परमेश्वरको राज्यलाई प्रथम स्थान दिइरहनुहोस्
१ आर्थिक दबाउ वा अन्य समस्याहरू सामना गर्नुपर्दा परमेश्वरको राज्यलाई जीवनमा प्रथम स्थान दिन अनि सधैं यसलाई प्राथमिकता दिइरहन सजिलो हुँदैन। समस्याहरू खडा हुँदा हामी कसरी राज्यलाई प्रथम स्थान दिन सक्छौं? यदि हामीले सभाहरू छुटाउनुपर्ने तथा क्षेत्र सेवकाईलाई बाधा पुऱ्याउने जागिर पायौं भने के गर्ने? के त्यसो हुँदा हाम्रो जीवनमा परमेश्वरको राज्यलाई दोस्रो स्थान दिने?
२ बलियो विश्वास आवश्यक छ: यस्ता परिस्थितिहरूमा हाम्रो विश्वासको जाँच हुँदा, पहिला राज्यको खोजी गरेको खण्डमा हामीलाई ईश्वरीय सहयोग प्रदान गर्ने यहोवाको प्रतिज्ञा र येशूको आश्वासनलाई भुल्नुहुँदैन। (भज. ३७:२५; मत्ती ६:३१–३४) सांसारिक प्रभाव तथा दबाउहरूले हाम्रो दृष्टिकोणलाई धमिल्याउन सक्छ र राज्यलाई प्राथमिकता दिनबाट हामीलाई रोक्न सक्छ। कोही-कोहीले जागिरमा प्रतिष्ठा कमाउनु र आर्थिक लाभलाई नै जीवनमा सबैभन्दा मुख्य कुरा बनाएका छन्। तथापि, पावलले जस्तै हामीले पनि जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, सो विचार गर्नुपर्छ।—फिलि. ३:७, ८.
३ के छाँटकाँट आवश्यक छ? के तपाईंलाई शिक्षा नै आफ्नो वा आफ्ना बच्चाहरूको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ? एक जना जवान साक्षीको अनुभव यस प्रकार छ: राष्ट्रवादी समारोहहरूमा तटस्थ रहेको कारण तिनलाई स्कूलबाट निकालिएको थियो। अदालतमा अत्यन्तै लम्बिएको मुद्दापछि शुद्ध उपासनाको ऐतिहासिक विजय भयो र यस केटो पुनः स्कूल गए। पछि, तिनी कलेज पनि गए। तथापि, त्यहाँको अनैतिक वातावरणले तिनको अन्तस्करणलाई घोचिरह्यो। त्यसैकारण, तिनले पहिलो त्रैमासिकपछि कलेज छोडिदिए। अहिले बेथेलमा काम गरेको बाह्र वर्ष भइसक्यो र उच्च शिक्षा हासिल गरेर भन्दा बेथेल परिवारको सदस्य भएर बढी लाभ उठाएको तिनले महसुस गरेका छन्। परमेश्वरको आज्ञा पहिले उहाँको राज्यको खोजी गर्नु हो। यसो गर्नेहरूलाई उहाँले “यी सबै थोक तिमीहरूलाई थपिनेछन्” भनी प्रतिज्ञा गर्नुभयो।
४ सराहनीय कुरा के छ भने, धेरैले आफ्नो सांसारिक पेसा तथा थुप्रै आर्थिक लाभ हुने अवसरहरूलाई त्यागेका छन्, आफ्नो जीवन सरल बनाएका छन् र पूर्ण-समय सेवकाईमा भाग लिएका छन्। जवान, अविवाहित सेवकाई सेवक तथा प्राचीनहरूले मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिएर सेवाका सुअवसरहरूबाट आनन्द उठाइरहेका छन्। पावलको उत्कृष्ट उदाहरण अनुकरण गर्दै तिनीहरू आधारभूत भौतिक प्रबन्धमै सन्तुष्ट हुन्छन्।—१ कोरि. ११:१; १ तिमो. ६:६–८; हिब्रू १३:५.
५ जीवनप्रतिको हाम्रो दृष्टिकोणलाई संसारले खिसी गरे तापनि हामीले यहोवाको आशिष् पाएका छौं। (१ कोरि. १:२६–३१) उहाँको काम पूरा गर्न उहाँले हामीलाई पूर्णतया चलाउनुहुन्छ र मदत गर्नुहुन्छ भन्ने कुरा जान्न पाउनु के प्रोत्साहनदायी छैन र? परमेश्वरको स्थापित राज्यबारे अहिले हामीले घोषणा गर्न पाइरहेको जस्तो सुअवसर फेरि-फेरि कहिल्यै पाउनेछैनौं। त्यसैकारण, परमेश्वरको राज्यलाई आफ्नो जीवनमा प्रथम स्थान दिने समय अहिले नै हो।