मसीही सेवकाई —हाम्रो प्रमुख कार्य
१ हामी सबैले गर्नै पर्ने विभिन्न किसिमका कामहरू छन्। परिवारको पालनपोषण गर्नु एउटा ईश्वरीय आवश्यकता हो। (१ तिमो. ५:८) तथापि, ईश्वरीय आवश्यकताअन्तर्गत पर्ने यस कामले राज्य प्रचारकार्य तथा चेला बनाउने कामलाई ओझेलमा पार्न दिनु हुँदैन।—मत्ती २४:१४; २८:१९, २०.
२ ‘पहिले राज्य खोजी गर्ने’ सन्दर्भमा येशूले हाम्रो लागि एउटा नमुना बसाल्नुभयो। (मत्ती ६:३३; १ पत्रु. २:२१) आर्थिक तवरमा उहाँसित धेरै कुराहरू नभए तापनि आफ्ना पिताको इच्छा पूरा गर्ने काममा उहाँ दत्तचित्त हुनुहुन्थ्यो। (लूका ४:४३; ९:५८; यूह. ४:३४) उहाँले हरेक अवसरमा साक्षी दिने अथक प्रयास गर्नुभयो। (लूका २३:४३; १ तिमो. ६:१३) उहाँले आफ्ना चेलाहरूलाई कटनी कार्यमा यस्तै तीव्र चासो राख्न आग्रह गर्नुभयो।—मत्ती ९:३७, ३८.
३ आज येशूको अनुकरण गर्ने: मसीही सेवकाईमा केन्द्रित सरल जीवन यापन गर्ने प्रयत्न गरेर हामी येशूको उदाहरण अनुकरण गर्न सक्छौं। हामीसित जीवन धान्न आवश्यक कुराहरू छन् भने, बाइबलको सल्लाह पालन गर्दै यस संसारमा भएका कुराहरू थुपार्नतिर नलागौं। (मत्ती ६:१९, २०; १ तिमो. ६:८) प्रचारकार्यमा आफ्नो सहभागिता बढाउन खोज्नु कत्ति असल कुरा हो! कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा जीवनका फिक्रीहरूले राज्यको सुसमाचार घोषणा गर्ने हाम्रो प्रमुख कार्यलाई ओझेलमा पार्न दिनुको साटो हामी पनि येशूले जस्तै यत्न गर्न नछोडौं।—लूका ८:१४; ९:५९-६२.
४ थुप्रै जिम्मेवारीहरू भएकाहरूले समेत प्रचारकार्यलाई प्राथमिकता दिन्छन्। ठूलो परिवार भएका, जिम्मेवार पदमा कार्यरत तथा मसीही मण्डलीमा प्राचीनको हैसियतमा सेवारत एक जना भाइ यसो भन्छन्: “सेवकाईलाई म आफ्नो पेसा ठान्छु।” एउटी अग्रगामी बहिनी यसो भन्छिन्: “अग्रगामी कार्य सफल सांसारिक जागिरभन्दा कता हो कता अमूल्य छ।”
५ हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि हामी येशूको उदाहरण पछ्याइरहन सकौं। कसरी? मसीही सेवकाईलाई आफ्नो प्रमुख कार्य बनाएर।