युवा जनहरू हो—परमेश्वरको वचन पढ्नुहोस्!
१ युवावस्था चुनौती तथा गम्भीर निर्णयहरू गर्ने समय हो। तपाईंहरूमध्ये थुप्रै मसीही युवाहरूले आचरणसम्बन्धी परमेश्वरका स्तरहरू उल्लंघन गर्ने दबाबको सामना दिनहुँ गर्नुहुन्छ। शिक्षा, जागिर र विवाहबारे व्यक्तिगत निर्णयहरू गर्नुभन्दा अघि तपाईंहरूले आफ्नो लागि आध्यात्मिक लक्ष्य तय गरिसकेको हुनुपर्छ। त्यसो गरेपछि मात्र तपाईंले बाँकी जीवनलाई लाभ पुऱ्याउने अन्य निर्णयहरू गर्न सक्नुहुन्छ। निश्चित आध्यात्मिक लक्ष्यहरूले तपाईंलाई बुद्धिमानीसाथ चल्न र आफ्नो जीवनमा सफलता हासिल गर्न मदत गर्नेछ। नियमित रूपमा परमेश्वरको वचन पढ्नुका साथै त्यसबारे मनन गर्दा तपाईं यसको प्रेरित सल्लाह अनुरूप जीवन बिताउन उत्प्रेरित हुनुहुनेछ र तपाईंको उचित प्रयासले सफलता प्राप्त गर्नेछ।—यहो. १:८; भज. १:२, ३.
२ यसले तपाईंलाई कसरी लाभ पुऱ्याउनेछ? शैतानको संसार गलत कामहरूमा फसाउने प्रलोभनहरूले भरिभराउ छ। (१ यूह. २:१५, १६) साथीहरूको दबाबमा परेको कारण विपत्ति भोगेका आफ्ना सहपाठी वा आफ्नै उमेरका अन्य व्यक्तिहरूबारे त तपाईंलाई थाहै होला। बाइबलको सल्लाह पालन गर्दा तपाईंले पापी मार्ग तिरस्कार गर्ने नैतिक तथा आध्यात्मिक बल पाउनुहुनेछ। त्यति मात्र होइन, परमेश्वरको वचनको सल्लाहले तपाईंलाई शैतानका चालै नपाउने पासोहरूदेखि जोगिन मदत गर्न सक्छ। (२ कोरि. २:११; हिब्रू ५:१४) परमेश्वरका तौरतरिकाहरू अनुरूप जीवन बिताउँदा तपाईंले साँचो आनन्द अर्थात् आफ्नो जीवन शैलीबाट व्यक्तिगत सन्तुष्टि पाउनुहुनेछ।—भज. ११९:१, ९, ११.
३ परमेश्वरको वचनका अपरिवर्तनीय सिद्धान्तहरू मानव बुद्धिभन्दा कता हो कता उत्कृष्ट छन्। (भज. ११९:९८-१००) बाइबल सिद्धान्तहरूको ज्ञान अनि हार्दिक प्रार्थनाका साथसाथै यहोवाका प्रकटित उद्देश्यहरूमा मनन गर्दा त्यसले तपाईंलाई बाइबलको सर्वज्ञानी लेखक, यहोवा परमेश्वरसित घनिष्ठ सम्बन्ध विकास गर्न मदत गर्न सक्छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।”—भज. ३२:८.
४ बाइबल पढ्न समय निकाल्नुहस्: एउटी जवान मसीहीले सम्पूर्ण बाइबल पढ्ने लक्ष्य बनाइन् र तिनले एक वर्षभित्रमै पढिसिध्याइन्। तिनले कस्तो लाभ उठाइन्? तिनी यसो भन्छिन्: “मैले यहोवाबारे धेरै कुरा सिकें र ती सिकेका कुराहरूले मलाई उहाँको नजिक बनाउनुका साथै बाँकी जीवनभरि उहाँको भय राख्न इच्छुक बनायो।” (याकू. ४:८) के तपाईंले सम्पूर्ण बाइबल पढ्नुभएको छ? पढ्नुभएको छैन भने, यसो गर्ने लक्ष्य बनाउनुभए कसो होला? यहोवाले तपाईंका प्रयासहरूलाई अवश्य आशिष् दिनुहुनेछ र तपाईंले प्रचुर मात्रामा इनाम पाउनुहुनेछ।