कुन बेला बाइबलै निकालेर पढ्ने र कसरी साहित्यहरू प्रस्तुत गर्ने?
बाइबलले लाखौंको जीवनमा ठूलो प्रभाव पारेको छ। बाइबल परमेश्वरको वचन भएकोले यसले भन्ने कुराले जस्तोसुकै तर्कलाई समेत माथ गर्छ। (हिब्रू ४:१२) हामीले बाँड्ने सन्देश हाम्रो आफ्नो होइन, तर परमेश्वरको वचनको हो भनी मानिसहरूले बुझेको हामी चाहन्छौं। ख्रीष्टियानको आदर नगर्ने कतिपयले समेत बाइबलको आदर गर्छन्। त्यसकारण हामी सीधै बाइबल देखाएर सुन्न चाहनेहरूलाई यसैबाट पढेर सुनाउँछौं।
तर हामी बाइबलको सन्देश पटक्कै मन नपराउने र जसरी हुन्छ हाम्रो प्रचारकार्यलाई रोक्न खोज्ने मानिसहरूको इलाकामा प्रचार गर्दैछौं भने नि? घरधनीलाई बाइबलको कुरा सुन्न साँच्चै मन पर्छ कि पर्दैन पक्का नै नभई बाइबल निकाल्दा र पढ्दा बित्थैमा हामीले उनलाई हाम्रो सन्देश सुन्न वञ्चित गराइरहेका हुनसक्छौं। (मत्ती १०:११) बाइबल देख्ने बित्तिकै उनले हामीबारे गलत अर्थ लगाइ हाल्छन्। त्यसैले, यस्तो अवस्थामा हामी प्रेरित पावलले अपनाएको तरिका अनुकरण गर्न सक्छौं। एथेन्सको अरैयापागसमा ग्रीकहरूसँग कुरा गर्दा पावलले सुरुमै शास्त्र उल्लेख गरेका थिएनन्। त्यसको साटो, तिनीहरूले जानेबुझेका र पहिलेदेखि नै स्वीकार्दै आएका कुराबाट नै पावलले वार्तालाप सुरु गरे। त्यसपछि उनले सृष्टिकर्ता र उहाँका उद्देश्यहरूबारे सोच्न बाध्य बनाउने अकाट्य तर्कहरू प्रस्तुत गरे।—प्रेरि. १७:२२-३१.
त्यसैगरि, तपाईं पनि घरधनीलाई चासो भएको कुराबाट वार्तालाप सुरु गर्ने कोसिस गर्नुहोस्। वार्तालाप सुरु भएपछि कुराकानीलाई चतुऱ्याइँसाथ राज्य सन्देशतर्फ मोड्नुहोस्। तपाईंले पहिलो पटक ‘परमेश्वर,’ ‘सृष्टिकर्ता’ जस्ता शब्द प्रयोग गर्दा अथवा तपाईं आध्यात्मिक विषयमा कुरा गर्दै हुनुहुन्छ भनेर छनक दिने विचार व्यक्त गर्दा, घरधनीले कस्तो प्रतिक्रिया देखाउँछन्, याद गर्नुहोस्। आध्यात्मिक विषयमा कुराकानी गर्न उनी इच्छुक छन् जस्तो देखिएमा कुराकानी भइरहेको विषयसँग सम्बन्धित पद बाइबलबाट देखाउँ कि भनेर सोध्न सक्नुहुन्छ। तर यदि “बाइबल” शब्द प्रयोग गर्दा घरधनी हाम्रो कुरा पटक्कै सुन्न चाहँदैनन् जस्तो लाग्यो भने “पवित्र शास्त्र” वा “एउटा पुरानो किताब” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्न सक्नुहुन्छ। अथवा बाइबल पदलाई तपाईंले छोटकरीमा बताउन सक्नुहुन्छ। चतुर हुनुमा भन्न नहुने कुरा नभन्नु पनि समावेश छ। (यूह. १६:१२) तर अर्कोतर्फ, घरधनी बाइबललाई आदर गर्छन् र बाइबलको कुरा सुन्न चाहन्छन् भने बाइबल निकालेर पढ्न हिचकिचाउनु हुँदैन।—यूह. १०:२७.
साहित्यबारे बताउने वा दिनेबारे चाहिं के भन्न सकिन्छ? हाम्रा बाइबलआधारित साहित्यहरू मानिसहरूको चासो जगाउने र उनीहरूलाई परमेश्वरको राज्यको ज्ञान दिने सन्दर्भमा प्रभावकारी साबित भएका छन्। यी साहित्य दिंदा पनि हामीले विवेक चलाउनु आवश्यक छ। किनकि साहित्य वितरण गर्दा धर्म परिवर्तन गर्न फकाउन खोजेको भन्ने गलत अर्थ कसै-कसैले लगाउन सक्छन्। हाम्रा साहित्यहरूको साँचो मोल गर्ने र यसबाट लाभ उठाउन चाहनेहरूलाई मात्र हामी हाम्रा साहित्य दिन चाहन्छौं। तसर्थ, बाइबल र हाम्रा प्रकाशनहरूको पूरापूर सदुपयोग गर्न हामीले घरधनीको मनस्थिति बुझ्नु अत्यन्तै आवश्यक छ।—हितो. १:५, ७ख.