प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ९/८ पृ. १९-२३
  • मैले प्रसव-उदासीनताको सामना गरें

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले प्रसव-उदासीनताको सामना गरें
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूलाई परेको असरबारे मेरो पति बताउनुहुन्छ
  • निको हुने बाटोतर्फ
  • परिवार तथा मित्रहरूबाट मायालु मदत
  • यो आजन्म रहँदैन!
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ९/८ पृ. १९-२३

मैले प्रसव-उदासीनताको सामना गरें

मलाई सम्झना छ, मेरो श्रीमान्‌ हाम्री भर्खरै जन्मेकी छोरीसित दङ्‌ग पर्दै खेलिरहनुभएको थियो। मेरो मनमा चाहिं आफू तिनीहरूको खुसीको बाधक बनिरहेको सोचाइ आइरहेको थियो। म तिनीहरूको लागि बोझ भइरहेको महसुस भयो। म फेरि कहिल्यै नफर्किने गरी कार हाँकेर जान चाहन्थें। आफू प्रसव-उदासिनताबाट पीडित भएको मलाई पत्तै थिएन।a

विवाहको दस वर्ष मेरो लागि खुसीका दिनहरू थिए। हाम्री जेठी छोरी लिएनालाई हुर्काउँदै जेसन र म आनन्दित जीवन बिताइरहेका थियौं। त्यसैले म पुनः गर्भवती भएको खबरले सबैलाई औधी हर्षित तुल्याएको थियो।

तर यस पटकको गर्भधारण मेरो लागि ज्यादै कष्टकर भयो। साँच्चै भन्‍ने हो भने, बच्चा जन्मेपछि उत्पन्‍न भएका धेरै जटिलताहरूले गर्दा म मर्नै आँटेकी थिएँ। तर गर्भावस्थाको अन्ततिर मेरो मनमा निकै व्याकुलता छाएको थियो। हाम्री सानी छोरी कार्लीलाई अस्पतालबाट घर ल्याइसकेपछि त मेरो व्याकुलता झन्‌ तीव्र हुन थाल्यो। म हरबखत थाकेकी हुन्थें र मैले सामान्य निर्णयहरूसमेत गर्न सकिनँ। आफूले गर्नुपर्ने हरेक घरधन्दाबारे सोध्न वा आफूले गरेको वा भनेको स-साना कुराहरूमा पनि जेसनको राय बुझ्न मैले घरी-घरी उहाँको कार्यालयमा फोन गर्न थालें।

मलाई अरू मानिसहरूका साथै आफ्ना पुराना साथीहरूसित समेत बस्न डर लाग्न थाल्यो। अप्रत्याशित रूपमा घरको ढोकामा कोही आइहाल्यो भने म सुत्ने कोठामा लुक्थें। मैले घरलाई लथालिङ्‌ग छोड्‌न थालें। म कुनै पनि कुरामा ध्यान केन्द्रित गर्नै नसक्ने भएँ अनि सानोतिनो कुरामा पनि सजिलै अलमलिन्थें। म पढ्‌न भनेपछि हुरुक्कै हुने व्यक्‍ति थिएँ तर पढाइ त मेरो लागि असम्भवै हुन थाल्यो किनभने म ध्यान दिनै सक्दिनथें। मलाई प्रार्थना गर्न निकै गाह्रो हुन्थ्यो। त्यसैले मेरो आध्यात्मिक स्वास्थ्य पनि प्रभावित भयो। म भावशून्य भएँ, कसैलाई पनि प्रेम गर्न सकिनँ। मेरो दिमागले राम्ररी काम नगरेको हुनाले मेरा बच्चाहरूलाई केही होला कि भन्‍ने डर लागिरहन्थ्यो। मेरो आत्मसम्मान खस्कियो। मैले आफूलाई विक्षिप्त महसुस गरें।

त्यसबेला जेसन कामबाट घर फर्केपछि घर सफा गरिदिएर वा परिवारको लागि खाना पकाइदिएर मलाई सघाउने गर्नुहुन्थ्यो। तर उहाँले त्यसरी सघाउनु भएकोमा म रिसाउने गर्थें! मलाई लाग्थ्यो, उहाँका ती कार्यहरूले मलाई एउटा असक्षम आमाको रूपमा प्रस्तुत गरिरहेको छ। अर्कोतिर, यदि उहाँले मलाई सघाउनु भएन भने म उहाँलाई मलाई पटक्कै वास्ता नगरेको आरोप लगाउने गर्थें। त्यतिखेर जेसनले कामकुरालाई परिपक्वता अनि मायालु तरिकामा नसम्हाल्नुभएको भए मेरो प्रसव-उदासीनताले हाम्रो वैवाहिक सम्बन्धलाई धाराशायी बनाउने थियो। मेरो अवस्थाले जेसनलाई पारेको असरबारे उहाँले नै अझ राम्ररी वर्णन गर्न सक्नुहुन्छ।

आफूलाई परेको असरबारे मेरो पति बताउनुहुन्छ

“पहिला त जेनललाई के भएको हो भनेर मैले बुझ्नै सकिनँ। सधैं हाँसखेल गरिरहने तिनको स्वभावमा पूर्णतया परिवर्तन आयो। तिनले बिलकुल भिन्‍नै व्यक्‍तिको जस्तो व्यवहार देखाउनुका साथै मेरो हरेक कुरालाई तिनले आफ्नो आलोचना सम्झन थालिन्‌। अनि तिनको कामको बोझ हल्का गर्ने कोसिस गर्दासमेत तिनी रिसले पड्‌किन्थिन्‌। सुरुमा त मलाई, तिनले आफ्ना भावनाहरूलाई काबूमा राख्नुपर्छ भनेर भनुँकी जस्तो लाग्यो तर पछि परिस्थिति बिग्रनु सिवाय अरू केही हुने छैन भनी मैले विचार गरें।

“हाम्रो सम्बन्ध तनाउग्रस्त थियो। जेनललाई सारा संसार नै तिनको विरुद्ध खडा भइरहेको छजस्तो लाग्थ्यो। प्रसव-उदासीनताले गर्दा यस्ता लक्षणहरू भोगिरहेका अन्य महिलाहरूबारे पनि मैले सुनेको थिएँ। कतै तिनलाई पनि यही समस्याले पो पिरोलिरहेको छ कि भन्‍ने शंका मलाई लाग्न थाल्यो। यस समस्याबारे थाह पाउन आफूले सके जति सबै जानकारीहरू पढ्‌न थालें। मेरो शंका सही साबित भयो। जेनलको बिमारी तिनको दोष होइन अर्थात्‌ तिनले गरेको कुनै हेलचेक्य्राइँको परिणाम होइन भनेर पनि मैले बुझें।

“हो, तिनीलगायत बच्चाहरूलाई समेत मैले थप ध्यान दिनुपर्ने भएकोले म भावनात्मक अनि शारीरिक रूपमा थकित भएँ। दुई वर्षसम्म त मैले आफ्नो जागिर र प्राचीन अनि पति र पिताको हैसियतमा निभाउनुपर्ने सबै जिम्मेवारीबीच तालमेल मिलाउनुपऱ्‍यो। खुसीको कुरा, विशेष गरी साँझपख हामी मण्डलीका सभाहरूमा उपस्थित हुन घरमा छिट्टै आउनको लागि मैले आफ्नो जागिरमा काँटछाँट गर्न सकें। खाना पकाउन र बच्चाहरूलाई तयार पारिदिन जेनललाई मेरो मदत चाहिन्थ्यो। फलतः हामी स-परिवार सभा धाउन सक्थ्यौं।”

निको हुने बाटोतर्फ

मेरो श्रीमान्‌को मायालु सहयोगविना म कुनै पनि हालतमा यति छिटो निको हुन सक्ने थिइनँ। मभित्र गुम्सिएका डरका भावनाहरू जेसनलाई बताउँदा उहाँले झर्को नमानी सुन्‍नुहुन्थ्यो। आफ्ना भावनाहरूलाई कदापि मनमा दबाएर राख्न नहुने कुराको महत्त्व पनि मैले राम्ररी बुझें। कहिलेकाहीं म निकै रिसाउने गर्थें। तर उहाँले मलाई निरन्तर प्रेम गर्नुभयो अनि यो समस्या मेरो मात्र नभई सम्पूर्ण परिवारकै हो भनी मलाई सान्त्वना दिने गर्नुहुन्थ्यो। उहाँ, सधैं कुनै पनि कुराको सकारात्मक पक्ष हेर्न मलाई मदत गर्ने कोसिस गर्नुहुन्थ्यो। पछि आफूले रिसको झोकमा भनेका कुराहरूको लागि म उहाँसित माफी माग्ने गर्थें। उहाँ, यो सबै मेरो बिमारीको कारण भएको हो भनेर मलाई आश्‍वासन दिने गर्नुहुन्थ्यो। अहिले ती दिनहरू सम्झदा उहाँका ती विचारशील टिप्पणीहरूले मेरो लागि कति अर्थ राखेको रहेछ भनी म महसुस गर्छु।

अन्तमा हामी दुवैले असाध्यै राम्रो चिकित्सक भेट्टायौं जसले मेरा भावनाहरू समय दिएर सुनिदिनुभयो। चिकित्सकले मलाई प्रसव-उदासीनता भएको कुरा पत्ता लगाए। अनि मेरो उपचारमा मलाई घरी-घरी आक्रमण गर्ने नैराश्‍यलाई नियन्त्रण गर्ने औषधी पनि समावेश थियो। उहाँले मानसिक स्वास्थ्य विषेशज्ञको मदत लिन पनि मलाई प्रोत्साहित गर्नुभयो। त्यसको अतिरिक्‍त उहाँले मलाई नियमित रूपमा व्यायाम गर्न पनि सल्लाह दिनुभयो। व्यायाम एउटा यस्तो उपचार हो जसले धेरैलाई नैराश्‍य विरुद्ध लड्‌न मदत गरेको छ।

निको हुने क्रममा मैले सामना गर्नुपरेको सबैभन्दा ठूलो अवरोध प्रसव-उदासीनतासित जोडिएको अपमान हो। आफूले बुझ्दै नबुझेको रोग लागेको व्यक्‍तिलाई दया देखाउनु मानिसहरूलाई अक्सर गाह्रो हुन्छ। प्रसव-उदासीनता भनेको खुट्टा भाँचिएको जस्तो होइन जसलाई मानिसहरूले देख्न सक्छन्‌ र सान्त्वना दिन्छन्‌। यद्यपि, मेरो परिवार अनि घनिष्ठ साथीहरू मेरो लागि साँच्चै सहयोगी अनि समझदार साबित भए।

परिवार तथा मित्रहरूबाट मायालु मदत

मेरी आमाले यस कठिन समयमा दिनुभएको मदतको लागि जेसन र मैले उहाँलाई धेरै मूल्याकंन व्यक्‍त गऱ्‍यौं। कहिलेकाहीं घरको भावानात्मक उथलपुथलबाट जेसनलाई आरामको आवश्‍यकता पर्थ्यो। आमा सधैं नै मेरो लागि प्रोत्साहनदायी साबित हुनुभयो। उहाँले मलाई केही पनि गर्न नदिएर आफै मात्र सबै गर्न खोज्नु भएन। बरु, उहाँले मलाई सहयोग गर्नुभयो अनि मलाई सकेजति गर्न प्रोत्साहन दिनुभयो।

मण्डलीका साथीहरू पनि अति मदतगार साबित भए। तिनीहरूले मबारे सोचिरहेका छन्‌ भनी स-साना टिपोटहरू पठाए। ती मायाका अभिव्यक्‍तिहरू मेरा लागि कत्ति अर्थपूर्ण थिए! त्यसबेला मलाई टेलिफोनमा वा मानिसहरूसित आमने-सामने कुरा गर्न साह्रै गाह्रो पर्ने भएकोले कागजमा लेखिएका ती अभिव्यक्‍तिहरू मेरा लागि साँच्चै अर्थपूर्ण थिए। आफ्ना संगी मसीहीहरूसित सभा अघि अनि पछि संगति गर्नसमेत मलाई साह्रै गाह्रो पर्थ्यो। त्यसैले ती टिपोटहरू पठाएर मेरा साथीहरूले मेरो उदासीनताको सीमितताहरूलाई मात्र बुझ्नुको अलावा तिनीहरूले म अनि मेरो परिवारप्रतिको आफ्नो प्रेम अनि चासोलाई पनि प्रमाणित गरेर देखाइदिए।

यो आजन्म रहँदैन!

मेरो चिकित्सकको सल्लाह, सहयोगी परिवार अनि समझदार साथीहरूले गर्दा अहिले ममा धेरै सुधार आएको छ। म थकित हुँदासमेत अझै नियमित तवरमा व्यायाम गर्छु किनभने यसले मलाई निको हुन मदत गरेको छ। म अरूले दिएको प्रोत्साहनलाई पनि सकारात्मक दृष्टिले लिने कोसिस गर्छु। कठिन समयमा म यहोवाका साक्षीहरूले तयार पारेका आध्यात्मिक अनि भावानात्मक रूपमा उत्थानदायी संगीतहरू अर्थात्‌ बाइबल अनि राज्य गीतका धुनहरूको क्यासेट सुन्छु। यस्ता राम्रा प्रबन्धहरूले मलाई आध्यात्मिक तवरमा बलियो हुन अनि सकारात्मक दृष्टिकोण राख्न मदत गर्छ। हालै, मैले मण्डलीको सभामा पुनः बाइबल आधारित विद्यार्थी भाषण दिन पनि सुरु गरें।

आफ्नो पति, छोरीहरू अनि अरूप्रति प्रेम महसुस गर्ने र व्यक्‍त गर्ने अवस्थासम्म पुग्न मलाई साढेदुई वर्षभन्दा धेरै समय लाग्यो। यो मेरो परिवारको लागि अत्यन्तै कठिन समय भए तापनि हाम्रो पारिवारिक बन्धन अहिले जत्तिको मजबुत पहिले कहिल्यै भएको थिएन। मलाई अपार प्रेम देखाउँदै मेरो तीव्र उदासीनतालाई सहेर अनि मलाई चाहिएको बखतमा मदत गर्न हर हमेशा तयार हुनुभएकोमा विशेष गरी म जेसनप्रति आभारी छु। सबैभन्दा मुख्य कुरा त, हामीलाई परीक्षाको घडीमा साँच्चै बलियो तुल्याउनुहुने यहोवासित अहिले हामी दुवैको अत्यन्तै घनिष्ठ सम्बन्ध स्थापित भएको छ।

अहिले पनि मलाई पूर्णतया उदासीनताले छोडेको छैन। तर मेरो परिवार, डाक्टर, मण्डली अनि यहोवाको पवित्र आत्माको मदतले यस कष्टकर परिस्थितिबाट निको हुने आशाको किरण झन्‌-झनै चहकिलो हुँदैछ। हो, प्रसव-उदासीनता आजन्म रहँदैन। यो हामीले पराजित गर्न सक्ने शत्रु हो।—जनेल मार्सलको वृत्तान्तमा आधारित। (g02 7/22)

[फुटनोट]

a प्रसव-उदासीनतालाई सुत्केरी अवस्थामा हुने उदासीनता पनि भनिन्छ।

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

प्रसव–उदासीनताका सम्भाव्य कारणहरू

हर्मोनसम्बन्धी परिवर्तनहरूको अलावा कहिलेकाहीं प्रसव-उदासीनताका अन्य कारणहरू पनि हुन सक्छन्‌। ती कारणहरूमध्ये केही यसप्रकार छन्‌:

१. बाल्यकाल राम्रोसित नबितेको खण्डमा अनि आमाबाबुसित नराम्रो सम्बन्धको कारण मातृत्वबारे महिलाहरूमा पैदा हुने व्यक्‍तिगत धारणाहरू।

२. समाजले आमाहरूमाथि राख्ने अव्यावहारिक अपेक्षाहरू।

३. पारिवारमा पहिले कसैलाई उदासीनताले सताएको छ भने।

४. विवाहबाट असन्तुष्ट र परिवार वा नातेदारहरूबाट सहयोग प्राप्त नभएमा।

५. खस्किएको आत्मा-सम्मान।

६. स-साना बच्चाहरूको स्याहार सुसारले गर्दा अचाक्ली बोझले दबिएको वा थिचिएको महसुस गर्नु।

यी बुँदाहरूले पक्कै पनि सबै कारणहरूलाई समेट्‌दैन। प्रसव-उदासीनता अन्य कारणहरूले हुन सक्छन्‌। वास्तवमा, यसका कारणहरू अझै पनि पूर्ण रूपले थाह पाउन सकिएको छैन।

[पृष्ठ २१-मा भएको पेटी/चित्र]

“सुत्केरी अवस्थामा हुने सामान्य उदासीनता” भन्दा कता हो कता फरक छ

प्रसव-उदासीनता र सुत्केरी अवस्थामा हुने सामान्य उदासीनता एउटै हो भनेर सोच्नु गलत हो। डा. लोरा जे. मिलर यसो भन्छिन्‌: “सुत्केरी अवस्थामा अक्सर महिलाहरूको स्वभावमा आउने सामान्य परिवर्तनलाई अंग्रेजीमा ‘बेबी ब्लुज’ भनिन्छ। . . . बच्चा जन्माउने करीब ५० प्रतिशत महिलाहरूले रुन मन लाग्ने जस्तो भावनात्मक रूपमा अस्थिर अवस्थाको अनुभव गर्छन्‌। बच्चा जन्मेको तेस्रो र चौथो दिनको बीचमा यस्तो किसिमको उदासीनता एकदमै बढ्‌छ र पछि केही हप्तामा बिस्तारै आफै सेलाउँदै जान्छ।” अनुसन्धाताहरूले दिएको जानकारीअनुसार बच्चा जन्माइसकेपछि महिलाहरूको हर्मोनमा आउने परिवर्तनले यस्तो किसिमको स्वभाव देखापर्छ।

प्रसव-उदासीनता ‘सुत्केरी अवस्थामा हुने सामान्य उदासीनता’ भन्दा बिलकुलै फरक भएकोले प्रसव-उदासीनता बच्चा जन्मेको लगत्तै अथवा केही हप्ता वा महिना पछि पनि देखापर्न सक्छ। प्रसव-उदासीनताबाट पीडित भर्खरै आमा बनेका महिलाहरू एकछिन खुसीले फुरुङ्‌ग हुने र तुरुन्तै निराश भएर आत्महत्यासमेत गर्न सक्छन्‌। साथै, तिनीहरू झोकिने, आक्रोशित हुने र चिढ्‌चिढाउने हुन सक्छन्‌। तिनीहरूले आमाको भूमिका निभाउन आफू असक्षम भएको र बच्चाप्रतिको आफ्नो प्रेममा कमी आएको महसुस गरिरहन सक्छन्‌। डा. मिलर यसो भन्छिन्‌: “चिकित्सकहरूले उदासीनताबाट पीडित भनी ठम्याइसकेका केही आमाहरूमा आफ्नो बच्चाप्रति प्रेम त हुन्छ तर तिनीहरूलाई उदासीनता, जलन वा दिक्दारीले सताइरहेको हुन्छ। अरू कतिपयले आफ्ना बच्चाहरूलाई चोट पुऱ्‍याउने वा मार्ने हदसम्म पनि सोच्न पुग्छन्‌।”

प्रसव-उदासीनताको धेरै पुरानो इतिहास छ। सा.यु.पू. चौथो शताब्दीमा युनानी चिकित्सक हिप्पोक्रेट्‌सले बच्चा जन्माएपछि केही महिलाहरूमा नाटकीय रूपमा मनोवैज्ञानिक रूपमा परिवर्तनहरू देखापर्ने कुरा उल्लेख गरेका छन्‌। ब्राजिलियन जर्नल अफ मेडिकल एण्ड बायोलोजिकल रिसर्च-मा प्रकाशित अध्ययन यसो भन्छ: “अधिकांश देशका १० देखि १५ प्रतिशत महिलाहरूलाई असर गर्ने सुत्केरी अवस्थामा हुने उदासीनतालाई नगण्य समस्या भन्‍न मिल्दैन।” यद्यपि, दुःखको कुरा, “अधिकांश यस्ता उदासीनताहरूको निदान गरिंदैन अनि सही तरिकाले उपचार पनि गरिंदैन,” भनी उक्‍त पत्रिका अझ बताउँछ।

बच्चा जन्मेपछि निकै कम मात्रामा देखापर्ने तर निकै गम्भीर समस्या प्रसव-मनोविकृति हो। पीडितहरूलाई केही घण्टा वा केहि दिन बिराएर होस आउने भए तापनि तिनीहरूको मतिभ्रम, कान नजिकै आएर कोही कराइरहेको जस्तो अनि वास्तविक र काल्पनिक कुरालाई ठम्याउन नसक्ने जस्ता समस्याहरू हुन्छन्‌। यस्तो किसिमको मनोविकृति देखापर्ने कारणहरू स्पष्ट नभए तापनि डा. मिलर यसो भन्छन्‌: “सबैभन्दा सन्दिग्ध कारण वंशानुगत प्रभाव, जसलाई हर्मोनको परिवर्तनले झनै चर्काएको हुन्छ।” दक्ष चिकित्सकहरूले प्रसव-मनोविकृतिको प्रभावकारी उपचार उपलब्ध गराउन सक्छन्‌।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

कसरी आफूलाई सम्हाल्नेb

१. यदि उदासीनता धेरै समयसम्म रहिरहेमा विशेषज्ञको मदत लिइहाल्नुहोस्‌। तपाईंले जति चाँडो यो कदम चाल्नुभयो, त्यति नै चाँडो निको हुने सम्भावना हुन्छ। परिस्थितिसित राम्ररी परिचित समझदार चिकित्सक खोज्नुहोस्‌। ओखतीमूलो गर्न आवश्‍यक परेमा आफ्नो प्रसव-उदासीनताको कारण लजाउने वा अप्ठ्यारो मान्‍ने नगर्नुहोस्‌।

२. नियमित रूपमा व्यायाम गर्नुहोस्‌। नियमित व्यायाम उदासीनताको लागि प्रभावकारी उपाचार हुन सक्ने कुरा अध्ययनहरूद्वारा पत्ता लागेको छ।

३. आफूसित मन मिल्ने कसैलाई आफ्ना भावनाहरू पोखाउनुहोस्‌। आफूलाई एक्लो बनाउने वा आफ्ना भावनाहरूलाई दबाएर राख्ने नगर्नुहोस्‌।

४. आफ्नो घर सबै पक्षबाट एउटा आदर्श घर हुनुपर्छ भन्‍ने सोचाइ नराख्नुहोस्‌। अत्यावश्‍यक वस्तुहरूमा मात्र ध्यान केन्द्रित गर्दै आफ्नो जीवनलाई सरल बनाउने कोसिस गर्नुहोस्‌।

५. साहस अनि धीरजका लागि प्रार्थना गर्नुहोस्‌। यदि तपाईंलाई प्रार्थना गर्न गाह्रो लाग्छ भने आफूसितै कसैलाई प्रार्थना गर्न लगाउनुहोस्‌। तपाईं केवल दोषी भावनाले जलिरहनुहुन्छ वा आफूलाई बेकम्मा ठान्‍नुहुन्छ भने तपाईंको बिमारी छिटो निको नहुन सक्छ।

[फुटनोट]

b ब्यूँझनुहोस्‌!-ले कुनै खास उपचारबारे सल्लाह दिंदैन। यस लेखमा महिला तथा पुरुषहरूका लागि दिइएका सल्लाहहरूले सबै परिस्थितिलाई समेट्‌दैन। कुनै-कुनै बुँदाहरू कुनै खास परिस्थितिमा लागू नहुन पनि सक्छ।

[पृष्ठ २३-मा भएको पेटी]

पुरुषहरूका लागि सुझाउहरू

१. प्रसव-उदासीनताको दोषी आफ्नी पत्नी हो भनेर कहिल्यै नसोच्नुहोस्‌। यदि तिनमा उदासीनता रहिरहेमा समस्या बुझ्ने र सहानुभूतिशील चिकित्सकको मदत खोज्न पत्नीलाई सहयोग गर्नुहोस्‌।

२. आफ्नी पत्नीको कुरा धैर्यपूर्वक सुन्‍नुहोस्‌। तिनका भावनाहरू बुझ्नुहोस्‌। तिनको निराशावादी कुराहरू सुनेर निरुत्साहित नहुनुहोस्‌। तिनलाई मायालु तवरले कुनै पनि कुराको सकारात्मक पक्ष हेर्न मदत गर्नुहोस्‌ अनि निको हुने आश्‍वासन दिनुहोस्‌। तिनले बताएका सबै समस्याहरूलाई आफूले समाधान गर्नै पर्छ भन्‍ने सोचाई नराख्नुहोस्‌। तिनी तर्कपूर्ण जवाफको होइन केवल सान्त्वनाको भोको हुन सक्छिन्‌। (१ थिस्सलोनिकी ५:१४) प्रसव-उदासीनताले पीडितहरूलाई कुनै पनि कुरालाई तर्कपूर्ण अनि स्पष्टसित सोच्न गाह्रो बनाइदिन्छ भनी नबिर्सनुहोस्‌।

३. अनावश्‍यक गतिविधिहरूलाई पन्छाइहाल्नुहोस्‌ र यसो गर्दा आफ्नी पत्नीलाई मदत गर्न तपाईंले धेरै समय पाउनुहुनेछ। तपाईंको यस्तो प्रयासले तिनी छिट्टै निको हुन सक्छिन्‌।

४. आफ्नो निम्ति पनि केही समय छुट्याउन नबिर्सनुहोस्‌। यस्तो बेला तपाईं शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा स्वस्थ हुनुभएको खण्डमा आफ्नी पत्नीको लागि तपाईं अझ राम्रो सहयोगी बन्‍न सक्नुहुनेछ।

५. आफूलाई प्रोत्साहन दिने कुनै व्यक्‍तिसित कुराकानी गर्नुहोस्‌, सक्नुहुन्छ भने आध्यात्मिक तवरमा बलियो कुनै पुरुषसित कुरा गर्नुहोस्‌ जसकी पत्नी पनि प्रसव-उदासीनताद्वारा पीडित भएकी छिन्‌।

[पृष्ठ २३-मा भएको चित्र]

मार्सल परिवार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने