दयाका कार्य गरेर अरूलाई साँचो चासो देखाउनुहोस्
१ यहोवाका साक्षीहरूलाई पटक्कै मन नपराउने एउटी स्त्रीले पहिलो पटक एउटी यहोवाको साक्षीलाई भेट्दाको क्षण यसरी सम्झन्छिन्: “तिनले के-के भनिन्, त्यो त मलाई थाह छैन तर तिनको दयालुपन, आत्मियता र कोमल व्यवहारको अमेट छाप मेरो मनमा ताजै छ। हो, म साँच्चै तिनीप्रति आकर्षित भएँ।” यस भनाइले प्रचार गर्ने व्यक्तिलाई हामीले कत्तिको चासो देखाउनुपर्ने रहेछ भनेर जोड दिन्छ।—फिलि. २:४.
२ प्रेम दयालु हुन्छ: अरूलाई प्रेम देखाउने एउटा तरिका दयाका कार्य गरेर हो। (१ कोरि. १३:४) दयालु मानिसले सधैं अरूको हित चिताउँछ। ऊ अरूलाई मदत गर्न जागरूक हुन्छ। हुन त प्रचार कार्य नै एउटा दयाको कार्य हो। तर अरूलाई साँचो चासो देखाउन प्रचार गरेर मात्र पुग्दैन। मित्रैलोपन, कोमल व्यवहार, घरधनीको कुरा ध्यान दिएर सुन्नु, हामीले गर्ने कुराकानी, कुरा गर्ने शैली र हाम्रो अनुहारको भावले समेत हामी अरूको साँचो चासो राख्छौं भनेर देखिन्छ।—मत्ती ८:२, ३.
३ अरूलाई साँचो चासो देखाउँछौं भने हामी व्यावहारिक मदत गर्न अघि सर्छौं। एक जना भाइ घर-घरको प्रचार कार्य गर्दै थिए। यहोवाको साक्षी आएको थाह पाउने बित्तिकै एउटी वृद्धा विधवा हत्तपत्त पन्छिन खोजिन्। अग्रगामी भाइले ढोकाको घण्टी बजाउँदा भित्रैबाट उनले भान्छाको चिम फेर्न लागिरहेकी बताइन्। ती भाइले झट्टै जवाफ दिए, “लड्नु होला नि आमा, म मदत गरिदिऊँ कि।” उनले भाइलाई भित्र बोलाइन्। ती भाइले चिम फेरिदिए र खुरु-खुरु आफ्नो बाटो लागे। पछि आफ्नी आमाको हालखबर बुझ्न उनको छोरो आउँदा भर्खरैको घटना उनले तिनलाई बताइन्। छोरा साह्रै प्रभावित भए र भाइलाई आभार व्यक्त गर्न आतुर भए। पछि भाइलाई भटेर राम्रो कुराकानी भयो। अनि बाइबल अध्ययन गर्न राजी भए।
४ दयाका कार्य गरेर हामी अरूलाई यहोवा कत्तिको दयालु हुनुहुन्छ भनेर देखाइरहेका हुन्छौं र यसले राज्यसन्देशको शोभा पनि बढाउँछ। तसर्थ, सधैं ‘दयाका कार्यहरू गरेर आफूलाई परमेश्वरको सेवक जस्तो देखाऔं।’—२ कोरि. ६:४, ६.