आफ्नो सेवकाईमा मनतन लगाउनुहोस्
१ येशूका चेलाहरू हुनाकारण परमेश्वरको राज्यबारे सुसमाचार प्रचार गर्ने र येशू ख्रीष्टका चेलाहरू बनाउने जिम्मेवारी हामीलाई दिइएको छ। (मत्ती २४:१४; २८:१९, २०) यस संसारमा अरू कुनै काम यो भन्दा जरुरी अथवा महत्त्वपूर्ण छैन। यसमा लाखौं मानिसहरूको जीवन मुछिएको छ। यसका लागि हामीले भरमग्दूर प्रयास गर्नु आवश्यक छ। यस सम्बन्धमा पावलको नसिहत एकदमै उपयुक्त छ: “जे जे तिमीहरू गर्दछौ, . . . प्रभुको निम्ति जस्तैगरि मनतनले गर।” (कल० ३:२३) “मनतनले” भन्नुको अर्थ “उत्कट जोश अथवा एकचित्त भक्ति” हुनु हो। के तपाईंले आफ्नो सेवकाईमा मनतन लगाउनु भएको छ?
२ मनतनका साथ गर्न हामीले के के गर्नु आवश्यक छ? यहोवाले स्वीकारयोग्य सेवालाई दशांश भाग भनी सङ्केत गर्नुभयो। (मला० ३:१०) एउटा खास परिमाण तोक्नुको सट्टा यहोवाप्रतिको हाम्रो प्रेम र समर्पणको अभिव्यक्तिको रूपमा हामीले उहाँको सेवामा बिताएको समय र मिहेनतलाई दशांशले चित्रित गर्दछ। (w92 12/1 p. 15) हाम्रो कार्यकलापले यहोवाप्रतिको हाम्रो भक्ति र प्रेमको गहराइलाई प्रदर्शित गर्नुपर्छ। मनतनले सेवा गर्ने व्यक्ति आफ्नो स्वास्थ्य र परिस्थितिहरूले भ्याएसम्म यहोवाको सेवा गर्न प्रेरित हुन्छ।
३ आशाको आधारमा “परिश्रम र प्रयत्न” गर्ने व्यक्तिहरूबारे पावलले धेरै नै प्रशंसा गरे। (१ तिमो० ४:१०) तिनीहरू यहोवाको वरदानले आशिषित हुन्छन् जसले तिनीहरूलाई ‘धनी तुल्याउँछ।’ (हितो० १०:२२) यसको विपरीत, आफ्नो समय र शक्तिको कन्जुस्याइँ गरेर अथवा हिचकिचाएर दिने व्यक्तिहरूले अरूहरूलाई दिंदा पाइने आनन्दको अनुभव गर्न सक्दैनन्। (प्रेरित २०:३५) हामीसङ्ग भएको सबैभन्दा असल कुरा दिन बेवास्ता गर्नु वास्तवमा यहोवालाई दिनुपर्ने “दशांश भाग”-लाई लुट्नु हो।—मला० ३:८.
४ हामीसङ्ग भएको सबैभन्दा असल कुरा दिने: क्षेत्र सेवकाईमा भाग लिएर रिपोर्ट बुझाउँदा के हाम्रो रिपोर्ट सही हुन्छ? आवर मिनिस्ट्री पुस्तक, पृष्ठ १०४-मा यसो भनिएको छ: “तपाईंको क्षेत्र सेवकाईको समय त्यत्तिबेला सुरु हुन्छ जब तपाईंले साक्षी दिने काम सुरु गर्नुहुन्छ र त्यतिबेला अन्त हुन्छ जब साक्षी दिने दौडानमा अन्तिम भेट टुङ्याउनुहुन्छ। क्षेत्र सेवकाईको दौडानमा जलपान गर्न अथवा खाना खान लागेको समय गनिंदैन।” क्षेत्र सेवकाईमा होउन्जेल सकेसम्म बढी सेवकाई गर्ने राम्रो योजना र प्रयासको खाँचो पर्दछ।
५ हामीसङ्ग भएको सबैभन्दा असल कुरा दिनुको अर्थ सेवकाईमा भाग लिंदा आफूले यथाशक्य गर्नु हो। मनतनले सेवा गर्ने व्यक्तिले ढोका-ढोकामा गएर साक्षी दिनुको सट्टा आक्कल झुक्कल अनौपचारिक साक्षी दिएर आफ्नो प्रचार कार्यलाई जानाजानी सीमित गर्दैन। मनतनले सेवा गर्ने एक जना जवान बप्तिस्मा अप्राप्त प्रचारकले घर-घरमा जान अथवा प्रस्तुतिहरू प्रयोग गर्न कम चासो देखाउँदै केवल आमाबाबुको जोडमा मात्र प्रचार कार्यमा भाग लिनु हुँदैन।
६ अल्छी नहुनको लागि हाम्रो लगनशीलता कायम गरिराख्न पावलले आग्रह गर्छन्। (हिब्रू ६:११, १२) हाम्रो व्यक्तिगत सेवालाई पुनरावलोकन गर्न पाउनु र शर्माउन पर्ने कुनै कारण नहुनु कस्तो आनन्दको कुरा हो—किनभने हामीले मनतनले सेवा गरेका छौं! (२ तिमो० २:१५) व्यक्तिगत तवरमा हामीले मदत पुऱ्याएका व्यक्तिहरू महा सङ्कष्ट पार गरेर आएको हेर्न पाउँदा हामीले सबैभन्दा बढी आनन्द महसुस गर्नेछौं। निश्चय नै, पूरा मनतनले सेवा गर्नेहरूलाई यहोवाले प्रशस्त आशिषहरू दिनुहुन्छ।