अध्याय ८७
भविष्यका लागि प्रबन्ध गर्न चतुऱ्याइँ देखाइन्छ
येशूले आफ्ना चेलाहरू, कर उठाउने बेइमान मानिसहरू र अरू कुख्यात पापी, शास्त्री र फरिसीहरूसमेत सामेल भएको भीडलाई उडन्ते छोराको कथा भर्खरै सुनाउनुभएको छ। अब आफ्ना चेलाहरूलाई सम्बोधन गर्दै उहाँ एउटा धनी मानिसबारे दृष्टान्त बताउनुहुन्छ, जसले आफ्नो भण्डारेको विषयमा नराम्रो रिपोर्ट पाएको छ।
येशूको भनाइअनुसार ती धनी मानिसले आफ्नो भण्डारेलाई बोलाउँछन् र उसको जागिर खोसिने कुराको जानकारी दिन्छन्। “मेरो मालिकले मलाई भण्डारेको कामबाट निकाल्ने भए, अब म के गरूँ?” भन्दै त्यो भण्डारे सोचमा पर्छ। “म खनजोत गर्न सक्दिनँ, भीख माग्न मलाई लाज लाग्छ। अँ, मैले के गरें भने भण्डारेको कामबाट निकालिएपछि पनि मानिसहरूले मलाई उनीहरूको घरमा आश्रय दिनेछन्, त्यो मलाई थाह छ!”
भण्डारेले कस्तो योजना गर्छ? त्यसले मालिकका ऋणीहरूलाई बोलाउँछ। “तिमीले मेरो मालिकलाई कति ऋण तिर्नुछ?” त्यसले सोध्छ।
पहिलोले जवाफ दिन्छ, “बाइस सय लिटर जैतुनको तेल।”
उसले त्यसलाई भन्छ: “तिम्रो तमसुक लैजाऊ र बसेर तुरुन्तै त्यसलाई एघार सय बनाइहाल।”
त्यसपछि उसले अर्कोलाई सोध्छ, “तिम्रो चाहिं कति ऋण छ नि?”
त्यसले भन्छ, “एक सय सत्तरी क्विन्टल गहुँ।”
“तिम्रो तमसुक लैजाऊ र त्यसलाई एक सय छत्तीस बनाइहाल।”
मालिकको ऋण घटाउन सक्ने अधिकार भण्डारेसित छ किनभने मालिकको आर्थिक कारोबारको जिम्मा अझै उसैसँग छ। आफू जागिरबाट निकालिएपछि उसलाई मदत गर्न सक्नेहरूसित तिनीहरूको ऋण घटाएर ऊ मित्रता गाँस्दैछ।
यो थाह पाएपछि मालिक अति प्रभावित हुन्छन्। उनले वास्तवमा, ‘भण्डारेको तारिफ’ गर्छन् किनकि “उसले चतुऱ्याइँ देखायो।” येशू अझ यसो भन्नुहुन्छ: “आफ्नो पिंढीका मानिसहरूसित व्यवहार गर्नमा ज्योतिका सन्तानहरू भन्दा यस युगका मानिसहरू अझ चतुर छन्।”
अब यसबाट आफ्ना चेलाहरूलाई पाठ सिकाउँदै येशू यो प्रोत्साहन दिनुहुन्छ: “बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ, किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्।”
येशूले यहाँ त्यो भण्डारेको बेइमान कामको होइन तर त्यसको दूरदर्शी चतुऱ्याइँको सराहना गर्नुभएको हो। अक्सर “यस युगका मानिसहरू” आफूलाई पछि मदत गर्न सक्नेहरूसित मित्रता गाँस्न एकदम चलाख भएर आफ्नो धन वा ओहदाको प्रयोग गर्छन्। अतः परमेश्वरका सेवकहरूले अर्थात् “ज्योतिका सन्तानहरू”-ले पनि आफ्ना भौतिक साधनहरू अर्थात् “बेइमान धन” आफूलाई फाइदा हुने किसिमले प्रयोग गर्न चतुऱ्याइँ देखाउनुपर्छ।
तर येशूले भन्नुभएझैं तिनीहरूको धनको प्रयोगद्वारा तिनीहरूले आफूलाई “अनन्त निवासमा” स्वागत गर्न सक्नेहरूसित मित्रता जोड्नुपर्ने हो। ती निवास सानो बगालका सदस्यहरूका निम्ति स्वर्गमा र “अरू भेडा”-का निम्ति पार्थिव प्रमोदवनमा छ। ती ठाउँहरूमा हामीलाई स्वागत गर्न सक्ने यहोवा परमेश्वर र उहाँका छोरा मात्र हुनुहुन्छ। त्यसैले आफूसँग भएको “बेइमान धन” प्रयोग गरेर उहाँहरूसित मित्रता बढाउन हामी लगनशील हुनुपर्छ। जब हाम्रो धन-सम्पत्ति बेकामको हुन्छ वा नष्ट हुन्छ, जुन कुरा हुने पनि छ, तब हाम्रो अनन्त भविष्यचाहिं सुनिश्चित हुनेछ।
येशू अगाडि भन्नुहुन्छ, यसप्रकारका भौतिक कुरा अर्थात् एकदमै साना कुराहरूको हेरविचार गर्नमा विश्वासिलो हुने व्यक्तिहरू अझ बढी महत्त्वपूर्ण कुराहरूको हेरविचार गर्न पनि विश्वासिलो हुनेछन्। उहाँ कुरा अघि बढाउँदै भन्नुहुन्छ: “त्यसैले यदि बेइमान धन चलाउँदा तिमीहरू आफूलाई विश्वासिलो साबित गर्दैनौ भने कसले तिमीहरूलाई साँचो धन [अर्थात् परमेश्वरको राज्यसम्बन्धी कुरा] सुम्पेला र? जे कुरा अरूको [अर्थात् परमेश्वरले आफ्ना जनहरूलाई सुम्पनुभएको आफ्नो राज्यसम्बन्धी कुरा] हो, त्यसमा त तिमीहरू आफूलाई विश्वासिलो साबित गर्दैनौ भने जे कुरा तिमीहरूका लागि साँचिएको छ, [अर्थात् अनन्त निवासमा जीवनको इनाम] त्यो कसले तिमीहरूलाई देला र?”
हामी एकातिर परमेश्वरका सच्चा सेवक र अर्कोतिर बेइमान धन अर्थात् भौतिक धनको दास बन्न सक्दैनौं भन्दै येशू कुरा टुङ्ग्याउनुहुन्छ: “कुनै पनि नोकर दुई मालिकको दास बन्न सक्दैन; किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।” लूका १५:१, २; १६:१-१३; यूहन्ना १०:१६.
▪ येशूले बताउनुभएको दृष्टान्तमा भण्डारेले उसलाई पछि मदत दिन सक्ने मानिसहरूसँग कसरी मित्रता गाँस्छ?
▪ “बेइमान धन” के हो र तीद्वारा हामी कसरी मित्रहरू बनाउन सक्छौं?
▪ “अनन्त निवासमा” हामीलाई कसले स्वागत गर्न सक्नेछ र ती निवास के हुन्?