जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
जुलाई १-७
बाइबलमा पाइने अनमोल धन | कलस्सी १-४
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. १६९ अनु. ३-५
परमेश्वरको राज्य
“आफ्नो प्यारो छोराको राज्य।” येसु स्वर्ग जानुभएको १० दिनपछि इस्वी संवत् ३३ पेन्तिकोसमा उहाँले चेलाहरूमाथि पवित्र शक्ति खन्याउनुभयो। यसबाट चेलाहरूले “उहाँलाई परमेश्वरको दाहिने हाततर्फ उच्च पद दिइएको” छ भन्ने कुरा थाह पाए। (प्रे १:८, ९; २:१-४, २९-३३) यस घटनापछि तिनीहरूमा “नयाँ करार” लागू भयो अनि तिनीहरू नयाँ “पवित्र जाति” अर्थात् आध्यात्मिक इस्राएलको मुख्य भाग बने।—हिब्रू १२:२२-२४; १प २:९, १०; गला ६:१६.
ख्रिष्ट आफ्नो बुबाको दाहिने हाततर्फ बस्नुभयो अनि यस मण्डलीको शिर हुनुभयो। (एफि ५:२३; हिब्रू १:३; फिलि २:९-११) इस्वी संवत् ३३ पेन्तिकोसदेखि येसुका चेलाहरूमाझ आध्यात्मिक राज्य स्थापना भयो भनी धर्मशास्त्रले देखाउँछ। प्रेषित पावलले ख्रिष्टको राज्य स्थापना भइसकेको कुरालाई सङ्केत गर्दै प्रथम शताब्दीको कलस्सीका ख्रिष्टियनहरूलाई पत्रमा यस्तो लेखे: “[परमेश्वरले] हामीलाई अन्धकारको शक्तिबाट छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो।”—कल १:१३; प्रे १७:६, ७ तुलना गर्नुहोस्।
इस्वी संवत् ३३ पेन्तिकोसदेखि ख्रिष्टको आध्यात्मिक राज्यले परमेश्वरको पवित्र शक्तिद्वारा जन्मेका उहाँका आध्यात्मिक सन्तानमाथि अर्थात् आध्यात्मिक इस्राएलमाथि शासन गर्दै छ। (युह ३:३, ५, ६) पवित्र शक्तिद्वारा अभिषिक्त भएका ख्रिष्टियनहरूले स्वर्गीय जीवनको इनाम पाएपछि तिनीहरू ख्रिष्टको आध्यात्मिक राज्यको पार्थिव प्रजा हुनेछैनन्। बरु तिनीहरू ख्रिष्टसँगै स्वर्गमा राजा हुनेछन्।—प्रका ५:९, १०.
जुलाई ८-१४
बाइबलमा पाइने अनमोल धन | १ थिस्सलोनिकी १-५
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८६३-८६४
अवैध यौनसम्बन्ध
अवैध यौनसम्बन्ध राख्नु अपराध हो र यस्तो काम गर्ने व्यक्ति ख्रिष्टियन मण्डलीबाट बहिष्कार हुन सक्छ। (१को ५:९-१३; हिब्रू १२:१५, १६) प्रेषित पावलले अवैध यौनसम्बन्ध राख्ने ख्रिष्टियनले आफ्नो जननेन्द्रियलाई अनुचित कामको लागि प्रयोग गरेर आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ भनी बताए। उसको आध्यात्मिकतामा ठूलो हानि पुग्छ, उसले परमेश्वरको मण्डलीलाई दूषित बनाउँछ अनि ऊ प्राणघातक यौन रोगको सिकार हुने खतरामा पर्छ। (१को ६:१८, १९) अवैध यौनसम्बन्ध राख्ने व्यक्तिले ख्रिष्टियन दाजुभाइ दिदीबहिनीको अधिकारलाई बेवास्ता गरिरहेको हुन्छ। (१थि ४:३-७) कसरी? (१) अशुद्ध र लाजमर्दो कामद्वारा मण्डलीको बेइज्जत गरेर (हिब्रू १२:१५, १६), (२) जोसित अवैध सम्बन्ध राखेको हुन्छ, त्यस व्यक्तिलाई स्वच्छ नैतिक स्तरबाट चुक्न लगाएर र यदि उक्त व्यक्ति अविवाहित हो भने उसलाई सफा अन्तस्करणसहित वैवाहिक बन्धनमा बाँधिन अयोग्य तुल्याएर (३) आफ्नो परिवारले नैतिक रूपमा कमाएको असल नामको बदनाम गरेर अनि (४) जोसित अवैध सम्बन्ध राखेको हुन्छ, त्यस व्यक्तिको आमाबुबा, पति वा मङ्गेतरलाई धोका दिएर। उसले मानिसलाई होइन, परमेश्वरलाई अनादर गरिरहेको हुन्छ। मानिसले बनाएको नियमले अवैध यौनसम्बन्ध राख्नुलाई अपराध मान्न पनि सक्छ वा नमान्न पनि सक्छ। तर उसले परमेश्वरविरुद्ध पाप गरेकोले उहाँबाट उचित सजाय पाउँछ।—१थि ४:८.
जुलाई १५-२१
बाइबलमा पाइने अनमोल धन | २ थिस्सलोनिकी १-३
“कुकर्मी पुरुष प्रकट हुन्छ”
it-1-E पृ. ९७२-९७३
परमेश्वरको भक्ति
यहाँ अर्को रहस्यबारे बताइएको छ, जुन यहोवा परमेश्वरको “पवित्र रहस्य” भन्दा ठ्याक्कै विपरीत छ। त्यो हो, ‘कुकर्मको रहस्य।’ साँचो ख्रिष्टियनहरूका लागि यो एउटा रहस्य थियो किनभने प्रेषित पावलको समयमा “कुकर्मी पुरुष”-ले कुन समूहलाई बुझाउँछ भनेर स्पष्ट भइसकेको थिएन अनि त्यो समूह पूर्ण रूपमा स्थापित भइसकेको पनि थिएन। त्यो “पुरुष” अर्थात् समूह स्थापित भइसकेपछि पनि प्रायजसो मानिसहरूको लागि त्यो रहस्य नै रहने थियो किनकि त्यस “पुरुष”-ले परमेश्वरको भक्ति गरेको ढोँग गरेर दुष्ट कार्यहरू गर्ने थियो। वास्तवमा त्यो परमेश्वरको साँचो भक्तिबाट तर्केर धर्मत्यागी हुने थियो। ‘कुकर्मको रहस्य’-ले आफ्नो काम थालिसकेको छ भनी पावलले बताए किनकि त्यसबेला ख्रिष्टियन मण्डलीमा कसै-कसैलाई कुकर्मको प्रभाव पर्न थालिसकेको थियो र त्यसले गर्दा नै पछि गएर धर्मत्यागीहरूको समूह खडा हुने थियो। अन्ततः येसु ख्रिष्टले आफ्नो उपस्थिति जाहेर गर्ने बेला यस समूहलाई नाश गर्नुहुने थियो। सैतानले नियन्त्रण गरिरहेको यस “पुरुष”-ले “आफूलाई ईश्वर कहलिएकाहरूमध्ये सबैभन्दा माथि वा उपासना गरिने हरेक थोकभन्दा (ग्रीक भाषामा, सेबास्मा) माथि” उचाल्ने थियो। तसर्थ सैतानले चलाइरहेको यस माध्यम, जुन परमेश्वरको महाविरोधी हो, यो निकै भ्रामक हुने थियो र यसको पछि लाग्नेहरू नाश हुने थिए। परमेश्वरको भक्ति गरेको ढोँग गर्ने भएकोले यो “कुकर्मी पुरुष” थुप्रैलाई बहकाउन सफल हुने थियो।—२थि २:३-१२; मत्ति ७:१५, २१-२३ तुलना गर्नुहोस्।
it-2-E पृ. २४५ अनु. ७
झूट
यहोवा परमेश्वरले त्यस्ता मानिसहरूलाई “झूटा शिक्षाहरूद्वारा बहकिन दिनुहुन्छ,” जो येसु ख्रिष्टसम्बन्धी सुसमाचारमा नभई “झूटैमा विश्वास गर्न चाहन्छन्।” (२थि २:९-१२) यो कुरा शताब्दियौँअघि राजा आहाबको जीवनमा घटेको घटनाबाट स्पष्ट हुन्छ। राजा आहाबले रामोथ-गिलादमाथि आक्रमण गरे भने तिनी विजयी हुनेछन् भनेर झूटा भविष्यवक्ताहरूले तिनलाई आश्वासन दिए। तर यहोवाको भविष्यवक्ता मिकायाहले भने तिनी पराजित हुनेछन् भनेर भविष्यवाणी गरे। यहोवाले मिकायाहलाई एउटा दर्शन देखाउनुभयो। दर्शनमा यहोवाले एक जना स्वर्गदूतलाई आहाबका भविष्यवक्ताहरूलाई “झूट बोल्न” लगाउने अनुमति दिनुभएको कुरा प्रकट गरिएको थियो। मतलब, यी स्वर्गदूतले आफ्नो शक्ति प्रयोग गरेर तिनीहरूलाई सत्य कुरा नभई आफूलाई भन्न मन लागेको कुरा र आहाबलाई सुन्न मन लागेको कुरा बोल्न लगाए। पहिल्यै चेतावनी पाइसकेको भए तापनि आहाबले ती भविष्यवक्ताहरूको झूटो कुरा पत्याए र नतिजास्वरूप आफ्नो जीवन गुमाए।—१रा २२:१-३८; २इ १८.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ८३४ अनु. ५
आगो
पत्रुसले “आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ” भनेर लेखे। यस पदको प्रसङ्ग र अन्य पदहरू हेर्ने हो भने यहाँ उल्लेख गरिएको आगोले वास्तविक आगोलाई नभई अनन्त विनाशलाई सङ्केत गर्छ भनेर प्रस्ट हुन्छ। नुहको जलप्रलयले वास्तविक आकाश र पृथ्वीलाई नभई भक्तिहीन मानिसहरूलाई मात्र नाश गरेको थियो। त्यसरी नै येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित बल्दो आगोको साथ प्रकट हुनुहुँदा भक्तिहीन मानिसहरूलाई र तिनीहरू समावेश भएको दुष्ट रीतिरिवाजलाई मात्र सदाको लागि विनाश गर्नुहुनेछ।—२प ३:५-७, १०-१३; २थि १:६-१०; यसै ६६:१५, १६, २२, २४ तुलना गर्नुहोस्।
it-1-E पृ. १२०६ अनु. ४
प्रेरित
“प्रेरित सन्देश”—सत्य र झूटो। प्रेषितहरूले लेखेको कुनै-कुनै लेखोटमा ग्रीक शब्द न्युमा विशेष तरिकामा प्रयोग गरिएको छ। उदाहरणको लागि, प्रेषित पावलले थिस्सलोनिकी भाइबहिनीहरूलाई यसो भने: “यहोवा परमेश्वरको दिन आइपुग्यो भनी कसैले दाबी गर्दैमा झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल र नघबराओ, चाहे कसैले त्यो प्रेरित सन्देश [ग्रीक भाषामा, न्युमा] हो भनोस् वा तिमीहरूले कसैबाट मौखिक रूपमा सुनेको सन्देश होस् वा हामीले पठाएको जस्तो देखिने पत्र नै किन नहोस्।” (२थि २:२) स्पष्ट छ, पावलले न्युमा शब्द कुराकानी गर्ने माध्यमलाई जस्तै: ‘मौखिक सन्देश’ वा “पत्र”-लाई बुझाउन प्रयोग गरे।
जुलाई २२-२८
बाइबलमा पाइने अनमोल धन | १ तिमोथि १-३
“जिम्मेवारी बहन गर्न अघि बढ्नुहोस्”
km-E ९/७८ पृ. ४ अनु. ७
‘असल नाम कमाउने’ पुरुषहरू
७ यसबाट पावलले ती पुरुषहरूले “असल नाम कमाउँछन्” भन्नुको कारण बुझ्न सक्छौँ। कसै-कसैले भनेझैँ यसको अर्थ चर्चमा ठूलठूला ओहदा हासिल गर्दै जानु होइन। बरु यसले के प्रस्ट पार्छ भने “राम्ररी सेवा गर्ने” सहायक सेवकहरू यहोवा र येसुबाट आशिष् पाउने अनि पूरै मण्डलीबाट आदर र साथ पाउने कुरामा ढुक्क हुन सक्छन्। त्यसैले “तिनीहरूले निर्धक्क भई साहसका साथ ख्रिष्ट येसुमा भएको विश्वासबारे बोल्न सक्छन्।” यी पुरुषहरू वफादार भई आफ्नो जिम्मेवारी पूरा गर्छन्। त्यसैले तिनीहरूले गरेको असल कामको लागि तिनीहरूको कदर गरिन्छ, तिनीहरूको विश्वास स्थिर हुन्छ र तिनीहरू आफ्नो विश्वासबारे साहसका साथ अनि आफूमाथि कुनै दोष आइपर्ने हो कि भन्ने डरविना बोल्न सक्छन्।
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ९१४-९१५
वंशावली
यस्ता कुराहरू पढ्नु र यसबारे वादविवाद गर्नुको कुनै अर्थ थिएन। पावलले तिमोथिलाई पत्र लेखेको समयमा त त्यसो गर्नु झनै व्यर्थ थियो। परमेश्वरले ख्रिष्टियन मण्डलीमा यहुदीहरू र अन्यजातिका व्यक्तिहरूबीच कुनै भेदभाव गर्नुहुने थिएन। त्यसैले आफू कुन वंशबाट आएको हो भनेर प्रमाणित गर्न वंशावली विवरण केलाउनु अबउसो आवश्यक थिएन। (गला ३:२८) ख्रिष्ट दाउदको वंशबाट आउनुभएको हो भन्ने कुरा वंशावलीहरूबाट पहिल्यै प्रमाणित भइसकेको थियो। साथै पावलले यो चेतावनी दिएको केही समय नबित्दै यरुसलेम नाश हुने थियो र त्यससँगै यहुदीहरूले राखेका रेकर्डहरू पनि नष्ट हुने थिए। यहोवाले ती रेकर्डहरूलाई जोगाउनुभएन। त्यसैगरि, तिमोथिले र मण्डलीहरूले कसैको वंशावलीबारे अध्ययन-अनुसन्धान गरेर अनि वादविवाद गरेर समय खेर फालेको पावल चाहँदैनथे किनभने यस्ता कुराहरूले विश्वास बलियो बनाउन मदत गर्दैनथ्यो। ख्रिष्ट नै मसीह हुनुहुन्छ भनेर साबित गर्न बाइबलमा उल्लिखित वंशावली पर्याप्त छ र यही वंशावली ख्रिष्टियनहरूका लागि सबैभन्दा महत्त्वपूर्ण वंशावली हो। धर्मशास्त्रमा भएका अन्य वंशावलीहरूले बाइबल आधिकारिक किताब हो अनि बाइबलमा भएका विवरणहरू ऐतिहासिक रूपमा सही छन् भनेर प्रमाणित गर्छ।
cl-E पृ. १२ अनु. १५
“हेर! उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ!”
१५ यहोवालाई मात्र दिइएको अर्को एउटा उपाधि हो, “युगयुगका महाराजा।” (१ तिमोथि १:१७; प्रकाश १५:३) यसको अर्थ के हो? हुनत हाम्रो सोच्ने क्षमता सीमित भएकोले हामी यो कुरा राम्ररी बुझ्न सक्दैनौँ होला तर यहोवा सदासर्वदा अस्तित्वमा हुनुहुन्छ; उहाँको न सुरुवात छ न अन्त। भजन ९०:२ यसो भन्छ: “अनादिदेखि अनन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ।” त्यसैले यहोवाको सुरुवात छैन; उहाँ सदासर्वदादेखि अस्तित्वमा रहँदै आउनुभएको छ। उहाँलाई “अतिप्राचीन” भन्नु एकदमै उपयुक्त छ किनभने यस ब्रह्माण्डमा कुनै व्यक्ति वा कुनै कुरा अस्तित्वमा आउनुअघि नै युगौँयुगदेखि उहाँ अस्तित्वमा हुनुहुन्छ। (दानिएल ७:९, १३, २२) उहाँ नै ब्रह्माण्डका मालिक हुन योग्य हुनुहुन्छ भन्ने कुरामा कसले प्रश्न उठाउन सक्छ र?
जुलाई २९–अगस्त ४
बाइबलमा पाइने अनमोल धन | १ तिमोथि ४-६
“परमेश्वरको भक्ति र धनसम्पत्ति”
g-E ६/०७ पृ. ६ अनु. २
हरहालतमा धनी हुन खोज्दा तपाईँले कस्तो नतिजा भोग्नुपर्ने हुन्छ?
हुनत धनसम्पत्तिको पछि लाग्दैमा मानिसले आफ्नो ज्यानै गुमाउँछ भन्ने त छैन तर धनसम्पत्ति कमाउने धुनमा लागेका मानिसहरूलाई वर्षहरू बितेको पत्तै हुँदैन। यति मात्र होइन, तनावपूर्ण काम अथवा आर्थिक समस्याले गर्दा तिनीहरूलाई छटपटी, अनिद्रा, दीर्घकालीन टाउको दुखाइ वा अल्सरजस्ता स्वास्थ्य समस्याले सताउन सक्छ, जसले गर्दा तिनीहरूको जीवन छोटिन्छ। अनि यस्तो अवस्थामा पुगेपछि यदि कुनै मानिस आफूलाई सुधार्न चाहन्छ भने धेरै ढिला भइसकेको हुन्छ। तिनकी पत्नीले तिनलाई भरोसा गर्न छोडिसकेकी हुन सक्छिन्, तिनका छोराछोरीलाई भावनात्मक रूपमा नकारात्मक असर परिसकेको हुन सक्छ र तिनको स्वास्थ्य पनि बिग्रन सक्छ। हुनत कुनै-कुनै हानि सुधार्न सकिन्छ तर यसको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। साँच्चै, त्यस्ता व्यक्तिहरूले “थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका” हुन्छन्।—१ तिमोथि ६:१०.
g-E ११/०८ पृ. ६ अनु. ४-६
सफल हुने छ वटा तरिका
यस शृङ्खलाको सुरुको लेखमा धनसम्पत्तिलाई सफलताको खुट्किलो ठानेकोले त्यो हासिल गर्न लागिपरेकाहरू वास्तवमा भ्रमको पछि लागेका हुन्छन् भनेर हामीले छलफल गरेका थियौँ। तिनीहरू आफ्नो निम्ति निराशाका साथै अरू थुप्रै पीडा निम्त्याउँछन्। उदाहरणको लागि, धनसम्पत्ति हासिल गर्न लागिपरेकाहरूले आफ्नो परिवार र साथीभाइसितको सम्बन्धलाई बेवास्ता गर्छन्। अरू कतिपय भने कामले गर्दा अथवा चिन्ता-फिक्रीले गर्दा पर्याप्त सुत्न सक्दैनन्। उपदेशक ५:१२ ले यसो भन्छ: “अरूको सेवा गर्नेले चाहे आधापेट खाएको होस् या पेटभरि, उसलाई मीठो निद्रा लाग्छ। तर धनी मानिसको प्रशस्त धनसम्पत्तिले गर्दा उसलाई निद्रै लाग्दैन।”
पैसा निर्दयी मालिक मात्र होइन, यो भ्रामक पनि हुन्छ। येसु ख्रिष्टले “धनसम्पत्तिको भ्रामक शक्ति” हुन्छ भन्नुभयो। (मर्कुस ४:१९) यसको मतलब धनसम्पत्तिले आनन्द दिन्छ जस्तो लागे पनि वास्तवमा दिँदैन। बरु धनसम्पत्ति अझ थुपार्ने लोभ मात्रै बढाउँछ। उपदेशक ५:१० ले यसो भन्छ: “रुपैयाँ-पैसाको लोभ गर्ने मानिसलाई जति भए पनि पुग्दैन।”
सारांशमा भन्नुपर्दा पैसाप्रतिको प्रेमले आफैलाई हानि पुऱ्याउँछ अनि यसले अन्ततः निराशा, दिक्दारी र अपराधतर्फ समेत डोऱ्याउँछ। (हितोपदेश २८:२०) आनन्दित र सफल हुन चाहन्छौँ भने हामी उदार, क्षमाशील र नैतिक रूपमा स्वच्छ हुनुपर्छ अनि प्रेम र आध्यात्मिक कुरा पनि चाहिन्छ।
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ७१४ अनु. १-२
मानिसहरूसामु गरिने पढाइ
ख्रिष्टियन मण्डलीमा। प्रथम शताब्दीमा कोही-कोहीसित मात्र बाइबलका धेरैजसो बेरुवा हुन्थ्यो। त्यसैले मानिसहरूसामु ती पढेर सुनाउनु महत्त्वपूर्ण थियो। प्रेषित पावलले तिनका पत्रहरू ख्रिष्टियन मण्डलीका सभाहरूमा सबैसामु पढ्ने आज्ञा दिए र तिनले विभिन्न मण्डलीहरूमा पठाएका पत्रहरू साटासाट गरेर ती पनि सबैसामु पढ्ने निर्देशन दिए। (कल ४:१६; १थि ५:२७) पावलले जवान निरीक्षक तिमोथिलाई “मानिसहरूसामु पवित्र लेखोटहरू पढ्ने, अर्ती दिने र सिकाउने काममा लागिरह” भनी सल्लाह दिए।—१ति ४:१३.
मानिसहरूसामु पढ्दा सरर्र बग्नेगरि पढ्नुपर्छ। (हब २:२) मानिसहरूसामु गरिने पढाइको उद्देश्य सुन्नेहरूलाई शिक्षा दिनको लागि भएकोले पढ्ने व्यक्तिले आफूले पढ्न लागेको कुरा र लेखकले त्यो लेख्नुको मनसाय राम्ररी बुझ्नुपर्छ। यसो गर्दा तिनी गलत अर्थ लाग्नेगरि पढ्नदेखि जोगिनेछन्। प्रकाश १:३ अनुसार त्यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढ्ने मानिस अनि ती सुन्ने र पालन गर्ने मानिसहरू आनन्दित हुनेछन्।