पाठकहरूका प्रश्नहरू
अचेल बन्ध्याकरण गरेपछि पनि त्यसलाई फुकाएर पुनः बच्चा जन्माउन सकिने भएको हुनाले के मसीहीहरूले यसलाई एउटा जन्म-निरोधक उपाय ठान्नु ठीक हो?
अचेल थुप्रै मानिसहरू बन्ध्याकरण गरेर परिवार नियोजन गर्छन्। थुप्रै मानिसहरू सामाजिक तथा शैक्षिक पृष्ठभूमिका साथसाथै धार्मिक दृष्टिकोणको आधारमा बन्ध्याकरण गर्ने नगर्ने निर्णय गर्छन्। यहोवाका साक्षीहरू चाहिं आफ्नो धार्मिक विश्वासको आधारमा त्यस्तो निर्णय गर्छन्। किनभने तिनीहरू भजनरचयिताको जस्तै मनोवृत्ति राख्छन्: “हे परमप्रभु, तपाईंको मार्ग मलाई सिकाउनुहोस्, र . . . मलाई सम्म बाटोमा अगुवाइ गर्नुहोस्।” (भजन २७:११) वास्तवमा बन्ध्याकरण भनेको के हो?
पुरुषमा गरिने बन्ध्याकरणलाई भ्यासेक्टोमी भनिन्छ। भ्यासेक्टोमी गर्दा अण्डकोषका दुइटा साना शुक्रवाहिनी नली काटेर, नलीको दुवै छेउलाई कसेर बाधिन्छ। यसो गर्ने विभिन्न तरिकाहरू छन् तर यसको प्रमुख लक्ष्य अण्डकोषबाट शुक्रकीट निस्कन नदिनु हो। महिलामा गरिने बन्ध्याकरणलाई ल्यापरोस्कोपी भनिन्छ। ल्यापरोस्कोपी गर्दा डिम्बवाहिनी नलीहरू काटेर बाँधिन्छ (वा डामिन्छ)। यसो गर्दा डिम्बहरू डिम्बाशयबाट पाठेघरमा जानबाट रोकिन्छ।
पहिले पहिले यस प्रकारको बन्ध्याकरण, स्थायी बन्ध्याकरण हो अर्थात् त्यस पश्चात् बच्चा जन्माउन सकिंदैन भन्ने धारणा थियो। तर केही मानिसहरूले त्यस्तो तरिका अपनाएकोमा पछुताएकोले वा नयाँ परिस्थितिले गर्दा भ्यासेक्टोमी वा बाँधेको नलीहरूलाई फुकाएर जोड्न चिकित्सा मदत खोजेका छन्। उच्च प्रविधियुक्त उपकरणहरू र जटिल शल्यचिकित्साको आविष्कारले बन्ध्याकरण फुकाउने काममा बढी सफलता हासिल भएको छ। चिकित्सा दृष्टिकोणले उपयुक्त ठानिएका व्यक्तिहरू - मध्ये ५० देखि ७० प्रतिशत व्यक्तिहरूका बन्ध्याकरण फुकाएर काटिएको नलीलाई पुनः जोड्न सकिएको खबरहरू सुन्न पाउन, आजभोली साधारण भइसक्यो। यसैगरी, बन्ध्याकरण गरिएका महिलाहरूमध्ये ६० देखि ८० प्रतिशत महिलाहरूका नली फुकाउन सकिएको दाबी गरिएको छ। तसर्थ, यसबारे थाह पाउँने केहीले बन्ध्याकरणलाई अस्थायी परिवार नियोजनको रूपमा लिन थालेका छन्। तिनीहरू भ्यासेक्टोमी र ल्यापरोस्कोपीलाई गर्भ निरोधक चक्की, कन्डम अनि डायफ्राम जस्तै हो भन्ठान्न सक्छन्, जुन फेरि गर्भधारण गर्न इच्छा भए रोक्न सकिने तरिकाहरू हुन्। तथापि, बन्ध्याकरणमा केही सोचनीय कुराहरू पनि छन्।
तीमध्ये एउटा त बन्ध्याकरण फुकाउँदा निम्न केही पक्षहरूले निकै असर गर्छ: बन्ध्याकरण गरिंदा नलीहरूमा पुगेको क्षतिको मात्रा कति छ, नलीको कति भाग काटेको वा डामेको छ, बन्ध्याकरण गरेको कति वर्ष भयो अनि भ्यासेक्टोमीपछि शरीरले प्रतिरोधात्मक तत्वहरू निष्कासन गरेको थियो या थिएन। थुप्रै ठाउँहरूमा जटिल शल्यक्रियाको सुविधा उप्लब्ध नहुनसक्छ वा महँगो हुन्छ भन्ने कुरा पनि बेवास्ता गर्नु मिल्दैन। यसकारण, जसरी भए पनि बन्ध्याकरण फुकाउन चाहनेहरू सबैले आफूले चाहेअनुसार नगर्नसक्छ। तिनीहरूको निम्ति यो एक किसिमले स्थायी बन्ध्याकरणै हुन्छ।a यसकारण, माथि उल्लिखित बन्ध्याकरण फुकाउन भन्ने कुरा, धेरै जनाको लागि वास्तविकतामा परिणत हुनसकेको छैन।
यथार्थसित सम्बन्धित निम्न केही पक्षहरूलाई ध्यान दिनुहोस्। स.रा.-मा प्रकाशित एउटा लेखले भ्यासेक्टोमी फुकाउनेबारे गरेको टिप्पणीअनुसार १२,००० अमेरिकी डलर खर्च हुने शल्यक्रियापछि “६३ प्रतिशतले मात्र पुनः प्रजनन क्षमता पाउन सके।” साथै, “भ्यासेक्टोमी गरेपछि त्यसलाई फुकाउन चाहने पुरुषहरू छ प्रतिशत” मात्र छन्। मध्य युरोपबारे जर्मनीमा गरिएको अध्ययनअनुसार बन्ध्याकरण गर्ने पुरुषहरूमध्ये केवल ३ प्रतिशतले मात्र त्यसलाई फुकाउन रोजे। नली फुकाउन गरिएको आधा जति शल्यक्रियाहरू सफलै भए तापनि ९८.५ प्रतिशतको निम्ति त भ्यासेक्टोमी स्थायी बन्ध्याकरण नै हुनेछ। अनि उच्च प्रविधियुक्त जटिल शल्यचिकित्सकहरू थोरै अथवा हुँदै नभएका ठाउँहरूमा त झनै ज्यादा प्रतिशतले बन्ध्याकरण फुकाउन सक्दैनन्।
फलस्वरूप, पुरुष वा महिलाले गर्ने बन्ध्याकरण अस्थायी जन्म-निरोधकजस्तै त हो नि भनेर त्यसलाई हल्कासित लिनु उचित होइन। अनि साँचो मसीहीहरूले त झन् अन्य पक्षहरूमा पनि विचार गर्नुपर्छ।
मुख्य कुरा के हो भने, प्रजनन शक्ति हाम्रो सृष्टिकर्ताले दिनुभएको एउटा वरदान हो। सिद्ध मानिसजातिले सन्तान जन्माएर “पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै” जाओस् भन्ने उहाँको सुरुको उद्देश्य थियो। (उत्पत्ति १:२८) जलप्रलयपछि पृथ्वीमा जम्मा आठ जना मान्छे मात्र हुँदा परमेश्वरले त्यो सुरुको आज्ञा दोहऱ्याउनुभयो। (उत्पत्ति ९:१) सो आज्ञा परमेश्वरले इस्राएल राष्ट्रलाई दोहऱ्याउनु भएन। तथापि, इस्राएलीहरू छोराछोरी जन्माउन रुचाउँथे।—१ शमूएल १:१-११; भजन १२८:३.
परमेश्वरले सन्तान जन्माउनुलाई महत्त्वपूर्ण ठान्नु भएको कुरा इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा झल्किन्छ। उदाहरणका लागि, एक विवाहित पुरुष आफ्नो वंश चलाउने छोरा नभई मऱ्यो भने उसकै दाज्यू वा भाइले उसको स्वास्नीसित विवाह गरेर आफ्नो कर्त्तव्य पूरा गर्नु पर्थ्यो। (व्यवस्था २५:५) अझै तोकेरै भन्ने हो भने, आफ्नो पतिको कसैसित झगडा हुँदा पत्नीले मदत गर्ने व्यवस्थालाई यहाँनेर लिन सकिन्छ। आफ्नो पतिलाई बचाउन विरोधीको गुप्तांग पत्नीले अँठ्याई भने उसको हात काटिदिनु पर्थ्यो। तर उल्लेखनीय कुरा के हो भने, परमेश्वरले पत्नी वा तिनको पतिको प्रजनन अंगको सन्दर्भमा आँखाको सट्टा आँखा दिने आज्ञा दिनुभएन। (व्यवस्था २५:११, १२) स्पष्टतया, यो व्यवस्थाले प्रजनन अंगप्रति आदर उत्पन्न गराउने थियो। यी अंगहरूलाई व्यर्थै चोट पुऱ्याउनु हुँदैनथ्यो।b
मसीहीहरू इस्राएललाई दिएको व्यवस्था अन्तर्गत पर्दैनन् भनेर हामीलाई थाह छ। त्यसकारण, व्यवस्था २५:११, १२ मा दिइएको व्यवस्था तिनीहरूमा लागू हुँदैन। आफ्ना चेलाहरूले विवाह गर्नैपर्छ र सकभर बच्चा पाउनैपर्छ भनेर येशूले न आज्ञा गर्नुभयो न सुझाउ नै दिनुभयो। यही कुरालाई ध्यान राख्दै आज थुप्रै दम्पतीहरू जन्म-निरोधक तरिकाहरू अपनाउने हो कि होइन भन्ने निर्णय गर्छन्। (मत्ती १९:१०-१२) यौनाकांक्षालाई वशमा राख्न नसक्ने ‘तरूणी विधवाहरूले विवाह गरून् र छोरा-छोरी पाऊन्’ भनेर प्रेरित पावलले प्रोत्साहन दिए। (१ तिमोथी ५:११-१४) मसीहीहरूले स्थायी बन्ध्याकरण अर्थात् स्वेच्छाले बच्चा जन्माउने प्रजनन क्षमताको त्याग गर्नुपर्छ भन्ने कुरा पनि तिनले औंल्याएनन्।
परमेश्वरले तिनीहरूको प्रजनन क्षमताको आदर गर्नुहुन्छ भन्ने यस्ता संकेतहरू मसीहीहरूले ध्यान दिनुपर्छ। परिवार नियोजन गर्ने कि नगर्ने अनि गर्ने हो भने कुन उचित प्रकारको परिवार नियोजन कहिले गर्ने भनेर हरेक दम्पतीले निर्णय गर्नुपर्छ। हुन त हो, चिकित्सकहरूले आमा वा बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ र यसपछि पनि गर्भ रहेमा मृत्युसमेत हुनसक्ने कुरा बतायो भने यो निर्णय झनै गम्भीर हुन्छ। (पहिला नै बच्चा भइसकेको) आमाको स्वास्थ्यमा असर पर्ने वा घातक स्वास्थ्य समस्या भएको बच्चा जन्मने सम्भावना भएकोले कसै कसैले इच्था नहुँदा हुँदै पनि बन्ध्याकरण गरेका छन्।
तर यस्तो अनौठो र विशेष प्रकारको खतरा सामना गर्न नपरेका मसीहीहरूले ‘आत्मसंयम’ प्रयोग गरेर, प्रजनन क्षमताप्रति परमेश्वरले देखाउनुहुने आदरअनुसार आफ्नो सोचाइ र कामलाई ढाल्नु पर्छ। (१ तिमोथी ३:२; तीतस १:८; २:२, ५-८) यसो गरेमा धर्मशास्त्रीय निर्देशनलाई गम्भीरतापूर्वक लिएको देखिनेछ। तथापि, परमेश्वरले मूल्यांकन गर्नुहुने कुराहरूलाई एक जना मसीहीले जानाजानी बेवास्ता गरेको सबैले थाह पाएमा नि? तिनले बाइबल सिद्धान्तअनुरूप काम गरेर राम्रो उदाहरण बसालेको थिए कि थिएन भनेर के अरू मानिसहरूले शंका गर्दैनन् र? निस्सन्देह, कसैलाई यस्तो दोष लागेमा सेवकाईको विशेषाधिकार पाउनको निम्ति अयोग्य हुनसक्छन्। तर थाह नपाई त्यसो हुन गएको हो भने यस्तो हुँदैन।—१ तिमोथी ३:७.
[फुटनोटहरू]
a “[शुक्रकीट वाहिनी नली] पुनः जोड्नको निम्ति गरिएका ४० प्रतिशत शल्यक्रियाहरू सफल भएका छन् अनि उच्च प्रविधियुक्त जटिल शल्यचिकित्सा प्रक्रियाहरू अपनाएको खण्डमा अझ बढी सफलता हासिल गर्नसकिन्छ भनी प्रमाणहरूले देखाउँछ। तर जे होस्, भ्यासेक्टोमी-द्वारा गरिएको बन्ध्याकरणलाई भने स्थायी बन्ध्याकरण नै ठान्नु पर्छ।” (इन्साइक्लोपीडिया ब्रिटानिका) “बन्ध्याकरणलाई स्थायी प्रक्रियाजस्तो ठान्नु पर्छ। बन्ध्याकरण गर्नेले शल्यक्रियाद्वारा नलीहरू पुनः जोड्नेबारे जति नै सुनेको किन नहोस्, त्यो महँगो हुनुका साथै सफल हुन्छ नै भन्ने कुनै ग्यारेन्टी छैन। महिलाहरूले बन्ध्याकरण फुकाएर नली जोडेपछि, गर्भाशयमा गर्भ नरहेर डिम्बनलीमै गर्भ रहने खतरा बढी हुन्छ।”— कन्टेम्पोरेरी ओबी/ जीवाइएन, जुन १९९८.
b अर्को सान्दर्भिक नियम, सन्धिमा चोट परेको अथवा लिंग काटिएको मानिसलाई परमेश्वरको मण्डलीमा पस्न निषेध गर्नु हो। (व्यवस्था २३:१) तथापि, “समलैंगिकता जस्तो अनैतिक काम गर्नका लागि, जानाजानी लिंगमा चोट पुऱ्याउनेहरूलाई यो व्यवस्था लागू हुन्छ” भनेर धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) पुस्तकले टिप्पणी गर्छ। तसर्थ, यो व्यवस्था लिंगमा चोट पुग्नु अथवा गर्भ-निरोधजस्ता कुरामा लागु हुँदैन। अन्तरदृष्टि यसो पनि भन्छ: “नपुसंकहरूलाई आफ्नो सेवक बनाउने समयबारे यहोवाले अग्रिमवाणी गरेर सान्त्वना दिनुभयो र तिनीहरू आज्ञाकारी भएको खण्डमा छोराछोरीहरूले भन्दा पनि अझ असल नाउँ कमाउनेछन् भन्नुभयो। येशू ख्रीष्टले व्यवस्था खारेज गरिसक्नु भएपछि, उहाँमा विश्वास गर्नेहरू आफ्नो पूर्व स्तर र अवस्थाका बावजूद परमेश्वरका आध्यात्मिक पुत्रहरू हुन सक्नेथिए। फलतः कुनै शारीरिक भिन्नता हुने थिएन।—यशैया ५६:४, ५; यूहन्ना १:१२.”