जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अप्रिल १३-१९
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३१
“याकुब र लाबानले शान्तिको करार गर्छन्”
it-1-E पृ. ८८३ अनु. १
गालेद
याकुब र लाबानले तिनीहरूबीच भएको असमझदारी शान्तिपूर्वक सुल्झाए अनि अन्तमा एउटा करार गरे। यसको चिन्हस्वरूप याकुबले एउटा ढुङ्गा ठड्याए अनि आफ्ना “दाजुभाइलाई” ढुङ्गाको थुप्रो लगाउन भने, जुन सायद टेबुलजस्तै देखिन्थ्यो र करार पक्का गर्न त्यसमाथि खानपिन गरे। त्यसपछि लाबानले यस ठाउँको नाम अरामीमा (सिरियाली) “यगर-सहदुथा” राखे र याकुबले चाहिँ हिब्रूमा “गालेद” राखे। यी नामहरूले ढुङ्गाको त्यस थुप्रोलाई सङ्केत गर्थ्यो। लाबानले भने: “यो ढुङ्गाको थुप्रो [हिब्रू, गाल] आज हामीले गरेको करारको साक्षी [हिब्रू, एद] हो।” (उत्प ३१:४४-४८) ढुङ्गाको त्यो थुप्रो (र ढुङ्गाको खामा) त्यस ठाउँबाट भएर जाने सबैको लागि तिनीहरूले गरेको शान्तिको करारको चिन्ह थियो। पद ४९ को फुटनोटअनुसार यो “पहरा दिने किल्ला [हिब्रू, मिस्पा]” थियो र यसले याकुब र लाबानले तिनीहरू र तिनीहरूको परिवारबीच शान्ति कायम राख्ने सम्झौता गरेको साक्षी दिन्थ्यो। (उत्प ३१:५०-५३) अरू विवरणहरूमा पनि ढुङ्गालाई मौन साक्षीको रूपमा प्रयोग गरिएको पाइन्छ।—यहो ४:४-७; २४:२५-२७.
it-2-E पृ. ११७२
पहरा दिने किल्ला
याकुबले ढुङ्गाको थुप्रो लगाए र त्यसलाई “गालेद” (जसको अर्थ हो, “साक्षीको थुप्रो”) र “मिस्पा” अर्थात् “पहरा दिने किल्ला” नाम दिए। त्यसपछि लाबानले यसो भने: “हामी छुट्टिएर आ-आफ्नो बाटो लागेपछि हामी यस करारअनुसार चल्छौँ कि चल्दैनौँ भनेर यहोवा परमेश्वरले हामी दुवैमाथि नजर राखून्।” (उत्प ३१:४५-४९) ढुङ्गाको त्यस थुप्रोले याकुब र लाबानले गरेको शान्तिको करारअनुसार तिनीहरू चलेका छन् कि छैनन् भनेर यहोवाले नजर राख्नुहुनेछ भन्ने कुराको साक्षी दिने थियो।
बहुमूल्य रत्न खोजौँ
it-2-E पृ. १०८७-१०८८
कुलदेवता
पुरातत्त्वविद्हरूले मेसापोटामिया र त्यसवरपरका ठाउँहरूमा खोजअनुसन्धान गर्दा कुलदेवताका मूर्तिहरू हुने व्यक्ति पैतृक सम्पत्तिको हकदार हुन्थ्यो भनेर पत्ता लगाए। नुजिमा भेटिएको एउटा पाटीमा लेखिएअनुसार कुनै-कुनै परिस्थितिमा कुलदेवताको मूर्ति हुने ज्वाइँले अदालतमा हाजिर भएर आफ्नो मृत ससुराको सारा सम्पत्ति दाबी गर्न सक्थे। (प्राचीन मध्य-पूर्वी लेखोट, जे. प्रिटचार्डद्वारा संशोधित, १९७४, पृ. २१९, २२० र फु. ५१) सायद राहेलले यही कुरा विचार गरेर उनको बुबाले उनको पतिलाई धोका दिएकोले उनलाई कुलदेवताको मूर्ति लैजानु न्यायोचित लाग्यो। (उत्प ३१:१४-१६ तुलना गर्नुहोस्।) कुलदेवताका मूर्तिहरू हुने व्यक्ति पैतृक सम्पत्तिको हकदार हुने भएकोले ती फिर्ता ल्याउन लाबान आतुर हुनुको कारण थाह पाउन सकिन्छ। तिनी आफ्ना दाजुभाइसँगै याकुबलाई खोज्न सात दिन लामो यात्रा गर्न पनि पछि परेनन्। (उत्प ३१:१९-३०) राहेलले जे गरिन्, याकुबले त्यसको सुइँको समेत पाएका थिएनन् (उत्प ३१:३२) अनि याकुबले लाबानका छोराहरूबाट पैतृक सम्पत्ति हासिल गर्न कुलदेवताका मूर्तिहरू प्रयोग गर्न खोजेको कुरा कतै पनि उल्लेख गरिएको छैन। याकुबलाई ती मूर्तिहरूसित कुनै सरोकार थिएन। पछि याकुबले तिनका घरानाले दिएका सबै विदेशी देवी देवताका मूर्तिहरू सकेमनजिकैको ठूलो रूखमुनि गाडेको बेला कुलदेवताका ती मूर्तिहरू पनि गाडे होलान्।—उत्प ३५:१-४.
अप्रिल २०-२६
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३२-३३
“के तपाईँ आशिष् पाउन कुस्ती खेल्दै हुनुहुन्छ?”
it-2-E पृ. १९०
लङ्गडो
याकुब लङ्गडो हुन्छन्। याकुब ९७ वर्षको हुँदा तिनी मानिसको भेषमा आएको पमरमेश्वरको स्वर्गदूतसित रातभर कुस्ती खेलेका थिए। आफूलाई आशिष् नदिएसम्म तिनले त्यस स्वर्गदूतलाई छोडेनन्। त्यस स्वर्गदूतले तिनको कम्मरको जोर्नी समाते अनि कुस्ती खेल्दाखेल्दै जोर्नी फुस्कियो। त्यसैले तिनी खोच्याउँदै हिँडे। (उत्प ३२:२४-३२; होसे १२:२-४) हुनत स्वर्गदूतले भनेझैँ याकुब ‘परमेश्वर (परमेश्वरको स्वर्गदूत) र मानिसहरूसित लडे र अन्तमा तिनको जित भयो’ तर तिनले वास्तवमा परमेश्वरको शक्तिशाली स्वर्गदूतलाई हराएका थिएनन्। परमेश्वरको उद्देश्य र अनुमतिले गर्दा मात्रै तिनले स्वर्गदूतसित लड्न पाएका थिए र यसले याकुब परमेश्वरको आशिष् पाउन कत्ति इच्छुक थिए भन्ने कुराको प्रमाण दिन्छ।
it-1-E पृ. १२२८
इस्राएल
१. याकुब ९७ वर्षको हुँदा परमेश्वरले तिनलाई दिनुभएको नाम। आफ्नो दाइ एसावलाई भेट्न याब्बोक नदी पार गरेको रात याकुब एउटा स्वर्गदूतसित लडे। याकुबलाई जित्न नसकेकोले ती स्वर्गदूतले आशिष्को रूपमा तिनको नाम इस्राएल राखे। ती घटनाहरूको सम्झना गर्न तिनले त्यस ठाउँको नाम पेनिएल वा पेनुएल राखे। (उत्प ३२:२२-३१; याकुब न. १ हेर्नुहोस्।) बेथेलमा पुगेपछि परमेश्वरले तिनको नाम इस्राएल भएको पुष्टि गर्नुभयो र तिनी जीवनभर त्यही नामले चिनिए। (उत्प ३५:१०, १५; ५०:२; १इ १:३४) बाइबलमा इस्राएल नाम २ हजार ५ सय पटक प्रयोग गरिएको छ र यसले याकुबको सन्तानलाई राष्ट्रको रूपमा चिनाउँछ।—प्रस्थ ५:१, २.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ९८०
परमेश्वर, इस्राएलका परमेश्वर
पेनिएलमा परमेश्वरको स्वर्गदूतसित भेट भएपछि याकुबलाई इस्राएल नाम दिइयो। आफ्नो दाइ एसावसितको शान्तिपूर्ण भेटपछि तिनी सुक्कोथमा र त्यसपछि सकेममा बसोबास गर्न थाले। तिनले सकेममा हामोरका छोराहरूसित एउटा जमिन किने र त्यहाँ आफ्नो पाल टाँगे। (उत्प ३२:२४-३०; ३३:१-४, १७-१९) “त्यहाँ याकुबले एउटा वेदी बनाए र त्यसको नाम ‘परमेश्वर, इस्राएलका परमेश्वर’ राखे।” (उत्प ३३:२०) आफ्नो नाम वेदीको नामसित जोडेर तिनले आफूले पाएको नयाँ नाम स्विकारेको र कदर गरेको अनि परमेश्वरले प्रतिज्ञा गरिएको देशसम्म सुरक्षितसाथ डोऱ्याउनुभएकोमा धन्यवादी भएको देखाए। यो अभिव्यक्ति बाइबलमा एक पटक मात्र पाइन्छ।
अप्रिल २७–मे ३
बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३४-३५
“खराब सङ्गतको दुःखदायी नतिजा”
w०९-E ९/१ पृ. २१ अनु. १-२
तपाईँलाई कसैले रिस उठाउँदा
प्रायजसो अवस्थामा मानिसहरूले आफ्नो मन लागेको चोटमा मलहमपट्टी लगाउन बदला लिने गर्छन्। उदाहरणको लागि, बाइबलमा बताइएको घटनाबारे विचार गर्नुहोस्। कनानी सकेमले कुलपिता याकुबकी छोरी दिनाको इज्जत लुटे। याकुबका छोराहरूले यो कुरा सुनेपछि “उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।” (उत्पत्ति ३४:१-७) उनीहरूमध्ये दुई जना सिमियोन र लेविले सकेम र तिनको घरानासित बदला लिन षड्यन्त्र रचे। उनीहरू छल गरेर कनानीहरूको सहरमा पसे अनि सकेमलगायत सबै पुरुषलाई मारे।—उत्पत्ति ३४:१३-२७.
के त्यो रक्तपातले समस्याको समाधान गऱ्यो? याकुबले छोराहरूको कर्तुतबारे थाह पाएपछि तिनीहरूलाई यसो भन्दै हप्काए: “यो तिमीहरूले के गऱ्यौ? ममाथि कत्रो विपत्ति ल्यायौ! तिमीहरूको कर्तुतले गर्दा यहाँका कनानीहरू र परिज्जीहरूले अब मलाई छोड्नेछैनन्। . . . अब तिनीहरू जम्मा भएर ममाथि आइलाग्नेछन्। अब हाम्रो परिवारको सर्वनाश हुने भयो!” (उत्पत्ति ३४:३०) हो, बदला लिँदा तिनीहरूको समस्या सुल्झिनुको साटो झनै बिग्रियो। रिसले चुर भएका तिनका छिमेकीहरू याकुबको परिवारलाई आक्रमण गर्न सक्ने भएकोले तिनीहरू सतर्क भएर बस्नुपर्ने भयो। सायद त्यस्तो अवस्था आइपर्नदेखि रोक्न परमेश्वरले याकुबलाई आफ्नो परिवार लिएर त्यस ठाउँबाट निस्किन र बेथेल जान आज्ञा दिनुभयो।—उत्पत्ति ३५:१, ५.
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ६०० अनु. ४
दबोरा
१. रिबेकाकी धाईआमा। रिबेका इसहाकसित विवाह गर्न आफ्नो बुबा बतुएलको घर छोडेर प्यालेस्टाइनमा बसाइँ सर्न जाँदा दबोरा उनीसँगै थिइन्। (उत्प २४:५९) इसहाकको घरानामा धेरै वर्ष सेवा गरेपछि सायद रिबेकाको मृत्युपश्चात् दबोराले याकुबको घरानामा सेवा गरिन्। रिबेकाले इसहाकसित विवाह गरेको लगभग १२५ वर्षपछि दबोराको मृत्यु भएको हुनुपर्छ अनि उनलाई बेथेलको एउटा ठूलो रूखमुनि गाडियो। त्यस रूखलाई (अल्लोन-बकुथ, जसको अर्थ हो, “रुवाबासीको सालको रूख”) दिइएको नामले उनी याकुब र तिनको परिवारको लागि अतिप्रिय थिइन् भन्ने सङ्केत गर्छ।—उत्प ३५:८.