वा सार्वजनिक ठाउँहरूमा गएर ईश्वरको विषयमा बाइबलको सन्देश कसले सुनाउँदै छन्?
ईश्वरले मानिसहरूलाई आफूतिर खिच्न कस्ता कदमहरू चाल्नुभएको छ, विचार गरौं। प्रथम शताब्दीमा एक जना इथियोपियाली अफिसर बाइबल भविष्यवाणीको एउटा भाग पढ्दै आफ्नो रथमा यात्रा गर्दै थिए। तिनलाई गएर भेट्न र तिनले पढिरहेको भविष्यवाणीको अर्थ बुझाइदिन ईश्वरले एक जना ख्रीष्टियन फिलिपलाई पठाउनुभयो। (प्रेषित ८:२६-३९) अर्को एउटा विवरण पनि विचार गर्नुहोस्। कर्नीलियस नाम गरेका एक रोमी अफिसर निरन्तर प्रार्थना गर्थे र सही तरिकामा ईश्वरको उपासना गर्न कडा प्रयास गर्थे। ईश्वरले प्रेषित पत्रुसलाई तिनको घरमा गएर तिनलाई मदत गर्न अह्राउनुभयो। (प्रेषित १०:१-४८) साथै, ईश्वरले प्रेषित पावल र तिनका सहयोगीहरूलाई फिलिप्पी भन्ने सहरबाहिर एउटा नदीतिर पठाउनुभयो। त्यहाँ तिनीहरूले ‘ईश्वरको उपासना’ गर्ने लिडिया नाम गरेकी एक स्त्रीलाई भेटे। लिडियाले “ध्यान दिएर सुनून् भनेर यहोवाले उनको मन खोलिदिनुभयो।”—प्रेषित १६:९-१५.
माथि दिइएका विवरणहरूबाट हामी के सिक्न सक्छौं? ईश्वर यहोवाको खोजी गर्ने सबै मानिसले उहाँलाई चिन्ने मौका पाएको उहाँ चाहनुहुन्छ। आज मानिसहरूको घर-घरमा वा सार्वजनिक ठाउँहरूमा गएर ईश्वरको विषयमा बाइबलको सन्देश कसले सुनाउँदै छन्? धेरै मानिसको जवाफ यस्तो छ, ‘यहोवाका साक्षीहरूले।’ आफैलाई सोध्नुहोस्, ‘यहोवाका साक्षीहरूलाई चलाउँदै ईश्वर मसित नजिकिन खोज्दै हुनुहुन्छ कि?’ ईश्वरले तपाईंसित नजिकिन कदम चाल्नुभएको छ। आफूले पनि उहाँले चाहेअनुसारै गर्न सकूँ भनेर प्रार्थना गर्न हामी तपाईंलाई आग्रह गर्छौं।a
a थप जानकारीको लागि www.jw.org/ne मा बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियो क्लिप हेर्नुहोस्।
-