जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
फेब्रुअरी ३-९
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १२-१४
“तपाईँलाई पनि असर गर्ने एउटा करार”
it-1-E पृ. ५२२ अनु. ४
करार
अब्राहामसित गरिएको करार। अब्रामले (अब्राहाम) कनानतर्फ यात्रा गर्ने क्रममा युफ्रेटिस नदी तरेपछि यो करार लागू भएको हुनुपर्छ। त्यसको ४३० वर्षपछि व्यवस्थाको करार अस्तित्वमा आयो। (गला ३:१७) अब्राहाम मेसोपोटामियामा कल्दियालीहरूको सहर उरमा छँदा यहोवाले तिनीसित कुरा गर्नुभयो र उहाँले देखाउनुहुने देशमा जान तिनलाई आज्ञा दिनुभयो। (प्रे ७:२, ३; उत्प ११:३१; १२:१-३) प्रस्थान १२:४०, ४१ अनुसार मिश्रमा र कनानमा प्रवासी भएर बसेको “४३० वर्ष पूरा भएकै दिन” मिश्रमा दासत्वमा परेका इस्राएलीहरू त्यहाँबाट निस्किए। इस्राएलीहरूले ईसापूर्व १५१३ को नीसान १४ मा मिश्रको दासत्वबाट छुटकारा पाएका थिए र त्यही दिन निस्तार चाड स्थापना भएको थियो। (प्रस्थ १२:२, ६, ७) त्यसैले अब्राहामले कनानतर्फ यात्रा गर्ने क्रममा ईसापूर्व १९४३ को निसान १४ मा युफ्रेटिस नदी तरेका थिए जस्तो देखिन्छ र परमेश्वरले अब्राहामसित गर्नुभएको करार त्यसै बेलादेखि लागू भएको हुनुपर्छ। अब्राहाम कनानतर्फ यात्रा गर्दै सकेमसम्म पुगेपछि परमेश्वर तिनीकहाँ फेरि देखा पर्नुभयो र तिनीसित गरेको प्रतिज्ञाबारे नयाँ कुरा बताउनुभयो। उहाँले यसो भन्नुभयो: “म तिम्रो सन्तानलाई यो ठाउँ दिनेछु।” यस कुराले अदनको बगैँचामा गरिएको प्रतिज्ञा र यो प्रतिज्ञा एकआपसमा सम्बन्धित छ भन्ने सङ्केत दियो। साथै “सन्तान” मानिसको वंशमा देखा पर्नेछ अर्थात् मानिसको रूपमा आउनेछ भनेर पनि यसले देखायो। (उत्प १२:४-७) पछि यहोवाले अब्राहामसित गरिएको प्रतिज्ञाबारे अरू पनि नयाँ कुरा बताउँदै जानुभयो, जुन उत्पत्ति १३:१४-१७; १५:१८; १७:२-८, १९ र २२:१५-१८ मा लेखिएका छन्।
w८९-E ७/१ पृ. ३ अनु. ४
अब्राहामबारे सत्य कुरा हामीले किन थाह पाउनुपर्छ?
यो एउटा आश्चर्यजनक प्रतिज्ञा थियो। अनि अब्राहामले यो प्रतिज्ञा कम्तीमा पनि अर्को दुई पटक सुने। (उत्पत्ति १८:१८; २२:१८) यो प्रतिज्ञा पूरा गर्न परमेश्वरले मरेर गइसकेका जातिजातिका मानिसहरूलाई समेत फेरि जीवित पार्नुहुनेछ। त्यसरी फेरि जीवित हुनेहरूले आनन्दित अवस्थामा जिउन पाउनेछन् किनकि तिनीहरूमध्ये धेरैजसो मानिस फेरि जीवित हुँदा पृथ्वी सुरुमा मानिसजातिले गुमाएको प्रमोदवनजस्तै अवस्थामा परिणत भइसकेको हुनेछ। त्यसपछि तिनीहरूलाई अनन्त जीवन कसरी पाउन सकिन्छ भनेर सिकाइनेछ।—उत्पत्ति २:८, ९, १५-१७; ३:१७-२३.
it-2-E पृ. २१३ अनु. ३
व्यवस्था
यससित सम्बन्धित ऐतिहासिक प्रमाणहरूको आधारमा केही शास्त्रविद्हरू के विश्वास गर्छन् भने, जमिन किनबेच गर्ने बेलामा त्यो किन्ने व्यक्तिलाई पूरै जमिन देख्न सकिने ठाउँमा लगिन्थ्यो, जहाँबाट तिनले त्यसको सिमाना पनि राम्ररी देख्न सक्थे। किन्ने व्यक्तिले त्यो जमिन कानुनी रूपमा स्विकारेको सङ्केत दिन “देखेँ” भन्नुपर्थ्यो। यहोवाले अब्राहामलाई कनान देश दिने प्रतिज्ञा गर्नुहुँदा उहाँले तिनलाई चारैतिर हेर्न आग्रह गर्नुभयो। त्यसबेला अब्राहामले “देखेँ” भनेनन्। यहोवाले प्रतिज्ञा गरिएको देश पछि गएर अब्राहामको सन्तानलाई दिनुहुने भएकोले सायद तिनले त्यसो भनेनन्। (उत्प १३:१४, १५) मोसालाई इस्राएलको कानुनी प्रतिनिधिको रूपमा त्यो देश ‘हेर्न’ भनियो। यदि माथि उल्लेख गरिएको चलन साँचो हो भने मोसाले प्रतिज्ञा गरिएको देश ‘हेर्नु’-ले इस्राएलीहरूलाई कानुनी रूपमा त्यो देश दिइएको कुरालाई जनाउँथ्यो, जुन देश तिनीहरूले यहोसुको नेतृत्वमा अधिकार गर्ने थिए। (व्य ३:२७, २८; ३४:४; मत्ति ४:८ मा सैतानले येसुलाई राखेको प्रस्ताव पनि विचार गर्नुहोस्) साथै जमिन अधिकार गर्ने उद्देश्यले त्यसको चारैतिर घुम्नु वा त्यहाँ प्रवेश गर्नुले पनि त्यसलाई कानुनी रूपमा स्विकारेको सङ्केत दिएको हुन सक्छ। (उत्प १३:१७; २८:१३) केही प्राचीन कागजातहरूमा जग्गाजमिन किनबेच गर्दा त्यसमा भएका रूखहरूको सङ्ख्या पनि उल्लेख गरिएको पाइन्छ।—उत्प २३:१७, १८ तुलना गर्नुहोस्।
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. ६८३ अनु. १
पुजारी
सालेमका राजा मल्किसेदेक विशेष किसिमका पुजारी थिए। बाइबलमा तिनको वंश, जन्म र मृत्युबारे केही पनि बताइएको छैन। तिनले पुजारीको पद आफ्नो वंशअनुसार पाएका थिएनन् र तिनको पूर्वाधिकारी वा उत्तराधिकारी कोही पनि थिएन। मल्किसेदेकले राजा र पुजारी दुवैको भूमिका निर्वाह गरे। लेविको वंशबाट आएका पुजारीहरूको तुलनामा मल्किसेदेकको पुजारीगिरी अझै उत्तम थियो किनकि अब्राहामको वंशबाट लेवि जन्मनुअघि नै अब्राहामले मल्किसेदेकलाई दशांश चढाएका थिए र तिनीबाट आशिष् पाएका थिए। त्यसैले एक अर्थमा लेविले पनि मल्किसेदेकलाई दशांश चढाएका थिए। (उत्प १४:१८-२०; हिब्रू ७:४-१०) यसरी मल्किसेदेकले येसु ख्रिष्टलाई पूर्वचित्रण गरे, जो ‘मल्किसेदेकजस्तो सधैँका लागि पुजारी’ हुनुहुन्छ।—हिब्रू ७:१७.
कुराकानी गर्ने सीप तिखारौँ
w१२-E १/१ पृ. ८
परमेश्वरको भय मान्ने स्त्री र बहुमूल्य पत्नी
साराको विवाह अत्यन्तै विश्वासी पुरुषसित भएको थियो। तर सारा आफैले पनि परमेश्वरको भय मान्ने स्त्रीको रूपमा राम्रो उदाहरण बसालिन्। परमेश्वरको भय मान्ने स्त्रीहरूले अनुकरण गर्नुपर्ने उदाहरणको रूपमा साराको नाम तीन पटक तोकेरै उल्लेख गरिएको छ। (यसैया ५१:१, २; हिब्रू ११:११; १ पत्रुस ३:३-६) हुनत बाइबलमा साराबारे धेरै कुरा उल्लेख गरिएको छैन। तैपनि हामी उदाहरणीय स्त्रीको रूपमा उनीबारे कल्पना गर्न सक्छौँ।
उदाहरणको लागि, परमेश्वरले उर सहर छोडेर जाने आज्ञा दिनुभएको छ भनेर अब्राहामले सारालाई बताउँदा उनले सुरुमा कस्तो प्रतिक्रिया देखाइन् होला? अब कहाँ जाने होला अनि किन जानुपर्ने होला भनेर सोचिन् कि? परिवारको भौतिक आवश्यकताहरू कसरी पूरा गर्ने होला भनेर उनलाई चिन्ता लागेको थियो कि? आफ्ना साथीभाइ अनि परिवारलाई छोडेर जानुपर्दा अनि तिनीहरूलाई फेरि कहिले भेट्न पाइने होला वा कहिल्यै नपाइने पो हो कि भन्ने कुरा सोचेर उनी दुःखी भइन् कि? उनको मनमा पक्कै त्यस्ता भावनाहरू आएको हुनुपर्छ। तैपनि उनी राजीखुसीले जान तयार भइन् र आज्ञाकारी हुँदा यहोवाले आशिष् दिनुहुन्छ भन्ने कुरामा भरोसा गरिन्।—प्रेषित ७:२, ३.
सारा परमेश्वरको आज्ञाकारी सेवक मात्र थिइनन्, उनले पत्नीको रूपमा पनि उत्कृष्ट उदाहरण बसालिन्। परिवारको मामिला आफ्नो हातमा लिन खोज्दै अब्राहामसित प्रतिस्पर्धा गर्नुको साटो साराले अब्राहामको गहिरो आदर गरिन् र तिनले परिवारलाई डोऱ्याउँदा तिनलाई साथ दिइन्। त्यसो गरेर उनले आफ्ना भित्री गुणहरूद्वारा आफैलाई सिँगारिन् र अझ सुन्दर स्त्री बनिन्।—१ पत्रुस ३:१-६.
साराको अनुकरण गर्नु के आज पनि स्त्रीहरूको लागि फाइदाजनक छ? विवाह गरेको ३० वर्षभन्दा धेरै भइसकेकी अनि सुखी वैवाहिक जीवन बिताइरहेकी जिल यसो भन्छिन्: “साराको उदाहरणबाट मेलै के सिकेकी छु भने, आफ्नो मनमा लागेको कुरा अनि आफ्नो विचार मैले आफ्नो श्रीमान्लाई खुलेर बताउनुपर्छ। तर परिवारको शिरको रूपमा अन्तिम निर्णय गर्ने जिम्मेवारी उहाँको हो। अनि उहाँले कुनै निर्णय गर्नुभएपछि त्यसलाई सफल बनाउन आफ्नो तर्फबाट सकेजति गर्नु मेरो जिम्मेवारी हो।”
साराबाट सिक्न सकिने सबैभन्दा मन छुने पाठ सायद यो हो: सारा अत्यन्तै सुन्दर स्त्री भए तापनि आफ्नो बाहिरी सुन्दरताको कारण तिनी घमन्डी भइनन्। (उत्पत्ति १२:१०-१३) बरु तिनले नम्र हुँदै जीवनका उकाली-ओरालीहरूमा अब्राहामलाई साथ दिइन्। अब्राहाम र सारा वफादार, नम्र अनि एकअर्कालाई माया गर्ने जोडी थिए भन्ने कुरामा कुनै शङ्का छैन। तिनीहरू दुवै एक-अर्काको लागि आशिष्को कारण बने।
फेब्रुअरी १०-१६
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १५-१७
“यहोवाले किन अब्राम र साराईको नाम परिवर्तन गरिदिनुभयो?”
it-1-E पृ. ८१७
दोष, दोष लगाउनु
अर्कोतर्फ मानिसले गर्ने कामहरूले अक्सर नराम्रो नतिजा ल्याउने गर्छ। आदमबाट सबै मानिसमा पाप र त्रुटिपूर्ण अवस्था सर्दै आएको छ। (रोमी ५:१२; भज ५१:५) तर यहोवा त्रुटिरहित हुनुहुन्छ। “हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ” र हामीलाई कृपा देखाउनुहुन्छ। (भज १०३:१३, १४) विश्वासी अनि वफादार नुह “आफ्नो जमानाका मानिसहरूभन्दा बिलकुलै फरक थिए; तिनमा खोट लगाउने कुनै ठाउँ थिएन” भनेर यहोवाले बताउनुभयो। (उत्प ६:९) उहाँले अब्राहामलाई यस्तो आज्ञा दिनुभयो: “सधैँ मैले देखाएको बाटोमा हिँड अनि निर्दोष जीवन बिताऊ।” (उत्प १७:१) हुनत यी दुवै पुरुषहरू त्रुटिपूर्ण थिए र तिनीहरूको मृत्यु भयो। तैपनि ‘मानिसको हृदय हेर्नुहुने’ यहोवाको नजरमा तिनीहरू निर्दोष थिए। (१स १६:७; २रा २०:३; २इ १६:९ तुलना गर्नुहोस्) उहाँले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयो: “तिमीहरू यहोवा आफ्ना परमेश्वरको नजरमा निर्दोष रहनू।” (व्य १८:१३; २स २२:२४) उहाँले आफ्नो निर्दोष छोरा (हिब्रू ७:२६) फिरौतीको बलिदानको रूपमा दिनुभयो अनि विश्वासी र आज्ञाकारी मानिसहरूलाई उहाँ यसैको आधारमा “धर्मी” वा निर्दोष ठहराउनुहुन्छ। साथै धर्मी र निर्दोष न्यायकर्ताको रूपमा आफ्नो नामलाई कायम राख्दै उहाँ त्यसो गर्नुहुन्छ।—रोमी ३:२५, २६.
it-1-E पृ. ३१ अनु. १
अब्राहाम
समय बित्दै जान्छ। अब्राहाम र सारा कनानमा बस्न थालेको दस वर्ष भइसकेको थियो। तर सारा अझै पनि बाँझी नै थिइन्। त्यसैले साराले आफ्नी मिश्री दासी हागार अब्राहामकी पत्नी हुनलाई दिइन् ताकि हागारद्वारा तिनले सन्तान जन्माउन सकून्। अब्राहामले सहमति जनाए। त्यसपछि ईसापूर्व १९३२ मा अब्राहाम ८६ वर्षको हुँदा इस्माएलको जन्म भयो। (उत्प १६:३, १५, १६) अझै केही समय बितेपछि ईसापूर्व १९१९ मा अब्राहाम ९९ वर्षको हुँदा यहोवाले अब्राहामको घरानामा भएका सबै पुरुषको खतना गर्ने आज्ञा दिनुभयो। त्यो आज्ञा यहोवा र अब्राहामबीचको विशेष करारलाई पक्का गर्ने एउटा चिन्ह वा छाप हुने थियो। त्यसैबेला यहोवाले अब्रामको नाम परिवर्तन गरेर अब्राहाम राखिदिनुभयो। किनकि उहाँले तिनलाई “थुप्रै जातिका पुर्खा” बनाउनुहुने थियो। (उत्प १७:५, ९-२७; रोमी ४:११) त्यसको केही समयपछि नै तीन जना स्वर्गदूतहरू मानिसको रूपमा अब्राहामकहाँ देखा पर्छन् र अब्राहाम तिनीहरूको अतिथि-सत्कार गर्छन्। तिनीहरूले एक वर्ष भित्रमै सारा गर्भवती हुनेछिन् र छोरा जन्माउनेछिन् भनेर प्रतिज्ञा गर्छन्।—उत्प १८:१-१५.
w०९-E २/१ पृ. १३
नामको महत्त्व
परमेश्वर स्वयम्ले केही व्यक्तिहरूको नाम परिवर्तन गरिदिनुभयो र तिनीहरूले पाएको नयाँ नामको भविष्यसूचक अर्थ थियो। उदाहरणको लागि, उहाँले अब्रामको (जसको अर्थ हो, “बुबा महान् हुनुहुन्छ”) नाम परिवर्तन गरेर अब्राहाम (जसको अर्थ हो, “असङ्ख्य मानिसका बुबा”) राखिदिनुभयो। अब्राहामलाई दिइएको नामअनुसारै तिनी थुप्रै जातिका पुर्खा बने। (उत्पत्ति १७:५, ६) साथै उहाँले अब्राहामकी पत्नी साराईको (जसको अर्थ “झगडालु” हुन सक्छ) नाम परिवर्तन गरेर सारा (जसको अर्थ हो, “राजकुमारी”) राखिदिनुहुँदा तिनी कत्ति खुसी भइन् होला। यस नयाँ नामले तिनी राजाहरूकी पुर्खा बन्नेछिन् भन्ने सङ्केत दियो।—उत्पत्ति १७:१५, १६.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ४६०-४६१
कालक्रम
यहोवाले अब्रामलाई (अब्राहाम) यसो भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।” (उत्प १५:१३; प्रे ७:६, ७ पनि हेर्नुहोस्) यो कुरा प्रतिज्ञा गरिएको उत्तराधिकारी वा “सन्तान” अर्थात् इसहाक जन्मिनुभन्दा अघि बताइएको थियो। ईसापूर्व १९३२ मा मिश्री दासी हागारबाट अब्राहामले इस्माएललाई जन्माए। अनि ईसापूर्व १९१८ मा इसहाक जन्मिए। (उत्प १६:१६; २१:५) इस्राएलीहरू मिश्रबाट निस्किएको समय अर्थात् तिनीहरूमाथिको ‘अत्याचार’ अन्त भएको (उत्प १५:१४) समयदेखि ४०० वर्ष घटाउँदा हामी ईसापूर्व १९१३ मा पुग्छौँ। त्यसबेला इसहाक लगभग पाँच वर्षका थिए। त्यसबेलासम्म इसाहाकलाई दूध छुटाइसकिएको थियो जस्तो देखिन्छ। त्यसैले तिनले पराई देशमा “परदेशी”-को जीवन बिताउन थालिसकेका थिए र भविष्यवाणी गरिएझैँ अत्याचार अनुभव गर्न थालिसकेका थिए। किनकि त्यसबेला लगभग १९ वर्ष पुगेका इस्माएलले इसहाकको ‘खिसी गरे।’ (उत्प २१:८, ९) अहिले विचार गर्दा इस्माएलले अब्राहामको उत्तराधिकारीको खिसी गर्नु खासै ठूलो कुरा होइन जस्तो देखिए तापनि प्राचीन समयमा भने यो सानोतिनो कुरा थिएन। यो कुरा त्यसबेला साराले देखाएको प्रतिक्रियाबाट अनि हागार र तिनको छोरालाई घरबाट निकालिदिन साराले कर गर्दा परमेश्वरले साराको कुरालाई समर्थन गर्नुभएको कुराबाट स्पष्ट हुन्छ। (उत्प २१:१०-१३) परमेश्वरले आफ्नो वचनमा यो घटना यति विस्तृत रूपमा लेख्न लगाउनुभएको कुराबाट के थाह हुन्छ भने, अब्राहामका सन्तानले ४०० वर्षसम्म अत्याचार भोग्नुपर्ने भविष्यवाणी यही समयदेखि पूरा हुन थाल्यो र इस्राएलीहरू मिश्रबाट ननिस्किउन्जेल अत्याचारको अन्त भएन।—गला ४:२९.
it-1-E पृ. ७७८ अनु. ४
प्रस्थान
“चौथो पुस्ताको पालामा।” हामीले बिर्सन नहुने एउटा कुरा, यहोवाले अब्राहामलाई तिनका सन्तानहरू चौथो पुस्ताको पालामा कनानमा फर्कनेछन् भनेर बताउनुभयो। (उत्प १५:१६) अब्राहामसित गरिएको करार लागू भएको समयदेखि इस्राएलीहरू मिश्रबाट निस्किएको ४३० वर्षको सम्पूर्ण अवधिलाई विचार गर्ने हो भने, त्यसबेलाका मानिसहरूको आयु अहिलेका मानिसहरूको तुलनामा लामो भए तापनि त्यसबेला चार भन्दा धेरै पुस्ता जन्मिए भनेर विवरणले देखाउँछ। तर इस्राएलीहरू वास्तवमा २१५ वर्ष मात्र मिश्रमा रहे। तिनीहरू मिश्रमा गएपछिका ‘चार पुस्ता’-को हिसाब निकाल्न इस्राएलका कुलहरूमध्ये लेविको कुललाई उदाहरणको रूपमा लिन सक्छौँ। लेविको कुलका चार पुस्ता यसप्रकार थिए: (१) लेवि, (२) कोहात, (३) अम्राम र (४) मोसा।—प्रस्थ ६:१६, १८, २०.
फेब्रुअरी १७-२३
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति १८-१९
बहुमूल्य रत्न खोजौँ
w८८-E ५/१५ पृ. २३ अनु. ४-५
के कसैले परमेश्वरलाई देखेको छ?
परमेश्वरको प्रवक्ता बनेर मानिसको रूपमा आफूकहाँ देखा परेका स्वर्गदूतहरूसित कुराकानी गर्दा अब्राहामले किन तिनीहरूलाई स्वयम् यहोवा परमेश्वरसितै कुराकानी गरिरहेझैँ गरी सम्बोधन गरे भनेर हामी बुझ्न सक्छौँ। ती स्वर्गदूतले यहोवाले अब्राहामलाई बताउन चाहनुभएको कुरा हुबहु बताइरहेका थिए र परमेश्वरकै प्रतिनिधित्व गर्दै अब्राहामसामु खडा भएका थिए। त्यसैले बाइबल विवरणमा “यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभयो” भनेर लेखिएको पाउँछौँ।—उत्पत्ति १८:१.
जसरी टेलिफोन वा रेडियोले हामीले बोलेको कुरा अर्को व्यक्तिलाई जस्ताको तस्तै प्रसारण गर्न सक्छ, त्यसैगरि परमेश्वरले पठाउनुभएको स्वर्गदूतले पनि उहाँको सन्देश जस्ताको तस्तै सुनाउन सक्छन्। त्यसैले अब्राहाम, मोसा, मानोह र परमेश्वरका अरू सेवकहरूले मानिसको रूपमा देखा परेका स्वर्गदूतहरूसित कुराकानी गर्दा परमेश्वरसितै कुराकानी गरेजस्तो गरी बोल्नुको कारण हामी बुझ्न सक्छौँ। परमेश्वरका ती सेवकहरूले ती स्वर्गदूतहरूलाई देख्न सके र तिनीहरूद्वारा प्रतिबिम्बित यहोवाको महिमा पनि देख्न सके तर तिनीहरूले स्वयम् परमेश्वरलाई भने कहिल्यै देख्न सकेनन्। त्यसैले यो कुरा प्रेषित युहन्नाले लेखेको कुरासित पटक्कै बाझिँदैन: “परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (युहन्ना १:१८) ती मानिसहरूले स्वयम् परमेश्वरलाई नभई परमेश्वरका स्वर्गीय प्रतिनिधिहरूलाई देखेका थिए।
फेब्रुअरी २४–मार्च १
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २०-२१
बहुमूल्य रत्न खोजौँ
w८९-E ७/१ पृ. २० अनु. ९
अब्राहाम—परमेश्वरको मित्र बन्न चाहनेहरू सबैका लागि उदाहरण
अब्रामले आफ्नो विश्वास प्रकट गर्ने अर्को काम गरे। विवरण यसो भन्छ: “त्यहाँ अब्रामले . . . यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए।” (उत्पत्ति १२:७) तिनले जनावरको बलिदान पनि चढाएको हुनुपर्छ किनकि “वेदी” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “बलिदान चढाउने ठाउँ” हो। पछि अब्रामले अरू ठाउँहरूमा पनि यसै गरेर आफ्नो विश्वास प्रकट गरे। त्यसका साथै तिनले “यहोवाको नाम पुकारे।” (उत्पत्ति १२:८; १३:१८; २१:३३) “नाम पुकार्नु” भन्ने हिब्रू वाक्यांशले “नाम घोषणा (प्रचार) गर्नु” भन्ने अर्थ पनि दिन्छ। अब्रामले साहसी हुँदै आफ्ना परमेश्वर यहोवाको नाम पुकारेको कुरा अब्रामको घरानाले र कनानीहरूले पनि सुनेको हुनुपर्छ। (उत्पत्ति १४:२२-२४) त्यसैगरि आज पनि परमेश्वरको मित्र बन्न चाहनेहरू सबैले विश्वाससहित उहाँको नाम पुकार्नुपर्छ। त्यसो गर्नुमा “परमेश्वरको नाम जनसमक्ष घोषणा गरेर” उहाँलाई ‘सधैँ प्रशंसाको बलिदान अर्थात् ओठको फल चढाउनु’ समावेश छ। प्रचारकार्यमा भाग लिएर हामी त्यसो गर्छौँ।—हिब्रू १३:१५; रोमी १०:१०.