जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
मार्च ४-१०
बाइबलमा पाइने अनमोल धन | रोमी १२-१४
“ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?”
it-1-E पृ. ५५
स्नेह
ख्रिष्टियन मण्डलीका सबै सदस्यमाझ भ्रातृप्रेम (ग्रीकमा, फिलाडेल्फिया। शाब्दिक, “भाइप्रतिको स्नेह”) हुनुपर्छ। (रोमी १२:१०; हिब्रू १३:१; १प ३:८ पनि हेर्नुहोस्।) मण्डलीका सदस्यहरूबीचको सम्बन्ध एउटा परिवारका सदस्यहरूबीचको सम्बन्धजस्तै बलियो, घनिष्ठ र न्यानो हुनुपर्छ। हुनत मण्डलीका सदस्यहरूले पहिल्यैदेखि भ्रातृप्रेम देखाइरहेका हुन्छन्, तर तिनीहरूलाई झन् धेरै भ्रातृप्रेम देखाउँदै जान आग्रह गरिएको छ।—१थि ४:९, १०.
ग्रीक शब्द फिलोस्टोर्गोस्-को अर्थ “कोमल स्नेह भएको” भन्ने हुन्छ र यसले यस्तो व्यक्तिलाई बुझाउँछ, जसको अर्को कुनै व्यक्तिसित न्यानो र घनिष्ठ सम्बन्ध छ। फिलोस्टोर्गोस् दुइटा शब्द मिलेर बनेको अभिव्यक्ति हो र तीमध्ये एउटा शब्दको मूल रूप स्टोर्गो हो। स्टोर्गो प्रायजसो परिवारका सदस्यहरूबीच हुने स्वाभाविक स्नेहलाई बुझाउन प्रयोग गरिन्छ। प्रेषित पावलले ख्रिष्टियनहरूलाई यो गुण विकास गर्न प्रोत्साहन दिए। (रोमी १२:१०) पावलले अन्तको दिनमा “स्वाभाविक स्नेह नभएका” (ग्रीकमा, एस्टोर्गोइ) मानिसहरू हुनेछन् र त्यस्ता मानिसहरू मृत्युको लायक हुन्छन् भनेर बताए।—२ति ३:३; रोमी १:३१, ३२.
प्रचार गर्ने सीप तिखारौँ
w११-E ९/१ पृ. २१-२२
कर र अन्तस्करण
प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई कर तिर्न भनिएको थियो र तिनीहरूले तिर्ने करको केही भाग सैन्य गतिविधिको लागि प्रयोग गरिन्थ्यो। पछि यही कारणले गर्दा मोहनदास गान्धी र हेनरी डेभिड थरोजस्ता व्यक्तिहरूले आफ्नो अन्तस्करणको खातिर कर तिर्न इन्कार गरे।
याद गर्नुहोस्, ख्रिष्टियनहरूले सजायदेखि जोगिन मात्र होइन बरु “आफ्नो अन्तस्करणको खातिर पनि” रोमी अध्याय १३ मा दिइएको आज्ञा पालन गर्नुपर्थ्यो। (रोमी १३:५) हो, कुनै पनि ख्रिष्टियनको अन्तस्करणले तिनलाई कर तिर्नदेखि रोक्दैन बरु कर तिर्नु तिनको दायित्व नै हो भनेर झकझक्याउँछ। त्यो कर तिनलाई मन नपर्ने गतिविधिको लागि प्रयोग गरिने भए तापनि तिनले आफ्नो अन्तस्करणको खातिर कर तिर्नै पर्छ। झट्ट हेर्दा यो कुरा आपसमा बाझिन्छ जस्तो देखिन सक्छ, त्यसैले यसलाई अझ राम्ररी बुझ्न अन्तस्करण अर्थात् हाम्रो काम सही छ कि गलत छ भनेर बताउने हाम्रो भित्री आवाजबारे एउटा महत्त्वपूर्ण कुरा बुझ्नु जरुरी छ।
हेनरी डेभिड थरोले भनेझैँ सबै मानिससित यस्तो भित्री आवाज अर्थात् अन्तस्करण हुन्छ तर हाम्रो अन्तस्करणले दिने आवाज सधैँ सही हुन्छ भन्ने छैन। परमेश्वरलाई खुसी तुल्याउन चाहन्छौँ भने हाम्रो अन्तस्करणले भन्ने कुरा उहाँका नैतिक स्तरहरूसित मेल खानै पर्छ। हामीले आफ्नो सोचाइ वा दृष्टिकोणलाई परमेश्वरको सोचाइ वा दृष्टिकोणसित मेल खाने बनाउन अक्सर छाँटकाँट गर्नुपर्ने हुन्छ किनभने उहाँका विचारहरू हाम्रा विचारहरूभन्दा उच्च छन्। (भजन १९:७) त्यसैले परमेश्वरले मानव सरकारहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर बुझ्न हामीले प्रयास गर्नुपर्छ। मानव सरकारहरूप्रति परमेश्वरको दृष्टिकोण कस्तो छ?
प्रेषित पावलले मानव सरकारहरूलाई “परमेश्वरले खटाउनुभएका जनसेवकहरू” भनेका छन्। (रोमी १३:६) यसको अर्थ के हो? मानव सरकारहरूले शान्ति-सुरक्षा कायम गर्ने र समाजको लागि केही महत्त्वपूर्ण कर्तव्यहरू पूरा गर्ने गर्छन्। निकै भ्रष्ट सरकारहरूले समेत हुलाक, शिक्षाजस्ता सुविधाहरू दिने, आगलागी हुँदा जनधनको सुरक्षा गर्ने र कानुन कार्यान्वयन गर्ने जस्ता कामहरू गर्छन्। हुनत मानिसले बनाएका यस्ता अख्तियारहरूका त्रुटिहरूबारे यहोवा परमेश्वर अनजान हुनुहुन्न तर उहाँले यी अख्तियारहरूलाई केही समयसम्म सहिरहनुभएको छ। अनि उहाँको यो प्रबन्ध अर्थात् मानव सरकारहरूलाई शासन गर्न उहाँले अनुमति दिनुभएको कुरालाई समर्थन गर्दै हामीले कर तिर्नुपर्छ भनेर उहाँले आज्ञा दिनुभएको छ।
तर परमेश्वरले मानव सरकारहरूलाई सधैँका लागि शासन गर्न दिनुहुनेछैन। उहाँले सम्पूर्ण मानव सरकारलाई हटाएर आफ्नो स्वर्गीय सरकार ल्याउनुहुनेछ र मानव शासनले गर्दा मानिसजातिले शताब्दीयौँदेखि भोग्दै आएका समस्याहरू पूर्ण रूपमा हटाउनुहुनेछ। (दानिएल २:४४; मत्ति ६:१०) तर त्यो समय नआउन्जेल परमेश्वरले ख्रिष्टियनहरूलाई कर तिर्न इन्कार गरेर वा अरू कुनै तरिकाद्वारा मानव सरकारको विरोध गर्ने अनुमति दिनुभएको छैन।
तर तपाईँलाई अझै पनि मोहनदास गान्धीलाई जस्तै आफूले करस्वरूप तिर्ने रकम युद्धमा प्रयोग हुने भएकोले कर तिर्नु पाप हो जस्तो लाग्छ भने नि? जसरी अग्लो ठाउँमा चढेर हेऱ्यौँ भने कुनै ठाउँको दृश्य पहिलाभन्दा अझ राम्ररी देख्न सकिन्छ, त्यसरी नै परमेश्वरको दृष्टिकोण हाम्रोभन्दा कत्ति उच्च छ भन्ने कुरामा मनन गऱ्यौँ भने आफ्नो सोचाइ छाँटकाँट गर्न हामीलाई सजिलो हुन्छ। परमेश्वरले भविष्यवक्ता यसैयामार्फत यसो भन्नुभएको छ: “जसरी आकाश धर्तीभन्दा उच्च छ, त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।”—यसैया ५५:८, ९.
मार्च ११-१७
बाइबलमा पाइने अनमोल धन | रोमी १५-१६
बहुमूल्य रत्न खोजौँ
w८९-E १२/१ पृ. २४ अनु. ३
“तिमीहरूको प्रेम निष्कपट हो कि होइन भनी जाँच्न”
यरुसलेमका ख्रिष्टियनहरूको दुःखलाग्दो अवस्था देखेर अन्यजातिका ख्रिष्टियनहरू पक्कै पनि उनीहरूलाई मदत गर्न उत्प्रेरित भएको हुनुपर्छ। आखिर तिनीहरू यरुसलेमका ख्रिष्टियनहरूप्रति एउटा विशेष अर्थमा “ऋणी” थिए। सुसमाचार यरुसलेमबाटै अन्यजातिका मानिसहरूमाझ फैलिएको थियो। पावलले लेखे: “अन्यजातिका मानिसहरूले जे-जे आध्यात्मिक कुराहरू पाए, ती सब पवित्र जनहरूको भागबाटै पाएका हुन्। त्यसैले भौतिक कुराहरू दिएर उनीहरूको सेवा गर्नु तिनीहरूको कर्तव्य हो।”—रोमी १५:२७.
it-1-E पृ. ८५८ अनु. ५
पूर्वज्ञान, पूर्वनिर्धारण
मसीह वा ख्रिष्ट प्रतिज्ञा गरिएका सन्तान हुने थिए, जसद्वारा पृथ्वीको सबै परिवारका धर्मी मानिसहरूले आशिष् पाउने थिए। (गला ३:८, १४) अदनको बगैँचामा विद्रोह भएपछि र हाबिल जन्मनुअघि त्यस “सन्तान”-बारे सबैभन्दा पहिलो पटक चर्चा गरियो। (उत्प ३:१५) त्यसको झन्डै ४ हजार वर्षपछि ती मसीही “सन्तान” को हुन् भनेर स्पष्टसित चिनाइयो र यसरी “पवित्र रहस्य” प्रकट गरियो। यस अर्थमा पवित्र रहस्यलाई “युगौँदेखि गुप्तमा राखिएको थियो।”—रोमी १६:२५-२७; एफि १:८-१०; ३:४-११.
मार्च १८-२४
बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १-३
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ११९३ अनु. १
बुद्धि
परमेश्वरले ख्रिष्टमार्फत मिलाउनुभएको प्रबन्धलाई संसारले मूर्खता भन्दै तिरस्कार गऱ्यो र आफूले बुद्धिमान् काम गरिरहेको छु भन्ठान्यो। संसारका शासकहरू जति नै योग्य र समझदार ठानिए तापनि तिनीहरूले ‘गौरवशाली प्रभुलाई मारे।’ (१को १:१८; २:७, ८) तर अब भने परमेश्वरले संसारको नजरमा बुद्धिमान् मानिसहरूको बुद्धिलाई मूर्खता साबित गर्दै हुनुहुन्थ्यो। तिनीहरू जुन कुरालाई “परमेश्वरको मूर्खता” ठान्थे, त्यही कुरा र जुन मानिसहरूलाई ‘मूर्ख, कमजोर र महत्त्वहीन’ ठान्थे, त्यही मानिसहरूलाई चलाएर परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नुभयो। यसरी परमेश्वरले संसारको नजरमा बुद्धिमान् मानिसहरूलाई सरममा पारिदिनुभयो। (१को १:१९-२८) “यस युगको बुद्धि [र] यस युगका शासकहरूको बुद्धिको” अस्तित्व मेटिनेछ भनेर प्रेषित पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई सम्झाए। त्यसैले पावलले दिएको आध्यात्मिक सन्देशमा सांसारिक बुद्धिका कुराहरू समावेश थिएन। (१को २:६, १३) तिनले कलस्सीका ख्रिष्टियनहरूलाई मानिसहरूको परम्परामा आधारित “मानव दर्शनका [फिलोसोफियास। शाब्दिक, बुद्धिप्रतिको प्रेम] साथै खोक्रो अनि छली विचारधाराहरू”-को पासोमा नपर्न चेतावनी दिए।—कल २:८; पद २०-२३ तुलना गर्नुहोस्।
मार्च २५-३१
बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी ४-६
“अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”
it-2-E पृ. २३०
खमिर
प्रेषित पावलले कोरिन्थमा भएको ख्रिष्टियन मण्डलीलाई अवैध यौनसम्बन्ध राख्ने व्यक्तिलाई मण्डलीबाट बहिष्कार गर्ने निर्देशन दिँदा पनि खमिरको उदाहरण चलाए। तिनले यस्तो लेखे: “अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन? पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको बलिदान चढाइसकिएको हुनाले तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ।” त्यसपछि, “खमिर”-ले केलाई बुझाउँछ भनी तिनले स्पष्टसित बताए: “त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।” (१को ५:६-८) पावलले यहाँ आफूले भनेको कुरालाई यहुदीहरूले निस्तार चाडपछि तुरुन्तै मनाउने अखमिरा रोटीको चाडसित तुलना गर्दै थिए। जसरी अलिकता खमिरले पीठोको पूरै डल्लो वा ढिकोलाई तुरुन्तै खमिरा बनाइदिन्थ्यो, त्यसरी नै अवैध यौनसम्बन्ध राख्ने त्यस व्यक्तिको कुप्रभाव नहटाएमा यहोवाको नजरमा मण्डली अशुद्ध हुने थियो। जसरी इस्राएलीहरूले अखमिरा रोटीको चाडको बेलामा आफ्नो घरमा खमिर राख्नु हुँदैनथ्यो, त्यसरी नै कोरिन्थका ख्रिष्टियनहरूले आफ्नो माझबाट “खमिर”-लाई हटाउन कदम चाल्नुपर्थ्यो।
it-2-E पृ. ८६९-८७०
सैतान
‘मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस् भनेर कुनै मानिसलाई सैतानको हातमा सुम्पिदिनु’ भनेको के हो?
आफ्नै बुबाकी पत्नीसित अवैध यौनसम्बन्ध राखिरहेको एक दुष्ट व्यक्ति, जो मण्डलीको सदस्य थियो, उसको सन्दर्भमा कस्तो कदम चाल्नुपर्छ भनेर कोरिन्थको मण्डलीलाई निर्देशन दिँदा प्रेषित पावलले यस्तो लेखे: “तिमीहरूले त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ ताकि त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस्।” (१को ५:५) पावलले त्यस दुष्ट व्यक्तिलाई मण्डलीबाट बहिष्कार गर्ने निर्देशन दिए। मण्डलीले ती व्यक्तिसित सङ्गत गर्न पूरै छोड्नुपर्ने थियो। (१को ५:१३) त्यस व्यक्तिलाई सैतानको हातमा सुम्पिनुको अर्थ उसलाई मण्डलीबाट हटाएर संसारमा सुम्पिइने थियो, जसको ईश्वर र शासक सैतान हो। अवैध यौनसम्बन्ध राख्ने त्यस मानिसलाई आफ्नो माझबाट हटाएर आध्यात्मिक झुकाव भएको मण्डलीले त्यस मानिसले ल्याएको “पापी झुकाव”-लाई नष्ट गरिरहेको हुने थियो। त्यसैगरि पावलले हाइमेनियस र अलेक्जेन्डरलाई सैतानको हातमा सुम्पिदिएका थिए किनकि तिनीहरूले विश्वास र सफा अन्तस्करणलाई त्यागेका थिए अनि तिनीहरूको विश्वासको जहाज क्षतिग्रस्त भएको थियो।—१ति १:२०.
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. २११
नियम
स्वर्गदूतहरूको लागि नियम। मानिसहरूभन्दा उच्च स्वर्गदूतहरूले पनि परमेश्वरको नियम र आज्ञा पालन गर्नुपर्छ। (हिब्रू १:७, १४; भज १०४:४) यहोवा परमेश्वरले आफ्नो शत्रु सैतानलाई पनि आज्ञा गर्नुभयो र त्यसको निम्ति सीमा तोकिदिनुभयो। (अयु १:१२; २:६) दियाबलसित वादविवाद पर्दा प्रधान-स्वर्गदूत माइकलले सर्वोच्च न्यायाधीश यहोवाको अख्तियार स्विकारेको र उहाँको आदर गरेको देखाउँदै यसो भन्नुभयो: “यहोवाले तँलाई हप्काऊन्।” (यहु ९; जक ३:२ तुलना गर्नुहोस्।) यहोवा परमेश्वरले सबै स्वर्गदूतलाई महिमित पारिनुभएका येसु ख्रिष्टको अधीनमा राखिदिनुभएको छ। (हिब्रू १:६; १प ३:२२; मत्ति १३:४१; २५:३१; फिलि २:९-११) येसुकै निर्देशनमा एक जना स्वर्गदूतलाई युहन्नाकहाँ पठाइएको थियो। (प्रका १:१) तर १ कोरिन्थी ६:३ मा प्रेषित पावलले ख्रिष्टका आध्यात्मिक भाइहरूले स्वर्गदूतहरूको न्याय गर्नेछन् भनी बताए। यसले के बुझाएको हुनुपर्छ भने ख्रिष्टका ती भाइहरूले दुष्ट स्वर्गदूतहरूमाथि न्यायदण्ड ल्याउने काममा कुनै न कुनै तरिकामा भाग लिनेछन्।